प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ३/१ pp. १९-२३
  • यहोवाले उदारताका साथ क्षमा गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले उदारताका साथ क्षमा गर्नुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कुनै कुनै पापहरू अक्षम्य हुन्छन्‌
  • तिनीहरूका पापहरू अक्षम्य थिए
  • तिनीहरूका पापहरू क्षमा गरिएको थियो
  • परमेश्‍वरको क्षमादानबारे विश्‍वस्त हुने कारणहरू
  • प्राचीनहरू बाट मद्दत
  • परमेश्‍वरले बल दिनुहुन्छ
  • के तपाईंले पवित्र आत्मा विरुद्ध पाप गर्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • के अक्षम्य पाप छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • “क्षमा गर्न सधैँ तयार” परमेश्‍वर
    यहोवासित नजिक हुनुहोस्‌
  • यहोवा, ‘क्षमा गर्न तयार’ परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ३/१ pp. १९-२३

यहोवाले उदारताका साथ क्षमा गर्नुहुन्छ

“दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस्‌ र परमप्रभुतिर फर्कोस्‌, . . . औ उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ।”—यशैया ५५:७.

१. यहोवाबाट क्षमा पाउनेहरूले आज कुन कुराको आशिष पाएका छन्‌?

गल्ती गरेर पश्‍चात्ताप गर्नेहरूलाई यहोवा क्षमा गर्नुहुन्छ। अहिले नै उहाँले तिनीहरूलाई एउटा आत्मिक प्रमोदवनमा मनको शान्ति अनुभव गर्न दिनु हुन्छ। किनभने तिनीहरूले यी आवश्‍यकताहरू पूरा गर्छन्‌: “जबसम्म परमप्रभुलाई पाउनसक्छ उहाँलाई खोज। उहाँ नजीक हुनु हुँदा नै उहाँलाई पुकार। दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस्‌ र परमप्रभुतिर फर्कोस्‌, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्‍वरतर्फ त्यो फर्कोस्‌, औ उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नु हुनेछ।”—यशैया ५५:६, ७.

२. (क) यशैया ५५:६, ७-मा उल्लिखित गरिएअनुसार, ‘यहोवाको खोजी गर्नु’ र ‘उहाँतिर फर्कनु’-को अर्थ के हो? (ख) बाबेलमा निर्वासित गरिएका यहूदीहरूलाई यहोवातिर फर्कनु किन आवश्‍यक थियो र तिनीहरूमध्ये कसैकसैलाई के भयो?

२ ‘यहोवालाई खोज्ने’ र उहाँलाई ग्रहणयोग्य ढङ्‌गमा पुकार्ने हो भने एक जना दुष्ट व्यक्‍तिले आफ्नो गलत मार्ग त्याग्नु पर्छ। अरूहरूको हानि गर्ने विचारलाई छाडनु पर्छ। ‘यहोवातिर फर्कनु’-को अर्थ, गल्ती गर्ने त्यस व्यक्‍तिले परमेश्‍वरलाई छाडेको हुन सक्‍तछ। अथवा कुनै समयमा परमेश्‍वरसित उसको एउटा घनिष्ठ सम्बन्ध भएको हुनु पर्दछ। यहूदाका बासिन्दाहरूको पनि यस्तै स्थिति थियो। अर्थात्‌ परमेश्‍वरप्रति अविश्‍वासी भएको हुनाले, तिनीहरू बाबेलमा निर्वासित भएका थिए। ती यहूदी कैदीहरूलाई यहोवातिर फर्कनु आवश्‍यक थियो। तिनीहरूले आफ्ना गलत कार्यहरूका लागि पश्‍चात्ताप गर्न खाँचो थियो। किनकि त्यही गलत कार्यहरूको परिणाम स्वरूप तिनीहरू बाबेलमा कैदी भए र आफ्नो देश ७० वर्षसम्म उजाड हुने छ भनेर अग्रिमवाणी पनि गरियो। सरकारी आदेशद्वारा मुक्‍त पारिएका धर्मभीरु यहूदीहरूको एउटा शेष भागले त्यस देशमा सा०यु०पू० ५३७- देखि पुनः बसोबास गर्न थाले। (एज्रा १:१-८; दानियल ९:१-४) त्यो पुनःस्थापनाको परिणाम यति सुन्दर थियो कि यहूदाको देशलाई अदनको बगैंचासित तुलना गरिएको थियो।—इजकिएल ३६:३३-३६.

३. यहूदामा फर्केर आएका ईश्‍वरभक्‍त कैदीहरूको जस्तै अनुभव, आत्मिक इस्राएलका शेष जनहरूले कसरी गरे?

३ बाबेलको निर्वासनबाट फर्की आउने ईश्‍वरभक्‍त यहूदीहरूले जे अनुभव गरे, त्यस्तै अनुभव आत्मिक इस्राएलीहरूले पनि गरे। (गलाती ६:१६) प्रथम विश्‍व-युद्ध समाप्त हुना साथै, आत्मिक इस्राएलीहरूका शेष जनहरूले आफ्नो सोचाइमा केही परिवर्तन ल्याए। परमेश्‍वरको कृपाबाट सम्पूर्णतया वञ्चित भएर झूटो धर्मको विश्‍व-साम्राज्य, महान बाबिलोनमा तिनीहरू निर्वासित भएका थिए। तर यो निर्वास १९१९-मा समाप्त भयो। मानिसको डर मान्दै यहोवाको सेवामा निष्क्रिय हुने आफ्ना पापहरूका लागि तिनीहरूले पश्‍चात्ताप गरे। अतः उहाँले तिनीहरूलाई महान बेबिलोनबाट छुटकारा दिनु भयो। तिनीहरूलाई आफ्नो उचित आत्मिक अवस्थामा पुनःस्थापित गरिदिनु भयो र राज्यको सन्देश प्रचार गर्ने काममा फेरि तिनीहरूलाई प्रयोग गर्न थाल्नु भयो। त्यस समयदेखि यता, परमेश्‍वरका जनहरू बीच एउटा आत्मिक प्रमोदवन लहलहाउँदै गएको छ र यसले उहाँको पवित्र नाउँको सम्मान गरेको छ। (यशैया ५५:८-१३) अतः ईश्‍वरले क्षमा गर्नु भएपछि आशिषहरू दिनु हुन्छ र पश्‍चात्ताप गर्नेहरूलाई यहोवाले प्रशस्त गरी क्षमा गर्नुहुन्छ भन्‍ने स्पष्ट प्रमाण हामीले प्राचीन नमुना र त्यसको आधुनिक समानान्तर, दुवैमा पायौं।

४. यहोवाका केही सेवकहरू कुन कुराको डर मानेर बसेका छन्‌?

४ यसकारण, परमेश्‍वरको क्षमादानमाथि यहोवाका वर्तमान सेवकहरूले भरोसा राख्न सक्छन्‌। तापनि, तिनीहरू मध्ये कुनै कुनै व्यक्‍तिहरू बितेको समयमा गरिएका गल्तीहरू सम्झेर निराश छन्‌। आत्मदोषको बोझले तिनीहरू प्रायः दबेका छन्‌। आत्मिक प्रमोदवनमा बस्न तिनीहरू आफूलाई योग्यको ठान्दैनन्‌। यिनीहरू मध्ये कसैकसैले आफूबाट अक्षम्य गल्ती भयो होला भनी ठान्छन्‌। त्यसका लागि यहोवाबाट कहिल्यै क्षमा पाउन सकिन्दैन होला भनी सोच्दछन्‌। के यिनीहरूको यो सोचाइ ठीक हुन सक्छ होला?

कुनै कुनै पापहरू अक्षम्य हुन्छन्‌

५. कुनै कुनै पापहरू अक्षम्य छन्‌ भनेर किन भन्‍न सकिन्छ?

५ कुनै कुनै पापहरू अक्षम्य हुन्छन्‌। येशू ख्रीष्टले यसो भन्‍नु भएको थियो: “हरेक पाप र परमेश्‍वरको निन्दा मानिसहरूलाई क्षमा हुनेछ। तर पवित्र आत्माको विरुद्धका निन्दा क्षमा हुने छैन।” (मत्ती १२:३१) अतः, परमेश्‍वरको पवित्र आत्मा अथवा सक्रिय शक्‍तिको विरुद्धमा गरिएको निन्दा क्षमा हुने छैन। यसै प्रकारको पापलाई सङ्‌केत गर्दै, प्रेरित पावलले लेखेका थिए: “जस जसले एकचोटि ज्योति पाएर . . . त्यसपछि तिनीहरू पतित भए भनेता तिनीहरूलाई फेरि पश्‍चात्तापको निम्ति नयाँ तुल्याउनलाई असम्भव छ! किनभने तिनीहरूले ता परमेश्‍वरका पुत्रलाई तिनीहरूका निम्ति फेरि क्रूसमा टाँग्छन्‌, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्छन्‌।”—हिब्रू ६:४-६.

६. कुनै पाप अक्षम्य हो वा होइन भन्‍ने कुराको फैसला के ले गर्दछ?

६ कुनै व्यक्‍तिले अक्षम्य पाप गरेको छ वा छैन भन्‍ने कुरा परमेश्‍वरलाई मात्र थाह हुन्छ। तथापि, यस कुरालाई अझ खुलस्त पार्दै पावलले यस प्रकार लेखे: “किनकि हामीले त्यसको ज्ञान पाएपछि पनि जानी जानी पाप गर्दछौं भनेता पापहरूका निम्ति दण्डको भयानक प्रतीक्षा र विरोधीहरूलाई भस्म गर्ने अग्निको प्रचण्डताबाहेक फेरि कुनै बलिदान बाँकी रहँदैन।” (हिब्रू १०:२६, २७) आफूखुसी गर्ने मान्छे जानीजानी “हठी र अक्सर भ्रष्ट ढङ्‌गमा स्वेच्छाचारी” हुन्छन्‌। (Webster’s New Collegiate Dictionary) सत्यको ज्ञान पाएपछि पनि जानीजानी र हठी भएर पाप गरिरहने व्यक्‍तिले क्षमा पाउँदैन। अतः क्षमा पाइन्छ कि पाइन्दैन भन्‍ने कुराको फैसलामा पाप नै निर्णायक कुरा होइन। बरु, पाप गर्ने मानिसको हृदयको मनोवृत्ति र तिनले त्यो पाप कुन हद्‌सम्म जानाजानी गरेका हुन्‌, सो कुराहरू माथि पनि विशेष ध्यान दिइन्छ। साथै, गल्ती गर्ने कुनै मसीही आफ्नो भूलबारे धेरै नै चिन्तित छ भने, सम्भवतः यसबाट के बोध हुँदछ? तिनको यो गहिरो चिन्ता सायद तिनले वास्तवमा कुनै अक्षम्य पाप गरेको छैन भन्‍ने कुराको एउटा सङ्‌केत हुन सक्‍तछ।

तिनीहरूका पापहरू अक्षम्य थिए

७. येशूको विरोध गर्ने कुनै कुनै धार्मिक विरोधीहरूले अक्षम्य पाप गरे भनेर हामी किन भन्‍न सक्छौं?

७ येशूको विरोध गर्ने केही यहूदी धर्मगुरुहरूले जानीजानी पाप गरे। यसकारण, तिनीहरूको पाप अक्षम्य थियो। येशूले गर्नु भएका असल र चमत्कारपूर्ण कार्यहरू द्वारा परमेश्‍वरको पवित्र आत्माको सक्रियता तिनीहरूले देखे। तापनि यो शक्‍ति, बालजिबुल अथवा शैतानको हो भनी ती धर्मगुरुहरूले भने। परमेश्‍वरको पवित्र आत्माको अकाट्य प्रमाणको विरुद्धमा तिनीहरूले जानीजानी पाप गरे। तिनीहरूले गरेको पाप अक्षम्य थियो र यसबारे येशूले यसो भन्‍नुभयो: “कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने, त्यो त्यसलाई यस जगतमा, वा आउने जगतमा क्षमा हुनछैन।”—मत्ती १२:२२-३२.

८. यहूदा इस्करयोतीले गरेको पाप किन अक्षम्य थियो?

८ यहूदा इस्करयोतीले गरेको पाप पनि अक्षम्य थियो। उसले येशूलाई दिएको धोका जानीजानी गरिएको एउटा कपटपूर्ण र बेइमान गतिविधिको आखिरी परिणाम थियो। उदाहरणका लागि, मरियमले येशूलाई अभिषेक गर्न किम्मती तेलको प्रयोग गरेको देख्ता, उसले यो प्रश्‍न गरेको थियो: “यो मलहम तीन सय दिनारमा बेचिएर किन गरीबहरूलाई दिइएन?” यसमा प्रेरित यूहन्‍नाले यो कुरा थपेका छन्‌: “तर यो त्यसले [यहूदाले] गरीबहरूको ख्याल राखेर भनेको होइन, किनकि त्यो चोर थियो, र पैसाको थैली बोक्ने भएर त्यसमा राखिएका चीज झिकेर लैजान्थ्यो।” यसको केही समय पछि नै, यहूदाले येशूलाई ३० चाँदीका टुक्राका लागि धोका दियो। (यूहन्‍ना १२:१-६; मत्ती २६:६-१६) हो, यहूदालाई पछितो लागेको थियो र उसले आत्महत्या समेत गऱ्‍यो। (मत्ती २७:१-५) तैपनि उसले क्षमा भने पाएन। उसले पवित्र आत्माको विरुद्धमा पाप गरेको कुरा, उसको छली कार्य र जानीजानी साथै निरन्तर अपन्याइ राखेको स्वार्थी जीवन पद्धतिले प्रष्ट देखाएको थियो। त्यसैकारण तः येशूले यहूदालाई “सर्वनाशको पुत्र” भन्‍नु भयो!—यूहन्‍ना १७:१२; मर्कूस ३:२९; १४:२१.

तिनीहरूका पापहरू क्षमा गरिएको थियो

९. बेतशेबासित दाऊदले गरेको पापलाई परमेश्‍वरले किन क्षमा गर्नु भयो?

९ परमेश्‍वरले क्षमा गर्नु भएका पापहरू, जानीजानी गरिएका पापहरू भन्दा सम्पूर्णतया बेग्लै हुन्छन्‌। उदाहरणका लागि, इस्राएलको राजा दाऊदलाई विचार गर्नु होस्‌। तिनले उरियाहकी पत्नी बेतशेबासित व्यभिचार गरे। पछि, योआबद्वारा युद्धमा उरियाहको मृत्युको योजना पनि मिलाए। (२ शमूएल ११:१-२७) तैपनि परमेश्‍वरले दाऊदलाई दया देखाउनु भयो। किन? प्रथमतः, राज्य सम्बन्धी वाचाको कारण। तर दाऊदको आफ्नै दयालु स्वभाव र तिनको साँचो पश्‍चात्तापको भावलाई पनि परमेश्‍वरले विचार गर्नु भयो।—१ शमूएल २४:४-७; २ शमूएल ७:१२; १२:१३.

१०. पत्रुसले गम्भीर पाप गरे तापनि, परमेश्‍वरले तिनलाई किन क्षमा गर्नु भयो?

१० प्रेरित पत्रुसलाई पनि विचार गर्नुहोस्‌। तिनले बारम्बार येशूलाई इन्कार गरेर घोर पाप गरे। परमेश्‍वरले पत्रुसलाई किन क्षमा गर्नुभयो? किनभने पत्रुसले परमेश्‍वर र ख्रीष्टको सेवा इमान्दारीका साथ गरेका थिए। यहूदा इस्करयोतीले भने यसो गरेको थिएन। प्रेरित पत्रुसको पापको कारण विशेषतः शारीरिक कमजोरी थियो। यसका लागि तिनले साँचो पश्‍चात्तापको भाव व्यक्‍त गरे र “धुरूधुरू रोए।”—मत्ती २६:६९-७५.

११. “पश्‍चात्ताप”-को परिभाषा तपाईं कसरी दिनु हुन्छ र कुनै व्यक्‍तिले साँच्चैनै पश्‍चाताप गरेको छ भने उसले के गर्नु उचित हुनेछ?

११ यी उदाहरणहरू द्वारा हामी सिक्‍तछौं कि गम्भीर पाप गर्ने व्यक्‍तिले पनि यहोवा परमेश्‍वरबाट क्षमा पाउन सक्‍तछ। तर क्षमा पाउनका लागि कुन प्रकारको मनोवृत्ति आवश्‍यक छ? परमेश्‍वरबाट क्षमा पाउनका निम्ति गल्ती गर्ने एक जना मसीहीले साँचो हृदयबाट पश्‍चात्ताप गर्नु अति आवश्‍यक छ। पश्‍चात्ताप गर्नुको अर्थ “बितेको समयमा गरिएका गल्तीहरूका लागि दुःख मान्दै पापबाट अलग हुनु” अथवा “आफूले गरेका अर्थात्‌ नगरेका कुराहरू सम्झेर पछितो अथवा खेद प्रकट गर्नु” हो। (Webster’s Third New International Dictionary) साँच्चै नै पश्‍चात्ताप गर्ने मानिसले तिनको पापको कारण यहोवाको नाउँ र सङ्‌गठनमाथि ल्याएको बदनामी, दुःख अथवा समस्याहरू सम्झेर खेद प्रकट गर्दछ। गल्ती गरेर पश्‍चात्ताप गर्ने व्यक्‍तिले त्यसै प्रकारको फल फलाउँदछ र पश्‍चात्तापको प्रमाण दिने कार्यहरू गर्ने छ। (मत्ती ३:८; प्रेरित २६:२०) उदाहरणका लागि, उसले कसैलाई ठगेको छ भने, क्षतिपूर्ति गर्ने उचित कदमहरू तिनले चाल्ने छन्‌। (लूका १९:८) यस प्रकार पश्‍चात्ताप गर्ने मसीहीसङ्‌ग यहोवाले प्रशस्तगरी क्षमा गर्नु हुने छ भनी विश्‍वस्त हुने ठोस र शास्त्रीय कारणहरू हुनेछन्‌। यी कारणहरू के के हुन्‌?

परमेश्‍वरको क्षमादानबारे विश्‍वस्त हुने कारणहरू

१२. भजनसंग्रह २५:११ अनुसार, पश्‍चात्ताप गर्ने व्यक्‍तिले के को आधारमा क्षमाका लागि प्रार्थना गर्नु सक्‍तछ?

१२ गल्ती गरेर पश्‍चात्ताप गर्ने व्यक्‍तिले यहोवाको नाउँको आधारमा विश्‍वस्त भएर क्षमादानका लागि प्रार्थना गर्न सक्‍तछ। दाऊदले यस प्रकार बिन्ती गरे: “हे परमप्रभु, तपाईंको नाउँको खातिर, मेरो अधर्म क्षमा गर्नुहोस्‌ किनकि त्यो ठूलो छ।” (भजनसंग्रह २५:११) गल्ती गर्नेले परमेश्‍वरको नाउँमाथि ल्याएको कलङ्‌कका लागि व्यक्‍त गर्ने पश्‍चात्तापको भाव र उक्‍त प्रकारको प्रार्थना, दुवैले भविष्यमा फेरि गम्भीर गल्ती गर्नदेखि उसलाई रोक्नु पर्छ।

१३. ईश्‍वरीय क्षमा प्राप्त गर्ने कुरामा प्रार्थनाले के भूमिका निभाउदछ?

१३ गल्ती गरेर पश्‍चात्तापको भाव प्रकट गर्ने आफ्ना सेवकहरूको हार्दिक प्रार्थनाहरूलाई यहोवा परमेश्‍वरले सुन्‍नुहुन्छ। उदाहरणका लागि, बेतशेबासित गरिएको पापको गम्भीरता दाऊदले बुझेपछि, तिनले भित्र हृदयबाट यहोवासित प्रार्थना गरे र यहोवाले यी प्रार्थनाहरूको उपेक्षा गर्नु भएन। भनौं भने, भजनसंग्रह ५१-मा उल्लिखित दाऊदका शब्दहरूमा धेरै नै प्रार्थीहरूको मर्म व्यक्‍त भएको पाउँदछौं। तिनले यसो भन्दै बिन्ती गरे: “तपाईंको करुणाअनुसार ममाथि अनुग्रह गर्नुहोस्‌, हे परमेश्‍वर। तपाईंको कोमल कृपाअनुसार मेरा अपराधहरू मेटिदिनुहोस्‌। मेरो अधर्मबाट मलाई सफासङ्‌ग धुनुहोस्‌, र मेरो पापबाट मलाई शुद्ध गर्नुहोस्‌। चूर्ण आत्मा नै परमेश्‍वरको निम्ति बलिदान हो। हे परमेश्‍वर, चूर्ण र पूरा पश्‍चात्तापी हृदयलाई तपाईंले तुच्छ ठान्‍नुहुन्‍न।”—भजनसंग्रह ५१:१, २, १७.

१४. छुटकाराका लागि येशूले चढाउनु भएको बलिदानमाथि विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले क्षमा गर्नु हुन्छ भनेर शास्त्रले हामीलाई कसरी विश्‍वास दिलाउँदछ?

१४ छुटकाराका लागि येशूले चढाउनु भएको बलिदानमाथि विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले क्षमा गर्नु हुन्छ। पावलले यस प्रकार लेखे: “जसमा हामीलाई उहाँको रगतबाट उद्धार, अर्थात्‌ उहाँको अनुग्रहको धनअनुसार अपराधहरूको क्षमा हुन्छ।” (एफिसी १:७) यस्तै अर्थ राख्ने शब्दहरू प्रेरित यूहन्‍नाले पनि लेखे: “हे मेरा साना केटा-केटी हो, तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्तछु। औ कुनै मानिसले पाप गर्‌यो भने पनि पितासङ्‌ग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।”—१ यूहन्‍ना २:१, २.

१५. परमेश्‍वरको दयाबाट आनन्द उठाइ रहनका लागि, पश्‍चात्ताप गर्ने पापीले के गर्नु पर्दछ?

१५ गल्ती गरेर पश्‍चात्ताप गर्ने व्यक्‍तिका लागि यहोवाको करुणा, क्षमा पाउने एउटा आधार हुन्छ। नहेम्याहले यसो भने: “तपाईं क्षमा गर्नुहुने परमेश्‍वर, अनुग्रही, धीरजी र दृढ प्रेमले पूर्ण हुनुहुन्छ।” (नहेम्याह ९:१७; प्रस्थान ३४:६, ७ सङ्‌ग तुलना गर्नुहोस्‌।) हुनः त, ईश्‍वरीय दयाको आनन्द बराबर उठाइ रहनका लागि पाप गर्ने मानिसले परमेश्‍वरको आज्ञा पालन गर्ने कोशिश गर्नु पर्दछ। भजनसंग्रहका लेखकले भने झैं: “तपाईंको कोमल कृपा ममाथि रहोस्‌, र म जीवित रहूँ। किनकि तपाईंको व्यवस्थामा म प्रसन्‍न छु। हे परमप्रभु, तपाईंका कोमल कृपा ता विशाल छन्‌, तपाईंका न्याय-वचन अनुसार मलाई जीवित राख्नुहोस्‌।”—भजनसंग्रह ११९:७७, १५६.

१६. यहोवाले हाम्रो पापी अवस्थालाई ध्यानमा राख्नुहुन्छ भन्‍ने कुराबाट हामी के सान्त्वना पाउन सक्‍तछौं?

१६ हाम्रा पापी अवस्थालाई पनि यहोवाले ध्यानमा राख्नुहुन्छ। गल्ती गरेर पश्‍चात्ताप गर्ने व्यक्‍तिले यस कुराबाट सान्त्वना पाउनका साथै परेमश्‍वरले उसलाई क्षमा गर्नु हुनेछ भनी ऊ विश्‍वस्त भएर प्रार्थना गर्न सक्नेछ। (भजनसंग्रह ५१:५; रोमी ५:१२) भजनसंग्रहका लेखक दाऊदले ढाडस र सान्त्वना दिंदै, यो घोषणा गरे: “उहाँले हामीसङ्‌ग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन, नता हाम्रा अर्धमअनुसार हामीलाई बदला दिनुभएको छ। किनकि पृथ्वीबाट स्वर्ग जति अल्गो छ, उहाँसङ्‌ग डराउनेहरू माथि उहाँको कृपा त्यत्तिकै ठूलो हुन्छ। पश्‍चिमबाट पूर्व जत्ति टाढा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिनै टाढा हटाइदिनुभएको छ। जसरी बाबुले आफ्ना छोरा-छोरीहरूलाई टिठाउँछन्‌, त्यसरी नै उहाँसङ्‌ग डराउनेहरूलाई परमप्रभुले टिठाउँनुहुन्छ। किनभने उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।” (भजनसंग्रह १०३:१०-१४) हो, स्वर्गमा हुनु हुने हाम्रा पिता, एक जना मानवीय आमा-बाबुभन्दा पनि दयावन्त हुनुहुन्छ।

१७. बितेको समयमा विश्‍वासिलो भएर परमेश्‍वरको सेवा गरिएको छ भने क्षमा पाउने कुरासित यसको के सम्बन्ध हुन सक्‍तछ?

१७ बितेको समयमा विश्‍वासिलो भएर उसले गरेको सेवालाई यहोवाले बिर्सनु हुने छैन भनी विश्‍वस्त हुँदै, गल्ती गरेर पश्‍चात्ताप गर्ने व्यक्‍तिले क्षमाका लागि प्रार्थना गर्न सक्छ। नहेम्याहले आफ्नो पापका लागि बिन्ती गरिरहेका थिएनन्‌। तापनि, तिनले यसो चाहिं भने: “हे परमेश्‍वर, मेरो हितको निम्ति यस कामको सम्झना रहोस्‌।” (नहेम्याह १३:३१) पश्‍चात्ताप गर्ने मसीहीले यी शब्दहरूमा सान्त्वना पाउन सक्‍तछन्‌: “किनकि तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

प्राचीनहरू बाट मद्दत

१८. एक जना मसीहीको पापले तिनलाई आत्मिक तवर्‌मा बिरामी तुल्याइ दिएको छ भने, तिनले के गर्न सक्‍तछन्‌?

१८ कुनै मसीहीले आत्मिक प्रमोदवनमा बस्न आफूलाई अयोग्य ठानेमा अथवा तिनले गरेको पापको कारण, तिनी आध्यात्मिक तवर्‌मा बिरामी भएर प्रार्थना गर्न असमर्थ भएमा, के नि? चेला याकूबले यस प्रकार लेखे: “त्यसले मण्डलीको धर्मगुरुहरूलाई बोलाओस्‌, र तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेल घसेर त्यसको विषयमा प्रार्थना गरून्‌। औ विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले त्यसलाई उठाउनुहुनेछ, र यदि त्यसले पापै गरेको भए पनि त्यसलाई क्षमा हुनेछ।” हो, पश्‍चात्तापको भाव व्यक्‍त गर्ने एक जना सङ्‌गी विश्‍वासीलाई पुनः सुस्वास्थ्य प्रदान गर्ने आशा राख्दै, तिनका लागि र तिनका साथ मण्डलीका प्राचीनहरूले प्रभावशाली ढङ्‌गमा प्रार्थना गर्न सक्‍तछन्‌।—याकूब ५:१४-१६.

१९. कुनै व्यक्‍ति बहिष्कृत भएको छ भने, तिनले क्षमा पाउन र पुनःस्थापित हुनका लागि के गर्नु पर्दछ?

१९ पश्‍चात्ताप नगर्ने कुनै व्यक्‍तिलाई मण्डलीको न्यायिक समितिले बहिष्कार गर्‌यो भने पनि त्यसको अर्थ तिनले अक्षम्य पाप गरेको छ भन्‍न सकिन्दैन। तर क्षमा पाउन र मण्डलीमा पुनःस्थापित हुनका लागि, तिनले परमेश्‍वरका नियमहरू नम्रतापूर्वक पालन गर्नै पर्दछ, पश्‍चात्ताप अनुसारको फल प्रकट गर्नुपर्छ र पुनःस्थापित हुनका लागि मण्डलीका प्राचीनहरूलाई खबर गर्न आवश्‍यक हुने छ। प्राचीन कोरिन्थको मण्डलीबाट व्यभिचार गर्ने एकजना मानिस बहिष्कृत भएपछि पावलले यस प्रकार लेखे: “त्यस्तालाई धेरै जसोबाट दिइएको यो सजाय यथेष्ट छ। कि बरु उल्टा तिमीहरूले अनुग्रह गरी क्षमा गर्नु र सान्त्वना दिनुपर्दछ, नत्रता कुनै किसिमले त्यस्तो मानिस झन बढता शोकले चुर्लुम्म डुब्नेछ। यसकारण त्यसलाई आफ्नो प्रेमको प्रमाण देओ भनी म तिमीहरूसित आग्रहपूर्वक बिन्ती गर्दछु।”—२ कोरिन्थी २:६-८; १ कोरिन्थी ५:१-१३.

परमेश्‍वरले बल दिनुहुन्छ

२०, २१. आफूबाट अक्षम्य पाप भयो होला कि भनेर पीडित भएको व्यक्‍तिलाई के ले मद्दत दिनु सक्‍तछ?

२० आफूले अक्षम्य पाप गऱ्‍यो होला भनेर, अस्वस्थता अथवा अन्य धपेडीको कारण मन चिन्तित हुन थाल्यो भने, निद्रा पुग्नेगरी आराम लिनु पनि मद्दतकारी हुन सक्छ। तथापि, तपाईंले विशेषगरी पत्रुसका यी शब्दहरूलाई ध्यानमा राख्नु राम्रो हुने छ: “तिमीहरूका सारा फिक्री उहाँमाथि [परमेश्‍वर] राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।” र शैतानले कहिले पनि तपाईंलाई निरुत्साहित पार्न नदिनु होस्‌ किनकि पत्रुसले यसो पनि भनेका छन्‌: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंडछ। तिमीहरू आफ्नो विश्‍वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाज्यूभाइहरूले पनि यही कष्ट भोगिरहेका छन्‌ भन्‍ने जानेर त्यसको विरोध गर। तिमीहरूले केही बेर दुःख भोगेपछि . . . सबै अनुग्रहको परमेश्‍वर . . . आफैले तिमीहरूलाई सुधार्नुहुनेछ, स्थिर गराउनुहुनेछ र बलियो गराउनुहुनेछ।”—१ पत्रुस ५:६-१०.

२१ अतः, तपाईंमा पश्‍चात्तापको भावना छ तर तपाईंले सायद अक्षम्य पाप गर्नु भएको छ होला भनेर पीडित हुनुहुन्छ भने, परमेश्‍वरका मार्गहरू बुद्धिमत्तापूर्ण, न्यायसङ्‌गत र प्रेमपूर्ण छन्‌ भन्‍ने कुरा कहिले नबिर्सनुहोस्‌। उहाँसित विश्‍वासका साथ प्रार्थना गर्नुहोस्‌। “विश्‍वासी र बुद्धिमान दास” द्वारा दिनु हुने आत्मिक आहार नियमित रूपमा लिने गर्नु होस्‌। (मत्ती २४:४५-४७) आफ्ना सङ्‌गी विश्‍वासीहरू सित सङ्‌गत गर्नु होस्‌ र मसीही सेवकाईमा नियमित रूपले भाग लिनु होस्‌। यसले तपाईंको विश्‍वासलाई बलियो पारिदिने छ र परमेश्‍वरले तपाईंको पापलाई क्षमा गर्नु भएको छैन होला भन्‍ने डरबाट तपाईंलाई मुक्‍त गर्ने छ।

२२. हामी यसपछि कुन कुरा विचार गर्ने छौं?

२२ यहोवाले प्रशस्तगरी क्षमा गर्नु हुन्छ भन्‍ने कुराबाट आत्मिक प्रमोदवनका बासिन्दाहरूले सान्त्वना पाउन सक्‍तछन्‌। तापनि, आज तिनीहरूको जीवन कठिनाइहरू बाट मुक्‍त छैन। शायद, आफ्ना कुनै प्रिय जन मरेका हुनाकारण, अथवा एउटा प्यारो मित्र सिकिस्त बिरामी भएकोले तिनीहरू निराश होलान्‌। यस्ता र अन्य परिस्थितिहरूमा यहोवाले आफ्ना जनहरूलाई उहाँको पवित्र आत्माद्वारा डोहोऱ्‍याउनु हुन्छ भनेर हामी हेर्ने छौं। (w92 9/15)

तपाईंका जवाफहरू के हुन्‌?

▫ यहोवाले ‘प्रशस्त गरी क्षमा’ गर्नु हुन्छ भन्‍ने कुराको के प्रमाण छ?

▫ कुन प्रकारको पाप क्षम्य हुँदैन?

▫ कस्ता परिस्थितिहरूमा मानिसको पाप क्षम्य हुन्छ?

▫ गल्ती गरेर पश्‍चात्ताप गर्ने व्यक्‍तिहरू परमेश्‍वरबाट क्षमा पाउने विषयमा किन विश्‍वस्त हुन सक्छन्‌?

▫ गल्ती गरेर पश्‍चात्ताप गर्नेहरूका लागि के मद्दत उपलब्ध छ?

[पृष्ठ २१-मा भएको चित्र]

दाऊद र पत्रुसले क्षमा पाउँदा, यहूदा इस्करयोतीले चाहिं नपाएको कारण के तपाईंलाई थाह छ?

[पृष्ठ २३-मा भएको चित्र]

मण्डलीका प्राचीनहरूले एक जना मसीहीलाई आत्मिक तवर्‌मा निकै मद्दत पुर्‌याउन सक्‍तछन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने