प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ११/१५ pp. १०-१५
  • सेवा गर्न पाएकोमा मसीहीहरू आनन्दित छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा गर्न पाएकोमा मसीहीहरू आनन्दित छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशूको जन सेवा
  • मसीहीहरू पनि जन सेवा गर्छन्‌
  • पवित्र सेवा गर्नुहोस्‌
  • हामी पवित्र सेवा कहाँ चढाउँछौं?
  • अस्वीकार्य पवित्र सेवा
  • यहोवाले पवित्र ठान्‍नुभएका कुरालाई के तपाईं पवित्र ठान्‍नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • १क उपासना भनेको के हो?
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • पवित्र सेवा चढाइरहेको ठूलो भीड
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • दिन-रात पवित्र सेवा चढाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ११/१५ pp. १०-१५

सेवा गर्न पाएकोमा मसीहीहरू आनन्दित छन्‌

“लिनुभन्दा दिनु अझ असल हो।”–प्रेरित २०:३५.

१. आज कुन खराब मनोवृत्ति व्याप्त छ र यो किन हानिकारक छ?

उन्‍नाइसौं दशकको अन्ततिर अक्सर “मपाइँ” शब्द सुनिन्थ्यो। “मपाइँको” अर्थ “म पहिला” हो र यसले स्वार्थ तथा अरूप्रति कम चासो भएकोले उत्पन्‍न लोभ मिसिएको मनोवृत्तिलाई देखाउँछ। सन्‌ २००० सम्ममा यो मपाइँ मनोवृत्तिको प्रभाव निष्कृय भइसकेको हुनेछैन भनी हामी विश्‍वस्त हुनसक्छौं। “मैले कति नाफा कमाउँछु?” अथवा “मलाई कति फाइदा हुन्छ?” जस्ता प्रश्‍नहरू तपाईंले कति पटक सुन्‍नुभएको छ? यस्तो स्वार्थी मनोवृत्तिले आनन्द दिंदैन। यो, येशूले “लिनुभन्दा दिनु अझ असल हो” भन्‍नुभएको सिद्धान्तको ठीक विपरीत हो।—प्रेरित २०:३५.

२. दिंदा आनन्द पाइन्छ भनेर कसरी भन्‍न सकिन्छ?

२ के लिनुभन्दा दिनु अझै आनन्दको कुरा हो? हो। यहोवा परमेश्‍वरलाई सम्झनुहोस्‌। उहाँ “जीवनको मूल” हुनुहुन्छ। (भजन ३६:९) हामीलाई आनन्दित अनि फलदायी बनाउन चाहिने हर कुराको प्रबन्ध उहाँ गर्न सक्नुहुन्छ। “हरेक असल दान र हरेक उत्तम वरदान[को]” स्रोत उहाँ नै हुनुहुन्छ। (याकूब १:१७) “आनन्दित परमेश्‍वर” यहोवाले निरन्तर दिइरहनुभएको छ। (१ तिमोथी १:११, NW) उहाँ आफ्नो मानव सृष्टिलाई माया गर्नुहुन्छ र यही मानवजातिलाई उहाँले थुप्रै चीज दिनुभएको छ। (यूहन्‍ना ३:१६) मानव परिवारलाई पनि विचार गर्नुहोस्‌। तपाईं आमाबाबु हुनुहुन्छ भने, छोराछोरी हुर्काउँदा कति त्यागहरू गर्नुपऱ्‍यो, कति चीजहरू दिनुपऱ्‍यो, त्यो तपाईंलाई नै थाह छ। अनि वर्षौंसम्म पनि छोराछोरीलाई तपाईंले गर्नुभएका ती त्यागहरू थाहै हुँदैन। उनीहरूलाई ती सब हल्का लाग्छ। तैपनि, आफ्नो निःस्वार्थ रेखदेखले छोराछोरीको उन्‍नति भइरहेको देख्दा तपाईं रमाउनुहुन्छ। किन? किनकि तपाईं छोराछोरीलाई धेरै माया गर्नुहुन्छ।

३. यहोवा र हाम्रा सँगी विश्‍वासीहरूको सेवा गर्न पाउँदा किन प्रसन्‍न होइन्छ?

