प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ५४ p. १३२-p. १३३ par. १
  • येसु—“जीवन दिने रोटी”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु—“जीवन दिने रोटी”
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • “स्वर्गबाट साँचो रोटी”
    सबैभन्दा महान्‌ पुरुष
  • येशू—“स्वर्गबाट ओर्लेको जीवित्‌ रोटी”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • तपाईंले जीवन दिने रोटी चाख्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • हामीले अनन्त जीवन पाउन के गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ५४ p. १३२-p. १३३ par. १
पुरुषहरू मन्‍न बटुल्दै; स्त्रीहरू त्यसलाई पिस्दै र पकाउँदै

अध्याय ५४

येसु—“जीवन दिने रोटी”

युहन्‍ना ६:२५-४८

  • येसु “स्वर्गबाट ओर्लेर आएको रोटी” हुनुहुन्छ

गालिल समुद्रको पूर्वपट्टि येसुले चमत्कारपूर्ण तरिकामा हजारौँलाई खुवाउनुभयो र मानिसहरूले उहाँलाई राजा बनाउन खोज्दा उहाँ त्यहाँबाट भाग्नुभयो। त्यस रात उहाँ आँधी चलेको समुद्रमा हिँड्‌नुभयो र पत्रुसलाई बचाउनुभयो। पत्रुस पनि पानीमा हिँडेका थिए तर तिनको विश्‍वास ढलपल भएपछि तिनी डुब्न थाले। येसुले बतासलाई पनि शान्त पार्नुभयो, जसले गर्दा चेलाहरूको डुङ्‌गा डुब्न पाएन।

अहिले येसु गालिल समुद्रको पश्‍चिमतिर कफर्नहुममा हुनुहुन्छ। उहाँले चमत्कारपूर्ण तरिकामा हजारौँलाई खुवाउनुभएको देखेको भीडले उहाँलाई भेट्टाउँछ र यस्तो प्रश्‍न गर्छ: “तपाईँ यहाँ कहिले आउनुभयो?” फेरि रोटी खान पाउने आसमा तिनीहरू उहाँलाई खोज्दै छन्‌ भनेर उहाँ तिनीहरूलाई हप्काउनुहुन्छ। उहाँ तिनीहरूलाई “नाश भएर जाने खानेकुराका लागि होइन तर सधैँभरि रहिरहने र . . . अनन्त जीवन दिने खानेकुराका लागि परिश्रम गर” भन्‍नुहुन्छ। त्यसैले तिनीहरू उहाँलाई यस्तो प्रश्‍न गर्छन्‌: “परमेश्‍वरको अनुमोदन पाउन हामीले के गर्नुपर्छ?”—युहन्‍ना ६:२५-२८.

परमेश्‍वरको अनुमोदन पाउन व्यवस्थामा तोकिएका कामहरू गर्नुपर्छ भनेर तिनीहरूले सोचेको हुनुपर्छ तर येसु सबैभन्दा महत्त्वपूर्ण कामबारे बताउनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “परमेश्‍वरको अनुमोदन पाउन गर्नुपर्ने काम यही हो: उहाँले जसलाई पठाउनुभएको छ, ऊमाथि तिमीहरूले विश्‍वास गर।” उहाँले गर्नुभएका यी सबै कामको बाबजुद मानिसहरू उहाँमाथि विश्‍वास गर्दैनन्‌। उहाँमाथि विश्‍वास गर्नको लागि अर्को एउटा चिन्ह देखाउन तिनीहरू उहाँलाई आग्रह गर्छन्‌। तिनीहरू यसो भन्छन्‌: “तपाईँ के गर्नुहुन्छ? हाम्रा पुर्खाहरूले निर्जनभूमिमा मन्‍न खाए, जस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई स्वर्गबाट खानेकुरा दिनुभयो।’”—युहन्‍ना ६:२९-३१; भजन ७८:२४.

तिनीहरूले चिन्ह देखाउन आग्रह गर्दा येसु आफूले चमत्कारपूर्ण ढङ्‌गमा प्रबन्ध गरेको खानेकुराको स्रोततर्फ मानिसहरूको ध्यान खिच्दै यसो भन्‍नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्छु, मोसाले तिमीहरूलाई स्वर्गबाट रोटी दिएनन्‌ तर मेरो बुबाले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ। किनकि जो स्वर्गबाट ओर्लेर आउँछ अनि जसले संसारलाई जीवन दिन्छ, ऊ नै परमेश्‍वरले दिनुहुने रोटी हो।” उहाँको कुरा नबुझेकोले तिनीहरू उहाँलाई यस्तो बिन्ती गर्छन्‌: “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्‌।” (युहन्‍ना ६:३२-३४) येसुले भन्‍नुभएको “रोटी” के हो?

उहाँ अझै यसो भन्‍नुहुन्छ: “जीवन दिने रोटी मै हुँ। जो मकहाँ आउँछ, ऊ कहिल्यै भोकाउनेछैन अनि जसले ममाथि विश्‍वास गर्छ, ऊ कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई भनेझैँ तिमीहरू मलाई देखेर पनि विश्‍वास गर्दैनौ। . . . म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न स्वर्गबाट ओर्लेर आएको हुँ। अनि मलाई पठाउनुहुनेको इच्छा यो हो कि उहाँले जो-जो मलाई दिनुभएको छ, तिनीहरूमध्ये एक जनालाई पनि नगुमाऊँ तर तिनीहरूलाई आखिरी समयमा फेरि जीवित पारूँ। किनकि मेरो बुबाको इच्छा यही छ कि जसले छोरालाई स्वीकार गर्छ र ऊमाथि विश्‍वास गर्छ, उसले अनन्त जीवन पाओस्‌ र म उसलाई आखिरी समयमा फेरि जीवित पारूँ।”—युहन्‍ना ६:३५-४०.

उहाँको कुराले त्यहाँ हलचल मच्चिन्छ। येसुले आफू “स्वर्गबाट ओर्लेर आएको रोटी” हुँ भन्‍नुभएकोले यहुदीहरू उहाँविरुद्ध गनगन गर्न थाल्छन्‌। (युहन्‍ना ६:४१) किनकि तिनीहरूको लागि उहाँ केवल गालिलको सहर नासरतमा जन्मेका मानव आमाबुबाको छोरा हुनुहुन्छ। मानिसहरू भन्छन्‌: “यो युसुफको छोरा येसु होइन र? यसको बुबा र आमालाई हामी चिन्दैनौँ र?”—युहन्‍ना ६:४२.

येसु तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “तिमीहरू आपसमा गनगनाउन छोड। मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन र म उसलाई आखिरी समयमा फेरि जीवित पार्नेछु। भविष्यवक्‍ताहरूको लेखोटमा लेखिएको छ, ‘तिनीहरू सबैले यहोवाबाट शिक्षा पाउनेछन्‌।’ जसले बुबाको कुरा सुन्छ र उहाँबाट सिक्छ, ऊ मकहाँ आउँछ। मबाहेक अरू कसैले बुबालाई कहिल्यै देखेको छैन। म, जो परमेश्‍वरबाट आएको हुँ, मैले मात्र उहाँलाई देखेको छु। म तिमीहरूलाई साँच्चै भन्छु, जसले विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ।”—युहन्‍ना ६:४३-४७; यसैया ५४:१३.

पहिला निकोदेमससित कुरा गर्नुहुँदा पनि उहाँले अनन्त जीवनबारे कुरा गर्नुभएको थियो र त्यस्तो जीवन पाउन मानिसको छोरामाथि विश्‍वास गर्नुपर्छ भनेर बताउँदै यसो भन्‍नुभएको थियो: “[परमेश्‍वरको एक मात्र छोरामाथि] विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।” (युहन्‍ना ३:१५, १६) तर अहिले उहाँ धेरै जनासित कुरा गर्दै हुनुहुन्छ। उहाँ तिनीहरूलाई अनन्त जीवन पाउने सन्दर्भमा आफ्नो भूमिकाबारे बताउनुहुन्छ, जुन मन्‍न वा गालिलमा पाइने रोटीले दिन सक्दैन। त्यसोभए अनन्त जीवन कसरी पाउन सकिन्छ? येसु फेरि यसो भन्‍नुहुन्छ: “म जीवन दिने रोटी हुँ।”—युहन्‍ना ६:४८.

स्वर्गबाट ओर्लेर आएको रोटीसम्बन्धी यो छलफल अझै चलिरहन्छ र पछि कफर्नहुमको सभाघरमा येसुले शिक्षा दिनुहुँदा मात्र यसको टुङ्‌गो लाग्छ।

  • हालै भएका घटनाहरूलाई विचार गर्दा येसुलाई चिन्ह देखाउन आग्रह गर्नु किन उचित होइन?

  • येसुले आफू ‘स्वर्गबाट ओर्लेर आएको साँचो रोटी’ हुँ भन्‍नुहुँदा यहुदीहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌?

  • येसुले बताउनुभएको रोटी किन मन्‍न वा साँच्चैको रोटीभन्दा सर्वोत्तम छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने