प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kr chap. १२ pp. ११८-१३१
  • “शान्तिका परमेश्‍वर”-को सेवा गर्न व्यवस्थित

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “शान्तिका परमेश्‍वर”-को सेवा गर्न व्यवस्थित
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘म तेरा हाकिमहरूलाई मेलमिलाप गराउने तुल्याउनेछु’
  • ख्रीष्टले कसरी मण्डलीलाई डोऱ्‍याउनुहुन्छ
  • “बगालको उदाहरण भएर”
  • आज एल्डरहरू कसरी परमेश्‍वरको बगाललाई डोऱ्‍याउँछन्‌
  • निरीक्षणको काममा भएको सुधारले परमेश्‍वरका जनहरूको एकतालाई दिगो बनाउँछ
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • अगुवाइ गर्नेहरू प्रति आज्ञाकारी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • गोठालाहरू हो, सबैभन्दा महान्‌ गोठालाहरूको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मण्डलीलाई कसरी व्यवस्थित बनाइएको हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यले शासन गर्दै छ!
kr chap. १२ pp. ११८-१३१

अध्याय १२

“शान्तिका परमेश्‍वर”-को सेवा गर्न व्यवस्थित

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

यहोवा आफ्ना जनहरूलाई क्रमिक रूपमा व्यवस्थित पार्नुहुन्छ

१, २. जनवरी १८९५ मा प्रहरीधरहरा-को आवरणमा के परिवर्तन गरियो? भाइहरूले यस परिवर्तनलाई कसरी लिए?

जोन ए. बोनेट नाम गरेका जोसिला बाइबल विद्यार्थी जनवरी १८९५ अङ्‌कको प्रहरीधरहरा पाएपछि असाध्यै खुसी भए। किनभने यो अङ्‌कको आवरण बेग्लै थियो। बिलकुलै नयाँ त्यो आवरणमा निकै आकर्षक चित्र थियो। त्यो चित्रमा उर्लंदै गरेको छालले प्रकाशगृहलाई हिर्काइरहेको थियो अनि प्रकाशगृहमा बलिरहेको बत्तीको उज्योलोले चाहिं अँध्यारो चिरिरहेको थियो। पत्रिकाको नयाँ आवरणबारे जानकारी दिन “हाम्रो नयाँ डिजाइन” शीर्षकको लेख पनि छापिएको थियो।

२ आवरण असाध्यै मन परेकोले भाइ बोनेटले भाइ रसललाई एउटा चिठी लेखे। तिनले यसो भने, “प्रहरीधरहरा पत्रिकाको नयाँ आवरण देखेर धेरै खुसी लाग्यो। असाध्यै राम्रो छ!” त्यसैगरि अर्का वफादार बाइबल विद्यार्थी जोन एच. ब्राउनले नयाँ आवरणबारे यस्तो लेखे: “आवरण अति आकर्षक छ। आँधी र छाल आए पनि त्यो धरहरा रतीभर डगमगाएको छैन, त्यसको जग कत्ति बलियो!” प्रहरीधरहरा-को नयाँ आवरण त्यस वर्षको पहिलो परिवर्तन थियो। तर अन्तिम भने थिएन। सङ्‌गठनमा अर्को एउटा ठूलो परिवर्तन सोही वर्षको नोभेम्बरमा भयो। चाखलाग्दो कुरा, यो परिवर्तन पनि आँधीले गर्दा उर्लेको छालले नै निम्त्याएको थियो।

३, ४. नोभेम्बर १५, १८९५ को प्रहरीधरहरा-मा कुन समस्याबारे चर्चा गरिएको थियो? त्यसमा पछिसम्म असर गर्ने के घोषणा गरियो?

३ बाइबल विद्यार्थीहरूको सङ्‌गठनको शान्ति भङ्‌ग गर्ने छालसरी उर्लंदै गरेको एउटा समस्याबारे नोभेम्बर १५, १८९५ को प्रहरीधरहरा-मा खुलस्त बताइएको थियो। त्यो थियो, मण्डलीमा कसको नेतृत्व हुनुपर्छ भन्‍ने विषयमा भाइहरूबीच चर्कंदै गरेको विवाद। प्रतिस्पर्धाको मनोभावले मण्डलीमा फाटो ल्याउँछ भनेर बुझाउन उक्‍त लेखमा सङ्‌गठनलाई एउटा जहाजसँग तुलना गरिएको थियो। मण्डलीमा नेतृत्व लिइरहेका भाइहरूले जहाजरूपी सङ्‌गठनलाई आँधीबेहरीको लागि तयार पार्न सकिरहेका छैनन्‌ भनेर त्यस पत्रिकामा नलुकाई भनिएको थियो। त्यसोभए, ती भाइहरूले के गर्नुपर्ने थियो?

४ आँधी आएको खण्डमा यात्रुहरूको ज्यान जोगाउन आवश्‍यक साधनहरू जहाजमा छ कि छैन र जहाजका कामदारहरू तम्तयार छन्‌ कि छैनन्‌ भनेर योग्य कप्तानले पक्का गर्छ भनी उक्‍त लेखमा बताइयो। त्यसैगरि सङ्‌गठनमा नेतृत्व लिइरहेका भाइहरूले पनि आँधीसरी समस्याहरू आउँदा त्यसको सामना गर्न मण्डली तयार छ कि छैन भनेर पक्का गर्नुपर्थ्यो। त्यसको लागि उक्‍त लेखमा पछिसम्म असर गर्ने एउटा परिवर्तनको घोषणा गरिएको थियो। “बगालको ‘निरीक्षण गर्न’” तुरुन्तै “प्रत्येक मण्डलीमा एल्डरहरू छान्‍न” निर्देशन दिइयो।—प्रेषि. २०:२८.

५. (क) एल्डरहरूलाई छान्‍न पहिलोचोटि गरिएको प्रबन्ध किन समय सुहाउँदो थियो? (ख) हामी कुन प्रश्‍नहरू केलाउनेछौं?

५ यसअघि एल्डरहरू छान्‍ने प्रबन्ध नै थिएन। मण्डलीलाई व्यवस्थित पार्न चालिएको यो कदम समय सुहाउँदो थियो। यस प्रबन्धले गर्दा हाम्रा भाइहरूले पहिलो विश्‍वयुद्ध चलिरहेको बेला सङ्‌गठनलाई अघि बढाउन सके। पछि सङ्‌गठनमा गरिएका अरू परिवर्तनहरूले गर्दा यहोवाका जनहरू उहाँको सेवा गर्न पहिलेभन्दा झन्‌ सुसज्जित भए। के यस्ता परिवर्तनहरू हुनेछन्‌ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो? तपाईंले सङ्‌गठनमा कस्ता परिवर्तनहरू देख्नुभएको छ? ती परिवर्तनहरूले गर्दा तपाईंलाई के लाभ भएको छ?

‘म तेरा हाकिमहरूलाई मेलमिलाप गराउने तुल्याउनेछु’

६, ७. (क) यशैया ६०:१७ को भविष्यवाणीको अर्थ के हो? (ख) भविष्यवाणीमा “निरीक्षकहरू” र “नाइकेहरू” उल्लेख गर्नुको कारण के हो?

६ यहोवाले आफ्ना जनहरूलाई आशिष्‌ दिनुहुन्छ र तिनीहरूको वृद्धि हुन्छ भनेर यशैयाले गरेको भविष्यवाणीबारे हामीले अध्याय ९ मा छलफल गरेका थियौं। (यशै. ६०:२२) तर यहोवाले यसै भविष्यवाणीमा अर्को एउटा प्रतिज्ञा पनि गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा पितल र ढुङ्‌गाको सट्टामा फलाम। म तेरा हाकिमहरूलाई मेलमिलाप गराउने, र तेरा शासकहरूलाई न्यायपूर्वक काम गर्ने तुल्याउनेछु।” (यशै. ६०:१७) यस भविष्यवाणीको अर्थ के हो? यो भविष्यवाणी आज कसरी पूरा भइरहेको छ?

राम्रो कुराको ठाउँमा त्योभन्दा झनै राम्रो कुरा ल्याइनेछ

७ यशैयाले नराम्रो कुराको ठाउँमा राम्रो कुरा आउनेछ भनेर भविष्यवाणी गरेनन्‌। तिनले राम्रो कुराको ठाउँमा त्योभन्दा झनै राम्रो कुरा ल्याइनेछ भनेर भविष्यवाणी गरे। जस्तै, काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी। काँसाको ठाउँमा सुन प्रयोग हुनु भनेको उन्‍नतिको चिन्ह हो। तिनले आफ्नो भविष्यवाणीमा उल्लेख गरेका अरू कुराको विषयमा पनि यस्तै भन्‍न सकिन्छ। यसरी आफ्ना जनहरूको अवस्था झन्‌झन्‌ सुधार्दै लैजानेछु भनेर यहोवाले बताउनुभयो। तर कस्तो किसिमको सुधार हुनेछ? यस पदमा भएका “हाकिमहरू” अनि “शासकहरू” भन्‍ने शब्दहरूलाई कुनै-कुनै बाइबलमा “निरीक्षकहरू” र “नाइकेहरू” भनेर अनुवाद गरिएको छ। त्यसैले आफ्ना जनहरूको हेरविचार गर्ने र तिनीहरूलाई व्यवस्थित पार्ने तरिकामा सुधार ल्याइनेछ भनेर यहोवाले यो भविष्यवाणीमा सङ्‌केत गर्नुभयो।

८. (क) कसले यशैयाको भविष्यवाणीमा बताइएका सुधारहरू गर्नेछ? (ख) ती सुधारको कारण हामी के लाभ उठाउन सक्छौं? (“सच्याइँदा तिनले नम्र भई आफ्नो गल्ती स्वीकारे” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

८ तर सुधार कसले गर्नेछ? यहोवा भन्‍नुहुन्छ: ‘सुन र चाँदी म ल्याउनेछु’ र ‘म मेलमिलाप गराउने तुल्याउनेछु।’ हो, मण्डलीलाई व्यवस्थित पार्न जे-जत्ति सुधार गरिन्छ, ती सबै यहोवाको निर्देशनबमोजिम नै हुन्छन्‌। येशू राजा हुनु भएपछि यहोवाले आफ्नो छोरालाई चलाएर मण्डलीमा थुप्रै सुधार गर्नुभएको छ। यस्ता सुधारहरूले गर्दा हामीलाई के फाइदा भएको छ? ती सुधारले गर्दा “मेलमिलाप” र ‘न्यायले’ बास गर्नेछ भनेर यशैयाले भविष्यवाणी गरे। परमेश्‍वरको निर्देशन पालन गर्दै आवश्‍यक छाँटकाँट गर्दा हामीमाझ “मेलमिलाप” अर्थात्‌ शान्ति छाउँछ। साथै, न्याय अर्थात्‌ परमेश्‍वरको स्तरप्रतिको प्रेमले हामीलाई “शान्तिका परमेश्‍वर” यहोवाको सेवा गर्न जुरमुऱ्‍याउँछ।—फिलि. ४:९.

९. मण्डलीको सुव्यवस्था र एकताको लागि मण्डलीको जग केमा बसालिएको हुनुपर्छ? किन?

९ यहोवा “गोलमालका परमेश्‍वर होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ” भनेर प्रेषित पावलले बताए। (१ कोरि. १४:३३) पावलले यहाँ गोलमालको तुलना शान्तिसित गरे, सबै कुरा टक्क मिलेको अवस्थासित गरेनन्‌। किन? किनभने सबै कुरा व्यवस्थित रूपमा चले तापनि त्यसले गर्दा शान्ति छाउँछ भन्‍ने ग्यारेन्टी छैन। उदाहरणको लागि, रणभूमिमा सिपाहीहरूले आफ्ना शत्रुहरूमाथि व्यवस्थित ढङ्‌गमा आक्रमण गर्छन्‌। तर तिनीहरू व्यवस्थित भए पनि त्यसले शान्ति ल्याउँदैन बरु युद्ध चर्काउँछ। हामी ख्रीष्टियनहरूले एउटा महत्त्वपूर्ण कुरा बिर्सनु हुँदैन। त्यो हो, कुनै एउटा सङ्‌गठन व्यवस्थित छ तर त्यसको जग शान्तिमा बसालिएको छैन भने ढिलो होस्‌ वा चाँडो, त्यसको पतन हुन्छ। तर जुन ठाउँमा परमेश्‍वरको शान्तिले बास गरेको हुन्छ, त्यो ठाउँ सधैंभरि व्यवस्थित हुन्छ। त्यसैले, “शान्ति दिनुहुने परमेश्‍वर”-ले हाम्रो सङ्‌गठनलाई डोऱ्‍याउनुभएकोमा र शुद्ध पार्नुभएकोमा हामीले त्यसको धेरै कदर गर्नुपर्छ। (रोमी १५:३३) परमेश्‍वरले दिनुहुने शान्ति नै हाम्रो सङ्‌गठनको जग भएकोले मण्डलीहरू सुव्यवस्थित ढङ्‌गमा चलेको छ र यहोवाका उपासकहरूमाझ एकता छ। हामीले सधैं यसको कदर गरिरहनुपर्छ।—भज. २९:११.

१०. (क) सुरु-सुरुमा हाम्रो सङ्‌गठनमा के-कस्ता सुधार गरिए? (“निरीक्षण गर्ने काममा कस्ता सुधार गरिए?” शीर्षक भएको पेटी हेर्नुहोस्‌।) (ख) अब हामी कुन प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

१० हाम्रो सङ्‌गठनलाई व्यवस्थित बनाउन सुरु-सुरुमा के-कस्ता छाँटकाँट गरिए, त्यसबारे “निरीक्षण गर्ने काममा कस्ता सुधार गरिए?” शीर्षक भएको पेटीमा बताइएको छ। त्यसोभए हालसालै यहोवाले हाम्रो राजामार्फत “काँसाको सट्टा सुन” ल्याउन कस्ता परिवर्तनहरू गर्नुभएको छ त? निरीक्षण गर्ने काममा भएका सुधारहरूले गर्दा संसारभरिका मण्डलीहरूमा कसरी पहिलेभन्दा झन्‌ शान्ति छाउनुका साथै एकता बढेको छ? ती छाँटकाँटले “शान्तिका परमेश्‍वर”-को सेवा गर्न तपाईंलाई कसरी मदत गरेको छ?

ख्रीष्टले कसरी मण्डलीलाई डोऱ्‍याउनुहुन्छ

११. (क) बाइबलको गहिरो अध्ययन गरेपछि के कुरा थाह भयो? (ख) सङ्‌गठनमा अगुवाइ लिइरहेका भाइहरू के गर्न तत्पर भए?

११ सन्‌ १९६४ देखि सन्‌ १९७१ बीच सङ्‌गठनमा अगुवाइ लिइरहेका भाइहरूले बाइबलको गहिरो अध्ययन गर्ने एउटा विशेष योजना बनाए। त्यतिखेर अध्ययन गरिएका थुप्रै विषयमध्ये एउटा प्रथम शताब्दीका ख्रीष्टियन मण्डलीहरूसित सम्बन्धित थियो।a यो अध्ययनले गर्दा मण्डलीलाई कसरी डोऱ्‍याउनुपर्छ भन्‍ने विषयमा एउटा महत्त्वपूर्ण कुरा थाह लाग्यो। त्यो थियो, प्रथम शताब्दीमा मण्डलीहरूलाई एक जना एल्डर वा निरीक्षकले होइन एल्डरहरू मिलेर बनेको निकायले डोऱ्‍याउने गर्थ्यो। (फिलिप्पी १:१; १ तिमोथी ४:१४ पढ्‌नुहोस्‌) परमेश्‍वरका जनहरूको सङ्‌गठनलाई सुधार्न येशूले आफूहरूलाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कुरा सङ्‌गठनमा अगुवाइ लिइरहेका भाइहरूले महसुस गरे। ती भाइहरू राजा येशू ख्रीष्टले देखाउनुभएको नयाँ निर्देशनअनुसार चल्न तयार भए। मण्डलीमा एल्डरहरूको नियुक्‍ति बाइबलमा बताइएअनुसारै होस्‌ भनेर ती भाइहरूले तुरुन्तै छाँटकाँट गरे। सन्‌ १९७० को दशकमा थुप्रै छाँटकाँट भए। केही छाँटकाँट अब हामी हेरौं।

सच्याइँदा तिनले नम्र भई आफ्नो गल्ती स्वीकारे

भाइ रसलले फिनल्याण्ड, स्वीडेन र नर्वेका केही भाइहरूलाई लेखेको पत्र अप्रिल १, १९१६ अङ्‌कको फिनिश भाषाको प्रहरीधरहरा-मा छापिएको थियो। भाइ रसलको पत्र पाउनेहरूमध्ये एक जना भाइ कार्लो हार्टेभा थिए। पत्रमा भाइ रसलले यस्तो लेखेका थिए: “हामी तपाईं सबै प्रिय सङ्‌गी भाइहरूलाई सही बाटोमा फर्कन र अहिले यस युगमा गर्नुपर्ने काम गर्न प्रोत्साहन दिन्छौं।” भाइ रसलले यस्तो आग्रह गर्नुको कारण के थियो?

कार्लो हार्टेभा

कार्लो हार्टेभा

सन्‌ १८८२ मा जन्मेका भाइ हार्टेभा फिनल्याण्डका सुरु-सुरुका बाइबल विद्यार्थीहरूमध्ये एक थिए। तिनले अप्रिल १९१० मा बप्तिस्मा गरेका थिए। सन्‌ १९१२ को अगस्त महिनामा भाइ रसलले तिनलाई फिनिश भाषामा प्रहरीधरहरा प्रकाशित गर्न अनुमति दिए। प्रथम विश्‍वयुद्ध सुरु नभएसम्म सबै ठीकठाक चलिरहेको थियो। डिसेम्बर १, १९१४ को प्रहरीधरहरा-मा भाइ हार्टेभाले यस्तो लेखे: “आर्थिक समस्याको कारण यो वर्ष फिनिश भाषाको प्रहरीधरहरा-का पानाहरूको सङ्‌ख्या अङ्‌ग्रेजीको जत्तिकै हुन्छ र यो पत्रिका नियमित रूपमा आउँछ भन्‍ने ग्यारेन्टी छैन।” तर सन्‌ १९१५ मा भाइ हार्टेभा र अरूले पैसा जुटाउनको लागि एउटा संस्था खोले। त्यस संस्थाको नाम अरारत राखे र त्यसै नामको एउटा पत्रिका पनि छाप्न थाले।

भाइ हार्टेभाले आफूहरूले खोलेको त्यो नयाँ संस्था र नयाँ पत्रिकामै धेरै ध्यान दिन थाले। त्यसैले फिनिश भाषाको प्रहरीधरहरा-को सम्पादन गर्ने काम अर्कै एक जना भाइले गर्न थाले। अरारत पत्रिकामा बाइबलआधारित लेखहरूका साथै प्राकृतिक उपचार र त्यसबेला भर्खरै सुरु भएको एसपरान्टो भाषाबारे पनि लेखहरू छापिन्थ्यो। केही समय नबित्दै, त्यस नयाँ पत्रिकाले गर्दा भाइबहिनीहरू अलमलमा पर्न थाले। त्यसैले भाइ रसलले भाइबहिनीको आध्यात्मिक हितको चिन्ता लिंदै भाइ हार्टेभा र अरूलाई “सही बाटोमा फर्कन” आग्रह गरेका थिए।

भाइ रसलको पत्र पाएपछि भाइ हार्टेभाले के गरे? तिनले भाइ रसलको पत्रसँगै आफ्नो जवाफ पनि अरारत पत्रिकामा छापे। भाइ हार्टेभाले आफ्नो गल्तीको क्षमा माग्दै यसो भने: “म आफ्नो गल्ती सुधार्न यथासक्दो गर्नेछु।” त्यसको केही समयपछि भाइ हार्टेभाले अरारत पत्रिकाको अन्तिम अङ्‌कमा आफूले गर्दा भाइबहिनीहरू अलमलमा परेकोमा फेरि एकचोटि क्षमा माग्दै यसो भने: “बाइबलले सिकाउने कुराहरूबारे चर्चा गर्दा म अझै होसियार हुने प्रयास गर्नेछु।” त्यतिबेलाका केही घमन्डी निर्वाचित एल्डरहरू जस्तो नभई भाइ हार्टेभाले आफूलाई सच्याइँदा नम्र भई आफ्नो गल्ती स्वीकारे।

पछि भाइ हार्टेभालाई फेरि फिनिश भाषाको प्रहरीधरहरा-को सम्पादक र फिनल्याण्ड शाखा निरीक्षक नियुक्‍त गरियो। सन्‌ १९५० सम्म तिनले यी जिम्मेवारीहरू सम्हाले। यी अभिषिक्‍त भाइको मृत्यु सन्‌ १९५७ मा भयो। तिनी पृथ्वीमा आफ्नो जीवनकालभरि नै यहोवा र बाइबलले सिकाउने सत्य कुराप्रति वफादार रहे। साँच्चै, राजा येशूले सच्याउनुहुँदा नम्र भई आफ्नो गल्ती स्वीकार्नेहरू अझै खारिन्छन्‌ र तिनीहरूले यहोवाको आशिष्‌ पाउँछन्‌।

१२. (क) परिचालक निकायमा के छाँटकाँट भयो? (ख) परिचालक निकायले अहिले कसरी व्यवस्थित रूपमा काम गर्छ, बताउनुहोस्‌। (पृष्ठ १३० मा “परिचालक निकायले कसरी राज्यसम्बन्धी गतिविधिहरूको निरीक्षण गर्छ?” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

१२ सबैभन्दा पहिलो छाँटकाँट त हाम्रो सङ्‌गठनको नेतृत्व लिने भाइहरूको समूहमै भयो, जसलाई हामी अहिले परिचालक निकाय भन्‍ने गर्छौं। त्यतिबेलासम्म वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाको सञ्चालक समितिका सात जना अभिषिक्‍त भाइहरूले नै परिचालक निकायको रूपमा हाम्रो सङ्‌गठनको नेतृत्व गरिरहेका थिए। तर सन्‌ १९७१ मा नेतृत्व लिने भाइहरूको सङ्‌ख्या ७ जनाबाट बढाएर ११ पुऱ्‍याइयो। परिचालक निकायको भूमिका स्पष्ट रूपले निर्वाह गर्न थालेका यी भाइहरूको समूहले त्यसपछि आफूलाई वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाको सञ्चालक समितिबाट अलग पारे। परिचालक निकायका सबै सदस्य बराबर छन्‌ भन्‍ने दृष्टिकोण राख्दै हरेक वर्ष प्रत्येक सदस्यले आफ्नो नामको वर्णानुक्रमअनुसार पालैसित परिचालक निकायको अध्यक्षता ग्रहण गर्ने चलन पनि सुरु भयो।

१३. (क) चालीस वर्षसम्म मण्डलीको निरीक्षण गर्ने कस्तो प्रबन्ध थियो? (ख) सन्‌ १९७२ मा परिचालक निकायले के गऱ्‍यो?

१३ त्यसपछि गरिएको अर्को छाँटकाँटले भने मण्डलीलाई असर गऱ्‍यो। कसरी? सन्‌ १९३२ देखि सन्‌ १९७२ सम्म मण्डलीको निरीक्षण गर्ने जिम्मा एक जना भाइको काँधमा हुन्थ्यो। सन्‌ १९३६ सम्म तिनलाई सेवा निर्देशक भन्‍ने गरिन्थ्यो। त्यसपछि तिनलाई कम्पनी सेवक भन्‍न थालियो अनि क्रमशः मण्डली सेवक र मण्डली निरीक्षक भनियो। ती नियुक्‍त भाइले बगालको आध्यात्मिक हितमा गहिरो चासो लिन्थे। मण्डलीसम्बन्धी केही निर्णय गर्नुपर्दा तिनले प्रायः अरू कसैसँग सल्लाह नगरी एक्लैले निर्णय गर्ने गर्थे। तर सन्‌ १९७२ मा परिचालक निकायले एउटा ऐतिहासिक परिवर्तनको लागि बाटो तयार पाऱ्‍यो। त्यो परिवर्तन के थियो?

१४. (क) अक्टोबर १, १९७२ मा कुन नयाँ प्रबन्ध सुरु भयो? (ख) एल्डरहरूको निकायको संयोजकले फिलिप्पी २:३ मा पाइने सल्लाह कसरी पालन गर्छन्‌?

१४ मण्डलीको निरीक्षण गर्ने जिम्मेवारी एक जना भाइलाई मात्र सुम्पनुको सट्टा अबदेखि बाइबलले तोकेको स्तरअनुसार योग्य ठहरिएका अरू भाइहरूलाई पनि ईश्‍वरतान्त्रिक ढङ्‌गमा ख्रीष्टियन एल्डर नियुक्‍त गर्ने प्रबन्ध सुरु भयो। यस्ता भाइहरू मिलेर बनेको समूहलाई एल्डरहरूको निकाय भनियो र मण्डलीको निरीक्षण गर्ने जिम्मा यो निकायलाई सुम्पियो। सन्‌ १९७२ अक्टोबर १ देखि यो प्रबन्ध लागू भयो। अहिले एल्डरहरूमध्ये एक जनालाई एल्डरहरूको निकायको संयोजकको जिम्मेवारी दिइन्छ। तर तिनले आफूलाई अरू एल्डरहरूभन्दा ठूलो ठान्दैनन्‌। बरु “आफूलाई सबैभन्दा सानो” ठान्छन्‌। (लूका ९:४८) हामीमाझ त्यस्ता नम्र भाइहरू हुनु ठूलो आशिष्‌को कुरा हो!—फिलि. २:३.

हाम्रो बुद्धिमान्‌ राजा येशू ख्रीष्टले समयमै आफ्ना अनुयायीहरूलाई चाहिने गोठालाहरू खोज्नुभएको छ

१५. (क) एल्डरहरूको निकायको प्रबन्धबाट भाइबहिनीले के लाभ उठाएका छन्‌? (ख) हामी किन येशू बुद्धिमान्‌ हुनुहुन्छ भन्‍न सक्छौं?

१५ मण्डलीको निरीक्षण गर्ने काम एल्डरहरूको निकायले गर्ने यस नयाँ प्रबन्धले गर्दा धेरै फाइदा भएको छ। तीनवटा फाइदा विचार गर्नुहोस्‌: पहिलो र सबैभन्दा महत्त्वपूर्ण, आफूले सम्हाल्ने जिम्मेवारी जतिसुकै महत्त्वपूर्ण भए तापनि येशू नै मण्डलीको शिर हुनुहुन्छ भन्‍ने कुरा एल्डरहरूले सधैं सम्झिरहन्छन्‌। (एफि. ५:२३) दोस्रो, हितोपदेश ११:१४ ले भनेझैं “सल्लाहकार धेरै भएकाले सुरक्षा हुन्छ।” मण्डलीको आध्यात्मिक हितलाई असर गर्न सक्ने मामिलाहरूबारे सबै एल्डरले आपसमा सरसल्लाह गर्ने भएकोले तिनीहरूले बाइबल सिद्धान्तसित मेल खाने निर्णय गर्न सक्छन्‌। (हितो. २७:१७) अनि त्यसरी मिलेर गरेको निर्णयहरूमा यहोवाको आशिष्‌ हुने भएकोले ती सफल हुन्छन्‌। तेस्रो, बाइबलले तोकेको स्तरअनुसार योग्यता हासिल गरिसकेका धेरैभन्दा धेरै भाइहरूलाई एल्डर नियुक्‍त गर्ने प्रबन्धले गर्दा मण्डलीको निरीक्षण गर्ने अनि गोठालोको काम गर्ने भाइहरूको बढ्‌दो माग सङ्‌गठनले पूरा गर्न सकेको छ। (यशै. ६०:३-५) सन्‌ १९७१ मा संसारभरि २७,००० वटा मण्डली थिए, तर त्यो सङ्‌ख्या बढेर सन्‌ २०१३ मा १,१३,००० भन्दा धेरै पुगिसकेको छ! हो, हाम्रो बुद्धिमान्‌ राजा येशू ख्रीष्टले समयमै आफ्ना अनुयायीहरूलाई चाहिने गोठालाहरू खोज्नुभएको छ।—मीका ५:५.

निरीक्षण गर्ने काममा कस्ता सुधार गरिए?

  • सन्‌ १८८१—एउटै इलाकाका बाइबल विद्यार्थीहरू एकअर्कासित सम्पर्कमा रहून्‌ भनेर भाइ रसलले नियमित रूपमा सभा सञ्चालन गरिरहेकाहरूलाई सभा हुने ठाउँको ठेगाना वाच टावर अफिसमा पठाउन आग्रह गरे।

  • सन्‌ १८९५—मण्डलीहरूलाई भाइहरूमध्येबाट एल्डरहरू छान्‍न निर्देशन दिइयो।

  • सन्‌ १९१९—शाखा कार्यालयले प्रत्येक मण्डलीमा ईश्‍वरतान्त्रिक तरिकामा सेवा निर्देशक नियुक्‍त गऱ्‍यो। तिनले सम्हाल्नुपर्ने जिम्मामा प्रचारकार्यलाई व्यवस्थित पार्नु र प्रचारमा भाग लिन भाइबहिनीलाई प्रोत्साहन दिनु पनि थियो। केही एल्डरहरूले सेवा निर्देशकको प्रबन्धलाई स्वीकारेनन्‌।

  • सन्‌ १९३२—मण्डलीले हरेक वर्ष एल्डरहरूको निर्वाचन गर्नुपर्ने प्रक्रिया खारेज गरियो। त्यसको सट्टा मण्डलीले भोट हालेर सेवा समितिमा काम गर्ने भाइहरू छान्‍न थाल्यो। ती भाइहरूले प्रचारकार्यमा जोसिलो भई भाग लिइरहेका र भर्खरै पाएको यहोवाका साक्षीहरू भन्‍ने नामअनुसार जीवन बिताइरहेका हुनुपर्थ्यो। मण्डलीले छानेकाहरूमध्येबाट एक जनालाई सोसाइटी अथवा शाखा कार्यालयले सेवा निर्देशक छान्थ्यो।

  • सन्‌ १९३७—अभिषिक्‍त भाइहरू सँगसँगै ठूलो भीडका भाइहरूले पनि सेवा समितिमा सेवा गर्ने मौका पाए।

  • सन्‌ १९३८—मण्डलीका सबै सेवकहरूलाई ईश्‍वरतान्त्रिक ढङ्‌गमा नियुक्‍त गरियोस्‌ भनेर मण्डलीहरूले एउटा प्रस्तावना पारित गरे। यसपछि मण्डलीमा भोट हालेर भाइहरू नियुक्‍त गर्न बन्द गरियो।

सङ्‌गठनमा भएका ऐतिहासिक परिवर्तनहरूबारे थप जानकारीको लागि अङ्‌ग्रेजी भाषाको किताब यहोवाका साक्षीहरू—परमेश्‍वरको राज्यका उद्‌घोषकहरू, पृष्ठ २०४-२३५ हेर्नुहोस्‌।

सन्‌ १९२० दशकतिर मण्डलीले वर्षैपिच्छे यसरी एल्डरहरूको निर्वाचन गर्थ्यो

“एल्डरहरू चुन्‍न हामी दायाँ हात उठाउने गर्थ्यौं। त्यसपछि एक जना भाइले कति जनाको हात उठ्यो, त्यो गन्‍नुहुन्थ्यो।”—अमेरिकाको सिकागो सहरकी बहिनी रोज स्विङ्‌गल।

“बगालको उदाहरण भएर”

१६. (क) एल्डरहरूले कुन जिम्मेवारी पाएका छन्‌? (ख) “भेडाहरूको हेरचाह गर” भन्‍ने येशूको आज्ञालाई बाइबल विद्यार्थीहरूले कसरी लिए?

१६ भाइ रसलको समयमै एल्डरहरूले सङ्‌गी उपासकहरूलाई परमेश्‍वरको सेवा गर्न मदत गर्नु आफ्नो जिम्मेवारी हो भनेर बुझिसकेका थिए। (गलाती ६:१० पढ्‌नुहोस्‌) सन्‌ १९०८ मा प्रकाशित एउटा अङ्‌ग्रेजी प्रहरीधरहरा-मा “मेरा साना भेडाहरूको हेरचाह गर” भनेर येशूले दिनुभएको आज्ञाबारे छलफल गरिएको थियो। (यूह. २१:१५-१७) त्यस लेखमा एल्डरहरूलाई यस्तो सल्लाह दिइएको थियो: “बगालको हेरचाह गर भनेर मालिकले अह्राउनुभएको कामलाई हामीले प्राथमिकता दिनुपर्छ भनेर हामी कहिल्यै नबिर्सौं। प्रभुका अनुयायीहरूलाई खुवाउने र तिनीहरूको हेरचाह गर्ने कामलाई हामीले ठूलो सुअवसर ठान्‍नुपर्छ।” त्यसैगरि सन्‌ १९२५ मा प्रकाशित अङ्‌ग्रेजी प्रहरीधरहरा-मा गोठालोको रूपमा सेवा गर्नु गम्भीर जिम्मेवारी हो भनेर एल्डरहरूलाई सम्झाइएको थियो। उक्‍त प्रहरीधरहरा-मा यसो भनिएको थियो: “मण्डली परमेश्‍वरकै हो, . . . भाइहरूको हेरचाह गर्ने जिम्मा पाउने प्रत्येकले उहाँलाई लेखा दिनुपर्नेछ।”

१७. निरीक्षकहरूलाई गोठालोको काम राम्ररी गर्न कसरी मदत दिइएको छ?

१७ एल्डरहरूलाई बगालको हेरचाह गर्न अझ पोख्त बनाउन अर्थात्‌ “फलामको सट्टा चाँदी” चलाउन यहोवाको सङ्‌गठनले तालिमहरूको प्रबन्ध पनि गरेको छ। सन्‌ १९५९ मा निरीक्षकहरूको लागि पहिलो चोटि राज्य सेवा स्कुल सञ्चालन गरियो। त्यस स्कुलका विभिन्‍न कार्यक्रमहरूमध्ये एउटाको विषय “व्यक्‍तिगत चासो दिनुहोस्‌” भन्‍ने थियो। उक्‍त कार्यक्रममा “प्रकाशकहरूलाई तिनीहरूको घरमै गएर भेट्‌ने तालिका मिलाउन” जिम्मेवार भाइहरूलाई प्रोत्साहन दिइएको थियो। त्यस्तो भेटघाटलाई उत्थानदायी बनाउन गोठालाहरूले के-के गर्न सक्छन्‌ भनेर पनि उक्‍त कार्यक्रममा बताइएको थियो। सन्‌ १९६६ मा केही छाँटकाँट गरेर नयाँ राज्य सेवा स्कुल सुरु गरियो। त्यस स्कुलमा “गोठालोको कामको महत्त्व” भन्‍ने एउटा भाग थियो। नेतृत्व लिने भाइहरूले “परमेश्‍वरको बगालको मायालु हेरचाह गर्नुपर्छ। तर तिनीहरूले आफ्नो परिवारको ख्याल राख्ने र प्रचारमा जाने जस्ता जिम्मेवारी पनि पूरा गर्नुपर्छ” भनेर उक्‍त भागमा छलफल गरिएको थियो। हालैका वर्षहरूमा एल्डरहरूका लागि थप स्कुलहरूको प्रबन्ध गरिएको छ। यहोवाको सङ्‌गठनले दिने यस्ता प्रशिक्षणहरूले गर्दा आज ख्रीष्टियन मण्डलीमा हजारौं भाइहरूले राम्रो गोठालोको रूपमा सेवा गरिरहेका छन्‌।

सन्‌ १९६६ मा फिलिपिन्समा भएको राज्य सेवा स्कुल

सन्‌ १९६६ मा फिलिपिन्समा भएको राज्य सेवा स्कुल

१८. (क) एल्डरहरूलाई कुन गहन जिम्मेवारी सुम्पिइएको छ? (ख) यहोवा र येशू परिश्रमी एल्डरहरूलाई किन माया गर्नुहुन्छ?

१८ ख्रीष्टियन एल्डरहरूलाई राजा येशूमार्फत नियुक्‍त गरेर यहोवाले एउटा गहन जिम्मेवारी सुम्पनुभएको छ। त्यो जिम्मेवारी हो, मानव इतिहासकै सबैभन्दा कठिन समयमा उहाँका नम्र जनहरूलाई डोऱ्‍याउने। (एफि. ४:११, १२; २ तिमो. ३:१) एल्डरहरूले ‘आफ्नो जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं स्वेच्छाले र तत्परता साथ हेरविचार गर र बगालको उदाहरण होओ’ भन्‍ने आज्ञा पालन गर्छन्‌। (१ पत्रु. ५:२, ३) यस्ता परिश्रमी एल्डरहरूलाई यहोवा र येशू असाध्यै माया गर्नुहुन्छ। तर ख्रीष्टियन गोठालाहरूले बगालको निम्ति कसरी उदाहरण बसाल्छन्‌? अनि तिनीहरूले मण्डलीमा शान्ति र आनन्द कायम राख्न कस्तो योगदान पुऱ्‍याउँछन्‌? दुइटा तरिका विचार गरौं।

“हामी छक्क पऱ्‍यौं”

एसियामा सेवा गरिरहेको मिसनरी दम्पतीलाई वर्षौंसम्म कुनै प्रगति नभएको एउटा मण्डलीमा खटाइयो। त्यहाँका भाइहरू मायालु त थिए तर उनीहरूले सङ्‌गठनको निर्देशन पालन नगरेको कुरा ती दम्पतीले याद गरे। सबैभन्दा पहिला ती मिसनरी दम्पतीले मण्डलीका भाइबहिनीलाई साथी बनाए। त्यसपछि संसारभरिका यहोवाका जनहरूको मण्डलीहरूलाई जस्तै उक्‍त मण्डलीलाई पनि व्यवस्थित पार्न ती मिसनरी भाइले एक-एक गरी छाँटकाँटहरू गर्न थाले। नतिजा? दुई वर्षभित्रै सभामा उपस्थितिको सङ्‌ख्या दोब्बर भयो, नयाँ प्रकाशकहरूले प्रचारकार्यमा भाग लिन थाले र २० जनाभन्दा धेरैले बप्तिस्मा गरे। ती मिसनरी दम्पती यसो भन्छन्‌, “हामी छक्क पऱ्‍यौं! यहोवाले हामीलाई प्रशस्त आशिष्‌ दिनुभयो! परमेश्‍वरको सङ्‌गठनको निर्देशनहरू पालन गर्दा प्राप्त भएको नतिजा देखेर मण्डलीका सबै जना खुसी छन्‌।”

आज एल्डरहरू कसरी परमेश्‍वरको बगाललाई डोऱ्‍याउँछन्‌

१९. हामीसँगै प्रचारमा जाने एल्डरहरूप्रति हामी कस्तो दृष्टिकोण राख्छौं?

१९ पहिलो, एल्डरहरू मण्डलीका सदस्यहरूसित मिलेर काम गर्छन्‌। येशू ख्रीष्टका चेला लूकाले उहाँबारे यस्तो लेखेका थिए: “उहाँ परमेश्‍वरको राज्यको सुसमाचारको प्रचार र घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ डुल्न थाल्नुभयो। अनि बाह्रै जना उहाँसित थिए।” (लूका ८:१) जसरी येशू आफ्ना प्रेषितहरूसित प्रचारमा जानुभयो, त्यसरी नै उदाहरणीय एल्डरहरू पनि सङ्‌गी विश्‍वासीहरूसित काँधमा काँध मिलाएर प्रचारमा जान्छन्‌। यसरी प्रचारको काममा भाग लिंदा मण्डलीको जोस बढ्‌छ भनेर तिनीहरूले बुझेका छन्‌। त्यस्ता एल्डरहरूलाई मण्डलीका सदस्यहरूले कसरी हेर्छन्‌? नब्बे वर्ष पुग्नै लागेकी बहिनी जानेन्‌ यसो भन्छिन्‌: “एल्डरसँगै प्रचारमा जाँदा उहाँसित कुरा गर्ने र उहाँलाई अझ राम्ररी चिन्‍ने मौका पाउँछु।” स्टिभन नाम गरेका ३४/३५ वर्षका भाइ यसो भन्छन्‌: “एल्डरसँगै घरघरको प्रचारमा जाँदा उहाँ मलाई मदत गर्न चाहनुहुन्छ भनेर महसुस गर्छु। उहाँको मदत पाउँदा मलाई धेरै खुसी लाग्छ।”

हुरीबतास चलिरहेको बेला एक जना गोठालो आफ्नो हराएको भेडोलाई खोज्छन्‌

गोठालाले हराएको भेडा खोजेझैं एल्डरहरू मण्डलीसित सङ्‌गत गर्न छोडेकाहरूलाई खोज्न कडा मेहनत गर्छन्‌

२०, २१. एल्डरहरूले कसरी येशूको दृष्टान्तका गोठालोको अनुकरण गर्न सक्छन्‌? एउटा उदाहरण दिनुहोस्‌। (“प्रत्येक हप्ता भेट्‌न जाँदा नतिजा राम्रो भयो” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

२० दोस्रो, एल्डरहरूले मण्डलीदेखि टाढा हुँदै गइरहेका भाइबहिनीलाई मदत गर्छन्‌। आध्यात्मिक रूपमा कमजोर हुँदै गइरहेका ती भाइबहिनीलाई मदत गर्न यहोवाको सङ्‌गठनले एल्डरहरूलाई तालिम पनि दिएको छ। (हिब्रू १२:१२) एल्डरहरूले किन तिनीहरूलाई मदत गर्नुपर्छ अनि कसरी मदत गर्न सक्छन्‌? यसको जवाफ येशूले बताउनुभएको गोठालो र हराएको भेडाको दृष्टान्तमा पाउन सक्छौं। (लूका १५:४-७ पढ्‌नुहोस्‌) बगालबाट एउटा भेडा हराइरहेको छ भनेर थाह पाउनेबित्तिकै गोठालोले त्यही एउटा भेडाको चिन्ता गरेर त्यसलाई धुइँधुइँती खोज्छ। आज ख्रीष्टियन एल्डरहरूले कसरी त्यस गोठालोको अनुकरण गर्न सक्छन्‌? हराएको भेडालाई गोठालोले अमूल्य ठानेजस्तै परमेश्‍वरका जनहरूसित सङ्‌गत गर्न छाडेका भाइबहिनीलाई एल्डरहरू अमूल्य ठान्छन्‌। आध्यात्मिक रूपमा कमजोर भएको व्यक्‍तिलाई तिनीहरू हराएको भेडाको रूपमा हेर्छन्‌। उनीहरूलाई खोज्नु र मदत गर्नु व्यर्थ हो भन्ठान्दैनन्‌। साथै, जसरी गोठालोले “हराएको त्यो भेडा नभेट्टाउन्जेल” खोजिरहन्छ, त्यसरी नै एल्डरहरू पनि कमजोर भएका भाइबहिनीलाई भेट्‌न र मदत गर्न अघि सर्छन्‌।

२१ येशूले सुनाउनुभएको दृष्टान्तमा हराएको भेडा पाएपछि गोठालाले के गर्छ? उसले बिस्तारै भेडालाई बोकेर “आफ्नो काँधमा राख्छ” र बगाल भएतिर फर्कन्छ। त्यसैगरि एल्डरले आध्यात्मिक रूपमा कमजोर भएको व्यक्‍तिमा मायालु चासो लिंदै तिनलाई हौसला दिन्छन्‌ र मण्डलीमा फर्कन मदत गर्छन्‌। मण्डलीसित सङ्‌गत गर्न छाडेका अफ्रिकाका एक जना भाइ भिक्टरले यस्तै महसुस गरे। तिनी भन्छन्‌: “आठ वर्षसम्म निष्क्रिय भएर बस्दा एल्डरहरूले मलाई मदत गर्ने प्रयास गरिरहे।” विशेषगरि कुन कुराले तिनको मन छोयो? तिनी भन्छन्‌: “एक दिन जोन नाम गरेका एल्डर मलाई भेट्‌न आउनुभयो। हामी दुई जनाले अग्रगामी सेवा स्कुलबाट सँगै तालिम लिएका थियौं। स्कुलमा भाग लिंदा खिचिएको हाम्रो फोटोहरू उहाँले देखाउनुभयो। ती फोटोहरूले मलाई थुप्रै रमाइला कुराहरूको सम्झना गरायो। म फेरि यहोवाको सेवामा रमाउन चाहन्थें।” त्यसको केही समयपछि भिक्टर मण्डलीमा फर्के। आज तिनी फेरि अग्रगामी सेवा गर्दै छन्‌। मायालु ख्रीष्टियन एल्डरहरू साँच्चै हामीले आनन्दित भएर यहोवाको सेवा गरोस्‌ भन्‍ने चाहन्छन्‌।—२ कोरि. १:२४. b

दुई जना भाइ वृद्ध भइसकेका निष्क्रिय भाइलाई भेट्‌छन्‌

प्रत्येक हप्ता भेट्‌न जाँदा नतिजा राम्रो भयो

अमेरिकाको एउटा मण्डलीका एल्डरहरूले हराएको भेडालाई मदत गर्न चाहे। त्यसैले बगालसित सङ्‌गत गर्न छोडेकाहरूलाई कसरी मदत दिन सकिन्छ भनेर ती एल्डरहरूले आपसमा छलफल गरे। निकै वर्षअघि यहोवाको सेवा गर्न छोडेका झन्डै ३० जना भाइबहिनी अझै पनि आफ्नो मण्डलीको इलाकामा भएको कुरा एल्डरहरूले पत्ता लगाए। तिनीहरूमध्ये धेरै त वृद्ध भइसकेका थिए।

अल्फ्रेडो नाम गरेका एक जना एल्डरले ती निष्क्रिय प्रकाशकहरूको सूची लिए र तिनीहरूलाई भेट्‌न थाले। तिनी भन्छन्‌, “प्रत्येक शुक्रबार बिहान म कुनै एक जना भाइ वा बहिनीलाई भेट्‌न जान्छु।” ती व्यक्‍तिलाई भेटेपछि भाइ अल्फ्रेडो उनको हालखबर सोध्दै कुराकानी गर्छन्‌। यहोवाको राज्यको लागि उनले गरेका कामहरू मण्डलीले बिर्सेको छैन भनी भाइ अल्फ्रेडो ती निष्क्रिय भाइ वा बहिनीलाई बताउँछन्‌। अल्फ्रेडो भन्छन्‌, “मैले एकचोटि पाको उमेरका निष्क्रिय भाइलाई भेटें। अनि तिनले सन्‌ १९७६ मा अन्तिम पटक रिपोर्ट बुझाउँदा कति घण्टा प्रचार गरेका थिए र कतिवटा पत्रिकाहरू दिएका थिए भनेर बताएँ। यो सुनेपछि तिनको आँखा रसायो।” अल्फ्रेडो निष्क्रिय प्रकाशकहरूलाई भेट्‌दा लूका १५:४-७, १० पनि पढ्‌छन्‌ र यसो भन्छन्‌, “हराएको भेडा मण्डलीमा फर्किंदा यहोवा, येशू र स्वर्गदूतहरू कत्ति रमाउनुहुन्छ होला, कल्पना गर्नुहोस्‌ त!”

भाइ अल्फ्रेडोले निष्क्रिय प्रकाशकहरूलाई भेट्‌न थालेको दुई वर्ष भइसक्यो। तिनले धैर्य गर्दै यस्ता व्यक्‍तिहरूलाई भेट्‌न जाँदा नतिजा कस्तो भएको छ? दुई जना भाइले मण्डलीसित फेरि सङ्‌गत गर्न थालेका छन्‌। तिनीहरू नियमित रूपमा सप्ताहन्तको सभामा उपस्थित हुन्छन्‌। भाइ अल्फ्रेडो हाँस्दै यसो भन्छन्‌, “तिनीहरू राज्यभवनमा आउँदा मेरो पनि आँखा रसायो।” तिनी यसो पनि भन्छन्‌, “यी निष्क्रिय भाइहरू सभामा आउन थाले पनि म अझै तिनीहरूलाई प्रत्येक शुक्रबार भेट्‌न जान्छु। प्रत्येक हप्ता तिनीहरू त्यस दिनको प्रतीक्षा गर्छन्‌ र मलाई पनि तिनीहरूलाई भेट्‌न पाउँदा खुसी लाग्छ!”

निरीक्षणको काममा भएको सुधारले परमेश्‍वरका जनहरूको एकतालाई दिगो बनाउँछ

२२. न्याय र शान्तिले ख्रीष्टियन मण्डलीको एकतालाई कसरी बलियो बनाउँछ? (“हामी छक्क पऱ्‍यौं” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

२२ यहोवाले आफ्ना जनहरू अझ राम्ररी उहाँका स्तरबमोजिम चल्नेछन्‌ र तिनीहरूमाझ पहिले भन्दा झन्‌ धेरै शान्ति हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो भनेर हामीले यस अध्यायको सुरुतिर छलफल गरेका थियौं। (यशै. ६०:१७) शान्ति र न्यायले मण्डलीको एकता बढाउँछ। कसरी? “परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ।” (व्यव. ६:४) त्यसैले उहाँका स्तरहरू मण्डलीपिच्छे फरक छैन। सही र गलत निर्धारण गर्ने उहाँको स्तर एउटै छ र “पवित्र जनहरूका सबै मण्डलीमा” यही स्तर पालन गरिन्छ। (१ कोरि. १४:३३) जीवनको जुनसुकै क्षेत्रमा परमेश्‍वरको स्तर पालन गऱ्‍यौं भने मात्र मण्डलीको उन्‍नति हुन्छ। त्यसैगरि, मण्डलीमा शान्तिले बास गरोस्‌ भनेर हामीले चाहेर मात्र पुग्दैन, हामी आफैले “शान्ति कायम” गर्ने कोसिस गर्नुपर्छ। अनि हाम्रो राजा येशू ख्रीष्ट हामीले त्यसै गरेको आशा गर्नुहुन्छ। (मत्ती ५:९) त्यसैले हामी “शान्ति कायम हुने . . . कुराहरूको पछि” लाग्छौं। भाइबहिनीसित मनमुटाव हुँदा त्यसलाई सुल्झाउन हामी अघि सर्छौं। (रोमी १४:१९) यसरी मण्डलीमा शान्ति र एकता कायम राख्न हामीले मदत गरिरहेका हुन्छौं।—यशै. ६०:१८.

२३. हामी यहोवाका सेवकहरू किन खुसी छौं?

२३ नोभेम्बर १८९५ अङ्‌कको अङ्‌ग्रेजी प्रहरीधरहरा-मा एल्डर नियुक्‍त गर्ने प्रबन्धबारे पहिलो चोटि घोषणा हुँदा सङ्‌गठनको नेतृत्व गरिरहेका भाइहरूले यो नयाँ प्रबन्धले परमेश्‍वरका जनहरूलाई “चाँडै नै एकत्रित” हुन मदत गरोस्‌ भनेर कामना गर्दै प्रार्थना गरे। बितेका वर्षहरूमा यहोवाले हाम्रो राजामार्फत निरीक्षणसम्बन्धी कामलाई बिस्तारै शुद्ध पार्नुभएकोले हाम्रो एकता अझ दिगो भएको छ। यसको लागि हामी आभारी छौं! (भज. ९९:४) आज संसारभरिका यहोवाका साक्षीहरू “काँधमा काँध मिलाएर,” “उस्तै मनोभाव” देखाएर अनि “एउटै पदचिन्हमा” हिंडेर “शान्तिका परमेश्‍वर”-को सेवा गर्न पाएकोमा खुसी छन्‌।—२ कोरि. १२:१८; सपन्याह ३:९, NRV पढ्‌नुहोस्‌।

a यस गहिरो अध्ययनबाट सिकेका कुराहरू अङ्‌ग्रेजी भाषाको बाइबल बुझ्न मदत भन्‍ने किताबमा छापिएको थियो।

b जनवरी १५, २०१३ को प्रहरीधरहरा, पृष्ठ २७-३१ मा भएको “एल्डरहरू—‘हाम्रो आनन्दको निम्ति सहकर्मी’” भन्‍ने लेख हेर्नुहोस्‌।

परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?

  • सङ्‌गठनमा कस्ता सुधारहरू भएका छन्‌?

  • मण्डलीको निरीक्षण गर्ने काममा भएका छाँटकाँटले तपाईंलाई “शान्तिका परमेश्‍वर”-को सेवा गर्न कसरी मदत गरेको छ?

  • एल्डरले भनेका वा गरेका कस्ता कुराहरूले तपाईंलाई खुसी बनाएको छ?

  • मण्डलीको शान्ति र एकतामा तपाईंले कसरी योगदान पुऱ्‍याउन सक्नुहुन्छ?

परिचालक निकायको एउटा समितिका सदस्यहरू र यसका सहयोगीहरू सभा गर्दै छन्‌

परिचालक निकायले कसरी राज्यसम्बन्धी गतिविधिहरूको निरीक्षण गर्छ?

यहोवाका साक्षीहरूको परिचालक निकाय अभिषिक्‍त सेवकहरू मिलेर बनेको छ। यो समूह नै “विश्‍वासी र बुद्धिमान्‌ दास” हो। तिनीहरूले आध्यात्मिक खाना बाँड्‌ने र पृथ्वीभरि राज्य प्रचारकार्यलाई अघि बढाउने जिम्मेवारी पाएका छन्‌।—मत्ती २४:१४, ४५-४७.

परिचालक निकायको सभा हरेक हप्ता प्रायः बुधबारको दिन हुने गर्छ। यस सभाबाट यी भाइहरूले मिलेर काम गर्न मदत पाउँछन्‌। (भज. १३३:१) राज्यसम्बन्धी गतिविधिको निरीक्षण गर्न छुट्टाछुट्टै समितिहरू छन्‌ र प्रत्येक समितिको आ-आफ्नै कार्यक्षेत्र छ। परिचालक निकायका सदस्यहरू पनि यी समितिहरूमा सेवा गर्छन्‌। यी समितिका काम छोटकरीमा यसप्रकार छ:

  • ख्रीष्टियन भाइबहिनीलाई मदत गर्न आवश्‍यक प्रबन्ध मिलाउँदै गरेका भाइहरू

    संयोजन समिति

    यस समितिले कानुनी मामिला हेर्छ र आवश्‍यकताअनुसार सञ्चार माध्यमलाई हाम्रो विश्‍वासबारे सही जानकारी दिने काम गर्छ। साथै प्रकोप, विरोधलगायत अन्य आपत्‌कालीन परिस्थितिले गर्दा यहोवाका साक्षीहरू प्रभावित हुँदा यस समितिले आवश्‍यक मदतको लागि प्रबन्ध मिलाउँछ।

  • विभिन्‍न काम गरिरहेका बेथेल परिवारका सदस्यहरू

    सदस्य समिति

    यस समितिले संसारभरिका बेथेल सेवकहरूको आध्यात्मिक र शारीरिक हितको हेरविचार गर्न विभिन्‍न प्रबन्धहरू मिलाउने गर्छ। बेथेल परिवारमा नयाँ सदस्यहरूलाई छान्‍ने र तिनीहरूको बेथेल सेवासम्बन्धी विभिन्‍न कुराहरू हेर्ने काम पनि यही समितिले गर्छ।

  • बाइबलमा आधारित प्रकाशनहरू छाप्ने र ढुवानी गर्ने काम गरिरहेका बेथेल सेवक

    प्रकाशन समिति

    यस समितिले संसारभरि बाइबलआधारित प्रकाशनहरूको छपाइ र ढुवानीसम्बन्धी कामको सुपरिवेक्षण गर्छ। यहोवाका साक्षीहरूको कानुनी संस्थाको स्वामित्वमा रहेको सर-सम्पत्ति र छापाखानाको पनि सुपरिवेक्षण गर्छ। साथै, यस समितिले राज्यभवन निर्माण गर्ने कामलगायत संसारभरि भइरहेको निर्माणकार्यको निरीक्षण गर्छ। यस समितिले विश्‍वव्यापी कार्यको लागि प्राप्त अनुदानको सदुपयोग गर्छ।

  • आवश्‍यक जानकारी अनुसन्धान गरिरहेका र तयार पारिरहेका भाइ

    सेवा समिति

    यस समितिले प्रचारकार्यका साथै मण्डली, प्रकाशक, अग्रगामी, एल्डर, परिभ्रमण निरीक्षक र मिसनरीसित सम्बन्धित कामको रेखदेख गर्छ। अस्पताल सम्पर्क समितिका (एचएलसी) साथै अन्य थुप्रै कामकुराको पनि निरीक्षण गर्छ। यस समितिले हाम्रो राज्य सेवा-को विषयवस्तु पनि तयार पार्छ।

  • मञ्चबाट भाषण दिइरहेका भाइ

    शिक्षण समिति

    यस समितिले सम्मेलन, अधिवेशन र मण्डलीका कार्यक्रमहरू तयार पार्छ। साथै यसले गिलियड स्कुल, राज्य प्रचारकहरूका लागि स्कुल, अग्रगामी सेवा स्कुल र अरू स्कुलहरूको सुपरिवेक्षण गर्छ। अनि हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका-का साथै अडियो-भिडियो सामग्रीहरू पनि तयार पार्छ।

  • वभिन्‍न प्रकाशनहरू, साथमा jw.org को लोगो

    लेखन समिति

    यस समितिले सङ्‌गी विश्‍वासीहरू र सर्वसाधारणको लागि आध्यात्मिक आहार तयार पार्छ। यसमा छापेर आउने प्रकाशन र वेबसाइटमा राखिने विषयवस्तु दुवै पर्छ। साथै, सङ्‌गठनको वेब साइट र संसारभरि भइरहेको अनुवाद कार्यको रेखदेख गर्छ। बाइबलको कुनै पद अथवा प्रकाशनमा प्रस्तुत गरिएका कुनै विषयबारे प्रश्‍न सोध्दा त्यसको जवाफ पनि यही समितिले दिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने