अध्याय १६
कुन कुरा साँच्चै महत्त्वपूर्ण छ?
यो मान्छेको समस्या के थियो?
एक दिनको कुरा हो, येशूलाई भेट्न एक जना मान्छे आयो। उहाँ धेरै बुद्धिमान् हुनुहुन्छ भनी थाह भएकोले उसले उहाँलाई यसो भन्यो: ‘गुरुज्यू, मेरो दाइलाई ऊसँग भएको केही सम्पत्ति मलाई दिन भनिदिनुहोस्।’ त्यो मान्छेको विचारमा आफ्नो दाइसित भएको केही सम्पत्ति उसले पाउनुपर्थ्यो।
तिमी येशू भएको भए के भन्थ्यौ?— त्यो मान्छेमा एउटा समस्या भएको येशूले देख्नुभयो। उसको समस्या भनेको उसलाई आफ्नो दाइको सम्पत्ति चाहिएको थिएन। बरु समस्या भनेको साँच्चै महत्त्वपूर्ण कुरा के हो, त्यो उसले बुझ्न नसक्नु थियो।
अब त्यसबारे हामी विचार गरौं है! हामीले कुन कुरालाई सबैभन्दा महत्त्वपूर्ण ठान्नुपर्छ? राम्रा-राम्रा खेलौना, नयाँ-नयाँ लुगा वा यस्तै अरू कुरालाई हो कि?— होइन, यी कुराहरूभन्दा पनि अझै महत्त्वपूर्ण कुराहरू छन्। येशू यही पाठ सिकाउन चाहँदै हुनुहुन्थ्यो। त्यसैले परमेश्वरलाई बिर्सने एउटा मानिसको उहाँले कथा सुनाउनुभयो। के तिमी त्यो कथा सुन्न चाहन्छौ?—
येशूले सुनाएको कथाको मानिस धेरै धनी थियो। उसको जग्गाजमिन र अन्नका भण्डारहरू थियो। उसले लगाएको बाली निकै राम्रो भयो। त्यो राख्न ऊसित ठाउँ नै भएन। उसले के गऱ्यो? उसले मनमनै यस्तो सोच्यो: ‘म मेरो भण्डार भत्काउँछु अनि अझै ठूलो बनाउँछु र मेरा सबै अनाज र असल थोक ती नयाँ भण्डारमा राख्छु।’
त्यो धनी मानिसले यसो गर्नु नै बुद्धिमानी हो भनेर सोच्यो। थुप्रै कुरा थुपारेर आफूले बुद्धिमानी काम गरिरहेको छु जस्तो उसलाई लाग्यो। उसले मनमनै यसो भन्यो: ‘मसित वर्षौंलाई पुग्ने असल थोकहरू छन्। त्यसैले अब म आरामसित बस्न सक्छु। खान्छु, पिउँछु र मोज गर्छु।’ तर त्यो धनी मानिसको सोचाइ गलत थियो। किन तिमीलाई थाह छ?— ऊ आफ्नो बारेमा र आफ्नो सुखविलासको बारेमा मात्र सोचिरहेको थियो। उसले परमेश्वरलाई बिर्सेको थियो।
यो धनी मानिस के सोचिरहेको छ?
त्यसैले परमेश्वरले त्यो धनी मानिससित कुरा गर्नुभयो। उहाँले भन्नुभयो: ‘ए मूर्ख मानिस! आज राती नै तेरो मृत्यु हुनेछ। तैंले जम्मा गरेका कुराहरू अब कसको होला?’ आफ्नो मृत्युपछि पनि के त्यो धनी मानिसले ती कुराहरू प्रयोग गर्न सक्थ्यो होला र?— अहँ, सक्दैनथ्यो। ती सबै कुरा अरू कसैले पाउनेथियो। येशूले भन्नुभयो: “जुन मानिसले आफ्नो लागि धनसम्पत्ति थुपार्छ तर परमेश्वरको नजरमा चाहिं धनी हुँदैन, त्यसको हालत यस्तै हुनेछ।”—लूका १२:१३-२१.
के तिमी त्यो धनी मानिसजस्तै हुन चाहन्छौ? चाहँदैनौ नि होइन?— त्यो मानिसको जीवनको मुख्य उद्देश्य सरसामान थुपार्नु थियो। त्यसो गर्नु गलत थियो। उसलाई जत्ति नै भए पनि पुग्दैनथ्यो, ऊ सधैं थप कुरा चाहन्थ्यो। तर ‘परमेश्वरको नजरमा चाहिं ऊ धनी थिएन।’
थुप्रै मानिस त्यो धनी मानिसजस्तै छन्। उनीहरूलाई जत्ति नै भए पनि पुग्दैन। तर यसले गर्दा ठूला समस्याहरू खडा हुन सक्छन्। उदाहरणका लागि तिमीसित खेलौनाहरू छन् नि, छैनन् र?— तिमीसित कस्ता-कस्ता खेलौना छन्, मलाई भन त!— तिम्रो साथीसित तिमीसित नभएको पुतली, बल वा अरू कुनै खेलौना छ भने के गर्छौ? आफूसित नभएका त्यस्ता खेलौनाहरू किनिदिन आमाबाबुलाई भन्छौ कि?—
कहिलेकाहीं तिमीलाई कुनै एउटा खेलौना नभई हुँदैन जस्तो लाग्ला। तर केही समयपछि के हुन्छ?— त्यो खेलौना पुरानो हुन्छ। त्यो बिग्रिन सक्छ र त्यसपछि त्यो तिमीलाई मन नपर्न पनि सक्छ। साँच्चै भन्ने हो भने, खेलौनाहरूभन्दा बहुमूल्य कुरा तिमीसँग छ। त्यो के हो, तिमीलाई थाह छ?—
तिमीसित भएको कुन कुरा खेलौनाभन्दा पनि बहुमूल्य छ?
त्यो हो, तिम्रो जीवन। तिम्रो जीवन धेरै महत्त्वपूर्ण छ किनभने जीवनविना तिमी केही पनि गर्न सक्दैनौ। तर तिम्रो जीवन परमेश्वरलाई खुसी पार्ने कुराहरूमा भर पर्छ, होइन र?— त्यसैले परमेश्वरलाई बिर्सिने त्यो मूर्ख धनी मानिसजस्तो हामी नहोऔं।
त्यो धनी मानिसले जस्तै साना केटाकेटीले मात्रै होइन, थुप्रै वयस्क व्यक्तिले पनि मूर्ख कामहरू गर्छन्। उनीहरूमध्ये कोही-कोहीलाई जत्ति नै भए पनि पुग्दैन। उनीहरूसित दिनभरिको लागि पुग्ने खानेकुरा, लगाउने लुगा र बस्नको लागि घर होला। तर उनीहरू अझै बढी चाहन्छन्। उनीहरू नयाँ-नयाँ लुगा अनि ठूलठूला घरहरू चाहन्छन्। यी कुराको लागि पैसा चाहिन्छ। त्यसैले उनीहरू धेरै पैसा कमाउन रातदिन काम गर्छन्। अनि जत्ति नै धेरै कमाए पनि उनीहरूको चित्त बुझ्दैन।
केही मानिसहरू पैसा कमाउनमा यत्ति व्यस्त हुन्छन् कि उनीहरूलाई परिवारसित समय बिताउने फुर्सत नै हुँदैन। अनि उनीहरू परमेश्वरलाई पनि समय दिन सक्दैनन्। उनीहरूको पैसाले के उनीहरू जीवित रहिरहन सक्लान्?— अहँ, सक्दैनन्। मरिसकेपछि पनि के उनीहरू आफ्नो पैसा चलाउन सक्छन्?— अहँ, सक्दैनन्। किनकि मरेकाहरू केही पनि गर्न सक्दैनन्।—उपदेशक ९:५, १०.
के यसको अर्थ पैसा हुनु गलत हो?— होइन। पैसाले हामी खानेकुरा र लुगाफाटा किन्न सक्छौं। रुपियाँपैसा आश्रय अर्थात् सुरक्षा हो भनी बाइबल बताउँछ। (उपदेशक ७:१२, NRV) तर हामी पैसालाई प्रेम गर्छौं भने त्यसले गर्दा गम्भीर समस्याहरू खडा हुन सक्छन्। हामी त्यो मूर्ख धनी मानिसजस्तै हुनेछौं जसले आफ्नो लागि धनसम्पत्ति थुपाऱ्यो तर परमेश्वरको नजरमा धनी भएन।
परमेश्वरको नजरमा धनी हुनु भनेको के हो?— यसको अर्थ हाम्रो जीवनमा पहिला परमेश्वरको काम गर्नु हो। कोही-कोही मानिस ‘म परमेश्वरमा विश्वास गर्छु’ भन्ने गर्छन्। त्यसरी विश्वास गरे पुगिहाल्छ नि जस्तो उनीहरूलाई लाग्छ। तर के उनीहरू परमेश्वरको नजरमा साँच्चै धनी छन् त?—अहँ, छैनन्। उनीहरू परमेश्वरलाई बिर्सने त्यो धनी मानिसजस्तै छन्।
येशूले स्वर्गमा बस्नुहुने आफ्नो बुबालाई कहिल्यै बिर्सनुभएन। उहाँले धेरै पैसा कमाउन खोज्नुभएन। अनि उहाँसित धेरै सरसामान पनि थिएन। जीवनमा कुन कुरा साँच्चै महत्त्वपूर्ण छ, त्यो उहाँलाई थाह थियो। त्यो कुरा के हो, तिमीलाई थाह छ कि?— हो, हामी परमेश्वरको नजरमा धनी हुनुपर्छ।
यी केटीले साँच्चै महत्त्वपूर्ण कुन कुरा गर्दैछिन्?
मलाई भन त, हामी परमेश्वरको नजरमा कसरी धनी हुन सक्छौं?— हो, उहाँलाई मनपर्ने कामहरू गरेर। येशूले भन्नुभयो: “म सधैं उहाँलाई मनपर्ने कामहरू गर्छु।” (यूहन्ना ८:२९) हामीले जे गरेको परमेश्वर चाहनुहुन्छ त्यही गर्दा उहाँ खुसी हुनुहुनेछ। अब भन त, परमेश्वरलाई खुसी पार्न तिमी कस्ता कुरा गर्न सक्छौ?— हो, तिमी बाइबल पढ्न, ख्रीष्टियन सभाहरूमा जान, परमेश्वरलाई प्रार्थना गर्न र अरूलाई उहाँबारे सिक्न मदत गर्न सक्छौ। साँच्चै, यी नै जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्।
येशू परमेश्वरको नजरमा धनी हुनुहुन्थ्यो। त्यसैले परमेश्वरले उहाँको हेरविचार गर्नुभयो। उहाँले येशूलाई सधैंभरि बाँच्ने उपहार दिनुभयो। येशूजस्तै भयौं भने यहोवाले हामीलाई प्रेम गर्नुहुनेछ र हाम्रो पनि हेरविचार गर्नुहुनेछ। त्यसकारण हामी येशूजस्तै होऔं र परमेश्वरलाई बिर्सने त्यो धनी मानिसजस्तो कहिल्यै नहोऔं।
पैसा तथा सरसामानप्रति सही दृष्टिकोण कसरी राख्ने भनेर देखाउने केही बाइबल पद यसप्रकार छन्: हितोपदेश २३:४; २८:२०; १ तिमोथी ६:६-१० अनि हिब्रू १३:५.