बाइबलको दृष्टिकोण
स्वर्ग को जान्छ?
आतंकवादीको बमले उडिरहेको हवाइजहाज र त्यसमा भएका सम्पूर्ण यात्रीहरूलाई उडाइदिन्छ। मानौं तिनीहरूको असामयिक र दुःखद मृत्युको सट्टा भर्ना गरिए जस्तो मृतकहरूका नातेदार तथा मित्रहरूलाई तिनीहरूका प्रिय जनहरू अहिले स्वर्गमा छन् भनिन्छ।
प्रसिद्ध गायकको मृत्यु भएपछि तिनी ‘स्वर्गमा स्वर्गदूतहरूसित बाजा बजाइरहेछन्’ भनिन्छ।
बिमारी, भुखमरी या दुर्घटनाहरूले बालकहरूको प्राण खोसिंदा पादरी भन्छन्, स्वर्गदूतको रूपमा तिनीहरू स्वर्गीय जीवनको आनन्द उठाइरहेछन्!
जवान तथा वृद्धहरूलाई स्वर्गमा लगेर के परमेश्वरले तिनीहरूमाथि भएको अन्याय सुधार्दै हुनुहुन्छ? के स्वर्गमा प्रवेश गराउनु, मानव माझ रहेका सम्पूर्ण असल तथा प्रशंसनीय व्यक्तिहरूको संरक्षण गर्ने परमेश्वरको तरिका हो? यस विषयमा बाइबलको दृष्टिकोण के छ?
स्वर्गमा नहुनेहरू
बाइबल प्रष्टसित यसो भन्छ: “अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाह छैन?” (१ कोरिन्थी ६:९) तथापि, स्वर्गका हकदार नहुने त्यस्ता असंख्य धर्मीहरू र अन्यायका शिकार भएकाहरूको विषयमा पनि बाइबल बताउँछ।
शहीद हुनै लागेका बप्तिस्मा दिने यूहन्नाको विषयमा येशू आफैले यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, मानिसमध्ये बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो कोही उठेको छैन। तरैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो।” (मत्ती ११:११) बालक येशूलाई मार्न बेतलेहम र त्यसको सिमानामा भएका दुई वर्ष र त्यस मुनिका सम्पूर्ण केटाहरूलाई दुष्ट राजा हेरोदले क्रूरतापूर्वक मारेका थिए। (मत्ती २:१६) यद्यपि, येशूले यसो भन्नुभयो: “स्वर्गबाट ओर्लिआउने मानिसको पुत्र [येशू] बाहेक कोही पनि [वा स्त्री या बालक] स्वर्गमा उक्लिगएको छैन।” (यूहन्ना ३:१३) अन्यायबाट पीडित यी व्यक्तिहरू स्वर्गमा छन् भनेर येशूले किन भन्नु भएन?
येशूले बाटो खोल्नु भयो
येशूले आफैलाई “बाटो, सत्य र जीवन” भन्नुभयो र प्रेरित पावलले उहाँलाई “मर्नेहरूमा पहिलो फल” भनेर संकेत गरे। (यूहन्ना १४:६; १ कोरिन्थी १५:२०) फलतः उहाँभन्दा पहिले कोही पनि स्वर्गमा गएको हुनसक्दैन। तर आफ्नो पुनरुत्थान भएको ४० दिनपश्चात् येशू स्वर्गमा फर्कनु हुँदा, के मरिसकेका योग्य विश्वासी मानिसहरू उहाँसँगसँगै स्वर्गमा गए? करिबन १० दिनपश्चात् प्रेरित पत्रुसले राजा दाऊदको विषयमा यसो भने: “उनी ता मरेर पनि गाड़िसकेका छन्। औ आजको दिनसम्म उनको चिहान हामीसितै छ। . . .किनकि दाऊद स्वर्गमा चढ़िगएनन्।”—प्रेरित २:२९, ३४.
तसर्थ, स्वर्गमा प्रवेश पाउनुमा अन्यायको सट्टाभर्ना या व्यक्तिगत विश्वासीपनाको इनामभन्दा निकै कुराहरू बिथोलित छन्। वास्तवमा, यसले स्वर्गमा ख्रीष्ट अधीनस्थ शासकहरूको दल स्थापना गर्ने बाटो खोल्छ, जुन शासक दलमा मानव जातिबाट तिनीहरूको प्रतिनिधित्व गर्न छानिएका आत्माले अभिषिक्त मानिसहरू हुनेछन्।—रोमी ८:१५-१७; प्रकाश १४:१-३.
स्वर्गीय राज्य
येशूले यो शासन अथवा सरकारलाई “स्वर्गको राज्य” वा “परमेश्वरको राज्य” भनेर संकेत गरेका छन्। (मत्ती ५:३, २०; लूका ७:२८) यस प्रशासकिय दलमा मानिसजातिको ठूलो झुण्ड समावेश गराउने उद्देश्य यसको थिएन। यसैकारण येशूले त्यसलाई “सानो बगाल” भन्नुभयो। (लूका १२:३२) बाइबलको यस भागमा प्रयोग गरिएको मूल भाषामा “सानो” भन्ने (मिक्रोश) शब्द ठूलो (मेगास) को विपरीत छ, र लूका १२:३२ मा गरिएको यसको प्रयोगले संख्यात्मक ढंगमा थोरै भन्ने जनाउँछ। यसर्थ, “स्वर्गको राज्यमा” सदस्यता प्राप्त गर्नेहरूको संख्या अनगिन्ती छैन। उदाहरणको लागि: यदि तपाईंलाई एउटा गिलासमा पानी भर्न दिइयो भने, त्यो नपोखियोस् भनेर तपाईंले विचार गर्नु हुनेछ। त्यसैगरि, अनगिन्ती मानिसहरूले “सानो बगाल” बन्न सक्दैन। ख्रीष्टसित सह-शासक हुनेहरूको संख्या पनि निर्धारित (“सानो”) छ।
यी शासकहरूको सही संख्या १,४४,००० हो भनी प्रेरित यूहन्नालाई प्रकट गराइएको थियो। (प्रकाश १४:१, ४) प्रकाशमा पहिले पनि यी मानिसहरूलाई ‘हरेक कुल, भाषा, मानिस, र जातिबाट परमेश्वरको निम्ति राज्य र पूजाहारी हुन छानिएका हुन्’ भनिएको छ र तिनीहरूले स्वर्गबाट राजाको हैसियतमा पृथ्वीमाथि शासन गर्नेछन्। (प्रकाश ५:९, १०) उहाँसित मिलेर काम गर्ने यस प्रशासकिय दल नै येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनु भएको राज्य हो। यस पृथ्वीको गलत शासनलाई हटाएर मानिसको घर, पृथ्वीमा न्याय र शान्ति ल्याउनुको साथसाथै त्यहाँका सम्पूर्ण बासिन्दाहरूलाई अनन्त जीवन दिने माध्यम पनि यही नै हो। —भजनसंग्रह ३७:२९; मत्ती ६:९, १०.
छानिएका शासक दल
त्यस राज्यले प्रतिस्थापित गर्ने मानव शासन भ्रष्टाचारले ग्रस्त भएको हुँदा, त्यस स्वर्गीय राज्यमा समाविष्ट हुनेहरू होशियारीपूर्वक परमेश्वरद्वारा छनिएका र जाँचिएका हुन किन आवश्यक छ भनेर के हामी अब भन्न सक्दैनौं र? मानवजातिको वर्तमान परिस्थितिलाई खराब मौसममा उडिरहेको बिग्रेको हवाइजहाज भित्र रहेका सयौं यात्रुहरूसित तुलना गर्न सकिन्छ। यस्तो कठिन परिस्थितिमा जवान, अनुभवविहिन मानिसहरू चालक भएको के तपाईं चाहनु हुन्छ र? निस्सन्देह चाहनु हुन्न! त्यस्तो परिस्थितिमा अवश्य सुरक्षात्मक हिसाबले होशियारीपूर्वक छानिएको चालक चाहिन्छ।
ख्रीष्ट येशूसित स्वर्गमा सेवा गर्नेहरूको सम्बन्धमा “परमेश्वरले आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अंग राखिदिनुभएको छ” भनी थाहा पाउँदा हामी ढुक्क हुन्छौं। (१ कोरिन्थी १२:१८) व्यक्तिगत इच्छा वा अभिलाषाले गर्दा राज्यमा स्थान पाइने होइन। (मत्ती २०:२०-२३) अयोग्यहरूले प्रवेश नपाऊन् भनी विश्वास र आचरणका विशिष्ट स्तरहरू परमेश्वरबाटै तोकिएका छन्। (यूहन्ना ६:४४; एफिसी ५:५) ख्रीष्टसित शासन गर्नेहरूले आफूलाई आध्यात्मिक तवरमा भोका, नम्र, धार्मिकताका प्रेमी, दयावन्त, हृदयमा शुद्ध हुनेहरू र मेलमिलाप गराउनेहरू हुन् भनी प्रमाणित गर्नुपर्छ भनेर डाँडाको उपदेशमा येशूका प्रारम्भिक शब्दहरूले देखाउँछ।—मत्ती ५:३-९; प्रकाश २:१० पनि हेर्नुहोस्।
खुशीको कुरा, स्वर्गीय शासकहरूको यस प्रतिनिधि दलमा परमेश्वरद्वारा नछानिएका अनगिन्ती मानवजाति आशाविहीन छोडिएको छैन। तिनीहरूले यस सुन्दर पृथ्वीमा अधिकार गर्नेछन् र उहाँको ईश्वरीय शासनमा फाइदाहरू उठाउनेछन्। बितेका समयमा अन्यायका शिकार भएकाहरूले पुनः जीवन प्राप्त गर्नेछन् र परमेश्वरको राज्य पूर्ण अर्थमा ‘आएको’ देख्न पाउनेहरूसित बाँच्ने छन्। यो प्रतिज्ञा पूरा गरिनेछ: “सोझाहरू पृथ्वीमा बास गर्नेछन्। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्।”—मत्ती ६:९, १०; हितोपदेश २:२१; प्रेरित २४:१५. (g95 01/08)