येशूको जीवन र सेवकाई
सातौं दिनमा अझै शिक्षा दिनु हुन्छ
डेराबासको चाड़को आखिरी दिन, सातौं दिन, अझै चलिरहेको छ। येशू मन्दिरको त्यस भागमा शिक्षा दिनु हुँदैछ, जुन भागलाई “ढुकुटी” पनि भन्ने गर्छन्। चन्दा दान खसाल्ने सन्दूकहरू राख्ने यस क्षेत्रलाई स्वास्नी मानिसहरूको चोक पनि भन्ने गर्छन् जस्तो छ।
चाड़को बेला, प्रत्येक राती, मन्दिरको यस क्षेत्रमा एउटा विशेष दीपमालाको प्रदर्शन गरिन्छ। चारवटा ठूला-ठूला सामदानहरू यहाँ राखिन्छन् र प्रत्येक सामदानका लागि तेलले भरिएका चारवटा ठूला-ठूला भाँड़ाहरू हुन्छन्। १६ वटा भाँड़ाहरूमा भएको तेलबाट जलिने यी सामदानहरूको ज्योतिले, राती टाढ़ासम्म उज्यालो पार्दछ। अब येशूले भन्नु हुने कुराबाट, उहाँका सुन्नेहरूलाई त्यस प्रदर्शनीको सम्झना होला। येशू घोषणा गर्नु हुन्छ: “म संसारको ज्योति हुँ, म पछि लाग्ने अँध्यारोमा हिंड़डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
फरिसीहरूले विरोध गर्दै भन्छन्: “तिमी आफ्नै विषयमा गवाही दिन्छौ; तिम्रो गवाही सत्य छैन।”
येशूले यो जवाफ दिनु हुन्छ: “म आफ्नै विषयमा गवाही दिन्छु, तापनि मेरो गवाही सत्य छ, किनभने म जान्दछु, म कहाँबाट आएँ र कहाँ जान्छु, तर म कहाँबाट आउँछु र कहाँ जान्छु त्यो तिमीहरू जान्दैनौ।” उहाँ अझै भन्नुहुन्छ: “आफ्नो विषयमा गवाही दिने मनै हुँ र मलाई पठाउने पिताले मेरो विषयमा गवाही दिनुहुन्छ।”
“तिम्रा पिता कहाँ छन्?” फरिसीहरू जान्न चाहन्छन्।
येशू जवाफ दिनुहुन्छ: “तिमीहरू नता मलाई न मेरा पितालाई चिन्छौ। मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्नेथियौ।” फरिसीहरूले अझैपनि येशूलाई गिरफ्तार गर्न चाहेतापनि, उहाँमाथि कसैले हात हाल्दैनन्।
येशूले फेरि भन्नुहुन्छ: “म गइहाल्छु, जहाँ म जान्छु तिमीहरू आउन सक्तैनौ।”
यो कुरा सुने पछि, यहूदीहरू चकित भएर सोंच्न थाल्छन्: “के उनी आफैले आफैलाई मार्नेछन् र भन्दछन् ‘जहाँ म जान्छु तिमीहरू आउन सक्तैनौ।’”
येशू व्याख्या गर्नुहुन्छ: “तिमीहरू तलका हौ। म माथिको हुँ। तिमीहरू यस संसारका हौ। म यस संसारको होइनँ।” अनि उहाँ अझै थप्नुहुन्छ: “तिमीहरूले म उही हुँ भनेर विश्वास गरेनौ भने आफ्ना पापमा मर्ने छौ।”
तर यहाँ येशूले मानिसको रूप धारण गरेर आउनु भन्दा अघि बिताउनु भएको आफ्नो स्वर्गीय जीवन र प्रतिज्ञा गरिएका मसीह, अर्थात्, ख्रीष्ट उहाँनै हुनुहुन्छ भन्ने कुरालाई सङ्केत गर्नु हुँदैछ। तथापि, बड़ो व्यङ्गका साथ तिनीहरू सोध्छन्: “तिमी को हौ ता?”
तिनीहरूको इन्कारको सामना गर्दै, येशू जवाफ दिनुहुन्छ: “म तिमीहरूसित कुरा पनि किन गरी रहेछु?” तथापि उहाँ भन्नु हुन्छ: “मलाई पठाउनु हुने सत्य हुनुहुन्छ, औ जे मैले उहाँबाट सुनें तिनै कुरा म संसारलाई भन्दछु।” येशू आफ्नो कुरा जारी राख्दै भन्नुहुन्छ: “जब तिमीहरूले मान्छेको पुत्रलाई उचालेका हुनेछौ, तब म उही हुँ, औ म आफै केही गर्दिन, तर जसो पिताले मलाई सिकाउनु भयो, ती नै कुरा बोल्दछु भनेर तिमीहरूले थाह पाउनेछौ। औ मलाई पठाउने मसँग हुनुहुन्छ। उहाँले मलाई एकलै छोड़नुभएको छैन, किनभने म सँधै उहाँलाई मन पर्ने कुराहरू गर्दछु।”
येशूले यी कुराहरू भने पछि, धेरैले उहाँमाथि विश्वास गर्छन्। तिनीहरूलाई उहाँ भन्नुहुन्छ: “तिमीहरू मेरा वचनमा रह्यौ भने साँच्चै मेरा चेला हौ। औ तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”
उहाँका विरोधीहरूले बीचमा कुरा काट्दै भन्छन्: “हामी अब्राहामका सन्तान हौं, औ अहिलेसम्म कसैका दास भएका छैनौं, ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनी तिमी कसरी भन्छौ?”
यहूदीहरूमाथि अक्सर बिदेशीहरूले राज गरेको भएतापनि, तिनीहरूले कुनै पनि शत्रुलाई आफ्नो मालिक मान्ने गर्दैनन्। तिनीहरू दास कहलिन चाहँदैनन्। तर तिनीहरू वास्तवमा दास हुन् भन्ने कुरा येशूले औंलाउनु हुन्छ। कसरी? येशू भन्नुहुन्छ: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको दास हो।”
आफ्नो पापको दासत्वलाई अस्वीकार गर्दा, ती यहूदीहरूले आफूलाई खतरामा पार्दछन्। येशू व्याख्या गर्नुहुन्छ: “दास घरमा सँधैभरि रहँदैन, तर पुत्रचाहिं सँधैभरि रहन्छ।” एउटा दासले उत्तराधिकारको अधिकार पाउन नसक्ने भएकोले, उसलाई कुनै पनि बेला कामबाट हटाइन सकिन्छ। घरानामा जन्मेको वा गोद लिएको छोरो मात्र “सदाकालागि”, अर्थात उ बाँचुन्जेल घरमा रहन सक्छ।
येशू आफ्नो कुरा अझै भन्नुहुन्छ: “यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ।” अत:, पुत्र, येशू ख्रीष्टसँग सम्बन्धित सत्य कुरानै मानिसलाई स्वतन्त्र तुल्याउने सत्य हो। उहाँको सिद्ध मानव जीवनको बलिदान द्वारा मात्र मृत्यु-दायी पापबाट छुटकारा पाउन सकिन्छ। यूहन्ना ८:१२-३६.
◆ सातौं दिनमा येशूले कहाँ शिक्षा दिनुहुन्छ? राती त्यहाँ के हुन्छ, र येशूको शिक्षासँग त्यसको के सम्बन्ध छ?
◆ आफ्नो उत्पत्ति वारे येशू के भन्नुहुन्छ, र यसले उहाँको परिचयमा कसरी ज्योति दिन्छ?
◆ कुन रीतिमा यहूदीहरू दास हुन् तर कुन सत्यले तिनीहरूलाई स्वतन्त्र तुल्याउनेछ? (w5/01/88