“दुष्ट पुस्ता[बाट]” जोगाइएका
“ए अविश्वासी र हठी पुस्ता, म कहिलेसम्म तिमीहरूसित होऊँला, र तिमीहरूलाई सहूँला?”—लूका ९:४१.
१. (क) हाम्रो विपत्तिजनक समयले के संकेत गर्छ? (ख) छुटकारा पाउने मानिसहरूबारे शास्त्रले के भन्छ?
हामी विपत्तिजनक समयमा बाँचिरहेका छौं। भूकम्प, बाढी, अनिकाल, रोग, अपराध, बमवर्षा, डरलाग्दो युद्ध आदि कुराहरूले गर्दा यस २० औं शताब्दीका मानिसहरू पिल्सिएका छन्। तथापि, सबैभन्दा भयंकर विपत्ति त निकट भविष्यमा आउँदैछ। त्यो के हो? त्यो हो, ‘जगतको सुरुदेखि अहिलेसम्म नभएको महासंकष्ट।’ (मत्ती २४:२१) यद्यपि, हामीमध्ये धेरैजसोले उज्ज्वल भविष्यको आशा गर्नसक्छौं! किन? किनभने परमेश्वरको वचनले “कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़[बारे]” बताउँछ। “जो महा संकष्टबाट आएका छन्, . . . तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउने छैनन्, . . . र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”—प्रकाश ७:१, ९, १४-१७.
२. मत्ती २४, मर्कूस १३ र लूका २१ अध्यायका आरम्भिक पदहरूको कस्तो प्रारम्भिक पूर्ति भयो?
२ मत्ती २४:३-२२, मर्कूस १३:३-२० र लूका २१:७-२४ ले “जगत्को अन्त[बारे]” येशूले दिनुभएको भविष्यसूचक विवरण पेश गर्छ।a हाम्रो सामान्य युगको प्रथम शताब्दीमा भ्रष्ट यहूदी रीतिरिवाजमाथि यो भविष्यवाणीको प्रारम्भिक पूर्ति भयो। त्यतिबेला यहूदीहरूमाथि अपूर्व “महा संकष्ट” आइपरेको थियो। यरूशलेमको मन्दिरमा केन्द्रित यहूदी प्रणालीको सम्पूर्ण धार्मिक तथा राजनैतिक व्यवस्था पुनः कहिल्यै स्थापित नहुनेगरि नष्ट भयो।
३. आज हामीले येशूको भविष्यवाणीमा ध्यान दिनु किन अत्यावश्यक छ?
३ आउनुहोस्, अब हामी येशूको भविष्यवाणीको पहिलो पूर्ति हुँदा परिस्थिति कस्तो थियो, केलाएर हेरौं। यसो गऱ्यौं भने त्यस भविष्यवाणीको वर्तमान समानान्तर पूर्ति बुझ्नेछौं। अनि सबै मानवजातिले झेल्नु पर्ने त्यो सबैभन्दा भयंकर संकष्टबाट बच्न अहिले अबिलम्ब सकारात्मक कदम किन चाल्नुपर्छ, त्यो पनि देख्नेछौं।—रोमी १०:९-१३; १५:४; १ कोरिन्थी १०:११; १५:५८.
“अन्त”—तर कहिले?
४, ५. (क) सा.यु. प्रथम शताब्दीका ईश्वरभीरु यहूदीहरूले किन दानियल ९:२४-२७ मा उल्लिखित भविष्यवाणीमा चासो राखे? (ख) यो भविष्यवाणी कसरी पूरा भयो?
४ सा.यु.पू. ५३९ तिर परमेश्वरको अगमवक्ता दानियललाई एउटा दर्शन दिइएको थियो। उक्त दर्शन, वर्षमा हिसाबमा गरिने “सत्तरी हप्ता[को]” अन्तिम “हप्ता[मा]” हुने घटनाहरूसित सम्बन्धित थियो। (दानियल ९:२४-२७) सा.यु.पू. ४५५ मा फारसका राजा आर्टजारसेजले यरूशेलमको पुनःनिर्माण गर्ने आज्ञा दिएपछि ती “हप्ताहरू” सुरु भए। अन्तिम “हप्ता” चाहिं सा.यु. २९ मा मसीह अर्थात् येशू ख्रीष्ट बप्तिस्माको बेला अभिषिक्त हुनुभएपछि सुरु भयो।b सा.यु. प्रथम शताब्दीका ईश्वरभीरु यहूदीहरूलाई दानियलको भविष्यवाणीमा उल्लिखित यो समय राम्ररी थाह थियो। उदाहरणका लागि, सा.यु. २९ मा बप्तिस्मा दिने यूहन्नाको कुरा सुन्न भेला भएका मानिसहरूबारे लूका ३:१५ ले यसो भन्छ: “मानिसहरू आशा गरिरहेकै थिए, र सबै जना आफ्ना मनमा यूहन्नाको विषयमा, कतै यिनीनै ख्रीष्ट हुन् कि भनी विचार गरिरहेका थिए।”
५ सत्तरीऔं “हप्ता” चाहिं यहूदीहरूलाई देखाइएको सात वर्षीय विशेष अनुमोदन हुनुपर्ने थियो। सा.यु. २९ मा सुरु भएको त्यो सत्तरीऔं हप्तामा येशूको बप्तिस्मा, सेवकाई, सा.यु. ३३ अर्थात् “आधा हप्ता[मा]” भएको उहाँको बलिदानरूपी मृत्यु र अर्को “आधा हप्ता” अर्थात् सा.यु. ३६ सम्मको समयावधि समावेश थियो। यस “हप्ता[मा]” विशेषगरि ईश्वरभीरु यहूदी तथा यहूदी मत मान्ने अन्यजातिहरूलाई मात्र येशूको अभिषिक्त चेला बन्ने मौका दिइयो। त्यसपछि, पहिले मिति नतोकिएको समय अर्थात् सा.यु. ७० मा टाइटसको नेतृत्वमा आएका रोमी सिपाहीहरूले धर्मत्यागी यहूदी रीतिरिवाजलाई नष्ट गऱ्यो।—दानियल ९:२६, २७.
६. (क) सा.यु. ६६ मा “घृणित कुरा[ले]” कसरी कदम चाल्यो र त्यसप्रति मसीहीहरूले कस्तो प्रतिक्रिया व्यक्त गरे? (ख) त्यतिबेला को को बचे र कुन कदम अविलम्ब चालेको भएर बचे?
६ यसप्रकार, यरूशलेमको मन्दिरलाई अशुद्ध पार्ने अनि परमेश्वरको पुत्रको हत्या गर्न षड्यन्त्र रच्ने यहूदी पूजाहारीगिरी नष्ट भयो। त्यससँगसँगै तिनीहरूको राष्ट्रिय तथा जातीय अभिलेख पनि नष्ट भयो। त्यस उप्रान्त कुनै यहूदीले पौरोहित्य वा राजकीय हक दाबी गर्न सक्दैन थियो। तर खुशीको कुरा, अभिषिक्त आत्मिक यहूदीहरूलाई भने यहोवा परमेश्वरको ‘सर्वश्रेष्ठता देखाउन’ राजकीय पूजाहारीगिरीको हैसियतमा अलग पारिसकेको थियो। (१ पत्रुस २:९) रोमी सेनाले सा.यु. ६६ मा पहिलो पटक यरूशलेमलाई घेरा हालेर मन्दिर क्षेत्रमा पाइला हाल्नेबित्तिकै मसीहीहरूले ती रोमी सेना “पवित्र स्थानमा खड़ा” हुनेछ भनी “दानियल अगमवक्ताबाट बोलिएको उजाड़ गर्ने घृणित कुरा” हो भनी बुझे। अतः येशूको भविष्यसूचक आज्ञा पालन गर्दै ती मसीहीहरू आफ्नो ज्यान जोगाउन यरूशलेम र यहूदियाबाट पहाडी क्षेत्रतर्फ भागे।—मत्ती २४:१५, १६; लूका २१:२०, २१.
७, ८. मसीहीहरूले कुन “चिन्ह” देखे तर तिनीहरूलाई के चाहिं थाह थिएन?
७ ती विश्वासी यहूदी मसीहीहरूले दानियलको भविष्यवाणी पूरा भएको देखे। तिनीहरू “जगत्को अन्तको चिन्ह” स्वरूप येशूले बताउनुभएका युद्ध, अनिकाल, रूढि, भूकम्प र अपराधजस्ता कहालीलाग्दा घटनाहरूका प्रत्यक्षदर्शी थिए। (मत्ती २४:३) तर यहोवाले ठीक कुन बेला त्यस भ्रष्ट यहूदी रीतिरिवाजलाई दण्ड दिनुहुनेछ, के त्यसबारे येशूले केही भन्नुभएको थियो? अहँ थिएन। उहाँले आफ्नो भावी शाही उपस्थितिको चरमोत्कर्षबारे जे-जस्तो भविष्यवाणी गर्नुभयो त्यही कुरा प्रथम शताब्दीको “महा संकष्ट[मा]” पनि अवश्य लागू हुन्थ्यो। “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।”—मत्ती २४:३६.
८ यहूदीहरूले दानियलको भविष्यवाणीलाई केलाएर मसीहको रूपमा येशू देखा पर्नुहुने समय गणना गर्नसक्थे। (दानियल ९:२५) तर धर्मत्यागी यहूदी रीतिरिवाजमाथि कुन बेला “महा संकष्ट” आइपर्नेछ, तिनीहरूलाई कुनै मिति दिइएन। वास्तवमा यरूशलेम तथा त्यहाँ भएको मन्दिर नष्ट भएपछि मात्र तिनीहरूले त्यो मिति सा.यु. ७० रहेछ भनेर थाह पाए। तथापि, तिनीहरूलाई येशूका यी भविष्यसूचक शब्दहरू भने पहिल्यै राम्ररी थाह थियो: “यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ।” (मत्ती २४:३४) सम्भवतः उपदेशक १:४ मा प्रयोग गरिएको पुस्ता र यो “पुस्ता[को]” अर्थ बेग्लै हुनुपर्छ। किनकि उपदेशक १:४ ले समयको दौडान आउँदै र बित्दै गर्ने पुस्ताबारे बताउँछ।
“यो पुस्ता”—त्यसको अर्थ के हो?
९. शब्दकोशहरूले युनानी शब्द जीनिया-लाई कसरी परिभाषित गर्छ?
९ जैतून डाँडामा येशूले “जगत्को अन्त[बारे]” भविष्यवाणी गर्नुहुँदा उहाँसँगै डाँडा उक्लने चार प्रेरितहरूले कसरी “यो पुस्ता” भन्ने शब्दको अर्थ बुझ्नसक्थे? सुसमाचारका पुस्तकहरूमा पाइने “पुस्ता” शब्द युनानी शब्द जीनिया-को अनुवाद हो। आधुनिक शब्दकोशहरूले यसलाई यसरी व्याख्या गर्छ: “अक्षरसः भन्ने हो भने, एउटै पुर्खाका सन्तानहरू।” (वाल्टर बाउरको ग्रीक-इंगलिस लेक्सिकन अफ द न्यु टेस्टामेन्ट) “सन्तान, परिवार; . . . एउटै वंशका सन्तानहरू . . . अथवा जाति . . . अथवा समकालीन मानिसहरूको जमात, मत्ती २४:३४; मर्कू. १३:३०; लूका १:४८; २१:३२; फिलि. २:१५ र विशेषगरि समकालीन यहूदी जाति।” (डब्ल्यु. इ. भाइनको एक्सपोजिटरी डिक्सनरी अफ न्यु टेस्टामेन्ट वर्ड्स) “सन्तान, एकै जातका मानिसहरू, परिवार; . . . समकालीन मानिसहरूको जमात: मत्ती २४:३४; मर्कू. १३:३०; लू. १:४८ . . . मा प्रयोग गरिएको पुस्ता शब्दले विशेषगरि एउटै समयावधिका यहूदी जातिलाई देखाउँछ।”—जे. एच थेअरको ग्रीक-इंगलिस लेक्सिकन अफ द न्यु टेस्टामेन्ट।
१०. (क) मत्ती २४:३४ उद्धृत गर्दै दुइ विशेषज्ञहरूले कस्तो मिल्दोजुल्दो परिभाषा दिए? (ख) धर्मसम्बन्धी शब्दकोश र केही बाइबल अनुवादहरूले यस परिभाषालाई कसरी समर्थन गर्छन्?
१० यसप्रकार भाइन तथा थेअर दुवैले मत्ती २४:३४ उद्धृत गर्दै “यो पुस्ता” (ही जीनिया हट) शब्दलाई “समकालीन मानिसहरूको जमात” भनेर परिभाषित गर्छन्। यो परिभाषालाई थियोलोजिकल डिक्सनरी अफ द न्यु टेस्टामेन्ट (१९६४) ले यसरी समर्थन गर्छ: “येशूले चलाउनु भएको ‘पुस्ता’ शब्दले उहाँको विस्तृत उद्देश्य प्रकट गर्छ। पुस्ता शब्दद्वारा उहाँ सबै मानवजातिलाई औंल्याउनुहुन्छ र तिनीहरू सबै पापी छन् भनेर जान्नुहुन्छ। हो, हाम्रो वर्तमान विश्व रीतिरिवाजजस्तै येशू पृथ्वीमा हुनुहुँदा त्यतिबेलाको यहूदी राष्ट्र “सबै पापी छन्” भनेर प्रष्ट देखिन्थ्यो।c
११. (क) ही जीनिया हट शब्द प्रयोग गर्ने सम्बन्ध कुन प्रमाणिक स्रोतलाई ध्यानमा राख्नुपर्छ? (ख) यो स्रोतले कसरी उपरोक्त शब्द चलाए?
११ निस्सन्देह, यस विषयमा अध्ययन गर्ने मसीहीहरूले सुसमाचार पुस्तकका प्रेरित लेखकहरूले येशूका शब्दहरू उल्लेख गर्दा युनानी शब्द, ही जीनिया हट अथवा “यो पुस्ता” कसरी चलाए, त्यसलाई राम्ररी मनमा राख्नेछन्। तिनीहरूले उपरोक्त शब्द एकरूपतासाथ नकारात्मक ढंगमा चलाए। त्यसैकारण, येशूले यहूदी धार्मिक नेताहरूलाई “सर्पहरू, साँबे सर्पका बच्चा” भनी सम्बोधन गर्दै “यसै पुस्तामाथि” गेहेन्नाको आगो आइपर्नेछ भन्नुभयो। (मत्ती २३:३३, ३६) तथापि, के यो न्याय ढोंगी धर्मगुरुमाथि मात्र आउने थियो त? अहँ, कदापि थिएन। विभिन्न अवसरमा येशूले एकरूपतासाथ विस्तृत अर्थ लाग्नेगरि “यो पुस्ता” शब्द चलाउनुभएको चेलाहरूले सुनेका थिए। त्यसको विस्तृत अर्थ के थियो त?
“यस दुष्ट पुस्ता”
१२. आफ्ना चेलाहरूले ध्यान दिएर सुनिरहेको बेला येशूले “भीड़” शब्दलाई कसरी “यो पुस्ता[सित]” जोड्नुभयो?
१२ सा.यु. ३१ मा येशू गालिल क्षेत्रको विस्तृत सेवकाई अभियानमा हुनुहुँदा र निस्तार चाडको लगत्तैपछि “भीड़हरूलाई” यसो भन्नुभएको चेलाहरूले सुने: “यस पुस्ताको तुलना म केसित गरूँ? यो बजारमा खेल्ने ससाना केटाकेटीहरू जस्तो हो, जसले तिनीहरूका साक्षीहरूलाई बोलाउँछन्, र भन्दछन्, ‘हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौं, र तिमीहरू नाचेनौ। हामीहरूले विलाप गऱ्यौं, र तिमीहरूले अफसोस गरेनौ।’ किनभने यूहन्ना खाँदै पिउँदै आएनन्, र तिमीहरू उसलाई भूत लागेको छ भनी भन्दछौ। मानिसको पुत्र [येशू] खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्, ‘हेर, एउटा घिचुवा र जँड़याहा, महसूल उठाउने पापीहरूका मित्र!’” यो सिद्धान्तरहित “भीड़लाई” चित्त बुझाउन गाह्रो थियो।—मत्ती ११:७, १६-१९.
१३. आफ्ना चेलाहरूको उपस्थितिमा येशूले कसलाई “यो दुष्ट पुस्ता” भनेर चिनाउनुका साथै निन्दा गर्नुभयो?
१३ पछि सा.यु. ३१ मा येशू तथा उहाँका चेलाहरू दोस्रो पटक गालिल क्षेत्रमा प्रचार गर्न जानुहुँदा “शास्त्रीहरू र फरिसीहरूमध्ये कुनै कुनैले” येशूसित चिन्ह मागे। तर उहाँले त्यहाँ उपस्थित “भीड़” र ती शास्त्री तथा फरिसीहरूलाई यसो भन्नुभयो: “दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ। औ त्यसलाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन। किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थियो, उसरीनै मानिसको पुत्र पनि पृथ्वीको पेटभित्र तीन दिन र तीन रात रहनेछ। . . . यस दुष्ट पुस्तालाई पनि यसैनै हुनेछ।” (मत्ती १२:३८-४६) निस्सन्देह, “यस दुष्ट पुस्ता[मा]” येशूको मृत्यु अनि पुनरुत्थानद्वारा पूर्ति भएको चिन्ह नबुझ्ने धार्मिक नेताहरू तथा “भीड़” समावेश छन्।d
१४. येशूले सदुकी तथा फरिसीहरूको कसरी निन्दा गर्नुभएको चेलाहरूले सुने?
१४ सा.यु. ३२ को निस्तार चाडपश्चात् येशू तथा उहाँका चेलाहरू गालिलको मग्दान जिल्लातर्फ लाग्नुहुँदा सदुकी र फरिसीहरूले फेरि येशूसित चिन्ह मागे। उहाँले फेरि पहिलेकै कुरा दोहोऱ्याउनुभयो: “‘दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, र त्यसलाई योनाको चिन्ह बाहेक अरू चिन्ह दिइनेछैन।’” (मत्ती १६:१-४) निस्सन्देह, येशूले “यस दुष्ट पुस्ता” भनी निन्दा गर्नुभएको अविश्वासी “भीड़[मध्ये]” ती धार्मिक ढोंगी नेताहरू सबैभन्दा निन्दनीय थिए।
१५. येशूको रूप परिवर्तन हुनुअघि र पछि उहाँ तथा उहाँका चेलाहरूले “यो पुस्ता[सित]” कस्तो सामना गरे?
१५ गालिलको सेवकाईको अन्ततिर येशूले मानिसहरूको भीड र आफ्ना चेलाहरूलाई बोलाएर यसो भन्नुभयो: “यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरा वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि . . . त्यसदेखि शर्माउनेछ।” (मर्कूस ८:३४, ३८) अतः त्यस बेलाका अपश्चात्तापी यहूदीहरूको जमात नै त्यो “व्यभिचार र पापी पुस्ता” थियो। त्यस्तैगरि, येशूको रूप परिवर्तन भएको केही दिनपश्चात् येशू तथा उहाँका चेलाहरू “भीड़ भएको ठाउँमा आउनुभएपछि” एक जना मानिसले आफ्नो छोरालाई निको पार्न बिन्ती गर्दा येशूले यस्तो जवाफ दिनुभयो: “ए अविश्वासी र हठी पुस्ता, म कहिलेसम्म तिमीहरूसित होऊँला, र तिमीहरूलाई सहूँला?”—मत्ती १७:१४-१७; लूका ९:३७-४१.
१६. (क) येशूले यहूदियामा “भीड़[को]” पुनः कस्तो निन्दा गर्नुभयो? (ख) “यो पुस्ता[ले]” सबैभन्दा दुष्ट अपराध कसरी गऱ्यो?
१६ सा.यु. ३२ को झुप्रोबासको चाडपछि सम्भवतः यहूदीया जिल्लामा हुँदा आफू वरपर “भीड़ थुप्रँदै जाँदा” येशूले फेरि तिनीहरूको निन्दा गर्दै यसो भन्नुभयो: “यो पुस्ता दुष्ट पुस्ता हो। यसले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक यसलाई कुनै चिन्ह दिइनेछैन।” (लूका ११:२९) अन्ततः धार्मिक नेताहरूले येशूलाई पुर्पक्षको लागि पेश गर्दा पिलातुसले उहाँलाई मुक्त गर्ने प्रस्ताव राखे। त्यसपछि अभिलेखले अगाडि यसो भन्छ: “मुख्य पूजाहारीहरू र बूढ़ा-प्रधानहरूले मानिसहरूलाई बरब्बाको लागि अर्जी गर्न र येशूलाई नाश गर्न भनी सुऱ्याए। . . . पिलातसले तिनीहरूलाई भने, ‘तब ख्रीष्ट भन्ने येशूलाई चाहिं म के गरूँ त?’ तिनीहरू सबैले भने, ‘त्यो ता क्रूसमा टाँगिओस्।’” त्यस “दुष्ट पुस्ताले” येशूको मृत्यु मागिरहेका थिए।—मत्ती २७:२०-२५.
१७. “दुष्ट पुस्ता[का]” केही सन्तानहरूले पेन्तिकोसको दिनमा पत्रुसको प्रचार कार्यप्रति कस्तो प्रतिक्रिया देखाए?
१७ यसप्रकार धार्मिक नेताहरूको कुरा सुनेर सुरिएका “अविश्वासी र हठी पुस्ता[ले]” प्रभु येशू ख्रीष्टको मृत्यु गराउनुमा अग्र भूमिका निर्वाह गऱ्यो। येशूको मृत्युको ५० दिनपछि सा.यु. ३३ पेन्तिकोसको दिन चेलाहरूले पवित्र आत्मा पाएर विभिन्न भाषाहरूमा बोल्न थाले। तिनीहरूको खैलाबैला सुनेर “भीड़ जम्मा भएर आयो” र प्रेरित पत्रुसले “यहूदियाका मानिस र यरूशलेमका जम्मै बासिन्दा हो” भनी तिनीहरूलाई सम्बोधन गर्दै अगाडि यसो भने: “[येशू जसलाई] अधर्मीहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगी मार्नुभयो।” पत्रुसको कुरा सुन्ने केही मानिसहरूले कस्तो प्रतिक्रिया व्यक्त गरे त? तिनको “कुरा तिनीहरूका हृदयमा गड़यो।” त्यसपछि पत्रुसले तिनीहरूलाई पश्चात्ताप गर्न आग्रह गरे। “औ अरू धेरै कुराहरूबाट तिनले तिनीहरूलाई प्रमाण दिई यसो भनेर अर्ती दिए, ‘दुष्ट पुस्ताबाट बच।’ तब करिब तीन हजार मानिसहरूले तिनको कुरा ग्रहण गरे . . . [अनि] बप्तिस्मा लिए।”—प्रेरित २:६, १४, २३, ३७, ४०, ४१.
“यो पुस्ता[को]” चिनारी
१८. येशूले चलाउनुभएको “यो पुस्ता[ले]” सधैं कसलाई संकेत गर्छ?
१८ त्यसोभए, येशूले आफ्ना चेलाहरू उपस्थित हुँदा बारम्बार उल्लेख गर्नुभएको “पुस्ता” के हो त? अनि उहाँले बोल्नुभएका यी शब्दहरूबाट तिनीहरूले के बुझे: “यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ?” येशूले अवश्य यहाँ भिन्नै अर्थमा “पुस्ता” शब्द चलाउनुभएको थिएन, जुन शब्द उहाँले एकरूपतासाथ यहूदी राष्ट्रका समकालीन मानिसहरूको जमातका साथै तिनीहरूको “अन्धा अगुवाहरू[लाई]” संकेत गर्न चलाउनुभएको थियो। (मत्ती १५:१४) “यो पुस्ता[ले]” येशूले अगमवाणी गर्नुभएका सबै विपत्तिहरू भोग्यो र यो यरूशलेममाथि आइपरेको अपूर्व “महा संकष्ट” सँगै नाश भयो।—मत्ती २४:२१, ३४.
१९. यहूदी रीतिरिवाजको “स्वर्ग र पृथ्वी” कहिले र कसरी बितेर गयो?
१९ प्रथम शताब्दीमा यहोवाले यहूदी मानिसहरूमाथि न्याय गर्दै हुनुहुन्थ्यो। ख्रीष्ट मार्फत यहोवाले दयापूर्वक गर्नुभएको प्रबन्धमाथि विश्वास गर्ने पश्चात्तापी मानिसहरू त्यो “महा संकष्ट[बाट]” बचे। येशूले अगमवाणी गर्नुभएका एक एक शब्द पूरा भयो। यहूदी रीतिरिवाजको “स्वर्ग र पृथ्वी,” अझ भनौं भने पूरै राष्ट्र त्यसका धार्मिक नेता तथा दुष्ट मानव समाज सँगसँगै बितेर गए। यहोवाले त्यस राष्ट्रको न्याय गर्नुभयो।—मत्ती २४:३५; २ पत्रुस ३:७ तुलना गर्नुहोस्।
२०. सबै मसीहीहरूले कुन सामयिक सल्लाह अविलम्ब पालन गर्नुपर्छ?
२० येशूको भविष्यसूचक शब्दहरूमाथि ध्यान दिने यहूदीहरूले चाहिं के महसुस गरे भने तिनीहरूको छुटकारा, “पुस्ता” अथवा कुनै “समय वा बखत” कति लामो छ भनेर गणना गर्न खोज्नुमा होइन बरु दुष्ट पुस्ताबाट जोगिएर जोशका साथ परमेश्वरको इच्छा पूरा गर्नुमा निर्भर रहेछ। येशूको भविष्यवाणीका निम्न अन्तिम शब्दहरू मुख्यतः हाम्रो समयमा लागू हुने भए तापनि प्रथम शताब्दीका यहूदी मसीहीहरूले पनि त्यसलाई पालन गर्नुपर्थ्यो: “आउनलागेका कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामने खड़ा हुनसक्नलाई हर घड़ी प्रार्थना गर्दै जागा रहो।”—लूका २१:३२-३६; प्रेरित १:६-८.
२१. निकट भविष्यमा हामी कुन अप्रत्याशित घटनाको आशा गर्नसक्छौं?
२१ आज “परमप्रभुको भयानक दिन नजीकै छ, . . . त्यो चाँडै आउँदैछ।” (सपन्याह १:१४-१८; यशैया १३:९, १३) यहोवाले पूर्व निर्धारण गर्नुभएको “दिन र घड़ी[मा]” यस संसारको धार्मिक, राजनैतिक अनि व्यापारिक तत्त्वहरूका साथै वर्तमान समयका “दुष्ट र व्यभिचार पुस्ता[माथि]” यहोवाको क्रोध अप्रत्याशित रूपमा वर्षनेछ। (मत्ती १२:३९; २४:३६; प्रकाश ७:१-३, ९, १४) त्यो “महा संकष्ट[बाट]” तपाईं कसरी बच्न सक्नुहुन्छ? आउँदो लेखले त्यसको जवाफ दिनुका साथै सुन्दर भविष्यको आशाबारे बताउनेछ।
[फुटनोटहरू]
a यस भविष्यवाणीबारे सविवरण जानकारी चाहिएमा कृपया फेब्रुअरी १, १९९४ अंकको प्रहरीधरहरा-मा पृष्ठ २४, २५ को चार्ट हेर्नुहोस्।
b वर्षमा हिसाब गरिने “हप्ताहरू[बारे]” थप जानकारी चाहिएमा द वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्क.-द्वारा प्रकाशित द बाइबल—गड्स वर्ड अर म्यान्स? (बाइबल—परमेश्वरको वचन वा मानिसको?) पुस्तकको पृष्ठ १३०-२ हेर्नुहोस्।
c केही बाइबलहरूले मत्ती २४:३४ मा जीनिया शब्दलाई यसरी अनुवाद गरेका छन्: “यी मानिसहरू” (डब्लु. एफ. बेकको द होली बाइबल इन द ल्यांग्वेज अफ टुडे [१९७६]); “यो राष्ट्र” (के. एस. वेस्टको द न्यु टेस्टामेन्ट—एन एक्सपान्डेड ट्रान्सलेशन [१९६१]); “यो जाति” (डि. एच. स्टर्नको जुविश न्यु टेस्टामेन्ट [१९७९])
d यी अविश्वासी “भीड़” र एमहारेट्स अर्थात् “धर्तीका मानिसहरू[लाई]” एउटै सम्झनु हुँदैन। घमण्डी धार्मिक नेताहरू एमहारेट्स-सित संगत गर्न इन्कार गर्थे तर तिनीहरूलाई देखेर येशूको “हृदय दयाले” भरिन्थ्यो।—मत्ती ९:३६; यूहन्ना ७:४९.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ दानियल ९:२४-२७ को पूर्तिबाट हामी के सिक्नसक्छौं?
◻ बाइबलमा प्रयोग गरिएको “यो पुस्ता” शब्दलाई आधुनिक शब्दकोशहरूले कसरी परिभाषित गर्छ?
◻ येशूले “पुस्ता” शब्द कसरी एकरूपतासाथ चलाउनुभयो?
◻ प्रथम शताब्दीमा मत्ती २४:३४, ३५ कसरी पूरा भयो?
[पृष्ठ १२-मा भएको चित्र]
येशूले “यो पुस्ता[लाई]” जिद्दी केटाकेटीहरूको जमातसित तुलना गर्नुभयो
[पृष्ठ १५-मा भएको चित्र]
दुष्ट यहूदी रीतिरिवाजलाई दण्ड दिने समय यहोवालाई मात्र पहिलेदेखि नै थाह थियो