येशूको जीवन र सेवकाई
येशू—“स्वर्गबाट ओर्लेको जीवित् रोटी”
दिन साँच्चिकै घटनायुक्त थियो। येशूले चमत्कार द्वारा हजारौंलाई खुवाउनु भयो र उहाँलाई बलजफतले राजा बनाउन चाहने मानिसहरूबाट उहाँ उम्कनु भएको थियो। सोही रात गालीलको आँधिलो समुद्रलाई उहाँले पैदल पार गर्नु भयो; र पत्रुसलाई बचाउनु भयो जब उनी आँधीले अशान्त पारेको पानीमा हिड़दा डूब्न लागेका थिए; र छालहरूलाई शान्त पार्नु भएर आफ्ना चेलाहरूको जहाजलाई ध्वंस हुन देखि बचाउनु भयो।
भोलीपल्ट, गालीलको समुद्रको उत्तरपूर्व पट्टि चमत्कार द्वारा येशूले खुवाउनु भएका मानिसहरूले उहाँलाई कर्फनहुमको नजिक भेट्टाउँछन्। येशूले तिनीहरूलाई हप्काउनु हुन्छ र मुफ्तमा फेरि एक छाक पाउने आशामा तिनीहरूले येशूलाई खोज्दै आएका हुन् भनेर भन्नु हुन्छ। उहाँले तिनीहरूलाई नाश भएर जाने भोजनको निम्ति होइन तर अनन्त जीवन सम्म रहने खानेकुराकोलागि मेहनत् गर्ने प्रोत्साहन दिनु हुन्छ। यसकारण मानिसहरूले यो प्रश्न गर्छन्: “परमेश्वरका काम गर्नलाई हामीले के गर्नुपर्छ?”
येशूले सर्वोत्तम मोल हुने एउटा मात्र काम बताउनु हुन्छ। “परमेश्वरको काम यो हो, कि जसलाई उहाँले पठाउनुभयो उसलाई विश्वास गर।”
तर येशूले गर्नु भएका सबै चमत्कारहरू देखेर पनि, मानिसहरूले उहाँमा विश्वास गर्दैनन्। हिजो मात्र उहाँले चमत्कारपूर्वक ५००० पुरूष, स्त्री र बच्चाहरूलाई खुवाउनु भएको थियो र पनि अब तिनीहरूले उहाँलाई नपत्याउँदै यो प्रश्न सोध्छन्: “तपाईं के चिन्ह गर्नु हुन्छ र हामी हेरौं, र तपाईंलाई विश्वास गरौं? तपाईं के काम गर्नुहुन्छ? हाम्रा पिता-पुर्खाहरूले वनमा मन्न खाए जसरी लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो।’”
चिन्ह हेर्ने तिनीहरूको माँगको उत्तर दिनुहुँदै, येशूले ती चमत्कारी मन्नको स्रोत बताउनु हुन्छ: “मोशाले तिमीहरूलाई स्वर्गबाट रोटी दिएका होइनन्, तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनु हुन्छ। किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ।”
यो सुनेर मानिसहरूले, “प्रभु, यो रोटी हामीलाई सधैं दिनुहोस्,” भन्छन्।
येशू भन्नु हुन्छ: “जीवनको रोटी मनै हुँ, म कहाँ आउने भोकाउने छैन, र मलाई विश्वास गर्ने कहिल्यै तिर्खाउने छैन। तर मैले तिमीहरूलाई भनं, तिमीहरूले मलाई देखेका छौ, र पनि विश्वास गर्दैनौ। सबै जो पिताले मलाई दिनुहुन्छ, मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई म कुनै रीतिले त्याग्नेछैनँ। किनभने म आफ्नो इच्छा होइन तर मलाई पठाउनेको इच्छा पूरा गर्नालाई स्वर्गबाट ओर्लिआएको हुँ। औ मलाई पठाउनेको इच्छा यही हो, अर्थात् उहाँले सबै जो मलाई दिनुभएको छ, त्यसबाट केही नहराऊँ, तर त्यसलाई पछिल्लो दिनमा बिउँताऊँ। किनभने मेरा पिताको इच्छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्यकमा अनन्त जीवन होस्।”
यो सुने पछि यहूदीहरू उहाँको विषयमा गनगनाउन थाले किनभने उहाँले एसो भन्नु भयो: “म स्वर्गबाट ओर्लिआएको रोटी हुँ।” साधारण मानवीय आमा-बाबुको एउटा पुत्र बाहेक तिनीहरूले येशूमा अरू केही देख्दैनन् र नासरतका मानिसहरूले झैं प्रतिवाद गर्छन्: “के यो युसूफको छोरो, येशू होइन? जसका बाबू र आमालाई हामी चिन्छौं। यसले कसरी अहिले म स्वर्गबाट ओर्लिआएको रोटी हुँ भन्दछ?”
तर येशूले तिनीहरूलाई यो प्रत्युत्तर दिनु हुन्छ: “तिमीहरू आपसमा नगनगनाओ। मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउन सक्तैन, औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु। अनि ती सबै जना परमेश्वरबाट सिकाइएका हुनेछन् भनी अगमक्ताहरूका पुस्तकमा लेखिएको छ। पिताबाट सुन्ने र सिक्ने प्रत्यक मकहाँ आउँछ। कसैले पितालाई देखेको छैन, केवल जो परमेश्वरबाटको हो उसैले मात्र पितालाई देखेको छ। साँचो, साँचो म तिमीहरूलाई भन्दछु, विश्वास गर्नेलाई अनन्त जीवन छ।”
येशूले कुरालाई अझ अघि बढ़ाउनु हुँदै, एसो भन्नु हुन्छ: “जीवनको रोटी मनै हुँ। तिमीहरूका पिता-पुर्खाहरूले वनमा मन्न खाए र मरे। स्वर्गबाट ओर्लने रोटी यही हो, कि कोही मानिस त्यो खाएर नमरोस्। स्वर्गबाट ओर्लेको जीवित् रोटी मनै हुँ, यो रोटी कोही मानिसले खायो भने सधैं भरि जिउनेछ।” हो, परमेश्वरले पठाउनु भएको, येशूमाथि विश्वास गरेर मानिसहरूले अनन्त जीवन पाउन सक्छन्। मन्न अथवा अरू कुनै प्रकारको रोटीले मानिसलाई यस प्रकारको जीवन दिन सक्दैन!
स्वर्गबाट ओर्लिआएको रोटीको छलफल, मानिसहरूले येशूलाई कर्फनहुम निर भेट्टाए पछि शुरू भयो जस्तो छ। तर यो छलफल चली रह्यो र पछि कर्फनहुमको सभाघरमा येशूले शिक्षा दिनु हुँदा मात्र यसको टुङ्गो लाग्यो। यूहन्ना ६:२६-५१, ५९; भजन संग्रह ७८:२४; यशैया ५४:१३; मत्ती १३:५५-५७.
◆ स्वर्गबाट ओर्लिआउने रोटीको छलफल शुरू हुनु भन्दा केही समय अघि मात्र के के घटनाहरू घटेका थिए?
◆ येशूले भरखरै गर्नु भएका कुराहरूलाई ध्यानमा राख्दै, मानिसहरूले चिन्हको माग गर्नु किन अत्यन्त अनुचित् छ?
◆ येशूले उहाँ स्वर्गबाट ओर्लिआएको रोटी हो भन्ने दावी गर्नु भयो भनेर यहूदीहरू किन गनगनाउछन्?
◆ स्वर्गबाट ओर्लिआएको रोटीबारे छलफल कुन ठाउँमा गरिएको हुनु पर्छ? (w87 10/1)