अध्याय १३
परमेश्वरको शान्तिपूर्ण सरकार
१. मानव सरकारहरू के गर्न असफल भए?
कत्तिकै असल उद्देश्य भएका मानव सरकारहरू पनि, मानिसहरूका वास्तविक आवश्यकताहरूको पूर्ति गर्न सफल भएका छैनन् भन्ने कुरामा के तपाईंले विचार गर्नु भएको छ? कसैले पनि अपराध र जातीय घृणाका समस्याहरूको समाधान गर्न सकेका छैनन् र नता आफ्ना मानिसहरूकालागि उपयुक्त भोजन र बस्ने घरनै प्रदान गर्न सकेकाछन्। तिनीहरूले आफ्ना नागरिकहरूलाई बिमारीबाट पूर्णतया छुटकारा पनि दिलाउन सकेका छैनन्। नता कुनै सरकारले बृद्धावस्था वा मृत्युलाई नै रोक्न सकेकाछन्। मरेकालाई बिउँताउन सकेका छैनन्। आफ्ना नागरिकहरूलाई स्थायी शान्ति र सुरक्षा, कुनै पनि सरकारले प्रदान गर्न सकेको छैन। मानिसहरूले मुकाविला गर्नुपर्ने ठूला समस्याहरूको समाधान गर्ने क्षमता मानवीय सरकारहरूमा कदापि पनि छैन।
२. बाइबलको मुख्य सन्देश के हो?
२ सबै मानिसहरूले एउटा पूर्ण र सुखी जीवनको आनन्द उठाउन सम्भव पार्नकालागि, हामीहरूलाई एउटा न्याययुक्त सरकारको कत्तिको खाँचो छ भन्ने कुराको जानकारी हाम्रो सृष्टिकर्तालाई छ। त्यसै कारण परमेश्वरद्वारा निर्देशित एउटा सरकारको कुरा बाइबलमा गरिएको छ। यथार्थमा, प्रतिज्ञा गरिएको परमेश्वरको सोही राज्य बाइबलको मुख्य सन्देश हो।
३. यशैया ९:६, ७ ले परमेश्वरको सरकारको विषयमा के भन्दछ?
३ तर तपाईं सोध्न सक्नु हुन्छ: ‘परमेश्वरको राज्य वारे बाइबलमा कहाँ भनिएको छ?’ उदाहरणतया, बाइबलले यशैया ९:६, ७ मा भन्दछ। किंग जेम्स भर्सन अनुसार, माथि उल्लेखित पदहरूमा भनिएको छ: “किनभने हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हाथमा हुनेछ। उहाँको नाउँ उदेकका बुद्धि निकाल्नुहुने, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाइनेछ। उहाँको शासन र शान्तिको बृद्धिको अन्त कहिल्यै हुनेछैन।”
४. परमेश्वरको सरकारको शासक हुने त्यो बालक को हो?
४ बाइबल यहाँ एउटा पुत्र, एउटा राजकुमारको जन्म वारे कुरा गर्दैछ। समयमा, ‘राजाको पुत्र’ एउटा महान शासक हुनुहुने थियो, र जसलाई “शान्तिको राजकुमार” भनिने थियो। उहाँले साँच्चीकै एउटा विलक्षण सरकारको जिम्मेवारी पाउँनु हुनेछ। त्यो सरकारले सारा पृथ्वीमा शान्ति ल्याउँनेछ र सो शान्ति सदाकालागि कायम रहनेछ। त्यो बालक, जसको जन्म वारे पूर्व सूचना यशैया ९:६, ७ मा दिइएको थियो, सो येशू हुनुहुन्थियो। कन्नेकेटी मरियमद्वारा उहाँको जन्मको घोषणा गर्दा, स्वर्गदूत गब्रिएलले येशू वारे यसो भने: “उहाँले राजाको रूपमा राज्य गर्नु हुनेछ . . . र उहाँको राज्यको अन्त हुनेछैन.”—लूका १:३०-३३.
राज्यको महत्वमाथि जोर दिनु
५. (क) बाइबलमा राज्यको महत्वलाई कसरी देखाइएको छ? (ख) परमेश्वरको राज्य के हो र यसले के गर्ने छ?
५ पृथ्वीमा हुँदा येशू ख्रीष्ट र उहाँका समर्थकहरूको मुख्य काम, परमेश्वरको आउनेवाला राज्यको प्रचार गर्नु र त्यसवारे शिक्षा दिनु थियो। (लूका ४:४३; ८:१) तिनीहरूले सो राज्य वारे बाइबलमा लगभग १४० पटक चर्चा गरेकाछन्। येशूले आफ्ना चेलाहरूलाई त्यसकालागि परमेश्वर सँग प्रार्थना गर्न यसरी सिकाउनु भयो: “तपाईंको राज्य आओस् तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।” (मत्ती ६:१०, किंग जेम्स भर्सन) यो राज्य जसकालागि मसीहीहरू प्रार्थना गर्दछन् के वास्तवमा एउटा सरकार हो? शायद तपाईंले यस्तो सोंच्नु भएको छैन होला, तर यो वास्तवमा एउटा सरकार हो। परमेश्वरका पुत्र, येशू ख्रीष्ट, त्यस राज्यको राजा हुनुहुन्छ। सारा पृथ्वीमा उहाँले राज्य गर्नु हुनेछ। मानिसहरू विभिन्न विरोधी राष्ट्रमा विभाजित नभएर, परमेश्वरको राज्यको सरकारका अधीनमा रहेर, शान्तिपूर्ण ढङ्गले सबै मानव एकतामा बाँधिनु कस्तो राम्रो कुरा हुनेछ!
६. येशू पृथ्वीमा हुनुहुँदा, राज्य “नजिक” छ र “तिमीहरूको बीचमा” छ किन भनिएको थियो?
६ बप्तिस्मा दिने यूहन्नाले मानिसहरूलाई यसो भन्दै यस राज्य वारे प्रचार गर्न शुरू गरे: “पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ।” (मत्ती ३:१, २) यूहन्नाले यसो किन भन्न सके? किनभने, परमेश्वरको स्वर्गीय राज्यको शासक हुने व्यक्ति, येशूलाई उनले बप्तिस्मा दिनलागेका थिए र परमेश्वरको पवित्र आत्मा द्वारा उहाँ अभिषिक्त हुनेवाला हुनुहुन्थ्यो। त्यसकारण तपाईं बुझ्न सक्नु हुन्छ, पछि गएर फरिसीहरूलाई उहाँले किन यसो भन्नुभएको: “हेर, परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ।” (लूका १७:२१) किनभने परमेश्वरले नियुक्त गर्नु भएको राजा, येशू, त्यहीं तिनीहरूकै बीचमा हुनुहुन्थ्यो। आफ्नो साढ़े तीन वर्षको प्रचारगर्ने र शिक्षा दिने दौडानमा, मृत्यु सम्म परमेश्वर प्रति वफादार रहनु भएर, येशूले आफू राजा हुने अधिकार सिद्ध गर्नु भयो।
७. येशू पृथ्वीमा हुँदा राज्य किन एउटा महत्वपूर्ण विवादको विषय थियो?
७ ख्रीष्टको सेवकाईमा महत्वपूर्ण विवादको विषय, परमेश्वरको राज्यनै थियो भन्ने कुरा देखाउँन, उहाँको मृत्यु हुनु भन्दा अगाड़ि को आखिरी दिनमा के भयो भन्ने कुरामा ध्यान दिउँ। बाइबलले हामीलाई बताउँछ कि येशूलाई दोष लगाउँदै मानिसहरूले यसो भने: “हाम्रो जातिलाई यसले बहकाउन लागेको, र सिजरलाई कर तिर्न रोकेको र आफैलाई चाहिं ‘म राजा हुँ’ भनेको हामीले फेला पाऱ्यौं।” यी कुराहरू सुने पछि रोमी राज्यपाल पोन्तियस पिलातसले येशूलाई सोधे: “के तिमी यहूदीहरूका राजा हौ?”—लूका २३:१-३.
८. (क) येशूलाई उहाँ राजा हुनुहुन्छ कि भनेर प्रश्न गर्दा, कसरी जवाफ दिनुभयो? (ख) येशूले उहाँको राज्य “यहाँको होइन” भन्नुको अर्थ के थियो?
८ येशूले पिलातसलाई सोझो उत्तर नदिएर यसो भन्नुभयो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूका हाथमा नसुम्पिनालाई मेरा चाकरहरूले लड़ाइँ गर्नेथिए, तर अब मेरो राज्य यहाँको होइन।” उहाँको राज्य पार्थिव राज्य नहुने हुनाले, येशूले यस प्रकारको उत्तर दिनु भयो। पृथ्वीको कुनै राजगद्दीमा मानिस बसे जस्तै नबसेर, उहाँ स्वर्गबाट शासन गर्नु हुने थियो। राजाको हैसियतमा शासन गर्ने अधिकार येशूको थियो वा थिएन भन्ने कुरानै विवादको विषय भएकोले, पिलातसले येशूलाई सोधे: “के तब तिमी राजानै हौ ता?”
९. (क) येशूले के अद्भुत सत्यको जानकारी दिनुभयो? (ख) आजका ठूल-ठूला प्रश्नहरू के हुन्?
९ स्पष्टतया, एउटा नया राज्य वारे येशूले प्रचार गर्नु भएको र शिक्षा दिनु भएको हुनाले उहाँको जीवन जोखिममा परेको थियो। त्यसकारण, येशूले पिलातसलाई जवाफ दिनुभयो: “म राजा हुँ भनी तपाईंनै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिउँ भनेर म यस संसारमा आएको हुँ। सत्यको जो छ, हरेकले मेरो सोर सुन्छ।” (यूहन्ना १८:३६, ३७) हो, परमेश्वरको राजकीय सरकार वारेको अद्भुत सच्चाइवारे मानिसहरूलाई भन्नुमानै येशूले आफ्नो जीवन यस पृथ्वीमा बिताउनु भयो। यो नै उहाँको मुख्य सन्देश थियो। र आज पनि राज्य नै अति महत्वपूर्ण विवादको विषय रहेको छ। तथापि, अझै यी प्रश्नहरू बाँकी छन्: मानिसको जीवनमा कुन सरकारले महत्व राख्दछ? मानिसले चलाएको कुनै सरकार, अथवा ख्रीष्ट शासक हुनुभएको परमेश्वरको राज्य?
पृथ्वीकालागि नया सरकारको प्रबन्ध गर्नु
१०. (क) एउटा नया सरकारको आवश्यकता परमेश्वरले कहिले देख्नु भयो? (ख) बाइबलमा यस सरकारको विषयमा सर्वप्रथम कहाँ उल्लेख गरिएको छ? (ग) सर्पले कसको प्रतिनिधित्व गर्दछ?
१० शैतानले आदम र हव्वालाई उसले गरेको विद्रोहमा शामिल गराए पछि, यहोवाले मानिसहरूकालागि एउटा नया सरकारको आवश्यकता देख्नु भयो। त्यसकारण, त्यस प्रकारको एउटा सरकार गठन गर्ने उहाँको उद्देश्य वारे परमेश्वरले तुरुन्तै भन्नुभयो। उहाँले सर्पलाई, वास्तवमा शैतान अर्थात दियावललाई, दण्ड सुनाउँनु हुँदा यस सरकारवारे सङ्केत गर्नु भएको छ: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”—उत्पत्ति ३:१४, १५.
११. कस-कसको बीचमा घृणा उत्पन्न हुनेवाला थियो?
११ तर तपाईं सोध्न सक्नु हुन्छ: ‘सरकार वारे यहाँ कहाँ केही भनिएको छ र?’ यो विवरणलाई अलिक ध्यान दिएर विचार गऱ्यौं भने हामीले देख्ने छौं। शैतान र “त्यो स्त्री” बीच दुश्मनी, वा घृणा हुनेछ भनेर शास्त्रले भन्दछ। यस अतिरिक्त, शैतानको “सन्तान” अर्थात बच्चाहरू र स्त्रीको “सन्तान” अर्थात बच्चाहरूका बीच घृणा उत्पन्न हुने थियो। सर्व प्रथम, “त्यो स्त्री” को हो भनेर हामीले पत्ता लगाउन जरुरी छ।
१२. प्रकाशको १२ वाँ अध्यायमा “स्त्रीको” विषयमा के भनिएको छ?
१२ ती कुनै एउटी पार्थिव स्त्री होइनन्। कुनै पनि मानवीय स्त्री प्रति शैतानको विशेष घृणा थिएन। बरू, यो एउटी लाक्षणिक स्त्री हो। यसको अर्थ, यसले अरूनै कुराको प्रतिनिधित्व गर्दछे। यो कुरा बाइबलको आखिरी पुस्तक, प्रकाशमा देखाइएकोछ, जहाँ त्यसको विषयमा अझ विस्तृत जानकारी दिइएकोछ। त्यहाँ “त्यो स्त्रीलाई” “सूर्य पहिरेकी, चन्द्र खुट्टामनि र शिरमा बाह्रवटा ताराको मुकुट लाएकी” भनेर वर्णन गरिएको छ। त्यो “स्त्री”ले कसलाई प्रतिनिधित्व गर्छे भनेर हामीहरूलाई बुझाउन, त्यसको बच्चावारे प्रकाशमा अगाड़ि एसो भनिएको छ: “सारा जातिलाई फलामको डण्डाले शासन गर्ने एउटा छोरो जन्माई र त्यसको बालक परमेश्वर र उहाँको सिंहासनमा उठाएर लगियो।”—प्रकाश १२:१-५, द येरूसेलम बाइबल.
१३. “छोरो” र “स्त्रीले” के लाई अथवा कसको प्रतिनिधित्व गर्दछन्?
१३ त्यो “छोरो” को हो र के हो भन्ने विषयमा जानकारी प्राप्त गऱ्यौं भने, “स्त्रीले” कसलाई अथवा के को प्रतिनिधित्व गर्दछे भन्ने कुरा थाह लगाउनमा मदद मिल्ने छ। त्यो बालक एउटा वास्तविक व्यक्ति होइन र स्त्री पनि वास्तविक मानव स्त्री होइन। यो “छोरोले” “सारा जातिलाई शासन गर्नेछ” भनेर शास्त्रको पदले देखाउँछ। त्यसकारण, “छोरोले” परमेश्वरको राज्यलाई प्रतिनिधित्व गर्दछ जसमाथि येशू ख्रीष्ट राजाको रूपमा शासन गर्नु हुनेछ। “स्त्रीले”, त्यसो भए, विश्वासी स्वर्गीय प्राणीहरू द्वारा गठित परमेश्वरको सङ्गठनलाई प्रतिनिधित्व गर्दछे। जसरी “छोरो” “स्त्री” बाट आयो, ठीक त्यसै गरी, संयुक्त भएर परमेश्वरको उद्देश्य पूरा गर्न स्वर्गमा भक्त आत्मिक प्राणीहरू द्वारा बनेको परमेश्वरको सङ्गठनबाट, राजा, येशू ख्रीष्ट आउनु भएको हो। गलाती ४:२६ ले यस सङ्गठनलाई “माथिको यरूसेलम” भनेको छ। अत:, जब आदम र हव्वाले परमेश्वरको शासनको विरुद्ध विद्रोह गरे, यहोवाले धार्मिकताका प्रेमीहरूकालागि एउटा आशाको केन्द्र-बिन्दुको रूपमा एउटा राजकीय सरकारको प्रबन्ध गर्नुभयो।
यहोवाले आफ्नो प्रतिज्ञा सम्झिनु हुन्छ
१४. (क) शैतानलाई कुच्याउने “सन्तानको” विषयमा गर्नु भएको प्रतिज्ञालाई यहोवाले सम्झिनु भएको छ भनेर कसरी प्रदर्शित गर्नु भयो? (ख) प्रतिज्ञा गरिएको “सन्तान” को हो?
१४ परमेश्वरको राज्यको शासक हुने एउटा “सन्तानलाई” पठाउने आफ्नो प्रतिज्ञालाई यहोवाले बिर्सिनु भएन। यस शासकले शैतानको शिरलाई कुल्चेर नाश गर्ने थियो। (रोमी १६:२०; हिब्रू २:१४) पछि, यहोवाले भन्नुभयो कि त्यो प्रतिज्ञा गरिएको सन्तान विश्वासी मानिस अब्राहामबाट आउनेछ। यहोवाले अब्राहामलाई भन्नुभयो: “तेरै सन्तान द्वारा पृथ्वीका सबै जातिहरू आशिर्वादी हुनेछन्।” (उत्पत्ति २२:१८) अब्राहामको वंशबाट आउने छ भनेर प्रतिज्ञा गरिएको त्यो “सन्तान” को हो? बाइबलले पछि गएर यसो भन्दै जवाफ दिएको छ: “अब अब्राहामलाई र उनका वंशलाई सो प्रतिज्ञाहरू बोलिएको हो। वंशहरूलाई भनी धेरै जनालाई भने झैं गरी होइन, तर एकै जनालाई: ‘तेरो वंशलाई,’ जो ख्रीष्ट हुनुहुन्छ।” (गलाती ३:१६) अब्राहामको छोरो इसहाक र उसको नाती याकूब समेतलाई पनि तिनीहरूको वंशबाट परमेश्वरकी “स्त्रीको” “सन्तान” आउनेछ भनेर यहोवाले भन्नुभयो।—उत्पत्ति २६:१-५; २८:१०-१४.
१५, १६. त्यो “सन्तान” शासन गर्ने राजा हुनेवाला थियो भनेर कुन कुराले सिद्ध गर्दछ?
१५ यो “सन्तान” एउटा राजा हुनेछ भन्ने कुरालाई स्पष्ट पार्दै, याकूबले आफ्नो छोरो यहूदालाई यसो भन्यो: “यहूदाको हाथबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाको बीचबाट हटनेछैन, जबसम्म शीलो आउँदैन। औ मानिसहरू उहाँको आज्ञाकारी बन्नेछन्।” (उत्पत्ति ४९:१०) येशू ख्रीष्ट यहूदाको वंशबाट आउँनु भयो। उहाँ त्यो “शीलो” सिद्ध हुनुभयो, जस प्रति “सबै मानिसहरू आज्ञाकारी बन्नेछन्”।—हिब्रू ७:१४.
१६ यहूदालाई भनिएको यो उक्तिको लगभग ७०० वर्ष पछि, यहूदाका वंशका दाऊद वारे यहोवाले यसो भन्नुभयो: “मैले मेरो दास दाऊदलाई पाएको छु . . . र म तिनको सन्तानलाई सदाको लागि, र तिनको सिंहासनचाहिं स्वर्गका दिनझैं रहनदिनेछु।” (भजन संग्रह ८९:२०, २९) दाऊदको “सन्तानलाई” “सदाका लागि” बसाल्ने र “तिनको सिंहासन स्वर्गका दिनझैं” कायम रहने भनेर परमेश्वरले भन्नुभएको कुराको अर्थ के हुनसक्छ? उहाँबाट नियुक्त गरिनु भएको शासक, येशू ख्रीष्टको हाथमा राजकीय सरकार सदाकालागि कायम रहने छ भन्ने कुरालाई यहोवा सङ्केत गर्दै हुनुहुन्थियो। यो हामीहरू कसरी बुझ्दछौं?
१७. प्रतिज्ञा गरिएका शासक येशू ख्रीष्ट हुनुहुन्छ भनेर हामीहरू कसरी बुझ्दछौं?
१७ मरियमले जन्माउने छोरो वारे यहोवाका स्वर्गदूत गब्रिएलले मरियमलाई भनेको कुरालाई याद गर्नुहोस्। उसले भन्यो: “तिमीले उहाँको नाउँ येशू राख्नू।” तर येशू सधैंनै यस पृथ्वीमा बालक अथवा मानिस भएर बस्नु हुने थिएन। गब्रिएलले अगाड़ि भन्यो: “उहाँ महान हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ; औ परमप्रभु (यहोवा, न्यु.व.) ले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ, र उहाँले याकूबको घरानामाथि सदा सर्वदै राज्य गर्नु हुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन।” (लूका १:३१-३३) यहोवाले, उहाँलाई प्रेम र विश्वास गर्नेहरूको चिरस्थायी लाभकालागि, एउटा न्याययुक्त सरकार कायम गर्ने प्रबन्ध मिलाउनु भएको, के साँच्चैनै अद्भुत कुरा होइन र?
१८. (क) पार्थिव सरकारहरूको अन्तको वर्णन बाइबलले कसरी गर्दछ? (ख) परमेश्वरको सरकारले मानिसहरूकालागि के गर्ने छ?
१८ परमेश्वरको राजकीय सरकारले अरू सबै सरकारहरूलाई नाश गर्ने समय अब नजिकै छ। त्यसबेला येशू ख्रीष्टले एउटा विजेता राजाको रूपमा कारबाई शुरू गर्नु हुनेछ। यस लड़ाइँको वर्णन गर्दै बाइबल भन्दछ: “औ ती राजाहरूका समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नु हुनेछ जो कहिल्यै नाश हुनेछैन . . . त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर त्यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” (दानियल २:४४; प्रकाश १९:११-१६) अन्य सबै सरकारहरू नष्ट भइसके पछि, परमेश्वरको सरकारले मानिसहरूको वास्तविक आवश्यकताहरूको पूर्ति गर्नेछ। यो सरकारका शासक, येशू ख्रीष्टले, उहाँका कुनै पनि विश्वासी प्रजालाई बिरामी पर्न, बृद्ध हुन वा मर्न दिनु हुने छैन। अपराध, घरको कमी, भोक र त्यस्ता अन्य समस्याहरूको समाधान हुनेछ। सारा पृथ्वीभरि वास्तविक शान्ति र सुरक्षा हुनेछ। (२ पत्रुस ३:१३; प्रकाश २१:३-५) तथापि, हामीहरूले परमेश्वरको राजकीय सरकारको शासक हुनेहरूको विषयमा अझ अरू जानकारी लिन आवश्यक छ।
[पृष्ठ ११२, ११३-मा भएको चित्र]
येशूले आफ्ना अनुयायीहरूलाई परमेश्वरको राज्यको विषयलाई प्रचार गर्ने महत्वपूर्ण कार्य गर्न पठाउनु भयो
[पृष्ठ ११४-मा भएको चित्र]
आफ्नो जीवनसँग सम्बन्धित मुद्दा चलेको बेलामा पनि येशूले परमेश्वरको राज्य प्रचार गर्ने काम जारीनै राख्नु भयो
[पृष्ठ ११९-मा भएको चित्र]
तपाईं येशूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ—एउटा विजयी राजाको रूपमा वा एउटा नि:सहाय बालकको रूपमा?