परमेश्वरको वचन सत्य हो
“सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्, तपाईंको वचन सत्य हो।”—यूहन्ना १७:१७.
१. भजन संग्रहको हिब्रू लेखकले बाइबललाई कुन दृष्टिकोणले हेरे तर आजका धेरैले बाइबललाई कसरी हेर्छन्?
“तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” (भजन संग्रह ११९:१०५) भजन संग्रहको हिब्रू लेखकले तेसो भने। तर आज थोरै मानिसहरूले मात्र परमेश्वरको वचनलाई त्यस प्रकारको श्रद्धा दिन्छन्। यो २० वी शताब्दिमा, परमेश्वरको वचन लिखित् रूपमा पाइन्छ र त्यसलाई पवित्र बाइबल भनिन्छ। इतिहासमा अरू कुनै पनि पुस्तक, बाइबल भन्दा बढ़ि भाषाहरूमा अनुवाद र वितरण भएको छैन। तापनि, धेरैले यस पुस्तकलाई आफ्नो खुट्टाको निम्ति बत्तीको रूपमा स्वीकार्न चाँहदैनन्। आफूलाई मसीही भन्नेहरूले पनि, आफ्नो मार्गलाई उज्यालो पार्न, बाइबलको ज्योतिलाई भन्दा अकसर आफ्नै विचारहरूलाई महत्व दिन रूचाउँछन्।—२ तिमोथी ३:५.
२, ३. यहोवाका साक्षीहरूले बाइबललाई कुन दृष्टिकोणले हेर्छन् र यसलेगर्दा तिनीहरूले के कस्तो लाभ उठाएका छन्?
२ तर त्यस्को ठीक विपरित्, हामी यहोवाका साक्षीहरू, भजन संग्रहको त्यो लेखक सँग सहमत् छौं। हाम्रालागि, बाइबल, ईश्वरले दिनु भएको एउटा मार्ग-दर्शन हो। सम्पूर्ण धर्मशास्त्र “परमेश्वरबाट प्रेरणा भएको हो” र “सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनलाई, उचित् जीवन यापन गर्नालाई उपयोगी” छ भनेर हामी जान्दछौं। (२ तिमोथी ३:१६) हामी आजका धेरै जसो मानिसहरू जस्ता छैनौं किनभने नैतिकता र चालचलनको मामलामा हामी आफ्नै अनुमान लगाउँदै हिड़न चाँहदैनौं। के ठीक हो, सो हामी जान्दछौं, किनभने बाइबलले हामीलाई बताउँदछ।
३ यसबाट हामीले धेरै लाभ उठाउन सकेका छौं। हामीले यहोवालाई चिन्न सक्यौं। पृथ्वी र मानिसजातिको लागि उहाँका भव्य उद्देश्यहरू सिक्न पायौं। यसले गर्दा हामी र हाम्रा परिवारहरूका लागि एउटा उज्यालो भविष्य सम्भव छ भनेर हामी निश्चिन्त छौं। हामी सम्पूर्ण हृदय साथ, भजन संग्रहको ती लेखक सँग सहमत् छौं, जसले एसो भनेका थिए: “म तपाईंको व्यवस्थालाई कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ। तपाईंका आज्ञाहरूले मलाई मेरा शत्रुहरूभन्दा बढ़ता बुद्धिमान तुल्याउँछ। किनकि ती सधैं मसँगै छन्।”—भजन संग्रह ११९:९७, ९८.
चालचलन द्वारा साक्षी दिने
४. बाइबललाई परमेश्वरको वचन भनेर स्वीकारे पछि, हामी माथि के कर्त्तव्य आई पर्छ?
४ यसकारण येशूले आफ्नो पितालाई भन्नु भएका यी शब्दहरू सँग सहमत हुन हामी सँग यथेष्ट कारण छ: “तपाईंको वचन सत्य हो।” (यूहन्ना १७:१७) तर यो वास्तविकता स्वीकार्दा हामीमाथि एउटा जिम्मेवारी आइपर्दछ। परमेश्वरको वचन सत्य हो भनेर स्वीकार्न हामीले अरूहरूलाई पनि मदद दिनु पर्छ। यसप्रकार, हामीले अनुभव गरेका आशिषहरूबाट तिनीहरूले पनि आनन्द उठाउन सक्ने छन्। तर हामीले तिनीहरूलाई यस प्रकारको सहायता कसरी दिन सक्छौं? सर्व प्रथम, हामीले बाइबलका सिद्धान्तहरू आफ्नै दैनिक जीवनमा प्रयोगमा ल्याउने हर कोशिश गर्नु पर्छ। यसो गर्यौं भने, बाइबलमा बताइएको मार्ग वास्तवमा सर्वोत्तम रहेछ भनेर धार्मिक प्रवृत्ति भएका मानिसहरूले देख्नेछन्।
५. हाम्रो चाल-चलन द्वारा साक्षी दिने सम्बन्धमा, पत्रुसले के उपदेश दिए?
५ विश्वास नगर्ने पतिहरू हुने मसीही स्त्रीहरूलाई प्रेरित् पत्रुसले दिएको सल्लाहको निचोर यही हो। उनले ती स्त्रीहरूलाई एसो भने: “हे पत्नी हो, त्यही किसिमले तिमीहरू पनि आफ्ना आफ्ना पतिका अधीनमा रहो, र कसैले वचन नमाने तापनि तिनका पत्नीहरूका चाल-चलनले गर्दा, विना वचनले भए पनि, तिमीहरूका डरसहितको पवित्र चाल-चलन देखेर तिनीहरू विश्वास गर्ने होऊन्।” (१ पत्रुस ३:१) यस बाहेक, उनले पुरूषहरू, स्त्रीहरू र बच्चाहरू अर्थात् सबै मसीहीहरूलाई दिएको उपदेशको साराँश पनि यही हो: “अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल गराओ, र जसले तिमीहरूका विरूद्धमा तिमीहरूलाई कुकर्मी भन्छन्, तिनीहरूले देखेका तिमीहरूका असल कामबाट कृपादृष्टिको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून्।”—१ पत्रुस २:१२; ३:१६.
बाइबलको श्रेष्ठ बुद्धि
६. बाइबलको मुल्याङ्कन गर्न हामीले अरूहरूलाई पनि मदद दिनु पर्छ भनेर पत्रुसले हामीलाई कसरी बुझ्ने सहायता दिएको छ?
६ साथै, पत्रुसको यो सल्लाह अनुसार काम गर्दा, मसीहीहरूले अरूहरूलाई पनि बाइबलको मुल्याङ्कन गर्ने मदद दिन सक्नेछन्: “तर ख्रीष्टलाई प्रभु जानेर तिम्रा हृदयमा पवित्र मान। तिमीहरूमा भएको आशाको कारण तिमीहरू सँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग, सधैं तयार भइरहो।” (१ पत्रुस ३:१५) मसीही सेवकहरूले बाइबलको प्रतिवाद गर्न सक्नु पर्छ र यो परमेश्वरको वचन हो भनेर अरूहरूलाई बताउन सक्नु पर्छ। तर तिनीहरूले यो कसरी गर्न सक्नेछन्?
७. बाइबल परमेश्वरको वचन हो भनेर त्यसमा भएको कुन कुराले हामीलाई पुष्टि दिन्छ?
७ एउटा सन्तोषजनक तर्क हितोपदेशको पुस्तकमा पाउँछौं। त्यहाँ एसो भनिएको छ: “हे मेरो छोरो, यदि तैंले मेरा वचन हृदयमा लिइस् र मेरा आज्ञा तेरो मनमा राखिस् भने, बुद्धिमा तेरो लगाइस् भने . . . तैंले परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। किनभने बुद्धि दिने यहोवानै [NW] हुनुहुन्छ र ज्ञान र समझशक्ति उहाँबाटनै आउँछन्।” (हितोपदेश २:१-६) स्वयं परमेश्वरको बुद्धि बाइबलको पानाहरूमा पाईन्छ। एउटा निष्कपट मानिसले त्यो अदभुत् बुद्धि देख्ना साथै, यो मानिसको वचन कदापि हुन सक्तैन भनेर उसलाई स्वीकार्न बाध्य हुनु पर्नेछ।
८, ९. रूपियाँ-पैसा प्राप्त गर्ने सम्बन्धमा बाइबलको सन्तुलित् दृष्टिकोण कसरी ठीक साबित् भएको छ?
८ यस सम्बन्धमा केही उदाहरणहरू बारे विचार गर्नु होस्। आज, जीवनको सफलतालाई भौतिक कुराहरू सँग तौलिने गर्छन्। जति धेरै कमाउन सक्यो, उति नै सफल मानिन्छ। तर भौतिक कुराहरूलाई आवश्यकता भन्दा बढ़ी महत्व दिनु हुँदैन भनेर बाइबलले चेताउनी दिन्छ। प्रेरित् पावलले एसो भनेर लेखे: “तर धनी हुने इच्छा गर्ने चाँहि सर्वनाश र विनाशमा डुबेका मानिस झैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्।”—१ तिमोथी ६:९, १०; मत्ती ६:२४ सँग तुलना गर्नु होस्.
९ यो चेताउनी कति उचित छ भन्ने कुरा अनुभवले देखाउँदछ। एउटा चिकित्सालयको मनोवैज्ञानिकले एसो भने: “सबै भन्दा उच्च श्रेणी र धनवान हुँदैमा तपाईंलाई सन्तोष, अरूहरूको निष्कपट श्रद्धा र प्रेमको अनुभव हुनेछैन।” हो, आफ्नो भएभरको शक्ति धनको पीछा गर्न बिताउने मानिसहरूले अन्तमा गएर अकसर नैराश्य र तीतोपना अनुभव गर्छन्। शास्त्रले, एकातिर पैसाको मोल स्वीकारे तापनि, पैसा भन्दा धेरै नै महत्वपूर्ण कुरा तर्फ सङ्केत गर्दछ: “जसरी रूपिया-पैसा मानिसको बचाऊको निम्ति हो, त्यसरी नै बुद्धि पनि मानिसको बचाऊको निम्ति हो; तर ज्ञानको श्रेष्ठता यो हो: बुद्धिमान मानिस आफ्नो बुद्धिको कारण जीवित् रहनेछन्।”—उपदेशक ७:१२, [NW].
१०. आफ्नो सङ्गत् बारे सतर्क हुनु भनेर बाइबलमा दिएको उपदेशलाई हामीले किन ध्यान दिनु पर्छ?
१० बाइबलमा यस प्रकारका धेरै अरू सिद्धान्तहरू पाईन्छन्। एउटा यो हो: “बुद्धिमानीहरूको सङ्गत गर्नाले बुद्धिमानी होइन्छ, मूर्खहरू सित लागे बरालिन्छ।” (हितोपदेश १३:२०) यो सिद्धान्त पनि अनुभव द्वारा सत्य साबित भएको छ। साथीहरूको दबावले गर्दा, जवान मानिसहरू मतवालापन, मादकपदार्थको कुसेवन र अनैतिकता तिर लागेकाछन्। खराब भाषा प्रयोग गर्नेहरू सँग सङ्गत गर्नेहरू, अन्तत्वगत्वा त्यस्तै प्रकारको भाषा प्रयोग गर्ने भएकाछन्। ‘सबैले गरिरहेकाछन्’ भन्दै, धेरैले चाहिं आफ्नो काम गर्ने ठाउँमा, मालिकबाट चोर्ने गर्छन्। साँच्चै नै, बाइबलले भने झैं: “खराब सङ्गत्ले भला चाल-चलनलाई बिगार्दछ।”—१ कोरिन्थी १५:३३.
११. सुनौलो नियम पालन गर्नुको औचित्यलाई, एउटा मनोवैज्ञानिक अध्ययनले कसरी समर्थन गरेको छ?
११ बाइबलको प्रसिद्ध उपदेशहरू मध्य यो एउटालाई सुनौलो नियम पनि भन्ने गर्छन्: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) मानिस जाति यो नियम अनुसार हिड़ेको भए, यो संसार धेरै नै राम्रो ठाउँ हुने थियो। तर धेरै जसो मानिसहरूले यो नियम पालन नगरेतापनि, तपाईंले चाहिं व्यक्तिगतरूपमा त्यसको पालन गर्नु उचित् हुनेछ। किन? किनभने अरूहरू प्रति विचारशील हुने र तिनीहरूको दुःख सुखमा चासो लिने क्षमता सहित् हामी सृजिएका छौं। (प्रेरित् २०:३५) अरूहरूलाई मदद दिन अघि बढ़ने मानिसहरूमा के प्रतिकृया हुँदो रहेछ भनेर थाह गर्न, संयुक्त राष्ट्रमा गरिएको एउटा मनोवैज्ञानिक अध्ययन यो निष्कर्षमा पुगेकोछ: “आफ्नो हेरविचार गर्ने प्रवृत्ति झैं अरूहरूमा चासो लिन पनि मानव स्वभावको एउटा भाग रहेछ भनि देखिन्छ।”—मत्ती २२:३९.
बाइबलको उपदेशमा अनुपम बुद्धि
१२. बाइबललाई अनुपम बनाउने एउटा कुन कुरा हो?
१२ हुन ता हो, आज बाइबल बाहेक उपदेशका अरू स्रोतहरू पनि छन्। अखबारहरूमा सर-सल्लाहको बेग्लै स्तम्भ हुन्छ र किताब पसलहरूमा आफूले आफैलाई शिक्षा दिने पुस्तकहरूको थुप्रो लागेकोछ। यसमाथि थप, विभिन्न क्षेत्रहरूमा सर-सल्लाह दिने मनोवैज्ञानिकहरू र व्यावसायिक सल्लाहकारहरू छन्। तर बाइबल तीन दृष्टिकोणबाट अनुपम छ। सर्वप्रथम, बाइबलको उपदेश सधैं नै लाभदायक हुन्छ। बाइबलको उपदेश कहिले पनि एउटा परिकल्पनात्मक राय मात्र हुँदैन र नता यो हाम्रोलागि कहिले हानिकारक हुन्छ। भजन-संग्रहको लेखकले परमेश्वरलाई गरेको यो प्रार्थना सँग, बाइबलको उपदेश अनुसार हिड़ने मानिसको सहमति हुनेछ: “तपाईंका साक्षीवचनहरू साह्रै पक्का छन्।”—भजन संग्रह ९३:५.
१३. मानव बुद्धि भन्दा बाइबल धेरै नै श्रेष्ठ छ भनेर के ले प्रदर्शन गर्छ?
१३ दोस्रो अनुपम दृष्टिकोण यो हो: समयको परिक्षामा, बाइबल सफल साबित भएको छ। (१ पत्रुस १:२५; यशैया ४०:८) मानव स्रोतहरूबाट आउने उपदेश त्यसको अस्थिरताकोलागि कुप्रसिद्ध छ। जुन सल्लाह यो साल लोकप्रिय होला, अकसर अर्को साल त्यही सल्लाहको आलोचना गरिन्छ। तर बाइबलको लेखन आज भन्दा २,००० वर्ष अघि समाप्त भएता पनि, त्यसमा भएको सल्लाह आज पनि सर्वश्रेष्ठ छ र त्यसका शब्दहरू विश्वव्यापी रूपमा व्यवहारिक छन्। हामी अफ्रिका, अथवा एसिया या दक्षिण अथवा उत्तर अमेरिका, वा यूरोप र समुद्रका कुनै टापूका बासिन्दा भएतापनि, ती शब्दहरू सबैका लागि उत्ति कै उपयोगी छन्।
१४. परमेश्वरको वचनको उपदेश के ले गर्दा सर्वोत्तम छ?
१४ अन्तमा, बाइबलको व्यापक उपदेशको कुनै तुलना छैन। बाइबलमा उल्लेखित् एउटा हितोपदेशले एसो भन्छ: “बुद्धि दिने यहोवानै हुनुहुन्छ।” (हितोपदेश २:६, NW) यसकारण, हाम्रो सामने जस्तो सुकै समस्या अथवा फैसला आएतापनि, हामीलाई त्यसको समाधान गर्न मदद दिने बुद्धि बाइबलमा पाइन्छ। केटा-केटीहरू, युवक-युवतीहरू, आमा-बाबुहरू, वृद्धाहरू, चाकरहरू, मालिकहरू, अख्तियारवालाहरू, सबैले आफ्नो जीवनमा प्रयोग गर्न सक्ने बुद्धि बाइबलमा पाएकाछन्। (हितोपदेश ४:११) येशू र उहाँका प्रेरितहरूको समयमा न भएका परिस्थितिहरूको आज हामीले सामना गर्नु परेता पनि, बाइबलले हामीलाई व्यवहारिक सल्लाह दिन्छ। उदाहरणकालागि, प्रथम शताब्दिमा, धूम्रपान गर्ने चलन मध्य-पूर्वमा थिएन। आज, यो चलन जता-ततै प्रचलित् छ। तर, कुनै चीजको “अधीनमा” न पर्नु होस् र “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं” भनेर बाइबलमा दिएको उपदेश स्वीकार गर्ने मानिसले धूम्रपान गर्ने बानीबाट आफूलाई अलग राख्नेछ किनभने यो बानी एउटा लत मात्र होइन, स्वास्थ्यका लागि हानिकारक पनि छ।—१ कोरिन्थी ६:१२; २ कोरिन्थी ७:१.
हाम्रो दीर्घकालिन भलाईका निम्ति
१५. धेरैले आज बाइबललाई किन बेकम्मा ठान्छन्?
१५ धेरैको भनाई अनुसार, यो २० वी शताब्दिको निम्ति, बाइबल अव्यवहारिक र अप्रासंगिक छ। तर अकसर, तिनीहरूले यसो भन्नुको कारण, बाइबलमा तिनीहरूले सुन्न चाहेको कुरा न पाएर हो। शास्त्रको उपदेश अनुसार हिड़्यौं भने, हाम्रो दीर्घकालिन लाभ हुनेछ तर यसरी हिड़दा, अकसर धीरज, अनुशासन र स्वार्थ-त्याग आवश्यक हुन्छ। तर तत्कालिन् स्वार्थ-सिद्धिलाई बढ़ावा दिने आजको संसारमा, ती गुणहरू लोकप्रिय छैनन्।—हितोपदेश १:१-३.
१६, १७. बाइबलले यौनिक नैतिकता बारे के कस्ता उच्च सिद्धान्तहरू तोकेको छ तर यी आधुनिक समयहरूमा ती सिद्धान्तहरूको कसरी अवहेलना गरिएको छ?
१६ उदाहरणकालागि, यौनिक नैतिकताको कुरा लिनुहोस्। शास्त्रमा दिएका सिद्धान्तहरू अति नै कड़ा छन्। यौनिक घनिष्ठतालाई दाम्पत्य जीवन भित्र मात्र ठाउँ दिइएको छ र दाम्पत्य जीवन बाहिर यस प्रकारको हेलमेल निषेध छ। शास्त्रमा यसो भनेको पाउँछौं: “व्यभिचारीहरू, मूर्त्तिपूजकहरू, जारी गर्नेहरू, पुरूषगामीहरू, . . . परमेश्वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९, १०) यस बाहेक, बाइबलको सिद्धान्त अनुसार प्रत्यक मसीहीको एउटा मात्र पति अथवा पत्नी हुनु पर्छ। (१ तिमोथी ३:२) र कुनै-कुनै असाधारण परिस्थितिमा सम्बन्ध-विच्छेद अथवा भिन्नै बस्नलाई मान्यता दिएको भएतापनि, बाइबल अनुसार, विवाह एउटा आजीवन बन्धन हो। येशूले स्वंय एसो भन्नु भएको छ: “जसले बनाउनुभयो, उहाँले तिनलाई शुरूदेखिनै नर र नारी गरी बनाउनुभयो र भन्नुभयो, यही कारण मानिसले आफ्ना आम-बाबुलाई छोड़ेर आफ्नी स्वास्नी सँग मिलिरहन्छ, र ती दुई जना एक शरीर हुनेछन्। र ती अब दुई जना होइन, तर एउटै शरीर हुन्छन्। यसकारण जसलाई परमेश्वरले एक साथ जोड़नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।”—मत्ती १९:४-६, ९; १ कोरिन्थी ७:१२-१६.
१७ तर आज विस्तृत् रूपमा यी सिद्धान्तहरूको अवहेलना भइरहेको छ। छाड़ा यौनिक चलनहरूलाई छुट दिइएको छ। आपसमा चीनजान मात्र बढ़ाई राखेका युवक-युवतीहरूको बीचमा यौनिक सम्बन्धलाई स्वाभाविक ठान्छन्। विवाह नगरिकन आपसमा सहबास गर्नेहरूलाई स्वीकृति दिइएकोछ। विवाहित् व्यक्तिहरूको गैर कानूनी यौनिक आशक पनि आज एउटा साधारण कुरा मानिन्छ। यो आधुनिक संसारमा सम्बन्ध-विच्छेद गर्ने चलन, रोग जस्तै, संसारभरि फैलिएको छ। तर यस प्रकारका छाड़ा सिद्धान्तहरूले आनन्द चाहिं ल्याएको छैन। बरू, यसलेगर्दा आइपरेको खराब परिणाम द्वारा प्रमाणित् हुन्छ कि बाइबलका कड़ा नैतिक सिद्धान्तहरू सरासर ठीक रहेछन्।
१८, १९. यहोवाले तोकनु भएको नैतिक सिद्धान्तहरूको विस्तृत रूपमा अवहेलना गरेको परिणाम के भएको छ?
१८ लेडिज होम जर्नलमा एसो भनिएको थियो: “साठी र सत्तरको दशकमा यौनलाई दिइएको विशेष महत्व द्वारा अपार मानव आनन्दको सट्टा केही गम्भीर मानव क्लेश आइपरेको छ।” यो “गम्भीर मानव क्लेशमा” आफ्ना आमा-बाबुको सम्बन्ध-विच्छेदलेगर्दा बच्चाहरूले भोग्नु परेको भावात्मक धक्का र बालिगहरूले सहनु परेको गहिरो मानसिक चोट पनि समावेश छन्। साथै, यसमा एकलो आमा अथवा बाबु मात्र भएका परिवारहरूको र स्वयं नाबालिग र अविवाहित् छँदानै बच्चा पाउने जवान युवतीहरूको वृद्धि पनि गनिन्छ। यस बाहेक, हैंजा झैं फैलि रहेका योनिक खटिरा, धातु-रोग, भिरिङ्गी, क्लेमिड्या र एड्स जस्ता यौन सम्बन्ध द्वारा सर्ने रोगहरू पनि त्यो “गम्भीर मानव क्लेशमा” समावेश छन्।
१९ यी सबै कुराको हेरविचार गरेपछि, समाज शास्त्रको एक जना विद्वानले एसो भने: “हाम्रा नागरिकहरूका आवश्यक्ता र स्वतन्त्रता, अथवा रोगबाट स्वतन्त्र र नचाहिने गर्भाधानबाट मुक्त भएर बस्ने तिनीहरूको अधिकारको बचावको निम्ति: विवाह भन्दा अघि यौनिक सम्बन्ध निषेध गर्नु नै सर्वोत्तम उपाय हो र यसैमा हामी सबैको भलाई हुनेछ भनि बुझ्ने क्षमता शायद अब ता हामी सबैमा हुनु पर्ने।” बाइबलमा यो सही कुरा यस प्रकार भनिएकोछ: “त्यो मानिस धन्यको हो, जसले यहोवामा [NW] आफ्नो भरोसा राख्तछ, औ घमण्डी र झूटतिर लाग्नेहरूको आदर गर्दैन।” (भजन संग्रह ४०:४) बाइबलको बुद्धिमाथि भरोसा गर्नेहरू, एउटा छाड़ा नैतिक जीवन द्वारा आनन्द आउँछ भन्दै, बाइबलको विरोध गर्ने मानिसहरूका झूटाकुरा द्वारा भ्रममा पर्दैनन्। बाइबलका बुद्धिपूर्ण सिद्धान्तहरू, कड़ा भएतापनि, सर्वोत्तम हुन्।
जीवनका कठिन समस्याहरू
२०. अधम गरीबी सहनु परेका मानिसहरूलाई बाइबलका कुन सिद्धान्तहरू मददकारी साबित् भएका छन्?
२० बाइबलमा पाइने बुद्धिले हाम्रो जीवनमा आइपर्ने कठिन समस्याहरूको सामना गर्न पनि मदद दिन्छ। उदाहरणकालागि, कैयौं देशहरूमा, अधम गरीबीमा जीवन बिताउनु परेका मसीहीहरू छन्। तर तिनीहरूले आफ्नो गरीबीको सामना गर्न सकेकाछन् र अझ आनन्द पनि अनुभव गर्छन्। कसरी? तिनीहरूले परमेश्वरको प्रेरित् वचन पालन गरेकाछन्। तिनीहरूले भजन-संग्रह ५५:२२ मा उल्लेखित् यी सान्त्वनापूर्ण शब्दहरूलाई हृदयबाट ग्रहणगरेकाछन्: “तेरो भरोसा यहोवामा [NW] राख, र उहाँले तँलाई सह्माल्नुहुनेछ।” तिनीहरूले गरीबी सहने बल यहोवाबाट लिने गर्छन्। बाइबलका सिद्धान्तहरू प्रयोगमा ल्याएको हुनाकारण, धूम्रपान र मतवालापन जस्ता हानिकारक र खर्चालु बानीबाट तिनीहरू मुक्त छन्। बाइबलमा दिएको सल्लाह मानेर, तिनीहरू परिश्रमी हुन्छन्। यसकारण, अकसर अल्छी अथवा नैराश्यमा डूबने मानिसहरू असफल हुँदा, यी मसीहीहरूले आफ्ना परिवारहरूलाई खुवाउन सकेकाछन्। (हितोपदेश ६:६-११; १०:२६) साथै, तिनीहरूले बाइबलको यो चेताउनीलाई पनि सुन्ने गर्छन्: “कुकर्मीहरूको कारण व्याकुल नहो।” (भजन संग्रह ३७:१) तिनीहरू जुवा खेल्ने अथवा मादकपदार्थहरूको गैर कानूनी बिक्री गर्ने जस्ता अपराधपूर्ण कार्यहरूमा भाग लिंदैनन्। यस प्रकारका कार्यहरू द्वारा तिनीहरूका समस्याहरूको “तुरन्त” समाधान होला जस्तो देखिएता पनि, यसको फल अन्तमा गएर तितो हुन्छ।
२१, २२. (क) एउटी मसीही स्त्रीले बाइबलबाट सहायता र सान्त्वना कसरी पाउन सकी? (ख) बाइबलको अर्को कुन कुराले गर्दा यो परमेश्वरकै वचन हो भनेर हामी विश्वास गर्न सक्छौं?
२१ बाइबललाई अनुसरण गर्नाले, के ती जो अति नै गरीब छन्, तिनलाई वास्तवमा मदद हुन्छ र? हो, हुन्छ र यसलाई धेरै, धेरै अनुभवहरूले प्रमाणित् गरेकोछ। एसियाको एउटी मसीही विधवाले एसो भनेकी छन्: “मैले गरीबीमा जीवन बिताउनु परेता पनि, मेरो मनमा कुनै रिस अथवा तीतोपना छैन। बाइबलमा भएको सत्यताले म मा सकारात्मक दृष्टिकोण भरिदिन्छ।” येशूले गर्नु भएको एउटा विशेष प्रतिज्ञा उनको जीवनमा पूरा भएको कुरा पनि तिनले भनि पठाएकीछन्। येशूले एसो भन्नु भएको थियो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३) यी बहिनी भन्छिन्, उनले परमेश्वरको सेवालाई प्रथम स्थान दिने गरेर, जहिले पनि एउटा न एउटा ढङ्गमा उनको भौतिक आवश्यक्ताहरू पूरा भएकोछ। उसको मसीही सेवकाईले उनको जीवनलाई लक्ष्य र गरिमा दिएको छ र यसबाट उनले आफ्नो गरीबी सहने बल पाउँछिन्।
२२ हो, बाइबलको बुद्धिको गहराईबाट यो वास्तवमा परमेश्वरको वचन हो भन्ने कुरा साबित् हुन्छ। मानिसहरूले मात्र बनाएको कुनै पनि पुस्तक जीवनका यति धेरै क्षेत्रहरूको गहिरो छलफल गर्न र सबै कुरामा ठीक साबित् हुन सक्ने थिएन। तर बाइबलको स्रोत ईश्वरीय हो भनेर पुष्टि दिने एउटा अर्को कुरा पनि छ। मानिसहरूमा असल परिवर्तन गराउने शक्ति बाइबलमा छ। यस बारे हामी आउँदो लेखमा छलफल गर्ने छौं। (w90 4/1)
के तपाईं वर्णन गर्न सक्नु हुन्छ?
◻ बाइबललाई परमेश्वरको वचन भनेर स्वीकारेको हुनाकारण, यहोवाका साक्षीहरूले के कस्तो आशिष पाएका छन्?
◻ परमेश्वरको वचनमा हामी विश्वास गर्ने भए पछि, के कर्त्तव्य निभाउन बाध्य पर्छ र यो कर्त्तव्य निभाउने काममा हाम्रो चाल-चलनले कसरी मदद दिन सक्छ?
◻ बाइबलको बुद्धिपूर्ण उपदेश मानिसहरूको सर-सल्लाह भन्दा किन श्रेष्ठ छ?
◻ बाइबलको बुद्धिको गहराई प्रकाशमा ल्याउने केही उदाहरणहरू के हुन्?