-
मृतकहरूका लागि पक्का आशातपाईंको प्रियजनको मृत्यु हुँदा
-
-
लाजरसको मृत्यु हुँदा येसुले देखाउनुभएको प्रतिक्रियाबाट उहाँ कोमल करुणाले भरिपूर्ण हुनुहुन्छ भन्ने कुरा प्रस्ट हुन्छ। यतिबेला उहाँले देखाउनुभएको गहिरो भावनाले उहाँ मरेकाहरूलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भन्ने कुरा सङ्केत गर्छ। बाइबलमा यस्तो लेखिएको छ: “जब मरियम येसु हुनुभएको ठाउँमा आइपुगिन् र उहाँलाई देखिन्, तब तिनी उहाँको पाउमा घोप्टो परिन् र यसो भनिन्: ‘हे प्रभु, तपाईँ यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन।’ तिनलाई र तिनीसित आएका यहुदीहरूलाई रोइरहेको देखेपछि येसु अत्यन्तै व्याकुल हुनुभयो र सुस्केरा हाल्नुभयो। अनि उहाँले सोध्नुभयो: ‘तिमीहरूले उसलाई कहाँ राखेका छौ?’ तिनीहरूले उहाँलाई भने: ‘प्रभु, आएर हेर्नुहोस्।’ तब येसु रुनुभयो। यो देखेर यहुदीहरूले भन्न थाले: ‘हेर त, उहाँले तिनलाई कत्ति माया गर्नुहुँदो रहेछ!’”—युहन्ना ११:३२-३६.
यहाँ येसुले महसुस गर्नुभएको करुणालाई तीन वटा अभिव्यक्तिद्वारा सङ्केत गरिएको छ: “सुस्केरा हाल्नुभयो,” “अत्यन्तै व्याकुल हुनुभयो” र “रुनुभयो।” यो हृदयस्पर्शी विवरणमा चलाइएका मूल भाषाका शब्दहरूले आफ्नो प्रिय साथी लाजरसको मृत्यु हुँदा येसु अत्यन्तै दुःखित हुनुभएको र लाजरसका दिदीहरू रोइरहेको देखेर उहाँको आँखाबाट बरबरी आँसु झरेको कुरालाई बुझाउँछ।a
उल्लेखनीय कुरा त के छ भने येसुले यसअघि पनि मरिसकेका दुई जनालाई जीवित पारिसक्नुभएको थियो। अब उहाँले लाजरसलाई पनि जीवित पार्न लाग्नुभएको थियो। (युहन्ना ११:११, २३, २५) तैपनि उहाँ “रुनुभयो।” त्यसैले मानिसहरूलाई जीवित पार्ने कुरा येसुको लागि केवल एउटा कर्तव्यबोधले गर्ने काम मात्र त होइन। बरु यस अवसरमा देखिएको उहाँको कोमल र गहिरो भावनाले उहाँ मृत्युलाई नामेट पार्न तीव्र इच्छा गर्नुहुन्छ भनेर स्पष्ट रूपमा सङ्केत गर्छ।
लाजरसलाई फेरि जीवित पार्दा येसुमा देखिएको कोमल र गहिरो भावनाले उहाँ मृत्युलाई नामेट पार्न तीव्र इच्छा गर्नुहुन्छ भनेर स्पष्ट पार्छ
-
-
मृतकहरूका लागि पक्का आशातपाईंको प्रियजनको मृत्यु हुँदा
-
-
a “सुस्केरा हाल्नुभयो” भनेर अनुवाद गरिएको ग्रीक क्रियाले (एम्ब्रिमाओमाइ) अत्यन्तै वा गहिरो पीडा हुनु भन्ने अर्थ दिन्छ। एक बाइबलविद् यसो भन्छन्: “यहाँ यसले पक्कै पनि गहिरो भावनाले गर्दा येसुको मनबाट स्वतः सुस्केरा निस्कन पुगेको कुरालाई जनाउँछ।” “व्याकुल हुनुभयो” भनेर अनुवाद गरिएको ग्रीक शब्दले (टारास्सो) औडाहा हुनुलाई बुझाउँछ। एक कोशकारअनुसार यसको अर्थ हो, “भित्रभित्रै छटपटी हुनु, . . . गहिरो पीडा वा दुःखले गर्दा प्रभावित हुनु।” “रुनुभयो” भन्ने शब्द एउटा ग्रीक क्रियाबाट (डाक्रेओ) आएको हो, जसको अर्थ हो, “आँसु बगाउनु, सुँक्क-सुँक्क गर्दै रुनु।”
-