प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ ८/८ pp. २६-२८
  • प्रेमलीला गर्नुमा के हानि छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेमलीला गर्नुमा के हानि छ?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विवाहित हो भने
  • भावनात्मक प्रणय
  • अविवाहित हो भने नि?
  • १ समस्याहरूबाट जोगिन मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • आफ्नो हृदयलाई सुरक्षित राखेर नैतिक शुद्धता कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • “तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • मित्रता वा रोमान्स?—भाग २: मैले कस्तो सङ्‌केत दिइरहेको छु?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ ८/८ pp. २६-२८

बाइबलको दृष्टिकोण

प्रेमलीला गर्नुमा के हानि छ?

“हामी किन प्रेमलीलालाई चतुऱ्‍याइँ, छली वा खराब भन्छौं? यो खराब होइन! यो एउटा खेल हो! यसमा दुवै पक्ष विजयी हुन्छन्‌ किनभने तपाईंले अर्को व्यक्‍तिलाई खुसी पारिरहनुभएको छ।”—सुजन रविन, प्रेमलीला स्कूलका निर्देशक, न्यु योर्क शहर।

थुप्रै मानिसहरूले प्रेमलीलालाई साधारण, निर्दोष कुराको रूपमा लिन्छन्‌ र अझ कसै कसैले त मानव सम्बन्ध कायम गर्न आवश्‍यक समेत भन्छन्‌। पश्‍चिमी मुलुकहरूमा हाल “प्रेमलीलाको कला”-का महत्त्वपूर्ण इसारा, बस्ने ढाँचा, हेराइ जस्ता कुराहरू सिकाउने पुस्तक, पत्रिकाका लेख तथा विशेष कोर्सहरू छ्यासछ्यासती पाइन्छन्‌।

प्रेमलीला भनेको के हो? यसको विभिन्‍न परिभाषा तथा व्याख्याहरू छन्‌। एउटा शब्दकोशले “खेलाँची ढंगमा प्रेम देखाउने वा यौनिक तवरमा फुस्लाउने” आचरण भन्छ। अर्को शब्दकोशले “कुनै खास मनसायबिना प्रेमप्रणयी” व्यवहार गर्नु भनी बताउँछ। अतः यसो हेर्दा यसले विवाह गर्ने हेतुले होइन तर त्यतिकै रोमान्टिक संकेतहरू दिनुलाई बुझाउँछ। के प्रेमलीलालाई अहानिकारक भन्‍न सकिन्छ? बाइबलले प्रेमलीलाबारे के भन्छ?a

धर्मशास्त्रमा प्रेमलीलाबारे किटेरै नभने तापनि हामी यसबारे परमेश्‍वरको दृष्टिकोण बुझ्नसक्छौं। कसरी? यस विषयसित सम्बन्धित बाइबल सिद्धान्तहरू जाँचेर। यसरी हामीले ‘खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको’ विकास गर्नसक्छौं। (हिब्रू ५:१४) पहिला, विवाहित व्यक्‍तिहरूले प्रेमलीला गर्नु उचित हो, होइन; हेरौं।

विवाहित हो भने

विवाहित दम्पतीहरू आपसमा दुई जना मात्र हुँदा प्रणयी व्यवहार गर्नु स्वाभाविक हो। (उत्पत्ति २६:८ तुलना गर्नुहोस्‌।) तर विवाहबाहिर अरूसित त्यस्तो व्यवहार गर्नु परमेश्‍वरको सिद्धान्त विपरीत हो। विवाहित दम्पतीहरूले घनिष्ठ र विश्‍वासीलो सम्बन्ध राखून्‌ भन्‍ने उद्देश्‍य यहोवाले राख्नुभएको छ। (उत्पत्ति २:२४; एफिसी ५:२१-३३) उहाँले विवाहलाई पवित्र तथा अनन्त बन्धनको रूपमा लिनुहुन्छ। मलाकी २:१६ ले परमेश्‍वरबारे यसो भन्छ: “स्वास्नीलाई त्याग्ने कुरालाई म घिन गर्दछु।”b

विवाहित व्यक्‍तिहरूले प्रेमलीला गर्नु के विवाहप्रति परमेश्‍वरको दृष्टिकोणअनुरूप छ? यो गम्भीर विषय हो किनभने विवाहित भइकन पनि प्रेमलीला गर्ने व्यक्‍तिले परमेश्‍वरको वैवाहिक प्रबन्धको पवित्रताप्रति अनादार देखाइरहेको हुन्छ। साथै, एफिसी ५:३३ मा मसीही पतिहरूलाई “आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर,” र पत्नीलाई “आफ्ना पतिको डर” मान भन्‍ने आज्ञा दिइएको छ। ईर्ष्या उत्पन्‍न गराउने प्रेमलीलाले के आफ्नो जोडीप्रति प्रेम वा आदर देखाइरहेको हुन्छ?

अझ गम्भीर कुरा त प्रेमलीला गर्दा व्यभिचार पनि हुनसक्छ र यो यस्तो पाप हो जसलाई परमेश्‍वरले सरासर निन्दा गर्नुहुन्छ र छली कार्य भन्‍नुहुन्छ। (प्रस्थान २०:१४; लेवी २०:१०; मलाकी २:१४, १५; मर्कूस १०:१७-१९) निस्सन्देह, यहोवाले व्यभिचारलाई अत्यन्तै गम्भीर पापको रूपमा लिनुहुन्छ त्यसैकारण उहाँले वैवाहिक अवफादारीको शिकार भएकाहरूलाई पारपाचुके गर्ने अनुमति दिनुहुन्छ। (मत्ती ५:३२) अतः परमेश्‍वरले प्रेमलीला जस्तो खतरनाक मनोरञ्जन गर्ने अनुमति दिनुहुन्छ होला त? जसरी एउटा मायालु आमाबाबुले आफ्नो सानो बच्चालाई धारिलो चक्कुसित खेल्न दिंदैनन्‌, त्यस्तैगरि परमेश्‍वरले पनि यस्तो कार्य पटक्कै अनुमति दिनुहुन्‍न।

व्यभिचारको सन्दर्भमा बाइबलले यस्तो चेताउनी दिन्छ: “आफ्नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्नो छातीमा आगो राख्नसक्छ? जलि रहेको भुंग्रोमा कुनै मानिस हिंड़यो भने के त्यसको खुट्टा पोल्दैन र? अर्काकी पत्नीसित सुत्ने त्यस्तैनै हुन्छ, त्यस्ती स्त्रीलाई छुने कुनै पनि मानिस उम्केर जाँदैन।” (हितोपदेश ६:२७-२९) तथापि, जारी नै नगरे तापनि प्रेमलीला गर्ने विवाहित व्यक्‍तिले अर्को खतरालाई निम्त्याइरहेको हुन्छ जसलाई “भावनात्मक प्रणय” भनिन्छ।

भावनात्मक प्रणय

केही मानिसहरूले विवाहबाहिर सम्बन्धहरू गाँसेका छन्‌। तिनीहरूले यौनसम्बन्ध नै नराख्लान्‌ तर रोमान्टिक भावनाहरू पलाउनथाल्छन्‌। तथापि येशूले चेताउनी दिनुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२८) येशूले किन हृदयमा मात्रै सीमित रहने प्रेमको पनि विरोध गर्नुभयो?

एउटा कारण त, “हृदयबाटनै . . . व्यभिचार, . . . बाहिर निस्कन्छ।” (मत्ती १५:१९) तथापि, त्यस्तो सम्बन्ध व्यभिचार गर्ने अवस्थासम्म नपुगे तापनि खतरनाक हुन्छ। किन? यस विषयमा एउटा पुस्तकले यसो भन्छ: “कुनै पनि क्रियाकलाप वा सम्बन्धले गर्दा तपाईं आफ्नो जीवनसाथीसित धेरै समय बिताउन पाउनुहुन्‍न भने त्यो एक प्रकारको विश्‍वासघात हो।” हो, भावनात्मक प्रणयले पति वा पत्नीलाई दिनुपर्ने समय, ध्यान र स्नेहबाट वञ्चित गर्छ। अरूलाई आफूजस्तै व्यवहार गर भन्‍ने येशूको आज्ञालाई विचार गर्दै विवाहित भइकन प्रेमलीला गर्ने व्यक्‍तिले निम्न प्रश्‍न सोध्नसक्छन्‌, ‘मेरो जीवनसाथीले अर्को व्यक्‍तिसित यस्तै व्यवहार गऱ्‍यो भने मैले कस्तो महसुस गर्नेछु?”—हितोपदेश ५:१५-२३; मत्ती ७:१२.

यदि कोही व्यक्‍तिले यस्तो अनुचित भावानात्मक बन्धन गाँसेका छन्‌ भने तिनले के गर्नसक्छन्‌? अनुचित भावनात्मक सम्बन्ध राख्ने विवाहित व्यक्‍ति गाडी चलाउँदा चलाउँदै निदाउने चालक जस्तै हो। तिनी तुरुन्तै ब्यूँझनुपर्छ अनि तिनको विवाह र परमेश्‍वरसितको सम्बन्ध भताभुंग हुनुअघि नै निर्णायक कदम चाल्नुपर्छ। येशूले उखानमा भन्‍नुभएझैं परमेश्‍वरसितको सम्बन्धमा केही कुराले बाधा पुऱ्‍याउँछ भने आँखाजस्तो बहुमूल्य अंग फालिदिनुपर्छ वा हात पनि काट्‌नुपर्छ।—मत्ती ५:२९, ३०.

अतः अर्को व्यक्‍तिलाई तपाईं कहाँ र कति चोटि भेट्‌नुहुन्छ विचार गरेर त्यसलाई कम गर्नु नै बुद्धिमानी हुनेछ। निस्सन्देह त्यस व्यक्‍तिसित एक्लै नबस्नुहोस्‌ अनि काम गर्ने ठाउँ हो भने कामसित सम्बन्धित कुराहरू मात्र गर्नुहोस्‌। त्यस व्यक्‍तिसित चटक्कै सम्बन्ध तोड्‌नु समेत पर्नसक्छ। त्यसपछि, आफ्नो आँखा, विचार, भावना तथा बानीबेहोराको सन्दर्भमा कडिकडाउसाथ आत्मसंयम खेती गर्नु आवश्‍यक हुनसक्छ। (उत्पत्ति ३९:७-१२; भजन १९:१४; हितोपदेश ४:२३; १ थिस्सलोनिकी ४:४-६) विवाहित पुरुष अय्यूबले यस सन्दर्भमा उत्कृष्ट नमुना बसाले। तिनले भने: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ़ संकल्प गरें।”—अय्यूब ३१:१.

स्पष्टतः विवाहित व्यक्‍ति प्रेमलीलामा लाग्नु खतरनाक हुनुका साथै गैरशास्त्रीय हो। तथापि अविवाहित व्यक्‍तिहरूबीच प्रेमलीलाबारे बाइबलको दृष्टिकोण कस्तो छ? के प्रेमलीला सामान्य, निर्दोष वा आवश्‍यक भन्‍न सकिन्छ? के त्यसबाट कुनै हानि हुनसक्छ?

अविवाहित हो भने नि?

दुई अविवाहित व्यक्‍तिहरू विवाह गर्ने विचार गर्दैछन्‌ र खराब आचरणमा लाग्दैनन्‌ भने आपसमा रोमान्टिक चासो देखाउनुमा कुनै आपत्ति छैन। (गलाती ५:१९-२१) त्यस्तो चासो विवाहको प्रस्ताव राख्नुभन्दा धेरैअघि भर्खर भर्खर भेट्‌न थाल्दादेखि नै पलाउनसक्छ। असल मनसाय छ भने त्यस्तो चासो अनुचित भन्‍न सकिंदैन। त्यस्तो व्यवहारलाई प्रेमलीला भन्‍न मिल्दैन।

तर अविवाहित व्यक्‍तिहरूले रमाइलोको लागि मात्र रोमान्टिक चासो देखाउन थाले भने नि? दुवै अविवाहित भएको हुँदा अहानिकारक देखिएला। तथापि, भावनात्मक तवरमा यसले कति चोट पुऱ्‍याउँछ, विचार गर्नुहोस्‌। प्रेमलीला गर्ने व्यक्‍तिको व्यवहारलाई अनजानमा गम्भीरतापूर्वक लिन थाल्यो भने कत्ति असह्‍य पीडा र वेदना हुनसक्छ। हितोपदेश १३:१२ का निम्न शब्दहरू कत्ति सत्य छन्‌: “आशा साकार नहुँदा मन मर्छ, तर इच्छा पूर्ण हुनुनै जीवनको सहारा हो”! दुवैले त्यस्तो सम्बन्धलाई गम्भीरतासाथ लिएको छैन भनी बुझेका छन्‌ भन्‍ने दाबी गरे तापनि अर्को व्यक्‍तिको मनको कुरा के थाह? बाइबलले यस्तो जवाफ दिन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ, त्यसलाई कसले जान्‍नसक्छ र?”—यर्मिया १७:९; तुलना गर्नुहोस्‌ फिलिप्पी २:४.

व्यभिचारमा फस्ने खतराबारे पनि विचार गर्नुहोस्‌ जसको नतिजा रोग वा अवैध गर्भधारण हुनसक्छ। धर्मशास्त्रमा व्यभिचारलाई निषेध गरिएको छ र जसले जानाजानी व्यभिचार गर्छ त्यसले परमेश्‍वरको अनुग्रह गुमाउँछ। यस्ता प्रलोभनहरूको विरोध गर्न प्रेरित पावलले बुद्धिमानीपूर्वक चेताउनी दिए। मसीहीहरूले “व्यभिचार[को]” सन्दर्भमा “अङ्‌गहरूलाई आत्मसंयमद्वारा वशमा” पार्नुपर्छ र व्यभिचारतर्फ डोऱ्‍याउने “कुइच्छाको कामना[बाट]” अलग बस्नुपर्छ। (कलस्सी ३:५; १ थिस्सलोनिकी ४:३-५) गलत चाहनाहरू जाग्नेगरि व्यभिचारको “नाउँसमेत पनि तिमीहरूबाट नलिइओस्‌,” भनी पावल एफिसी ५:३ मा हामीलाई सल्लाह दिन्छन्‌। यस सल्लाहअनुरूप प्रेमलीला पक्कै पनि उचित देखिंदैन। परमेश्‍वरले यौनबारे अस्वास्थ्यकर कुराकानी गर्नसमेत निषेध गर्नुहुन्छ।

बाइबल सिद्धान्तहरूले प्रेमलीला गर्नु सँगी मानवहरूप्रति पनि निष्ठूर हुनु हो साथै विवाहका सुरुआतकर्ता यहोवालाई पनि अनादार गर्नु हो भनी प्रकाश पार्छ। प्रेमलीलाप्रति बाइबलको दृष्टिकोण पक्कै पनि मायालु र व्यवहारिक छ किनभने यसले मानिसहरूलाई हानि हुनबाट जोगाउँछ। अतः परमेश्‍वरलाई प्रेम गर्ने व्यक्‍तिहरू अनुचित प्रेमलीलाबाट टाढा बस्छन्‌ र विपरीत लिंगका व्यक्‍तिलाई शुद्धताका साथै आदरपूर्ण व्यवहार गर्छन्‌।—१ तिमोथी २:९, १०; ५:१, २.

[फुटनोटहरू]

a कुनै यौन आकर्षण नमुछिएको मित्रैलो वा अरूसित घुलमिल गर्ने व्यवहारलाई प्रेमलीला भन्‍नु मिल्दैन।

b फेब्रुअरी ८, १९९४ अंकको ब्यूँझनुहोस्‌!-मा (अंग्रेजी) “परमेश्‍वर कस्तो प्रकारको पारपाचुके घृणा गर्नुहुन्छ?” हेर्नुहोस्‌।

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

© The Curtis Publishing Company

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने