के तपाईं मसीहलाई स्वीकार्नुहुन्थ्यो?
येशू ख्रीष्टले इस्राएलीहरूलाई परमेश्वरको वचन प्रचार गर्न साढे तीन वर्ष बिताउनुभयो। तर उहाँको पार्थिव सेवकाईको अन्ततिर त्यतिखेरका अधिकांश मानिसहरूले उहाँलाई मसीह वा परमेश्वरले प्रतिज्ञा गर्नुभएको “अभिषिक्त जन[को]” रूपमा स्वीकारेनन्। किन?
प्रथम शताब्दीका यहूदीहरूले किन येशूलाई मसीहको रूपमा स्वीकारेनन्, त्यसबारे बाइबलले हामीलाई थुप्रै कारणहरू बुझ्न मदत दिन्छ। ती काणहरूमध्ये तीनवटाले गर्दा शासनारूढ मसीह राजाको रूपमा येशूको वर्तमान स्तरलाई स्वीकार्न थुप्रै मानिसहरू चाहँदैनन्।
‘हामी चिह्न हेर्न चाहन्छौं’
प्रथम शताब्दीका यहूदीहरूले मसीहलाई अस्वीकार गर्नुको एउटा कारण उहाँको मसीहत्वलाई देखाउने धर्मशास्त्रीय चिह्नहरूलाई नकार्नु हो। कुनै कुनै बेला येशूको कुरा सुनिरहेका मानिसहरूले उहाँ परमेश्वरबाट आउनुभएको हो भनेर प्रमाणित गर्न चिह्न मागे। उदाहरणका लागि, कुनै कुनै शास्त्री र फरिसीहरूले यसो भनेका मत्ती १२:३८ को विवरणले बताउँछ: “गुरुज्यू, हामी तपाईंबाट एउटा चिह्न हेर्नचाहन्छौं।” के येशूले तिनीहरूलाई पहिल्यै चिह्नहरू देखाइसक्नुभएको थिएन र? उहाँले अवश्यै देखाइसक्नुभएको थियो।
त्यस समयसम्म येशूले अनेकौं चमत्कारहरू गरिसक्नुभएको थियो। उहाँले पानीलाई दाखरस बनाउनुभयो, मरेको केटोलाई बिउँताउनुभयो, पत्रुसको बिरामी सासूलाई निको पार्नुभयो, कोरीलाई निको पार्नुभयो, पक्षाघातीलाई हिंड्न सक्षम बनाउनुभयो, ३८ वर्षदेखि थलिएको मानिसलाई सुस्वस्थ बनाउनुभयो, एउटा मानिसको सुकेको हातलाई ठीक गर्नुभयो, थुप्रै मानिसहरूलाई दुःखदायी बिमारीहरूबाट आराम दिलाउनुभयो, एक सैनिक कप्तानको दासलाई निको पार्नुभयो, विधवीको मृत छोरालाई जीवित पार्नुभयो अनि अन्धा र लाटोलाई निको पार्नुभयो। उहाँले यी चमत्कारहरू कफर्नहुम, काना, यरूशलेम र नाइनमा गर्नुभएका थिए। त्यसबाहेक, यस्ता चमत्कारहरूसम्बन्धी समाचार यहूदिया र त्यस वरपरको देशभरि फैलियो।—यूहन्ना २:१-१२; ४:४६-५४; मत्ती ८:१४-१७; ८:१-४; ९:१-८; यूहन्ना ५:१-९; मत्ती १२:९-१४; मर्कूस ३:७-१२; लूका ७:१-१०; ७:११-१७; मत्ती १२:२२.
स्पष्टतया, येशू मसीह हुनुहुन्थ्यो भन्ने प्रमाणहरू प्रशस्त थिए। उहाँले मानिसहरूसमक्ष थुप्रै चिह्नहरू देखाउनुभए तापनि तिनीहरूले उहाँलाई विश्वास गरेनन्। येशूलाई परमेश्वरले नै पठाउनुभएको हो भनेर प्रमाण देख्ने तर उहाँलाई मसीहको रूपमा अस्वीकार गर्नेहरू आध्यात्मिक तवरमा अन्धा थिए। सत्यप्रति तिनीहरूको हृदय कठोर र रुखो भएको थियो।—यूहन्ना १२:३७-४१.
हाम्रो समयबारे के भन्न सकिन्छ? कति मानिस यसो भन्दै कडकन्छन्, “म त साक्षात् देखेको कुरालाई मात्र विश्वास गर्छु।” तर के त्यसो गर्नु बुद्धिमत्तापूर्ण कुरा हो? येशू, मसीह राज्यमा स्वर्गीय राजाको रूपमा सिंहासनमा बिराजमान भइसक्नुभएको छ भनेर बाइबलको भविष्यवाणीले देखाउँछ। उहाँ अदृश्य हुनुभएकोले उहाँको शासन व्यवस्था बुझ्न यस रीतिरिवाजको अन्तिम दिनको सुरुआत भनेर देखाउने चिह्न हामीलाई चाहिन्छ। के तपाईं त्यस चिह्नलाई स्वीकार्नुहुन्छ?—मत्ती २४:३.
बाइबलअनुसार मसीह राजाको रूपमा ख्रीष्टको शासन सुरुआत हुनुअघि कहिल्यै नभएको युद्ध, भैंचालो, अनिकाल र महामारीद्वारा थाह पाइने थियो। “आखिरी दिन[मा]” मानव सम्बन्धको विशेषता नै स्वार्थ, लोभ र स्वच्छन्दता हुनेथिए। (२ तिमोथी ३:१-५; मत्ती २४:६, ७; लूका २१:१०, ११) कालक्रमको प्रमाणबाहेक अन्तिम दिनको २० भन्दा धेरै विभिन्न लक्षणहरूले सन् १९१४ मा मसीहको शासन सुरु भयो भनेर देखाउँछन्।—प्रहरीधरहरा (अंग्रेजी) मार्च, १, १९९३ पृष्ठ ५ हेर्नुहोस्।
“धनप्रिय”
यहूदीहरूले येशूलाई मसीहको रूपमा अस्वीकार गर्नुको अर्को कारण भौतिकवाद थियो। धनसम्पत्तिलाई ज्यादा महत्त्व दिंदा थुप्रैले येशूलाई पछ्याउन सकेनन्। उदाहरणका लागि, फरिसीहरू “धनप्रिय[को]” रूपमा चिनिन्थे। (लूका १६:१४) एक धनी जवान शासक येशूकहाँ गएर कसरी अनन्त जीवन पाइन्छ, सो सोधेको घटनालाई विचार गर्नुहोस्। “आज्ञाहरू पालन गर” भनेर येशूले जवाफ दिनुभयो। विशेष व्यवस्थाहरू पालन गर्नुबाहेक अरू पनि गर्नुपर्ने कुरा स्पष्ट बुझेर त्यस जवान मानिसले सोधे, “यी सब ता मैले पालन गर्दैआएको छु अझ मैले के गर्नु बाँकी छ र?” येशूले तिनलाई भन्नुभयो, “तिमीसित जो छ, सबै बेचेर दरिद्रहरूलाई देऊ, औ तिमीलाई स्वर्गमा धन मिल्नेछ र आएर मेरोपछि लाग।” मसीहको चेला हुनु कस्तो अवसर! तर त्यो शासक दुःखित भएर तर्के। किन? किनभने स्वर्गको धनभन्दा पृथ्वीको धन तिनको लागि महत्त्वपूर्ण थियो।—मत्ती १९:१६-२२.
परिस्थिति बदलिएको छैन। मसीह राजाको साँचो अनुयायी हुनु भनेको पार्थिव धनसम्पत्तिलगायत प्रत्येक थोकभन्दा बढी आध्यात्मिक क्रियाकलापहरूलाई प्राथमिकता दिनु हो। भौतिकवादी दृष्टिकोण चुनौती हो। उदाहरणका लागि, एक पूर्वी देशमा मिसनरी दम्पतीले एउटी स्त्रीसित बाइबलबारे बतायो। तिनले यहोवा परमेश्वर र उहाँको पुत्र येशू ख्रीष्टबारे अझ धेरै सिक्न इच्छा गर्छिन् भन्ने ठानेर ती मिसनरीहरूले तिनलाई प्रहरीधरहरा र ब्यूँझनुहोस्! प्रस्तुत गरे। तिनले कस्तो प्रतिक्रिया देखाइन् त? “के यी पत्रिकाहरूले अझ धेरै पैसा कमाउन मलाई मदत दिनेछन्?” भनेर तिनले सोधिन्। त्यस स्त्री आध्यात्मिक कुरामा भन्दा भौतिक कुरामा धेरै चासो राख्थिन्।
त्यही मिसनरी दम्पतीले राज्यभवनका सभाहरू धाउन थालेका जवान मानिससित बाइबल अध्ययन गर्थ्यो। तिनलाई तिनका आमाबाबुले भने, “तिमीले समय बरबाद गर्दैछौ। तिमीले साँझको अर्को जागिर खोजेर अझ धेरै पैसा कमाउनुपर्छ।” आमाबाबुले आफ्ना छोरीछोरीलाई मसीह राजाबारे सिक्नभन्दा भौतिक कुराहरूलाई प्राथमिकता दिन प्रोत्साहित गर्नु कत्ति दुःखलाग्दो कुरा! एउटा चिनियाँ उखान यस्तो छ, “आफ्नो भएभरको धन लगाएर पनि शासकले आफ्नो दश हजार वर्षीय जीवन किन्न सक्दैन।”
मसीह राजाबारे सिक्दा र उहाँलाई पछ्याउँदा धनप्रिय हुनुदेखि बचिन्छ भनेर थुप्रैले बुझेका छन्। व्यापारबाट प्रशस्त पैसा कमाउने यहोवाको एक साक्षीले भनिन्: “प्रशस्त पैसा हुनु एकदमै खुशीको कुरा हो तर अनिवार्य चाहिं होइन। पैसाले मानिसलाई खुशी तुल्याउने होइन।” तिनी अहिले वाच टावर सोसाइटी युरोपेली शाखाको बेथेल सदस्य हुन्।
“यहूदीहरूको डर”
येशूलाई मसीहको रूपमा यहूदीहरूले अस्वीकार गर्नुको अझ अर्को कारण मानिसको डर थियो। खुलस्तसित मसीहलाई स्वीकार्नुको अर्थ आफ्नो मर्यादालाई खतरामा पार्नु थियो। त्यसो गर्न कसै कसैलाई असाध्यै गाह्रो भयो। महासभा भनिने यहूदी उच्च अदालतका सदस्य निकोदेमसबारे विचार गर्नुहोस्। येशूका चिह्नहरू र शिक्षाहरूद्वारा प्रभावित भई तिनले यसरी स्वीकारे: “गुरुज्यू, हामी जान्दछौं तपाईं परमेश्वरबाट शिक्षक भएर आउनुभएको हो, किनकि परमेश्वर साथमा हुनुहुन्न भने कसैले पनि तपाईंले गर्नुभएका यी चिह्नहरू गर्नसक्तैनन्।” यद्यपि, सम्भवतः अरू यहूदीहरूले नचिनोस् भनी निकोदेमस येशूलाई भेट्न राती आएका थिए।—यूहन्ना ३:१, २.
येशूको कुरा सुन्नेहरूका लागि मानिसको भन्दा परमेश्वरको अनुमोदन धेरै महत्त्वपूर्ण थियो। (यूहन्ना ५:४४) सा.यु. ३२ मा डेराबासको चाड मनाउन येशू यरूशलेम जानुहुँदा “भीड़हरूमा उहाँका विषयमा गनगन” भइरहेको थियो। “यहूदीहरूको डरले गर्दा” कसैले येशूबारे खुल्लमखुल्ला बोल्दैनथे। (यूहन्ना ७:१०-१३) येशूले निको पार्नुभएको अन्धाको आमाबाबुले समेत परमेश्वरको प्रतिनिधिले गरेको चमत्कारलाई स्वीकार्न इच्छा गरेनन्। तिनीहरू पनि ‘यहूदीहरूदेखि डराउँथे।’—यूहन्ना ९:१३-२३.
आज येशू मसीह राजाको रूपमा शासन गर्दै हुनुहुन्छ भनेर कोहीले बुझेका छन् तर त्यसलाई खुल्लमखुल्ला स्वीकार्न डराउँछन्। तिनीहरूलाई अरूको अघि आफ्नो मर्यादा गुम्ने असाध्यै डर छ। उदाहरणका लागि, जर्मनीमा यहोवाको साक्षीसित कुराकानी गर्ने एक मानिसले यसरी स्वीकारे: “तपाईं साक्षीहरूले बाइबलबारे गरेको प्रचार साँचो हो। तर आज म साक्षी भएँ भने भोलिपल्टै सबैले थाह पाउनेछन्। कार्यस्थल, छिमेक, क्लब, परिवार र आफन्तहरूले मलाई के ठान्नेछन्? म त्यो सहन सक्दिनँ।”
कुन कुराले गर्दा मानिसको डर लाग्छ? घमण्ड, परिवार र मित्रहरूबीच लोकप्रिय बन्ने चाह, उपहास र हीनताबोधको डर, एकलकाँटे हुने फिक्री इत्यादिले गर्दा। विशेषगरि यहोवाका साक्षीहरूसित अध्ययन थाल्नेहरूका लागि यस्ता सोचाइहरू परीक्षासरह नै हुन्छन्। उदाहरणका लागि, येशू ख्रीष्टको शासनअन्तर्गत पृथ्वीमा मसीह राज्यले स्थापित गर्ने प्रमोदवनबारे सिक्न एक जवान स्त्री उत्प्रेरित भइन्। तर तिनी डिस्को संगीत अत्यन्त मन पराउँथिन् र मानिसको डरले गर्दा यस आशाबारे अरूलाई बताउन सकिनन्। अन्ततः बाइबलबारे खुलस्त बताउन तिनले साहस बटुलिन्। तिनका डिस्कोप्रेमी मित्रहरूले तिनको कुरा नसुने तापनि तिनको पति र आमाबाबुले चासो देखाए। आखिर त्यस स्त्री र तिनकी आमाले बप्तिस्मा लिए अनि पति र बुबाले बाइबल अध्ययन थाले। मानिसको डर हटाउँदा कत्ति ठूलो इनाम!
के तपाईं साँच्चै मसीहलाई स्वीकार्नुहुन्छ?
शूलीमा येशूको मृत्यु हुनै लाग्दा उहाँका कुनै कुनै चेलाहरू त्यहीं थिए। तिनीहरूले उहाँलाई अगमवाणी गरिएको मसीह भनेर स्वीकारे। यहूदी शासकहरू पनि उपस्थित थिए र सम्भवतः तिनीहरूले अझै चिह्न मागे। “यसले अरूलाई बचायो, यदि यो परमेश्वरको ख्रीष्ट [वा मसीह] उहाँको चुनिएको हो भनेता आफैलाई बचाओस्।” (लूका २३:३५) के तिनीहरूले चिह्न माग्न कहिल्यै छाड्ने थिए? येशूले दर्जनौं चमत्कारहरू गर्नुभयो। त्यसबाहेक, उहाँको जन्म, परीक्षा, हत्या र पुनरुत्थानले हिब्रू धर्मशास्त्रका थुप्रै भविष्यवाणीहरूको पूर्ति भयो।—वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित “सम्पूर्ण धर्मशास्त्र परमेश्वरबाट प्रेरित र लाभदायी छन्” (अंग्रेजी) पुस्तकको पृष्ठ ३४३-४ हेर्नुहोस्।
त्यहाँ आउने जानेहरूले येशूलाई मसीहको रूपमा अस्वीकार गर्दै उहाँको निन्दा गरे (मत्ती २७:३९, ४०) सिपाहीहरूले भौतिकवादी मनोवृत्ति देखाउँदै येशूको लुगा आपसमा बाँडे र उहाँको अलखालाई गोला हाले। (यूहन्ना १९:२३, २४) केही घटनाहरूमा मानिसको डरको भूमिका रहेको थियो। उदाहरणका लागि, महासभाका सदस्य अरिमथियाका यूसुफलाई विचार गर्नुहोस्। तिनी “यहूदीहरूका डरले गुप्तमा मात्र येशूका चेला भएका” थिए। मसीहको मृत्युपछि यूसुफ र निकोदेमसले उहाँको लाश गाडे। यूसुफले यसरी मानिसको डरलाई हटाए।—यूहन्ना १९:३८-४०.
तपाईं प्रथम शताब्दीमा हुनुभएको भए के येशूलाई मसीहको रूपमा स्वीकार्नुहुन्थ्यो? त्यसो गर्न तपाईंले धर्मशास्त्रीय प्रमाण स्वीकारेर भौतिकवादी विचार त्याग्नुपर्थ्यो र मानिसको डरलाई हटाउनुपर्थ्यो। यस अन्तिम दिनमा हामी प्रत्येकले आफूलाई यसरी सोध्नुपर्छ, ‘के मैले अहिले येशूलाई स्वर्गमा हुनुहुने मसीह राजाको रूपमा स्वीकार्छु?’ उहाँले चाँडै पृथ्वीका क्रियाकलापहरूमाथि हस्तक्षेप गर्नुहुनेछ। त्यतिबेला के तपाईं ती मानिसहरूमध्ये हुनुहुनेछ जसले येशूलाई साँच्चै प्रतिज्ञा गरिएको मसीह भनी स्वीकार्छन्?
[पृष्ठ २८-मा भएको चित्र]
येशू मसीह राजा हुनुहुन्छ भन्ने प्रमाणलाई जानाजानी कहिल्यै उपेक्षा नगर्नुहोस्
[पृष्ठ ३१-मा भएको चित्र]
मसीहबारे सिक्नुको अक्सर अर्थ अरूले के भन्ला भन्ने डरलाई त्याग्नु हो