प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 नोभेम्बर pp. १-३२
  • साहसी हुनुहोस्‌—यहोवा तपाईँको मदतगार हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहसी हुनुहोस्‌—यहोवा तपाईँको मदतगार हुनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसु र स्वर्गदूतहरूबाट मदत
  • अख्तियारवालाहरूबाट मदत
  • दाजुभाइ दिदीबहिनीबाट मदत
  • निर्भयतासाथ यहोवाको राज्यको घोषणा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “राम्ररी साक्षी दिए”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • पावललाई रोम पठाइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “यहोवा परमेश्‍वरको इच्छाअनुसारै होस्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 नोभेम्बर pp. १-३२

अध्ययन लेख ४६

साहसी हुनुहोस्‌—यहोवा तपाईँको मदतगार हुनुहुन्छ

“म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।”—हिब्रू १३:५.

गीत ५५ तिनीहरूसँग नडराऊ!

परिचयa

१. समस्याहरूको सामना गर्न मदत दिने कोही छैन जस्तो लाग्दा हामीलाई केले सान्त्वना दिन्छ? (भजन ११८:५-७)

के तपाईँलाई आफूले भोगिरहेका समस्याहरूको सामना गर्न मदत दिने कोही छैन जस्तो कहिल्यै लागेको थियो? थुप्रैले त्यस्तो महसुस गरेका छन्‌, यहोवाका वफादार सेवकहरूले समेत। (१ राजा १९:१४) तपाईँलाई पनि त्यस्तै लागेको छ भने यहोवाको यो प्रतिज्ञा सम्झनुहोस्‌: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।” त्यसैले हामी निर्धक्क भएर यसो भन्‍न सक्छौँ: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ।” (हिब्रू १३:५, ६) प्रेषित पावलले यी शब्दहरू इस्वी संवत्‌ ६१ मा यहुदियाका ख्रिष्टियनहरूलाई लेखेका थिए। तिनका शब्दहरूले हामीलाई भजन ११८:५-७ मा लेखिएका शब्दहरू सम्झाउँछ।—पढ्‌नुहोस्‌।

२. हामी यस लेखमा के छलफल गर्नेछौँ र किन?

२ यी भजनरचयिताले जस्तै पावलले पनि यहोवा मदतगार हुनुहुन्छ भनेर आफैले अनुभव गरेका थिए। उदाहरणको लागि, पावलले हिब्रूहरूलाई पत्र लेख्नुभन्दा दुई वर्षअघि तिनी समुद्री यात्रामा हुँदा भीषण आँधी चलेको थियो। (प्रेषि. २७:४, १५, २०) त्यस यात्रामा र त्यसअघि पनि यहोवा थुप्रै तरिकामा पावलको मदतगार साबित हुनुभएको थियो। तीमध्ये तीन वटा विवरण हामी विचार गर्नेछौँ। यहोवाले पावललाई येसु र स्वर्गदूतहरू, अख्तियारवालाहरू र दाजुभाइ दिदीबहिनीमार्फत मदत दिनुभयो। पावलको जीवनमा घटेका ती घटनाहरूलाई केलाएर हेर्दा हामीले यहोवालाई मदतको लागि पुकार्दा उहाँले जवाफ दिनुहुनेछ भन्‍ने कुरामा हाम्रो भरोसा अझ बढ्‌नेछ।

येसु र स्वर्गदूतहरूबाट मदत

३. पावललाई कस्तो लागेको हुन सक्छ र किन?

३ पावललाई मदत चाहिएको थियो। इस्वी संवत्‌ ५६ तिर भीडले तिनलाई घिसार्दै मन्दिरबाहिर ल्याएर मार्न खोजेका थिए। त्यसको भोलिपल्ट पावललाई न्यायपरिषद्‌सामु उभ्याइँदा तिनका शत्रुहरूले तिनलाई लछारपछार गरेर झन्डै मार्न लागेका थिए। (प्रेषि. २१:३०-३२; २२:३०; २३:६-१०) त्यसबेला पावललाई यस्तो लागेको हुन सक्छ, ‘यस्तो दुर्व्यवहार मैले कतिन्जेल सहन सकूँला?’

४. यहोवाले पावललाई येसुमार्फत कसरी मदत गर्नुभयो?

४ पावलले कस्तो मदत पाए? पावल गिरफ्तार भएपछि त्यही रात “प्रभु” येसु तिनको छेउमा उभिनुभयो र यसो भन्‍नुभयो: “साहसी होऊ! किनकि तिमीले मेरो विषयमा यरुसलेममा राम्ररी साक्षी दिइरहेका छौ, अब रोममा पनि तिमीले त्यस्तै साक्षी दिनै पर्छ।” (प्रेषि. २३:११) यस कुराबाट पावलले साँच्चै प्रोत्साहन पाए। तिनले यरुसलेममा दिएको साक्षीको लागि येसुले तिनको प्रशंसा गर्नुभयो। साथै उहाँले पावल सकुशल रोम पुग्नेछन्‌ भनेर प्रतिज्ञा गर्नुभयो र तिनले त्यहाँ पनि साक्षी दिने थिए। एउटा बच्चाले आफ्नो बुबाको अङ्‌गालोमा जत्ति सुरक्षित महसुस गर्छ, पावलले पनि यो आश्‍वासन पाएपछि त्यत्ति नै सुरक्षित महसुस गरेका हुन सक्छन्‌।

समुद्रमा भीषण आँधी चल्दा एक स्वर्गदूत पावललाई जहाजमा भएका सबै बाँच्नेछन्‌ भनेर आश्‍वासन दिन्छन्‌ (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. यहोवाले पावललाई स्वर्गदूतमार्फत कसरी मदत गर्नुभयो? (आवरण चित्र हेर्नुहोस्‌)

५ पावलले अरू कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्‍यो? यरुसलेममा यी घटनाहरू घटेको करिब दुई वर्षपछिको कुरा हो। पावल इटाली जान जहाजमा यात्रा गर्दै थिए। समुद्रमा अचानक भीषण आँधी चल्यो। नाविकहरू र यात्रुहरूले बाँच्ने आस मारे। तर पावल भने डराएनन्‌। किन? तिनले जहाजमा भएकाहरूलाई यसो भने: “म जुन परमेश्‍वरको सेवक हुँ अनि जसलाई म पवित्र सेवा चढाउँछु, उहाँको स्वर्गदूत हिजो राती मेरो छेवैमा आए र यसो भने: ‘नडराऊ पावल। तिमी सिजरसामु खडा हुनै पर्छ अनि हेर, तिमीसँगै यात्रा गर्नेहरूको ज्यान पनि परमेश्‍वरले जोगाउनुहुनेछ!’” पावललाई यसअघि येसुमार्फत दिनुभएको आश्‍वासन दोहोऱ्‍याउन यहोवाले स्वर्गदूतलाई चलाउनुभयो। अन्ततः पावल सकुशल रोम पुगे।—प्रेषि. २७:२०-२५; २८:१६.

६. येसुको कुन प्रतिज्ञाले हामीलाई बल दिन्छ र किन?

६ हामी कस्तो मदत पाउन सक्छौँ? पावललाई जस्तै येसु हामीलाई पनि मदत गर्नुहुन्छ। उहाँको पछि लाग्नेहरूलाई येसुले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।” (मत्ति २८:२०) येसुका यी शब्दहरूले हामीलाई बल दिन्छ। किन? किनकि कुनै-कुनै बेला पीडा सहन हामीलाई असाध्यै गाह्रो हुन्छ। उदाहरणको लागि, आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा हामीले त्यसको पीडा केही दिन मात्र होइन, वर्षौँ सहनुपर्ने हुन्छ। केहीले भने वृद्धावस्थाले गर्दा विभिन्‍न कठिनाइ झेल्नुपर्ने हुन्छ। अरू कतिपय भने डिप्रेसनले गर्दा कुनै-कुनै बेला असाध्यै निराश हुन सक्छन्‌। तैपनि हामी यी सब सहन बल पाउँछौँ किनकि येसु “सधैँभरि,” हाम्रो जीवनमा निस्पट्ट अन्धकार छाएको क्षणमा समेत हामीसित हुनुहुन्छ।—मत्ति ११:२८-३०.

एक स्वर्गदूत क्षेत्र सेवामा भाग लिँदै गरेको एक दम्पतीलाई एउटा घरतर्फ डोऱ्‍याउँदै। घरभित्र एक पुरुष प्रार्थना गर्दै छन्‌।

प्रचारकार्यमा भाग लिँदा स्वर्गदूतहरू हामीलाई सघाउँछन्‌ र डोऱ्‍याइ दिन्छन्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌)

७. प्रकाश १४:६ अनुसार आज यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

७ यहोवा आफ्ना स्वर्गदूतहरूमार्फत हामीलाई मदत गर्नुहुन्छ भनेर परमेश्‍वरको वचनले आश्‍वासन दिन्छ। (हिब्रू १:७, १४) उदाहरणको लागि, “हरेक राष्ट्र, कुल, भाषा र जातिलाई” ‘राज्यको सुसमाचार’ प्रचार गर्ने काममा स्वर्गदूतहरू हामीलाई सघाउँछन्‌ र डोऱ्‍याइ दिन्छन्‌।—मत्ति २४:१३, १४; प्रकाश १४:६ पढ्‌नुहोस्‌।

अख्तियारवालाहरूबाट मदत

८. यहोवाले पावललाई एक जना सेनापतिमार्फत कसरी मदत गर्नुभयो?

८ पावलले कस्तो मदत पाए? इस्वी संवत्‌ ५६ मा येसुले पावललाई तिनी सकुशल रोम पुग्नेछन्‌ भनेर आश्‍वासन दिनुभएको थियो। तर यरुसलेमका केही यहुदीले पावललाई बाटोमा ढुकेर बस्ने र मार्ने योजना बनाइरहेका थिए। रोमी सेनापति क्लौडियस लायसिअसले यहुदीहरूको योजनाबारे थाह पाएपछि उनले पावललाई बचाउन कदम चाले। क्लौडियसले सैनिकहरूको दलबलसहित पावललाई तुरुन्तै करिब १०५ किलोमिटर टाढा सिजरिया पठाए। सिजरियामा राज्यपाल फेलिक्सले पावललाई “हेरोदको महलमा लगी पहरा दिएर राख्नू” भनी आदेश दिए। अब भने पावललाई मार्न खोज्ने यहुदीहरूले तिनलाई कुनै हानि पुऱ्‍याउन सक्ने थिएनन्‌।—प्रेषि. २३:१२-३५.

९. राज्यपाल फेस्तसले पावललाई कसरी मदत गरे?

९ यसको दुई वर्षपछि, इस्वी संवत्‌ ५८ मा पावल अझै सिजरियामा कैदमा थिए। फेलिक्सको ठाउँमा अहिले नयाँ राज्यपाल फेस्तस थिए। यहुदीहरूले पावललाई पुर्पक्षको लागि यरुसलेम पठाउन फेस्तसलाई आग्रह गरे। तर फेस्तस मानेनन्‌। यहुदीहरूले पावललाई ‘बाटोमा ढुकेर बस्ने र मार्ने षड्यन्त्र रचेका’ छन्‌ भनेर सायद यी राज्यपाललाई थाह थियो।—प्रेषि. २४:२७–२५:५.

१०. पावलले सिजरलाई अपिल गर्दा राज्यपाल फेस्तसले कस्तो प्रतिक्रिया देखाए?

१० पछि सिजरियामै पावलको मुद्दाको सुनवाइ भयो। फेस्तस ‘यहुदीहरूलाई खुसी पार्न’ चाहन्थे। त्यसैले उनले पावललाई सोधे: “के तिमी यरुसलेम गएर मसामु यी कुराहरूको फैसला गरिएको चाहन्छौ?” यरुसलेमका यहुदीहरूले आफूलाई मार्न सक्छन्‌ भनेर पावललाई थाह थियो। अर्कोतर्फ आफ्नो ज्यान बचाउन, रोम पुग्न र त्यहाँ आफ्नो जिम्मेवारी पूरा गर्न के गर्नुपर्छ भनेर पनि तिनलाई थाह थियो। तिनले यस्तो जवाफ दिए: “म सिजरलाई अपिल गर्छु!” फेस्तसले आफ्ना सल्लाहकारहरूसित छलफल गरेपछि पावललाई यसो भने: “तिमीले सिजरलाई अपिल गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानेछौ।” फेस्तसको यस फैसलाले गर्दा पावल शत्रुहरूको हातबाट जोगिए। अब चाँडै तिनी रोम पुग्ने थिए, जहाँ तिनी आफूलाई मार्न खोज्ने यहुदीहरूको पहुँचबाट धेरै टाढा हुने थिए।—प्रेषि. २५:६-१२.

११. यसैयाले भनेको कुन आश्‍वासनदायी कुराबारे पावलले विचार गरेका हुन सक्छन्‌?

११ इटालीको यात्राको लागि पर्खिरहँदा पावलले भविष्यवक्‍ता यसैयाले यहोवाका विरोधीहरूलाई दिएको यस चेतावनीबारे विचार गरेका हुन सक्छन्‌: “जे षड्यन्त्र रच्नु छ, रच तर त्यो विफल हुनेछ; जे भन्‍न चाहन्छौ, भन तर त्यो बेकार जानेछ किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ।” (यसै. ८:१०) परमेश्‍वरले मदत गर्नुहुनेछ भनेर पावललाई थाह थियो र यसले तिनलाई पछि आइपरेको परीक्षाहरूको सामना गर्न बल दियो।

पावल र अरू कैदीहरू जहाजमा। एक रोमी सैनिक अफिसरले तिनीहरूलाई हातमा छुरी बोकेको अर्को सैनिकबाट जोगाउँछन्‌।

विगतमा जस्तै यहोवा आज पनि आफ्ना सेवकहरूलाई सुरक्षा दिन अख्तियारमा भएका व्यक्‍तिहरूलाई चलाउन सक्नुहुन्छ (अनुच्छेद १२ हेर्नुहोस्‌)

१२. जुलियसले पावललाई कस्तो व्यवहार गरे? पावलले कुन कुरा बुझेको हुनुपर्छ?

१२ पावलले इटालीको यात्रा थाले। पावल कैदी भएकोले तिनलाई रोमी सैनिक अफिसर जुलियसको जिम्मा लगाइयो। यसपछि तिनको जीवन कष्टकर बनाइदिने कि सजिलो, त्यो जुलियसकै हातमा थियो। उनले आफ्नो अख्तियार कसरी प्रयोग गर्ने थिए? भोलिपल्ट तिनीहरू समुद्री किनारामा उत्रिएपछि ‘जुलियसले पावललाई दया देखाए र तिनलाई आफ्ना मित्रहरूकहाँ जान अनुमति दिए।’ पछि जुलियसले पावलको ज्यानसमेत जोगाए। कसरी? सैनिकहरूले जहाजमा भएका सबै कैदीलाई मार्न खोज्दा जुलियसले तिनीहरूलाई रोके। किन? किनकि उनी “पावललाई बचाउन चाहन्थे।” आफूलाई मदत र सुरक्षा दिन यहोवाले नै ती दयालु अफिसरलाई चलाउँदै हुनुहुन्छ भन्‍ने कुरा पावलले बुझेको हुनुपर्छ।—प्रेषि. २७:१-३, ४२-४४.

झ्यालखानाको एक गार्डले रिसले चूर भएका अफिसरलाई रोक्दै। ती अफिसर प्रार्थना गरिरहेका भाइलाई धम्काउँदै छन्‌।

अनुच्छेद १३ हेर्नुहोस्‌

१३. यहोवा अख्तियारमा भएका व्यक्‍तिहरूलाई कसरी प्रयोग गर्न सक्नुहुन्छ?

१३ हामी कस्तो मदत पाउन सक्छौँ? कुनै कुरा उहाँको उद्देश्‍यअनुरूप छ भने त्यो पूरा गर्न यहोवा आफ्नो पवित्र शक्‍ति चलाएर अख्तियारमा भएका व्यक्‍तिहरूलाई समेत प्रयोग गर्न सक्नुहुन्छ। राजा सुलेमानले यस्तो लेखेका थिए: “राजाको हृदय यहोवाको हातमा खोलाको पानीजस्तै हो, उहाँ त्यसलाई जता चाहनुहुन्छ, त्यतै मोड्‌नुहुन्छ।” (हितो. २१:१) यस भनाइको अर्थ के हो? मानिसहरूले कुलो खनेर खोलाको पानीलाई आफूले चाहेको दिशामा मोड्‌न सक्छ। त्यसरी नै यहोवाले पनि आफ्नो उद्देश्‍य पूरा गर्न पवित्र शक्‍ति चलाएर शासकहरूको सोचाइलाई मोडिदिन सक्नुहुन्छ। फलस्वरूप अख्तियारमा भएका व्यक्‍तिहरू परमेश्‍वरका सेवकहरूलाई फाइदा पुग्ने निर्णयहरू गर्न उत्प्रेरित हुन्छन्‌।—एज्रा ७:२१, २५, २६ तुलना गर्नुहोस्‌।

१४. प्रेषित १२:५ लाई मनमा राख्दै हामी कसको लागि प्रार्थना गर्न सक्छौँ?

१४ हामी के गर्न सक्छौँ? ‘राजाहरू र उच्च अख्तियारवालाहरू’ हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्यलाई असर गर्ने निर्णयहरू गर्नुपर्ने अवस्थामा हुँदा हामी तिनीहरूको लागि प्रार्थना गर्न सक्छौँ। (१ तिमो. २:१, २, फुटनोट; नहे. १:११) प्रथम शताब्दीका ख्रिष्टियनहरूले जस्तै हामी पनि जेलमा भएका हाम्रा दाजुभाइ दिदीबहिनीको लागि तनमनले प्रार्थना गर्छौँ। (प्रेषित १२:५ पढ्‌नुहोस्‌; हिब्रू १३:३) साथै उनीहरूको निगरानी गरिरहेका गार्डहरूको लागि पनि प्रार्थना गर्न सक्छौँ। जुलियसले जस्तै तिनीहरूले पनि जेलमा भएका हाम्रा दाजुभाइ दिदीबहिनीलाई “मानवताको नाताले दया” देखाऊन्‌ भनेर तिनीहरूको सोचाइलाई मोडिदिन हामी यहोवालाई बिन्ती गर्न सक्छौँ।—प्रेषि. २७:३, फुटनोट।

दाजुभाइ दिदीबहिनीबाट मदत

१५-१६. यहोवाले पावललाई अरिस्तार्खस र लुकामार्फत कसरी मदत गर्नुभयो?

१५ पावलले कस्तो मदत पाए? पावल रोमको यात्रामा छँदा यहोवाले सङ्‌गी ख्रिष्टियनहरू चलाएर तिनलाई थुप्रै पटक मदत दिनुभयो। केही उदाहरण विचार गरौँ।

१६ पावलका दुई जना वफादार साथी अरिस्तार्खस र लुकाले तिनीसितै रोम जाने निर्णय गरे।b ती दुवै जनालाई येसुले तिनीहरू पनि सकुशल रोम पुग्नेछन्‌ भनेर आश्‍वासन दिनुभएको थिएन जस्तो देखिन्छ। तैपनि तिनीहरू ज्यानकै खतरा मोलेर पावलसँग जान तयार भए। पछि कठिन समुद्री यात्राको दौडान मात्र आफूहरूलाई पनि जोगाइनेछ भनेर तिनीहरूले थाह पाए। त्यसैले अरिस्तार्खस र लुका सिजरियामा जहाज चढ्‌दा यहोवाले ती दुई साहसी भाइमार्फत दिनुभएको मदतको लागि पावलले उहाँलाई मनैदेखि धन्यवाद चढाएको हुनुपर्छ।—प्रेषि. २७:१, २, २०-२५.

१७. यहोवाले पावललाई दाजुभाइ दिदीबहिनीमार्फत कसरी मदत गर्नुभयो?

१७ यात्राको दौडान पावलले थुप्रै पटक आफ्ना दाजुभाइ दिदीबहिनीमार्फत मदत पाए। जस्तै: सिदोनको बन्दरगाहमा उत्रिएपछि जुलियसले पावललाई “आफ्ना मित्रहरूकहाँ गएर उनीहरूको अतिथि-सत्कारको आनन्द उठाउने” अनुमति दिए। अनि पछि पटिओलिमा पावल र तिनका सहयात्रीहरूले ‘भाइहरूलाई भेटे, जसले तिनीहरूलाई उनीहरूसँग सात दिन बस्न आग्रह गरे।’ त्यहाँका ख्रिष्टियनहरूले पावल र तिनका सहयात्रीहरूको आवश्‍यकताको ख्याल राखे र तिनीहरू पनि पावलबाट प्रोत्साहनदायी अनुभवहरू सुन्‍न पाउँदा पक्कै रमाए। (प्रेषित १५:२, ३ तुलना गर्नुहोस्‌) यस स्फूर्तिदायी भेटघाटपछि पावल र तिनका सहयात्रीहरूले यात्रा जारी राखे।—प्रेषि. २७:३; २८:१३, १४.

कैदी पावल सिपाहीहरूसँगै आउँदै। रोमका दाजुभाइ दिदीबहिनी तिनलाई न्यानो स्वागत गर्छन्‌।

पावलले जस्तै हामी पनि दाजुभाइ दिदीबहिनीमार्फत यहोवाको मदत पाउन सक्छौँ (अनुच्छेद १८ हेर्नुहोस्‌)

१८. पावलले किन परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए?

१८ रोमतर्फ जाँदै गर्दा पावलले तीन वर्षअघि त्यहाँको मण्डलीलाई लेखेको यो कुरा सम्झे होलान्‌: “धेरै वर्षदेखि मैले तिमीहरूकहाँ आउने तीव्र इच्छा गरेको छु।” (रोमी १५:२३) तर आफू त्यहाँ कैदीको रूपमा आउनेछु भनेर तिनले सोचेका थिएनन्‌ होला। रोमका भाइहरू तिनलाई भेट्‌न बाटोमा कुरिरहेको देख्दा पावलले कत्ति धेरै प्रोत्साहन पाए होलान्‌! “उनीहरूलाई देखेपछि पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए।” (प्रेषि. २८:१५) याद गर्नुहोस्‌, भाइहरू यसरी आफूलाई भेट्‌न आएकोमा पावलले परमेश्‍वरलाई धन्यवाद दिए। किन? किनकि यहोवाले फेरि पनि दाजुभाइ दिदीबहिनीमार्फत आफूलाई मदत गर्नुभएको कुरा पावलले बुझे।

एक बहिनी तिनको पतिलाई अस्पतालमा भेट्‌न आएको दम्पतीलाई न्यानो स्वागत गर्छिन्‌। ती दम्पतीले उनीहरूलाई उपहारस्वरूप केही खानेकुरा ल्याइदिएका छन्‌।

अनुच्छेद १९ हेर्नुहोस्‌

१९. पहिलो पत्रुस ४:१० अनुसार खाँचोमा परेकाहरूलाई मदत गर्न यहोवा हामीलाई कसरी चलाउन सक्नुहुन्छ?

१९ हामी के गर्न सक्छौँ? तपाईँको मण्डलीको कुनै भाइ वा बहिनी बिरामी छन्‌ कि अथवा तिनले कुनै गाह्रो परिस्थितिको सामना गर्दै छन्‌ कि? अथवा कसैले मृत्युको कारण आफूले माया गरेको व्यक्‍ति गुमाएका हुन सक्छन्‌। मदत चाहिएको कुनै भाइ वा बहिनीबारे थाह पायौँ भने तिनलाई केही प्रोत्साहनदायी शब्दहरू भन्‍न वा तिनको लागि कुनै दयालु काम गरिदिन सकूँ भनेर यहोवालाई प्रार्थना गर्न सक्छौँ। हामीले भनेको वा गरेको कुराबाट ती भाइ वा बहिनीले धेरै प्रोत्साहन पाउन सक्छन्‌। (१ पत्रुस ४:१० पढ्‌नुहोस्‌)c “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैनँ र कहिल्यै त्याग्नेछैनँ” भन्‍ने यहोवाको प्रतिज्ञा आफूलाई पनि लागू हुन्छ भनेर हामीबाट मदत पाउने दाजुभाइ दिदीबहिनी फेरि विश्‍वस्त हुन सक्छन्‌। यो कुरा थाह पाउँदा तपाईँलाई पनि पक्कै खुसी लाग्नेछ।

२०. हामी किन विश्‍वस्त भएर “यहोवा मेरो मदतगार हुनुहुन्छ” भन्‍न सक्छौँ?

२० पावल र तिनका सहयात्रीहरूले जस्तै हामीले पनि जीवनको यात्रामा आँधीरूपी परिस्थितिहरूको सामना गर्नुपर्ने हुन्छ। तर हामी साहसी हुन सक्छौँ किनकि यहोवा हामीसित हुनुहुन्छ। उहाँ हामीलाई येसु र स्वर्गदूतहरूमार्फत मदत गर्नुहुन्छ। साथै कुनै कुरा उहाँको उद्देश्‍यअनुरूप छ भने यहोवा अख्तियारमा भएका व्यक्‍तिहरूलाई चलाएर हामीलाई मदत गर्न सक्नुहुन्छ। अनि हामीमध्ये धेरैले अनुभव गरेजस्तै यहोवाले सङ्‌गी दाजुभाइ दिदीबहिनीलाई मदत गर्न पवित्र शक्‍तिद्वारा आफ्ना सेवकहरूलाई उत्प्रेरित गर्न सक्नुहुन्छ। त्यसैले हामी पनि पावलजस्तै विश्‍वस्त भएर यसो भन्‍न सक्छौँ: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ र?”—हिब्रू १३:६.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • येसु र स्वर्गदूतहरूबाट हामी कस्तो मदत पाउन सक्छौँ?

  • ‘अख्तियारवालाहरूको’ लागि प्रार्थना गर्दा हामी कस्ता कुराहरू समावेश गर्न सक्छौँ?

  • हामी खाँचोमा परेका दाजुभाइ दिदीबहिनीलाई कसरी मदत गर्न सक्छौँ?

गीत ३८ यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ

a यस लेखमा यहोवाले पावललाई गाह्रो परिस्थितिको सामना गर्न कुन तीन तरिकामा मदत गर्नुभयो भनेर चर्चा गरिएको छ। विगतमा यहोवा कसरी मदतगार साबित हुनुभयो भनी केलाएर हेऱ्‍यौँ भने आज आँधीरूपी परिस्थितिहरूको सामना गर्नुपर्दा उहाँले हामीलाई मदत गर्नुहुनेछ भनेर अझ विश्‍वस्त हुन सक्छौँ।

b अरिस्तार्खस र लुकाले पहिला पनि पावलसँगै यात्रा गरेका थिए। पावलका यी भरोसायोग्य साथीहरू तिनी रोममा झ्यालखानामा छँदा पनि तिनीसितै थिए।—प्रेषि. १६:१०-१२; २०:४; कल. ४:१०, १४.

c जनवरी १, २००९ को प्रहरीधरहरा, पृष्ठ १८-२०, अनुच्छेद ५-९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने