प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ४५ p. ११४-p. ११५ par. २
  • येसुसित प्रेतहरूलाई काबूमा राख्ने शक्‍ति छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुसित प्रेतहरूलाई काबूमा राख्ने शक्‍ति छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • एउटा भिन्‍नै प्रकारको चेला
    सबैभन्दा महान्‌ पुरुष
  • येशू दुष्ट स्वर्गदूतहरूभन्दा शक्‍तिशाली हुनुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • चमत्कार—कसको शक्‍तिद्वारा?
    येसु—बाटो, सत्य र जीवन
  • स्वर्गदूतहरूबारे बाइबलले के सिकाउँछ?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ४५ p. ११४-p. ११५ par. २
थुप्रै प्रेतहरू बास गरेको एक जना मानिस येसु भएतिर आउँदै

अध्याय ४५

येसुसित प्रेतहरूलाई काबूमा राख्ने शक्‍ति छ

मत्ति ८:२८-३४ मर्कुस ५:१-२० लुका ८:२६-३९

  • प्रेतहरूलाई सुँगुरहरूभित्र पस्ने अनुमति दिनुहुन्छ

चेलाहरू मृत्युको मुखबाट जोगिएर समुद्रको किनारामा आइपुगेपछि तिनीहरूले त्यहाँ एउटा अचम्मको कुरा देख्छन्‌। प्रेतहरू बास गरेका दुई जना असाध्यै डरलाग्दो मानिस नजिकैको चिहानबाट येसु भएतिर आउँछन्‌। बाइबल विवरणले तीमध्ये एक जना मानिसमा ध्यान खिच्छ किनकि सम्भवतः त्यो मानिस अझै हिंस्रक छ र प्रेतहरूले उसलाई अझ लामो समयदेखि आफ्नो वशमा राखेको छ।

दयनीय अवस्थामा भएको त्यो मानिस नाङ्‌गै यताउता हिँड्‌ने गर्छ। ‘ऊ चिहानहरू र पहाडहरूमा रातदिन कराइरहन्छ अनि आफ्नो जीउमा ढुङ्‌गाले काटेर चोटैचोट बनाउँछ।’ (मर्कुस ५:५) ऊ असाध्यै डरलाग्दो भएकोले कसैले पनि त्यो बाटो हिँड्‌ने आँट गर्दैन। कसै-कसैले उसलाई साङ्‌लाले बाँध्न खोजेका छन्‌। तर उसले साङ्‌ला चुँडालिदिन्छ र नेल पनि टुक्राटुक्रा पारिदिन्छ। उसलाई कसैले पनि काबूमा राख्न सकेको छैन।

त्यो मानिस येसु भएतिर आउँछ र उहाँलाई दण्डवत्‌ गर्छ। तब ऊभित्र बास गरेका प्रेतहरूले उसलाई यसरी कराउन लगाउँछ: “हे सर्वोच्च परमेश्‍वरका छोरा येसु, तपाईँको मसित के सरोकार? मलाई नसताउनुहोस्‌ भनेर म तपाईँलाई परमेश्‍वरको कसम खान लाउँछु।” येसु यसो भन्दै प्रेतहरूमाथि आफ्नो अख्तियार भएको कुरा देखाउनुहुन्छ: “ए प्रेत, त्यस मानिसबाट निक्लेर आइज।”—मर्कुस ५:७, ८.

वास्तवमा त्यस मानिसभित्र थुप्रै प्रेत बास गरेको छ। येसुले “तेरो नाम के हो?” भनेर सोध्नुहुँदा उसले उहाँलाई यस्तो जवाफ दिन्छ: “मेरो नाम पल्टन हो किनभने हामी धेरै छौँ।” (मर्कुस ५:९) एउटा रोमी पल्टन हजारौँ सिपाही मिलेर बनेको हुन्छ; त्यसैले थुप्रै प्रेतले यस मानिसलाई दुःख दिइरहेको छ र तिनीहरू उसको दुःखमा खुसी भइरहेका छन्‌। तिनीहरूले येसुलाई “अगाध खाडलमा जाने हुकुम नगर्न” बिन्ती गर्छन्‌। तिनीहरू र तिनीहरूका नेता सैतानले कस्तो नतिजा भोग्नेछन्‌ भनेर तिनीहरूलाई राम्ररी थाह छ जस्तो देखिन्छ।—लुका ८:३१.

सुँगुरको बथान भीरतिर हुत्तिँदै गएर समुद्रमा खस्छ

सुँगुरको एउटा ठूलो बथान नजिकै चरिरहेको छ; त्यहाँ करिब दुई हजार वटा सुँगुर छन्‌। व्यवस्थाअनुसार यो अशुद्ध जनावर हो र यहुदीहरूले यो जनावर पाल्नुसमेत हुँदैन। प्रेतहरू यसो भन्छन्‌: “हामीलाई ती सुँगुरहरूकहाँ पठाउनुहोस्‌ र तिनीहरूभित्र पस्न दिनुहोस्‌।” (मर्कुस ५:१२) येसु तिनीहरूलाई सुँगुरहरूभित्र पस्ने अनुमति दिनुहुन्छ। तब ती दुई हजार वटै सुँगुर भीरतिर हुत्तिँदै जान्छन्‌ र समुद्रमा खस्छन्‌।

सुँगुर चराइरहेका गोठालाहरूले यो देखेपछि उनीहरू यसबारे सबैलाई सुनाउन सहर र गाउँतिर दौडेर जान्छन्‌। के भएको रहेछ भनी हेर्न मानिसहरू त्यहाँ आउँछन्‌। तिनीहरूले प्रेतहरू निस्केको त्यो मानिस सद्दे भएको देख्छन्‌। अहिले त उसले लुगा लगाएको छ र येसुको पाउनेर बसिरहेको छ।

येसु पहिला प्रेतहरू बास गरेको मानिसलाई घर फर्केर आफ्ना नातेदारहरूलाई आफू निको भएको कुरा बताउनू भन्‍नुहुन्छ

यस घटनाबारे सुनेकाहरू वा त्यो मानिस सद्दे भएको देखेकाहरू असाध्यै भयभीत हुन्छन्‌। किनकि यसले तिनीहरूको लागि कस्तो अर्थ राख्न सक्छ भनेर तिनीहरूले बुझेका छैनन्‌। तिनीहरू येसुलाई त्यो इलाका छोडेर जान आग्रह गर्छन्‌। येसु डुङ्‌गामा चढेर त्यहाँबाट जान लाग्नुभएको बेला पहिला प्रेतहरू बास गरेको त्यस मानिसले आफू पनि उहाँसँगै जान पाऊँ भनी बिन्ती गर्छ। तर येसु उसलाई यसो भन्‍नुहुन्छ: “तिमी घर फर्क र आफ्ना नातेदारहरूकहाँ जाऊ अनि यहोवा परमेश्‍वरले तिम्रो लागि गर्नुभएका सबै कुरा अनि तिमीमाथि देखाउनुभएको कृपाबारे तिनीहरूलाई बताइदेऊ।”—मर्कुस ५:१९.

येसु अक्सर आफूले निको पारेका मानिसहरूलाई त्यसबारे कसैलाई नभन्‍नू भनी निर्देशन दिनुहुन्छ किनकि मानिसहरूले सनसनीपूर्ण खबरहरूको आधारमा उहाँमाथि विश्‍वास गरेको उहाँ चाहनुहुन्‍न। तर यतिबेला भने कुरा फरक छ, पहिला प्रेतहरू बास गरेको त्यो मानिस येसुको शक्‍तिको जीवित प्रमाण हो र उसले येसुले भेट्‌न नसक्ने मानिसहरूलाई पनि साक्षी दिन सक्छ। साथै सुँगुरहरूको नोक्सानीको कारण त्यहाँ खडा हुन सक्ने विवादको पनि उसले खण्डन गर्न सक्छ। त्यसैले त्यो मानिस जान्छ र येसुले आफ्नो निम्ति के गरिदिनुभयो भनेर डेकापोलिसभरि घोषणा गर्न थाल्छ।

  • बाइबल विवरणले प्रेतहरू बास गरेका दुई जना मानिसमध्ये एक जनामा किन ध्यान खिच्छ?

  • प्रेतहरूलाई आफ्नो भविष्यबारे के थाह छ?

  • पहिला प्रेतहरू बास गरेको मानिसलाई येसु किन उहाँले गर्नुभएको कामबारे अरूलाई बताउनू भन्‍नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने