प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ७/१ pp. १९-२४
  • “नामेट हुने शत्रु, मृत्यु हो”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “नामेट हुने शत्रु, मृत्यु हो”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कस्तो किसिमको शरीर?
  • पार्थिव पुनरुत्थान?
  • को को फर्कंदैछन्‌?
  • व्यवस्थित पुनरुत्थान
  • पुनरुत्थानको आशामा शक्‍ति छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “मरेकाहरू कसरी ब्युँताइनेछन्‌?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • पुनरुत्थान–कसकालागि र कहाँ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • फेरि जीवित हुने पक्का आशा!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ७/१ pp. १९-२४

“नामेट हुने शत्रु, मृत्यु हो”

“सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।”—१ कोरिन्थी १५:२६.

१, २. (क) मरिसकेका मानिसहरूका निम्ति कस्तो आशा छ भनी प्रेरित पावलले बताए? (ख) पावलले पुनरुत्थानसम्बन्धी कस्ता प्रश्‍नहरूको जवाफ दिए?

“म शरीरको पुनरुत्थान र . . . अनन्त जीवनमाथि विश्‍वास गर्छु।” चर्चमा बाह्र प्रेरितका शिक्षा पाठ गर्नुपर्दा उक्‍त कुरा दोहऱ्‍याइन्छ। क्याथोलिक र प्रोटेस्टेन्टहरू पनि कर्तव्यनिष्ठ भई त्यसरी नै फलाक्छन्‌। तर आफूले फलाकिरहेको पाठ प्रेरितहरूसँगभन्दा पनि युनानी दर्शनसित मेल खान्छ भनेर तिनीहरूलाई होसै छैन। प्रेरित पावल युनानी दर्शनलाई बहिष्कार गर्थे र अमर आत्मामा विश्‍वास गर्दैनथे। तथापि तिनी भावी जीवनमा विश्‍वास गर्थे र तिनले परमेश्‍वरको प्रेरणा पाएर यो लेखे: “सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।” (१ कोरिन्थी १५:२६) मृत्युलाई अँगाल्न बाध्य भएका मानवजातिको लागि के यसको कुनै मतलब छ?

२ त्यसको जवाफका लागि हामी फेरि १ कोरिन्थी अध्याय १५ हेरौं, जहाँ पावलले पुनरुत्थानबारे छलफल गरेका छन्‌। तपाईंलाई यादै होला, उक्‍त अध्यायको सुरुतिर पावलले पुनरुत्थान मसीही धर्मसिद्धान्तको अभिन्‍न भाग हो भनेर पक्का गराएका थिए। त्यति गरिसकेपछि पावल अब एउटा खास प्रश्‍न गर्छन्‌: “ ‘मरेकाहरू कसरी बिउँतन्छन्‌ र? र तिनीहरू कस्तो किसिमको शरीर लिएर आउँछन्‌?’ भनी कसैले भन्ला।”—१ कोरिन्थी १५:३५.

कस्तो किसिमको शरीर?

३. किन कसै कसैले पुनरुत्थानलाई मान्‍न इन्कार गरे?

३ पावलले प्लेटोको दर्शनको प्रतिकार गर्न उक्‍त प्रश्‍न गरेका हुनसक्छन्‌। प्लेटोले शरीर मरेपछि पनि बाँचिरहने अमर आत्मा हुन्छ भनेर सिकाएका थिए। अतः प्लेटोको सिद्धान्त सिकेर हुर्केबढेकाहरूलाई पुनरुत्थानको शिक्षा बेकार लाग्नु स्वाभाविकै हो। मृत्युपछि आत्मा बाँचिरहन्छ भने पुनरुत्थानको के खाँचो? यसबाहेक पुनरुत्थान अक्कलको कुरा हो जस्तो पनि नदेखिएको हुनसक्छ। हुन पनि, शरीर कुहिएर माटो बनिसकेपछि कसरी त्यसको पुनरुत्थान हुनसक्छ र? बाइबल टिप्पणीकार हाइनरिक मेयरअनुसार कुनै कुनै कोरिन्थीहरूले “कुहिसकेको शरीर पुनर्स्थापित गर्नु असम्भव छ भन्‍ने तात्विक आधारमा पुनरुत्थानको विरोध गरेको हुनसक्छ।”

४, ५. (क) पुनरुत्थानमा विश्‍वास नगर्नेहरूको कुरा किन व्यवहारिक थिएन? (ख) पावलले बताएको “बिउ[को]” उखानको वर्णन गर्नुहोस्‌। (ग) पुनरुत्थान भएका अभिषिक्‍त जनहरूलाई परमेश्‍वरले कुन किसिमको शरीर दिनुहुन्छ?

४ पावल त्यस्तो तर्कको खोक्रोपन यसरी उदांग पार्छन्‌: “जे तिमी छर्दछौ त्यो नमरीकन सजीव हुँदैन। औ जे तिमी छर्दछौ, त्यो पछि उत्पन्‍न हुने शरीर ता होइन, तर सिर्फ बिउ पो छर्दछौ, चाहे त्यो गहुँको होस्‌, अथवा अरू कुनै किसिमको अन्‍नको होस्‌। तर परमेश्‍वरले आफूलाई खुशी लागेबमोजिम त्यसलाई एउटा शरीर दिनुहुन्छ, र हरेक बिउलाई त्यसैबमोजिमको शरीर।” (१ कोरिन्थी १५:३६-३८) पृथ्वीमा छँदा जुन शरीर थियो, त्यही शरीरसहित मानिसहरूको पुनरुत्थान हुनेथिएन। परमेश्‍वरले तिनीहरूको परिवर्तन गर्नुहुनेथियो।

५ पावल पुनरुत्थानलाई अंकुराएको बीउसित तुलना गर्छन्‌। गहुँको सानो बीउ र त्यसबाट उम्रने गहुँको बोटको आकारप्रकार एकै हुँदैन। द वर्ल्ड बूक इनसाइक्लोपीडिया भन्छ: “बीउ अंकुराउन थाल्दा त्यसले प्रशस्त पानी सोस्छ। पानीले गर्दा बीउभित्र अनेकन रासायनिक परिवर्तनहरू हुन्छन्‌। पानीले बीउको आन्तरिक तन्तुहरू फुलाउँछ र बाहिरी आवरण फुट्‌छ।” अर्को अर्थमा भन्‍ने हो भने, बीउ मर्छ र बेर्ना बन्छ। “परमेश्‍वरले . . . त्यसलाई शरीर दिनुहुन्छ।” मतलब त्यसको विकासका लागि परमेश्‍वरले तोक्नुभएको वैज्ञानिक नियमअनुसार त्यो बढ्‌छ र हरेक बीउले आफ्नै प्रकारको शरीर पाउँछ। (उत्पत्ति १:११) एवं रीतिले अभिषिक्‍त मसीहीहरू पनि पहिले मानवको रूपमा मर्छन्‌। त्यसपछि परमेश्‍वरले आफूले तोक्नुभएको समयमा परमेश्‍वरले एकदम नयाँ शरीर प्रदान गर्नुभएर तिनीहरूलाई फेरि जिउँदो बनाउनुहुन्छ। पावलले फिलिप्पीहरूलाई भनेझैं “येशू ख्रीष्ट[ले] . . . हाम्रा हीन अवस्थाको शरीरलाई उहाँको महिमाको शरीर समान तुल्याउनालाई परिवर्त्तन गर्नहुनेछ।” (फिलिप्पी ३:२०, २१; २ कोरिन्थी ५:१, २) तिनीहरू महिमाको शरीर लिएर पुनरुत्थान हुन्छन्‌ र स्वर्गीय संसारमा बस्छन्‌।—१ यूहन्‍ना ३:२.

६. पुनरुत्थान हुनेहरूलाई परमेश्‍वरले सुहाउँदो आत्मिक शरीर दिनसक्नुहुन्छ भनेर विश्‍वास गर्नु किन ठीक छ?

६ के यो विश्‍वास गर्न गाह्रो छ? छैन। जन्तुहरूको एकै किसिमको शरीर हुँदैन भनेर पावल तर्क गर्छन्‌। यसबाहेक, स्वर्गदूतहरूलाई तिनी रगत र मासुको मानिसहरूसित तुलना गर्दै यसो भन्छन्‌: “दैविक शरीर र लौकिक शरीर पनि हुन्छन्‌।” निर्जीव सृष्टिमा पनि ठूलो विविधता पाइन्छ। वैज्ञानिकहरूले नीलो, ठूलो रातो अनि सेता साना ताराहरू पत्ता लगाउनुभन्दा धेरैअघि नै पावलले “ताराहरूको प्रकाश अर्कै किसिमको हुन्छ” भनेका थिए। यी सब कुराहरूलाई ध्यानमा राख्दा परमेश्‍वरले पुनरुत्थान भएका अभिषिक्‍त जनहरूलाई उपयुक्‍त महिमित शरीर दिनसक्नुहुन्छ भन्‍ने कुरामा अचम्म मान्‍नुपर्छ र?—१ कोरिन्थी १५:३९-४१.

७. अविनाशको अर्थ के हो? अमरको नि?

७ पावल अगाडि भन्छन्‌: “मरेकाहरूको पुनरुत्थान पनि त्यस्तै हो। विनाशमा त्यो छरिन्छ, अविनाशमा बिउँताइन्छ।” (१ कोरिन्थी १५:४२) मानव शरीर सिद्ध नै किन नहोस्‌ विनाशी हुन्छ। मतलब त्यसलाई मार्न सकिन्छ। उदाहरणका लागि, पावलले पुनरुत्थान हुनुभएको येशू “कहिले सड़नुपर्दैन” भने। (प्रेरित १३:३४) त्यसको मतलब, चाहे सिद्ध नै किन नहोस्‌, उहाँले कहिल्यै विनाशी मानव शरीर धारण गर्नुहुनेछैन। परमेश्‍वरले अभिषिक्‍त जनहरूलाई अविनाशी अर्थात्‌ नमर्ने, नकुहिने शरीर दिनुहुन्छ। पावल अझ भन्छन्‌: “अनादरमा त्यो छरिन्छ, तेजमा बिउँताइन्छ। दुर्बलतामा त्यो छरिन्छ, शक्‍तिमा बिउँताइन्छ।” (१ कोरिन्थी १५:४३, ४४) यसबाहेक पावल भन्छन्‌: “यस विनाशीले अविनाशी, र यस मरणशीलले अमर रूप धारण गर्नैपर्छ।” (१ कोरिन्थी १५:५३; हिब्रू ७:१६) यसप्रकार पुनरुत्थान हुनेहरूले येशू अर्थात्‌ तिनीहरूको पुनरुत्थान सम्भव गराउनुहुनेको जस्तै “स्वर्गीय रूप” धारण गर्नेछन्‌।—१ कोरिन्थी १५:४५-४९.

८. (क) पुनरुत्थान हुनेहरू पहिले यही पृथ्वीमा जीवन बिताउनेहरू नै हुन्‌ भनेर हामी कसरी भन्‍नसक्छौं? (ख) पुनरुत्थान हुँदा कुन भविष्यवाणीहरू पूरा हुन्छन्‌?

८ यस्तो परिवर्तनको बावजूद, पुनरुत्थान भएका जनहरू पहिले जे-जस्ता व्यक्‍तित्वका थिए, त्यस्तै व्यक्‍तित्वका हुन्छन्‌। मर्नुअघि तिनीहरूको स्मृति अनि उच्चस्तरको मसीही गुनहरू पनि यथावत्‌ रहन्छ। (मलाकी ३:३; प्रकाश २१:१०, १८) यसप्रकार तिनीहरू येशू ख्रीष्टजस्तै हुन्छन्‌। उहाँ स्वर्गीय व्यक्‍तिबाट मानवमा परिवर्तन हुनुभयो र मृत्युपछि स्वर्गीय व्यक्‍तिको रूपमा पुनरुत्थान हुनुभयो। तर यसो भए तापनि “येशू ख्रीष्ट हिज, आज, अँ सधैंभरि एकसमान हुनुहुन्छ।” (हिब्रू १३:८) अभिषिक्‍त जनहरूले साँच्चै कत्ति गौरवमय सुअवसर पाउँदारहेछन्‌! पावल भन्छन्‌: “तर जब यस विनाशीले अविनाशी धारण गरेको, र मरणशीलले अमर धारण गरेको हुन्छ, तब लेखिएको त्यो कुरो पूरा हुनेछ, ‘मृत्यु विजयमा निलियो। ए मृत्यु, तेरो विजय कहाँ? ए मृत्यु, तेरो खील कहाँ?’ ”—१ कोरिन्थी १५:५४, ५५; यशैया २५:८; होशे १३:१४.

पार्थिव पुनरुत्थान?

९, १०. (क) पहिलो कोरिन्थी १५:२४ को प्रसंगअनुसार “अन्त” के हो र त्यससित सम्बन्धित कुन कुन घटना हुन्छन्‌? (ख) मृत्युलाई नामेट पार्न कुन कुरा हुनैपर्छ?

९ उसोभए, स्वर्गमा अमर आत्मिक जीवन पाउने आशा नहुने लाखौं लाख मानिसहरूका लागि के कुनै आशा छ? अवश्‍य! ख्रीष्टको उपस्थितिको दौडान स्वर्गीय पुनरुत्थान हुनेछ भनेर बेलीबिस्तार लगाएपछि पावल त्यसपछिका घटनाहरू यसरी बताउँछन्‌: “उहाँले सारा प्रभुत्व, सारा अख्तियार र शक्‍ति नामेट गरेर परमेश्‍वर, अर्थात्‌ पितालाई राज्य सुम्पिदिनुहुनेछ, तब अन्त हुन्छ।”—१ कोरिन्थी १५:२३, २४.

१० यहाँ उल्लेख गरिएको “अन्त” ख्रीष्टको हजार वर्षीय राज्य सकेपछि हुन्छ, जुनबेला येशूले विनम्रता अनि वफादारीपूर्वक परमेश्‍वर आफ्नो पितालाई राज्य फर्काउनुहुन्छ। (प्रकाश २०:४) ‘सबै कुरा ख्रीष्टमा गाभ्ने’ परमेश्‍वरको उद्देश्‍य त्यतिबेलासम्म पूरा भइसकेको हुनेछ। (एफिसी १:९, १०) तथापि, त्यसअघि ख्रीष्टले परमेश्‍वरको सार्वभौमिकताको विरोध गर्ने “सारा अख्तियार र शक्‍ति” नष्ट गर्नुहुनेछ। यो आरमागेडोनको युद्धमै नष्ट भइजाने कुरा होइन। येशूले त्योभन्दा ठूलो विनाश गर्नुहुनेछ। (प्रकाश १६:१६; १९:११-२१) पावल भन्छन्‌: “[ख्रीष्टले] सारा शत्रुलाई आफ्ना पाउमनि नराखुञ्जेल उहाँले राज्य गर्नैपर्छ। सबैभन्दा पछि नामेट हुने शत्रु, मृत्यु हो।” (१ कोरिन्थी १५:२५, २६) हो, आदमले गर्दा भोग्नुपरेको पाप र मृत्यु त्यसका पूरै परिणामसमेत हटाइनेछन्‌। यसको मतलब परमेश्‍वरले “चिहानमा” हुनेहरूलाई पुनः जीवित पारेको हुनुपऱ्‍यो।—यूहन्‍ना ५:२८.

११. (क) मरिसकेको आत्मालाई परमेश्‍वरले फेरि सृजन सक्नुहुन्छ भनेर हामी कसरी भन्‍नसक्छौं? (ख) पृथ्वीमा पुनरुत्थान हुनेहरूलाई कस्तो शरीर दिइनेछ?

११ तथापि, त्यसरी जीवित पार्न मानव आत्माको फेरि सृष्टि गर्नुपर्नेछ। असम्भव? अहँ छैन। किनकि भजन १०४:२९, ३० ले परमेश्‍वरको कस्तो क्षमता छ, सो बताउँदै यस्तो आश्‍वासन दिन्छ: “तपाईंले तिनीहरूको सास लिनुहुँदा ती मरिहाल्छन्‌, र फेरि माटामै मिलिहाल्छन्‌, तपाईंले आफ्नो आत्मा पठाउनुभएमा ती सृष्टि हुन्छन्‌।” पुनरुत्थान हुने व्यक्‍तिको व्यक्‍तित्व पहिलेकै जस्तै हुने भए तापनि शरीर पनि पहिलेकै जस्तो हुनुपर्छ भन्‍ने छैन। पुनरुत्थान भएर स्वर्ग जानेहरूलाई परमेश्‍वरले आफ्नो इच्छाअनुसार शरीर दिनुहुनेछ। निस्सन्देह, परमेश्‍वरले नयाँ शरीर दिनुहुँदा, पूर्णतया स्वस्थ र पहिलेको शरीरसित मेल खाने शरीर नै दिनुहुनेछ। अन्यथा प्रियजनहरूले तिनीहरूलाई कसरी चिन्लान्‌?

१२. पार्थिव पुनरुत्थान कहिले हुन्छ?

१२ पार्थिव पुनरुत्थान कहिले हुनेछ त? मार्थाले मरिसकेका आफ्नो भाइ लाजरसबारे यसो भनेकी थिइन्‌: “म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।” (यूहन्‍ना ११:२४) तिनले कसरी यो कुरा जानिन्‌? त्यसताक फरिसीहरूले पुनरुत्थानमा विश्‍वास गर्ने तर सदुकीहरूले चाहिं नगर्ने हुँदा पुनरुत्थानबारे निकै वादविवाद हुने गर्थ्यो। (प्रेरित २३:८) यद्यपि, मार्थाले पक्कै पनि पुनरुत्थानमाथि विश्‍वास गर्ने मसीहीपूर्व साक्षीहरू चिनेकी हुँदा पुनरुत्थानबारे थाह पाएकी हुनुपर्छ। (हिब्रू ११:३५) यसबाहेक दानियल १२:१३ पढेर आखिरी दिनमा पुनरुत्थान हुनेरहेछ भनेर तिनले बुझेकी हुनसक्छ। अथवा, स्वयं येशूले पुनरुत्थानबारे बताएको हुनसक्छ। (यूहन्‍ना ६:३९) मार्थाले भनेकी “पछिल्लो दिन” ख्रीष्टको हजार वर्षीय राज्यमा पर्छ। (प्रकाश २०:६) साँच्चै त्यस “दिन” मानिसहरूको पुनरुत्थान हुन थाल्दा सबै जना खुसीले कत्ति गद्‌गद होलान्‌, कल्पना गर्नुहोस्‌ त।—लूका २४:४१ तुलना गर्नुहोस्‌।

को को फर्कंदैछन्‌?

१३. प्रकाश २०:१२-१४ मा पुनरुत्थानको कुन चाहिं दर्शन रेकर्ड गरिएको छ?

१३ प्रकाश २०:१२-१४ मा यूहन्‍नाले देखेको पार्थिव पुनरुत्थानको दर्शनबारे उल्लेख गरिएको छ: “मैले ठूला र साना सबै मरेकाहरू सिंहासनको सामने उभिरहेका देखें। औ पुस्तकहरू खोलिएका थिए। औ अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। औ तिनीहरूले जे जे गरेका थिए, ती पुस्तकहरूमा तिनीहरूका काम लेखिएबमोजिम ती मरेकाहरूको इन्साफ भएको थियो। अनि समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्येकको आफ्नो आफ्नो कामअनुसार इन्साफ भयो। औ मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। योचाहिं, अर्थात्‌ अग्नि-कुण्ड, दोस्रो मृत्यु हो।”

१४. क-कसको पनि पुनरुत्थान हुनेछ?

१४ पुनरुत्थान “ठूला र साना” दुवैको अर्थात्‌ विशिष्ट तथा साधारण दुवै खाले मानिसहरूको हुनेछ। अझ भनौं भने शिशुहरूको समेत पुनरुत्थान हुनेछ। (यर्मिया ३१:१५, १६) यसलाई अझ स्पष्ट पार्दै प्रेरित २४:१५ अर्को महत्वपूर्ण विवरण यसरी पेश गर्छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” “धर्मी” गनिएका मानिसहरूमध्ये परापूर्वकालका विश्‍वासी स्त्री तथा पुरुष, जस्तै हाबिल, हनोक, नूह, अब्राहाम, सारा अनि राहाब विशिष्ट छन्‌। (हिब्रू ११:१-४०) यी विश्‍वासी जनहरूसित आमनेसामने कुरा गर्न अनि बाइबलमा उल्लिखित ती धेरै वर्षअघिका घटनाहरूको प्रत्यक्ष विवरण सुन्‍न पाउनु कत्ति रोमाञ्चकारी होला कल्पना गर्नुहोस्‌ त! पुनरुत्थान हुने “धर्मी” हालसालै मरेका ती हजारौं हजार ईश्‍वरभीरु मानिसहरू पनि हुनेछन्‌ जसको स्वर्गीय आशा थिएन। तपाईंको परिवारको सदस्य वा कुनै प्रियजन पनि तिनीहरूमध्ये पर्छन्‌ कि? तिनीहरूलाई फेरि एकपटक भेट्‌न पाइनेछ भन्‍ने जान्‍न पाउँदा कत्ति ढुक्क लाग्छ! पुनरुत्थान हुने “अधर्मीहरू” चाहिं को हुन्‌ त? यिनीहरू ती लाखौं सायद करोडौं मानिसहरू हुन्‌ जो बाइबलको सत्य वचन सिक्न र पालन गर्न नपाइकनै मरे।

१५. पुनरुत्थान हुनेहरूको “पुस्तकहरूमा तिनीहरूका काम लेखिएबमोजिम . . . इन्साफ” हुनेछ भनेको के हो?

१५ अनि पुनरुत्थान हुनेहरूको “पुस्तकहरूमा तिनीहरूका काम लेखिएबमोजिम . . . इन्साफ” कसरी हुनेछ? यी पुस्तकहरू पहिले पहिले गरेका कामहरूको खाता होइन। किनकि कुनै पनि व्यक्‍ति मरेपछि जीवनभर गरेका सम्पूर्ण पापदेखि मुक्‍त हुन्छ। (रोमी ६:७, २३) तथापि, पुनरुत्थान भएका मानिसहरू अझै पनि आदमको पापको वशमा हुन्छन्‌। तसर्थ माथि उल्लेख गरिएको पुस्तक पक्कै पनि येशू ख्रीष्टको बलिदानको पूर्णतया लाभ उठाउन पालन गर्नुपर्ने ईश्‍वरीय निर्देशनहरूको पुस्तक हुनुपर्छ। आदमको पाप जरैदेखि हटेपछि मात्र पूर्णतया ‘मृत्युलाई नामेट’ गरिनेछ। हजार वर्षको अन्तपछि परमेश्‍वर “सबै थोकको सर्वेसर्वा” हुनुहुनेछ। (१ कोरिन्थी १५:२८, नयाँ संशोधित संस्करण) त्यसउप्रान्त मानिसजातिलाई प्रधानपूजाहारी वा छुटकाराको मोल तिरिदिने व्यक्‍तिको आवश्‍यक पर्नेछैन। आदम पहिले जत्तिको सिद्ध थियो, सबै जना त्यत्तिकै सिद्ध हुनेछन्‌।

व्यवस्थित पुनरुत्थान

१६. (क) व्यवस्थित ढंगले पुनरुत्थान हुनेछ भनेर विश्‍वास गर्नु किन ठीक छ? (ख) सायद क-कसको सबैभन्दा पहिला पुनरुत्थान होला?

१६ स्वर्गीय पुनरुत्थान “आफ्नो आफ्नै क्रमअनुसार” व्यवस्थित ढंगले हुनेहुँदा पार्थिव पुनरुत्थान जथाभावी होला र जनसंख्या विष्फोटन होला भनेर डराउनु पर्दैन। (१ कोरिन्थी १५:२३) तार्किक कुरा के हो भने, प्रथमतः भर्खरै पुनरुत्थान भएकाहरूको रेखदेख गर्ने प्रबन्ध हुनुपऱ्‍यो। (लूका ८:५५ तुलना गर्नुहोस्‌।) तिनीहरूलाई गाँसबाँस र अझ त्योभन्दा पनि महत्वपूर्ण कुरा आध्यात्मिक सहयोग चाहिन्छ। नत्रता तिनीहरूले कसरी यहोवा परमेश्‍वर र येशू ख्रीष्टको जीवनदायी ज्ञान लिन सक्लान्‌? (यूहन्‍ना १७:३) सबै जनाको एकैचोटि पुनरुत्थान भयो भने यी नयाँ व्यक्‍तिहरूको पुग्दो हेरचाह गर्न असम्भव हुनेछ। अतः पार्थिव पुनरुत्थान पनि क्रमिक रूपमा हुनेछ भनेर अनुमान लाउनु ठीकै हो। शैतानी रीतिरिवाजको अन्ततिर मर्ने विश्‍वासी मसीहीहरूको पुनरुत्थान सबैभन्दा पहिला हुने सम्भावना छ। सबैभन्दा पहिला पुनरुत्थान हुनेहरूमध्ये परापूर्वकालका विश्‍वासी पुरुषहरू पनि हुने हामी आशा गर्नसक्छौं। यी विश्‍वासी पुरुषहरूले तत्पश्‍चात्‌ “राजकुमार” भएर सेवा गर्नेछन्‌।—भजन ४५:१६.

१७. पुनरुत्थानसित सम्बन्धित कुन कुन प्रश्‍नहरूको जवाफ बाइबलले दिएको छैन र त्यस्ता कुराहरूमा मसीहीहरूले किन अचाक्ली चिन्ता गर्नु हुँदैन?

१७ तथापि, हामीले यस विषयमा ठोकुवा गर्नु मिल्दैन। बाइबलले थुप्रै प्रश्‍नहरूको जवाफ दिएको छैन। कसको, कहाँ अनि कहिले पुनरुत्थान हुनेछ भनेर बाइबलले खुलस्त बताएको छैन। पुनरुत्थान हुनेहरूलाई कसरी बसाइनेछ, खुवाइनेछ र पहिराइनेछ, त्यो पनि बाइबलले खुलाएको छैन। यसबाहेक पुनरुत्थान भएका केटाकेटीहरूलाई कसरी हुर्काइन्छ अथवा हाम्रा मित्र तथा प्रियजनहरू मुछिएका केही खास परिस्थितिहरूलाई यहोवाले कसरी सँभाल्नुहुनेछ त्यो पनि हामीले यस्तै हो भनेर किटान गर्न सक्दैनौं। यसो होला उसो होला भनेर कल्पना गर्नु स्वाभाविकै हो। तर त्यसो भन्दैमा हाल जवाफ दिन नसकिने प्रश्‍नहरूमा समय खेर फाल्नु चाहिं बुद्धिमानी होइन। हाम्रो ध्यान विश्‍वासी भएर यहोवाको सेवा गर्न अनि अनन्त जीवन हासिल गर्नमा केन्द्रित हुनुपर्छ। अभिषिक्‍त जनहरू आफ्नो गौरवमय स्वर्गीय पुनरुत्थानमा आशा गर्छन्‌। (२ पत्रुस १:१०, ११) “अरू भेड़ा” चाहिं परमेश्‍वरको राज्यको पार्थिव भूभाग सधैंभरिका लागि हासिल गर्ने आशा गर्छन्‌। (यूहन्‍ना १०:१६; मत्ती २५:३३, ३४) अनि जहाँसम्म पुनरुत्थानको प्रश्‍न छ, हाल हामीलाई जे-जे थाह छैन, त्यसको जवाफ यहोवाले दिनुहुनेछ भनेर हामी भरोसा गर्छौं। ‘आफ्नो मुठी खोलेर सबै जीवित प्राणीहरूको इच्छा सन्तुष्ट पार्नसक्नुहुनेको’ हातमा हाम्रो भावी सुखी जीवन सुरक्षित छ।—भजन १४५:१६; यर्मिया १७:७.

१८. (क) पावलले कुन विजयमाथि प्रकाश पारे? (ख) पुनरुत्थान हुनेछ भनेर हामी किन ढुक्क हुनसक्छौं?

१८ पावल अन्तमा पुनरुत्थानको विवादलाई यस्तो उद्‌गार गर्दै टुंग्याउँछन्‌: “परमेश्‍वरलाई धन्यवाद होस्‌, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।” (१ कोरिन्थी १५:५७) हो, येशू ख्रीष्टले हाम्रो छुटकाराको लागि दिनुभएको बलिदानले आदमको पापमाथि विजय हासिल गरिसकेको छ र अभिषिक्‍त जनका साथै “अरू भेड़ा” त्यस विजयका भागीदार हुन्‌। निस्सन्देह, अहिले बाँचिरहेका “अरू भेड़ा[हरूसित]” अरू कुनै पुस्तासित नभएको आशा छ। दिनानुदिन वृद्धि भइरहेको “ठूलो भीड़[को]” भाग भएका हुँदा तिनीहरूसित आउँदै गरेको “महासंकष्ट” जीवितै पार तर्ने र कहिल्यै मृत्यु चाख्न नपर्ने प्रत्याशा छ। (प्रकाश ७:९, १४) तथापि, “समय र अवसरले” गर्दा वा शैतानका चम्चाहरूको हातबाट कोही मरिहाल्यो भने तापनि तिनीहरूको निम्ति पुनरुत्थानको आशा छ।—उपदेशक ९:११.

१९. आज सबै मसीहीहरूले कुन चाहिं प्रोत्साहनजनक शब्दहरू पालन गर्नुपर्छ?

१९ तसर्थ, हामी उत्सुकतासाथ मृत्यु सधैंका लागि नामेट हुने गौरवमय दिन पर्खन्छौं। यहोवाले गर्नुभएको पुनरुत्थानको प्रतिज्ञामाथि हाम्रो अटल विश्‍वास भएको हुँदा हामी जीवनप्रति व्यवहारिक दृष्टिकोण राख्छौं। बाँचुञ्जेल जेसुकै होस्‌, चाहे मर्नु नै किन नपरोस्‌, कुनै पनि कुराले यहोवाले प्रतिज्ञा गर्नुभएको इनाम हामीसित खोस्नसक्दैन। अतः पावलले आजभन्दा दुई हजार वर्षअघि कोरिन्थीहरूलाई दिएका यी अन्तिम प्रोत्साहनजनक शब्दहरू जत्ति उपयुक्‍त थिए, आज पनि त्यत्तिकै उपयुक्‍त छन्‌: “यसकारण, ए मेरा प्रिय भाइ हो, स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।”—१ कोरिन्थी १५:५८.

के तपाईं भन्‍नसक्नुहुन्छ?

◻ अभिषिक्‍त जनहरूको पुनरुत्थान हुँदा तिनीहरूको शरीर कस्तो हुनेछ भन्‍ने प्रश्‍नको जवाफ पावलले कसरी दिए?

◻ कहिले र कसरी मृत्युलाई अन्ततः नामेट पारिनेछ?

◻ क-कसको पार्थिव पुनरुत्थान हुनेछ?

◻ बाइबलले जवाफ नदिएका कुराहरूमा हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ?

[पृष्ठ २०-मा भएको चित्र]

ठूलठूला परिवर्तनहरू भएपछि मात्र बीउ “मर्छ”

[पृष्ठ २३-मा भएको चित्र]

नूह, अब्राहाम, सारा र राहाबजस्ता परापूर्वकालका विश्‍वासी पुरुष तथा स्त्रीहरूको पनि पुनरुत्थान हुनेछ

[पृष्ठ २४-मा भएको चित्र]

पुनरुत्थान ठूलो आनन्दको समय हुनेछ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने