प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ९/१५ pp. १८-२२
  • यहोवा हामीलाई माया गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हामीलाई माया गर्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हाम्रो मायालु प्रबन्धक हुनुहुन्छ
  • यहोवा हामीलाई सत्य कुरा सिकाउनुहुन्छ
  • यहोवा आफ्ना छोराछोरीलाई सल्लाह र अनुशासन दिनुहुन्छ
  • यहोवा हामीलाई जोगाउनुहुन्छ
  • महान्‌ सुअवसर
  • यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई प्रेम गर्नू’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ९/१५ pp. १८-२२
मकैको खोस्टा निकाल्दै एक परिवार

यहोवा हामीलाई माया गर्नुहुन्छ

“हेर, . . . बुबाले हामीलाई कत्ति धेरै प्रेम गर्नुभएको छ।”—१ यूह. ३:१.

गीत: ९१, १३

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • यहोवाले माया गर्नुहुन्छ भन्‍ने कुरा बुझ्न कसै-कसैलाई किन गाह्रो लाग्न सक्छ?

  • हाम्रा आवश्‍यकता पूरा गरेर र सत्य कुरा सिकाएर यहोवाले कसरी माया गर्नुभएको छ?

  • परमेश्‍वरले दिने सल्लाह र अनुशासनमा उहाँको माया कसरी देखिन्छ?

१. प्रेषित यूहन्‍नाले ख्रीष्टियनहरूलाई के गर्न प्रोत्साहन दिए? यसो गर्दा हामी के गर्न उत्प्रेरित हुन्छौं?

परमेश्‍वरले हामीलाई धेरै माया गर्नुभएको छ। त्यसैले प्रेषित यूहन्‍नाले यसबारे गहिरिएर सोच्न हामीलाई प्रोत्साहन दिएका छन्‌। तिनले १ यूहन्‍ना ३:१ मा यस्तो लेखे: “हेर, . . . बुबाले हामीलाई कत्ति धेरै प्रेम गर्नुभएको छ।” यहोवा परमेश्‍वर हामीलाई कत्तिको माया गर्नुहुन्छ र हामीलाई माया गरेको कसरी देखाउनुभएको छ, त्यसबारे मनन गर्दा उहाँसित नजिक हुन्छौं अनि उहाँलाई अझ माया गर्न उत्प्रेरित हुन्छौं।

२. परमेश्‍वरले माया गर्नुहुन्छ भन्‍ने कुरा कसै-कसैले किन बुझ्न सकेका छैनन्‌?

२ परमेश्‍वरले मानिसहरूलाई माया गर्नुहुन्छ भन्‍ने कुरा कसै-कसैले बुझ्न सकेका छैनन्‌। परमेश्‍वरबारे फैलिएका गलत कुराले गर्दा कतिपय मानिसहरू परमेश्‍वर भन्‍नासाथ डराउँछन्‌। तिनीहरू परमेश्‍वर निर्दयी हुनुहुन्छ भन्ठान्छन्‌। परमेश्‍वर मानिसहरूलाई माया गर्नुहुन्‍न र उहाँलाई पनि माया गर्न सकिंदैन भन्‍ने सोच्छन्‌। अर्कोतर्फ, हामीले जे गरे पनि परमेश्‍वर हामीलाई माया गर्नुहुन्छ भन्‍ने मानिसहरू पनि छन्‌। तर तपाईंले परमेश्‍वरको मुख्य गुण प्रेम हो र प्रेमकै कारण हाम्रो लागि उहाँले आफ्नो छोरा फिरौतीको रूपमा दिनुभएको हो भनेर बाइबलबाट बुझ्नुभएको छ। (यूह. ३:१६; १ यूह. ४:८) तर तपाईंको पृष्ठभूमि वा जीवनमा भोगेका तीता अनुभवले गर्दा यहोवाको माया बुझ्न अझै गाह्रो भइरहेको हुन सक्छ।

३. यहोवाले हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरा कसरी बुझ्न सक्छौं?

३ यहोवाले हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरा कसरी बुझ्न सक्छौं? यसको लागि यहोवा परमेश्‍वर र हामीबीचको सम्बन्ध के हो भनेर बुझ्नुपर्छ। उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। (भजन १००:३-५ पढ्‌नुहोस्‌ ) बाइबलले पहिलो मानिस आदमलाई “परमेश्‍वरका छोरा” भनेको छ। (लूका ३:३८) साथै परमेश्‍वरलाई “स्वर्गमा बस्नुहुने हाम्रा बुबा” भनेर सम्बोधन गर्न येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभयो। (मत्ती ६:९) यहोवा परमेश्‍वर हाम्रो बुबा हुनुहुन्छ। त्यसैले जसरी एउटा असल बुबाले छोराछोरीलाई माया गर्छन्‌, त्यसरी नै यहोवा पनि हामीलाई माया गर्नुहुन्छ।

४. (क) मानव बुबाभन्दा यहोवा कसरी फरक हुनुहुन्छ? (ख) यस लेखमा अनि अर्को लेखमा हामी के विचार गर्छौं?

४ आफ्नो बुबालाई मायालु व्यक्‍तिको रूपमा हेर्न कसै-कसैलाई गाह्रो लाग्न सक्छ। सानो छँदा बुबाको माया नपाएको वा बुबाले कठोर व्यवहार गरेको तिनीहरूलाई सम्झना हुन सक्छ। हो, मानव बुबाहरू त्रुटिपूर्ण छन्‌ र यहोवाले जस्तै माया देखाउन तिनीहरू चुकेका छन्‌। तर यहोवामा कुनै त्रुटि छैन र उहाँ सबैभन्दा असल बुबा हुनुहुन्छ। (भज. २७:१०) यहोवा हामीलाई आफ्नो मुटुको टुक्रा सम्झनुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ। वास्तवमा हामी जति यहोवाको माया महसुस गर्छौं, त्यति नै उहाँसित घनिष्ठ हुन्छौं। (याकू. ४:८) यस लेखमा यहोवाले माया देखाउनुभएको चार वटा तरिका विचार गर्छौं र अर्को लेखमा हामीले उहाँलाई माया देखाउन सक्ने चार वटा तरिका विचार गर्नेछौं।

यहोवा हाम्रो मायालु प्रबन्धक हुनुहुन्छ

५. पावलले एथेन्सका मानिसहरूलाई परमेश्‍वरबारे के बताए?

५ ग्रीसको एथेन्स सहरमा जाँदा पावलले त्यहाँ धेरै देवीदेवताका मूर्तिहरू देखे। ती देवीदेवताले नै जीवन र सबै थोक दिएका हुन्‌ भनेर त्यहाँका बासिन्दाहरू विश्‍वास गर्थे। तर यो कुरा गलत हो भनेर पावललाई थाह थियो। त्यसैले तिनी “सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने” यहोवा परमेश्‍वरबारे बताउन उत्प्रेरित भए। तिनले भने: “उहाँले नै सबै मानिसहरूलाई जीवन, सास अनि सबै थोक दिनुहुन्छ। उहाँले गर्दा नै हामीले जीवन पाएका हौं, चलहल गर्छौं अनि अस्तित्वमा छौं।” (प्रेषि. १७:२४, २५, २८) हो, यहोवा हामीलाई चाहिने “सबै थोक” दिनुहुन्छ। किनकि उहाँ हामीलाई माया गर्नुहुन्छ। उहाँले हामीलाई के-कस्ता कुराहरू दिनुभएको छ?

६. परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुभएको तरिकामा उहाँको माया कसरी देखिन्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

६ यहोवाले “मानिस जातिलाई दिनुभएको” यो सुन्दर पृथ्वीलाई विचार गर्नुहोस्‌। (भज. ११५:१५, १६) उहाँले पृथ्वीलाई विशेष तरिकाले सृष्टि गर्नुभएको छ। अन्तरिक्षमा पृथ्वी जस्तै ग्रहहरू खोज्न वैज्ञानिकहरूले अरबौं-खरबौं पैसा खर्च गरिसके। तिनीहरूले थुप्रै ग्रहहरू पत्ता लगाएका छन्‌ तर मानिस जिउन उपयुक्‍त वातावरण भएको कुनै पनि ग्रह भेट्टाउन सकेका छैनन्‌। पृथ्वीमा मानिसहरू बसोबास गरून्‌ भनेर मात्र यहोवाले पृथ्वी सृष्टि गर्नुभएको होइन। बरु हामीले जीवनमा आनन्द उठाएको उहाँ चाहनुहुन्छ। त्यसैले यो पृथ्वीलाई सुन्दर, आरामदायी र सुरक्षित घरको रूपमा सृष्टि गर्नुभएको छ। (यशै. ४५:१८) यहोवा हामीलाई धेरै माया गर्नुहुन्छ भन्‍ने कुरा यसबाट प्रस्ट हुन्छ।—अय्यूब ३८:४, ७; भजन ८:३-५ पढ्‌नुहोस्‌।

७. हामीलाई सृष्टि गर्नुभएको तरिकामा यहोवाको माया कसरी देखिन्छ?

७ यहोवाको माया उहाँले हामीलाई सृष्टि गर्नुभएको तरिकामा पनि देखिन्छ। यहोवाले हामीलाई उहाँकै स्वरूपमा सृजनुभयो जसले गर्दा हामी उहाँको अनुकरण गर्न सक्छौं। (उत्प. १:२७) यसको अर्थ हामी उहाँको माया महसुस गर्न सक्छौं र उहाँलाई पनि माया गर्न सक्छौं। जसरी छोराछोरी आमाबुबाको माया पाएको महसुस गर्दा खुसी हुन्छन्‌, त्यसरी नै यहोवाको माया महसुस गर्दा हामी पनि खुसी हुन्छौं। येशूले पनि यसो भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌।” (मत्ती ५:३) हो, हाम्रो आनन्दको लागि यहोवा हामीलाई भौतिक कुरा मात्र होइन, आध्यात्मिक कुरा पनि प्रशस्त दिनुहुन्छ।—१ तिमो. ६:१७; भज. १४५:१६.

यहोवा हामीलाई सत्य कुरा सिकाउनुहुन्छ

८. हामी किन यहोवाबाट सिक्न चाहन्छौं?

८ बुबाहरू आफ्ना छोराछोरीलाई माया गर्छन्‌। त्यसैले हानि पुऱ्‍याउन सक्ने जुनसुकै कुराबाट उनीहरूलाई जोगाउन चाहन्छन्‌। तर दुःखको कुरा अहिले धेरै अभिभावक परमेश्‍वरको स्तरअनुसार चलेका छैनन्‌। त्यसैले आफ्ना छोराछोरीलाई सही तरिकामा हुर्काउन सकेका छैनन्‌। यसले गर्दा परिवारको सुख-शान्ति गुमेको छ। (हितो. १४:१२) अर्कोतर्फ यहोवा हामीलाई सबैभन्दा उत्तम डोऱ्‍याइ दिनुहुन्छ किनकि उहाँ “सत्य परमेश्‍वर” हुनुहुन्छ। (भज. ३१:५) परमेश्‍वर हामीलाई उहाँबारे सत्य कुरा बुझाउनुहुन्छ र उहाँलाई सही तरिकामा उपासना गर्न सिकाउनुहुन्छ। साथै जिउने सबैभन्दा राम्रो तरिका हामीलाई बताउनुहुन्छ। (भजन ४३:३ पढ्‌नुहोस्‌ ) त्यसोभए यहोवाले हामीलाई के-कस्ता कुराहरू सिकाउनुभएको छ अनि यसबाट उहाँ हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरा कसरी देखिन्छ?

एक बुबाले परिवारसित बसेर बाइबलको अध्ययन गर्दै

छोराछोरीलाई बाइबलको कुरा सिकाउँदा र यहोवासित राम्रो सम्बन्ध गाँस्न मदत गर्दा बुबाहरूले यहोवाको अनुकरण गरिरहेका हुन्छन्‌ (अनुच्छेद ८-१० हेर्नुहोस्‌)

९, १०. (क) यहोवाले आफैबारे र हामीबारे कुन सत्य कुरा बताउनुभएको छ? (ख) यसमा उहाँको माया कसरी देखिन्छ?

९ सर्वप्रथम, यहोवाले हामीलाई उहाँबारे सत्य कुरा बताउनुभएको छ। उहाँले आफ्नो नाम बताउनुभएको छ र यो नाम बाइबलमा सबैभन्दा धेरै पटक उल्लेख गरिएको छ। यसरी आफूबारे सत्य कुरा प्रकट गरेर यहोवा हाम्रो नजिक आउनुभएको छ। (याकू. ४:८) यहोवाले आफ्नो व्यक्‍तित्व कस्तो छ भनेर पनि बताउनुभएको छ। उहाँले सृष्टि गर्नुभएका थोकहरूबाट उहाँ शक्‍तिशाली र बुद्धिमान्‌ हुनुहुन्छ भनेर बुझिन्छ। (रोमी १:२०) साथै बाइबलबाट हामीले उहाँ निष्पक्ष हुनुहुन्छ र हामीलाई धेरै माया गर्नुहुन्छ भनेर बुझेका छौं। यहोवाका सुन्दर गुणहरूबारे थाह पाउँदै जाँदा हामी उहाँसित अझ घनिष्ठ हुन्छौं।

१० यहोवाले हामीबारे पनि सत्य कुरा बताउनुभएको छ। वास्तवमा हामी उहाँको परिवारको सदस्य हौं। यस विशाल परिवारमा एकता र शान्ति कायम गर्न हामीले गर्नुपर्ने कुरा के हो, उहाँले बताउनुभएको छ। सही र गलतको स्तर तोक्ने अधिकार हामीसित छैन अनि परमेश्‍वरबाट अलग भएमा दुःखद नतिजा भोग्नुपर्छ भनेर बाइबलबाट हामीले सिकेका छौं। (यर्मि. १०:२३) परमेश्‍वरको शासनलाई स्वीकार्दा र उहाँको आज्ञा पालन गर्दा हाम्रै भलाइ हुन्छ अनि आनन्दित जीवन बिताउन सक्छौं। यहोवा परमेश्‍वरले हामीलाई यस्ता महत्त्वपूर्ण सत्य सिकाउनुभएको छ किनकि उहाँ हामीलाई माया गर्नुहुन्छ।

११. यहोवाले हामीलाई कस्तो आशा दिनुभएको छ?

११ मायालु बुबाले आफ्ना छोराछोरीको भविष्यबारे सधैं चिन्ता गर्छन्‌; तिनीहरूले दुःख भोग्न नपरोस्‌, बरु तिनीहरूको भविष्य राम्रो होस्‌ भन्‍ने चाहन्छन्‌। दुःखको कुरा धेरैजसो मानिसलाई भविष्यबारे थाह छैन, त्यसैले भविष्यको कुनै ठोस लक्ष्यबिना नै जीवन बिताउँछन्‌। (भज. ९०:१०) तर हाम्रा मायालु बुबा यहोवाले भने हामीलाई अहिल्यै आनन्दित भएर जीवन बिताउन सिकाउनुभएको छ अनि भविष्यको उज्ज्वल आशा पनि दिनुभएको छ।

यहोवा आफ्ना छोराछोरीलाई सल्लाह र अनुशासन दिनुहुन्छ

१२. यहोवाले कयिन र बारूकलाई सम्झाउनुभएको कुराबाट उहाँको माया कसरी देखिन्छ?

१२ कयिनले गलत काम गर्न खोज्दै छ भनेर देखेपछि यहोवाले उसलाई सम्झाउँदै यसो भन्‍नुभयो: “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्यारो छ? तैंले असल गरिस्‌ भने तँ ग्रहणयोग्य हुँदैनस्‌ र? . . . तैंले [पापलाई] अधीन गर्नै पर्छ।” (उत्प. ४:६, ७) त्यो ठीक समयमा दिइएको उपयुक्‍त सल्लाह थियो। तर कयिनले त्यो सल्लाह नसुनेकोले दुःख भोग्नुपऱ्‍यो। (उत्प. ४:११-१३) यहोवाले बारूकलाई पनि सम्झाउनुपरेको थियो। तिनी थकित र निरुत्साहित भएका थिए। वास्तवमा समस्या कहाँ छ भनेर यहोवाले तिनलाई बुझाउनुभयो। बारूकले यहोवाको सल्लाह सुने र आफ्नो जीवन बचाए।—यर्मि. ४५:२-५.

१३. यहोवा किन आफ्ना वफादार सेवकहरूमाथि सतावट आइपर्न दिनुहुन्छ?

१३ पावलले यस्तो लेखे: “जसलाई यहोवा प्रेम गर्नुहुन्छ, उसलाई अनुशासन दिनुहुन्छ। हो, आफूले छोराको रूपमा स्वीकारेको हरेकलाई उहाँ कोर्रा लगाउनुहुन्छ।” (हिब्रू १२:६) अनुशासन भनेको सजाय पाउनु मात्र होइन, यसबाट हामीले तालिम पनि पाउँछौं। बाइबलमा यहोवाका सेवकहरूले कडा सतावट भोगेको धेरै उदाहरण छन्‌। त्यसबाट तिनीहरूले तालिम पाएका थिए। यूसुफ, मोशा र दाऊदबारे सोच्नुहोस्‌। तिनीहरूले जीवनमा असाध्यै कठिन परिस्थितिको सामना गर्नुपरेको थियो। तर यहोवा सधैं तिनीहरूसित रहनुभयो। त्यस्ता परिस्थितिबाट पाएको तालिमले गर्दा पछि तिनीहरूले ठूलठूला जिम्मेवारी सम्हाल्न सके। यस्ता बाइबल विवरणहरू पढ्‌दा यहोवा आफ्ना सेवकहरूलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा हाम्रो विश्‍वास अझ बलियो हुन्छ।—हितोपदेश ३:११, १२ पढ्‌नुहोस्‌।

१४. यहोवाबाट अनुशासन पाउँदा समेत त्यसमा कसरी उहाँको माया झल्किन्छ?

१४ यहोवाले दिने अनुशासनले उहाँको मायाको अर्को पक्ष बुझ्न मदत गर्छ। गलत काम गर्ने व्यक्‍तिले यहोवाको अनुशासनलाई स्वीकारेर परिवर्तन गरेमा “उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ।” (यशै. ५५:७) यहोवाले प्रशस्त गरी क्षमा दिनुहुन्छ भन्‍नुको अर्थ के हो? यहोवाको क्षमाबारे दाऊदले मन छुने तरिकामा यस्तो कुरा व्यक्‍त गरे: “जसले तेरा सबै अधर्महरू क्षमा गर्नुहुन्छ। जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ। जसले तेरो जीवनलाई सर्वनाशबाट मुक्‍त गर्नुहुन्छ। जसलाई करुणा र कोमल कृपाको मुकुट लगाइदिनुहुन्छ। पश्‍चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनुभएको छ।” (भज. १०३:३, ४, १२) यहोवा हामीलाई डोऱ्‍याउनुहुन्छ; सल्लाह र अनुशासन दिनुहुन्छ। त्यसैले सल्लाह र अनुशासन मायाका अभिव्यक्‍ति हुन्‌ भनेर सम्झँदै सधैं सुनौं र मानौं।—भज. ३०:५.

यहोवा हामीलाई जोगाउनुहुन्छ

१५. यहोवा हामीलाई अनमोल ठान्‍नुहुन्छ भनेर कसरी बुझ्न सक्छौं?

१५ मायालु बुबाले आफ्नो परिवारलाई खतराबाट पनि जोगाउँछ। त्यसैगरि स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवाले हामीलाई जोगाउनुहुन्छ। यहोवाबारे भजनरचयिताले यस्तो लेखे: “उहाँले आफ्ना पवित्र जनहरूका प्राणलाई जोगाइराख्नुहुन्छ। उहाँले तिनीहरूलाई दुष्टका हातबाट छुटाउनुहुन्छ।” (भज. ९७:१०) हाम्रो लागि आफ्नो आँखा जति अनमोल छ, यहोवाको लागि हामी पनि त्यति नै अनमोल छौं। उहाँ हामीलाई आफ्नो आँखाको नानी ठान्‍नुहुन्छ। (जकरिया २:८ पढ्‌नुहोस्‌ ) साँच्चै! हामी यहोवा परमेश्‍वरको लागि अनमोल छौं।

१६, १७. विगतमा र अहिले यहोवाले आफ्ना सेवकहरूलाई कसरी जोगाउनुभएको छ?

१६ यहोवा परमेश्‍वरले आफ्ना सेवकहरूलाई स्वर्गदूतद्वारा जोगाउनुहुन्छ। (भज. ९१:११) एउटा स्वर्गदूतले एकै रातमा १ लाख ८५ हजार अश्‍शूरी सिपाहीहरूलाई नाश गरेर परमेश्‍वरका सेवकहरूलाई बचाए। (२ राजा १९:३५) प्रथम शताब्दीमा स्वर्गदूतहरूले पत्रुस, पावल र अरूलाई झ्यालखानाबाट छुटाए। (प्रेषि. ५:१८-२०; १२:६-११) अहिले पनि यहोवा हामीलाई सुरक्षा दिनुहुन्छ। एउटा अफ्रिकी देशको अनुभव विचार गरौं। राजनैतिक र धार्मिक द्वन्द्वले गर्दा पूरै देश अस्तव्यस्त थियो। युद्ध, लुटपाट, बलात्कार र मारकाटले गर्दा जताततै गन्जागोल र उथलपुथल मच्चिरहेको थियो। हाम्रा दाजुभाइ दिदीबहिनीमध्ये कसै-कसैले सर्वस्व गुमाउनुपऱ्‍यो। तर कसैले पनि जीवन गुमाउनु परेन। तिनीहरूले यहोवाको माया र सुरक्षा पाएको महसुस गरे र परिस्थिति जस्तोसुकै नाजुक भए पनि खुसी हुन सके। मुख्यालयका एक प्रतिनिधिले दाजुभाइ दिदीबहिनीको हालखबर सोध्दा तिनीहरूले यसो भने: “यहोवाको कृपाले हामी कुशलै छौं।”

१७ शत्रुहरूले स्तिफनस लगायत यहोवाका केही वफादार सेवकहरूको हत्या गरेका थिए। यहोवाले व्यक्‍तिविशेषलाई सधैं जोगाउनुहुन्छ भन्‍ने आशा गर्न सकिंदैन, तर हामीलाई समूहको रूपमा भने जोगाउनुहुन्छ। कसरी? सैतानका दाउपेचहरूबारे चेतावनी दिएर। (एफि. ६:१०-१२) यस्ता चेतावनीहरू बाइबलमा र उहाँको सङ्‌गठनले प्रकाशित गर्ने विभिन्‍न प्रकाशनहरूमा पाइन्छ। जस्तै, हामीले इन्टरनेट, पैसाको लोभ र खराब मनोरञ्जनका खतराबारे बारम्बार चेतावनी पाएका छौं। हो, यहोवा आफ्ना सेवकहरूको ख्याल राख्नुहुन्छ।

महान्‌ सुअवसर

१८. यहोवाको मायाबारे तपाईं कस्तो महसुस गर्नुहुन्छ?

१८ यहोवाले हामीलाई माया गर्नुभएको केही तरिका मात्रै विचार गर्दा पनि हामी मोशाले जस्तै महसुस गर्छौं।लामो समय यहोवाको सेवा गरेका मोशा उहाँले माया गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त थिए। तिनले यस्तो भने: “बिहान आफ्नो कृपाले हामीलाई तृप्त पार्नुहोस्‌, र हामी आफ्ना सारा दिन रमाऔं र आनन्दित होऔं।” (भज. ९०:१४) यहोवा हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरा बुझ्न पाउनु र त्यो माया आफैले महसुस गर्न पाउनु हाम्रो लागि ठूलो सुअवसर हो। प्रेषित यूहन्‍नाले जस्तै हामी पनि यसो भन्‍न चाहन्छौं: “हेर, . . . बुबाले हामीलाई कत्ति धेरै प्रेम गर्नुभएको छ।”—१ यूह. ३:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने