अध्याय ६८
परमेश्वरका छोरा “संसारको ज्योति” हुनुहुन्छ
छोरा को हो भनी येसु बताउनुहुन्छ
यहुदीहरू कुन अर्थमा दास हुन्?
झुप्रोबासको चाडको अन्तिम दिन अर्थात् सातौँ दिनमा येसु मन्दिरको “दानपात्रहरू राखिएको ठाउँमा” बसेर सिकाउँदै हुनुहुन्छ। (युहन्ना ८:२०; लुका २१:१) यो स्त्रीहरूको चोक हुनुपर्छ, जहाँ मानिसहरू आफ्नो भेटी खसाल्छन्।
चाडको समयमा राती विशेषगरि मन्दिरको यो भाग झिलीमिली देखिन्छ। त्यहाँ चार वटा ठूलठूला पानस छन् र प्रत्येक पानसमा तेल भरिएका चार वटा ठूलठूला भाँडा पनि छन्। ती पानसहरूले गर्दा टाढा-टाढासम्म उज्यालो हुन्छ। अब येसुले जे भन्न लाग्नुभएको छ, त्यसले उहाँका श्रोताहरूलाई सायद यही कुराको सम्झना दिलाउँछ। उहाँ भन्नुहुन्छ: “म संसारको ज्योति हुँ। जो मेरो पछि लाग्छ, ऊ कुनै हालतमा अन्धकारमा हिँड्नेछैन, बरु उसले जीवनको ज्योति पाउनेछ।”—युहन्ना ८:१२.
तर फरिसीहरू येसुले भन्नुभएको कुरामा असहमति जनाउँदै यसो भन्छन्: “तिमी आफ्नै विषयमा साक्षी दिन्छौ; त्यसैले तिम्रो साक्षी सत्य छैन।” येसु यस्तो जवाफ दिनुहुन्छ: “मैले आफ्नै विषयमा साक्षी दिए तापनि मेरो साक्षी सत्य छ किनकि म कहाँबाट आएँ र कहाँ जाँदै छु, मलाई थाह छ। तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरूलाई थाह छैन।” येसु अझै यसो भन्नुहुन्छ: “‘दुई जना मानिसले दिएको साक्षी सत्य हुन्छ’ भनेर तिमीहरूकै व्यवस्थामा लेखिएको छ। आफ्नो विषयमा साक्षी दिने एक जना मै हुँ अनि मलाई पठाउनुहुने बुबाले पनि मेरो विषयमा साक्षी दिनुहुन्छ।”—युहन्ना ८:१३-१८.
येसुको तर्कलाई इन्कार गर्दै फरिसीहरू भन्छन्: “तिम्रो बुबाचाहिँ कहाँ छ नि?” येसु तिनीहरूलाई सीधै यसो भन्नुहुन्छ: “तिमीहरू न मलाई चिन्छौ न त मेरो बुबालाई। तिमीहरूले मलाई चिनेका भए मेरो बुबालाई पनि चिन्ने थियौ।” (युहन्ना ८:१९) फरिसीहरू अझै येसुलाई पक्रन चाहन्छन् तर कसैले पनि उहाँलाई छुने आँट गर्दैनन्।
येसु आफूले पहिला पनि भनेको कुरा दोहोऱ्याउँदै यसो भन्नुहुन्छ: “म जाँदै छु र तिमीहरूले मलाई खोज्नेछौ तैपनि तिमीहरू आफ्नो पापैमा मर्नेछौ। म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।” तर यहुदीहरू येसुको कुरालाई गलत तरिकाले बुझ्छन्। त्यसैले यसो भन्न थाल्छन्: “यसले आत्महत्या गर्न लाग्यो कि कसो? किनकि यसले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भन्दै छ।” तिनीहरू येसुले भन्नुभएको कुराको अर्थ बुझ्दैनन् किनकि तिनीहरूलाई येसुको सुरुवातबारे थाहै छैन। येसु अझ यसो भन्नुहुन्छ: “तिमीहरू तलका हौ; म माथिको हुँ। तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ।”—युहन्ना ८:२१-२३.
पृथ्वीमा आउनुअघि आफूले स्वर्गमा बिताएको जीवनबारे र ती धर्मगुरुहरूले आशा गरिरहेको मसीह अर्थात् ख्रिष्ट आफू हुँ भन्नेबारे येसु सङ्केत गर्दै हुनुहुन्छ। तैपनि तिनीहरू उहाँको अनादर गर्दै सोध्छन्: “तिमी को हौ?”—युहन्ना ८:२५.
तिनीहरूले उहाँलाई इन्कार गरेको र विरोध गरेको देखेर येसु भन्नुहुन्छ: “तिमीहरूसित कुरा गर्नु नै बेकार छ।” तैपनि उहाँ बुबातर्फ ध्यान खिच्नुहुन्छ र यहुदीहरूले छोराको कुरा सुन्नु किन जरुरी छ भनी बुझाउन यसो भन्नुहुन्छ: “मलाई पठाउनुहुने सत्य हुनुहुन्छ अनि उहाँबाट मैले जे सुनेँ, संसारमा त्यही कुरा बोल्दै छु।”—युहन्ना ८:२५, २६.
ती यहुदीहरू यहोवामा भरोसा राख्दैनन्। तर येसु बुबामाथिको आफ्नो भरोसा व्यक्त गर्दै यसो भन्नुहुन्छ: “तिमीहरूले मानिसको छोरालाई टाँगेपछि यो थाह पाउनेछौ कि आउनेवाला मै हुँ र म आफूखुसी केही पनि गर्दिनँ तर बुबाले मलाई जे-जे सिकाउनुभयो, ती नै कुराहरू बोल्छु। अनि मलाई पठाउनुहुने मसँगै हुनुहुन्छ; उहाँले मलाई एक्लै छोड्नुभएको छैन किनकि म सधैँ उहाँलाई मन पर्ने कामहरू गर्छु।”—युहन्ना ८:२८, २९.
तर केही यहुदीहरू भने येसुलाई विश्वास गर्छन्। उहाँ उनीहरूलाई यसो भन्नुहुन्छ: “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ अनि तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।”—युहन्ना ८:३१, ३२.
तर कसै-कसैलाई यस्तो स्वतन्त्रताबारे सुन्दा अनौठो लाग्छ। तिनीहरू आपत्ति जनाउँदै यसो भन्छन्: “हामी अब्राहामका सन्तान हौँ अनि हामी कहिल्यै कसैको दासत्वमा परेका छैनौँ। ‘तिमीहरू स्वतन्त्र हुनेछौ’ भनेर तिमी किन भन्छौ?” ती यहुदीहरू बेलाबेलामा विदेशीहरूको अधीनमा भए तापनि तिनीहरू आफूलाई दास ठान्दैनन्। तर तिनीहरू अझै पनि दास हुन् भनेर औँल्याउँदै येसु यसो भन्नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्छु, पाप गर्ने हरेक मानिस पापको दास हो।”—युहन्ना ८:३३, ३४.
यहुदीहरूले आफू पापको दासत्वमा छु भन्ने कुरा नस्विकारेर आफूलाई खतरामा पारिरहेका छन्। येसु भन्नुहुन्छ: “दास सधैँभरि मालिकको घरमा रहिरहँदैन तर छोरा भने सधैँभरि रहिरहन्छ।” (युहन्ना ८:३५) दासले आफ्नो मालिकको उत्तराधिकारी हुने अधिकार पाएको हुँदैन र ऊ कुनै पनि बेला कामबाट निकालिन सक्छ। मालिकको आफ्नै छोरा वा धर्मपुत्र मात्र “सधैँभरि” अर्थात् बाँचुन्जेल घरमा रहन पाउँछ।
त्यसैले छोराबारे सत्य कुराले मात्र मानिसहरूलाई मृत्युसम्म पुऱ्याउने पापबाट सदाको लागि स्वतन्त्र बनाउन सक्छ। येसु भन्नुहुन्छ: “छोराले तिमीहरूलाई स्वतन्त्र बनायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।”—युहन्ना ८:३६.