यहोवाको इच्छाबमोजिम गर्न सिकाइएका
“तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरा परमेश्वर हुनुहुन्छ।”—भजन १४३:१०.
१, २. (क) हामीलाई कहिले सिकाइनुपर्ने हो र कुन व्यवहारिक दृष्टिकोण राखेर सिकाइनुपर्ने हो? (ख) यहोवाद्वारा सिकाइनु किन यत्तिको अत्यावश्यक छ?
जीवित अनि सक्रिय व्यक्तिलाई हरेक दिन केही न केही सार्थक कार्यहरू सिकाउन सकिन्छ। यो तपाईंलगायत सबैमा लागू हुन्छ। तर मरेपछि? मरेपछि केही सिकाउन वा सिक्न सकिंदैन। बाइबलले प्रष्टै भन्छ, मृतकहरू “केही पनि जान्दैनन्।” शिओल अर्थात् मानिसजातिको साधारण चिहानमा कुनै प्रकारको ज्ञान हुँदैन। (उपदेशक ९:५, १०) त्यसको मतलब के हामीलाई सिकाइएको कुरा वा हामीले आर्जन गरेको ज्ञान व्यर्थै हुने भो त? यो कुरा हामीलाई के सिकाइएको छ र त्यो ज्ञान कसरी प्रयोग गर्छौं, त्यसमा निर्भर हुन्छ।
२ हामीलाई सांसारिक कुरा मात्र सिकाइएको छ भने हाम्रो भविष्य चिरकालीन हुँदैन। यद्यपि, खुशीको कुरा, सबै जातिका लाखौं मानिसहरूलाई अनन्त जीवन दिने उद्देश्यसहित ईश्वरीय इच्छा सिकाइँदैछ। यो आशाको आधार जीवनदायी ज्ञानको स्रोत यहोवाद्वारा सिकाइनुमा अडेको छ।—भजन ९४:९-१२.
३. (क) परमेश्वरको प्रथम विद्यार्थी येशू हुनुहुन्थ्यो भनेर किन भन्न सकिन्छ? (ख) मानवहरू यहोवाद्वारा सिकाइनेछन् भन्ने के आश्वासन हामीसित छ र त्यसको नतिजा के हुनेछ?
३ परमेश्वरको प्रथम विद्यार्थीको रूपमा उहाँको ज्येष्ठ पुत्रलाई आफ्नो पिताको इच्छाबमोजिम गर्न सिकाइयो। (हितोपदेश ८:२२-३०; यूहन्ना ८:२८) अनि हजारौं मानवहरू पिताद्वारा सिकाइनेछन् भनेर येशूले संकेत गर्नुभयो। हामीमध्ये जो जो परमेश्वरबाट सिकाइएका छौं, तिनीहरूको के कस्ता प्रत्याशाहरू छन्? येशूले भन्नुभयो: “अनि ती सबै जना परमेश्वरबाट सिकाइएका हुनेछन् भनी अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ। पिताबाट सुन्ने र सिक्ने प्रत्येक मकहाँ आउँछ। . . . साँचो साँचो म तिमीहरूलाई भन्दछु, विश्वास गर्नेलाई अनन्त जीवन छ।”—यूहन्ना ६:४५-४७.
४. लाखौं मानिसहरू ईश्वरीय शिक्षाद्वारा कसरी प्रभावित भएका छन् र तिनीहरूले के प्रत्याशा राखेका छन्?
४ येशूले यशैया ५४:१३ बाट उद्धरण गर्दै हुनुहुन्थ्यो। र त्यो परमेश्वरकी स्त्रीरूपी स्वर्गीय सियोनलाई सम्बोधन गरिएको थियो। त्यो भविष्यवाणी विशेषगरि तिनका छोराहरू अर्थात् येशूका आत्मा-अभिषिक्त १,४४,००० चेलाहरूमा लागू हुन्छ। आज यी आध्यात्मिक पुत्रका शेष जनहरू पृथ्वीमा शैक्षिक कार्यक्रमलाई जोडतोडले विस्तार गर्दैछन्। परिणामस्वरूप, “ठूलो भीड़[का]” अन्य लाखौंले पनि परमेश्वरबाट सिकाइँदा हुने लाभ पाइरहेका छन्। तिनीहरूले मृत्युको हस्तक्षेपबिना सिक्न पाउने अद्वितीय प्रत्याशा पाएका छन्। कसरी? कुरा के हो भने, यिनीहरू द्रुत गतिले नजीकिंदै गइरहेको “महा संकष्ट[बाट]” बच्ने र पार्थिव प्रमोदवनमा अनन्त जीवनको आनन्द उठाउने क्रममा छन्।—प्रकाश ७:९, १०, १३-१७.
परमेश्वरको इच्छाबमोजिम गर्नुमा निकै जोड
५. (क) सन् १९९७ को वार्षिक पद के हो? (ख) मसीही सभाहरू धाउने सम्बन्धमा हामीले कस्तो महसुस गर्नुपर्छ?
५ सन् १९९७ को दौडान यहोवाका साक्षीहरूको विश्वव्यापी ८०,००० भन्दा अधिक मण्डलीहरूले भजन १४३:१० का यी प्रारम्भिक शब्दहरू मनमा राख्नेछन्: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्।” त्यो सन् १९९७ को लागि वार्षिक पद हुनेछ। ती शब्दहरू राज्यभवनहरूमा सबैले देख्नेगरि प्रदर्शन गरिनेछन्। र ईश्वरीय शिक्षा हासिल गर्ने तथा निरन्तर चलिरहने निर्देशन कार्यक्रममा सहभागी हुन पाउने विशिष्ट ठाउँ मण्डलीका सभाहरू हुन् भनेर त्यो हाम्रोनिम्ति सम्झौटो सरह हुनेछ। महान् निर्देशकद्वारा सिकाइन हाम्रा भाइहरूसित सभाहरूमा भेला हुँदा हामी पनि भजनरचयिताले जस्तै अनुभव गर्नसक्नेछौं। तिनले लेखे: “जब तिनीहरूले मलाई भने, ‘परमप्रभुको भवनमा जाऔं।’ तब म रमाएँ।”—भजन १२२:१; यशैया ३०:२०.
६. दाऊदका शब्दअनुसार हामीले कुन कुरा स्वीकार्नुपर्छ?
६ हो, हामी हाम्रो शत्रु दियाबल वा असिद्ध मानवहरूको इच्छाभन्दा परमेश्वरको इच्छाबमोजिम गर्न सिकाइएको हुन लालसा गर्छौं। अतः, दाऊदजस्तै हामी पनि आफूले उपासना र सेवा गर्ने परमेश्वरलाई यसो भन्दै स्वीकार्छौं: “किनकि तपाईं मेरा परमेश्वर हुनुहुन्छ। तपाईंको आत्मा भला छ, मलाई सोझो बाटोमा डोऱ्याउनुहोस्।” (भजन १४३:१०) असत्य मानिसहरूसित साँठगाँठ बढाउने इच्छा गर्नुको साटो दाऊद यहोवाको उपासना थलोमा बस्न रुचाए। (भजन २६:४-६) आफ्नो पाइलालाई डोऱ्याउन परमेश्वरको आत्मा पाएकोले दाऊद धार्मिकताको मार्गमा हिंड्नसके।—भजन १७:५; २३:३.
७. परमेश्वरको आत्माले मसीही मण्डलीमाथि कसरी काम गरिरहेको छ?
७ चेलाहरूलाई सम्पूर्ण कुराहरू पवित्र आत्माले सिकाउनेछ र उहाँले बताउनुभएका कुराहरू तिनीहरूले फेरि सम्झनेछन् भनेर महान् दाऊद येशू ख्रीष्टले आश्वासन दिनुभयो। (यूहन्ना १४:२६) पेन्तिकोस उप्रान्त यहोवाले आफ्नो वचनमा भएका “परमेश्वरका गहीरा गहीरा कुराहरूलाई” प्रगतिशील ढंगमा प्रकट गर्नुभएको छ। (१ कोरिन्थी २:१०-१३) यो उहाँले दृश्य माध्यम मार्फत गर्नुभएको छ जसलाई येशूले “विश्वासी र बुद्धिमान दास” भन्नुभयो। विश्वभरि परमेश्वरका जनहरूका मण्डलीहरूको शैक्षिक कार्यक्रममा विचारविमर्श गरिने आध्यात्मिक भोजन यस दासवर्गले प्रबन्ध गर्छ।—मत्ती २४:४५-४७.
हाम्रा सभाहरूमा यहोवाको इच्छाबमोजिम सिकाइन्छ
८. प्रहरीधरहरा अध्ययनमा भाग लिनु किन असाध्यै मूल्यवान् कुरा हो?
८ मण्डलीको साप्ताहिक प्रहरीधरहरा अध्ययनमा प्रायः बाइबल सिद्धान्तहरूको प्रयोगबारे छलफल गरिन्छ। निस्सन्देह, त्यसले जीवनका फिक्रीहरू सामना गर्न हामीलाई मदत गर्छ। अन्य अध्ययनहरूमा चाहिं आध्यात्मिक सच्चाइ वा बाइबल भविष्यवाणीहरूको गहिरो विचारविमर्श गरिन्छ। यी अध्ययनहरूद्वारा हामी कत्ति धेरै सिक्छौं! अधिकांश मुलुकहरूमा यी सभाहरूमा भेला हुन चाहने मानिसहरूले राज्यभवनहरू खचाखच भरिएका हुन्छन्। यद्यपि, अन्य थुप्रै मुलुकहरूमा भने उपस्थिति संख्या घटेको छ। तपाईंको विचारमा यसको कारण के होला? कतै कोही कोही “प्रेम र सुकर्ममा उत्तेजित” गर्न भेला हुन छोडेर आफ्नै पेशातिर पो भुलिरहेका हुन् कि? वा सामाजिक क्रियाकलापमा वा टेलिभिजन कार्यक्रम हेर्न निकै समय बिताएकोले सबै सभाहरू धाउन समय नै नरहेको हो कि? हिब्रू १०:२३-२५ मा दिइएको प्रेरित सल्लाह फेरि सम्झनुहोस् त। ‘दिन नजीक नजीक आइपुगेको देखेकै हुनाले’ एक साथ भेला हुनुपर्ने ईश्वरीय निर्देशन झनै महत्त्वपूर्ण छैन र?
९. (क) सेवा सभाले कसरी सेवकाईको निम्ति सुसज्जित बनाउनसक्छ? (ख) साक्षी कार्यबारे हाम्रो धारणा कस्तो हुनुपर्ने हो?
९ हाम्रा मुख्य जिम्मेवारीहरूमध्ये एउटा परमेश्वरको सेवकको रूपमा सेवा गर्नु हो। यो सेवा प्रभावकारी ढंगमा कसरी गर्ने, त्यो सिकाउन सेवा सभा तयार पारिएको हो। मानिसहरूसित कसरी कुरा थाल्ने, के भन्ने, तिनीहरूले अनुकूल प्रतिक्रिया देखाउँदा के गर्ने अनि हाम्रो सन्देश सुन्न इन्कार गर्दा कसो गर्ने, त्यो हामी सेवा सभाबाट सिक्छौं। (लूका १०:१-११) यस साप्ताहिक सभामा प्रभावकारी तरिकाहरू छलफल तथा प्रदर्शन गरिने हुँदा हामी घर-घर जाँदा मात्र होइन, तर सडकमा, सवारीसाधन बिसाउने क्षेत्रमा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा, विमानस्थलमा, व्यापार इलाकामा वा स्कूलमा समेत मानिसहरूसित कुरा गर्न तम्तयार हुन्छौं। “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्” भन्ने हाम्रो अनुरोधअनुरूप हामी हाम्रो मालिकले आग्रह गर्नु- भएका निम्न शब्दअनुसार गर्न हरेक मौकाको फाइदा उठाउन खोज्नेछौं: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्, र तिनीहरूले . . . स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।”—मत्ती ५:१६.
१०. ‘योग्य जनहरूलाई’ हामी कसरी साँच्चै मदत दिनसक्छौं?
१० मण्डलीका यस्ता सभाहरूमा चेला कसरी बनाउने, त्यो पनि सिकाइन्छ। कुनै मानिसले चासो देखाउँदा वा साहित्य स्वीकार्दा हाम्रो लक्ष्य पुनःभेटहरू गरेर बाइबल अध्ययन सुरु गर्ने हुनुपर्छ। एक अर्थमा, यो काम येशूले आज्ञा गर्नुभएका कुराहरू सिकाउन चेलाहरू ‘योग्य व्यक्तिसँगै बसेको’ बराबर हो। (मत्ती १०:११; २८:१९, २०) ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ-जस्ता अत्युत्तम सहायक पुस्तकहरू हामीसित भएकोले हाम्रो सेवकाई राम्ररी पूरा गर्न हामी साँच्चै सुसज्जित छौं। (२ तिमोथी ४:५) हरेक हप्ता सेवा सभा अनि ईश्वरतान्त्रिक पाठशालामा उपस्थित हुँदा त्यहाँ सिकाइने कुरा मनमा ठप्प राख्नुहोस्। अनि सिकेका मदतकारी बुँदाहरूलाई यस्तो ढंगमा प्रयोग गर्नुहोस् ताकि तपाईंलाई परमेश्वरको इच्छाबमोजिम गर्न उचित दक्षता हासिल गरेको सेवक भनेर सिफारिस गर्न सकियोस्।—२ कोरिन्थी ३:३, ५; ४:१, २.
११. केही व्यक्तिहरूले कसरी मत्ती ६:३३ अनुसार आफ्नो विश्वास प्रदर्शन गरेका छन्?
११ हामीले “उहाँको राज्य र उहाँको धार्मिकता खोजी” गरिरहोस् भन्ने परमेश्वरको इच्छा छ। (मत्ती ६:३३) अब आफैलाई सोध्नुहोस्, ‘मेरो वा मेरो [जीवनसाथीको] पेशागत कामले सभाहरूमा उपस्थित हुनदेखि रोक्यो भने म यो सिद्धान्त कसरी लागू गर्नेछु?’ आध्यात्मिक तवरमा परिपक्व अधिकांश व्यक्तिहरूले आफ्नो हाकिमसित उक्त विषयमा कुरा गर्न पाइला चाल्छन्। एक जना पूर्ण-समय सेविकाले त्यसै गरिन्। हरेक हप्ता मण्डलीका सभाहरूमा उपस्थित हुन तिनले छुट्टी मागिन्। र तिनको हाकिमले दिए पनि। तर सभाहरूबारे कौतूहल जागेर तिनको हाकिमले तिनी पनि उपस्थित हुनसक्छन् कि भनेर सोधे। त्यहाँ तिनले आउँदै गरेको जिल्ला अधिवेशनबारे गरिएको घोषणा सुने। फलतः तिनले पूरै दिन अधिवेशनमा उपस्थित हुने प्रबन्ध मिलाए। यो घटनाबाट तपाईं के सिक्नुहुन्छ?
ईश्वरभक्त आमाबाबुद्वारा यहोवाको इच्छाबमोजिम गर्न सिकाइएका
१२. छोराछोरीलाई यहोवाको शिक्षा सिकाउन मसीही आमाबाबुले कुन कुरा धैर्यपूर्वक अनि अटलतापूर्वक गर्नुपर्ने हो?
१२ ईश्वरीय इच्छा सिकाउने प्रबन्धहरू सभा तथा अधिवेशनहरू मात्रै होइनन्। आफ्ना छोराछोरीलाई प्रशिक्षण दिने, अनुशासन दिने र तिनीहरूलाई यहोवाको प्रशंसा गर्ने अनि उहाँको इच्छाअनुरूप चल्ने व्यक्ति बनाउने आज्ञा आमाबाबुलाई दिइएको छ। (भजन १४८:१२, १३; हितोपदेश २२:६, १५) त्यसो गर्न हामीले आफ्ना “बालक[हरूलाई]” सभाहरूमा लैजानुपर्छ, जहाँ तिनीहरूले ‘सुन्न र सिक्नसक्छन्।’ तर पवित्र लेखोटहरू घरमा पनि सिकाउने सन्दर्भमा के भन्न सकिन्छ? (व्यवस्था ३१:१२; २ तिमोथी ३:१५) थुप्रै परिवारहरूले कर्तव्यनिष्ठ भई नियमित पारिवारिक बाइबल अध्ययन सुरु त गरे तर पछि बिस्तारै बेवास्ता गर्न थाले। के तपाईंको पारिवारिक अध्ययन पनि त्यस्तै भएको थियो? नियमित अध्ययन गर्नू भन्ने सुझाउ तपाईंलाई अनुपयुक्त लागेको हो कि? वा तपाईंको पारिवारिक स्थिति अरूको भन्दा भिन्न लागेकोले त्यस्तो अध्ययन सफल हुँदै हुँदैन भन्ने विचार पो गर्नुभयो कि? परिस्थिति जेसुकै होस्, कृपया तपाईं आमाबाबुले अगस्त १, १९९५ को प्रहरीधरहरा पल्टाएर “हाम्रो प्रचुर आध्यात्मिक पैतृक सम्पत्ति” र “लगनशीलताका इनामहरू” भन्ने लेख दोहोऱ्याएर हेर्नुहोस्।
१३. परिवारहरूले दैनिक पदको छलफल गरेर कसरी लाभ उठाउनसक्छन्?
१३ परिवारहरूलाई दिनहुँ धर्मशास्त्र जाँच्ने-बाट दैनिक पद छलफल गर्ने बानी बसाल्न प्रोत्साहन दिइएको छ। दैनिक पद अनि टिप्पणी पढ्नु मात्र पनि राम्रो हो, तर पद छलफल गरेर त्यसलाई लागू गर्नु झनै लाभदायी हुन्छ। उदाहरणका लागि, एफिसी ५:१५-१७ छलफल गर्दा परिवारका सदस्यहरूले व्यक्तिगत अध्ययन गर्न, कुनै न कुनै तरिकामा पूर्ण-समय सेवकाईमा भाग लिन अनि अन्य ईश्वरतान्त्रिक जिम्मेवारीहरू पूरा गर्न कसरी ‘अनुकूल समय निकाल्न’ सकिन्छ, त्यसमाथि तर्क गर्नसक्छन्। हो, पूरै परिवार मिलेर दैनिक पद छलफल गर्दा एक वा सबैले “प्रभुको इच्छा के रहेछ, सो [अझ राम्ररी बुझ्न]” मदत पाउनसक्छन्।
१४. व्यवस्था ६:६, ७ ले आमाबाबु कस्तो प्रकारका शिक्षकहरू हुनुपर्ने हो भनेर संकेत गर्छ र त्यस्ता शिक्षकहरू हुन के गर्नुपर्छ?
१४ आमाबाबु छोराछोरीका लगनशील शिक्षकहरू हुनुपर्छ। (व्यवस्था ६:६, ७) तर त्यसो भन्दैमा छोराछोरीलाई लामो भाषण सुनाउनु वा हैकम चलाउनु मात्र होइन। बुबा र आमाले सुन्नु पनि पर्छ र सुन्दा छोराछोरीलाई कुन कुरा बुझाउनुपर्ला वा स्पष्ट गर्नुपर्ला अनि कुन कुरा उदाहरणद्वारा बताउनुका साथै दोहोऱ्याउनुपर्ला, त्यो राम्ररी बुझ्नसक्ने किसिमले सुन्नुपर्छ। एउटा मसीही परिवारमा आमाबाबुले छोराछोरीलाई आफूले नबुझेका वा चासो लागेका कुरा सोध्ने प्रोत्साहन दिएर खुला सञ्चार राख्ने उत्साह दिंदा रहेछन्। त्यसो गर्दा तिनीहरूले आफ्नो किशोरावस्थाको छोरालाई यहोवाको सुरुआत छैन भन्ने कुरा बुझ्न गाह्रो परिरहेको रहेछ भन्ने थाह पाए। फलतः वाच टावर सोसाइटीका प्रकाशनहरूमा दिइएको जानकारी चलाएर ती आमाबाबुले समय अनि अन्तरिक्षको पनि कुनै अन्त छैन र मानिसहरूले त्यसलाई स्वीकारेका छन् भनी बुझाउन सके। कुरा स्पष्ट भयो र छोरालाई चित्त पनि बुझ्यो। अतः छोराछोरीले प्रश्न गर्दा धर्मशास्त्र चलाएर स्पष्ट जवाफ दिने समय निकाल्नुहोस् र परमेश्वरको इच्छाबमोजिम चल्न सिक्नु सन्तोषप्रद हुनसक्छ भनेर बुझ्ने मदत दिनुहोस्। यसबाहेक, यहोवाका जवान तथा वृद्ध दुवै खाले जनहरूलाई आज अरू के के सिकाइएका छन् त?
प्रेम र संघर्ष गर्न सिकाइएका
१५. हाम्रो भ्रातृत्व प्रेम कत्तिको साँचो छ, त्यो कहिले जाँचिनसक्छ?
१५ येशूको नयाँ आज्ञाअनुसार हामीले “आपसमा प्रेम गर्नू भन्ने . . . परमेश्वरबाट शिक्षा पाएका” छौं। (१ थिस्सलोनिकी ४:९) सबै कुरा राम्रै हुँदा हामी आफ्ना भाइहरूलाई प्रेम गर्छौं भन्ने लाग्नसक्छ। तर व्यक्तिगत भिन्नताहरू उत्पन्न हुँदा वा अर्को मसीहीको भनाइ वा गराइले चित्त दुख्दा नि? यतिबेला हाम्रो प्रेम कत्तिको साँचो छ, त्यो जाँचिनसक्छ। (२ कोरिन्थी ८:८ तुलना गर्नुहोस्।) त्यस्ता परिस्थितिहरूमा बाइबलले हामीलाई के गर्न सिकाउँछ? गर्नसक्ने एउटा काम, सम्पूर्ण हृदय खोलेर प्रेम देखाउने कोसिस गर्नु हो। (१ पत्रुस ४:८) त्यस्तो मौकामा मेरो गोरुको बाह्रै टक्का भनेझैं गर्नु, सानो चित्तको हुनु वा मनमा ईख राख्नुको साटो प्रेमले असंख्य पाप ढाक्न प्रयत्न गर्नुपर्छ। (१ कोरिन्थी १३:५) हामीले त्यसै गरेको परमेश्वर चाहनुहुन्छ भनेर हामीलाई थाह छ, किनभने उहाँको वचनले त्यही सिकाउँछ।
१६. (क) मसीहीहरूलाई कस्तो प्रकारको युद्ध लड्न सिकाइएको छ? (ख) हामीहरू यस युद्धका लागि कसरी सुसज्जित बनाइएका छौं?
१६ हुन त थुप्रैले प्रेम र युद्धलाई सँगै गाँस्दैनन्। तथापि, हामीलाई एउटा विशिष्ट किसिमको युद्ध लड्न सिकाइएको छ। यहोवाले सिकाउनुभए मात्र युद्ध जित्न सकिनेरहेछ भनेर दाऊदले बुझेका थिए। यद्यपि, तिनको समय- मा साँच्चै हातहतियार उठाएर इस्राएलका शत्रुहरूसित लड्नुपर्थ्यो। (१ शमूएल १७:४५-५१; १९:८; १ राजा ५:३; भजन १४४:१) आज नि? हाम्रा भौतिक हातहतियार छैनन्। (२ कोरिन्थी १०:४) हाम्रो युद्ध आध्यात्मिक युद्ध हो, जसको लागि हामी आध्यात्मिक हातहतियारले सुसज्जित हुनुपर्छ। (एफिसी ६:१०-१३) यहोवाले आफ्नो वचन अनि एकत्रित मानिसहरूद्वारा सफलतापूर्वक आध्यात्मिक युद्ध लड्न हामीलाई सिकाउनुहुन्छ।
१७. (क) हाम्रो ध्यान विकर्षण गर्न दियाबलले कस्ता उपायहरू रच्छ? (ख) कुन कुरादेखि हामी बुद्धिमानीपूर्वक अलग बस्नुपर्छ?
१७ बेकारका कुराहरूतिर हाम्रो ध्यान खिच्न दियाबलले प्रायः संसारका तत्त्वहरू, धर्मत्याग अनि सत्यको विरोध गर्ने अन्य विषयवस्तुहरूलाई छलि अनि धूर्त तरिकामा चलाउँछ। (१ तिमोथी ६:३-५, ११; तीतस ३:९-११) मानौं सीधै हमला गरेर ढाल्न गाह्रै पर्ला भनेर हो कि त्यसले मनमा छ्वास्स परेका तर कुनै आध्यात्मिक मूल्य नभएका कुराहरूमा गनगन गर्न वा अर्थ न बर्थको प्रश्नहरू खडा गर्न लगाएर हामीलाई लडाउन खोज्छ। तर चनाखो योद्धाहरूजस्तै हामी प्रत्यक्ष हमलाहरूदेखि मात्र होइन तर त्यस्ता खतराहरूदेखि पनि सतर्क रहनुपर्छ।—१ तिमोथी १:३, ४.
१८. आफ्नोलागि नबाँच्न हामीले साँच्चै के के गर्नुपर्छ?
१८ हामी मानिसहरूको लालसा वा राष्ट्रहरूको इच्छा प्रवर्धन गर्दैनौं। यहोवाले हामीलाई येशूको नमुनाद्वारा आफ्नोलागि बाँच्ने होइन बरु, ख्रीष्ट येशूको जस्तै मनोभाव राख्नुपर्ने हो र परमेश्वरको इच्छाबमोजिम गर्नुपर्ने हो भनी सिकाउनुभएको छ। (२ कोरिन्थी ५:१४, १५) विगतमा हामीले अति नै अभद्र वा छाडा जीवन व्यतीत गरेर अमूल्य समय गुमाएका हौंला। आमोदप्रमोद, मद्य प्रतियोगिता अनि अनैतिकता यस दुष्ट संसारका चिनारीहरू हुन्। तर अब परमेश्वरको इच्छाअनुरूप चल्न सिकाइएकोले हामी यस भ्रष्ट संसारबाट अलग छौं। के हामी यसको लागि कृतज्ञ छैनौं र? अतः पतित सांसारिक चलनहरूमा नमुछिनुहोस्, हामी आध्यात्मिक युद्ध लड्न कडा संघर्ष गरौं।—१ पत्रुस ४:१-३.
आफ्नै फाइदाका लागि सिकाइएका
१९. यहोवाको इच्छा के हो अनि त्यसअनुसार चल्ने तरिका सिक्यौं भने के कस्ता लाभहरू हुनेछन्?
१९ यहोवाको इच्छाबमोजिम गर्न सिकाइँदा हाम्रो धेरै फाइदा हुन्छ भनेर जान्नु आवश्यक छ। स्वाभाविकतः त्यसको मतलब, हामीले उहाँको पुत्र तथा उहाँको वचन अनि एकत्रित मानिसहरू मार्फत आउने निर्देशनहरू सिक्न अनि पालन गर्न गहिरो ध्यान दिनैपर्छ। (यशैया ४८:१७, १८; हिब्रू २:१) त्यसो गऱ्यौं भने हामी यी विपत्तिजनक समयमा दृढ भई खडा हुनुका साथै आउँदै गरेको तुफानसित जुझ्न सक्नेछौं। (मत्ती ७:२४-२७) अझ अहिल्यै, परमेश्वरको इच्छाबमोजिम चलेर उहाँलाई प्रसन्न तुल्याइरहेका हुनेछौं र उहाँले हाम्रो प्रार्थना सुन्नुहुनेछ भनी ढुक्क हुनसक्नेछौं। (यूहन्ना ९:३१; १ यूहन्ना ३:२२) अनि हामीले साँचो आनन्द अनुभव गर्नेछौं।—यूहन्ना १३:१७.
२०. सन् १९९७ भरि वार्षिक पद देख्नुहुँदा कुन कुरा मनन गर्नु असल हुनेछ?
२० सन् १९९७ भरि वार्षिक पद, भजन १४३:१० पढ्ने र मनन गर्ने मौका हामी बारम्बार पाइरहनेछौं। त्यस पदले यसो भन्छ: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्।” आउनुहोस्, यस पदअनुसार हामी चलौं अनि त्यसो गर्दा माथि उल्लेख भएझैं परमेश्वरले हामीलाई सिकाउन गर्नुभएका प्रबन्धहरूमाथि मनन गर्न एक न एक अवसर निकालौं। अनि त्यस बिन्तीअनुसार लगातार चलिरहन उत्प्रेरणाको रूपमा उपरोक्त वचनहरूमा मनन गरिरहौं। किनकि, “परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ” भनी हामीलाई थाह छ।—१ यूहन्ना २:१७.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ आज कसलाई यहोवाको इच्छाबमोजिम चल्न सिकाइँदैछ?
◻ सन् १९९७ को दौडान भजन १४३:१० ले हामीमाथि कस्तो असर पार्नुपर्ने हो?
◻ हामीलाई कसरी यहोवाको इच्छाबमोजिम चल्न सिकाइँदैछ?
◻ मसीही आमाबाबुले आफ्नो छोराछोरीलाई सिकाउँदा के आवश्यकताहरू पूरा गर्नुपर्छ?