३ त्यसै गरी, प्रेमले उत्प्रेरित भएर दिनु साँचो उपासनाको चिह्न हो। हामी यहोवालाई अनि हाम्रा सँगी विश्‍वासीहरूलाई माया गर्छौं। त्यसैकारण, उहाँहरूको सेवा गर्न पाउँदा र आफैलाई सुम्पिन पाउँदा हामी प्रसन्‍न हुन्छौं। (मत्ती २२:३७-३९) स्वार्थ चिताएर सेवा गर्ने कसैले पनि आनन्द पाउन सक्दैन। तर निःस्वार्थ भई सेवा गर्नेहरू आफूले पाउनसक्ने कुराको आशा गरेर त होइन तर दिनसक्ने कुरामा मात्र चासो राख्ने भएकाले साँच्चै आनन्दित हुनसक्छन्‌। यो भनाइको सत्यता बुझ्न हाम्रो उपासनासित सम्बन्धित कुनै शब्दहरू बाइबलमा प्रयोग गरिएका तरिका केलाउन सक्छौं। हामी यस्ता शब्दहरूमध्ये तीनवटा शब्द यस लेखमा र यसपछिको लेखमा छलफल गर्नेछौं।

येशूको जन सेवा

४. मसीहीजगत्‌मा “जन सेवा[को]” अर्थ के हो?

४ मूल युनानी भाषामा उपासनाको सम्बन्धमा प्रयोग गरिएको एउटा मुख्य शब्द लीटुर्या हो र यसलाई न्यु वर्ल्ड ट्रान्सलेशन-मा “जन सेवा” भनेर अनुवाद गरिएको छ। मसीहीजगत्‌मा लीटुर्या शब्दबाटै धार्मिक रीतिरिवाजलाई बुझाउने अङ्‌ग्रेजी शब्द “लीटर्जी” बन्यो।a तथापि, मसीहीजगत्‌को परम्परागत धार्मिक रीतिरिवाज वास्तवमा लाभप्रद जन सेवा थिएन।

५, ६. (क) इस्राएलमा कस्तो जन सेवा चढाइन्थ्यो र यसबाट कस्ता फाइदाहरू भए? (ख) इस्राएलमा हुने जन सेवाको साटो कुन महान्‌ सेवा चढाइयो र किन?

५ प्रेरित पावलले इस्राएलका पूजाहारीहरूलाई सम्बोधन गर्दा धार्मिक रीतिरिवाजसित (लीटुर्यासित) सम्बन्धित युनानी शब्द प्रयोग गरे। तिनले भने: “हरेक पूजाहारी दिनहुँको [“जन,” NW] सेवा गर्दै [एक प्रकारको धार्मिक रीतिरिवाज] पापलाई कदापि हरण गर्न नसक्ने एकै किसिमको बलिदानहरू वारंवार चढाउँदै खडा हुन्छन्‌।” (हिब्रू १०:११) इस्राएलमा लेवी पूजाहारीहरूले अत्यन्तै बहुमूल्य जन सेवा चढाउँथे। तिनीहरूले परमेश्‍वरको व्यवस्था सिकाउँथे र मानिसहरूको पापको क्षमाको लागि बलिदानहरू चढाउँथे। (२ इतिहास १५:३; मलाकी २:७) पूजाहारीहरू तथा मानिसहरूले यहोवाको व्यवस्था पालन गर्दा सम्पूर्ण राष्ट्र आनन्दित हुनसक्थ्यो।—व्यवस्था १६:१५.

६ व्यवस्थाको अधीनमा रहेर जन सेवा गर्न पाउनु इस्राएली पूजाहारीहरूका लागि साँच्चै विशेषाधिकार थियो तर अवफादारीका कारण इस्राएलीहरू तिरस्कृत हुँदा तिनीहरूको सेवाको अन्त भयो। (मत्ती २१:४३) यहोवाले योभन्दा धेरै महान्‌ कुराको प्रबन्ध गर्नुभएको छ। त्यो हो, महान्‌ प्रधान पूजाहारी येशूले गर्नु हुने जन सेवा। उहाँको सम्बन्धमा हामी यस्तो लेखिएको पाउँछौं: “उहाँ चाहिं सधैंभरि रहिरहनुहुने भएको हुनाले उहाँको पूजाहारी पद अटल रहन्छ यसैकारण पनि उहाँद्वारा परमेश्‍वरको नजीक आउनेहरूलाई उहाँले सम्पूर्ण उद्धार गर्नसक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति अन्तरबिन्ती गर्नालाई उहाँ सधैंभरि रहनुहुन्छ।”—हिब्रू ७:२४, २५.

७. येशूको जन सेवाले अद्वितीय फाइदाहरू कसरी ल्यायो?

७ येशूले सधैंभरिका लागि पूजाहारीको रूपमा सेवा गर्नुहुनेछ र उहाँको कुनै उत्तराधिकारी हुनेछैन। यसकारण, उहाँले मात्र मानिसहरूलाई पूर्णतया बचाउन सक्नुहुन्छ। उहाँले मानिसले बनाएको मन्दिरमा होइन तर त्यसको प्रतिरूपक मन्दिरमा अर्थात्‌ सा.यु. २९ देखि सञ्चालित यहोवाको उपासना गर्ने महान्‌ प्रबन्धमा अद्वितीय जन सेवा गर्नुहुनेछ। अहिले येशूले स्वर्गको महा पवित्र स्थानमा सेवा गर्दै हुनुहुन्छ। उहाँ “मानिसले खडा गरेको होइन, तर [यहोवाले] खडा गर्नुभएको पवित्रस्थान र सच्चा बासस्थानका [जन] सेवक [लीटुर्गस] भएर बस्नुभयो।” (हिब्रू ८:२; ९:११, १२) येशूको पद साह्रै उच्च भए तापनि उहाँ “जन सेवक” नै हुनुहुन्छ। उहाँ आफ्नो उच्च अख्तियार प्रयोग गरेर दिनुहुन्छ, लिनुहुन्‍न। अनि यसरी दिंदा उहाँ आनन्दित हुनुहुन्छ। यसमा “उहाँको सामने राखिदिएको आनन्द” समावेश छ र यसले उहाँलाई पृथ्वीमा छउञ्जेल धैर्य धारण गर्न बल दियो।—हिब्रू १२:२.

८. व्यवस्था करारलाई प्रतिस्थापन गर्न येशूले कसरी जन सेवा गर्नुभयो?

८ येशूको जन सेवाको अर्को पक्ष पनि छ। पावलले यसरी लेखे: “[येशूले] त्यतिमै बढ्‌ता श्रेष्ठ [जन] सेवा पाउनुभएको छ, जतिको उहाँ झन्‌ उत्तम करारको मध्यस्थ हुनुहुन्छ, जो करार अझै उत्तम प्रतिज्ञाहरूमा बाँधिएको छ।” (हिब्रू ८:६) यहोवासित इस्राएलीहरूको सम्बन्धको आधारको मध्यस्थकर्ता मोशा थिए। (प्रस्थान १९:४, ५) येशू नयाँ करारका मध्यस्थ हुनुहुन्थ्यो र यसले गर्दा नयाँ राष्ट्र अर्थात्‌ जाति जातिबाट किनिएका आत्म-अभिषिक्‍त मसीहीहरू मिलेर बनेको “परमेश्‍वरका इस्राएल[को]” जन्म भयो। (गलाती ६:१६; हिब्रू ८:८, १३; प्रकाश ५:९, १०) त्यो एकदमै सर्वोत्तम जन सेवा थियो! हामीले यहोवालाई ग्रहणयोग्य सेवा चढाउन सक्ने माध्यम, जन सेवक येशूबारे थाह पाउनु साह्रै आनन्ददायी कुरा हो!—यूहन्‍ना १४:६.

मसीहीहरू पनि जन सेवा गर्छन्‌

९, १०. मसीहीहरूले पूरा गरेका केही जन सेवा के के हुन्‌?

९ येशूले जस्तो उत्कृष्ट जन सेवा कसैले पनि गरेको छैन। तथापि, अभिषिक्‍त मसीहीहरूले आफ्नो ईश्‍वरीय इनाम पाउँदा तिनीहरूले येशूसँगै आफ्नो स्थान ग्रहण गर्छन्‌ र स्वर्गीय राजा तथा पूजाहारीहरूको रूपमा जन सेवा गर्छन्‌। (प्रकाश २०:६; २२:१-५) यद्यपि, पृथ्वीका मसीहीहरूले पनि जन सेवा गर्छन्‌ र तिनीहरू यसो गर्न पाएकोमा आनन्दित छन्‌। उदाहरणका लागि, प्यालेस्टाइनमा अनिकाल पर्दा युरोपका भाइहरूले दिएको चन्दा प्रेरित पावलले यहूदियामा यहूदी मसीहीहरूको दुःखकष्ट कम गर्न लगिदिएका थिए। यो जन सेवा थियो। (रोमी १५:२७; २ कोरिन्थी ९:१२) आज, मसीहीहरू दुःखकष्ट, प्राकृतिक प्रकोप वा अन्य विपत्तिमा परेका आफ्ना भाइहरूलाई तुरुन्तै मदत गरेर यस्तै सेवा गर्न पाएकोमा आनन्दित छन्‌।—हितोपदेश १४:२१.

१० पावलले अर्को जन सेवाबारे उल्लेख गर्दै यसप्रकार लेखे: “तिमीहरूको विश्‍वासको बलिदान र [जन] सेवामा म अर्पित हुन्छु भने पनि म आनन्दित हुन्छु, र तिमीहरू सबैसँग रमाउँछु।” (फिलिप्पी २:१७) फिलिप्पीका मसीहीहरूका लागि पावलले अथक परिश्रम, प्रेम र प्रयाससहित जन सेवा गरे। यस्तै जन सेवा आज पनि विशेष गरी “विश्‍वासी र बुद्धिमान दास[को]” रूपमा सेवा गर्ने अभिषिक्‍त मसीहीहरूले ठीक ठीक समयमा आध्यात्मिक आहार प्रबन्ध गरेर गरिरहेका छन्‌। (मत्ती २४:४५-४७) यसको अलावा, सामूहिक तवरमा यिनीहरू “परमेश्‍वरमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने” आदेश पाएका “पवित्र पूजाहारीगिरी” अनि “अन्धकारबाट उहाँको गजबको ज्योतिमा . . . बोलाउनेको सर्वश्रेष्ठता” पाएकाहरू हुन्‌। (१ पत्रुस २:५, ९) यस्तो सुअवसर पाएकोमा र आफ्नो जिम्मेवारी पूरा गर्न ‘अर्पित हुन पाएकोमा’ यिनीहरू पनि पावलजस्तै रमाउँछन्‌। अनि यिनीहरूका सहयोगी, “अरू भेडा” पनि यिनीहरूसितै सामेल हुन्छन्‌ र यहोवा अनि उहाँका उद्देश्‍यबारे मानिसजातिलाई बताउने काममा साथ दिन्छन्‌।b (यूहन्‍ना १०:१६; मत्ती २४:१४) कत्ति महान्‌ अनि आनन्ददायी जन सेवा!—भजन १०७:२१, २२.

पवित्र सेवा गर्नुहोस्‌

११. अगमवादिनी हन्‍नाले सम्पूर्ण मसीहीहरूका लागि कसरी राम्रो उदाहरण छोडेकी छिन्‌?

११ हाम्रो उपासनासित सम्बन्धित अर्को युनानी शब्द हो, लाट्रीआ र यसलाई न्यु वर्ल्ड ट्रान्सलेशन-मा “पवित्र सेवा” भनेर अनुवाद गरिएको छ। पवित्र सेवा, उपासनासित सम्बन्धित छ। उदाहरणका लागि, ८४ वर्षीया विधवा तथा अगमवादिनी हन्‍ना “मन्दिर छोडदैन थिइन्‌। तर उपवास र प्रार्थना गर्दै रात-दिन उपासना गर्दथिइन्‌” भनेर वर्णन गरिएको छ। (लूका २:३६, ३७) हन्‍ना दिन रात यहोवाको उपासना गर्थिन्‌। उनी, हामी जवान तथा वृद्ध, पुरुष तथा स्त्री सबैका लागि राम्रो उदाहरण हुन्‌। हन्‍नाले यहोवालाई खुरन्धार प्रार्थना गरेर मन्दिरमा नियमित सेवा गरेझैं हाम्रो पवित्र सेवामा पनि प्रार्थना गर्नु तथा सभामा उपस्थित हुनु समावेश छ।—रोमी १२:१२; हिब्रू १०:२४, २५.

१२. हाम्रो पवित्र सेवाको प्रमुख पक्ष के हो र यो कसरी जन सेवा पनि हो?

१२ “परमेश्‍वर मेरा गवाही हुनुहुन्छ, जसको पुत्रको सुसमाचारमा म आफ्नो आत्मामा उहाँको सेवा गर्दछु, र कसरी म लगातार तिमीहरूको स्मरण गर्दछु” भनेर लेख्दा प्रेरित पावलले हाम्रो पवित्र सेवाको एउटा उल्लेखनीय पक्षबारे उल्लेख गरे। (रोमी १:९) हो, सुसमाचार प्रचार गर्नु प्रचारकार्य सुन्‍नेहरूका लागि एउटा जन सेवा मात्र होइन तर यहोवा परमेश्‍वरको उपासना गर्ने तरिका पनि हो। हामीले ग्रहणशील व्यक्‍ति भेट्टाऔं वा नभेट्टाऔं, प्रचारकार्य यहोवालाई चढाउने पवित्र सेवा हो। हाम्रो स्वर्गमा हुनुहुने मायालु पिताका असल गुणहरू तथा लाभप्रद उद्देश्‍यबारे अरूलाई बताउने उत्कट प्रयास गर्दा हामी निकै आनन्दित हुनसक्छौं।—भजन ७१:२३.

हामी पवित्र सेवा कहाँ चढाउँछौं?

१३. यहोवाको आध्यात्मिक मन्दिरको भित्री चोकमा पवित्र सेवा चढाउनेहरूको आशा के छ र तिनीहरूसँगै को हर्षित हुन्छन्‌?

१३ पावलले अभिषिक्‍त मसीहीहरूलाई यसो लेखे: “हल्लिन नसक्ने राज्य पाएर हामीलाई अनुग्रह होस्‌, जसबाट परमेश्‍वरलाई मनपर्ने [“पवित्र,” NW] सेवा भक्‍ति र डरले चढाउनसकौं।” (हिब्रू १२:२८) राज्य पाउने पक्का आशासहित सर्वोच्चको उपासना गरेकोले अभिषिक्‍त जनहरूको विश्‍वास स्थिर छ। तिनीहरूले मात्र उहाँलाई पवित्र स्थानमा तथा यहोवाको आध्यात्मिक मन्दिरको भित्री चोकमा पवित्र सेवा चढाउन सक्छन्‌ र महा पवित्र स्थान, स्वर्गमै येशूसँगसँगै सेवा गर्ने उत्कट आशा राख्छन्‌। तिनीहरूका सहयोगीहरू, अरू भेडा पनि यो अद्‌भुत आशामा तिनीहरूसँगै हर्षित हुन्छन्‌।—हिब्रू ६:१९, २०; १०:१९-२२.

१४. येशूको जन सेवाबाट ठूलो भीडले कसरी लाभ उठाउँछ?

१४ अनि अरू भेडाबारे के भन्‍न सकिन्छ? प्रेरित यूहन्‍नाले दर्शनमा देखेअनुसार तिनीहरूको एउटा ठूलो भीड यी आखिरी दिनमा देखा परेको छ र “तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌।” (प्रकाश ७:१४) यसको अर्थ, अभिषिक्‍त सँगी उपासकहरूले जस्तै तिनीहरूले पनि येशूको जन सेवा अर्थात्‌ मानिसजातिका लागि उहाँले चढाउनुभएको सिद्ध मानव जीवनमा विश्‍वास गर्छन्‌। अरू भेडाकाहरूले “[यहोवाको] करार पालन” गरेर पनि येशूको पवित्र सेवाबाट फाइदा उठाइरहेका छन्‌। (यशैया ५६:६, नयाँ संशोधित संस्करण) तिनीहरू नयाँ करारका सदस्यहरू होइनन्‌ तर तिनीहरू त्यससित सम्बन्धित व्यवस्थाका साथै त्यस नयाँ करारमार्फत गरिएका प्रबन्धहरूमा सहयोग गर्दै तिनीहरू त्यसलाई पालन गर्छन्‌। तिनीहरू परमेश्‍वरका इस्राएलसित संगत गर्छन्‌, एउटै आध्यात्मिक टेबलमा खान्छन्‌ अनि तिनीहरूसँगै काम गर्छन्‌, जनसमक्ष परमेश्‍वरको प्रशंसा गर्छन्‌ र उहाँलाई मन पर्ने बलिदान चढाउँछन्‌।—हिब्रू १३:१५.

१५. ठूलो भीडले पवित्र सेवा कहाँ चढाउनेछ र यो आशिष्‌ले तिनीहरूलाई कसरी असर गर्छ?

१५ यसरी, ठूलो भीडले “आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका” छन्‌। यसबाहेक, “तिनीहरू परमेश्‍वरको सिंहासनको सामने छन्‌, र दिन-रात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्‌, औ सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो मण्डप टाँगिदिनुहुनेछ।” (प्रकाश ७:९, १५) इस्राएलमा यहूदीधर्म अपनाउनेहरूले सुलेमानको मन्दिरको बाहिरी चोकमा उपासना गर्थे। त्यसै गरी, ठूलो भीडले पनि यहोवाको आध्यात्मिक मन्दिरको बाहिरी चोकमा यहोवाको उपासना गर्छन्‌। त्यहाँ उपासना गर्दा तिनीहरूले रमाउने कारण पाएका छन्‌। (भजन १२२:१) तिनीहरूका अभिषिक्‍त मित्रहरूमध्ये अन्तिमचाहिंले आफ्नो स्वर्गीय इनाम पाइसकेपछि पनि तिनीहरू यहोवाका जनको रूपमा उहाँलाई पवित्र सेवा चढाइरहनेछन्‌।—प्रकाश २१:३.

अस्वीकार्य पवित्र सेवा

१६. पवित्र सेवाको सम्बन्धमा कस्ता चेताउनीहरू दिइएका छन्‌?

१६ पुरातन इस्राएलको समयमा यहोवाको व्यवस्थाअनुरूप पवित्र सेवा चढाउनुपर्थ्यो। (प्रस्थान ३०:९; लेवी १०:१, २) त्यसै गरी, आज पनि हाम्रो पवित्र सेवा यहोवामा ग्रहणयोग्य भएको चाहन्छौं भने हामीले केही आवश्‍यकताहरू पूरा गर्नुपर्छ। त्यसकारण, पावलले कलस्सीहरूलाई यसो लेखे: “हामीले . . . सारा आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले तिमीहरू पूर्ण होओ भनेर हामीले पनि तिमीहरूका निम्ति प्रार्थना र बिन्ती गर्न छोडेका छैनौं, हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न र हरेक असल काममा फलिफाप हुँदै परमेश्‍वरको ज्ञानमा बढदै” जाओ। (कलस्सी १:९, १०) परमेश्‍वरको उपासना गर्ने उचित तरिका निधो गर्ने काम हाम्रो होइन। सही धर्मशास्त्रीय ज्ञान, आध्यात्मिक समझ तथा ईश्‍वरीय बुद्धि अत्यावश्‍यक छन्‌। अन्यथा, कामकुरा बिग्रनसक्छ।

१७. (क) मोशाको समयमा पवित्र सेवा कसरी भ्रष्ट भयो? (ख) आज पवित्र सेवा कसरी पथभ्रष्ट हुनसक्छ?

१७ मोशाको समयका इस्राएलीहरूलाई सम्झनुहोस्‌। हामी यस्तो लेखिएको पाउँछौं: “परमेश्‍वरले पीठ फर्काउनुभयो, र तिनीहरूलाई आकाशका तारामण्डलको सेवा गर्नालाई सुम्पिदिनुभयो।” (प्रेरित ७:४२) यी इस्राएलीहरूले तिनीहरूका लागि यहोवाले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेका थिए। यद्यपि, आफ्नो फाइदा होला जस्तो देखिंदा तिनीहरू अरू देवहरूतर्फ फर्के। तिनीहरू वफादार भएनन्‌। त्यसैले, परमेश्‍वरलाई चढाउने पवित्र सेवा ग्रहणयोग्य होस्‌ भन्‍ने चाहन्छौं भने हामी उहाँप्रति वफादार हुनैपर्छ। (भजन १८:२५) हो, आज कोही कोही यहोवाबाट तर्केर तारा वा सुनका बाछाहरूलाई उपासना गर्छन्‌ तर मूर्तिपूजाको अरू रूप पनि छन्‌। ‘धनसम्पत्तिको’ सेवा गर्नदेखि सतर्क रहन येशूले चेताउनी दिनुभयो र पावलले लोभलाई मूर्तिपूजा भने। (मत्ती ६:२४; कलस्सी ३:५) शैतान आफूलाई देवको रूपमा प्रस्तुत गर्छ। (२ कोरिन्थी ४:४) आज यस्तो मूर्तिपूजा जताततै व्याप्त छ र यी हाम्रो लागि पासो हुन्‌। उदाहरणका लागि, येशूलाई पछ्याएको दाबी त गर्ने तर जीवनको वास्तविक लक्ष्य भने धनी हुने वा आफू र आफ्नो बुद्धिमा भर पर्ने कुनै एक व्यक्‍तिलाई विचार गर्नुहोस्‌। वास्तवमा उसले कसको सेवा गरिरहेको छ? यहोवाको नाउँमा शपथ खाने तर उहाँले गर्नुभएका ठूलठूला कामहरूको श्रेय अशुद्ध मूर्तिहरूलाई दिने यशैयाको समयका यहूदीहरूभन्दा त्यो व्यक्‍ति धेरै फरक छ र?—यशैया ४८:१, ५.

१८. विगत तथा वर्तमान समयमा पवित्र सेवा कसरी गलत तरिकाले गरिएको छ?

१८ येशूले यस्तो चेताउनी पनि दिनुभयो: “बेला आउँछ, जब तिमीहरूलाई हत्या गर्नेले परमेश्‍वरको सेवा गर्दैछु भनी ठान्‍नेछ।” (यूहन्‍ना १६:२) ‘स्तिफनको हत्यामा सहमति जनाउँदा’ र ‘प्रभुका चेलाहरूका विरुद्धमा धम्की र हत्याको धुनमा सास फुलाउँदा’ पछि प्रेरित पावल भएका शाऊलले पक्कै पनि परमेश्‍वरको सेवा गरिरहेको छु भन्‍ने विचार गरेको हुनुपर्छ। (प्रेरित ८:१; ९:१) आज जातीय सफाइ तथा संहार गर्ने कोही कोही पनि परमेश्‍वरको उपासना गरिरहेको दाबी गर्छन्‌। हो, परमेश्‍वरको उपासना गरेको दाबी गर्ने थुप्रै मानिस छन्‌ तर वास्तवमा तिनीहरूले राष्ट्रवाद, जातिवाद, धनसम्पत्ति, मपाइँवाद वा अन्य देवहरूको उपासना गरिरहेका हुन्छन्‌।

१९. (क) पवित्र सेवाप्रति हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ? (ख) कस्तो प्रकारको पवित्र सेवाले हामीलाई आनन्दित तुल्याउँछ?

१९ येशूले यसो भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई दण्डवत्‌ गर्नु औ उहाँको मात्र सेवा गर्नु।” (मत्ती ४:१०) उहाँ शैतानसित कुरा गर्दै हुनुहुन्थ्यो तर उहाँका यी शब्दहरू पालन गर्नु हामी सबैका लागि अत्यावश्‍यक छ! ब्रह्‍माण्डका सर्वसत्ताधारी प्रभुलाई पवित्र सेवा चढाउनु उच्च तथा ठूलो विशेषाधिकार हो। अनि हाम्रो उपासनासित सम्बन्धित जन सेवाबारे के भन्‍न सकिन्छ? सँगी मानिसजातिको लागि यो एकदमै आनन्ददायी काम हो। (भजन ४१:१, २; ५९:१६) तैपनि, यस्तो सेवा पूर्ण हृदयले अनि उचित तरिकामा चढाइएको छ भने मात्र यसबाट साँचो आनन्द प्राप्त हुन्छ। कसले परमेश्‍वरलाई साँच्चै उचित तरिकामा उपासना गरिरहेको छ? कसको पवित्र सेवा यहोवाले ग्रहण गर्नुहुन्छ? बाइबलमा उल्लेख गरिएको हाम्रो उपासनासित सम्बन्धित तेस्रो शब्दलाई विचार गरेर हामीले यस्ता प्रश्‍नहरूको जवाफ पाउनसक्छौं। यसपछिको लेखमा हामी यसबारे छलफल गर्नेछौं।

[फुटनोटहरू]

a मसीहीजगत्‌को धार्मिक रीतिरिवाज रोमन क्याथोलिक चर्चको युखारीस्टजस्तै कुनै धार्मिक समारोह वा विशेष प्रचलन हो।

b प्रेरित १३:२ मा एन्टिओकका अगमवक्‍ताहरू तथा शिक्षकहरूले यहोवालाई “जन सेवा चढाइरहेका” (युनानी शब्द लीटुर्गीआ-सित सम्बन्धित शब्दको अनुवाद) थिए भनी लिपिबद्ध गरिएको छ। हुनसक्छ, यो जन सेवामा सर्वसाधारणलाई प्रचार गर्नु पनि समावेश थियो।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• येशूले कस्तो महान्‌ जन सेवा गर्नुभयो?

• मसीहीहरू कस्तो जन सेवा गर्छन्‌?

• मसीही पवित्र सेवा के हो र यो कहाँ गरिन्छ?

• हाम्रो पवित्र सेवा परमेश्‍वरलाई ग्रहणयोग्य होस्‌ भन्‍ने चाहन्छौं भने हामीले के प्राप्त गर्नैपर्छ?

[पृष्ठ १०-मा भएको चित्र]

आमाबाबुले दिंदा निकै आनन्द महसुस गर्छन्‌

[पृष्ठ १२, १३-मा भएका चित्रहरू]

अरूलाई मदत गरेर तथा सुसमाचार उद्‌घोषणा गरेर मसीहीहरू जन सेवा गर्छन्‌

[पृष्ठ १४-मा भएको चित्र]

हाम्रो पवित्र सेवा परमेश्‍वरलाई ग्रहणयोग्य भएको चाहन्छौं भने हामीलाई सही ज्ञान तथा समझ चाहिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने