प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ११/१ pp. १३-१७
  • जीवनको दौडमा तपाईं कसरी दौडनु हुँदैछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनको दौडमा तपाईं कसरी दौडनु हुँदैछ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जीवनको दौड
  • सबै कुराहरूमा संयम गर
  • दौडनुहोस्‌ तर “बेताकसित होइन”
  • तपाईं अन्तसम्म धीरजी हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “त्यसरीनै दगुर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • दौड पूरा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “धैर्य गरेर दौडौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ११/१ pp. १३-१७

जीवनको दौडमा तपाईं कसरी दौडनु हुँदैछ?

“के तिमीहरूलाई थाह छैन दौडमा दगुर्नेहरू सबै दगुर्छन्‌, पुरस्कार एउटैले मात्र पाउँछ? त्यसरीनै दगुर, र पुरस्कार पाओ।”—१ कोरिन्थी ९:२४.

१. हाम्रो मसीही मार्गलाई बाइबलले के सित तुलना गर्दछ?

अनन्त जीवनका लागि हाम्रो खोजीलाई बाइबलले एउटा दौडसित तुलना गर्दछ। आफ्नो जीवनको अन्ततिर प्रेरित पावलले आफ्नो विषयमा यसो भने: “मैले उत्तम लडन्त लडेको छु, मैले दौड सिध्याएको छु, विश्‍वासलाई बचाइराखेको छु।” तिनले आफ्ना सँगी मसीहीहरूलाई पनि यही गर्न आग्रह गर्दै भने: “यसैकारण हामी पनि, यतिका गवाहीका मेघले घेरिएका हुनाले, हर किसिमका टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामने राखिदिएको दौड धीरजसँग दौडौं।”—२ तिमोथी ४:७; हिब्रू १२:१.

२. जीवनको दौड सुरु गर्ने विषयमा हामी के उत्साहवर्धक सुरुआत देख्त छौं?

२ यो एउटा सुहाउँदो तुलना हो किनभने कुनै पनि दौडको एउटा प्रारम्भ, एउटा निश्‍चित मार्ग र लक्ष्य हुन्छ। जीवनतर्फ हामीले गर्नु पर्ने आध्यात्मिक प्रगति पनि यस्तै हो। हामीले देखिसकेका छौं कि प्रत्येक वर्ष सयकडौं हजारौं मानिसहरूले जीवनको दौड उत्साहपूर्वक सुरु गरिरहेका छन्‌। उदाहरणका लागि, बितेका पाँच वर्षहरूमा समर्पण र पानीमा बप्तिस्मा लिएर, १३,३६,४२९ व्यक्‍तिहरूले औपचारिक रूपमा यो दौड सुरु गरे। यस प्रकारको जोडतोडको सुरुआत अति नै प्रोत्साहनयुक्‍त छ। तथापि, लक्ष्य नपुगुञ्जेलसम्मै दौडी रहनु चाहिं महत्त्वपूर्ण हो। के तपाईं यसै गर्नु हुँदै छ?

जीवनको दौड

३, ४. (क) दौडमा एक सुरले लागि रहने कुराको महत्त्वमाथि पावलले कसरी जोड दिए? (ख) पावलको सल्लाहलाई पालन गर्न कुनै कुनै व्यक्‍तिहरू कसरी असमर्थ भएका छन्‌?

३ दौडमा लागेको लागेकै हुनु महत्त्वपूर्ण हो र यसै कुरामाथि जोड दिंदै, पावलले यो चेताउनी दिए: “के तिमीहरूलाई थाह छैन दौडमा दगुर्नेहरू सबै दगुर्छन्‌, पुरस्कार एउटैले मात्र पाउँछ? त्यसरी नै दगुर, र पुरस्कार पाओ।”—१ कोरिन्थी ९:२४.

४ यो साँचो हो कि प्राचीन समयका खेल-कुदहरूमा एक जनाले मात्र पुरस्कार पाउन सक्‌थ्यो। तथापि, जीवनको दौडमा प्रत्येकले नै पुरस्कार पाउँन सक्‍तछ। तर यसका लागि लक्ष्यसम्मै दौडनु आवश्‍यक छ! आनन्दको कुरा के हो भने, प्रेरित पावल झैं, अरू धेरै जना आफ्नो जीवनको अन्तसम्मै विश्‍वासी भएर दौडेका छन्‌। र लाखौं अहिले पनि दौडी रहेका छन्‌। तर केहीले चाहिं लक्ष्यतर्फ प्रगति गर्नुको सट्टा अन्य कुराहरूलाई तिनीहरूले बाधा हुन दिए। जसले गर्दा, तिनीहरू दौडबाट हटेर गए अथवा कुनै न कुनै कारणवश अयोग्य भए। (गलाती ५:७) यसले जीवनको दौडमा हामी कसरी दौडिरहेका छौं, त्यसको जाँच गर्न हामी सबैलाई बाध्य पार्नु पर्ने हो।

५. के पावलले जीवनको दौडलाई कुनै प्रतियोगितात्मक खेलसित तुलना गर्दै थिए? व्याख्या गर्नु होस्‌।

५ यहाँ यो प्रश्‍न सोध्न सकिन्छ: पावलले कुन कुरालाई ध्यानमा राखेर, “पुरस्कार एउटैले मात्र पाउँछ” भने? यसको अर्थ जीवनको दौड सुरु गर्ने सबै जनामध्ये एक जनाले मात्र अनन्त जीवनको पुरस्कार पाउँने छन्‌ भनेको होइन भनेर हामीले अघि नै देखिसक्यौं। त्यसो हुनै सक्‍तैन, किनभने हर किसिमका मानिसहरू बाँचेको परमेश्‍वर चाहनु हुन्छ भन्‍ने कुरा तिनले बारम्बार स्पष्ट पारेका थिए। (रोमी ५:१८; १ तिमोथी २:३, ४; ४:१०; तीतस २:११) तिनको भनाइअनुसार, जीवनको दौड एउटा यस्तो प्रतियोगिता होइन जहाँ प्रत्येक खेलाडीले अरू सबै खेलाडीलाई पराजित गर्न खोज्दछ। कोरिन्थीहरूलाई राम्रोसँग थाह थियो कि तिनीहरूका यिस्थिमी खेल-कुदमा भाग लिनेहरू मध्ये यस प्रकारको प्रतियोगितात्मक भावना हुन्थ्यो। त्यस बेला यी यिस्थिमी खेल-कुदको प्रतिष्ठा अलिम्पिक खेल-कुदको भन्दा पनि ठूलो थियो। तर पावलको मनमा के कुरा थियो?

६. दौड र खेलाडीबारे पावलको छलफललाई बुझाउनमा सन्दर्भले के मद्दत दिन्छ?

६ दौडने खेलाडीको उदाहरण प्रयोग गर्दा पावलले प्रथमतः मुक्‍ति पाउने आफ्नै आशाबारे छलफल गरिरहेका थिए। योभन्दा अघिका पद्यहरूमा तिनले आफ्नै परिश्रम र उत्कट प्रयासको वर्णन गरे। (१ कोरिन्थी ९:१९-२२) त्यस पछि, २३ वाँ पद्यमा तिनले यसो भने: “म त्यसका सम्भागी होऊँ भनेर सुसमाचारको खातिर सब थोक गर्दछु।” तिनी प्रेरित हुनका लागि छानिएका हुन्‌ अथवा तिनले धेरै वर्ष अरूहरूलाई प्रचार गर्नमा बिताएका थिए भन्दैमा तिनको मुक्‍ति निश्‍चित थिएन। यो कुरा तिनलाई थाह थियो। सुसमाचारद्वारा पाइने आशिषहरूमा सहभागी हुनका लागि तिनले सुसमाचारका खातिर आफूले सक्दोभर सबै कुरा गर्नु परेको थियो। तिनले जित्ने दृढ संकल्प गरेर दौडनु परेको थियो। “एक जनाले मात्र पुरस्कार” पाउने यिस्थिमी खेल-कुदको दौडमा झैं, तिनले बल गरेर दौडनु परेको थियो।—१ कोरिन्थी ९:२४क.

७. “पुरस्कार पाउने गरी” दौडनका लागि के आवश्‍यक छ?

७ यसबाट हामी धेरै कुरा सिक्न सक्‍तछौं। दौडमा सामेल हुने प्रत्येक व्यक्‍तिले जित्ने इच्छा त गर्दछ, तर जित्ने दृढ संकल्प गर्नेहरूको मात्र जित्ने कुनै सम्भावना हुन्छ। यसकारण, दौडमा सामेल भइ हाल्यौं भन्दैमा ढुक्क मान्‍नु हुँदैन। हामी ‘सच्चाइमा भएका’ हुनाकारण सबै कुरा राम्रै हुनेछ भनी ठान्‍नु हुँदैन। हामी मसीही नै कहलाउँला। तर हामी मसीही हौं भनी प्रमाणित गर्ने हामीसँग के आधार छ? उदाहरणका लागि, एक जना मसीहीले मसीही सभाहरू धाउने र क्षेत्र सेवकाईमा भाग लिने जस्ता कार्यहरूमा भाग लिनु पर्दछ। के हामी यी सबै गर्द छौं? गर्द छौं भने, यो एउटा प्रशंसनीय कुरा हो र यस प्रकारका उत्तम आनीबानीमा सधैं लागिरहन हामीले उत्कट कोशिश गर्नु पर्दछ। तर हामीले गरिरहेका ती कामकुराबाट हामीले अझ बढी लाभ उठाउन सक्छौं कि? उदाहरणका लागि, के हामी सभाहरूमा टिप्पणी गरेर केही न केही योगदान दिन सधैं तयार भएर आउँछौं? सिकेका कुराहरू आफ्नै व्यक्‍तिगत जीवनमा प्रयोगमा ल्याउन के हामी प्रयत्न गर्दछौं? क्षेत्र सेवकाईमा सामना गर्न परेका बाधाविघ्नहरूको बावजुद राम्रोसित साक्षी दिन सक्नका लागि के हामी अझ निपुण हुने विषयमाथि ध्यान दिने गर्दछौं? चासो व्यक्‍त गर्ने व्यक्‍तिहरूलाई फेरि भेट गर्न जाने र तिनीहरूसित गृह बाइबल अध्ययनहरू सञ्चालन गर्ने चुनौतीलाई के हामी स्वीकार गर्न तयार छौं? “पुरस्कार पाउने गरी दगुर [न्यु व०]” भनेर पावलले आग्रह गरे।—१ कोरिन्थी ९:२४ख.

सबै कुराहरूमा संयम गर

८. ‘सब विषयमा संयमी हुन’ भनेर पावलले आफ्ना सँगी मसीहीहरूलाई किन आग्रह गरेको हुन सक्छ?

८ जीवनको दौडमा सुस्त भएर अथवा त्यसबाट तर्केर गएका र दौडिन छाडेका धेरैलाई पावलले आफ्नो जीवनकालमा देखेका थिए। (१ तिमोथी १:१९, २०; हिब्रू २:१) त्यसैकारण, तिनीहरू एउटा धेरै नै बल गर्नु पर्ने र लगातार लागिरहनु पर्ने प्रतियोगितामा सामेल भएका छन्‌ भनेर आफ्ना सँगी मसीहीहरूलाई पावलले बारम्बार सम्झाउने गरे। (एफिसी ६:१२; १ तिमोथी ६:१२) तिनले दौडने खेलाडीको उपमालाई अझ एक कदम अघि सार्दै यसो भने: “औ खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ।” (१ कोरिन्थी ९:२५-को प्रथम भाग) यिस्थिमी खेल-कुदमा भाग लिने उम्मेदवारहरूले गर्ने जोडदार प्रशिक्षणलाई यहाँ पावलले सङ्‌केत गरिरहेका थिए र यस कुरासित कोरिन्थका मसीहीहरू राम्ररी परिचित थिए।

९, १०. (क) यिस्थिमी खेल-कुदमा भाग लिने खेलाडीहरूको वर्णन एउटा स्रोतले कसरी गरेको छ? (ख) यो वर्णनमा कुन कुरा विशेषरूपमा विचारणीय छ?

९ त्यो प्रशिक्षणको एउटा ज्वलन्त वर्णन यस प्रकार छ: “चुपचाप, केही गनगन नगरीकन, तिनी दश महिनाभरि प्रशिक्षणका नियमहरू र प्रतिबन्धहरू पालन गर्न मञ्जुर गर्छन्‌। यो प्रशिक्षण बिना त तिनले प्रतियोगितामा भाग नलिए पनि हुन्छ। आफूले अनुभव गर्नु परेका सानुतिनु कठिनाइहरू, थकान र परहेजमा तिनी गौरव गर्छन्‌। आफ्नो सफलतामा अलिकता पनि बाधा पुर्‌याउन सक्ने हर कुराबाट आफूलाई अलग्ग राख्नुमा तिनले घमण्ड गर्दछन्‌। आफू थाकेर स्वाँस्वाँ भएको बेलामा अरूहरू चाहिं आराम गरिरहेका, मनपरी खाइरहेका, मजासित नुहाइ रहेका, रमाइलो मानी रहेका तिनले देख्तछन्‌; तर यी सबै देख्ता तिनलाई हतपत डाह लाग्दैन। तिनको हृदयमा पुरस्कार पाउने कुराबाहेक अरू केही हुँदैन। र पुरस्कार प्राप्त गर्नका लागि कडा परिश्रम न गरी हुँदैन। तिनले अनुशासनको कठोरतामा कुनै दिन अथवा केही समयका लागि मात्र पनि ढिला-सुस्ती गऱ्‍यो भने, तिनको जित्ने सम्भावना खत्तम हुनेछ भनेर तिनलाई राम्ररी थाह छ।”—दी एक्सपोजिटर्स बाइबल (The Expositor’s Bible) खण्ड ५, पाना ६७४.

१० यहाँ विशेष चासोको कुरा के हो भने, यो प्रशिक्षण लिने व्यक्‍तिले यस प्रकारको कठिन आत्म-त्यागी पद्धति अपनाउनमा “घमण्ड गर्दछन्‌।” वास्तवमा, अरूहरूले अनुभव गरिरहेका सुख-चैन देखेर “तिनलाई हतपत डाह लाग्दैन।” के हामी यसबाट केही सिक्न सक्‍तछौं? निश्‍चय नै सिक्न सक्छौं।

११. जीवनको दौडमा लागेको बेलामा हामी कुन अनुचित दृष्टिकोणबाट बच्नु पर्दछ?

११ येशूका यी शब्दहरूलाई सम्झनु होस्‌: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्‌याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्‌। किनभने त्यो ढोका साँघुरो हुन्छ, जसले चाहिं जीवनमा पुर्‌याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्‌।” (मत्ती ७:१३, १४) तपाईंले ‘साँघुरो ढोकाबाट’ हिंड्‌ने प्रयास गर्नु हुँदा त्यो अर्को बाटोमा हिंड्‌ने मानिसहरूले निकै नै स्वतन्त्रता र आराम अनुभव गरिरहेको जस्तो तपाईंलाई लाग्न सक्‍तछ। के यो देखेर तपाईंलाई डाह लाग्छ? तिनीहरूले गरिरहेका जम्मै कुराहरू सायद खराब नहोलान्‌। आफूले ती गर्न नपाएकोमा के तपाईंलाई थकथकी लाग्छ? यो बाटोमा हामी किन हिंडिरहेका छौं भन्‍ने कुरालाई मनमा राखेनौं भने यस प्रकारको विचार सजिलैसित उत्पन्‍न हुन सक्‍तछ। “अब तिनीहरूचाहिं नाश हुने मुकुट पाउनालाई तर हामी चाहिं नाश नहुने मुकुट पाउनालाई यसो गर्दछौं” भनेर पावलले भने।—१ कोरिन्थी ९:२५-को दोस्रो भाग.

१२. मानिसहरूले खोजेको मान र महिमा यिस्थिमी खेलकुदमा प्रदान गरिने नाशवान मुकुट जस्तै हो भनेर किन भन्‍न सकिन्छ?

१२ यिस्थिमी खेल-कुदमा जित्ने खेलाडीले यिस्थिमी धूपी अथवा यस्तै कुनै बिरुवाका पातहरू बाटेर बनेको एउटा मुकुट पाउँथ्यो। यस प्रकारको मुकुट केही दिन अथवा हप्ता पछि नै ओइल्याइ हाल्थ्यो। निश्‍चय नै, यो ओइल्याइ जाने एउटा मुकुटका लागि मात्र ती खेलाडीहरूले प्रतियोगितामा भाग लिएको हुन सक्‍तैन। बरु, त्यसका साथसाथै पाइने यश, सम्मान र ख्यातिका लागि तिनीहरूले खेलमा भाग लिन्थे। एउटा स्रोतअनुसार, जित्ने खेलाडी घर फर्केर आउँदा तिनलाई कुनै युद्धमा विजय प्राप्त गरेर आउने वीर पुरुषलाई झैं स्वागत गरिन्थ्यो। तिनको स्वागत जुलुसलाई अघि बढ्‌न दिनका लागि अक्सर शहरका पर्खालहरू भत्काउने गर्थे र जित्ने खेलाडीको सम्मानमा सालिकहरू खडा गरिन्थ्यो। तर यी सबै गरेर पनि, तिनीहरूको यश नाशवान नै थियो। ती जित्ने शूरवीरहरू को थिए, आज थोरैलाई मात्र थाह छ, र धेरै जसोले ता त्यस विषयमा चासो पनि लिंदैनन्‌। संसारमा शक्‍ति, यश र धन प्राप्त गर्नका लागि आफ्नो समय, बल, स्वास्थ्य र पारिवारिक आनन्द समेत त्याग्ने व्यक्‍तिहरू परमेश्‍वरको नजरमा चाहिं धनी हुँदैनन्‌ र तिनीहरूको भौतिक “मुकुट” पनि तिनीहरूको जीवन सरह बितेर जान्छ।—मत्ती ६:१९, २०; लूका १२:१६-२१.

१३. जीवनको दौडमा दौडिने व्यक्‍ति र एउटा खेलाडीको जीवन पद्धतिमा के भिन्‍नता हुन्छ?

१३ खेल-कुदको प्रतियोगितामा भाग लिनेहरू उक्‍त उल्लेखित कठिन प्रशिक्षण स्वीकार गर्न इच्छुक होलान्‌, तर सीमित समयका लागि मात्र। प्रतियोगिता समाप्त भइ सकेपछि तिनीहरू एउटा साधारण जीवनशैली तर्फ लाग्छन्‌। आफ्नो सीप कायम राख्नका लागि तिनीहरूले अझै समय समयमा प्रशिक्षण लिने गर्लान्‌, तर अर्को प्रतियोगितामा भाग लिने बेला नआउँञ्जेलसम्म सायद तिनीहरूले आत्म-त्यागको त्यही कठिन प्रशिक्षण कार्यक्रमको अनुसरण गर्दैनन्‌। जीवनको दौडमा लागेकाहरूले चाहिं यस्तो गर्न मिल्दैन। प्रशिक्षण र आत्मत्यागको भाव ता यिनीहरूको जीवन पद्धतिसित गाँसिएको हुनुपर्दछ।—१ तिमोथी ६:६-८.

१४, १५. जीवनको दौडमा भाग लिने खेलाडीले हरबखत संयम किन गरिरहनु पर्दछ?

१४ ख्रीष्टले आफ्ना चेलाहरूका साथसाथै अरूहरू पनि भेला भएको बेलामा यसो भन्‍नुभयो: “कोही मानिस मपछि लाग्न इच्छा गर्दछ भने, त्यसले आफूलाई इन्कार गरोस्‌, (अथवा चार्लस बी. विल्यम्स-को अनुवादअनुसार “त्यसले आफूलाई नकार्नु सकोस्‌”) आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्‌।” (मर्कूस ८:३४) यो निम्तो स्वीकारे पछि हामी यसमा “निरन्तर लागि रहन” तयार हुनपर्दछ। आत्मत्यागको भाव राख्नु एउटा असलै कुरा हो भनेर होइन तर एक छिनको लापरवाही अथवा एउटा गलत फैसलाद्वारा अझसम्म गरिएका सबै कुरा भताभुङ्‌ग हुन सक्‍तछ भनेर नै हो। हाम्रो अनन्त भलाइसमेत जोखिममा पर्न सक्छ। आध्यात्मिक प्रगति गर्न साधारणतया धेरै समय लाग्न सक्‍तछ। तर हामी हरबखत होसियार भएनौं भने आजसम्म गरिएको सबै प्रगति तुरुन्तै मेटिन सक्छ!

१५ अझ हामीले “सब विषयमा” संयम गर्नु पर्दछ भनेर पावलले आग्रह गरे। यसको अर्थ हामीले जीवनको हर क्षेत्रमा सधैं नै संयम गर्नुपर्दछ। यो उचित पनि हो, किनभने प्रशिक्षण लिने व्यक्‍ति छाडा भयो अथवा अनियन्त्रित ढङ्‌गमा जीवन बिताउने गर्‌यो भने उसले त्यतिका शारीरिक दुःख-कष्ट भोगेको निरर्थक हुनेछ, होइन र? हाम्रो जीवनको दौडमा पनि त्यस्तै हो। हामीले सबै कुरामा संयम गर्नुपर्दछ। कुनै एउटा व्यक्‍तिले मतवालापन अथवा व्यभिचार सम्बन्धी कुराहरूमा संयम गर्लान्‌। तर यदि तिनी अहङ्‌कारी र झगडालु छन्‌ भने यसको केही मोल हुँदैन। अथवा तिनी अरूहरू प्रति धीरजवन्त र दयालु होलान्‌ तर आफ्नो व्यक्‍तिगत जीवनमा चाहिं गुप्त रूपमा कुनै पाप गरिरहेका छन्‌ भने नि? संयम पूर्णरूपले लाभदायक हुनका लागि त्यसको प्रयोग जीवनको “हर क्षेत्रमा” हुनु पर्दछ।—याकूब २:१०, ११ सित तुलना गर्नुहोस्‌।

दौडनुहोस्‌ तर “बेताकसित होइन”

१६. “बेताकसित” नदौडिनुको अर्थ के हो?

१६ जीवनको दौडमा सफल हुनका लागि निकै नै बल गरेर प्रयास गर्नु परेको हुनाकारण पावलले भने: “यसकारण म यसरी दगुर्दछु, बेताकसित होइन, म यसरी मुक्का लडदछु, केवल हावामा हान्‍ने जस्तो होइन।” (१ कोरिन्थी ९:२६) “बेताकसित” भन्‍ने शब्दको शाब्दिक अर्थ “अप्रत्यक्ष रूपमा” (किंङ्‌गडम इन्टर्‌लिन्यर, नेपालीमा उपलब्घ छैन।), “अदृश्‍य ढङ्‌गमा, अनिश्‍चित रूपमा” हो। (लेंग्स कमेन्टरी, नेपालीमा उपलव्ध छैन।) यसकारण, “बेताकसित” नदौडनुको अर्थ दगुर्ने मानिस कतातिर दगुर्दैछ भन्‍ने कुरा दर्शकहरूका निम्ति प्रत्यक्ष हुनु हो। दी एंकर बाइबल-ले यो शब्दलाई “बाङ्‌गो टिङ्‌गो मार्गमा होइन” भनेर अनुवाद गरेको छ। तपाईंले समुद्री किनारको बालुवामाथि कुनै मानिसको पाइलाका चिन्हहरू कहिले उँभोतिर, कहिले उँधो, कहिले एकै ठाउँमा फनफनी घुमिरहेको र कहिले पछाडितिर लागेको पनि देख्नु भयो भने त्यो मानिस दौडनु त कता हो कता, आफू जान लागेको ठाउँ समेत तिनलाई थाह छैन रहेछ भन्‍ने निष्कर्षमा तपाईं पुग्नु हुनेछ। तर यसको सट्टामा पाइलाका चिन्हहरू नियमित रूपमा, लामो र सोझो रेखा बन्दै गइरहेको देख्नु भयो भने निश्‍चयनै यी पाइलाहरू एउटा यस्तो मानिसको हुनु पर्दछ जसलाई आफू जाने ठाउँ राम्रोसित थाह छ भनी तपाईं ठान्‍नु हुन्छ।

१७. (क) तिनी “बेताकसित” दौडेका थिएनन्‌ भनेर पावलले कसरी व्यक्‍त गरे? (ख) यस मामिलामा हामीले पावलको अनुसरण कसरी गर्न सक्‍तछौं?

१७ पावल “बेताकसित” दौडेका थिएनन्‌ भन्‍ने कुरा तिनको जीवन शैलीबाट स्पष्टसित देख्न सकिन्छ। तिनी एक जना मसीही सेवक र प्रेरित थिए भनेर पुष्टि दिन तिनीसँग प्रशस्त प्रमाण थियो। तिनको एउटै लक्ष्य थियो र त्यसलाई प्राप्त गर्न तिनले सारा जीवन सङ्‌घर्ष गरे। ख्याति, शक्‍ति, धन अथवा सुख-सुविधा जस्ता कुराहरूको कारण तिनी कहिले पनि आफ्नो लक्ष्यबाट ढलपल भएनन्‌। तथापि आफूले चाहेको खण्डमा, उक्‍त कुराहरू तिनले प्राप्त गर्न सक्ने थिए। (प्रेरित २०:२४; १ कोरिन्थी ९:२; २ कोरिन्थी ३:२, ३; फिलिप्पी ३:८, १३, १४) तपाईंले फर्केर आफ्नो बितेको जीवन हेर्नु हुँदा पाइलाहरूको कस्तो रेखा देख्नु हुन्छ? निश्‍चित दिशातर्फ गइरहेको एउटा सोझो रेखा कि कुनै लक्ष्य बिना घुमिरहेको बाङ्‌गो-टिङ्‌गो धर्सो? जीवनको दौडमा तपाईं सङ्‌घर्ष गरिरहनु हुँदैछ भन्‍ने कुरा के प्रत्यक्ष देख्न सकिन्छ? हामी सित्तैंमा यस दौडमा सामेल भएका होइनौं भन्‍ने कुरा सम्झी राख्नु होस्‌। लक्ष्यसम्म पुग्नका लागि हामी यसमा सामेल भएका हौं।

१८. (क) हामीले के गर्‌यौं भने चाहिं “हावामा हानेको” सरह हुनेछ? (ख) त्यसो गर्नु किन अति नै खतरनाक हो?

१८ एउटा अर्कै खेलकुदसित समानान्तर कोर्दै पावलले अझ यसो पनि भने: “म यसरी मुक्का लड्‌दछु, केवल हावामा हान्‍ने जस्तो होइन।” (१ कोरिन्थी ९:२६ख) जीवनको यो दौडमा हामीले शैतान, यो संसार र हाम्रा आफ्नै असिद्धता समेत अन्य धेरै शत्रुहरूको सामना गर्नु पर्दछ। प्राचीन समयको एक जना मुक्केबाजले झैं हामीले राम्रोसित ताकेर हानेका मुक्काहरू द्वारा यी शत्रुहरूलाई पराजित पार्न सक्नु पर्दछ। तर यसमा आनन्दको कुरा के हो भने, यो भिडन्तमा यहोवा परमेश्‍वरले हामीलाई प्रशिक्षणका साथसाथै मद्दत दिनुहुन्छ। उहाँले आफ्नो वचन बाइबलमा आधारित साहित्यहरू, र मसीही सभाहरू द्वारा सरसल्लाह दिने गर्नुहुन्छ। तथापि, हामीले बाइबल र साहित्यहरू पढ्‌ने र सभाहरूमा धाउने गर्‌यौं, तर सिकेका कुराहरू व्यवहारमा चाहिं ल्याएनौं भने के हामीले ‘केवल हावामा हान्दै’ आफ्नो प्रयास खेर फालेको होइन र? यसो गर्दा हामी ठूलो खतरामा पर्दछौं। एकातिर हामी सङ्‌घर्ष गरिरहेका छौं भनी ठान्दै आफूलाई झूटो दिलासा दिन सक्छौं जब कि हामीले आफ्ना शत्रुहरूलाई जितेका चाहिं हुने छैनौं। यसैकारण, चेला याकूबले यो उपदेश दिए: “तर वचन पालन गर्ने होओ। आफैलाई धोका दिएर सुन्‍ने मात्र होइन।” जसरी “हावामा” हानेका मुक्काहरू द्वारा हामीले आफ्ना शत्रुहरूलाई पछार्न सक्‍तैनौं, त्यसरी नै वचन “सुन्‍ने मात्र” भएर हामीले परमेश्‍वरको इच्छा गरेका हुन सक्‍तैनौं।—याकूब १:२२; १ शमूएल १५:२२; मत्ती ७:२४, २५.

१९. हामी कुनै हालतमा पनि इन्कार नहुनका लागि के गर्न सक्‍तछौं?

१९ अन्तमा, पावलले आफ्नो सफलताको कुञ्जी हामीलाई यस प्रकार बताएका छन्‌: “तर म आफ्नो शरीरलाई कुट्‌छु, र वशमा ल्याउँछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिं इन्कार गरिनेछु।” (१ कोरिन्थी ९:२७) पावलले झैं, हामीले पनि आफ्नो असिद्ध शरीरलाई वशमा ल्याउन सक्नु पर्छ। हामी शरीरको वशमा आउनु भएन। हामीले शारीरिक झुकावहरू, आकाङ्‌क्षाहरू र अभिलाषाहरूलाई जरैसमेत उखेलेर फाल्नु पर्छ। (रोमी ८:५-८; याकूब १:१४, १५) यसो गर्न एउटा दुःखदायी अनुभव हुन सक्छ, किनभने यहाँ “वशमा ल्याउँछु” भनेर अनुवाद गरिएको शब्दको शाब्दिक अर्थ ‘आँखामनि हान्‍नु’ हो। (किंङ्‌गडम इन्टर्‌लिन्यर) र वास्तवमा, असिद्ध शरीरको अभिलाषाहरूमा फँसेर मर्नुभन्दा त सुन्‍निएको आँखा लिएर बाँच्नु धेरै नै असल हो, होइन र?—मत्ती ५:२८, २९; १८:९; १ यूहन्‍ना २:१५-१७ तुलना गर्नुहोस्‌.

२०. हामी जीवनको दौडमा कसरी दौडी रहेका छौं भनी जाँच गर्न विशेष गरी अहिले किन अत्यावश्‍यक छ?

२० आज हामी दौडको लक्ष्यसम्म पुग्नै लागेका छौं। पुरस्कार दिइने समय नजिकै छ। अभिषिक्‍त मसीहीहरूले “ख्रीष्ट येशूमा परमेश्‍वरको माथिको बोलावटको पुरस्कार” पाउनेछन्‌। (फिल्लिपी ३:१४) ठूलो भीडकाहरूले चाहिं एउटा पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउनेछन्‌। यतिका धेरै कुरा विथोलित भएको हुनाकारण, हामीलाई “इन्कार” नगरिओस्‌ भनेर हामी पनि पावलले झैं दृढ संकल्प गरौं। हामी सबैले नै यो नसिहतलाई हृदयङ्‌गम गरौं: “त्यसरी नै दगुर र पुरस्कार पाओ।”—१ कोरिन्थी ९:२४, २७. (w92 8/1)

के तपाईंलाई सम्झना छ?

◻ एक जना मसीहीको जीवनलाई एउटा दौडसित तुलना गर्नु किन उचित हो?

◻ जीवनको दौड र एउटा साधारण दौड बीच के भिन्‍नता छ?

◻ हामीले हरबखत र “सबै कुरामा” संयम किन प्रयोग गर्नु पर्दछ?

◻ “बेताकसित” नदौडिनुको अर्थ के हो?

◻ ‘हावामा हान्‍नु’ किन खतरनाक हो?

[पृष्ठ १६-मा भएको चित्र]

महसुर खेलाडीको मुकुट र तिनले पाएका यश र मान सबै ओइलाएर जाने कुराहरू हुन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने