युवा जनहरू सोध्छन् . . .
मैले आत्मरक्षाका जुक्तिहरू सिके कसो होला?
जेस्सी भन्छन्, “हाम्रो स्कूलमा एउटा असाध्यै बदमास डफ्फा छ। यदि तपाईंले तिनीहरूलाई स्कूलको मटानमा भेट्नुभयो र तिनीहरूलाई तपाईंको जुत्ता, ज्याकेट तथा पाइन्ट मनपऱ्यो भने त्यो खोस्छन्। तपाईंले यसबारे कसैलाई उजुर गर्नुभयो भने तपाईंलाई फेरि आक्रमण गर्नेछन्।”
थुप्रै जवानहरूको लागि हिंसा भनेको दाल भातजस्तै सामान्य कुरा भइसक्यो। यूएसए टुडे पत्रिकाले यसो भन्यो: “उच्च माध्यमिक विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थीहरूमध्ये एक जनाले सधैंजसो बन्दुक, चक्कु, रेजर वा अन्य हातहतियार बोक्ने गर्छन्। धेरैले यस्ता मालतालहरू स्कूलमा लैजान्छन्।” हाइरो नामक किशोरले यस्तो परिस्थिति अनुभव गरिसकेका छन्। तिनी भन्छन्, “[न्यु योर्क शहरमा] हाम्रो स्कूलले सबैभन्दा पहिले धातु सूचक यन्त्र जडान गरेको थियो। तर त्यसले केटाकेटीहरूलाई स्कूलमा छुरा र बन्दुकहरू ल्याउनदेखि रोक्दैन। तिनीहरूले स्कूलभित्र कसरी ल्याउँछन् त्यो त मलाई थाह छैन तर ल्याउन चाहिं ल्याउँछन्।”
यसकारण आफू आक्रमणको शिकार हुनसक्ने खतराबाट जोगिने उपायहरूबारे सोच्न जवानहरू बाध्य हुनुको कारण बुझ्न सक्छौं। जवान लोला यसप्रकार वर्णन गर्छिन्: “मेरो स्कूलमा एउटी केटीको झुम्काहरू लुट्न छुरा प्रहार गरेर हत्या गरेपछि हाम्रो स्कूलमा आत्मरक्षासम्बन्धी कक्षाहरू थालियो। प्रायः सबैजसो त्यो कक्षामा सामेल भए।” अन्य जवानहरूले रासायनिक झोल तथा अन्य प्रकारका हतियारहरू बोक्न थाले। तर प्रश्न उठ्छ, के आत्मरक्षाका जुक्तिहरूले तपाईंको साँच्चै सुरक्षा हुन्छ?
मार्सल आर्ट
मार्सल आर्टमा निपुण व्यक्तिहरूले एक नर्तकीले जस्तै शोभायमान ढंगमा हावामा कलाबाज गर्दै मुक्का र लात प्रहार गरेका दृश्यहरू टिभी-मा प्रायजसो देखाइन्छ। छिनभर मै गुन्डाहरू भुइँमा लम्पसार परिसकेका हुन्छन्। अचम्मलाग्दो! मार्सल आर्ट नै जीवनको निम्ति अत्युत्तम उपायजस्तो देखिन्छ। तर वास्तवमा जीवन चलचित्रहरूमा देखाइए जस्तो हुँदैन। करातेमा निकै अनुभवी एक जना मानिसले यसो भने: “एउटा गोली काफी हुन्छ। तपाईं अगाडि उभिएको मानिससित बन्दुक छ भने तपाईंले बाँच्ने आशै नगरे हुन्छ। तपाईं चलहल गर्न नमिल्ने किसिमले कुचमुचिनु भएको छ भने पनि मार्सल आर्ट त्यतिको प्रभावकारी हुन सक्दैन।”
यो पनि नबिर्सनुहोस्, मार्सल आर्टमा निपुण हुन त्यो व्यक्तिले धेरै पैसा खर्च गर्नुपर्छ र निकै वर्षसम्म कडा प्रशिक्षण गर्नुपर्छ। अनि लगातार प्रशिक्षण गर्नुभएन भने ती कलापूर्ण चालहरू तपाईंले चालै नपाइकन बेकाम भइसकेको हुनसक्छ। मुक्केबाजीजस्ता अन्य प्रकारका आत्मरक्षाका जुक्तिहरू पनि यस्तै हुन्छ। त्यसबाहेक, मुक्केबाज भनेर नाउँ कमाउनुभएको छ भने अरूको अनावश्यक ध्यानाकर्षण हुन्छ। तपाईंसित झगडा गर्नु एउटा चुनौती ठानेर छुल्याहाहरूले निहुँ खोज्न सक्छन्।
तथापि, मार्सल आर्ट सिक्नुमा ठूलो खतरा छ। दी इकोनोमिस्ट पत्रिकाले हालै यस्तो रिपोर्ट गऱ्यो: “अधिकांश मार्सल आर्टको सम्बन्ध पूर्वी एसियाका तीन प्रमुख धर्महरूसित छ। ती हुन्, कन्फ्युशियन, टाओ र बौद्ध।” अर्को पुस्तकले यसो भन्छ: “करातेका प्रत्येक चाल, प्रत्येक भावना जेन धर्मको कुनै न कुनै सिद्धान्तसित गाँसिएको हुन्छ।” जेन भनेको बौद्ध धर्मको एउटा गुट हो र यसले धार्मिक मननमाथि जोड दिन्छ। बाइबलका शब्दहरूलाई ध्यानमा राख्दा यी धार्मिक स्रोतहरूले मसीहीहरूलाई गम्भीर चुनौती प्रदान गर्छ। २ कोरिन्थी ६:१७ मा यसो भनिएको छ: “यसकारण ‘तिनीहरूका [झूटा उपासकहरू] बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ।’ परमप्रभु भन्नुहुन्छ, औ अशुद्ध कुरो नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।”
हतियारहरूको प्रयोग
तर, बन्दुक वा चक्कु भिरेर हिंड्ने सम्बन्धमा के भन्न सकिन्छ? निस्सन्देह, त्यसो गर्दा तपाईं निर्धक्क महसुस गर्नुहुन्छ होला। तर तपाईंले अनावश्यक खतरा मोल्न वा निहुँ खोज्न थाल्नुभयो भने तपाईंको निर्धक्कता खतरनाक साबित हुनसक्छ। बाइबलले यस्तो चेताउनी दिन्छ: “मानिसले दुष्ट काम गर्न खोज्यो भने त्यो त्यसकै शिरमा आइलाग्छ।” (हितोपदेश ११:२७) अनि अप्रत्याशित समस्यासित मुठभेड हुँदा हातहतियार झिक्नुभयो भने विवाद झनै चर्किन्छ। तपाईं मारिन सक्नुहुन्छ—वा तपाईंले अरू कसैलाई मार्न सक्नुहुन्छ। तपाईं त्यस्तो हिंसात्मक कार्यबाट जोगिन सक्नुभएको भए जीवनको स्रोत अर्थात् परमेश्वरले तपाईंलाई कस्तो दृष्टिकोणले हेर्नुहुन्छ होला?—भजन ११:५; ३६:९.
हो, केहीले जानाजानी घातक शक्ति प्रयोग गर्ने विचार गरेका हुँदैनन्। तिनीहरूले भन्लान्, हैरान गर्नेहरूलाई भगाउन मात्र हातहतियार बोकेका हौं। तर हेल्थ पत्रिकाले यसो भन्छ: “बन्दुकहरू प्रयोग गर्न सिकाउने प्रशिक्षकहरू यो कुरामा सहमत छन्: बन्दुक चलाउने विचार छैन भने नबोक्नुहोस्। अरूलाई तर्साउन बन्दुक घुमाउँदा केही आक्रमणकारीहरू भाग्लान् तर अरू भने झनै आक्रोशित हुन सक्छन्।”
त्यसको दाँजोमा “सुरक्षित” ठानिने रासायनिक झोलजस्ता हतियारहरूबारे के भन्न सकिन्छ? यसलाई केही ठाउँहरूमा अवैध घोषित गरिनुको साथै यसका घातक दुर्गुनहरू छन्। यसले लागू पदार्थको दुर्व्यसनी आक्रमणकारीलाई निष्फल तुल्याउनुको साटो झनै आक्रोशित बनाउन सक्छ। शायद यसो पनि हुनसक्छ, आक्रमणकारीलाई रासायनिक पदार्थ पर्नुको साटो हावाले गर्दा त्यो तपाईंकै अनुहारमा छ्यापिनसक्छ। अर्को कुरा तपाईंले बेलैमा त्यसलाई निकाल्न सक्नु पऱ्यो। तपाईंले अन्धाधुन्ध आफ्नो खल्ती वा झोला खोतलिरहनुभएको देखेर आक्रमणकारीले तपाईं बन्दुक खोज्दैहुनुहुन्छ भन्ने अनुमान लगाएर आक्रामक कदम चाल्नसक्छ। यसबारे एक प्रहरी गुप्तचरले यस्तो टिप्पणी गरिन्: “रासायनिक पदार्थ वा अन्य प्रकारका हतियारहरू उपयोगी हुन्छन् नै भन्ने कुनै ग्यारेन्टी छैन। वा तपाईंले त्यो बेलैमा निकाल्न सक्नुहुनेछ भनेर पनि भन्न सकिंदैन। हातहतियारहरूको प्रयोगले परिस्थिति कहिल्यै सुध्रिंदैन। मानिसहरू हतियारहरूमा असाध्यै भर पर्छन्।”
हातहतियारहरूप्रति ईश्वरीय दृष्टिकोण
येशूको समयमा साँच्चै नै हिंसाको खतरा थियो। असल सामरीबारे प्रख्यात उदाहरणमा उहाँले हिंसात्मक लुटपिटसित सम्बन्धित एउटा घटना बताउनुभयो। (लूका १०:३०-३५) येशूले आफ्ना चेलाहरूलाई तरवार बोक्ने आदेश दिनुभएको सुरक्षाको लागि थिएन। वास्तवमा, उहाँले यो सिद्धान्त बताउनुभयो: “तरवार लिनेहरू सबै जना तरवारैले नष्ट हुनेछन्।”—मत्ती २६:५१, ५२; लूका २२:३६-३८.
तसर्थ, साँचो मसीहीहरूले आफ्ना संगी मानवहरूलाई घात पुऱ्याउन हातहतियार बोक्दैनन्। (यशैया २:४ तुलना गर्नुहोस्।) तिनीहरूले रोमी १२:१८ मा उल्लिखित बाइबलको सल्लाह पालन गर्छन्: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।” के यसको अर्थ निस्सहाय भएर बस्नु हो? पटक्कै होइन!
बुद्धि—हातहतियारभन्दा उत्तम
हरेक कामकुरा गर्न उपकरणहरू भएको युगमा आफ्नो आत्मरक्षाको लागि कुनै मानव निर्मित उपकरणभन्दा प्रभावकारी हतियार उपलब्ध छ भनी थाह पाउँदा छक्कै पर्नु होला। उपदेशक ९:१८ मा यस्तो लेखिएको पाउँछौं: “युद्धका हातहतियारभन्दा बुद्धि असल हो।” यो बुद्धि “सडकमा देखाइने चलाखी” जस्तो चाहिं होइन। यो बाइबल सिद्धान्तहरू प्रयोग गर्दा प्राप्त हुने बुद्धि हो र यसले तपाईंलाई हिंस्रक परिस्थितिहरूबाट जोगिन मदत दिनसक्छ।
उदाहरणको लागि, माथि आफ्नो हिंसात्मक स्कूलबारे वर्णन गर्ने हाइरोलाई लिनुहोस्। बाइबलमा १ थिस्सलोनिकी ४:११ मा दिइएको सिद्धान्तलाई पालन गरेर तिनी जोखिमबाट टाढै बस्छन्। त्यहाँ यसो भनिएको छ: “चूपचाप रहन, तिमीहरूको आफ्नो आफ्नो काम गर्न, . . . प्रयत्न गर।” हाइरो यसो भन्छन्: “झगडा सुरु होला जस्तो छ भने त्यसमा ध्यानै नदिइ सरासर घर जानुहोस्। कोही चाहिं त्यहीं रुमलिन्छन् अनि जोखिममा फस्छन्।”
जवान लोला यसो भन्छिन्, “आफू यहोवाको साक्षी हो भनेर सबैलाई थाह दिनु नै मेरो निम्ति सर्वोत्तम सुरक्षा हो। तिनीहरूको लागि म कुनै खतरा होइन भनी थाह पाएपछि तिनीहरूले मलाई दुःख दिंदैनन्।” एलिउ अझै यसो भन्दै थप्छन्, “आफू यहोवाको साक्षी हुँ भनेर भन्नु मात्र पर्याप्त हुँदैन। तपाईं अरूभन्दा भिन्दै हुनुहुन्छ भनेर तिनीहरूलाई प्रष्ट हुनुपर्छ। मसीहीहरू “संसारको भाग” हुनु हुँदैन। (यूहन्ना १५:१९) तर आफू श्रेष्ठ छु भन्ने मनोवृत्ति देखाउनदेखि होशियार हुनुहोस्। (हितोपदेश ११:२) एक जवानले यसरी व्यक्त गरे: “आफ्नै घरजस्तो गरी स्कूलभित्र तडकभडक देखाएर नहिंड्नुहोस्।” यसले अरूलाई रीस उठाउनसक्छ। लुची नाउँकी एक मसीही यसरी वर्णन गर्छिन्: “म मित्रैलो छु र आफ्ना सहपाठीहरूसित कुराकानी गर्छु; केवल तिनीहरूजस्तो व्यवहार गर्दिनँ।”
तपाईंको पहिरनले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। एक जवान यसरी बताउँछन्, “अरूको ध्यानाकर्षण हुने खालका लुगाहरू म सकेसम्म लगाउँदिनँ। राम्रो देखिनको लागि महँगो लुगा नै लगाउनुपर्छ भन्ने पनि छैन।” भद्र पहिरन लगाउने सन्दर्भमा बाइबलको सल्लाह पालन गर्दा तपाईं अरूभन्दा टड्कारै छुट्टिनुहुन्न र जोखिमबाट जोगिनुहुन्छ।—१ तिमोथी २:९.
हिंसा सामना गर्नुपर्दा
तर तपाईंले समस्याबाट अलग बस्ने प्रयास गर्नु हुँदाहुँदै पनि हिंसा सामना गर्नुपऱ्यो भने नि? सर्वप्रथम हितोपदेश १५:१ मा दिइएको यो सिद्धान्तलाई पालन गर्ने प्रयास गर्नुहोस्: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ, तर नमीठो वचनले रीस उठाउँछ।” जवान एलिउले स्कूलमा छँदा त्यसै गरे। तिनी यसो भन्छन्: “कहिलेकाहीं ती आक्रामक शब्दहरूलाई नसुने झैं गर्दा मात्र पनि समस्या सुल्झिन्छ। समस्या चर्किनु वा साम्य हुनु प्रायजसो तपाईंको प्रतिक्रियामा निर्भर गर्छ।” “खराबको बदला खराब” गर्न इन्कार गरेर तपाईंले परिस्थितिलाई अनियन्त्रित हुनदेखि जोगाउन सक्नुहुन्छ।—रोमी १२:१७.
तथापि, यस्तो कूटनीति विफल हुँदा तपाईंले आफूलाई जोगाउन कदम चाल्नैपर्छ। यदि किशोरहरूको समूहले तपाईंको जुत्ता वा अन्य बहुमूल्य चीजहरू माग्यो भने दिइ हाल्नुहोस्! ती कुराहरूभन्दा तपाईंको जीवन कता हो कता बहुमूल्य छ। (लूका १२:१५) हिंसात्मक कार्य होला जस्तो छाँटकाँट छ भने भागी हाल्नुहोस्। दौडनुभयो भने अझ बेस! हितोपदेश १७:१४ ले यसो भन्छ: “[झगडा] बढ़नअघिनै [त्यहाँबाट निस्क]।” (लूका ४:२९, ३० तुलना गर्नुहोस्; यूहन्ना ८:५९) यदि त्यहाँबाट भाग्न असम्भव छ भने यथासम्भव आफ्नो सुरक्षा गर्नुबाहेक अर्को विकल्प हुँदैन। पछि त्यस घटनाबारे आफ्ना आमाबाबुहरूलाई बताउन नबिर्सनुहोस्। शायद उहाँहरूले कुनै तरिकाद्वारा तपाईंको मदत गर्न सक्नुहुन्छ।
बाइबलले भविष्यवाणी गरेजस्तै हामी हिंस्रक समयमा बाँचिरहेका छौं। (२ तिमोथी ३:१-५) तर बन्दुक तेर्साउँदैमा वा कराते सिक्दैमा तपाईं सुरक्षित हुन सक्नुहुन्न। चनाखो हुनुहोस्। समस्या सामना गर्नुहुँदा ईश्वरीय बुद्धि प्रयोग गर्नुहोस्। मुख्यतः, यहोवामाथि आफ्नो विश्वास र भरोसा राख्नुहोस्। भजनरचयिताले जस्तो तपाईं निर्धक्क भएर प्रार्थना गर्न सक्नुहुन्छ: “अत्याचारी मानिसहरूबाट तपाईंले मलाई छुटाउनुहुन्छ।”—भजन १८:४८.
[पृष्ठ १३-मा भएको चित्र]
मार्सल आर्ट मसीहीहरूको लागि होइन