प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ७/१५ pp. २६-३०
  • के तपाईं सबै कुरामा विश्‍वासी हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं सबै कुरामा विश्‍वासी हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वासी हुनुको अर्थ के हो
  • “अधर्मको धन” प्रयोग गर्दा विश्‍वासी
  • इमानदारिता महत्त्वपूर्ण छ
  • हाम्रो मसीही सेवकाईमा विश्‍वासी
  • संसारबाट अलग रहने
  • विश्‍वासी रहँदाका आशिष्‌हरू
  • जाँचिएको—तर यहोवाप्रति वफादार!
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • साँचो धनको खोजी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • अधर्मको धनले मित्रहरू बनाओ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • विश्‍वासिलोपना इनामदायी हुन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ७/१५ pp. २६-३०

के तपाईं सबै कुरामा विश्‍वासी हुनुहुन्छ?

“जो थोरै कुरामा विश्‍वासी हुन्छ, त्यो धेरैमा पनि विश्‍वासी हुन्छ।”—लूका १६:१०.

१. कुन तरिकामा यहोवा विश्‍वासयोग्य हुनुहुन्छ?

दिन चढ्‌दै जाँदा भुँइमा परेको रूखको छायालाई के हुन्छ के तपाईंले कहिल्यै याद गर्नुभएको छ? हो, छायाको आकार र दिशा पनि परिवर्तन हुन्छ! मानव प्रयास तथा प्रतिज्ञाहरू पनि अक्सर छायाजस्तै अस्थिर हुन्छन्‌। अर्कोतर्फ, यहोवा परमेश्‍वर भने समयअनुसार परिवर्तन हुनुहुन्‍न। उहाँलाई “ज्योतिका पिता[को]” रूपमा सङ्‌केत गर्दै चेला याकूब यसो भन्छन्‌: “जसमा कहिल्यै अदल-बदल, हुने र फेरिने छाया छैन।” (याकूब १:१७) सानोभन्दा सानो कुरामा पनि यहोवा अपरिवर्तनीय र भरपर्दो हुनुहुन्छ। उहाँ ‘विश्‍वासयोग्य परमेश्‍वर’ हुनुहुन्छ।—व्यवस्था ३२:४.

२. (क) हामी विश्‍वासी छौं कि छैनौं भनेर आफूलाई किन जाँच्नुपर्छ? (ख) विश्‍वासयोग्य हुनेसम्बन्धी कस्ता प्रश्‍नहरूबारे हामी विचार गर्नेछौं?

२ आफ्ना उपासकहरूको विश्‍वसनीयतालाई परमेश्‍वर कुन दृष्टिकोणले हेर्नुहुन्छ? दाऊदको जस्तै दृष्टिकोणले हेर्नुहुन्छ किनभने परमेश्‍वरका उपासकहरूबारे तिनले यसो भने: “तिनीहरू मेरै साथमा रहिरहून्‌ भनेर मेरा आँखा देशका विश्‍वासीहरूतर्फ लाग्नेछन्‌, सत्य बाटोमा हिंड्‌नेलेनै मेरो सेवा गर्नेछ।” (भजन १०१:६) हो, आफ्ना सेवकहरू विश्‍वासयोग्य हुँदा यहोवा प्रसन्‍न हुनुहुन्छ। प्रेरित पावलले यस्तो लेख्नु उपयुक्‍त थियो: “कारिन्दाहरूमानै मानिस विश्‍वासी पाइओस्‌ भन्‍ने चाहिएको छ।” (१ कोरिन्थी ४:२) विश्‍वासी हुनुमा कुन कुरा समावेश छ? जीवनका कुन-कुन क्षेत्रहरूमा हामी विश्‍वासयोग्य हुनुपर्छ? ‘सत्य बाटोमा हिंड्‌दा’ कस्ता लाभहरू प्राप्त हुन्छन्‌?

विश्‍वासी हुनुको अर्थ के हो

३. हामी विश्‍वासी छौं कि छैनौं भनेर कुन कुराले प्रमाणित गर्छ?

३ “मोशा . . . दासजस्तै विश्‍वासयोग्य भएका थिए” भनी हिब्रू ३:५ बताउँछ। कुन कुराले अगमवक्‍ता मोशालाई विश्‍वासयोग्य बनायो? बासस्थान निर्माण र स्थापना गर्दा “मोशाले त्यसैनै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे।” (प्रस्थान ४०:१६) आज्ञाकारी भई यहोवाको सेवा गरेर उहाँका उपासकहरूको हैसियतमा हामी विश्‍वासयोग्य हुन्छौं। पक्कै पनि यसमा कठिन जाँच वा कठोर परीक्षाहरू आइपर्दा समेत यहोवाप्रति वफादार रहनु समावेश छ। तथापि, ठूलठूला परीक्षाहरूमा विश्‍वासी साबित हुँदैमा हामी विश्‍वासयोग्य छौं भनेर प्रमाणित हुँदैन। येशूले यसो भन्‍नुभयो: “जो थोरै कुरामा विश्‍वासी हुन्छ, त्यो धेरैमा पनि विश्‍वासी हुन्छ, औ जो सानो कुरोमा अविश्‍वासी हुन्छ, त्यो धेरैमा पनि अविश्‍वासी हुन्छ।” (लूका १६:१०) ससाना जस्ता देखिने कुराहरूमा समेत हामी विश्‍वासी हुनै पर्छ।

४, ५. हामी “थोरै कुरामा” विश्‍वासी हुँदा कुन कुरा प्रकट हुन्छ?

४ हरेक दिन “थोरै कुरामा” आज्ञाकारी हुनुका दुईवटा महत्त्वपूर्ण कारण छन्‌। पहिलो, यहोवाको सार्वभौमिकताबारे हामी कस्तो महसुस गर्छौं भन्‍ने कुरा यसले प्रकट गर्छ। प्रथम मानव जोडी आदम र हव्वासामु खडा भएको वफादारिताको परीक्षालाई विचार गर्नुहोस्‌। तिनीहरूबाट कुनै गाह्रो कुरा माग गरिएको थिएन। तिनीहरूले अदनको बगैंचामा भएका सबै प्रकारका खानेकुराहरू खान सक्थे, खालि एउटा रूखको फल खानु हुँदैनथ्यो र त्यो रूख “असल र खराबको ज्ञान दिने रूख” थियो। (उत्पत्ति २:१६, १७) प्रथम मानव जोडीले विश्‍वासीपूर्वक यो सरल आज्ञा पालन गरेका भए तिनीहरूले आफू यहोवाको शासनको पक्षमा भएको कुरा देखाउन सक्थे। हाम्रो दैनिक जीवनमा यहोवाका निर्देशनहरू पछ्याउँदा हामी यहोवाको सार्वभौमिकताको पक्षमा छौं भन्‍ने कुरा देखिन्छ।

५ दोस्रो, “थोरै कुरामा” हाम्रो आचरण कस्तो छ त्यसले “धेरैमा” अर्थात्‌ जीवनमा ठूलठूला समस्याहरूको सामना गर्दा हाम्रो प्रतिक्रिया कस्तो हुन्छ त्यसमा असर पार्छ। यस सन्दर्भमा, दानियल र तिनका तीन जना विश्‍वासी हिब्रू मित्रहरू हनन्याह, मीशाएल र अजर्याहलाई विचार गर्नुहोस्‌। सा.यु.पू. ६१७ मा तिनीहरूलाई बाबेलमा निर्वासनमा लगिएको थियो। जवान अवस्थामा नै, सम्भवतः किशोरावस्थामा नै तिनीहरू चार जनालाई राजा नबूकदनेसरको शाही महलमा हाजिर गराइयो। त्यहाँ तिनीहरूलाई “राजा आफैले खाने गरेका मीठा मीठा भोजन र पिउने दाखमद्य तिनीहरूलाई दिनू भनी अह्राए। औ तीन वर्षसम्म तालिम दिएर तिनीहरूलाई राजाको सामने पेश गर्ने आज्ञा गरे।”—दानियल १:३-५.

६. बाबेलको शाही महलमा दानियल र तिनका तीन जना हिब्रू सँगीहरूले कस्तो परीक्षाको सामना गरे?

६ तथापि, बाबेलका राजाले खाने गरेका भोजनले ती चार जना हिब्रू युवाहरूसामु एउटा चुनौती खडा गऱ्‍यो। राजाको चौरासी व्यञ्जनमा सम्भवतः मोशाको व्यवस्थाले निषेध गरेका भोजनहरू पनि थिए। (व्यवस्था १४:३-२०) जनावर मारेपछि राम्ररी रगत नबगाइएको हुन सक्थ्यो र यस्तो मासु खाँदा परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन हुन्थ्यो। (व्यवस्था १२:२३-२५) सहभोज खानुअघि बाबेलका मानिसहरूले आफ्नो भोजन देवतालाई चढाउने प्रचलन भएकोले गर्दा तिनीहरूलाई दिइने भोजन मूर्तिहरूलाई चढाइएको प्रसाद पनि हुन सक्थ्यो।

७. दानियल र तिनका तीन जना मित्रहरूको आज्ञाकारिताले कुन कुरा प्रस्ट पाऱ्‍यो?

७ निस्सन्देह, यो खान हुन्छ र त्यो खान हुँदैन भन्‍ने कुरा बाबेलको शाही घरानाको लागि कुनै खास महत्त्वको विषय थिएन। तर दानियल र तिनका मित्रहरू परमेश्‍वरले इस्राएललाई दिनुभएको व्यवस्थाले निषेध गरेको भोजन खाएर आफूलाई अशुद्ध नपार्न आफ्नो हृदयमा दृढ संकल्पित थिए। यो मामिलामा परमेश्‍वरप्रति तिनीहरूको वफादारिता र विश्‍वसनीयता मुछिएको थियो। त्यसैले तिनीहरूले साग-सब्जी र पानी मागे अनि तिनीहरूलाई त्यही दिइयो। (दानियल १:९-१४) ती चार जना युवाहरूले गरेको काम आज कसैकसैलाई त्यत्ति महत्त्वपूर्ण नलाग्ला। तर परमेश्‍वरप्रति तिनीहरूको आज्ञाकारिताले यहोवाको सार्वभौमिकतासम्बन्धी विवादमा तिनीहरूको अडान प्रस्ट पाऱ्‍यो।

८. (क) तीन जना हिब्रूले वफादारिताको कस्तो कठिन परीक्षा सामना गरे? (ख) यस परीक्षाको नतिजा कस्तो भयो अनि यसले कुन कुरा देखाउँछ?

८ त्यत्ति महत्त्वपूर्ण जस्तो नलाग्ने कुरामा विश्‍वासी हुँदा यसले दानियलका तीन जना मित्रहरूलाई अझ ठूलो परीक्षाको सामना गर्न तयार पाऱ्‍यो। बाइबलमा दानियलको पुस्तकको अध्याय ३ पल्टाउनुहोस्‌ र राजा नबूकदनेसरले स्थापना गरेको सुनको मूर्तिलाई उपासना गर्न इन्कार गर्दा तीन जना हिब्रूलाई कसरी मृत्युदण्डको सजाय सुनाइयो भन्‍ने विवरण आफै पढ्‌नुहोस्‌। राजासामु हाजिर गराइँदा तिनीहरूले आफ्नो निर्णय निर्धक्कसाथ यसरी बताए: “हामीलाई दन्केको आगोको भट्टीबाट बचाउनसक्ने कोही ईश्‍वर हुनुहुन्छ भने हामीले सेवा गरेका परमेश्‍वरनै हुनुहुन्छ। औ उहाँले हामीलाई हजूरको हातबाट पनि बचाउनुहुनेछ। तर त्यसो भएन भने पनि, हे महाराज, यो कुरो हजूरलाई थाह होस्‌, कि हामी हजूरका देवताहरूको सेवा गर्नेछैनौं, अथवा हजूरले खडा गर्नुभएको यस सुनको मूर्तिलाई हामी दण्डवत्‌ गर्नेछैनौं।” (दानियल ३:१७, १८) के यहोवाले तिनीहरूलाई बचाउनुभयो? ती युवकहरूलाई आगोको भट्टीमा फाल्न लाने मानिसहरू भस्म भए तर तीन जना विश्‍वासी हिब्रूहरू भने आगोबाट जिउँदै बाहिर निस्के—यहाँसम्म कि आगोको रापले तिनीहरूलाई पोल्नसम्म पनि पोलेन! तिनीहरू पहिल्यैदेखि विश्‍वासी रहँदै आएकोले त्यस कठिन परीक्षामा पनि विश्‍वासी रहन तिनीहरूलाई मदत गऱ्‍यो। के यसले थोरै कुरामा समेत विश्‍वासी रहनु पर्ने महत्त्व झल्काउँदैन र?

“अधर्मको धन” प्रयोग गर्दा विश्‍वासी

९. लूका १६:१० मा लिपिबद्ध येशूका शब्दहरू उहाँले कुन सन्दर्भमा भन्‍नुभएको हो?

९ हेर्दा सानोजस्तो देखिने कुरामा विश्‍वासी व्यक्‍ति ठूलठूला कुराहरूमा पनि विश्‍वासी हुन्छ भन्‍ने सिद्धान्त उल्लेख गर्नुअघि येशूले आफ्ना श्रोताहरूलाई यस्तो सल्लाह दिनुभयो: “आफ्नो निम्ति अधर्मको धनले मित्रहरू बनाओ, र जब त्यो समाप्त हुन्छ, तब तिमीहरूलाई तिनीहरूले अनन्त बासस्थानहरूमा स्वागत गरून्‌।” अनि उहाँले थोरै कुरामा विश्‍वासी हुनेबारे बताउनुभयो। त्यसपछि येशूले यसो भन्‍नुभयो: “यसकारण तिमीहरू अधर्मको धनमा विश्‍वासी भएको हुँदैनौ भनेता तिमीहरूलाई सत्‌को धन कसले विश्‍वास गरी सुम्पन्छ र? . . . कोही नोकरले दुई मालिकको सेवा गर्नसक्‍तैन, किनकि किता त्यसले एउटालाई तुच्छ ठानेर अर्कोलाई मान गर्छ, अथवा त्यो एउटासँग लागेर अर्कोलाई तुच्छ ठान्छ। तिमीहरू परमेश्‍वर र धन दुवैको सेवा गर्नसक्‍तैनौ।”—लूका १६:९-१३.

१०. “अधर्मको धन” प्रयोग गर्दा विश्‍वासयोग्य भएको कुरा हामी कसरी देखाउन सक्छौं?

१० सन्दर्भलाई विचार गर्ने हो भने लूका १६:१० मा दिइएका येशूका शब्दहरू विशेष गरी “अधर्मको धन” अर्थात्‌ हाम्रो भौतिक स्रोत-साधन वा सम्पत्तिको प्रयोगसित सम्बन्धित छ। यसलाई अर्धमको धन भन्‍नुको कारण के हो भने भौतिक सम्पत्ति, विशेष गरी पैसा पापी मानिसहरूको नियन्त्रणमा छ। साथै, धन-सम्पत्ति प्राप्त गर्ने लालसाले अधर्मी कामहरूतर्फ डोऱ्‍याउन सक्छ। आफ्नो भौतिक धन-सम्पत्ति बुद्धिमानीसाथ प्रयोग गरेर हामी आफू विश्‍वासयोग्य भएको कुरा देखाउँछौं। आफ्नै स्वार्थ पूरा गर्न प्रयोग गर्नुको सट्टा हामी आफ्नो भौतिक धन-सम्पत्ति परमेश्‍वरको राज्य गतिविधिलाई अघि बढाउन र खाँचोमा परेकाहरूलाई मदत दिनको लागि प्रयोग गर्न चाहन्छौं। यसरी विश्‍वासी हुँदा हामीले यहोवा परमेश्‍वर र येशू ख्रीष्टलाई आफ्नो मित्र बनाउँछौं जो “अनन्त बासस्थानहरू[का]” मालिक हुनुहुन्छ। स्वर्गमा वा पार्थिव प्रमोदवनमा अनन्त जीवन दिएर उहाँहरूले हामीलाई त्यस ठाउँमा स्वागत गर्नुहुनेछ।

११. यहोवाका साक्षीहरूले गरिरहेका विश्‍वव्यापी कार्यका लागि हामी अनुदान स्वीकार्छौं भनेर घरधनीहरूलाई बताउन किन हिचकिचाउनु हुँदैन?

११ परमेश्‍वरको राज्यसन्देश मानिसहरूलाई बताउने बेला हामीले बाइबल वा बाइबलआधारित साहित्यहरू प्रस्तुत गरेका मानिसहरूलाई यहोवाका जनहरूको विश्‍वव्यापी कार्यका लागि हामी अनुदान स्वीकार्छौं भनी बताउँदा हामीले तिनीहरूलाई कस्तो मौका दिइरहेका हुन्छौं विचार गर्नुहोस्‌ त। के हामीले तिनीहरूलाई आफ्नो भौतिक धन-सम्पत्ति बुद्धिमानीपूर्वक सदुपयोग गर्ने मौका दिइरहेका हुँदैनौं र? लूका १६:१० खास गरी भौतिक स्रोत-साधानहरूको प्रयोगसित सम्बन्धित भए तापनि त्यहाँ दिइएको सिद्धान्त जीवनका अरू क्षेत्रहरूमा पनि लागू हुन्छ।

इमानदारिता महत्त्वपूर्ण छ

१२, १३. कुन-कुन क्षेत्रमा हामी इमानदारिता देखाउन सक्छौं?

१२ प्रेरित पावलले यस्तो लेखे: “सबै कुरामा इमान्दारीसाथ रहने इच्छा गरेर हाम्रो असल विवेक छ भनी हामी विश्‍वास गर्दछौं।” (हिब्रू १३:१८) “सबै कुरामा” पक्कै पनि आर्थिक कारोवारहरू लगायत सम्पूर्ण कुराहरू पर्छन्‌। आफूले तिर्नुपर्ने ऋण र करहरू हामी कुनै ढिलासुस्ती नगरीकन इमानदारितापूर्वक तिरिहाल्छौं। किन? हाम्रो अन्तस्करणको खातिर र विशेष गरी परमेश्‍वरप्रतिको प्रेम तथा उहाँका निर्देशनहरूप्रतिको आज्ञाकारिताद्वारा उत्प्रेरित भएर हामी यसो गर्छौं। (रोमी १३:५, ६) कसैको हराएको सामान भेट्टाउँदा हामी के गर्छौं? त्यो सामान जसको हो, त्यही व्यक्‍तिलाई फर्काउने कोसिस हामी गर्छौं। त्यस व्यक्‍तिको सामान फर्काउन हामी कुन कुराले गर्दा उत्प्रेरित भयौं भनी बताउँदा साक्षी दिने कस्तो राम्रो मौका मिल्छ!

१३ सबै कुरामा विश्‍वासी र इमानदार हुनुमा काम गर्ने ठाउँमा इमानदार हुनु पनि समावेश छ। काममा इमानदार भयौं भने यसले हाम्रो परमेश्‍वरतर्फ मानिसहरूको ध्यान खिच्छ। अल्छी गरेर हामी काम ‘चोर्दैनौं।’ बरु, यहोवाको लागि काम गरेको जस्तै सम्झेर हामी परिश्रम गर्छौं। (एफिसी ४:२७, २८; कलस्सी ३:२३) एउटा अनुमानअनुसार एउटा युरोपेली मुलुकमा बिरामी बिदा लिनको लागि डाक्टरको सिफारिस माग्ने एक तिहाइ कामदारहरू वास्तवमा बिरामी भएकै हुँदैनन्‌। परमेश्‍वरका साँचो सेवकहरूले काममा नजानको लागि नाना किसिमको बहाना बनाउँदैनन्‌। यहोवाका साक्षीहरूको इमानदारिता र कडा परिश्रम देखेर कहिलेकाहीं हाकिमहरूले तिनीहरूको बढुवा गरिदिएका छन्‌।—हितोपदेश १०:४.

हाम्रो मसीही सेवकाईमा विश्‍वासी

१४, १५. हामीले आफूलाई मसीही सेवकाईमा विश्‍वासी साबित गर्न सक्ने केही तरिकाहरू के-के हुन्‌?

१४ हामीलाई सुम्पिएको सेवकाईमा विश्‍वासयोग्य भएको कुरा हामी कसरी देखाउँछौं? बाइबल यसो भन्छ: “हामी निरन्तर स्तुतिको बलिदान परमेश्‍वरलाई चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १३:१५) क्षेत्र सेवकाईमा विश्‍वासयोग्य भएको देखाउने प्रमुख तरिका नियमित तवरमा क्षेत्र सेवकाईमा भाग लिनु हो। महिनामा एक चोटि पनि यहोवा र उहाँको उद्देश्‍यबारे साक्षी नदिने के कुनै कारण छ र? प्रचारकार्यमा नियमित रूपले भाग लिंदा यसले हाम्रो कौशलता र प्रभावकारिता बढाउन पनि मदत गर्छ।

१५ क्षेत्र सेवामा विश्‍वाययोग्य भएको कुरा प्रकट गर्ने अर्को एउटा राम्रो तरिका प्रहरीधरहरा र हाम्रो राज्य सेवकाई-मा दिइएका सल्लाहहरू प्रयोगमा ल्याएर हो। सुझावित प्रस्तुतिहरू वा अन्य व्यावहारिक प्रस्तुतिहरू तयार गरेर प्रयोगमा ल्याउँदा के हामी आफ्नो सेवकाई अझ बढी फलदायी भएको पाउँदैनौं र? राज्यसन्देशप्रति चासो देखाउने व्यक्‍ति भेट्टाउँदा तिनको चासो नसेलाओस्‌ भनेर के हामी तुरुन्तै तिनलाई भेट्‌न जान्छौं? अनि चासो देखाउने व्यक्‍तिहरूसित हामीले सुरु गरेको गृह बाइबल अध्ययन नि? तिनीहरूसित नियमित तवरमा बाइबल अध्ययन सञ्चालन गर्ने सन्दर्भमा के हामी भरपर्दो र विश्‍वासी छौं? सेवकाईमा विश्‍वासी साबित हुँदा हाम्रो र हाम्रो कुरा सुन्‍नेहरूको जीवन बच्न सक्छ।—१ तिमोथी ४:१५, १६.

संसारबाट अलग रहने

१६, १७. हामी संसारबाट अलग छौं भनेर कुन-कुन तरिकामा देखाउन सक्छौं?

१६ परमेश्‍वरलाई प्रार्थना गर्दा येशूले आफ्ना अनुयायीहरूबारे यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गऱ्‍यो, किनकि तिनीहरू संसारका होइनन्‌, जस्तो म संसारको होइनँ। तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌। जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” (यूहन्‍ना १७:१४-१६) तटस्थता, धार्मिक उत्सव तथा प्रचलनहरू र अनैतिकताजस्ता ठूलठूला विषयहरूमा संसारबाट अलग रहन हामी दृढ र कटिबद्ध हौंला। तर सानातिना कुराहरूमा नि? चालै नपाई कतै हामी संसारिक तौर-तरिकाहरूद्वारा प्रभावित भइरहेका त छैनौं? उदाहरणका लागि, हामी होसियार भएनौं भने हाम्रो पहिरन अभद्र र अनुचित हुन कत्ति बेर पनि लाग्दैन! विश्‍वासी हुनुमा पहिरन र कोरीबाटीको क्षेत्रमा “लज्जालु र सरल” हुनु समावेश छ। (१ तिमोथी २:९, १०) हो, “हाम्रो सेवामा कलङ्‌क नलागोस्‌ भनेर हामी कुनै कुरामा केही बाधा दिन्‍नौं, तर हरेक कुरामा हामी आफैलाई परमेश्‍वरका सेवकजस्तो देखाउँछौं।”—२ कोरिन्थी ६:३, ४.

१७ यहोवाको आदर गर्ने इच्छा भएको हुँदा मण्डलीका सभाहरूमा हामी भद्र पहिरन लगाउँछौं। सम्मेलन तथा अधिवेशनहरूमा ठूलो संख्यामा भेला हुँदा पनि हामी यसै गर्छौं। हाम्रो पहिरन समय र ठाउँ सुहाउँदो र हेर्दा लाजमर्दो नदेखिने हुनुपर्छ। हामीलाई हेर्नेहरूको लागि यो नै एउटा साक्षी हुन्छ। पावल र तिनका सँगी मसीहीहरूको काममाझैं स्वर्गदूतहरूले हाम्रो काममा पनि चासो लिन्छन्‌। (१ कोरिन्थी ४:९) वास्तवमा, हाम्रो पहिरन र कोरीबाटी सधैं सुहाउँदो हुनुपर्छ। कसैकसैलाई पहिरनको छनोट सानो कुराजस्तो लाग्ला तर परमेश्‍वरको नजरमा यो महत्त्वपूर्ण कुरा हो।

विश्‍वासी रहँदाका आशिष्‌हरू

१८, १९. विश्‍वासी रहँदा कस्ता आशिष्‌हरू प्राप्त हुन्छ?

१८ साँचो मसीहीहरूलाई “परमेश्‍वरको नाना प्रकारको अनुग्रहको असल कारिन्दाहरू” भनी वर्णन गरिएको छ। त्यसैले तिनीहरू “परमेश्‍वरले दिनुभएको बल[मा]” निर्भर छन्‌। (१ पत्रुस ४:१०, ११) साथै, कारिन्दाहरूको हैसियतमा हामीलाई सुम्पिएको कुरा अर्थात्‌ सेवकाईलगायत परमेश्‍वरको असीम अनुग्रहको अभिव्यक्‍ति हाम्रो आफ्नो होइन। आफूलाई असल कारिन्दा साबित गर्न हामी परमेश्‍वरले दिनुहुने शक्‍तिमा भर पर्छौं र त्यो “असामान्य शक्‍ति” हो। (२ कोरिन्थी ४:७, NW) भविष्यमा आउन सक्ने जस्तोसुकै परीक्षाहरूका लागि हामीलाई तयार पार्न कस्तो राम्रो प्रशिक्षण!

१९ भजनहारले यसरी गाए: “हे सबै भक्‍त हो, परमप्रभुलाई प्रेम गर। विश्‍वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ।” (भजन ३१:२३) यहोवा “सबै मानिसका, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेका, मुक्‍तिदाता हुनुहुन्छ” भन्‍ने कुरामा पूर्ण विश्‍वस्त हुँदै आफूलाई विश्‍वासी साबित गर्न हामी कटिबद्ध होऔं।—१ तिमोथी ४:१०.

के तपाईंलाई याद छ?

• हामी किन “थोरै कुरामा विश्‍वासी” हुनुपर्छ?

• निम्न क्षेत्रहरूमा हामी कसरी विश्‍वासी साबित हुन सक्छौं?

इमानदारिताको सन्दर्भमा

सेवकाईमा

संसारबाट अलग रहने सन्दर्भमा

[पृष्ठ २६-मा भएका चित्रहरू]

जो थोरै कुरामा विश्‍वासी हुन्छ, त्यो धेरै कुरामा पनि विश्‍वासी हुन्छ

[पृष्ठ २९-मा भएको चित्र]

‘सबै कुरामा इमानदार हुनुहोस्‌’

[पृष्ठ २९-मा भएको चित्र]

आफू विश्‍वासी भएको देखाउने एउटा राम्रो तरिका क्षेत्र सेवकाईको लागि राम्रो तयारी गर्नु हो

[पृष्ठ ३०-मा भएको चित्र]

पहिरन तथा कोरीबाटीमा भद्र हुनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने