अध्याय ३४
मरेपछि हामीलाई के हुन्छ?
तिमीलाई थाहै होला, अहिले मानिसहरू बूढाबूढी हुन्छन्, बिरामी हुन्छन् अनि मर्छन्। केही साना केटाकेटीसमेत मर्छन्। के तिमी मृत्युसँग वा मरेको मानिससँग डराउनुपर्छ?—मरेपछि हामीलाई के हुन्छ, तिमीलाई थाह छ?—
अहिले हाम्रो समयमा, कुनै पनि मानिसले पुनर्जीवित भएर आफू मर्दा के-के भयो भनी बताएको छैन। तर महान् शिक्षक येशू यस पृथ्वीमा छँदा त्यस्तै एक मानिस थिए। तिनीबारे पढेर हामी मरेकाहरूलाई के हुन्छ भन्नेबारेमा सिक्न सक्छौं। ती मानिस येशूका साथी थिए। तिनी यरूशलेम नजिकैको सानो सहर बेथानीमा बस्थे। तिनको नाम लाजरस थियो। तिनका दुई दिदी थिए। उनीहरूको नाम मार्था र मरियम थियो। बाइबलले त्यतिबेला के भयो भन्छ, हामी हेरौं है!
एकदिन लाजरस एकदमै बिरामी पर्छन्। त्यतिबेला येशू धेरै टाढा हुनुहुन्थ्यो। त्यसैले उहाँलाई यो खबर दिन मार्था र मरियमले मान्छे पठाउँछन्। येशू त्यहाँ आएर आफ्नो भाइलाई निको पार्न सक्नुहुन्छ भनी उनीहरूलाई थाह छ। येशू डाक्टर हुनुहुन्न। तर उहाँले परमेश्वरबाट सबै किसिमको रोगबिमार निको पार्ने शक्ति पाउनुभएको छ।—मत्ती १५:३०, ३१.
येशू लाजरसलाई भेट्न जानुअघि नै तिनी सिकिस्त बिरामी परेर मरिसकेका हुन्छन्। तर येशू आफ्ना चेलाहरूलाई लाजरस सुतिरहेका छन् अनि तिनलाई ब्यूँझाउन जाँदैछु भन्नुहुन्छ। चेलाहरूले येशूको कुरा बुझ्दैनन्। त्यसैले उहाँले स्पष्टसित यसो भन्नुहुन्छ: “लाजरस मरिसकेका छन्।” यसबाट हामी के बुझ्न सक्छौं?—हो, मृत्यु गहिरो निद्राजस्तै हो। यत्ति गहिरो कि त्यतिबेला मानिसले सपनासमेत देख्न सक्दैन।
येशू मार्था र मरियमलाई भेट्न आउनुहुन्छ। परिवारका धेरैजसो साथीभाइ पहिल्यै त्यहाँ आइपुगिसकेका छन्। लाजरसको मृत्यु भएको कारण तिनीहरू तिनका दिदीहरूलाई सान्त्वना दिन आएका हुन्। येशू आउँदै हुनुहुन्छ भन्ने सुनेर मार्था उहाँलाई भेट्न जान्छिन्। पछि मरियम पनि उहाँलाई भेट्न निस्कन्छिन्। उनी असाध्यै दुःखी छिन् र रुँदैछिन्। येशूलाई देखेपछि उनी उहाँको पाउमा घोप्टो पर्छिन्। मरियमको पछि-पछि आएका उनका साथीहरू पनि रुँदैछन्।
महान् शिक्षकले लाजरसलाई कहाँ राखेका छौ भनेर सोध्नुहुन्छ। अनि मानिसहरूले उहाँलाई लाजरसलाई राखेको ओडारतिर लैजान्छन्। सबै मानिस रोइरहेको देखेर येशू पनि रुन थाल्नुहुन्छ। आफूले माया गरेको मानिसलाई मृत्युको कारण गुमाउनुपर्दा कत्ति दुःख हुन्छ, त्यो येशूलाई थाह छ।
ओडारको मुखमा ढुङ्गा राखिएको छ। त्यसैले येशूले यसो भन्नुहुन्छ: “ढुङ्गा हटाओ।” ढुङ्गा हटाउनु ठीक होला र?—मार्थालाई ठीक होइन जस्तो लाग्छ। उनी भन्छिन्: “प्रभु, अहिलेसम्म त गन्हाउन थालिसक्यो होला, किनकि चार दिन भइसक्यो।”
तर येशूले उनलाई भन्नुहुन्छ: “के मैले तिमीलाई भनिनँ, यदि तिमीले ममाथि विश्वास गऱ्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछ्यौ?” मार्थाले परमेश्वरको महिमा हुने एउटा कुरा देख्नै लागेकी छिन् भनेर येशू भन्दै हुनुहुन्छ। अब येशूले के गर्नुहुन्छ? ढुङ्गा हटाइसकेपछि उहाँले सबैले सुन्ने गरी यहोवालाई प्रार्थना गर्नुहुन्छ। त्यसपछि उहाँले ठूलो सोरमा भन्नुहुन्छ: “ए लाजरस, बाहिर आऊ!” के तिनी बाहिर आउँछन्? के तिनी साँच्चै नै आउन सक्छन् त?—
के तिमी निदाइरहेको मानिसलाई उठाउन सक्छौ?—हो, तिमीले ठूलो सोरले बोलाउँदा, तिनी उठ्छन्। तर के तिमी मृत्युको कारण निदाइरहेको मानिसलाई ब्यूँझाउन सक्छौ?—अहँ, सक्दैनौ। तिमीले जत्ति नै चिच्चाएर बोलाए तापनि मरेको मानिसले केही सुन्दैन। अहिले पृथ्वीमा भएको कसैले पनि मरेको मानिसलाई ब्यूँताउन सक्दैन। हो, तिमी, म अनि अरू कसैले पनि सक्दैन।
येशूले लाजरसलाई के गर्नुभयो?
तर येशू फरक हुनुहुन्छ। उहाँले परमेश्वरबाट विशेष शक्ति पाउनुभएको छ। त्यसैले येशूले लाजरसलाई बोलाउँदा एउटा अचम्मको कुरा हुन्छ। मरेको चार दिन भइसकेको मानिस ओडारबाट निस्केर आउँछ! तिनी फेरि जीवित हुन्छन्! तिनले फेरि सास फेर्न, हिंड्न र बोल्न थाल्छन्! हो, येशूले तिनलाई मृत्युबाट ब्यूँताउनुहुन्छ।—यूहन्ना ११:१-४४.
अब एकछिन सोच त! लाजरस मर्दा तिनको अवस्था कस्तो थियो? के तिनको आत्मा तिनको शरीरबाट निस्केर अन्त कतै गयो? के तिनको आत्मा स्वर्गमा थियो? के तिनी त्यहाँ चार दिनसम्म परमेश्वर र पवित्र स्वर्गदूतहरूसित बसिरहेका थिए?—
अहँ, थिएनन्। याद गर, येशूले लाजरस निदाइरहेका छन् भन्नुभयो। तिमी निदाइरहेका छौ भने के हुन्छ? मस्त निद्रामा छौ भने तिमीले आफू वरपर के-के भइरहेको छ, केही पनि थाह पाउँदैनौ नि, होइन र?—अनि ब्यूँझिसकेपछि पनि घडी नहेरेसम्म कतिबेर सुत्यौ भनेर थाहै हुँदैन नि, होइन?
मरिसकेका मानिसहरूबारे पनि कुरा त्यही हो। तिनीहरूलाई केही पनि थाह हुँदैन। तिनीहरूले कुनै पनि कुरा महसुस गर्न सक्दैनन्। अनि तिनीहरूले केही पनि गर्न सक्दैनन्। मरेको बेला लाजरस पनि त्यस्तै अवस्थामा थिए। मृत्यु भनेको गहिरो निद्राजस्तै हो, जतिबेला मानिसले केही पनि कुरा सम्झन सक्दैन। बाइबल भन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्।”—उपदेशक ९:५, १०.
लाजरस मरेको बेलामा तिनको अवस्था कस्तो थियो?
यो कुरा पनि विचार गर: यदि लाजरस चार दिनसम्म स्वर्गमा भएको भए के तिनले त्यहाँको बारेमा केही कुरा भन्ने थिएनन् र?—अनि तिनी स्वर्गमै भएको भए त्यस्तो राम्रो ठाउँबाट येशूले तिनलाई किन पृथ्वीमा फर्काउनुहुन्थ्यो होला र?—पक्कै फर्काउनुहुन्न थियो!
तैपनि थुप्रै मानिसहरू, मान्छे मरे पनि ऊभित्रको आत्मा मर्दैन र अन्त कतै बाँचिरहन्छ भन्ने गर्छन्। लाजरस अन्त कतै जीवित थियो भनेर तिनीहरू भन्ने गर्छन्। तर बाइबलले त्यसो भन्दैन। परमेश्वरले पहिलो मानिस आदम बनाउँदा तिनी ‘जीवित मानिस’ भए भनेर बताउँछ। तर आदमले पाप गरेपछि तिनी मरे। तिनी मुर्दा भए र माटोबाट बनाइएकोले माटैमा फर्के। तिनको नामोनिसानै रहेन। आदमका सबै छोराछोरीले तिनीबाट जन्मजात पाप र मृत्यु पाए भनेर पनि बाइबल बताउँछ।—उत्पत्ति २:७; ३:१७-१९; गन्ती ६:६; रोमी ५:१२.
हामी किन मरेका मानिसहरूदेखि डराउनुपर्दैन?
मरेका मानिसहरूदेखि कोही-कोही डराउँछन्। तिनीहरू चिहान नजिक जाँदैनन्। किनभने मरेको मानिसको शरीरबाट निस्केको आत्माले जिउँदाहरूलाई हानि पुऱ्याउन सक्छन् भनी तिनीहरू सोच्ने गर्छन्। तर के मरेका मानिसहरूले जिउँदाहरूलाई हानि पुऱ्याउन सक्छन्?—अहँ, सक्दैनन्।
मरेको मानिस आत्मा भएर जिउँदाहरूलाई भेट्न आउँछन् भनेर समेत केही मानिस विश्वास गर्छन्। त्यसैले तिनीहरू मरेका मानिसहरूलाई खानेकुरा चढाउँछन्। तर यसो गर्ने मानिसहरू परमेश्वरले मरेकाहरूबारे के भन्नुहुन्छ त्यसमा साँच्चै विश्वास गर्दैनन्। परमेश्वरले भनेका कुराहरूमा विश्वास गऱ्यौं भने हामी मरेका मानिसहरूदेखि डराउनेछैनौं। अनि परमेश्वरले जीवन दिनुभएकोमा हामी उहाँप्रति साँच्चै धन्यवादी छौं भने उहाँले स्वीकार्ने कुराहरू गर्नेछौं।
तर तिमीलाई लाग्ला: ‘के परमेश्वरले मरेका केटाकेटीलाई ब्यूँताउनुहुनेछ? के उहाँ साँच्चै नै त्यसो गर्ने इच्छा गर्नुहुन्छ?’ अब अर्को अध्यायमा यसबारे छलफल गरौं है!
अब हामी बाइबलमा मरेका मानिसहरूको अवस्थाबारे थप के बताइएको छ, पढौं है! भजन ११५:१७; १४६:३, ४.