पाठकहरूका प्रश्न
येशूले यस्तो आग्रह गर्नुभयो: “साँघुरो ढोकाबाट भित्र पस्नालाई प्रयत्न गर, किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना भित्र पस्न खोज्नेछन्, तर सक्नेछैनन्।” (लूका १३:२४) उहाँले के भन्न खोज्नुभएको थियो र वर्तमान समयमा यसको अर्थ के हो?
यो कुरा भन्नुअघिको घटनाक्रम बुझ्यौं भने यो रोचक पद्यांश राम्ररी बुझ्नसक्छौं। आफ्नो मृत्यु हुनुभन्दा झन्डै छ महिनाअघि येशू मन्दिरको पुनः समर्पणको उत्सवको बेला यरूशलेममै हुनुहुन्थ्यो। यरूशलेममा छँदा उहाँले म परमेश्वरको बगालको गोठालो हुँ भन्नुभयो तर सर्वसाधारण यहूदीहरूले उहाँको कुरा सुन्न इन्कार गरेको हुँदा तिनीहरू त्यो बगालका होइनन् भन्नुभएको थियो। येशूले आफू र पिता “एकै” हो भन्नुहुँदा यहूदीहरूले ‘ढुंगा टिपेर हान्न खोजे।’ तर उहाँ भागेर यर्दनपारि पेरिया पुग्नुभयो।—यूहन्ना १०:१-४०.
त्यहाँ एक जनाले उहाँलाई सोधे: “[प्रभु,] के उद्धार पाउनेहरू थोरै छन्?” (लूका १३:२३) प्रश्न उपयुक्त थियो किनभने त्यतिबेलाका यहूदीहरू थोरै मात्र उद्धार पाउन योग्यका हुनेछन् भन्ने धारणा राख्दथे। तिनीहरूको मनोवृत्तिलाई विचार गर्दा उद्धार पाउने थोरैहरूमा को को पर्छन् भनेर विचार गरे होलान्, त्यो भनिरहनु नपर्ला। तर वास्तवमा तिनीहरूको सोचाइ एकदमै गलत थियो भनी पछिका घटनाहरूले देखाउँछन्!
त्यतिञ्जेल यहूदीहरूसँग बसेर येशूले झन्डै दुई वर्ष बिताइसक्नुभएको थियो र त्यस समयको दौडान उहाँले तिनीहरूलाई सिकाउनुभयो, चमत्कारहरू देखाउनुभयो अनि स्वर्गीय राज्यको हकदार बन्ने मौका दिनुभयो। तर नतिजा? तिनीहरू र विशेषगरि धर्मगुरुहरू अब्राहामको सन्तान हौं, हामीसित परमेश्वरको व्यवस्था छ भन्ने घमन्ड गर्थे। (मत्ती २३:२; यूहन्ना ८:३१-४४) तिनीहरूले असल गोठालोको स्वर सुन्न र त्यसको पछि लाग्न वास्तै गरेनन्। परमेश्वरको राज्यभित्र पस्ने ढोका खुल्ला हुँदाहुँदै पनि तिनीहरूले इन्कार गरे। केही मुठीभर यहूदीहरू, जो गरिब अनि निम्न वर्गका थिए, तिनीहरूले मात्र येशूले दिनुभएको सत्यको सन्देश सुने र उहाँसित वफादार भएर बसे।—लूका २२:२८-३०; यूहन्ना ७:४७-४९.
यी थोरै व्यक्तिहरूले सा.यु. ३३ पेन्तिकोसको दिन पवित्र आत्माद्वारा अभिषिक्त हुने सुअवसर पाउन लागेका थिए। (प्रेरित २:१-३८) यिनीहरू येशूले भन्नुभएका पापकर्मीहरू थिएनन्, जो आफ्नो हातबाट मौका गुम्दा विलौना गर्ने वा दाह्रा किट्नेथिए।—लूका १३:२७, २८.
फलस्वरूप, प्रथम शताब्दीमा यी “धेरै” साधारणतया यहूदीहरू र विशेषगरि धर्मगुरुहरू थिए। यिनीहरूले परमेश्वरको अनुग्रह चाहन्छौं त भन्थे तर त्यो परमेश्वरको नभई आफ्नै स्तर तथा तौरतरिकाअनुसारको थियो। त्यसको विपरीत सोझो मनले राज्यको भाग हुन चाहने “थोरै” मसीही मण्डलीका अभिषिक्त सदस्यहरू भए।
अब अहिले हाम्रो समयमा यसको अर्थ के हो, त्यसमा ध्यान देऔं। मसीहीजगत्का चर्चहरू धाउने अनगिन्ती व्यक्तिहरूलाई तिनीहरू स्वर्ग जानेछन् भनी सिकाइएको छ। तथापि, यस्तो प्रत्याशा धर्मशास्त्रको सही शिक्षामा आधारित होइन। प्रारम्भिक समयका यहूदीहरूजस्तै तिनीहरू आफ्नै तरिकामा परमेश्वरको अनुग्रह चाहन्छन्।
हाम्रो समयमा पनि तुलनात्मक हिसाबमा थोरै व्यक्तिहरूले नम्रतापूर्वक राज्यको सन्देश सुनेका छन्, यहोवालाई आफ्नो जीवन समर्पण गरेका छन् र उहाँको अनुग्रह पाउने योग्यको साबित गरेका छन्। फलस्वरूप तिनीहरू “राज्यका सन्तान” भएका छन्। (मत्ती १३:३८) ती अभिषिक्त “सन्तान” सा.यु. ३३ पेन्तिकोसदेखि बोलाउन थालिए। परमेश्वरले आफ्ना जनहरूसित गर्नुभएको व्यवहारबाट स्वर्गमा जाने जति सबैलाई बोलाइसकेको छ भनी यहोवाका साक्षीहरूलाई धेरै पहिलेदेखि थाह थियो। यसर्थ, हालै सच्चाइ सिक्ने मानिसहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशाबारे बुझेका छन्। स्वर्गमा जाने शेष अभिषिक्त मसीहीहरूको संख्याभन्दा यिनीहरूको संख्या निकै बढी छ। लूका १३:२४ मुख्यतः स्वर्ग जाने आशा नभएकाहरूमाथि लागू नहुने भए तापनि त्यसले तिनीहरूका निम्ति बुद्धिले भरिएको सुझाउ भने अवश्य दिन्छ।
हामीलाई कडा प्रयत्न गर भन्नुको मतलब उहाँ वा उहाँको पिताले बाटोमा थुप्रै तगारो राख्नुहुन्छ भनेर येशूले भन्न खोज्नुभएको थिएन। बरु, परमेश्वरका आवश्यकताहरू नै यस्ता हुनेछन् कि अयोग्य व्यक्तिहरू त्यस ढोकाभित्र पस्न सक्नेछैनन् भनी हामी लूका १३:२४ बाट बुझ्छौं। “प्रयत्न गर” भन्नुको मतलब भएभरको बल लगाएर संघर्ष गर्नु हो। त्यसकारण यो प्रश्न सोध्नु उपयुक्त होला, ‘के म प्रयत्न गर्दैछु?’ लूका १३:२४ लाई यसरी पढ्न मिल्ला, ‘साँघुरो ढोकाबाट भित्र पस्न मैले भएभरको बल लगाएर प्रयत्न गर्नैपर्छ, किनकि धेरै जना भित्र पस्न खोज्नेछन्, तर सक्नेछैनन्। के मैले यहाँ भनेजत्तिकै प्रयत्न गरिरहेको छु? प्राचीन समयमा ठूल-ठूला रंगमञ्चमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूले आफ्नो तनमन इनाममा लगाएजस्तै मैले लगाएको छु? निस्सन्देह, त्यस्ता खेलाडीहरू दोधारे वा आफ्नो जिम्मेवारीलाई हल्का सम्झने खालका थिएनन्, त्यसोभए के म त्यस्तै छु त?’
येशूका शब्दहरूले के पनि संकेत गर्छन् भने केही व्यक्तिहरू आफूलाई पायक पार्ने समयमा वा कुनै किसिमको दबाब नभएको बेला आफ्नै ढंगमा साँघुरो ढोकाभित्र पस्ने प्रयत्न गर्नेरहेछन्। त्यस्तो मनोवृत्तिले मसीहीहरूलाई पनि असर गर्नसक्छ। जस्तै, कसै कसैले यस्तो तर्क गर्लान्, ‘वर्षौं प्रयत्न गर्दै थुप्रै त्यागहरू गर्ने समर्पित मसीहीहरूलाई थाह छ; तर खै त तिनीहरू मरुञ्जेलसम्म पनि यस दुष्ट रीतिरिवाजको अन्त आइसकेको थिएन। त्यसोभए, बेकारमा किन जोसिने। बरु, आफ्नै ढंगमा बिस्तारै अघि बढेर अझ सामान्य जीवन बिताउनु नै बेस होला।’
त्यस्तो सोचाइ आउनु असम्भव होइन तर के त्यो बुद्धिमानी कुरा हो त? उदाहरणका लागि, के प्रेरितहरूले त्यस्तो सोचाइ राखे? कदापि राखेनन्। तिनीहरू साँचो उपासनामा मृत्युसम्मै लागिरहे। त्यसैकारण पावलले यसो भन्न सके: “हामी [ख्रीष्टलाई] प्रचार गर्छौं। उहाँको कार्यअनुसार प्रयत्न गरेर जो ममा जोरसँग काम गर्दछ, जसको निम्ति म परिश्रम पनि गर्दछु।” पछि तिनले यसप्रकार लेखे: “यही हेतुले हामी परिश्रम र प्रयत्न गर्दछौं, किनभने हाम्रो आशा जीवित परमेश्वरमा राखिएको छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्वास गर्नेका, मुक्तिदाता हुनुहुन्छ।”—कलस्सी १:२८, २९; १ तिमोथी ४:१०.
हामीलाई थाह छ, पावलले प्रयत्न गरेर सही गरे। पावलले जस्तै हामी प्रत्येकले पनि यसो भन्न पाउँदा सन्तोषको सास फेर्न पाउनेछौं: “मैले उत्तम लड़न्त लड़ेको छु, मैले दौड़ सिध्याएको छु, विश्वासलाई बचाइराखेको छु।” (२ तिमोथी ४:७) अतः लूका १३:२४ मा लिपिबद्ध येशूको शब्दअनुरुप हामी प्रत्येकले आफैलाई यस्तो प्रश्न गर्नसक्छौं: ‘के म लगनशील तथा मेहनती भएर प्रयत्न गर्दैछु? “साँघुरो ढोकाभित्र पस्ने प्रयत्न गर” भन्ने येशूको सल्लाह हृदयदेखि पालन गरिरहेको छु भनेर के मैले नियमित तवरमा यथेष्ट प्रमाण दिइरहेको छु?’