प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. १०२ p. २३८-p. २३९ par. ९
  • राजा बछेडोमा चढेर यरुसलेम प्रवेश गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राजा बछेडोमा चढेर यरुसलेम प्रवेश गर्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • यरूशलेममा ख्रीष्ट जयजयकारका साथ प्रवेश गर्नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • “बेला आइपुगेको छ!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • येशू राजाझैं आउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येशूलाई मसीह र राजाको रूपमा जयजयकार गरिन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. १०२ p. २३८-p. २३९ par. ९
बछेडोमा चढेर यरुसलेम प्रवेश गर्नुहुँदा भीडले येसुलाई राजाको रूपमा जयजयकार गर्छ

अध्याय १०२

राजा बछेडोमा चढेर यरुसलेम प्रवेश गर्नुहुन्छ

मत्ति २१:१-११, १४-१७ मर्कुस ११:१-११ लुका १९:२९-४४ युहन्‍ना १२:१२-१९

  • येसु जयजयकारका साथ यरुसलेम प्रवेश गर्नुहुन्छ

  • यरुसलेमको विनाशको भविष्यवाणी गर्नुहुन्छ

भोलिपल्ट आइतबार, नीसान ९ को दिन येसु आफ्ना चेलाहरूसँगै बेथानिबाट यरुसलेम लाग्नुहुन्छ। जैतुन डाँडाको बेथफागे पुगेपछि उहाँ आफ्ना दुई जना चेलालाई यसो भन्‍नुहुन्छ:

“तिमीहरूले देखिरहेको त्यस गाउँमा जाओ र त्यहाँ पस्नेबित्तिकै तिमीहरूले गधा र त्यसको बछेडोलाई बाँधेर राखेको भेट्टाउनेछौ। ती फुकाएर यहाँ मकहाँ ल्याओ। यदि कसैले केही सोध्यो भने तिमीहरूले यसो भन्‍नू, ‘प्रभुलाई यी चाहिएको छ।’ अनि उसले ती तुरुन्तै तिमीहरूलाई दिनेछ।”—मत्ति २१:२, ३.

येसुको यो निर्देशनमा भविष्यवाणी पनि मुछिएको छ भनेर चेलाहरू बुझ्दैनन्‌। तर पछि तिनीहरूले जकरियाको भविष्यवाणी पूरा भएको कुरा बुझ्छन्‌। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको राजा ‘नम्र हुनेछन्‌’ र तिनी यरुसलेममा “गधामाथि, हो, गधाको बछेडोमा सवार भएर आउनेछन्‌” भनेर जकरियाले भविष्यवाणी गरेका थिए।—जकरिया ९:९.

बेथफागे पुगेर जब चेलाहरूले बछेडो र त्यसको माउ फुकाउँछन्‌, तब त्यहाँ उभिरहेका मानिसहरूले यस्तो सोध्छन्‌: “तिमीहरू किन यस बछेडोलाई फुकाउँदै छौ?” (मर्कुस ११:५) तर जब तिनीहरूले ती जनावरहरू प्रभुको लागि हो भनेर थाह पाउँछन्‌, तब तिनीहरूले लैजान दिन्छन्‌। चेलाहरूले त्यो बछेडो र त्यसको माउमाथि आफ्नो लुगा बिछ्याउँछन्‌ तर येसु बछेडोमा चढ्‌नुहुन्छ।

येसु बछेडोमा चढेर यरुसलेमतिर लाग्नुहुँदा भीड बढ्‌दै जान्छ। थुप्रैले आफ्नो लुगा बाटोमा बिछ्याउँछन्‌। अरू कतिले चाहिँ छेउछाउका रूखहरूबाट “स्याउला काटेर” बिछ्याउँछन्‌। अनि तिनीहरू यसो भन्दै कराउँछन्‌: “हे परमेश्‍वर, उहाँको रक्षा गर्नुहोस्‌! यहोवाको नाममा आउने धन्यका हुन्‌! हाम्रा बुबा दाउदको आउँदै गरेको राज्य धन्यको होस्‌!” (मर्कुस ११:८-१०) मानिसहरू यसो भन्दै कराएको सुनेर भीडमा भएका फरिसीहरू रिसाउँछन्‌। तिनीहरू येसुलाई यसो भन्छन्‌: “गुरुज्यू, आफ्ना चेलाहरूलाई हप्काउनुहोस्‌।” तर येसु तिनीहरूलाई यस्तो जवाफ दिनुहुन्छ: “म तिमीहरूलाई भन्छु, यिनीहरू चुप लागे भने ढुङ्‌गाहरू कराउनेछन्‌।”—लुका १९:३९, ४०.

यरुसलेम सहरलाई देखेपछि उहाँ रुनुहुन्छ र यसो भन्‍नुहुन्छ: “यदि आजको दिन तैँले, हो तैँले, कुन कुराले शान्ति दिन्छ भनेर बुझेको भए—तर ती अब तेरो नजरबाट लुकाइएका छन्‌।” जानाजानी अनाज्ञाकारी भएकोले यरुसलेम सहरले मोल चुकाउनुपर्नेछ। येसु यस्तो भविष्यवाणी गर्नुहुन्छ: “तेरा शत्रुहरूले तेरो चारैतिर तीखातीखा काठहरू गाडेर तँलाई घेरा हाल्नेछन्‌ र चारैतिरबाट तँलाई थुन्‍नेछन्‌। तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने तेरा छोराछोरीलाई भुईँमा पछार्नेछन्‌ र एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत छोड्‌नेछैनन्‌ किनकि तेरो जाँच भइरहेको समयलाई तैँले चिन्‍न सकिनस्‌।” (लुका १९:४२-४४) साँच्चै, येसुले भन्‍नुभएजस्तै इस्वी संवत्‌ ७० मा यरुसलेम विनाश हुन्छ।

येसु यरुसलेम प्रवेश गर्नुहुँदा ‘पूरै सहरमा हल्लीखल्ली मच्चिन्छ र मानिसहरूले सोध्न थाल्छन्‌: “यिनी को हुन्‌?”’ अनि भीडले यसो भन्‍न थाल्छ: “यिनी गालिलको नासरतका येसु हुन्‌। प्रतिज्ञा गरिएको भविष्यवक्‍ता यिनी नै हुन्‌।” (मत्ति २१:१०, ११) येसुले लाजरसलाई जीवित पार्नुभएको देखेका मानिसहरूले भीडमा भएका अरूलाई यसबारे बताउँछन्‌। यी सब देखेर फरिसीहरूलाई छटपटी हुन्छ। तिनीहरू आपसमा यसो भन्छन्‌: “हेर त, सारा संसार उसको पछि लागिसक्यो!”—युहन्‍ना १२:१८, १९.

येसु आफ्नो बानीअनुसारै मन्दिरमा सिकाउन जानुहुन्छ। त्यहाँ उहाँले अन्धो र लङ्‌गडोलाई निको पार्नुहुन्छ। येसुले गरिरहनुभएको अचम्मलाग्दा कामहरू देखेर र मन्दिरमा ठिटाहरू “हे परमेश्‍वर, दाउदका छोराको रक्षा गर्नुहोस्‌!” भन्दै कराइरहेको सुनेर मुख्य पुजारीहरू र शास्त्रीहरू क्रोधित हुन्छन्‌। धर्मगुरुहरू उहाँलाई यस्तो सोध्छन्‌: “यिनीहरू के भन्दै छन्‌, के तपाईँ सुन्दै हुनुहुन्छ?” येसु तिनीहरूलाई यस्तो जवाफ दिनुहुन्छ: “के तिमीहरूले यो कुरा कहिल्यै पढेका छैनौ: ‘तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट आफ्नो प्रशंसा गर्न लगाउनुभयो’?”—मत्ति २१:१५, १६.

येसु मन्दिरमा भइरहेका कुराहरू हेर्नुहुन्छ। तर अबेर भइसकेकोले उहाँ प्रेषितहरूसँग त्यहाँबाट जानुहुन्छ। नीसान १० सुरु हुनुअघि नै उहाँ फेरि बेथानि फर्कनुहुन्छ र आइतबारको रात त्यहीँ बिताउनुहुन्छ।

  • येसु राजाको रूपमा कहिले र कसरी यरुसलेम प्रवेश गर्नुहुन्छ?

  • यरुसलेम सहरलाई देख्दा येसु कस्तो महसुस गर्नुहुन्छ र उहाँ कस्तो भविष्यवाणी गर्नुहुन्छ?

  • येसु मन्दिरमा जानुहुँदा के हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने