“हामीले ता कर्त्तव्य मात्र गरेका छौं”
जर्ज काउचको वृत्तान्तमा आधारित
बिहान घर-घरको सेवकाईपछि मेरो साथीले दुइटा स्याण्डवीच झिक्नुभयो। खान सकेपछि मैले चुरोट सल्काउन लागें। उहाँले सोध्नुभयो “तपाईं सच्चाइमा हुनुभएको कति भयो?” मैले भनें, “पहिलो चोटि सभा धाएको हिजो साँझ मात्रै हो।”
मार्च ३, १९१७ का दिन सं.रा.अ., पेन्सिल्भानियाको पिट्सवर्गभन्दा लगभग ५० किलोमिटर पूर्वतिर एउटा सानो गाउँ आभन्मोरमा मेरो जन्म भयो। त्यसै गाउँमा मेरा आमाबाबुले तीन दाइ, दिदी, भाइ र मलाई हुर्काउनुभयो।
हामीले त्यति धेरै धार्मिक प्रशिक्षण पाएनौं। एकताक मेरा आमाबाबु चर्च जानुहुन्थ्यो तर हामी सानै छँदा जान छोड्नुभयो। तर हामी सृष्टिकर्तामाथि विश्वास राख्थ्यौं र हाम्रो परिवारले बाइबलमा पाइने आधारभूत सिद्धान्तहरू पालन गर्थ्यो।
आमाबाबुबाट पाएको सर्वोत्तम प्रशिक्षण जिम्मेवारीसम्बन्धी थियो—कसरी जिम्मेवारी स्वीकार्ने र पूरा गर्ने। गाउँले जीवन भनेको त्यही त हो। तर हाम्रो जीवनमा कामै काम मात्र थिएन। हामी रमाइलो मनोरञ्जन पनि गर्थ्यौं। जस्तै बास्केटबल, बेसबल खेल्ने, घोडा चढ्ने अनि पौडी खेल्ने। त्यतिबेला पैसाको अभावै हुन्थ्यो तैपनि गाउँले जीवन रमाइलो थियो। हाम्रो प्राथमिक स्कूलमा एउटै मात्र कोठा थियो र त्यहीं पढ्यौं तर उच्च माध्यमिक विद्यालयको लागि शहर गयौं।
एक रात म र मेरो साथी शहरमा हिंडिरहेका थियौं। एउटी राम्री केटी मेरो साथीलाई भेट्न घरबाहिर निस्किन्। साथीले उनीसित मेरो चिनापर्ची गरिदिए, उनको नाउँ फर्न प्रु थियो। उच्च माध्यमिक विद्यालय भएकै सडकमा उनको घर थियो। प्रायः उनको घर भएर जाँदा फर्न घरबाहिर काम गरिरहेकी हुन्थिन्। स्पष्टतः उनी मेहनती थिइन् र यसबाट म निकै प्रभावित भएँ। हामीबीच घनिष्ठ मित्रता भयो र पछि एकअर्कासित माया बस्यो अनि १९३६ अप्रिल महिनामा विवाह गऱ्यौं।
बाइबल सच्चाइसित सम्पर्क
म जन्मनुभन्दा केही समयअघिको कुरा हो, शहरमा एउटी वृद्ध आइमाई बस्थिन् र उनको धर्मले गर्दा सबैले छिःछिः र दूरदूर गर्थे। शनिबार शहरमा किनमेल गर्न जाँदा आमा उनको घर जानुहुन्थ्यो। त्यस आइमाईको मृत्यु नहोउञ्जेल आमाले उनको घर सफा गर्न तथा किनमेल गर्न मदत गर्नुभयो। मेरो विचारमा यहोवाले आमालाई आशिष् दिनुभयो किनभने उहाँ उक्त आइमाईप्रति असाध्यै दयालु हुनुहुन्थ्यो र उनी बाइबल स्टुडेन्ट थिइन्। यहोवाका साक्षीहरू त्यतिबेला त्यही नाउँले चिनिन्थे।
केही समयपछि मेरी फुपूकी कान्छी छोरीको अकस्मात् मृत्यु भयो। चर्चले फुपूलाई खास सान्त्वना दिएन तर एउटी छिमेकी बाइबल स्टुडेन्टले दिइन्। मान्छे मरेपछि के हुन्छ भनेर बाइबल स्टुडेन्टले बुझाइन्। (अय्यूब १४:१३-१५; उपदेशक ९:५, १०) यो ठूलो आनन्दको स्रोत थियो। त्यसपछि त फुपूले पनि आमासित पुनरुत्थानको आशाबारे कुरा गर्न थाल्नुभयो। आमाको चासो जाग्यो किनभने आमा सानै छँदा उहाँकी आमा र बुबाको मृत्यु भएको थियो र मान्छे मरेपछि के हुन्छ भनेर बुझ्न उत्सुक हुनुहुन्थ्यो। अनौपचारिक साक्षी दिने हर मौकाको सदुपयोग गर्नुपर्छ भनेर त्यो अनुभव मेरो दिमागमा ठप्प बस्यो।
सन् १९३० को दशकतिर आमाले आइतबार बिहान प्रसारण हुने जोसेफ एफ. रदरफर्डको रेडियो प्रसारण सुन्न थाल्नुभयो र उहाँ वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीका तत्कालीन अध्यक्ष हुनुहुन्थ्यो। त्यही समयतिर साक्षीहरूले हाम्रो इलाकामा पनि घर-घर प्रचार गर्न थाले। तिनीहरू हाम्रो आँगनमा रूखको छायाँमा पोर्टेबल फोनोग्राफ बिसाएर भाइ रदरफर्डका भाषणहरू बजाउँथे। ती भाषणहरू अनि प्रहरीधरहरा तथा गोल्डन एज-ले (अहिले ब्यूँझनुहोस्!) आमाको चासो ताजा राख्यो।
केही वर्षपछि १९३८ मा प्रहरीधरहरा-का ग्राहकहरू सबैलाई २५ किलोमिटर जति टाढा निजी घरमा विशेष सभाको निमन्त्रणा पत्र पठाइयो। आमा त्यहाँ उपस्थित हुन चाहनुहुन्थ्यो, त्यसैले फर्न र म अनि मेरा दुइ जना दाजुहरू आमासँगै गयौं। यहोवाका साक्षीहरूका परिभ्रमण निरीक्षक जोन बुथ र चार्ल्स हेस्लरले हामी बाह्र जना जतिलाई भाषण दिनुभयो। त्यसपछि भोलिपल्ट बिहान सेवकाईमा जान समूहको व्यवस्था गर्न थाल्नुभयो। उहाँहरूसित जान कोही अघि बढेनन्। त्यसैले भाइ हेस्लरले मलाई बोलाएर सोध्नुभयो, “तपाईं हामीसित जान मिल्दैन?” त्यहाँ गएर के गर्ने मलाई थाह थिएन तर उहाँहरूलाई मदत गर्नदेखि पछि हट्नुपर्ने कुनै कारण पनि देखिनँ।
हामी दिउँसो करिब १२ बजेसम्म घर-घर गयौं अनि त्यसपछि भाइ हेस्लरले दुइटा स्याण्डवीच झिक्नुभयो। हामी चर्चबाहिर भऱ्याङमा बसेर खान थाल्यौं। यतिखेर मैले चुरोट सल्काउन लाग्दा मैले अहिलेसम्म एउटा सभा मात्र धाएको कुरा भाइ हेस्लरले थाह पाउनुभयो। उहाँ त्यो साँझ बेलुकीको खाना खान हाम्रो घर आउनुभयो र बाइबल छलफलको लागि छिमेकीहरू बोलाउन लगाउनुभयो। बेलुकी खाना खाइसकेपछि हामीसित बाइबल अध्ययन गर्नुभयो र भेला भएका दस जना जतिलाई भाषण दिनुभयो। उहाँले भन्नुभयो, हामीले हरेक हप्ता बाइबल अध्ययन गर्नुपर्छ। हाम्रा छिमेकीहरू यो कुरामा सहमत नभए तापनि फर्न र मैले साप्ताहिक गृह बाइबल अध्ययन गर्ने प्रबन्ध मिलायौं।
सच्चाइमा प्रगति
धेरै समय नबित्दै फर्न र म क्षेत्र सेवकाईमा जान थाल्यौं। हामी गाडीको पछाडिको सीटमा बसेका थियौं र हामीले चुरोट सल्काएका मात्र के थियौं, मेरो दाइले पछाडि फर्केर भन्नुभयो: “साक्षीहरू धूम्रपान गर्दैन रहेछन्।” फर्नले चुरोट तुरुन्तै झ्यालबाहिर फालिन् तर मैले पूरै चुरोट सिध्याएपछि मात्र फालें। हामीलाई धूम्रपान गर्न मन लाग्थ्यो तर त्यस बेलादेखि चटक्कै छोड्यौं।
सन् १९४० मा हाम्रो बप्तिस्मापछि फर्न र म उपस्थित भएको एउटा सभामा अग्रगामी गर्न, त्यतिबेला पूर्ण-समय प्रचारकार्यलाई त्यसै भनिन्थ्यो, प्रोत्साहन गरिएको एउटा लेख अध्ययन गऱ्यौं। घर फर्कंदै गर्दा एक भाइले सोधे: “तपाईं र फर्नले अग्रगामी गर्नुभए कसो होला? तपाईंहरूलाई रोक्ने कुरा पनि त केही छैन।” हामी तिनको कुरामा सहमत थियौं र आफूलाई तयार पाऱ्यौं। मैले जागिर खाएको ठाउँमा ३० दिनअघि राजीनामा पत्र पठाएँ र अग्रगामी गर्ने प्रबन्ध मिलाउन थाल्यौं।
हामीले कुन इलाकामा सेवा गर्ने भनेर वाच टावर सोसाइटीसित सोधपुछ गऱ्यौं र बाल्टिमोर, मेरील्याण्ड सऱ्यौं। त्यहाँ अग्रगामीहरूको लागि घरको बन्दोबस्त थियो र गाँसबासको लागि महिनाको १० डलर तिर्नुपर्थ्यो। हामीले केही पैसा बचत गरेका थियौं र आरमागेडोन नआउञ्जेल त्यति पैसाले टरिहाल्छ भन्ठानेका थियौं। (प्रकाश १६:१४, १६) आखिर, हामीले आरमागेडोन एकदमै नजिक छ भन्ठानेका थियौं। त्यसकारण, हामीले अग्रगामी गर्न घर छोड्यौं र अरू सारा कुराहरू त्याग्यौं।
हामीले १९४२ देखि १९४७ सम्म अग्रगामी गऱ्यौं। त्यतिबेला यहोवाका साक्षीहरूको कामको घोर विरोध भइरहेको थियो। हामी बाइबल विद्यार्थीहरूको घरसम्म जानुको साटो कहिलेकाहीं अरू कसैले हामीलाई तिनीहरूको घरसम्म पुऱ्याउनुपर्थ्यो। त्यसो गर्दा हाम्रो गाडीका टायरहरू अरूले काट्ने सम्भावना हुँदैनथ्यो। हुन त त्यस्तो विरोध कसैलाई पनि मन पर्दैन तर हामीलाई क्षेत्र सेवकाई सधैं रमाइलो लाग्थ्यो। भनौं भने हामी प्रभुको काम गर्न सधैं उत्सुक हुन्थ्यौं।
हामीले बचाएको पैसा पनि धेरै समय रहेन। हाम्रो गाडीका टायरहरू खिइए, हाम्रो लुगा जुत्ता थोत्रा भए। हामी दुवै जना दुई तीन चोटि लामो समयसम्म बिरामी पऱ्यौं। सजिलो भएन तर हामीले कहिल्यै छोड्ने विचार गरेनौं। हामीले त्यसबारे कुरासमेत गरेनौं। अग्रगामी कार्य छोड्न नपरोस् भन्नाको लागि हामीले अरू कुराहरूमा खर्च कम गर्न थाल्यौं।
कार्यभारमा हेरफेर
सन् १९४७ मा हामी लस एन्जलेस, क्यालिफोर्नियामा अधिवेशनको लागि गयौं। त्यहाँ छँदा म र मेरो विलियम दाइलाई मण्डलीहरूमा गएर मदत गर्ने कार्य सुम्पिएको पत्र दिइयो। त्यतिबेला हामीले यो कार्यको लागि कुनै विशेष प्रशिक्षण पाएनौं। हामी सरासर गयौं। त्यसपछि सात वर्षसम्म फर्न र मैले ओहायो, मिशिगन, इन्डियाना, इलिनोइ र न्यु योर्कमा सेवा गऱ्यौं। सन् १९५४ मा हामीले मिसनरीहरूको लागि प्रशिक्षण दिने स्कूल, गिलियडको २४ औं कक्षामा उपस्थित हुने निमन्त्रणा पायौं। त्यहीं छँदा फर्नलाई पोलियो लाग्यो। आनन्दको कुरा उनी पूर्णतया निको भइन् र हामीलाई न्यु योर्क तथा कनेटिकटको परिभ्रमण कार्यमा खटाइयो।
हामी स्टामफर्ड, कनेटिकटमा सेवारत छँदा वाच टावर सोसाइटीका तत्कालीन अध्यक्ष नेथन एच. नोरले उहाँ र उहाँकी पत्नी अड्रीसित सप्ताहन्त बिताउने निम्तो दिनुभयो। उहाँहरूले हामीलाई असाध्यै मीठो स्टेक खुवाउनुभयो। उहाँहरूसित हाम्रो पहिल्यै चिनापर्ची भइसकेको थियो र हामीसित संगत गर्न तथा भोजन खानबाहेक भाइ नोरको मनमा अरू कुरा पनि हुनुपर्छ जस्तो मलाई लागेको थियो। त्यही साँझ उहाँले मलाई सोध्नुभयो, “तपाईं बेथेलमा आउने हो कि?”
“खै, के भनौं; बेथेल जीवनबारे मलाई त्यति ज्ञान छैन,” मैले जवाफ दिएँ।
यसबारे केही हप्ता विचार गरिसकेपछि, भाइ नोरले चाहनुहुन्छ भने हामी आउनेछौं भन्यौं। त्यसको अर्को हप्ता हामीले एउटा पत्र पायौं र अप्रिल २७, १९५७ मा बेथेल पुग्न भनिएको थियो र त्यही दिन हाम्रो २१ औं विवाह वार्षिकी थियो।
बेथेल पुगेको पहिलो दिनमै भाइ नोरले मबाट के आशा गरिन्छ भनेर खुलस्त पार्नुभयो। उहाँले मलाई भन्नुभयो: “तपाईं अब उप्रान्त क्षेत्रीय निरीक्षक होइन; बेथेलमा काम गर्न तपाईंलाई बोलाइएको हो। यो तपाईंले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम हो र सारा समय तथा शक्ति लगाएर यहाँ बेथेलमा पाउनुहुने प्रशिक्षण लागू गरेको चाहन्छौं। हामी चाहन्छौं, तपाईं सधैं यहीं बस्नुहोस्।”
बेथेलमा अर्थपूर्ण जीवन
मेरो पहिलो काम पत्रिका तथा हुलाक विभागमा थियो। तीन वर्षपछि भाइ नोरले मलाई उहाँको अफिसमा बोलाउनुभयो। मलाई बेथेलमा बोलाउनुको खास कारण बेथेल घरको हेरचाह गर्न हो भनेर बताउनुभयो। उहाँले सुस्पष्ट निर्देशन दिनुभयो, “तपाईंले बेथेल घर चलाउनुपर्छ।”
बेथेल घरको हेरचाह गर्दा आमाबाबुले गाउँमा छँदा मलाई सिकाउनुभएका केही पाठहरू सम्झें। बेथेल घर एउटा परिवारजस्तै हो। लुगा धुनुपर्छ, खाना पकाउनुपर्छ, भाँडा माझ्नुपर्छ, ओछ्यान मिलाउनुपर्छ इत्यादि। बेथेलले मानिसहरूले आफ्नो घर भन्नसक्ने किसिमको आरामदायी आवासको प्रबन्ध गर्ने प्रयास गर्छ।
बेथेल परिचालन हुने ढंगबाट परिवारहरूले थुप्रै कुराहरू सिक्नसक्छन् जस्तो मलाई लाग्छ। हामी बिहान सबेरै उठ्छौं अनि दिनहुँ बाइबल पद छलफल गरेर आध्यात्मिक सोचाइबाट दिनचर्या थाल्छौं। हामीबाट कडा मेहनत र सन्तुलित तर व्यस्त जीवन बिताएको आशा गरिन्छ। कसै कसैले सोचेजस्तो बेथेल गुम्बा होइन। हाम्रो तालिकाबद्ध जीवनशैलीले गर्दा धेरै काम गर्नसक्छौं। यहाँ पाएको प्रशिक्षणले गर्दा पछि परिवार तथा मसीही मण्डलीमा जिम्मेवारी वहन गर्न मदत मिलेको थुप्रैले बताएका छन्।
बेथेलमा आउने युवायुवतीहरूलाई सरसफाई, लुगा धुने वा कारखाना इत्यादिमा काम लगाइन्छ। संसारको दृष्टिकोणमा त्यस्तो शारीरिक काम तुच्छ र मर्यादारहित होला। यद्यपि, बेथेलमा आउने जवानहरूले त्यस्ता कार्यभारहरू हाम्रो परिवार सुचारुरूपले तथा आनन्दमय ढंगमा सञ्चालन गर्न महत्त्वपूर्ण छन् भनेर मूल्यांकन गर्छन्।
साँच्चै सुखी हुन ओहदा र सम्मान चाहिन्छ भन्ने सोचाइ संसारले अघि सार्नसक्छ। तर त्यो गलत हो। हामीलाई जे अह्राइएको छ, त्यो काम गर्दा “हामीले ता कर्त्तव्य” मात्र पूरा गरिरहेका हुन्छौं र यहोवाको आशिष् पाउँछौं। (लूका १७:१०) हाम्रो कामको उद्देश्यलाई बिर्सेनौं भने मात्र साँचो सन्तुष्टि र आनन्द प्राप्त गर्नसक्छौं। अनि त्यो उद्देश्य हो, यहोवाको इच्छाबमोजिम गर्नु र उहाँको राज्यसम्बन्धी कार्य विस्तार गर्नु। त्यसलाई मनमा राख्यौं भने जुनसुकै काम पनि रमाइलो र सन्तोषजनक हुन्छ।
विस्तार कार्यमा सुअवसर
हामी बेथेल आउनुभन्दा झन्डै दस वर्षअघि १९४२ मा क्लिभल्याण्ड, ओहायोमा सम्पन्न अधिवेशनमा भाइ नोरले “शान्ति—के यो रहिरहनेछ?” भन्ने भाषण दिनुभएको थियो। त्यतिबेला चलिरहेको दोस्रो विश्वयुद्ध रोकिनेछ र त्यसपछि शान्तिपूर्ण समयमा विस्तृत प्रचार गर्ने मौका मिल्नेछ भनी उहाँले स्पष्ट पार्नुभयो। मिसनरीहरूलाई प्रशिक्षण दिन गिलियड स्कूल अनि भाइहरूको जनवक्ता हुने दक्षता बढाउन ईश्वरतान्त्रिक सेवकाई पाठशाला १९४३ मा स्थापना भयो। ठूलठूला अधिवेशनहरू पनि आयोजना गरिए। सन् १९५० को दशकमा न्यु योर्कको यांकी स्टेडियममा सम्पन्न अधिवेशन विशेष उल्लेखनीय थियो। सन् १९५० र १९५३ को अधिवेशनको सिलसिलामा नजिकै ठूलो आवासको बन्दोबस्त मिलाउने अवसर पाएँ र त्यहाँ अधिवेशनको आठ दिनको लागि दसौं हजार मानिसहरू अटाए।
सन् १९५८ मा सम्पन्न सबैभन्दा ठूलो र अन्य अधिवेशनहरूपछि राज्य प्रकाशकहरूको संख्यामा निकै वृद्धि भयो। यसले बेथेलको हाम्रो कार्यमा प्रत्यक्ष असर पाऱ्यो। सन् १९६० दशकको अन्ततिर र १९७० दशकको सुरुतिर कार्यकर्ताहरूको निम्ति ठाउँ तथा आवासको ठूलो अभाव भयो। दिनपरदिन ठूलो हुँदै गइरहेको परिवार अटाउन सुत्ने कोठा, भान्छा तथा भोजनकक्षको संख्या बढाउनुपऱ्यो।
भाइ नोरले कारखाना निरीक्षक भाइ म्याक्स लार्सन र मलाई उपयुक्त जग्गा खोज्न अह्राउनुभयो। म १९५७ मा बेथेल आउँदा लगभग ५०० जनाको हाम्रो परिवारको लागि एउटा ठूलो आवास गृह थियो। तर समय बित्दै जाँदा सोसाइटीले नजिकैको तीनवटा होटेल टावर्स, स्टाण्डीश र बसर्टको साथसाथै अरू स-साना आवास गृहहरू किनेर जीर्णोद्धार गऱ्यो। सोसाइटीले १९८६ मा होटेल मार्गरेट अवस्थित जग्गा किन्यो र त्यहाँ एउटा सुन्दर भवन निर्माण गरेर लगभग २५० जनाको निम्ति आवासको प्रबन्ध गरियो। त्यसपछि १९९० दशकको सुरुतिर थप १,००० कामदारहरूको लागि ३० तल्ले आवास गृह निर्माण गरियो। ब्रूक्लिन बेथेलले अहिले हाम्रो परिवारका ३,३०० भन्दा बढी सदस्यहरूको निम्ति आवास तथा भोजनको प्रबन्ध गर्नसक्छ।
ब्रूक्लिन बेथेलभन्दा झन्डै १६० किलोमिटर पर वल्कील, न्यु योर्कमा पनि जग्गा किन्यो। सन् १९६० दशकको अन्ततिर वर्षौंको अन्तरालमा त्यहाँ आवासगृह तथा ठूलठूला छापाखानाहरू पनि निर्माण गरिए। अहिले त्यहाँ बेथेल परिवारको लगभग १,२०० सदस्यहरू बस्छन् र काम गर्छन्। न्यु योर्क शहर नजिकै अनि राजमार्गको सुविधा भएको ६०० एकड जमीन खोज्ने काम १९८० मा सुरु भयो। जग्गा दलालले हाँसेर भने: “त्यति ठूलो जग्गा कहाँ पाइएला खै? सम्भवै छैन।” तर भोलिपल्ट बिहान तिनले फोन गरेर यसो भने: “मैले तपाईंहरूको लागि जग्गा पाएँ।” त्यो अहिले प्याटर्सनको वाचटावर एजुकेशनल सेन्टर, न्यु योर्क नाउँले चिनिन्छ। त्यहाँ स्कूलहरू सञ्चालन हुन्छन् र १,३०० भन्दा बढी सेवकहरूको परिवार छ।
मैले सिकेका पाठहरू
अरूबाट मूल्यवान् जानकारीहरू हासिल गर्न सक्ने व्यक्ति नै असल निरीक्षक हो भनेर मैले सिकेको छु। बेथेल निरीक्षकको हैसियतमा मैले लागू गर्ने मौका पाएका थुप्रै कामकुराहरू गर्न अरूले मदत गरेका छन्।
बेथेलमा आउँदा मभन्दा उमेर पाकेकाहरू थुप्रै थिए र अहिले मेरो पनि उमेर पाकिसक्यो। थुप्रै त अब रहेनन्। वृद्ध भएर मर्नेहरूको ठाउँ कसले लिन्छ? जहिले पनि सबैभन्दा दक्ष व्यक्तिले नै त्यो ओहदा पाउँछ भन्ने छैन। तर तिनीहरूले पाउँछन् जसले आफूलाई अह्राइएको जुनसुकै काम वफादारीपूर्वक गर्छन्।
अर्को सम्झनुपर्ने महत्त्वपूर्ण बुँदा असल पत्नीको मूल्य हो। मेरी प्रिय पत्नी, फर्नको सहयोगले गर्दा मैले ईश्वरतान्त्रिक जिम्मेवारीहरू पूरा गर्न सकेको छु। पत्नीलाई आफ्नो कार्यभार रमाइलो लागिरहेको छ कि छैन भनी पक्का गर्ने जिम्मेवारी पतिको हो। फर्न र म दुवैलाई मनपर्ने केही कामकुरा गर्ने प्रबन्ध मिलाउँछु। असाध्यै महँगो हुनुपर्छ भन्ने छैन, दिनचर्याभन्दा बेग्लै केही गर्नु मात्र पनि पर्याप्त हुन्छ। पत्नीलाई खुसी राख्ने काम पतिको हो। पत्नीसित बिताएको क्षण मूल्यवान् हुन्छ र त्यो पनि छिट्टै बितिहाल्ने हुँदा मौकाको सदुपयोग गर्नुपर्छ।
येशूले बताउनुभएको अन्तिम दिनमा जीवित हुन पाएकोमा म खुसी छु। यो मानव इतिहासको सबैभन्दा अद्भुत समय हो। प्रतिज्ञा गरिएको नयाँ संसारको प्रतीक्षामा प्रभुले आफ्नो संगठनलाई कसरी तयार पार्दै हुनुहुन्छ भनेर विश्वासको आँखाले देख्न पाएका छौं। यहोवाको सेवामा मैले बिताएको अतीतलाई हेर्दा म साँच्चै भन्न सक्छु, यो संगठन मानिसले होइन यहोवाले चलाइरहनुभएको छ। हामी उहाँका सेवकहरू मात्र हौं। त्यसैकारण, हामीले उहाँको निर्देशन लिनुपर्छ। हामीले के गर्नुपर्छ भनेर उहाँले स्पष्ट पार्नुभएपछि आज्ञाकारी भएर गरिहाल्नुपर्छ।
संगठनलाई पूर्ण सहयोग दिनुहोस् अनि ग्यारेन्टी छ, तपाईंले पूर्णतया सुखी जीवन बिताउन सक्नुहुनेछ। तपाईंले जुनसुकै काम गरिरहनुभएको, अग्रगामी, क्षेत्रीय कार्य, मण्डलीको प्रकाशक, बेथेल सेवा वा मिसनरी कार्य नै किन नहोस्, निर्देशनको पालना गर्नुहोस् र आफ्नो कार्यभारको मोल गर्नुहोस्। सबै कार्यभार र यहोवाको सेवामा बिताउनुभएको हरेक दिनमा रमाउन यथासक्य गर्नुहोस्। तपाईं थाक्नुहोला, लखतरान वा कहिलेकाहीं निरुत्साहित हुनुहोला। त्यतिबेला तपाईंले यहोवालाई आफ्नो जीवन समर्पण गर्नुको उद्देश्य बिर्सनु हुँदैन। त्यो उद्देश्य, उहाँको इच्छा गर्नु हो, तपाईंको आफ्नो होइन।
अहिलेसम्म काममा आउँदा नरमाइलो लागेको कुनै दिन छैन। किन? किनभने सारा तनमनले यहोवाको सेवा गर्दा ‘हामीले कर्त्तव्य मात्र गरेका हौं’ भनी ढुक्क हुनसकेर हो।
[पृष्ठ १९-मा भएको चित्र]
बाल्टिमोरमा अग्रगामी गर्दै, १९४६
[पृष्ठ १९-मा भएको चित्र]
नजिकैको आवासमा फर्नसित, १९५०
[पृष्ठ १९-मा भएको चित्र]
पत्रिका विभाग
[पृष्ठ १९-मा भएको चित्र]
नजिकैको आवास, १९५०
[पृष्ठ २२-मा भएको चित्र]
अड्री र नेथन नोरसित
[पृष्ठ २३-मा भएको चित्र]
प्याटर्सन, न्यु योर्क नजिकै वाच टावर एजुकेशनल सेन्टर
[पृष्ठ २४-मा भएको चित्र]
अहिले फर्नसित