प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 २/१ pp. ४-८
  • उद्धार पाउन हामीले के गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उद्धार पाउन हामीले के गर्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येशूलाई पछ्याउनु
  • विश्‍वासले काम गर्न लगाउँछ
  • स्वयं येशूका समाचारहरू
  • मसीही जोश
  • ‘परमेश्‍वरको वचन जीवित छ’
  • येसुले कसरी मानिसहरूको उद्धार गर्नुहुन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • ‘एक पटक मुक्‍ति पाउँदैमा त्यो कहिल्यै गुम्दैन’?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परमेश्‍वरले जे गर्नु भएको छ के तपाईं त्यसको मुल्यांकन गर्नु हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उद्धार—यसको वास्तविक अर्थ के हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 २/१ pp. ४-८

उद्धार पाउन हामीले के गर्नुपर्छ?

एक पटक एक जना मानिसले येशूलाई यसरी सोध्यो: “के उद्धार पाउनेहरू थोरै छन्‌?” येशूले कसरी जवाफ दिनुभयो? के उहाँले ‘मलाई तिम्रो प्रभु र उद्धारकको रूपमा स्वीकार अनि तिमीले उद्धार पाउनेछौ’ भन्‍नुभयो र? अहँ! बरु येशूले यसो भन्‍नुभयो: “साँघुरो ढोकाबाट भित्र पस्नालाई प्रयत्न गर, किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना भित्र पस्न खोज्नेछन्‌, तर सक्नेछैनन्‌।”—लूका १३:२३, २४.

के येशूले त्यस मानिसलाई उत्तर दिन नसक्नुभएको हो? होइन, त्यस मानिसले उद्धार पाउन कति गाह्रो हुनेछ भनेर सोधेको थिएन बरु तिनले उद्धार पाउनेहरूको संख्या थोरै पो हुने हो कि भनेर सोधेका थिए। अतः हामीले अनुमान गरेभन्दा थोरै मानिसहरूले मात्र यो अद्‌भुत आशिष्‌ पाउन कडा प्रयत्न गर्नेछन्‌ भनेर येशूले संकेत गर्नुभएको हो।

‘मलाई त त्यसो भनिएको थिएन’ कसैले आपत्ति जनाउँला। तिनीहरूले यूहन्‍ना ३:१६ उद्धृत गर्लान्‌, जहाँ यसो लेखिएको छ: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो” लेखिएको छ हैन र? तथापि, हामी भन्छौं: ‘त्यसो भए उद्धार पाउन हामीले के कुरा विश्‍वास गर्ने? के येशू वास्तवमा हुनुहुन्थ्यो? अवश्‍य। के उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ? निस्सन्देह, तर यसबाहेक बाइबलमा उहाँलाई “गुरु” र “प्रभु” भनिएको हुँदा के हामीले उहाँले सिकाउनुभएका कुराहरूमा विश्‍वास गर्नुपर्ने, उहाँको आज्ञा पालन गर्नुपर्ने र उहाँलाई पछ्याउनुपर्ने होइन र?’—यूहन्‍ना १३:१३; मत्ती १६:१६.

येशूलाई पछ्याउनु

ओहो! अब भने समस्या खडा भयो। “उद्धार” पाइसक्नुभयो भनेर बताइएका अधिकांश मानिसहरूले येशूलाई पछ्याउने वा उहाँको आज्ञा पालन गर्ने विषयमा त्यति गहिरिएर सोचेजस्तो पटक्कै देखिंदैन। भनौं भने, एक जना प्रोटेस्टेन्ट पादरीले यसरी लेखे: “पक्कै पनि ख्रीष्टमाथि हामीले निरन्तर विश्‍वास गर्नुपर्छ। तर हामीले विश्‍वास गरिरहनैपर्छ वा गरिरहेको हुनुपर्छ भन्‍ने दाबालाई बाइबलले समर्थन गर्दैन।”

यसको विपरीत, “उद्धार” पाएँ भन्ठानेकाहरूले सामान्य ठान्‍ने अनैतिक क्रियाकलापहरू बाइबलमा सूचिबद्ध गरिएका छन्‌। यस्ता क्रियाकलापमा लागिरहेको एक व्यक्‍तिबारे “तिमीहरूको बीचबाट दुष्ट मानिसलाई हटाओ” भन्‍ने निर्देशन मसीहीहरूलाई त्यसमा दिइएको थियो। पक्कै पनि परमेश्‍वरले आफ्नो मसीही मण्डलीलाई दुष्ट मानिसहरूले दूषित तुल्याएको चाहनुहुन्‍न।—१ कोरिन्थी ५:११-१३.

त्यसो भए येशूलाई पछ्याउनुको अर्थ के हो र हामी यो कसरी गर्नसक्छौं? त्यसको जवाफ पाउन येशूले के गर्नुभयो, त्यो विचार गर्नुहोस्‌। के उहाँ अनैतिक हुनुहुन्थ्यो? व्यभिचारी हुनुहुन्थ्यो? मतवाला हुनुहुन्थ्यो? ढँटुवा हुनुहुन्थ्यो? के उहाँ व्यापारमा बेइमान हुनुहुन्थ्यो? कदापि हुनुहुन्‍नथ्यो! ‘तर’ तपाईं सोध्नु होला, ‘के मैले मेरो जीवनबाट यी सबथोक हटाउनुपर्छ?’ जवाफको लागि एफिसी ४:१७ देखि ५:५ सम्मका कुराहरूलाई विचार गर्नुहोस्‌। हामीले जे सुकै गरे तापनि परमेश्‍वरले हामीलाई स्वीकार्नुहुन्छ त त्यहाँ भनिएको छैन। यसको साटो, हामीलाई अन्यजातिहरूभन्दा भिन्दै हुनु भनेको छ। किनभने “[तिनीहरूले सम्पूर्ण नैतिक चेतना गुमाइसकेका छन्‌, न्युव], . . . तर ख्रीष्टलाई ता तिमीहरूले यसरी सिकेनौ, . . . अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई . . . त्याग, . . . चोर्नेले फेरि नचोरोस, . . . व्यभिचार र सारा अशुद्धता अथवा लोभको नाउँसमेत पनि तिमीहरूबाट नलिइयोस्‌, जस्तो कि पवित्र जनहरूलाई उचित हुन्छ . . . किनभने यो ता तिमीहरू निश्‍चय जान्दछौं, कि कुनै व्यभिचारी, कि अशुद्ध मानिस, अथवा लोभी मानिसले, जो मूर्तिपूजक हो, ख्रीष्ट र परमेश्‍वरको राज्यमा कुनै अधिकार पाउनेछैन।”

येशूको उदाहरणअनुरूप जीवन यापन गर्ने कोसिस-समेत गर्दैनौं भने, के हामीले येशूलाई पछ्याइरहेका हुनेछौं? के हामीले आफ्नो जीवन येशूको जस्तै बनाउन प्रयत्न गर्नुपर्दैन र? एउटा धार्मिक पर्चाले भनेझैं “तपाईं अहिलेजस्तो हुनुहुन्छ त्यस्तै रूपमा येशूकहाँ आउनुहोस्‌” भन्‍ने मानिसहरूले यो अत्यावश्‍यक प्रश्‍नबारे त सोचेकै हुँदैनन्‌।

अधर्मी मानिसहरूले “हाम्रा परमेश्‍वरको अनुग्रहलाई लुच्च्याइँमा फिराएर हाम्रा अद्वितीय स्वामी र प्रभु, येशू ख्रीष्टलाई अस्वीकार गर्छन्‌” भनेर येशूका चेलाहरूमध्ये एक जनाले चेताउनी दिएका थिए। (यहूदा ४) तर हामीले परमेश्‍वरको करुणालाई कसरी साँच्चै ‘लुच्च्याइँमा फिराएका’ हुनेछौं? हामीले त्याग्न खोजेका मानव असिद्धताको कारण हुने पापहरू नभई हामीले जानाजानी गरिरहने पापलाई येशूको बलिदानले माफ दिनेछ भन्‍ने गलत अनुमान लगाएर हामी त्यसो गर्नसक्छौं। बाइबलको स्तरअनुरूप चल्न तपाईं “स्वच्छ हुनुपर्दैन, कुनै कुरा त्याग्न वा परिवर्तन गर्नुपर्दैन” भन्‍ने प्रसिद्ध अमेरिकी सुसमाचारवाहकसित हामी अवश्‍य पनि सहमत हुन चाहँदैनौं।—तुलना गर्नुहोस्‌ प्रेरित १७:३०; रोमी ३:२५; याकूब ५:१९, २०.

विश्‍वासले काम गर्न लगाउँछ

अधिकांश मानिसहरूलाई यसो भनिएको हुन्छ: “येशूमाथि विश्‍वास गर्नु” नै यथेष्ट छ। त्यसैले आज्ञाकारी हुने हदसम्म हाम्रो विश्‍वास बलियो हुनुपर्दैन। तर बाइबल त्यस भनाइसित सहमत छैन। मसीही मार्ग पछ्याउन सुरु गर्ने मानिसहरूले उद्धार पाउँछन्‌ भनेर येशूले भन्‍नुभएन। बरु, उहाँले यसो भन्‍नुभयो: “आखिरसम्म सहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती १०:२२) बाइबलमा मसीही मार्गलाई एउटा यस्तो दौडसित तुलना गरेको छ जसलाई पूरा गर्नेले अन्तमा पुरस्कारस्वरूप, उद्धार पाउनेछ। अनि बाइबल यस्तो आग्रह गर्छ: “त्यसरीनै दगुर, र पुरस्कार पाओ।”—१ कोरिन्थी ९:२४.

यसर्थ, “ख्रीष्टलाई स्वीकार्नु”-मा येशूको सर्वोत्तम बलिदानले प्रदान गर्ने आशिष्‌हरू स्वीकार्नुबाहेक अरू धेरै कुराहरू विथोलित छन्‌। आज्ञाकारी हुनु आवश्‍यक छ। न्याय “परमेश्‍वरकै परिवारबाट” सुरु हुन्छ र “यदि पहिले हामीबाट शुरू हुन्छ भनेता परमेश्‍वरको सुसमाचार नमान्‍नेहरूको अन्त कस्तो होला?” प्रेरित पत्रुसले भने। (१ पत्रुस ४:१७) सुनेर अनि विश्‍वास गरेर मात्र पुग्दैन। योभन्दा अझ धेरै गर्नुपर्छ। बाइबल भन्छ, हामी “वचन पालन गर्ने” हुनुपर्छ, “आफैलाई धोका दिएर सुन्‍ने मात्र” गर्नुहुँदैन।—याकूब १:२२.

स्वयं येशूका समाचारहरू

बाइबलको प्रकाश नामक पुस्तकमा येशूले यूहन्‍ना मार्फत सात प्रारम्भिक मसीही मण्डलीहरूलाई दिनुभएका समाचारहरू छन्‌। (प्रकाश १:१, ४) के येशूले ती मण्डलीका मानिसहरूले उहाँलाई “स्वीकार्नु” नै पर्याप्त छ भनेर भन्‍नुभयो? अहँ, भन्‍नुभएन। उहाँले तिनीहरूको काम, परिश्रम, धीरज, प्रेम, विश्‍वास र सेवकाईको प्रशंसा गर्नुभयो। तर दियाबलले तिनीहरूलाई पासोमा पार्नेछ र तिनीहरूले “[आ-आफ्नो] कामअनुसारै” इनाम पाउनेछन्‌ भनेर उहाँले भन्‍नुभयो।—प्रकाश २:२, १०, १९, २३.

अरूले सिकाएअनुसार येशूलाई धार्मिक सभामा ‘स्वीकारेपछि’ “फेरि केही गर्नुपर्दैन” भनेर अधिकांश मानिसहरूले ठानेका हुन्छन्‌। तर येशूले उहाँलाई स्वीकार्नुको अर्थ त्योभन्दा गहिरो छ भन्‍नुभयो। उहाँले बताउनुभयो: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्‌ र आफ्नो क्रूस उठाएर मेरोपछि लागोस्‌। किनकि जसले आफ्नो प्राण जोगाउने इच्छा गर्ला, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउला, उसले त्यो पाउनेछ।”—मत्ती १६:२४, २५.

आफूलाई इन्कार गर्नु? येशूको पछि लागिरहनु? यसो गर्न त प्रयत्न गर्नुपर्छ। यसले हाम्रो जीवन परिवर्तन गर्नेछ। यद्यपि, के येशूले हामीमध्ये कसैकसैले वास्तवमा ‘आफ्नो प्राण गुमाउनु’ अर्थात्‌ उहाँको निम्ति मर्नुपर्ने स्थिति आउनसक्छ भन्‍नुभयो र? हो, यसप्रकारको विश्‍वास परमेश्‍वरको वचन अध्ययन गरेर तपाईंले सिक्नुभएका अत्युत्तम कुराहरूको ज्ञान पाएपछि मात्र प्राप्त हुन्छ। हठधर्मीहरूले स्तिफनसलाई ढुंगा हानेर मारेको दिन यो कुरा प्रष्टियो। किनकि “जुन बुद्धि र आत्माले तिनी बोल्थे, तिनको सामना” ती हठधर्मीहरूले गर्नसकेनन्‌। (प्रेरित ६:८-१२; ७:५७-६०) आज हाम्रो समयमा पनि यस्तै विश्‍वास नाजी यातना शिविरमा मरेका यहोवाका सयौं साक्षीहरूले प्रदर्शन गरेका छन्‌। तिनीहरूले बाइबलमा आधारित आफ्नो अन्तस्करण भंग गर्नुको साटो मर्न रुचाए।a

मसीही जोश

हामी आफ्नो मसीही विश्‍वासमा दृढ हुनुपर्छ। किनकि, केही चर्चहरू अथवा टेलिभिजनमा देखाइने केही धार्मिक कार्यक्रमहरूमा भनिएजस्तो नभई बाइबलले हामी चुक्न सक्छौं भन्छ। बाइबलले “सोझो मार्ग” छोड्‌ने मानिसहरूबारे पनि बताउँछ। (२ पत्रुस २:१, १५) त्यसकारण हामीले ‘डर र कम्पसाथ आफ्नो मुक्‍तिको काम पूरा’ गर्नैपर्छ।—फिलिप्पी २:१२; २ पत्रुस २:२०.

येशू र उहाँका चेलाहरूले सिकाएका कुरा प्रत्यक्ष सुन्‍ने प्रथम शताब्दीका मसीहीहरूले के त्यसको अर्थ यसरी नै बुझेका थिए? हो, थिए। केही न केही गर्नुपर्छ भनेर तिनीहरूलाई थाह थियो। येशूले भन्‍नुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”—मत्ती २८:१९, २०.

येशूले यसो भन्‍नुभएको लगत्तै दुइ महिनापछि ३,००० मानिसहरूले एकै दिनमा बप्तिस्मा लिए। विश्‍वासीहरूको संख्या तुरुन्तै ५,००० पुग्यो। तिनीहरूले अरूलाई सिकाए। सतावट सुरु हुँदा तिनीहरू तितरबितर भए। तर यसको परिणामस्वरूप तिनीहरूले समाचार फैलाउन पाए। बाइबल भन्छ, केही अगुवाहरूले मात्र होइन “तितर-बितर भएकाहरूले जताततै गएर वचनको सुसमाचार सुनाउन लागे।” त्यसैकारण करिब ३० वर्षपछि प्रेरित पावलले सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भनेर लेख्नसके।—प्रेरित २:४१; ४:४; ८:४; कलस्सी १:२३.

टिभीमा देखापर्ने केही सुसमाचारकहरूले जस्तै पावलले ‘येशूलाई अहिल्यै स्वीकार्नुहोस्‌ र तपाईंले सदाको लागि उद्धार पाउनुहुनेछ’ भन्दै मानिसहरूको धर्मपरिवर्तन गरेनन्‌। नता तिनी “नौजवान ठिटो छँदा नै . . . मैले त उद्धार पाइसकें” भनेर लेख्ने अमेरिकी पादरीजस्तो निर्धक्क नै थिए। जाति जातिका मानिसहरूसमक्ष समाचार पुऱ्‍याउन येशूले व्यक्‍तिगत तवरमा छान्‍नुभएको २० वर्ष नाघिसकेपछि मेहनती प्रेरित पावलले यसरी लेखे: “म आफ्नो शरीरलाई कुट्‌तछु, र वशमा ल्याउँछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिं इन्कार गरिनेछु।”—१ कोरिन्थी ९:२७; प्रेरित ९:५, ६, १५.

परमेश्‍वरले दिनुभएको निश्‍शुल्क उपहार उद्धार हो। यो कमाउन सकिन्‍न। यद्यपि, हामीले प्रयत्न गर्नुपर्छ। कसैले तपाईंलाई बहुमूल्य उपहार दियो तर तपाईंले त्यसको मूल्यांकन गरेर ग्रहण गर्नुभएन भने तपाईं कृतघ्न हुनुभएको देखेर त्यस दाताले त्यो उपहार अरू कसैलाई नै दिनेछन्‌। त्यसो भए, येशूको जीवनरक्‍त कत्तिको बहुमूल्य छ? यो निश्‍शुल्क उपहार हो, तर हामीले यस उपहारप्रति गहिरो मूल्यांकन जाहेर गर्नैपर्छ।

साँचो मसीहीहरूले उद्धार पाउँछन्‌, भनाइको मतलब परमेश्‍वरसमक्ष तिनीहरूको स्तर ग्रहणयोग्य छ। समूहगत रूपमा तिनीहरूले पाउने उद्धार पक्का छ। तर परमेश्‍वरले तोक्नुभएका आवश्‍यकताहरूलाई तिनीहरूले व्यक्‍तिगत तवरमा पूरा गर्नैपर्छ। तथापि, हामी चुक्नसक्छौं। किनभने येशूले यसो भन्‍नुभयो: “कोही मानिस ममा रहेन भने, त्यो हांगाझैं बाहिर मिल्काइन्छ र सुकिहाल्छ।”—यूहन्‍ना १५:६.

‘परमेश्‍वरको वचन जीवित छ’

अघिल्लो लेखको सुरुमा उल्लिखित वार्तालाप लगभग ६० वर्षअघि भएको थियो। उद्धार येशू ख्रीष्टद्वारा मात्र सम्भव छ भनेर जनी अझै विश्‍वास गर्छन्‌। तर उद्धार पाउन पूरा गर्नुपर्ने आवश्‍यकतालाई तिनले बुझेका छन्‌। बाइबलले मात्र मानवजातिलाई साँचो आशा प्रदान गर्छ भनेर तिनी विश्‍वस्त छन्‌। साथै हामीले त्यो अद्‌भुत पुस्तक पढ्‌नुपर्छ, त्यसबाट प्रेरित हुनुपर्छ र प्रेम, विश्‍वास, दया गर्ने, आज्ञाकारी तथा धीरजी हुन उत्प्रेरित गराउनुपर्छ भनेर तिनी निश्‍चित छन्‌। तिनले आफ्ना छोराछोरीलाई पनि यसैमा विश्‍वास गर्न सिकाउँदै हुर्काए। र तिनीहरूले पनि आफ्ना छोराछोरीलाई त्यही तरिकामा हुर्काएको देख्न पाउँदा जनी निकै आनन्दित छन्‌। सबैसित त्यस्तो विश्‍वास भइदिए हुनेथियो भन्‍ने इच्छा तिनी गर्छन्‌ अनि अरूको हृदय तथा मनमा सकेजति विश्‍वास राखिदिने यत्न तिनी गर्छन्‌।

“परमेश्‍वरको वचन जीवित र प्रबल छ” भनेर लेख्न प्रेरित पावल प्रेरित भएका थिए। (हिब्रू ४:१२) यसले जीवन परिवर्तन गर्नसक्छ। यसले तपाईंलाई प्रेम, विश्‍वास तथा आज्ञाकारितासाथ हृदयस्पर्शी कार्यहरू गर्न उत्प्रेरित गराउँछ। तर तपाईंले बाइबलले भनेका कुराहरू मानसिक तवरमा “स्वीकारेर” मात्र पुग्दैन। बाइबल अध्ययन गर्नुहोस्‌ र त्यसबाट तपाईंको हृदय उत्प्रेरित होस्‌। बाइबलको बुद्धिले तपाईंलाई डोऱ्‍याओस्‌। यहोवाका केही ५०,००,००० इच्छुक साक्षीहरूले २३० भन्दा बढी मुलुकहरूमा निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न आग्रह गरिरहेका छन्‌। यसप्रकारका अध्ययनबाट सिक्न सकिने कुरा तपाईं बुझ्न चाहनुहुन्छ भने यस पत्रिकाको प्रकाशकलाई पत्र पठाउनुहोस्‌। तपाईंले प्राप्त गर्नुहुने विश्‍वास र आध्यात्मिक बलले तपाईंलाई आनन्दित तुल्याउनेछ!

[फुटनोट]

a डा. क्रिस्टिन इ. किङले आफ्नो पुस्तक द नाजी स्टेट एण्ड द न्यु रीलिजन्स्‌: फाइभ केस स्टडिज्‌ इन नन्‌-कन्फोर्मिटी-मा (नाजी राष्ट्र र नयाँ धर्म: पाँच असमान मुद्दाहरूको अध्ययन) यस्तो प्रतिवेदन पेश गरिन्‌: “जर्मनीमा [यहोवाका] प्रत्येक दुइ साक्षीहरूमध्ये एक जना थुनिएको थियो र चारमध्ये एकले ज्यान गुमायो।”

[पृष्ठ ७-मा भएको पेटी]

किन ‘विश्‍वासको निम्ति उत्कटसाथ कम्मर कस्नु’?

बाइबलको यहूदा नामक पुस्तकले “येशू ख्रीष्टको निम्ति सुरक्षित भएकाहरू[लाई]” सम्बोधन गर्छ। के यस पुस्तकमा तिनीहरूले येशूलाई ‘स्वीकारेको’ भएर तिनीहरूको उद्धार पक्का छ भनिएको हो? होइन। यहूदाले त्यस्ता मसीहीहरूलाई “विश्‍वासको निम्ति उत्कटसाथ कम्मर कस” भने। यसो गर्ने तीन कारणहरू उनले दिए। पहिलो, परमेश्‍वरले ‘मानिसहरूलाई मिश्र देशदेखि जोगाएर ल्याउनुभयो’ तर पछि तीमध्ये धेरै चुके। दोस्रो, स्वर्गदूतहरूले समेत विद्रोह गरेर प्रेत बने। तेस्रो, सदोम र गमोरामा यौन अनैतिकता अचाक्ली भएको हुँदा परमेश्‍वरले ती शहरहरू नाश गर्नुभयो। यहूदाले बाइबलका यी विवरणहरूलाई “उदाहरण[को]” रूपमा प्रस्तुत गरे। हो, “येशू ख्रीष्टको निम्ति सुरिक्षत भएकाहरू” समेत साँचो विश्‍वासबाट नचुक्न सतर्क हुनुपर्छ।—यहूदा १-७.

[पृष्ठ ८-मा भएको पेटी]

कुन सही हो?

बाइबल यसो भन्छ: “विश्‍वासद्वारानै मानिस धर्मी ठहरिन्छ।” यसले यसो पनि भन्छ: “कामबाट मानिस धर्मी ठहरिंदो रहेछ, र विश्‍वासबाट मात्र होइन।” कुन सही हो? हामी विश्‍वासद्वारा धर्मी ठहरिन्छौं वा कामद्वारा?—रोमी ३:२८; याकूब २:२४.

यी दुवै सही हुन्‌ भनेर बाइबलले सामञ्जस्य जवाफ दिन्छ।

परमेश्‍वरले मोशालाई दिनुभएको व्यवस्थाअनुसार यहूदी उपासकहरूले चाडपर्वहरू मान्‍नुपर्थ्यो, उपवास बस्नुपर्थ्यो र अन्य आवश्‍यकताहरू पूरा गर्न विशेष बलिदान वा भेटीहरू शताब्दीयौंसम्म चढाइरहनुपर्थ्यो। येशूले सिद्ध बलिदान चढाउनु भएपछि ती “व्यवस्थाका कार्य” वा सामान्य “कार्यहरू” गरिरहनु आवश्‍यकता परेन।—रोमी १०:४.

तर मोशाको व्यवस्थाको अधीनमा रहेर गर्नुपर्ने यस्ता कार्यहरूलाई येशूको सर्वोत्तम बलिदानले अनावश्‍यक तुल्यायो भन्दैमा हामीले बाइबलका निर्देशनहरूलाई वास्ता नगरे पनि हुन्छ भनेको पटक्कै होइन। बाइबल यसो भन्छ: “ख्रीष्टको रगतले “जीवित परमेश्‍वरको सेवा गर्नालाई” तिमीहरूको विवेकलाई [पुराना] शक्‍तिहीन कामहरूबाट कति बढ़ी शुद्ध पार्ला?”—हिब्रू ९:१४.

हामी “जीवित परमेश्‍वरको सेवा” कसरी गर्नसक्छौं? बाइबलले भनेका अन्य कुराहरूमा हामीलाई शरीरका कार्यहरूसित लडन्त लडेर, संसारको अनैतिकतालाई तिरस्कार गरेर त्यसका पासोबाट उम्कनु भनिएको छ। यसले भन्छ: “विश्‍वासको उत्तम लड़न्त लड़,” “हामीलाई सजिलैसित अल्मल्याउने पापलाई” पन्छाऊ र “हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं। औ विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं।” अनि हामीहरू ‘मन शिथिल भई थाकेर नजाओस्‌’ भनेर बाइबल आग्रह गर्छ।—१ तिमोथी ६:१२; हिब्रू १२:१-३; गलाती ५:१९-२१.

यी कामहरू गरेर मात्र हामीले उद्धार कमाउन सक्दैनौं। किनकि यस्तो आश्‍चर्यजनक आशिष्‌को योग्य काम कुनै पनि मानिसले कहिल्यै गर्नसक्दैन। यद्यपि, बाइबलअनुसार परमेश्‍वर र ख्रीष्टले हामीबाट चाहनुहुने कुराहरू गरेर प्रेम प्रदर्शन गर्नसकेनौं र आज्ञाकारी हुनसकेनौं भने हामी यस अत्युत्तम उपहार पाउने लायकको हुनसक्दैनौं। हाम्रो विश्‍वास जाहेर गर्ने कामहरूबिना येशूलाई पछ्याउने हाम्रो दाबा निरर्थक हुनेछ। किनकि बाइबलले प्रष्टै यसो भन्छ: “विश्‍वास पनि कामरहितको छ भनेता स्वयं मरेको तुल्य हुन्छ।”—याकूब २:१७.

[पृष्ठ ७-मा भएको चित्र]

बाइबल अध्ययन गर्नुहोस्‌ र त्यसबाट उत्प्रेरित हुनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने