के तपाईंले “सत्यका आत्मा” पाउनुभएको छ?
“पिता[ले] . . . तिमीहरूलाई अर्को शान्तिदाता दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ। अर्थात्, सत्यका आत्मा।”—यूहन्ना १४:१६, १७.
१. माथिल्लो कोठामा आफ्ना चेलाहरूसँग बिताउनुभएको अन्तिम घडीमा येशूले कुन महत्त्वपूर्ण जानकारी दिनुभयो?
“हे प्रभु, तपाईं कहाँ जानुहुन्छ?” यो प्रश्न यरूशलेमको माथिल्लो कोठामा येशूका प्रेरितहरूले उहाँसँग बिताएको अन्तिम घडीमा सोधेका थिए। (यूहन्ना १३:३६) सभा अघि बढ्दै गएपछि येशूले म पिताकहाँ फर्कंदैछु भनी बताउनुभयो। (यूहन्ना १४:२८; १६:२८) तिनीहरूलाई सिकाउन र तिनीहरूको प्रश्नको जवाफ दिन उहाँ अब व्यक्तिगत तवरमा उपस्थित हुनुहुने थिएन। तथापि, उहाँले तिनीहरूलाई यस्तो आश्वासन दिनुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता दिनुहुनेछ।”—यूहन्ना १४:१६.
२. आफू गएपछि येशूले आफ्ना चेलाहरूलाई के पठाउने प्रतिज्ञा गर्नुभयो?
२ येशूले ती शान्तिदाता को हो भनेर चिनाउनुका साथै त्यसले उहाँका चेलाहरूलाई कसरी मदत गर्नेछ भनी बताउनुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “शुरूदेखिनै म तिमीहरूसित भइरहेको हुनाले मैले यी कुरा तिमीहरूलाई भनिनँ। तर अब म मलाई पठाउनुहुनेकहाँ जान्छु . . . म जानुनै तिमीहरूको निम्ति फाइदा छ। किनभने म गइनँ भने, शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। . . . जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले सबै सत्यमा तिमीहरूलाई बाटो देखाउनुहुनेछ।”—यूहन्ना १६:४, ५, ७, १३.
३. (क) प्रथम शताब्दीका मसीहीहरूकहाँ “सत्यका आत्मा” कहिले पठाइयो? (ख) तिनीहरूको निम्ति आत्मा कुन महत्त्वपूर्ण तरिकामा “शान्तिदाता” साबित भयो?
३ यो प्रतिज्ञा सा.यु. ३३ पेन्तिकोसमा पूरा भयो र यसबारे प्रेरित पत्रुसले यस्तो पुष्टि दिए: “यिनै येशूलाई परमेश्वरले बिउँताउनुभयो। जुन कुराको हामी सबै गवाही छौं। यसैकारण परमेश्वरका दाहिने बाहुलीबाट उच्च पारिनुभएर, पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो, र उहाँलेनै यो खन्याइदिनुभएको हो, जे तपाईंहरू देख्नु र सुन्नुहुन्छ।” (प्रेरित २:३२, ३३) पेन्तिकोसमा खन्याइएको पवित्र आत्माले प्रथम शताब्दीका मसीहीहरूलाई थुप्रै कुरा सम्पन्न गर्न मदत गऱ्यो भन्ने कुरा हामी पछि देख्नेछौं। “सत्यका आत्मा[ले]” ‘उहाँले तिनीहरूलाई भनेका कुरा जति सम्झना गराउनुहुनेछ’ भनी येशूले प्रतिज्ञा गर्नुभयो। (यूहन्ना १४:२६) यसले तिनीहरूलाई येशूको सेवकाई र शिक्षाहरूका साथै उहाँले भन्नुभएका शब्दहरूसमेत सम्झेर लेखोटमा राख्न सम्भव गर्नेछ। यो विशेष गरी सा.यु. प्रथम शताब्दीको अन्तमा आफ्नो सुसमाचारको पुस्तक लेख्ने वृद्ध प्रेरित यहून्नालाई अत्यन्तै मदतकारी साबित हुनेथियो। त्यस विवरणमा येशूले आफ्नो मृत्युको स्मरणार्थ स्थापना गर्नुहुँदा दिनुभएको अनमोल सल्लाह पनि समावेश छ।—यूहन्ना, अध्याय १३-१७.
४. “सत्यका आत्मा[ले]” प्रारम्भिक अभिषिक्त मसीहीहरूलाई कसरी मदत गऱ्यो?
४ आत्माले ‘सबै कुरा सिकाउनेछ’ र ‘सबै सत्यमा तिमीहरूलाई बाटो देखाउनेछ’ भनेर पनि येशूले आफ्ना प्रारम्भिक मसीहीहरूलाई प्रतिज्ञा गर्नुभयो। आत्माले तिनीहरूलाई धर्मशास्त्रका गहिरा गहिरा कुराहरू बुझ्न र आफ्नो विचार, समझ र उद्देश्यमा एकता कायम राख्न मदत गर्नेछ। (१ कोरिन्थी २:१०; एफिसी ४:३) अतः पवित्र आत्माले ती प्रारम्भिक मसीहीहरूलाई “विश्वासी र बुद्धिमान दास[को]” रूपमा संगठित रहेर सबै अभिषिक्त मसीहीहरूलाई “ठीक ठीक समयमा” आध्यात्मिक ‘खाना’ दिन शक्ति प्रदान गऱ्यो।—मत्ती २४:४५.
आत्माले गवाही दिनुहुन्छ
५. (क) सा.यु. ३३ नीसान १४ को रात येशूले आफ्ना चेलाहरूलाई कस्तो नयाँ प्रत्याशाबारे प्रकाश पार्नुभयो? (ख) येशूको प्रतिज्ञा पूरा गर्न पवित्र आत्माले कस्तो भूमिका निर्वाह गर्नेछ?
५ सा.यु. ३३ नीसान १४ को रात येशूले आफ्ना चेलाहरूलाई उहाँले पछि स्वर्गमा तिनीहरूलाई स्वागत गर्नुहुनेछ र तिनीहरू पिता र उहाँसँग हुनेछ भनी संकेत गर्नुभयो। उहाँले तिनीहरूले यसो भन्नुभयो: “मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। त्यसो नभए, म तिमीहरूलाई भन्ने थिएँ, किनकि म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। औ यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।” (यूहन्ना १३:३६; १४:२, ३) तिनीहरूले उहाँसँगसँगै परमेश्वरको राज्यमा शासन गर्नेछन्। (लूका २२:२८-३०) स्वर्गमा यो आशा प्राप्त गर्नको लागि तिनीहरू परमेश्वरको आत्मिक पुत्रको रूपमा “आत्माबाट जन्मेको” हुनुपर्छ र स्वर्गमा ख्रीष्टसँग राजा तथा पूजाहारीहरूको रूपमा सेवा गर्न अभिषिक्त हुनुपर्छ।—यूहन्ना ३:५-८; २ कोरिन्थी १:२१, २२; तीतस ३:५-७; १ पत्रुस १:३, ४; प्रकाश २०:६.
६. (क) स्वर्गीय बोलावट कहिले सुरु भयो र कति जनाले यस्तो बोलावट पाए? (ख) ती बोलावट पाएकाहरूले केमा बप्तिस्मा लिए?
६ यो “स्वर्गीय बोलावट” सा.यु. ३३ पेन्तिकोसदेखि सुरु भएर मुख्यतः सन् १९३० दशकको बीचतिर समाप्त भएजस्तो देखिन्छ। (हिब्रू ३:१) आध्यात्मिक इस्राएलको भाग हुन पवित्र आत्माद्वारा छाप लगाइएको संख्या १,४४,००० हो र तिनीहरू “पृथ्वीबाट किनिएका” हुन्। (प्रकाश ७:४; १४:१-४) तिनीहरूलाई ख्रीष्टको आत्मिक शरीर, उहाँको मण्डली र उहाँको मृत्युमा बप्तिस्मा दिइएको थियो। (रोमी ६:३; १ कोरिन्थी १२:१२, १३, २७; एफिसी १:२२, २३) पानीको बप्तिस्मा र पवित्र आत्माद्वारा अभिषिक्त भएपछि तिनीहरूले बलिदानको मार्ग अर्थात् मृत्युसम्म निष्ठावान् जीवन बिताउने मार्ग अपनाए।—रोमी ६:४, ५.
७. स्मरणार्थको उत्सवमा किन अभिषिक्त मसीहीहरूले मात्र प्रतीकहरूमा भाग लिनु उचित छ?
७ आध्यात्मिक इस्राएलीहरूको हैसियतमा ती अभिषिक्त मसीहीहरू यहोवा र “परमेश्वरका इस्राएल[बीच]” बाँधिएको नयाँ करारमा सहभागी थिए। (गलाती ६:१६; यर्मिया ३१:३१-३४) ख्रीष्टले बगाउनुभएको रगतले नयाँ करारलाई सदर गऱ्यो। येशूले आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापना गर्नुहुँदा यो कुरा उल्लेख गर्नुभएको थियो। लूका यसो भन्छन्: “रोटी लिएर धन्यवाद चढ़ाएपछि उहाँले भाँचेर तिनीहरूलाई यसो भन्दै दिनुभयो, ‘तिमीहरूका निम्ति दिएको यो मेरो शरीर हो। मेरो सम्झनामा यो गर्नेगर।’ औ त्यस्तैगरी, खाएपछि कचौरा पनि यसो भन्दै दिनुभयो, ‘यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।’ ” (लूका २२:१९, २०) शेष जनहरू अर्थात् १,४४,००० मध्ये बाँकी रहेका सदस्यहरूले मात्र ख्रीष्टको मृत्युको स्मरणार्थको प्रतीकात्मक रोटी र दाखमद्यमा भाग लिनु उचित छ।
८. आफूले स्वर्गीय बोलावट पाएको कुरा अभिषिक्त जनहरूले कसरी थाह पाउँछन्?
८ स्वर्गीय बोलावट पाएको कुरा अभिषिक्त जनहरूले कसरी थाह पाउँछन्? तिनीहरूले स्पष्टसँग पवित्र आत्माको गवाही पाउँछन्। प्रेरित पावलले त्यस्ता व्यक्तिहरूबारे यस्तो लेखे: “जति जनालाई परमेश्वरका आत्माले डोऱ्याएका हुन्छन् तिनीहरूनै परमेश्वरका छोराहरू हुन्। . . . हामी परमेश्वरका सन्तान हौं, भनी आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं। परमेश्वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँगै दुःख भोग्छौं भनेता–उहाँसँगै महिमित पनि हुनेछौं।” (रोमी ८:१४-१७) आत्माको यो गवाही यस्तो शक्तिशाली हुन्छ कि स्वर्गीय बोलावट भएका कसैलाई यस विषयमा अलिकति पनि शंका लाग्यो भने तिनीहरूलाई स्वर्गीय बोलावट भएको रहनेछ भन्ने निष्कर्षमा तिनीहरू पुग्न सक्छन् र फलतः तिनीहरूले स्मरणार्थ उत्सवका प्रतीकहरूमा भाग लिने छैनन्।
आत्मा र अरू भेडा
९. सुसमाचारको पुस्तक र प्रकाशको पुस्तकमा कुन दुईवटा समूहबारे स्पष्टसित बताइएको छ?
९ आत्मिक इस्राएलको भाग हुन बोलावट भएका सीमित मसीहीहरूलाई ध्यानमा राख्दै येशूले तिनीहरूलाई “सानो बगाल” भन्नुभयो। तिनीहरू नयाँ करारको “गोठ[को]” भाग थिए र अर्कोतिर येशूले जम्मा गर्नुपर्ने अनगिन्ती संख्या भएका “अरू भेड़ा” पनि छ भन्नुभयो। (लूका १२:३२; यूहन्ना १०:१६) अन्तको दिनमा जम्मा गरिएका अरू भेडा “ठूलो भीड़[को]” भाग हुनेछ, जो प्रमोदवनरूपी पृथ्वीमा सधैंभरि बाँच्ने प्रत्याशा लिएर “महा संकष्टबाट” बच्नेछन्। चाखलाग्दो कुरा के छ भने, सा.यु. प्रथम शताब्दीमा यूहन्नाले देखेको दर्शनमा यो ठूलो भीड र आत्मिक इस्राएलको १,४४,००० सदस्यहरू बेग्लाबेग्लै हुन् भन्ने कुरा प्रस्ट पारिएको छ। (प्रकाश ७:४, ९, १४) के अरू भेडाले पनि पवित्र आत्मा पाउँछन्? पाउँछन् भने, यसले तिनीहरूको जीवनमा कस्तो असर पार्छ?
१०. अरू भेडाले कसरी “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिन्छन्?
१० पवित्र आत्माले अरू भेडाको जीवनमा निश्चय पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। तिनीहरूले “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिएर आफ्नो जीवन परमेश्वरप्रति समर्पण गरेको देखाउँछन्। (मत्ती २८:१९) तिनीहरूले यहोवाको सार्वभौमिकता स्वीकार्छन्, आफ्नो राजा र उदारकर्ताको रूपमा ख्रीष्टको अधीनमा बस्छन् र आफ्नो जीवनलाई परमेश्वरको आत्मा वा सक्रिय शक्तिअनुसार चलाउँछन्। दिन प्रतिदिन तिनीहरूले आफ्नो जीवनमा “आत्माको फल” अर्थात् “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम” खेती गर्ने प्रयास गर्छन्।—गलाती ५:२२, २३.
११, १२. (क) अभिषिक्त जनहरू कसरी विशेष तरिकामा पवित्र भएका छन्? (ख) अरू भेडा कुन तरिकामा शुद्ध र पवित्र गरिएका छन्?
११ अरू भेडाले परमेश्वरको वचन र उहाँको पवित्र आत्माले आफूलाई शुद्ध वा पवित्र पार्न दिनुपर्छ। अभिषिक्त जनहरू त एकदमै विशेष तरिकामा पवित्र भइसकेका छन् र तिनीहरू ख्रीष्टको दुलहीको रूपमा धार्मिक र पवित्र घोषित भएका छन्। (यूहन्ना १७:१७; १ कोरिन्थी ६:११; एफिसी ५:२३-२७) अगमवक्ता दानियलले तिनीहरूलाई “सर्वोच्चका पवित्र जनहरू” भनेका छन्, जसले “मानिसका पुत्र” ख्रीष्ट येशूअन्तर्गत राज्य प्राप्त गर्छन्। (दानियल ७:१३, १४, १८, २७) पहिला मोशा र हारूनमार्फत् यहोवाले इस्राएल राष्ट्रलाई यस्तो घोषणा गर्नुभयो: “म परनप्रभु तिमीहरूका परमेश्वर हुँ। यसैकारण तिमीहरू आफूलाई चोख्याएर पवित्र होओ, किनकि म पवित्र छु।”—लेवी ११:४४.
१२ “पवित्रीकरण” भन्ने शब्दको खास अर्थ “यहोवा परमेश्वरको सेवाको निम्ति पवित्र पार्ने, छुट्याउने वा अलग गर्ने कार्य वा प्रक्रिया; पवित्र वा शुद्ध भएको अवस्था” हो। सन् १९३८ मा द वाचटावर-ले यहोनादाब वर्ग अर्थात् अरू भेडाले “ठूलो भीडको भाग भएर यस पृथ्वीमा बाँच्न चाहने प्रत्येकले समर्पण गरेर बप्तिस्मा लिनुपर्छ भनी बुझ्नुपर्छ” भनी उल्लेख गरेको थियो। प्रकाशको पुस्तकमा रेकर्ड गरिएको ठूलो भीडको दर्शनमा तिनीहरूले “आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका” छन् र यहोवालाई “दिन-रात उहाँको मन्दिरमा . . . सेवा” गरिरहेका छन् भनी बताइएको छ। (प्रकाश ७:९, १४, १५) पवित्र आत्माको मदत पाएर अरू भेडाले पवित्रतासम्बन्धी यहोवाको स्तरअनुरूप गर्न यथासक्दो गर्छन्।—२ कोरिन्थी ७:१.
ख्रीष्टका भाइहरूप्रति भलाइ गर्ने
१३, १४. (क) येशूले बताउनुभएको भेडा र बाख्राको उखानअनुसार भेडाको मुक्ति केमा निर्भर छ? (ख) अन्तको समयमा अरू भेडाले ख्रीष्टका भाइहरूलाई कसरी समर्थन गरेका छन्?
१३ “जगत्को अन्तको” भविष्यवाणीमा समावेश गरिएको भेडा र बाख्राको उखानमा येशूले अरू भेडा र सानो बगालबीचको घनिष्ठ सम्बन्धबारे प्रकाश पार्नुभयो। त्यस उखानमा ख्रीष्टले अरू भेडाको मुक्ति तिनीहरूले अभिषिक्त जनहरू, जसलाई उहाँले “मेरा भाइहरू” भन्नुभयो, तिनीहरूसँग गर्ने व्यवहारसित नजिकको सम्बन्ध छ भनी स्पष्ट पार्नुभयो। उहाँले यसो भन्नुभयो: “राजाले आफ्ना दाहिने हातपट्टिकाहरूलाई भन्नेछन्, ‘आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर। . . . म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानो एउटालाई जे जति गऱ्यौ, त्यो तिमीहरूले मलाईनै गऱ्यौ।’ ”—मत्ती २४:३; २५:३१-३४, ४०.
१४ “जे जति गऱ्यौ” भन्ने वाक्यांशले ख्रीष्टका आत्मा अभिषिक्त भाइहरूलाई दिइने मायालु समर्थनलाई बुझाउँछ। शैतानको संसारले तिनीहरूलाई कहिल्यै नचिनेको मानिसलाई जस्तो व्यवहार गर्छ र कसै-कसैलाई त झ्यालखानामा समेत हाल्छन्। तिनीहरूलाई खाना, लुगाफाटा र स्वास्थ्य सेवाको आवश्यकता परेको छ। (मत्ती २५:३५, ३६) यस अन्तको समयमा अर्थात् सन् १९१४ देखि थुप्रै अभिषिक्त जनहरूले आफूलाई त्यस्तो परिस्थितिमा पाएका छन्। यहोवाका साक्षीहरूको आधुनिक इतिहासले पुष्टि गरेअनुसार तिनीहरूलाई आफ्ना वफादार सँगीहरू अर्थात् अरू भेडाले आत्माद्वारा उत्प्रेरित भई समर्थन गरेका छन्।
१५, १६. (क) पृथ्वीमा ख्रीष्टका अभिषिक्त भाइहरूलाई अरू भेडाले विशेष गरी कुन गतिविधिमा मदत गरेका छन्? (ख) कसरी अभिषिक्त जनहरूले अरू भेडाप्रति आफ्नो मूल्यांकन व्यक्त गरेका छन्?
१५ यस अन्तको समयमा ख्रीष्टका अभिषिक्त भाइहरूलाई विशेष गरी ‘राज्यको सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गर्ने’ ईश्वरप्रदत्त काम गर्न अरू भेडाले सक्रियतासाथ मदत गरिरहेका छन्। (मत्ती २४:१४; यूहन्ना १४:१२) वर्षौंको दौडान अभिषिक्त जनहरूको संख्या पृथ्वीमा घट्दैछ भने, अरू भेडाको संख्याचाहिं बढेर साँच्चै दसौं लाख पुगेको छ। यिनीहरूमध्ये हजारौंले पूर्ण-समय प्रचारक अर्थात् अग्रगामी र मिसनरीहरूको रूपमा सेवा गर्दै परमेश्वरको राज्यको सुसमाचार “पृथ्वीको अन्तसम्म” फैलाइरहेका छन्। (प्रेरित १:८) अरूले चाहिं आफूले सकेजति साक्षी कार्यमा भाग लिन्छन् र यस महत्त्वपूर्ण कार्यमा आर्थिक सहयोग दिन पाएकोमा खुसी हुन्छन्।
१६ ख्रीष्टका अभिषिक्त भाइहरूले अरू भेडाका सँगीहरूको वफादार समर्थनको औधी मूल्यांकन गर्छन्! सन् १९८६ मा दास वर्गद्वारा उपलब्ध गरिएको वर्ल्डवाइड सेक्युरिटी अन्डर द “प्रिन्स अफ पीस” नामक पुस्तकमा तिनीहरूको भावना राम्ररी व्यक्त गरिएको थियो। त्यसमा यसो भनिएको छ: “ ‘जगत्को अन्तबारे’ येशूले गर्नुभएको भविष्यवाणी दोस्रो विश्व युद्धदेखि ‘अरू भेडाको’ ‘ठूलो भीडको’ सहयोगले सम्पन्न भइरहेको छ। . . . मत्ती २४:१४ मा उल्लिखित [येशूको] भविष्यवाणी पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा अन्तरराष्ट्रिय बहुभाषीय ‘ठूलो भीडलाई’ धेरै-धेरै धन्यवाद छ!”
‘हामीविना तिनीहरू सिद्ध भएका होइनन्’
१७. पुरातन समयका विश्वासी जनहरूको पृथ्वीमा पुनरुत्थान हुँदा तिनीहरू कुन अर्थमा अभिषिक्तहरूविना “सिद्ध” तुल्याइने होइनन्?
१७ एक जना अभिषिक्तको हैसियतमा कुरा गर्दै र ख्रीष्टसामु जीवित विश्वासी पुरुष तथा स्त्रीहरूलाई संकेत गर्दै प्रेरित पावलले यी शब्दहरू लेखे: “यिनीहरू सबैले, तिनीहरूका विश्वासैद्वारा आफ्ना गवाही पाएका थिए, तापनि प्रतिज्ञाको कुराचाहिं पाएनन्। हामीविना तिनीहरू सिद्ध नहोऊन् भनेर परमेश्वरले हाम्रा विषयमा केही असल कुराको बन्दोबस्त मिलाउनुभएको थियो।” (हिब्रू ११:३५, ३९, ४०) सहस्र वर्षको दौडान ख्रीष्ट तथा उहाँका १,४४,००० अभिषिक्त भाइहरूले स्वर्गमा राजा र पूजाहारीको रूपमा काम गर्नेछन् र ख्रीष्टको छुडौतीको बलिदानबाट पूरापूर लाभ उठाउनेछन्। अतः अरू भेडाहरू मन अनि शरीरमा “सिद्ध” हुनेछन्।—प्रकाश २२:१, २.
१८. (क) बाइबलीय तथ्यहरूले अरू भेडालाई कस्ता कुराहरूको मूल्याकंन गर्न मदत गर्नुपर्छ? (ख) कुन आशामा अरू भेडाले “परमेश्वरका छोराहरू प्रकट हुनआउने” समयको बाटो हेर्छन्?
१८ मसीही युनानी धर्मशास्त्रले ख्रीष्ट अनि उहाँका अभिषिक्त भाइहरू र यहोवाको उद्देश्य पूरा गर्ने सन्दर्भमा तिनीहरूको महत्त्वपूर्ण भूमिकामा त्यति धेरै ध्यान दिनुको कारण अरू भेडाको मनमा प्रस्टै हुनुपर्छ। आरमागेडोन र सहस्र वर्षको दौडान “परमेश्वरका छोराहरू प्रकट हुनआउने” समयको बाटो हेर्दै यथासम्भव सबै तरिकामा अभिषिक्त दास वर्गको समर्थन गर्नुलाई अरू भेडाले विशेष सुअवसरको रूपमा लिन्छन्। अतः तिनीहरूले “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।”—रोमी ८:१९-२१.
स्मरणार्थ उत्सवमा आत्मामा एकताबद्ध
१९. “सत्यका आत्मा[ले]” अभिषिक्त र तिनीहरूका सँगीहरूलाई के गरेको छ र मार्च २८ को साँझ तिनीहरू विशेष गरी कसरी एकताबद्ध हुनेछन्?
१९ सा.यु. ३३ नीसान १४ को रात आफ्नो समापन प्रार्थनामा येशूले यसो भन्नुभयो: “तिनीहरू सबै एक होऊन्, जसरी हे पिता, तपाईं ममा, औ म तपाईंमा तिनीहरू पनि हामीमा होऊन्, र तपाईंलेनै मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।” (यूहन्ना १७:२०, २१) प्रेमको कारण परमेश्वरले अभिषिक्त जन तथा संसारका आज्ञाकारी व्यक्तिहरूको मुक्तिको निम्ति आफ्नो पुत्रलाई पठाउनुभयो। (१ यूहन्ना २:२) “सत्यका आत्मा[ले]” ख्रीष्टका भाइ तथा तिनीहरूका सँगीहरूलाई एकताबद्ध गरेको छ। मार्च २८ को साँझ सूर्यास्तपछि दुवै वर्गका मानिसहरू ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाउन भेला हुनेछन् र यहोवाले आफ्नो प्रिय पुत्र येशू ख्रीष्टको बलिदानमार्फत् तिनीहरूका लागि गर्नुभएका सबै कुराहरू सम्झनेछन्। यस महत्त्वपूर्ण अवसरमा तिनीहरूको उपस्थितिले अरू भेडाको एकता र परमेश्वरको इच्छा गरिरहने तिनीहरूको संकल्पलाई बलियो बनाऊन् अनि यस प्रकार यहोवाले प्रेम गर्नेहरूमध्ये हुन पाएकोमा तिनीहरू आनन्दित छन् भन्ने कुराको प्रमाण दिऊन्।
पुनरावलोकन गर्दा
• “सत्यका आत्मा” प्रारम्भिक मसीहीहरूलाई कहिले पठाइयो र यो कसरी “शान्तिदाता” साबित भयो?
• आफूले स्वर्गीय बोलावट पाएको कुरा अभिषिक्तहरूले कसरी थाह पाउँछन्?
• अरू भेडामा परमेश्वरको आत्मा कसरी सञ्चालन हुन्छ?
• अरू भेडाले ख्रीष्टका भाइहरूप्रति कसरी भलाइको काम गरेका छन् र तिनीहरू किन अभिषिक्तहरूविना “सिद्ध” तुल्याइने होइनन्?
[पृष्ठ २१-मा भएको चित्र]
सा.यु. ३३ पेन्तिकोसमा चेलाहरूमाथि “सत्यका आत्मा” खन्याइएको थियो
[पृष्ठ २३-मा भएका चित्रहरू]
प्रचार गर्ने ईश्वरीय आज्ञा पूरा गर्ने काममा समर्थन गरेर अरू भेडाले ख्रीष्टका भाइहरूप्रति भलाइको काम गरेका छन्