वास्तविक परमेश्वर यहोवामाथि भरोसा राख्नुहोस्
के तपाईंले राती सफा आकाशमा अनगिन्ती ताराहरू देख्नुभएको छ? यी सबै अस्तित्वमा हुनुको कारण तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
चकमन्न रातमा ती ताराहरूले पुरातन इस्राएलका राजा दाऊदलाई खुसुक्क केही भन्यो र तिनलाई यस्तो लेख्न उत्प्रेरित गऱ्यो: “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ।” (भजन १९:१) हो, सृष्टि होइन तर सृष्टिकर्ता “महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको” हुन्छ।—प्रकाश ४:११; रोमी १:२५.
बाइबल यसो भन्छ, “सबै थोक बनाउने ता परमेश्वरनै हुनुहुन्छ।” (हिब्रू ३:४) वास्तवमा, साँचो परमेश्वर ‘जसको नाउँ परमप्रभु [यहोवा, NW] हो, उहाँ सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।’ (भजन ८३:१८) अनि उहाँ कुनै भ्रम अथवा मृगतृष्णा हुनुहुन्न। स्वर्गमा बस्नुहुने आफ्नो पिता यहोवाबारे येशू ख्रीष्टले यसो भन्नुभयो: “मलाई पठाउने सच्चा हुनुहुन्छ।”—यूहन्ना ७:२८.
आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुने यहोवा
परमेश्वरको अद्वितीय नाउँ यहोवा हो र यो नाउँ हिब्रू धर्मशास्त्रमा मात्र लगभग ७,००० पटक उल्लेख गरिएको छ। त्यस नाउँले नै उहाँ वास्तविक हुनुहुन्छ भनी औंल्याउँछ। परमेश्वरको नाउँको शाब्दिक अर्थ “उहाँले हुन दिनुहुन्छ” हो। त्यसैकारण, यहोवा परमेश्वरले आफूलाई उद्देश्यहरू पूरा गर्नुहुने भनी चिनाउनुहुन्छ। मोशाले परमेश्वरलाई उहाँको नाउँ सोध्दा यहोवाले आफ्नो नाउँको अर्थ स्पष्ट पार्दै यसो भन्नुभयो: “म हुँ जो म हुँ।” (प्रस्थान ३:१४) रथरहामको अनुवादले स्पष्टसित यसो भन्छ: “म जे हुन चाहन्छु, त्यही हुन्छु।” आफ्ना धार्मिक उद्देश्य तथा प्रतिज्ञाहरू पूरा गर्न जे आवश्यक हुन्छ, यहोवा त्यही हुनुहुन्छ वा बन्नुहुन्छ। तसर्थ, सृष्टिकर्त्ता, पिता, सर्वसत्ताधारी प्रभु, गोठाला, सेनाहरूको यहोवा, प्रार्थना सुन्नुहुने, न्यायकर्ता, महान् शिक्षक, छुटकारा दिनुहुनेजस्ता प्रभावकारी पदवीहरूद्वारा उहाँलाई सम्मानित गरिएको छ।—न्यायकर्त्ता ११:२७; भजन २३:१; ६५:२; ७३:२८; ८९:२६; यशैया ८:१३; ३०:२०; ४०:२८; ४१:१४.
साँचो परमेश्वरले मात्र यहोवा नाउँ धारण गर्न सुहाउँछ किनकि मानिसहरूले आफ्ना योजनाहरू सफल हुन्छ नै भनेर पक्का गर्न सक्दैनन्। (याकूब ४:१३, १४) यहोवाले मात्र यसो भन्न सक्नुहुन्छ: “जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमीनलाई भिजाएर बाली उमार्छ, औ छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ, त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:१०, ११.
यहोवा आफ्ना उद्देश्यहरू पूरा गर्ने सन्दर्भमा यति पक्का हुनुहुन्छ कि मानिसहरूको दृष्टिकोणमा ती असम्भव जस्तो देखिए तापनि यहोवाको दृष्टिकोणमा भने सम्भव छ। अब्राहाम, इसहाक र याकूब मरेको धेरै वर्षपछि पनि येशूले तिनीहरूबारे चर्चा गर्नुभयो र यसो भन्नुभयो: “[यहोवा] मुर्दाहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका, किनकि सबै जना उहाँकै निम्ति जीवित छन्।” (लूका २०:३७, ३८) यी तीनै जना कुलपिताहरूको मृत्यु भएको धेरै समय भइसकेको भए तापनि तिनीहरूलाई पुनरुत्थान गर्ने परमेश्वरको उद्देश्य यति पक्का थियो कि उहाँको नजरमा तिनीहरू अझ जीवितै थिए। यी विश्वासी सेवकहरूलाई पुनर्जीवन दिनु यहोवाको लागि प्रथम पुरुषलाई माटोबाट सृष्टि गर्नु जत्तिकै सजिलो छ।—उत्पत्ति २:७.
परमेश्वरले आफ्ना उद्धेश्यहरू अवश्य पूरा गर्नुहुन्छ भन्ने तथ्यलाई स्पष्ट पार्न प्रेरित पावल अर्को उदाहरण दिन्छन्। धर्मशास्त्रमा अब्राहामलाई “धेरै जातिका पिता” भनिएको छ। (रोमी ४:१६, १७) अब्राम निस्सन्तान छँदै यहोवाले तिनको नाउँ परिवर्तन गरेर अब्राहाम राख्नुभयो, जसको अर्थ “थुप्रै मानिसहरूको (जनसमूह) पिता” हो। यहोवाले त्यस नाउँको अर्थलाई वास्तविकतामा परिणत गर्न वृद्ध अब्राहाम अनि तिनकी वृद्धा पत्नी साराको चमत्कारी ढंगमा प्रजनन शक्ति फर्काइदिनुभयो।—हिब्रू ११:११, १२.
धेरै शक्ति अनि अधिकार दिइएको कारण येशू ख्रीष्टले मानवीय दृष्टिकोणभन्दा उच्च दृष्टिकोणबाट सत्यबारे बोल्नुभयो। आफ्नो घनिष्ठ मित्र लाजरस मरिसकेको भए तापनि येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्, तर म तिनलाई निद्राबाट बिउँझाउनालाई जाँदैछु।” (यूहन्ना ११:११) मरिसकेको व्यक्तिलाई येशूले किन केवल सुतिरहेको छ भन्नुभयो?
लाजरसको गाउँ बेथानी पुगेपछि येशू चिहानमा जानुभयो र चिहानलाई छोपेको ढुंगा हटाउने निर्देशन दिनुभयो। ठूलो स्वरले प्रार्थना गरिसकेपछि उहाँले यस्तो आज्ञा दिनुभयो: “लाजरस, बाहिर निस्की आऊ!” त्यसपछि चिहानमा हेरिरहने मानिसहरूको आँखा चिहानमै टक्क अडियो र “त्यो मरेको मान्छे हातखुट्टा बाँधिएको कात्रोसहित निस्की आयो। तिनको अनुहार रुमालले बेह्रिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो ‘तिनलाई फुकाइदेऊ, र जानदेऊ।” (यूहन्ना ११:४३, ४४) येशूले लाजरसको पुनरुत्थान गर्नुभएर चार दिनअघि मरेको मानिसलाई पुनर्जीवन दिनुभयो! आफ्नो मित्र सुतिरहेका छन् भन्नुहुँदा येशूले सत्यलाई गलत ढंगमा प्रस्तुत गर्नुभएन। यहोवा र येशूको दृष्टिकोणमा मरिसकेको लाजरस साँच्चै सुतिरहेकै जस्तो थियो। हो, येशू र स्वर्गमा हुनुहुने उहाँको पिताले वास्तविक मामिलाहरूमा मात्र सरोकार राख्नुहुन्छ।
यहोवाले हाम्रा आशाहरूलाई वास्तविकतामा परिणत गर्न सक्नुहुन्छ
वास्तविक परमेश्वर र भ्रामक मूर्तिहरूबीच कस्तो ठूलो भिन्नता! मूर्तिपूजकहरू आफूले आस्था राख्ने मूर्तिहरूसित असाधारण शक्ति छ भन्ने गलत आशा राख्छन्। यद्यपि, यी मूर्तिहरूमा जतिसुकै आस्था राखे तापनि यिनीहरूमा चमत्कारी शक्ति हुँदैनन्। अर्कोतिर, यहोवा परमेश्वरले धेरै वर्ष पहिले मरेका आफ्ना सेवकहरूलाई पनि जीवित ठान्न सक्नुहुन्छ किनकि उहाँले तिनीहरूलाई पुनर्जीवित पार्न सक्नुहुन्छ। “परमप्रभु ता साँचो परमेश्वर हुनुहुन्छ” र उहाँले आफ्ना जनहरूलाई कहिल्यै धोका दिनहुन्न।—यर्मिया १०:१०.
आफ्नो स्मरणमा रहेका मरिसकेका व्यक्तिहरूलाई यहोवाले आफ्नो समयमा पुनरुत्थान अर्थात् पुनर्जीवित गर्नुहुनेछ भन्ने कुरा जान्न पाउनु कत्ति सान्त्वनादायी छ! (प्रेरित २४:१५) हो, पुनरुत्थान गर्नु भनेको त्यस व्यक्तिलाई तिनको व्यक्तित्वसहित पुनर्जीवित गर्नु हो। अनन्त बुद्धि र शक्तिको स्रोत, सृष्टिकर्ताको लागि मरिसकेका व्यक्तिहरूको जीवनपद्धति सम्झेर तिनीहरूलाई पुनरुत्थान गर्नु कुनै गाह्रो कुरा होइन। (अय्यूब १२:१३; यशैया ४०:२६) यहोवा प्रेममा प्रशस्त हुनुभएको कारण मरेका व्यक्तिहरूलाई उनीहरू मर्नुअघिकै व्यक्तित्वसहित पार्थिव प्रमोदवनमा पुनर्जीवित पार्न उहाँले आफ्नो सिद्ध स्मरणशक्तिको प्रयोग गर्नुहुनेछ।—१ यूहन्ना ४:८.
शैतानको संसारको अन्त झन-झनै नजिकिंदै जाँदा, साँचो परमेश्वरमा विश्वास राख्नेहरूको भविष्य पक्कै पनि उज्ज्वल हुन्छ। (हितोपदेश २:२१, २२; दानियल २:४४; १ यूहन्ना ५:१९) भजनरचयिता यस्तो आश्वासन दिन्छन्: “थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” (भजन ३७:१०, ११) अपराध र हिंसा विगतका कुरा हुनेछन्। न्याय रहिरहनेछ, आर्थिक कठिनाइ हुनेछैन। (भजन ३७:६; ७२:१२, १३; यशैया ६५:२१-२३) सामाजिक, जनजातीय, जातीय तथा साम्प्रदायिक भेदभावको नामोनिसानै रहनेछैन। (प्रेरित १०:३४, ३५) युद्ध तथा हातहतियार हुनेछैनन्। (भजन ४६:९) त्यस बेला कुनै पनि “बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’ ” (यशैया ३३:२४) सबैले सिद्ध जीवन अनि सुस्वास्थ्यको आनन्द उठाउनेछन्। (प्रकाश २१:३, ४) पार्थिव प्रमोदवन वास्तविकतामा परिणत हुनेछ। यहोवाले यस्तै उद्देश्य राख्नुभएको छ!
हो, बाइबल आधारित सबै आशाहरू चाँडै पूरा हुनेछन्। यहोवामाथि पूर्ण भरोसा राख्न सक्ने मौका हुँदा हुँदै संसारले उपासना गर्ने कुराहरूको पासोमा किन पर्ने? “सबै मानिसहरूले उद्धार पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन्” भन्ने उहाँको इच्छा छ। (१ तिमोथी २:३, ४) यस संसारका देवहरू तथा त्यसका रीतिरिवाजको भ्रम अर्थात् मृगतृष्णामा आफ्नो समय तथा साधनहरू खर्च गर्नुभन्दा वास्तविक परमेश्वरको ज्ञानमा बढ्दै जाऔं र सम्पूर्ण हृदयले उहाँमाथि भर गरौं।—हितोपदेश ३:१-६; यूहन्ना १७:३.
[पृष्ठ ६-मा भएको चित्र]
यहोवा र येशूको दृष्टिकोणमा लाजरस केवल मस्त निदाइरहेका थिए
[पृष्ठ ७-मा भएका चित्रहरू]
पार्थिव प्रमोदवन चाँडै वास्तविकतामा परिणत हुनेछ