दिन-रात पवित्र सेवा चढाउनुहोस्
१ हामीलाई एउटा असामान्य विशेषाधिकार दिइएको छ। त्यो हो, यहोवाका साक्षीहरू हुने। परमेश्वरको राज्यबारे उद्घोषणा गर्ने सबैभन्दा महान् कार्य सम्पन्न गर्न यहोवाले प्रयोग गरिरहनुभएको सुसमाचारकहरूको विश्वव्यापी संगठनको हामी भाग हौं! (मर्कू. १३:१०) समयको अविलम्बतालाई ध्यानमा राख्दै के हामीले यस कार्यमा यथासम्भव पूर्णतया भाग लिइरहेका छौं?
२ हाम्रो प्रचारकार्यलाई अन्तमा कति जनाले स्वीकार्नेछन्, त्यो हामीलाई थाह छैन। ‘दिन-रात उहाँको सेवा गरिरहेकाहरू’ भनी चिनिने सबै मिलेर बनेको “एक ठूलो भीड़” हुनेछ भनेर यहोवाले हामीलाई आश्वासन दिनुहुन्छ। (प्रका. ७:९, १५) यहोवाको सेवामा व्यस्त भइसकेका पचास लाखभन्दा बढी साक्षीहरू जिज्ञासु श्रोता वा सभा धाउनेहरू मात्रै होइनन्। तिनीहरू विश्वभरि सुसमाचार उद्घोषणा गर्ने कामदारहरू हुन्!
३ क्षेत्र सेवकाईमा होस् वा अनौपचारिक तवरमा, यहोवाको प्रशंसा गर्ने अवसरहरू दिनहुँ पाइन्छन्। सोच्नुहोस्, दिनहुँ केवल एक जना व्यक्तिसित सच्चाइ बाँड्न हामी प्रत्येक अग्रसर भयौं भने कत्तिको व्यापक साक्षी दिन सकिन्छ होला। यहोवाप्रति हाम्रो मूल्यांकनले उहाँबारे जोशका साथ बोल्न प्रेरित गर्नुपर्ने हो।—भज. ९२:१, २.
४ पवित्र सेवा चढाउन अरूलाई मदत गर्नुहोस्: वृद्धि गर्नुभएर यहोवाले हामीलाई निरन्तर आशिष् दिनुहुन्छ। (हा. २:७) भारतमा गत सेवा वर्षको दौडान प्रत्येक महिना औसतन १३,१०५ गृह बाइबल अध्ययनहरू सञ्चालन भए। हामीले ती मानिसहरूसँग अध्ययन गर्नुको उद्देश्य तिनीहरूलाई येशूका चेलाहरू हुन मदत दिनु हो। (मत्ती २८:१९, २०) सभामा नियमित तवरले उपस्थित भएर तिनीहरूमध्ये धेरैले राम्रो प्रगति गरिसकेका छन्। आफूले सिकिसकेपछि तिनीहरूले आफ्ना चिनजानहरूलाई पनि “परमेश्वरका महाकार्यहरूका विषयमा” बताउन थालेका छन्। (प्रे. २:११) के तिनीहरूलाई अब जनसेवकाईमा भाग लिन निम्त्याउन सकिन्छ?
५ योग्य ठहरिएका नयाँ व्यक्तिहरूलाई हामीसित क्षेत्र सेवकाईमा भाग लिने निमन्त्रणा दिन अप्रिलमा विशेष प्रयास गर्नुपर्छ। के तपाईंको विद्यार्थीले यसो गर्ने इच्छा व्यक्त गरेका छन्? छन् भने, के तिनले धर्मशास्त्रीय आवश्यकताहरू पूरा गरेका छन्? (हाम्रो सेवकाई [अंग्रेजी] पुस्तक, पृष्ठ ९७-९ हेर्नुहोस्।) विद्यार्थीले क्षेत्र सेवकाईमा भाग लिने इच्छा गर्छन् भने मण्डलीको अध्यक्षसित तिनको सम्भाव्यताबारे छलफल गर्नुहोस्। यसबारे जाँचबुझ गर्न तिनले दुइ प्राचीनको प्रबन्ध मिलाउनेछन्। यस विद्यार्थी बप्तिस्मा अप्राप्त प्रकाशक हुन योग्य भएमा तपाईंसित क्षेत्र सेवकाईमा जान निम्त्याउनुहोस्। अप्रिलमा प्रचारकार्य सुरु गर्न योग्य हुनसक्ने व्यक्तिहरूलाई मदत गर्न सेवा निरीक्षक तथा पुस्तक अध्ययन सञ्चालकहरू विशेषगरि सजग हुनुपर्छ।
६ आमाबाबुले आफ्ना छोराछोरीहरू बप्तिस्मा अप्राप्त प्रकाशक हुन योग्य छन् कि छैनन् भनेर विचार गर्नुपर्छ। (भज. १४८:१२, १३) तपाईंको बच्चाले परमेश्वरको राज्य सेवामा भाग लिने इच्छा व्यक्त गर्छ र उसको आचरण राम्रो छ भने यसबारे छलफल गर्न सेवा समितिको कुनै एक प्राचीनसित सम्पर्क राख्न सक्नुहुन्छ। तपाईं र तपाईंको बच्चासित भेटिसकेपछि ऊ प्रकाशक हुन योग्य छ कि छैन भनेर दुइ प्राचीनले निर्धारण गर्नेछन्। यहोवाको प्रशंसा गर्न छोराछोरीहरूले हाम्रो साथ दिंदा आनन्दित हुने विशेष कारण हुन्छ!
७ यहोवा मात्र हाम्रो पवित्र सेवा पाउने योग्यको हुनुहुन्छ। (लूका ४:८) उहाँको “पूरा” प्रशंसा गर्ने अद्भुत विशेषाधिकारलाई हामी प्रत्येकले प्रयोग गरौं।—भज. १०९:३०; ११३:३.