प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ९/१५ pp. २३-२७
  • यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौं?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले गर्नुभएका प्रबन्धको लागि धन्यवादी हुनुहोस्‌
  • यहोवाबारे सिकेका कुराहरूमा मनन गर्नुहोस्‌
  • परमेश्‍वरले दिनुहुने सल्लाह र अनुशासन स्वीकार्नुहोस्‌
  • मदत र सुरक्षाको लागि यहोवामा भर पर्नुहोस्‌
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई प्रेम गर्नू’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • प्रेमले उन्‍नति गराउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • आफ्नो प्रेम सेलाउन नदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ९/१५ pp. २३-२७
१. एक ख्रीष्टियनले पार्कमा साक्षी दिंदै; २. बुबाले छोरालाई कथाको किताब पढेर सुनाउँदै; ३. एक बहिनीले यहोवाको विषयमा बताउँदै

यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौं?

“हामी प्रेम गर्छौं, किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।”—१ यूह. ४:१९.

गीत: ५६,  १३८

निम्न क्षेत्रबारे विचार गर्दा यहोवाप्रति तपाईंको प्रेम कसरी बढ्‌नेछ?

  • यहोवाले हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ

  • यहोवाले हामीलाई सत्य कुरा सिकाउनुहुन्छ

  • यहोवाले हामीलाई सल्लाह र अनुशासन दिनुहुन्छ

१, २. परमेश्‍वरलाई प्रेम गर्न उहाँले हामीलाई कसरी सिकाउनुभएको छ?

कुनै पनि बुबाले छोराछोरीलाई सिकाउने सबैभन्दा राम्रो तरिका भनेको आफ्नै उदाहरणद्वारा हो। प्रेषित यूहन्‍नाले यस्तो लेखे: “हामी प्रेम गर्छौं, किनकि पहिला [परमेश्‍वरले] हामीलाई प्रेम गर्नुभयो।” (१ यूह. ४:१९) हो, प्रेम गर्ने सन्दर्भमा सबैभन्दा राम्रो उदाहरण यहोवा परमेश्‍वर आफैले बसाल्नुभएको छ। त्यसैले उहाँको अनुकरण गर्दै हामी पनि उहाँलाई प्रेम गर्न सिक्छौं।

२ परमेश्‍वरले पहिला हामीलाई कसरी प्रेम गर्नुभयो? यसबारे प्रेषित पावलले यस्तो लेखे: “हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।” (रोमी ५:८) हाम्रो मायालु बुबा यहोवाले हामीलाई पाप र मृत्युबाट बचाउन फिरौती स्वरूप आफ्नो छोरा दिनुभयो। यस प्रबन्धले गर्दा उहाँसित घनिष्ठ हुन र उहाँलाई प्रेम गर्न सक्यौं। यस्तो ठूलो त्याग गरेर उहाँले हाम्रो लागि नमुना बसाल्नुभयो। हामीले पनि निःस्वार्थ र उदार भई प्रेम गर्न सिक्नुपर्छ।—१ यूह. ४:१०.

३, ४. परमेश्‍वरलाई प्रेम गरेको कुरा हामी कसरी देखाउन सक्छौं?

३ एक जना शास्त्रीले येशूलाई सबैभन्दा ठूलो आज्ञा कुन हो भनेर सोध्दा उहाँले यस्तो जवाफ दिनुभयो: “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।” (मर्कू. १२:३०) यहोवा हामीले उहाँलाई “सारा मनले” प्रेम गरेको चाहनुहुन्छ। मतलब हाम्रो मन विभाजित हुनु हुँदैन। त्यसैले हामी अरू कसैलाई वा कुनै चिजलाई भन्दा यहोवालाई धेरै माया गर्छौं। तर हाम्रो प्रेम भावनामा मात्र सीमित हुनु हुँदैन। हामीले उहाँलाई आफ्नो “सारा दिमाग” र “सारा बलले” पनि प्रेम गर्नुपर्छ। यसको अर्थ हामी उहाँलाई आफ्नो सारा बौद्धिक तथा शारीरिक क्षमताले प्रेम गर्छौं। यहोवा हामीबाट के चाहनुहुन्छ भनेर भविष्यवक्‍ता मीकाले पनि उल्लेख गरेका छन्‌।—मीका ६:८ पढ्‌नुहोस्‌।

४ हामीले यहोवालाई तनमनले र आफूसँग भएका सबै थोकले प्रेम गर्नुपर्छ। येशूले पनि यही कुरा सिकाउनुभएको थियो। अघिल्लो लेखमा यहोवाले हामीलाई माया गर्नुभएको चार वटा तरिका छलफल गऱ्‍यौं। यहोवालाई कसरी प्रेम गर्न सक्छौं, अब विचार गरौं।

यहोवाले गर्नुभएका प्रबन्धको लागि धन्यवादी हुनुहोस्‌

५. यहोवाले हाम्रो लागि प्रबन्ध गर्नुभएका कुराबारे मनन गर्दा हामी के गर्न उत्प्रेरित हुन्छौं?

५ उपहार पाउँदा तपाईंलाई कस्तो लाग्छ? खुसी लाग्छ होला र यसको लागि धन्यवाद पनि दिनुहुन्छ होला। तर त्यति मात्र नभई उपहारको सदुपयोग पनि गर्नुहुन्छ नि, होइन र? याकूबले यसप्रकार लेखे: “हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाटै पाउँछौं, किनकि त्यो आकाशका ज्योतिहरूका बुबाबाट आउँछ अनि सरिरहने छायाजस्तो उहाँ परिवर्तन भइरहनुहुन्‍न।” (याकू. १:१७) यहोवाले हामीलाई जीवनमा चाहिने सबै थोक दिनुहुन्छ। उहाँको यस्तो प्रेमबारे मनन गर्दा के तपाईं पनि उहाँलाई प्रेम गर्न उत्प्रेरित हुनुहुन्‍न र?

६. यहोवाको आशिष्‌ पाइरहन इस्राएलीहरूले के गर्नुपर्थ्यो?

६ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई वर्षौसम्म हेरविचार गर्नुभयो। उहाँले तिनीहरूको भौतिक तथा आध्यात्मिक आवश्‍यकता पूरा गरिदिनुभयो। (व्यव. ४:७, ८) तर यहोवाबाट आशिष्‌ पाइरहन तिनीहरूले उहाँको आज्ञा पालन गर्नुपर्थ्यो। उहाँले दिनुभएको एउटा आज्ञा यस्तो थियो: “तिमीहरूको जमीनको प्रथम उब्जनीमध्येको अगौटे बालीचाहिं आफ्ना परमप्रभु परमेश्‍वरको घरमा ल्याउनू।” (प्रस्थ. २३:१९) यो आज्ञा पालन गरेर इस्राएलीहरूले यहोवाप्रति धन्यवादी भएको देखाउन सक्थे।—व्यवस्था ८:७-११ पढ्‌नुहोस्‌।

७. यहोवालाई प्रेम गरेको देखाउन आफ्नो “धन-सम्पत्ति” कसरी प्रयोग गर्न सक्छौं?

७ हामी कसरी यहोवाप्रति धन्यवादी भएको देखाउन सक्छौं? हामीले इस्राएलीहरूले जस्तै भेटी त चढाउन पर्दैन, तर हामी खुसीसाथ आफ्नो “धन-सम्पत्तिले” यहोवाको आदर गर्न सक्छौं। (हितो. ३:९) जस्तै: यहोवाको उपासना अघि बढाउन हामी विभिन्‍न तरिकामा अनुदान गर्न सक्छौं। हामीले दिन सक्ने कुरा धेरै होस्‌ वा थोरै, अनुदान गरेर हामी यहोवालाई प्रेम गरेको देखाउन सक्छौं। (२ कोरि. ८:१२) यहोवालाई प्रेम गरेको देखाउने अन्य तरिका पनि छन्‌ कि?

८, ९. यहोवाको प्रतिज्ञामा भरोसा गर्नु र उहाँलाई प्रेम गर्नुमा कस्तो सम्बन्ध छ? माइक र तिनको परिवारले के गरे?

८ येशूले चेलाहरूलाई परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहन र खाना लाउनको लागि बढ्‌तै चिन्ता नगर्न सल्लाह दिनुभयो। हामीलाई आवश्‍यक पर्ने कुरा बुबाले दिनुहुन्छ भनेर पनि बताउनुभयो। (मत्ती ६:३१-३३) के हामी यो प्रतिज्ञामा भरोसा गर्छौं? यस प्रतिज्ञामा भरोसा गर्दा हामीले यहोवालाई प्रेम गरिरहेको देखिन्छ। किनकि हामी कसैलाई साँच्चै प्रेम गर्छौं भने तिनलाई भरोसा पनि गर्छौं। (भज. १४३:८) त्यसैले हामी आफैलाई यसरी सोध्न सक्छौं: ‘के मेरो लक्ष्य र जीवनशैलीबाट यहोवालाई साँच्चै प्रेम गरेको देखिन्छ? यहोवाले मेरो आवश्‍यकता दिनदिनै पूरा गर्नुहुन्छ भनेर के म भरोसा गर्छु?’

९ माइक र तिनको परिवारले त्यस्तै प्रेम र भरोसा देखाए। माइक युवा छँदा तिनमा विदेश गएर यहोवाको सेवा गर्ने इच्छा थियो। पछि तिनको विवाह भयो र दुई छोराछोरी पनि जन्मिए। तर विदेशमा सेवा गर्ने तिनको इच्छा कहिल्यै मरेन। आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गरेका साक्षीहरूको अनुभव पढ्‌दा माइक र तिनको परिवार उत्साहित भए अनि जीवन सरल बनाउने निर्णय गरे। तिनीहरूले आफ्नो घर बेचे। माइकले आफ्नो व्यापार-व्यवसाय घटाए र विदेशमा रहेर इन्टरनेटमार्फत कारोबार सम्हाल्न सकिंदो रहेछ भनेर थाह पाए। त्यसपछि तिनीहरू सरे। विदेशमा सेवा गरेको दुई वर्षपछि माइकले यसो भने: “मत्ती ६:३३ मा येशूले भन्‍नुभएको कुरा साँचो रहेछ भनेर अनुभव गऱ्‍यौं।”

यहोवाबारे सिकेका कुराहरूमा मनन गर्नुहोस्‌

१०. यहोवाबारे सिकेका कुराहरूमा मनन गर्दा हामीमा कस्तो प्रभाव पर्छ?

१० यहोवाका सृष्टिका कुराहरू हेर्दै मनन गरेपछि राजा दाऊदले यस्तो लेखे: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ र आकाशमण्डलले उहाँको हातको सीप प्रकट गर्छ।” परमेश्‍वरको बुद्धिको प्रशंसा गर्दै तिनले यसो भने: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान्‌ तुल्याउने।” यहोवाको सृष्टिमा मनन गर्दा दाऊद उहाँसित अझ नजिक भए। यहोवाप्रतिको आफ्नो प्रेम दाऊदले यसरी व्यक्‍त गरे: “हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरो मुखका वचनहरू र मेरो हृदयको ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्‌।”—भज. १९:१, ७, १४.

११. यहोवालाई प्रेम गर्छौं भने आफूले पाएको ज्ञान कसरी चलाउँछौं? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌ )

११ यहोवा परमेश्‍वरले हामीलाई उहाँको उद्देश्‍य, सृष्टि र उहाँको वचनबारे धेरै कुरा सिकाउँदै हुनुहुन्छ। यस संसारले यस्तो कुरा सिकाउँदैन, बरु उच्च शिक्षा हासिल गर्न जोड दिन्छ। तर उच्च शिक्षा लिने धुनमा कसै-कसैको विश्‍वास कमजोर भएको छ र परमेश्‍वरप्रतिको प्रेम सेलाएको छ। बाइबलले हामीलाई ज्ञान मात्र होइन, बुद्धि र समझ हासिल गर्न पनि सिकाउँछ। यसको अर्थ सिकेको कुरा आफ्नो र अरूको भलाइको लागि प्रयोग गर्नुपर्छ। (हितो. ४:५-७) परमेश्‍वर “सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने चाहनुहुन्छ।” (१ तिमो. २:४) त्यसैले परमेश्‍वरको राज्य र यसले मानिसहरूको लागि गर्ने कुरा अरूलाई बताएर हामी परमेश्‍वरलाई प्रेम गर्छौं।—भजन ६६:१६, १७ पढ्‌नुहोस्‌।

१२. यहोवाबाट उपहार पाउँदा स्यानन्‌ले कस्तो महसुस गरिन्‌?

१२ आध्यात्मिक कुराको मोल गरेर बाल-बालिकाहरूले पनि यहोवालाई प्रेम गरेको देखाउन सक्छन्‌। स्यानन्‌ आमाबुबासित “ईश्‍वरीय भक्‍ति” नामक जिल्ला अधिवेशन गएकी थिई। त्यतिबेला तिनी ११ वर्षकी र तिनकी बहिनी १० वर्षकी थिइन्‌। अधिवेशनको एउटा भाषणमा सबै बाल-बालिकालाई एक ठाउँमा बस्न लगाइएको थियो। सुरुमा आफूलाई अप्ठ्यारो लागेको कुरा स्यानन्‌ सम्झन्छिन्‌। तर सबै बाल-बालिका र युवाहरूले युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ भन्‍ने किताब पाउँदा तिनी असाध्यै रमाइन्‌। यस्तो सुन्दर उपहार पाउँदा तिनले कस्तो महसुस गरिन्‌? तिनी भन्छिन्‌: “यहोवा वास्तविक हुनुहुन्छ र मलाई माया गर्नुहुन्छ भनेर महसुस गरें। हाम्रो महान्‌ परमेश्‍वर यहोवा यस्ता सुन्दर उपहारहरू हामीलाई सित्तैंमा दिनुहुन्छ।”

परमेश्‍वरले दिनुहुने सल्लाह र अनुशासन स्वीकार्नुहोस्‌

१३, १४. यहोवाले अनुशासन दिंदा हामीले के गर्नुपर्छ र किन?

१३ बाइबलले हामीलाई यसरी सम्झाएको छ: “जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाई नै उहाँले हप्काउनुहुन्छ, र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ।” (हितो. ३:१२) यस विषयमा पावलले पनि यस्तो लेखे: “कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर दुःखलाग्दो हुन्छ, तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्‌, तिनीहरूका लागि यसले पछि गएर शान्तिले भरिएको फल फलाउँछ अर्थात्‌ तिनीहरूले परमेश्‍वरको स्तरबमोजिम असल काम गर्नेछन्‌।” (हिब्रू १२:११) त्यसोभए हामीले के गर्नुपर्छ? यहोवाले दिनुहुने सल्लाह र अनुशासन स्वीकार्नुपर्छ। कसै-कसैलाई यसो गर्न गाह्रो लाग्न सक्छ तर हामी यहोवालाई प्रेम गर्छौं भने उहाँको कुरा सुन्छौं र पालन गर्छौं।

१४ मलाकीको समयमा धेरैजसो इस्राएलीहरूले यहोवाको सल्लाह सुनेनन्‌। बलिदान सम्बन्धी उहाँले दिनुभएको आज्ञा तिनीहरूलाई थाह थियो तर तिनीहरूले त्यसको वास्तै गरेनन्‌। त्यसैकारण यहोवाले तिनीहरूलाई कडा सल्लाह दिनुभयो। (मलाकी १:१२, १३ पढ्‌नुहोस्‌ ) तर पटक-पटक सल्लाह पाउँदा पनि तिनीहरूले टेरपुच्छर लगाएनन्‌। त्यसैले उहाँले यसो भन्‍नुभयो: “म तिमीहरूलाई सराप दिनेछु र तिमीहरूका आशिष्‌हरूमाथि मेरो सराप परिसकेको छ, किनकि तिमीहरूले [मेरा आज्ञाहरू] हृदयमा राख्तैनौ।” (मला. २:१, २) कुरा स्पष्ट छ, यहोवाको सल्लाह बारम्बार इन्कार गरिरहन्छौं भने उहाँसितको हाम्रो सम्बन्ध बिग्रन्छ।

ख्रीष्टियनहरूलाई नसुहाउने किसिमको लुगा नियाल्दै एक बहिनी

संसारको पछि लाग्नुको साटो यहोवाको निर्देशनअनुसार चल्नुहोस्‌ (अनुच्छेद १५ हेर्नुहोस्‌ )

१५. कस्तो प्रकारको मनोभावदेखि हामी होसियार हुनुपर्छ?

१५ अचेल मानिसहरू घमन्डी र स्वार्थी भएका छन्‌। कसैले सुधारेको वा सल्लाह दिएको तिनीहरूलाई फिटिक्कै मन पर्दैन। कोही-कोहीले भने मन नलागि नलागि सल्लाह सुन्छन्‌। तर हामी त्यस्तो हुनु हुँदैन। हामीलाई यस्तो सल्लाह दिइएको छ: “यस युगको चालढालअनुसार चल्न छोड।” हामीले “परमेश्‍वरको . . . सिद्ध इच्छा” के हो राम्ररी थाह पाउनुपर्छ र त्यसैअनुसार गर्नुपर्छ। (रोमी १२:२) विपरीत लिङ्‌गका व्यक्‍तिसित गर्नुपर्ने व्यवहार र साथीसङ्‌गत वा मनोरञ्जन छान्‍नेबारे यहोवा आफ्नो सङ्‌गठनमार्फत हामीलाई ठीक समयमा सल्लाह दिनुहुन्छ। यहोवाले दिनुहुने सल्लाह-सुधारलाई खुसीसाथ स्वीकारेर त्यसअनुसार गर्दा हामी उहाँलाई साँच्चै प्रेम गर्छौं भनेर देखाइरहेका हुन्छौं।—यूह. १४:३१; रोमी ६:१७.

मदत र सुरक्षाको लागि यहोवामा भर पर्नुहोस्‌

१६, १७. (क) निर्णयहरू गर्नुपर्दा यहोवाको इच्छा किन बुझ्नुपर्छ? (ख) इस्राएलीहरूले यहोवालाई प्रेम र भरोसा नगरेको कसरी देखियो?

१६ बाल-बालिकाहरू खतरा महसुस गर्ने बित्तिकै मदत र सुरक्षाको लागि आमाबुबाकहाँ दौडेर जान्छन्‌। तर तिनीहरू हुर्कंदै जाँदा आफैमा भर पर्छन्‌ र आफ्नो लागि आफैले निर्णय गर्छन्‌। यस्तो परिवर्तन आउनु स्वाभाविकै हो। तर छोराछोरी आमाबुबासित घनिष्ठ छन्‌ भने ठूलो भइसकेपछि पनि आमाबुबाको मदत र सल्लाह खोज्छन्‌। यहोवासितको सम्बन्ध पनि त्यस्तै हो। उहाँमा भरोसा राख्यौं भने सही काम गर्न हामीलाई आफ्नो पवित्र शक्‍ति दिनुहुनेछ। तर यहोवाको इच्छा के छ भनी नबुझी निर्णयहरू गर्छौं भने हामीले यहोवालाई प्रेम गरेको र भरोसा गरेको देखिंदैन।—फिलि. २:१३.

१७ शमूएलको समयमा इस्राएलीहरू पलिश्‍तीहरूसित युद्धमा हारे। अब के गर्नुपर्ने हो भनेर यहोवालाई सोध्नुको सट्टा तिनीहरूले यसो भने: “हामीसँग जानलाई र हामीलाई हाम्रा शत्रुहरूको शक्‍तिबाट मुक्‍त गराउनलाई परमप्रभुको करारको सन्दूक शीलोबाट ल्याऊ।” यसले कस्तो नतिजा ल्यायो? तिनीहरू फेरि पनि युद्धमा हारे र “तीस हजार इस्राएली पैदल-सिपाहीहरू नाश भए।” (१ शमू. ४:२-४, १०, ११) करारको सन्दुक सँगै लगेकोले इस्राएलीहरूले यहोवामाथि भरोसा राखेको जस्तो देखिन्थ्यो। तर वास्तवमा तिनीहरूले यहोवाको डोऱ्‍याइ खोजिरहेका थिएनन्‌। तिनीहरूले आफूलाई जे मन लाग्यो, त्यही गरिरहेका थिए र त्यसको नतिजा दुःखदायी भयो।—हितोपदेश १४:१२ पढ्‌नुहोस्‌।

१८. यहोवामा भरोसा राख्ने सन्दर्भमा बाइबलले हामीलाई के सिकाउँछ?

१८ भजनरचयिताले यस्तो लेखे: “परमेश्‍वरमा आशा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा सहायक र मेरा परमेश्‍वर हुनुहुन्छ। हे मेरा परमेश्‍वर, मेरो आत्मा मभित्रै खिन्‍न भएको छ। यसकारण म . . . तपाईंलाई सम्झन्छु।” (भज. ४२:५, ६) हो, ती भजनरचयिता यहोवालाई प्रेम गर्थे र उहाँमा भरोसा राख्थे। के तपाईं पनि यहोवालाई प्रेम गर्नुहुन्छ? भजनरचयिताले जत्तिकै यहोवालाई भरोसा गर्नुहुन्छ? तपाईं ‘गर्छु’ भनेर जवाफ दिनुहुन्छ होला। तैपनि बाइबलको यो सल्लाह पालन गरेर आफ्नो प्रेम र भरोसा अझ बढाउन सक्नुहुन्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”—हितो. ३:५, ६.

१९. यहोवालाई प्रेम गरेको कुरा कसरी देखाउन चाहनुहुन्छ?

१९ यहोवाले हामीलाई माया गरेर हाम्रो लागि नमुना बसाल्नुभएको छ। त्यसैले उहाँको अनुकरण गरौं। “परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम” गरौं।—मर्कू. १२:३०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने