प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ८/१५ pp. १२-१७
  • थकितहरूलाई मायालु निमन्त्रणा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • थकितहरूलाई मायालु निमन्त्रणा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “मेहनत गर्ने, र बोझले दबिएका”
  • कठिनाइको वास्तविक कारण
  • आज येशूको निमन्त्रणा
  • छुटकारा र स्फूर्ति
  • “मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • तनाउबाट छुटकारा—एउटा व्यावहारिक समाधान
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • अपश्‍चात्तापी पुस्तालाई धिक्कार छ
    येसु—बाटो, सत्य र जीवन
  • “मेरो जुवा सजिलो र मेरो भारी हलका छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ८/१५ pp. १२-१७

थकितहरूलाई मायालु निमन्त्रणा

“हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।”—मत्ती ११:२८.

१. येशूले गालीलमा आफ्नो तेस्रो प्रचार भ्रमणको दौडान के देख्नुभयो?

येशूले सा.यु. ३२ को सुरुतिर गालील प्रान्तमा तेस्रो प्रचार भ्रमण गर्नुभयो। उहाँ शहरहरू र गाउँहरू हुँदै “सभाघरहरूमा शिक्षा दिंदै, र राज्यको सुसमाचारको प्रचार गर्दै, र हरेक किसिमको रोग र बिमार निको पार्दै हिंड्‌नुभयो।” उहाँले यसो गर्नुहुँदा भीडलाई देख्नुभयो र उहाँको हृदय “तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।”—मत्ती ९:३५, ३६.

२. येशूले मानिसहरूलाई कसरी मदत गर्नुभयो?

२ तथापि, येशूले भीडहरूप्रति दया महसुस मात्र गर्नुभएन। आफ्ना चेलाहरूलाई “फसलका प्रभु” यहोवा परमेश्‍वरसित प्रार्थना गर्ने निर्देशन दिनुभएपछि उहाँले मानिसहरूको मदतका लागि तिनीहरूलाई पठाउनुभयो। (मत्ती ९:३८; १०:१) त्यसपछि उहाँले मानिसहरूको साँचो छुटकारा र सान्त्वनाका लागि व्यक्‍तिगत आश्‍वासन दिनुभयो। उहाँले तिनीहरूलाई यस हृदयस्पर्शी निमन्त्रणा दिनुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।”—मत्ती ११:२८, २९.

३. येशूको निमन्त्रणा आज पनि किन त्यतिकै मोहक छ?

३ आज हामी बाँचिरहेको समयमा धेरैजसो मानिसहरू साह्रै गहौं भारले दबिएको र लादिएको महसुस गर्छन्‌। (रोमी ८:२२; २ तिमोथी ३:१) केहीको लागि जीविकोपार्जन गर्न मात्र पनि यति धेरै समय र शक्‍ति खर्च गर्नुपर्ने हुन्छ कि आफ्नो परिवार, मित्रहरू तथा अन्य कामकुराको लागि समय नै हुँदैन। धेरै मानिसहरू गम्भीर बिमारी, पीडा, निराशा र अन्य शारीरिक तथा भावनात्मक समस्याहरूले दबिएका छन्‌। दबाबले गर्दा केही मानिसहरू सुख-विलास, खानपिन, मद्यपान र लागू पदार्थको दुर्व्यसनजस्ता कुराहरूमा चुर्लुम्म डुबेर केही हदसम्म तनाउमुक्‍त हुन खोज्छन्‌। निस्सन्देह, यसो गर्दा तिनीहरू एउटा डरलाग्दो चक्रमा फस्छन्‌ र अझ बढी समस्या तथा दबाबहरू भोग्छन्‌। (रोमी ८:६) स्पष्टतः, येशूको मायालु निमन्त्रणा आज पनि त्यतिबेला जतिकै मनमोहक छ।

४. हामीले येशूको मायालु निमन्त्रणाबाट लाभ उठाउन कुन प्रश्‍नहरूमाथि ध्यान दिनुपर्छ?

४ तर, येशूकालीन मानिसहरू कुन कुराको बोझले गर्दा “हैरान भई तितर-बितर भएका” जस्तो देखिन्थे र फलतः येशू दयाले भरिनुभयो? तिनीहरूले बोक्नुपर्ने बोझ तथा भारहरू के के थिए? अनि येशूको निमन्त्रणाले तिनीहरूलाई कसरी मदत गर्नेथियो? येशूले थकितहरूलाई दिनुभएको मायालु निमन्त्रणाबाट लाभ उठाउन यी प्रश्‍नहरूका जवाफ सबैभन्दा लाभदायी हुनसक्छन्‌।

“मेहनत गर्ने, र बोझले दबिएका”

५. प्रेरित मत्तीले येशूको सेवकाईसम्बन्धी यस घटनाबारे बताउनु किन उपयुक्‍त थियो?

५ येशूको सेवकाईको दौडान यस घटनाबारे मत्तीले मात्र बताउनु चाखलाग्दो कुरा हो। लेवी नाउँले पनि चिनिने मत्ती महसुल उठाउँथे। त्यसकारण तिनी मानिसहरूले बोकिरहेको एउटा बोझसित विशेषगरि परिचित थिए। (मत्ती ९:९; मर्कूस २:१४) डेली लाइफ इन द टाइम अफ जीजस नामक पुस्तक यसो भन्छ: “[यहूदीहरूले] करस्वरूप तिर्नुपर्ने रकम र धनमाल असाध्यै चर्को थियो। साथै निजामती तथा धार्मिक कर एकै चोटि तिर्नुपर्ने भएकोले झनै बोझिला थिए। यसको अलावा ती दुवै करका रकमहरू चानचुने थिएनन्‌।”

६. (क) येशूकालीन कर प्रणाली कस्तो थियो? (ख) महसुल उठाउनेहरूको त्यस्तो बदनामी हुनुको कारण के थियो? (ग) पावलले आफ्ना संगी मसीहीहरूलाई कुन विषयमा सम्झाउने खाँचो देखे?

६ यो विशेषगरि बोझिलो हुनुको कारण त्यतिबेलाको कर प्रणाली थियो। रोमी अधिकृतहरूले प्रान्तहरूबाट अधिकतम कर असुल गर्नसक्नेहरूलाई त्यो काम गर्ने ठेक्का दिन्थे। त्यसपछि तिनीहरूले कर असुल कार्यमाथि सुपरिवेक्षण गर्न स्थानीय समुदायका मानिसहरू खटाउँथे। यसप्रकार प्रत्येकले अर्को व्यक्‍ति सोस्ने चक्रअन्तर्गत सबैलाई आफूले लिने कमिसन मनासिब नै लाग्थ्यो। उदाहरणको लागि, लूकाले बताएअनुसार “त्यहाँ जक्कै नाउँ भएको एउटा मानिस थियो। तिनी महसूल उठाउनेका हाकिम थिए, र धनी थिए।” (लूका १९:२) “महसूल उठाउनेका हाकिम” जक्कै र तिनको मातहतमा रहेका व्यक्‍तिहरू सम्भवतः नाजायज फाइदा उठाएर धनी भएका थिए। त्यस्तो प्रणालीले पैदा गरेको दुरुपयोग र भ्रष्टाचारले गर्दा मानिसहरूले महसुल उठाउनेहरूलाई पापी तथा वेश्‍याहरूजस्तै ठान्थे। सम्भवतः प्रायजसो परिस्थितिहरूमा त्यस्तो ठानिनु अनुचित पनि थिएन। (मत्ती ९:१०; २१:३१, ३२; मर्कूस २:१५; लूका ७:३४) मानिसहरूले असह्‍य बोझ महसुस गरेको हुँदा प्रेरित पावलले आफ्ना संगी मसीहीहरूलाई रोमी शासकहरूप्रति क्रोधित नभई “तिर्नु पर्ने कुरा सबैलाई तिर—कर तिर्नु पर्नेलाई कर, महसूल तिर्नु पर्नेलाई महसूल” भनी सम्झाउनुपर्ने आवश्‍यकता देख्नु कुनै आश्‍चर्यको कुरा होइन।—रोमी १३:७क; लूका २३:२ तुलना गर्नुहोस्‌।

७. रोमी दण्डाज्ञाहरूले मानिसहरूको बोझलाई कसरी बढायो?

७ पावलले मसीहीहरूलाई “डराउनु पर्नेसँग डराऊ, आदर गर्नु पर्नेलाई आदर गर” भनेर पनि सम्झाए। (रोमी १३:७ख) रोमीहरू क्रूर तथा कठोर दण्डाज्ञाहरूका लागि कुख्यात थिए। तिनीहरूले मानिसहरूलाई आफ्नो अधीनमा राख्न प्रायजसो कोर्रा लगाउने, पिट्‌ने, कठोर जेलसजाय र मृत्युदण्ड दिने गर्थे। (लूका २३:३२, ३३; प्रेरित २२:२४, २५) उपयुक्‍त देखिएमा यहूदी नेताहरूले समेत त्यस्तो सजाय दिने अधिकार पाएका थिए। (मत्ती १०:१७; प्रेरित ५:४०) निस्सन्देह त्यो मानिसहरूलाई जबरजस्ती थिचोमिचो र दमनसमेत गर्ने प्रणाली थियो।

८. धार्मिक नेताहरूले मानिसहरूमा बोझ कसरी थपे?

८ तथापि, रोमी कर तथा व्यवस्थाहरूभन्दा त्यतिबेलाका धार्मिक नेताहरूले साधारण मानिसहरूमाथि थोपरेको बोझ अझै चर्को थियो। वास्तवमा येशूले “मेहनत गर्ने र बोझले दबिएका” भन्‍नुहुँदा यही नै उहाँको प्रमुख चासोको विषयजस्तो देखिन्छ। येशूले भन्‍नुभयो, धार्मिक नेताहरूले ती दबिएका मानिसहरूलाई आशा र सान्त्वना प्रदान गर्नुको साटो तिनीहरूले “गह्रौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूका काँधमा हालिदिन्छन्‌। तर तिनीहरू आफैले भने आफ्ना औंलाले पनि ती सारिदिने मन गर्दैनन्‌।” (मत्ती २३:४; लूका ११:४६) सुसमाचारका पुस्तकहरूमा विशेषगरि शास्त्री तथा फरिसीहरूजस्ता धार्मिक नेताहरूलाई हठी, निर्दयी र कपटी समूहको रूपमा चित्रण गरिएको कुरा स्पष्ट छ। तिनीहरूले साधारण मानिसहरूलाई अनपढ र व्यवस्था नजान्‍ने भीडको रूपमा अशुद्ध ठान्थे। साथै तिनीहरू परदेशीहरूलाई घृणा गर्थे। तिनीहरूको मनोवृत्तिबारे एउटा टिप्पणीले यसो भन्छ: “आजकल घोडालाई अचाक्ली बोझ बोकाउने मानिस व्यवस्थाको सामु दोषी ठहरिन्छ।’ तर ‘कुनै धार्मिक प्रशिक्षण नपाएका साधारण मानिसहरूलाई’ मोशाको व्यवस्थाका ६१३ वटा आज्ञाहरूको भारी बोकाउने र ‘त्यसपछि आफूले कुनै मदत नदिई तिनीहरूलाई नास्तिक भनेर दोषी’ ठहराउने मानिसबारे के भन्‍न सकिन्छ?” निस्सन्देह, मोशाको व्यवस्था वास्तवमा बोझ थिएन। तर मानिसहरूमाथि थोपरेको अनगिन्ती परम्पराहरू भने अवश्‍य बोझ थिए।

कठिनाइको वास्तविक कारण

९. येशू र राजा सुलेमानको समयका मानिसहरूको अवस्था कसरी भिन्‍न थियो?

९ कहिलेकाहीं मानिसहरूमाथि राखिएको आर्थिक बोझ साह्रै गहौं हुन्थ्यो। अतः त्यहाँ व्यापक गरिबी थियो। इस्राएलीहरूले मोशाको व्यवस्थाअनुसार तोकिएको मनासिब कर तिर्नुपर्थ्यो। सुलेमानको शासनकालमा मन्दिर निर्माण तथा अन्य भवन निर्माणजस्ता महँगा राष्ट्रिय योजनाहरूका लागि मानिसहरूले खर्च बेहोर्थे। (१ राजा ७:१-८; ९:१७-१९) यद्यपि, बाइबलले बताएअनुसार मानिसहरू “खान्थे, पिउँथे र सुखसित रहन्थे। . . . तिनको राजत्वकालभरिनै यहूदा र इस्राएलमा शान्ति थियो, औ दानदेखि बेर्शेबासम्मै हरेक मानिसले आफ्नो आफ्नै दाखबारी र नेभाराका बोटमनि सुखपूर्वक दिन बिताउँथे।” (१ राजा ४:२०, २५) यस्तो भिन्‍नताको कारण के थियो?

१०. प्रथम शताब्दीतिर इस्राएलको परिस्थितिको कारण के थियो?

१० त्यस राष्ट्र साँचो उपासना गर्न दृढ होउञ्जेल तिनीहरूले यहोवाको अनुग्रह पाए र अत्यधिक राष्ट्रिय खर्चको बावजूद सुरक्षा तथा संवृद्धि महसुस गरे। तथापि, तिनीहरूले “[उहाँलाई] पछ्याउन छोड़ेर . . . [उहाँका] आज्ञा र धर्म-विधिहरू पालन” गरेनन्‌ भनेता प्रतिकूल परिस्थितिहरू भोग्नेछन्‌ भनेर यहोवाले चेताउनी दिनुभयो। वास्तवमा, “इस्राएल चाहिं सबै मानिसहरूका बीचमा एउटा आहान र गिल्लाको कारण बनिनेछ।” (१ राजा ९:६, ७) अवस्था ठीक त्यस्तै भयो। इस्राएल विदेशी प्रभुतामा पऱ्‍यो र एकताका महिमित राज्य केवल विदेशी साम्राज्यको प्रान्त हुन गयो। आफ्ना आध्यात्मिक दायित्वहरू बहन नगर्दा तिनीहरूले कस्तो भयानक परिणाम भोग्नुपऱ्‍यो!

११. येशूले मानिसहरू किन “गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका” महसुस गर्नुभयो?

११ यी सबै कुराहरूले गर्दा हामी येशूले मानिसहरू “हैरान भई तितर-बितर भएका” देख्नुको कारण बुझ्नसक्छौं। तिनीहरू इस्राएलीहरू अर्थात्‌ यहोवाका जनहरू थिए। साथै तिनीहरूले परमेश्‍वरको व्यवस्थाअनुसार जीवन बिताउन र स्वीकार्य ढंगमा उपासना चढाउन यथासम्भव प्रयास गरिरहेका थिए। तापनि, तिनीहरू राजनैतिक तथा आर्थिक शक्‍तिहरूले मात्र होइन तर तिनीहरूका धर्मत्यागी धार्मिक नेताहरूद्वारा पनि शोषित र दबाइएका थिए। तिनीहरू “गोठालो नभएका भेड़ाहरू जस्तै” थिए किनभने तिनीहरूको हेरचाह गर्ने वा तिनीहरूको पक्षमा बोलिदिने कोही थिएन। तिनीहरूलाई असाध्यै कठोर वास्तविकताहरू सामना गर्न मदत चाहिएको थियो। येशूको मायालु तथा विनम्र निमन्त्रणा कति सामयिक थियो!

आज येशूको निमन्त्रणा

१२. आज यहोवाका केही सेवकहरू तथा अन्य निष्कपट मानिसहरूले कस्तो दबाब महसुस गर्छन्‌?

१२ आज धेरै क्षेत्रमा परिस्थिति त्यस्तै छ। धेरै निष्कपट मानिसहरूले इमानदारीपूर्वक व्यापार गर्न खोजिरहेका छन्‌ तर भ्रष्ट रीतिरिवाजले दिने दबाब तथा मागहरू असह्‍य भएको महसुस गर्छन्‌। यहोवालाई आफ्नो जीवन समर्पण गरिसकेका व्यक्‍तिहरूसमेत यी भ्रष्ट प्रभावहरूदेखि मुक्‍त छैनन्‌। प्रतिवेदनहरूले देखाएअनुसार यहोवाका केही सेवकहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदा चाहँदै पनि त्यसो गर्न झन्‌ झन्‌ गाह्रो महसुस गरिरहेका छन्‌। तिनीहरू बोझले दबिएका र थकित महसुस गर्छन्‌। केहीलाई सबै कुरा बिर्सेर कुनै अनकन्टार ठाउँमा गएर बस्न पाए हुन्थ्यो जस्तो समेत लाग्छ। के तपाईंले कहिल्यै त्यस्तो महसुस गर्नुभएको छ? के तपाईं त्यस्तै अनुभव गरिरहेको कोही प्रियजनलाई चिन्‍नुहुन्छ? हो, येशूको हृदयस्पर्शी निमन्त्रणा आज हाम्रो लागि निकै अर्थपूर्ण छ।

१३. येशूले हामीलाई विश्राम र स्फूर्ति प्राप्त गर्न मदत दिन सक्नुहुन्छ भनेर किन ढुक्क हुनसक्छौं?

१३ येशूले त्यस मायालु निमन्त्रणा दिनुअघि यसो भन्‍नुभयो: “सबै थोक मलाई मेरा पिताबाट सुम्पिएका छन्‌, र पिताबाहेक अरू कसैले पुत्रलाई चिन्दैन, औ नता पुत्र तथा पुत्रले प्रकट गर्न इच्छा गरेकोले बाहेक अरू कसैले पितालाई चिन्छ।” (मत्ती ११:२७) येशू र उहाँको पिताबीच यस घनिष्ठ सम्बन्धले गर्दा हामीले येशूको निमन्त्रणा स्वीकाऱ्‍यौं र उहाँका चेलाहरू भयौं भने यहोवा, “सबै सान्त्वनाका परमेश्‍वर[सित]” निकटतम, घनिष्ठ सम्बन्ध कायम गर्नसक्छौं भनेर हामीलाई आश्‍वासन दिइएको छ। (२ कोरिन्थी १:३; यूहन्‍ना १४:६ तुलना गर्नुहोस्‌।) यसबाहेक, ‘सबै थोक उहाँलाई सुम्पिसकेकोले’ केवल येशू ख्रीष्टसित हाम्रो बोझ हलुका पार्ने शक्‍ति र अख्तियार छ। कस्ता बोझहरू? भ्रष्ट राजनैतिक, आर्थिक र धार्मिक प्रणालीहरूलगायत हाम्रो वंशानुगत पाप र असिद्धताले गर्दा थोपरिएका बोझहरू। कति प्रोत्साहनदायी र आश्‍वासनदायी विचार!

१४. येशूले कस्तो प्रकारको मेहनत गर्नदेखि स्फूर्ति दिन सक्नुहुन्थ्यो?

१४ येशूले अझै भन्‍नुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” (मत्ती ११:२८) निस्सन्देह, येशूले कडा मेहनत गर्नुपर्दैन भनेर भनिरहनुभएको थिएन। किनभने उहाँले आफ्ना चेलाहरूलाई आफ्नो काम सिध्याउन प्रयत्न गर्नू भनेर धेरै चोटि सल्लाह दिनुभयो। (लूका १३:२४) तर यहाँ “मेहनत गर्ने” भन्‍ने अभिव्यक्‍तिले प्रायजसो कुनै अर्थपूर्ण नतिजाबिना लामो समयसम्म गरिने थकाइलाग्दो परिश्रमलाई संकेत गर्छ। अनि “दबिएका” भन्‍ने अभिव्यक्‍तिले सामान्य क्षमताभन्दा बढी बोझ बोकाइएको अर्थ बुझाउँछ। ती दुइ शब्दहरूबीचको भिन्‍नतालाई गाड धन खोज्न खन्‍ने र यातना शिविरमा खाल्डाहरू खन्‍ने मानिससित तुलना गर्न सकिन्छ। तिनीहरू दुवैले एकै प्रकारको कडा मेहनत गरिरहेका हुन्छन्‌। एक जनाले त्यो काम उत्सुकतापूर्वक गर्छन्‌ भने अर्कोको निम्ति त्यही काम कहिल्यै नटुंगिने टन्टा हुन्छ। यहाँ भिन्‍नताको कारण काम गर्नुको उद्देश्‍य हो।

१५. (क) हामीले गह्रौं बोझ बोकिरहेको जस्तो महसुस गर्छौं भने के कस्ता प्रश्‍नहरू आफैलाई सोध्नुपर्ने हो? (ख) हाम्रा बोझहरूका कारणबारे के भन्‍न सकिन्छ?

१५ के तपाईं “मेहनत गर्ने र बोझले दबिएको” अनि आफ्नो समय तथा तागत खाने अनगिन्ती मागहरू भएजस्तो महसुस गर्नुहुन्छ? के तपाईं आफूले बोकिरहनुभएको बोझ असाध्यै गह्रौं महसुस गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने आफूलाई यी प्रश्‍नहरू सोध्नु मदतकारी हुनसक्छ, ‘म कुन कुराको लागि मेहनत गर्दैछु? मैले कस्तो भारी बोकिरहेको छु?’ यस सन्दर्भमा एक बाइबल टिप्पणीकारले लगभग ८० वर्षअघि यस्तो अवलोकन गरे: “जीवनका बोझहरूलाई विचार गर्ने हो भने ती दुइ वर्गमा पर्छन्‌; आफैले गर्दा हुने र अवश्‍यम्भावी बोझ: आफ्नै कार्यहरूले गर्दा हुने र अन्य कारणले गर्दा हुने।” त्यसपछि तिनले अझै भने: “कडा आत्मपरीक्षण गरेपछि हाम्रा अधिकांश बोझहरू आफैले गर्दा भएका हुन्‌ भनेर थाह पाउँदा छक्कै पर्नेछौं।”

१६. हामीले अविवेकीपूर्वक कस्ता बोझहरू आफूमाथि थोपर्नसक्छौं?

१६ हामीले आफैमाथि ल्याउनसक्ने केही बोझहरू के के हुन्‌? आज हामी भौतिकवादी, सुख-विलासी र अनैतिक संसारमा बाँचिरहेका छौं। (२ तिमोथी ३:१-५) समर्पित मसीहीहरूले समेत संसारको फेसन तथा जीवनपद्धतिअनुसार जीवन बिताउने दबाब निरन्तर सामना गर्छन्‌। प्रेरित यूहन्‍नाले “शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी[बारे]” लेखे। (१ यूहन्‍ना २:१६) यी शक्‍तिशाली प्रभावहरूले हामीलाई सजिलै असर गर्नसक्छ। केहीले सांसारिक सुख-विलासहरूबाट अझ बढी आनन्द उठाउन वा कुनै खास प्रकारको जीवनशैली बसाल्न ऋणमा डुब्नसमेत इच्छुक भएको थाह लागेको छ। त्यसो गरेपछि तिनीहरू आफ्नो ऋण चुक्‍ता गर्न जागिरमा व्यस्त हुनुपर्ने वा अरू थुप्रै जागिरहरू सँभाल्नुपर्नेजस्तो महसुस गर्छन्‌।

१७. कस्तो परिस्थितिले गर्दा भारी बोक्न झनै गाह्रो हुनसक्छ र यसबाट कसरी छुटकारा पाउन सकिन्छ?

१७ अरूसित भएका केही चीजबीजहरू आफूसित पनि हुनु वा अरूले गरिरहेका केही कार्यहरू गर्नु ठीकै त हो नि भनेर केहीले तर्क गर्नसक्छन्‌ तर त्यसो गर्दा आफूले अनावश्‍यक तवरमा भार थोपरिरहेको पो हो कि भनेर केलाउनु महत्त्वपूर्ण छ। (१ कोरिन्थी १०:२३) एक जना मानिसले सीमित भार मात्र बोक्नसक्ने हुँदा अर्को भारी बोक्न आफूले बोकिरहेको एउटा भारी झिक्नुपर्ने हुन्छ। प्रायजसो हाम्रो आध्यात्मिक हितका लागि अत्यावश्‍यक व्यक्‍तिगत बाइबल अध्ययन, सभामा उपस्थिति र क्षेत्र सेवकाई सर्वप्रथम पन्छाइन्छन्‌। त्यसको फलस्वरूप आध्यात्मिक बलमा ह्रास आउँछ र त्यसले बोझ बोक्न झन्‌ झन्‌ गाह्रो बनाउँछ। येशू ख्रीष्टले त्यस्तो खतरादेखि बच्ने चेताउनी दिनुहुँदै यसो भन्‍नुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला।” (लूका २१:३४, ३५; हिब्रू १२:१) आफू बोझले दबिएका र थकित छौं भने पासोलाई चिन्‍न र त्यसबाट उम्कन गाह्रो हुन्छ।

छुटकारा र स्फूर्ति

१८. येशूले आफूकहाँ आउनेहरूलाई के दिने प्रस्ताव राख्नुभयो?

१८ तसर्थ, येशूले मायालुपूर्वक यो समाधान बता- उनुभयो: “मकहाँ आओ, म तिमीहरूलाई विश्राम [स्फूर्ति, न्युव] दिनेछु।” (मत्ती ११:२८) यहाँ “स्फूर्ति दिनेछु” तथा पद २९ मा “विश्राम” (स्फूर्ति, न्युव) भनेर अनुवाद गरिएका युनानी शब्दहरूलाई सेप्टुआजिन्ट संस्करणमा “विश्राम” वा “विश्राम दिन मान्‍ने” हिब्रू शब्द बुझाउन प्रयोग गरिएको छ। (प्रस्थान १६:२३) तसर्थ, येशूले आफूकहाँ आउनेहरूले कुनै काम गर्नुपर्ने छैन भनेर प्रतिज्ञा गर्नुभएन। तर उहाँले स्फूर्ति दिने प्रतिज्ञा गर्नुभयो जसले गर्दा तिनीहरू परमेश्‍वरको उद्देश्‍यअनुरूप कार्य गर्न तयार हुनेथिए।

१९. कोही व्यक्‍ति कसरी ‘येशूकहाँ आउनसक्छ’?

१९ तर एक जना व्यक्‍ति कसरी ‘येशूकहाँ आउन’ सक्छ? येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्‌ र आफ्नो क्रूस उठाएर मेरोपछि लागोस्‌।” (मत्ती १६:२४) यसर्थ, येशूकहाँ आउनु भनेको परमेश्‍वर र ख्रीष्टको अधीनमा बस्नु अनि आफ्ना जिम्मेवारीहरूलाई सधैं पूरा गर्नु हो। के यो अचाक्ली माग गरिएको हो? के यसको लागि ठूलो मोल चुकाउनुपर्छ? आउनुहोस्‌, येशूले थकितहरूलाई मायालु निमन्त्रणा दिनुभएपछि भन्‍नुभएको कुरामा ध्यान देऔं।

के तपाईं सम्झन सक्नुहुन्छ?

◻ येशूकालीन मानिसहरू कुन कुन तरिकाहरूमा बोझले दबिएका थिए?

◻ मानिसहरूको कठिनाइको वास्तविक कारण के थियो?

◻ आफू अचाक्ली बोझले दबिएको महसुस गर्छौं भने हामीले आफूलाई कसरी केलाउनुपर्छ?

◻ हामीले आफूमाथि अविवेकीपूर्वक कस्ता बोझहरू थोपर्नसक्छौं?

◻ येशूले प्रतिज्ञा गर्नुभएको स्फूर्ति हामी कसरी पाउनसक्छौं?

[पृष्ठ १५-मा भएको चित्र]

हामीले आफूमाथि थोपर्नसक्ने केही बोझहरू के के हुन्‌?

[पृष्ठ १५-मा भएको चित्रको स्रोत]

Courtesy of Bahamas Ministry of Tourism

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने