येशूको जीवन र सेवकाई
फरिसीहरू जाना-जानी अविश्वास गर्छन्
पहिले अन्धो रहेको भिखारीका आमा-बाबुहरूलाई फरिसीहरूले बोलाइ पठाउँदा, तिनीहरू थर्कमान हुन्छन्। येशूमाथि विश्वास गर्ने कुनै पनि व्यक्तिलाई सभाघरबाट निस्कासन गरिनेछ भन्ने निर्णय तिनीहरूलाई थाह छ। समाजका अरू सदस्यहरूको सङ्गतीबाट यसरी बहिस्कृत हुँदा, खासगरी एउटा गरीब परिवारकालागि, विशेष कठिनाइ आइ पर्न सक्तछ। त्यसकारण आमा-बाबुहरू सचेत छन्।
फरिसीहरूले सोध्छन्: “के यो तिमीहरूको छोरा हो जो अन्धो जन्मेको थियो भनी तिमीहरू भन्दछौ? हो भने, त्यसले अब कसरी देख्तछ?”
आमा-बाबुहरूले स्वीकृति जनाउँदै भन्छन्: “हामी जान्दछौं, यो हाम्रो छोरो हो, र यो अन्धा जन्मेको थियो। तर अब यसले कसरी देख्तछ हामी जान्दैनौ, अथवा यसका आँखा कसले खोलिदिए, त्यो पनि हामी जान्दैनौं।” निश्चय पनि, छोराले तिनीहरूलाई जम्मै कुरा भनेको हुनु पर्छ, तर आमा-बाबुहरूले बड़ो होशियारी साथ भन्दछन्: “यसको उमेर पुगेको छ। यसैलाई सोध्नुहोस्, आफ्नो विषयमा त्यो आफै बोल्नेछ।”
त्यसकारण, फरिसीहरूले त्यस मानिसलाई फेरि बोलाउँछन्। येशूका विरुद्धमा दोषपूर्ण प्रमाण तिनीहरूले जम्मा पारेका छन् भन्दै, तिनीहरूले उसलाई यस पटक धम्काउँने प्रयास गर्दछन्। तिनीहरूले त्यस मानिसलाई भन्छन्: “परमेश्वरलाई महिमा दे, हामी जान्दछौं त्यो मानिस ता पापीनै हो।”
पहिलेको त्यो अन्धो मानिसले तिनीहरूले लगाएको आरोप इन्कार नगरीकनै भन्छ: “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ, एउटै कुरो मात्र म जान्दछु, कि म अन्धा थिएँ, तर अब देख्तछु।”
उसको बयानमा खोट फेला पार्ने प्रयास गर्दै फरिसीहरूले फेरि सोध्छन्: “उसले तँलाई के गऱ्यो? उसले तेरा आँखा कसरी खोलिदियो?”
त्यस मानिसले जवाफ दिन्छ: “मैले तपाईंहरूलाई अहिले भनें, औ तपाईंहरूले सुन्नु भएन, फेरि किन सुन्न चाहनुहुन्छ?” व्यङ्ग साथ, उसले सोध्छ: “के तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्छ?”
यो जवाफ सुनेर फरिसीहरू क्रोधित हुन्छन्। तिनीहरूले त्यसलाई हप्काउदै भन्छन्: “तँ पो उसको चेला होस्, तर हामी ता मोशाका चेला हौं। हामी जान्दछौं मोशासित परमेश्वर बोल्नुभएको थियो, तर यसलाई ता हामी जान्दैनौं यो कहाँको हो।”
अचम्म मान्दै, त्यो नम्र भिखारी भन्दछ: “कस्तो विचित्र कुरो! उहाँ कहाँका हुनुहुन्छ तपाईंहरू जान्नुहुन्न, औ उहाँलेनै मेरा आँखा खोलिदिनुभयो।” यसबाट हामीले कुन निष्कर्ष निकाल्न सक्छौं? सबैले स्वीकार गरेको सिद्धान्त तर्फ सङ्केत गर्दै, यो भिखारी भन्दछ: “हामी जान्दछौं कि परमेश्वर पापीहरूका कुरा सुन्नुहुन्न, तर परमेश्वरलाई पूज्ने, र उहाँको इच्छा पालन गर्ने कोही मानिस छ भने त्यसको कुरा उहाँ सुन्नुहुन्छ। संसारको शुरूदेखि यसो, कसैले जन्मैको अन्धाका आँखा खोलिदिएको कहिल्यै सुनिएन।” यसकारण, निष्कर्ष स्पष्ट हुनुपर्छ: “यी मानिस परमेश्वरतर्फका नहुनुहुँदो हो ता उहाँले केही गर्नसक्नुहुने थिएन।”
यस प्रकारको सोझो र स्पष्ट तर्कको सामुन्ने फरिसीहरूसँग कुनै जवाफै छैन। तिनीहरू सत्यको सामना गर्न न सकेर त्यस मानिसको ठट्टा गर्दै भन्छन्: “तँ ता बिल्कुलै पापमा जन्मेको होस्, र के हामीलाई सिकाउँछस्?” त्यस पछि, तिनीहरूले त्यस मानिसलाई सभाघरबाट निकालिदिन्छन्।
तिनीहरूको कर्तुतबारे येशूले थाह पाउनु भए पछि, उहाँले त्यस मानिसलाई फेला पार्नु हुन्छ र त्यसलाई भन्नुहुन्छ: “के तिमी परमेश्वरको पुत्रमाथि विश्वास गर्दछौ?”
प्रत्युत्तरमा, पहिलेको अन्धो भिखारी सोध्छ: “प्रभु, उहाँ को हुनुहुन्छ? म उहाँमाथि विश्वास गर्नेछु।”
येशू जवाफ दिनुहुन्छ: “तिमीसित बोल्ने उहीनै हो।”
तुरुन्तै त्यो मानिस उठेर येशूका अगाड़ि दण्डवत् गर्दै भन्छ: “प्रभु, म विश्वास गर्दछु।”
यस पछि, येशूले व्याख्या गर्नुहुन्छ: “म संसारमा इन्साफको लागि आएँ, कि नदेख्नेहरूले देखून्, औ देख्नेहरू चाहिं अन्धा होऊन्।”
यसैमा, कुरा सुनिरहेका फरिसीहरूले सोध्छन्: “के हामी पनि अन्धा हौं त?” तिनीहरूले आफ्नो मानसिक अन्धोपना स्वीकारेका भए, तिनीहरूले येशूको विरोध गरेको क्षम्य हुने थियो। किनकि येशू तिनीहरूलाई भन्नुहुन्छ: “तिमीहरू अन्धा हुँदा हौ ता तिमीहरूमा पाप हुने थिएन।” तथापि, तिनीहरू अन्धा छैनन् र तिनीहरूलाई कुनै प्रकारको आत्मिक ज्ञानको खाँचो छैन भन्दै तिनीहरूले मूर्खतासाथ जिद्द गरेको हुनाकारण, येशू भन्नुहुन्छ: “‘हामी देख्छौं’ भनी तिमीहरू भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ।” यूहन्ना ९:१९-४१.
▪ फरिसीहरूले बोलाउँदा पहिलेको अन्धा भिखारीका आमा-बाबु किन डराउँछन्, र होशियारीसित तिनीहरूले कसरी जवाफ दिन्छन्?
▪ त्यो पहिलेको अन्धो मानिसलाई फरिसीहरूले कसरी तर्साउने प्रयास गर्दछन्?
▪ त्यस मानिसको कुन तर्कपूर्ण बहसले फरिसीहरू क्रोधित् हुन्छन्?
▪ फरिसीहरूले येशूको विरोध गर्नु किन क्षम्य छैन?