अगोरा—पुरातन एथेन्सको मुटु
एथेन्सका बुद्धिजीवीहरूबीच तहल्का मच्चिरहेको थियो! यस युनानी शहरको अगोरा वा बजारमा नयाँ नयाँ विचारहरू सधैं प्रचारप्रसारमा आइरहन्थे। तथापि, यस पटकको कुरा अर्कै छ। भर्खरै मात्र शहर पसेका एक खास यहूदी पुरुष “अनौठा देवहरूको विषयमा सिकाउने” व्यक्तिजस्ता देखिन्थे। तिनले “भेट गर्ने जतिसँग” चाखलाग्दो विषयमा कुरा गरिरहेका थिए। घमण्डी इपिक्युरी तथा गम्भीर भई टोपल्ने स्तोइकीहरूले सोधे, “यस बकबकेले के भन्दछ?” हो, एथेनियन अगोरा, जुनसुकै विषयमाथि खुल्ला वादविवाद गर्ने अखडा थियो। तर अनौठा देवहरूको परिचय दिनु, त्यो चाहिं तिनीहरूका निम्ति अति नै थियो!—प्रेरित १७:१७, १८.
प्रेरित पावलले पहिलो पटक एथेन्सको अगोरामा प्रचार गर्दा त्यहाँका मानिसहरूले यस्तै शंका व्यक्त गरेका थिए। तिनले येशू ख्रीष्ट र पुनरुत्थानबारे बताइरहेका थिए। तर खुल्ला मन राख्ने संस्कार भएका एथेन्सवासीहरूले अगोरामा यस्तो नयाँ विचार प्रस्तुत गर्दा आपत्ति जनाउनुपर्ने त्यस्तो के कारण थियो?
एथेन्समा चौतारो बन्छ
अगोरा आफै र एथेन्सवासीहरूको धर्म र जीवनमा यसले खेलेको महत्त्वपूर्ण भूमिका नै विशिष्ट थियो। आक्रोपोलिसको उत्तरपश्चिममा पर्ने लगभग १० हेक्टरसम्म फैलिएको एथेन्सको अगोरा केही भिरालो इलाकामा पर्छ। सा.यु.पू. छैटौं शताब्दीको सुरुतिर एथेन्सका राजनीतिज्ञ तथा विधायक सोलोमको जीवनकालमा यो भूभाग शहरको चौतारोको रूपमा स्थापित भएको थियो जस्तो देखिन्छ। एथेन्समा प्रजातान्त्रिक व्यवस्थाको स्थापना भएपछि शहरी जनजीवन असाध्यै बढ्न थाल्यो। फलतः सातौं शताब्दीको सुरुतिर निर्माण कार्यहरू धमाधम हुन थाले। यसले गर्दा अगोरा झन् प्रभावशाली तथा महत्त्वपूर्ण भयो।
युनानी शब्द अगोरा “जम्मा हुनु, भेला हुनु” अर्थ लाग्ने क्रियाको मूल हो। शहरको भेटघाट गर्ने प्रमुख स्थल भएकोले अगोराले निर्वाह गरेको भूमिकासित यो मेल खान्छ। अगोरा सामाजिक तथा लोक जनजीवनको मुख्य भाग हुन पुग्यो। अगोरा प्रशासन तथा न्यायिक मामिलाको केन्द्र, मुख्य बजार तथा व्यापार केन्द्र, युनानी नाटक मञ्चन गरिने मञ्च, व्यायाम प्रदर्शन गर्ने डबली र बौद्धिक छलफल गर्न भेट्ने उत्तम अखडा बन्न पुग्यो।
के तपाईं एथेन्सको अगोराका मन्दिरहरू, पंक्तिबद्ध स्तम्भहरू, प्रतिमाहरू, स्मारकहरू तथा भवनहरूका भग्नावशेषहरू हेर्न चाहनुहुन्छ? आउनुहोस्, आधुनिक जनजीवनको कोलाहललाई एकैछिन बिर्सौं र रोडा बिछ्याएका बाटाहरू हुँदै संगमरमरका मौन भग्नावशेष, कुँदिएका ढुंगाहरू तथा झारपात र जंगली घाँसपात हलक्क बढेका जीर्ण द्वारहरू छिचोल्दै त्यो जमानाको अगोरा कस्तो थियो, बुझौं।
मन्दिर, वेदी तथा संरक्षक देवदेवीहरू
यहाँ विभिन्न देवदेवीहरूलाई समर्पण गरिएका मन्दिर, वेदी तथा पवित्रस्थलहरू देखेर आगन्तुकहरू प्रभावित हुन्छन्। हुन पनि यी सबले गर्दा नै अगोरा आक्रोपोलिस पछिको दोस्रो स्थानमा आउने उपासनाको केन्द्र भएको थियो। पुरातन एथेन्सको स्वर्णयुगताक आम जनजीवनलाई धर्मले गहिरो छाप पारेको थियो। यसको मतलब, सरकारी विभाग तथा प्राधिकरणहरूका “संरक्षक देवहरू” मानिएका विभिन्न देवदेवीहरूको नाउँमा अगोरामा पवित्र मन्दिरहरू बनाइएका थिए।
यी संरचनाहरूमध्ये सबैभन्दा विशिष्ट हिफेस्टोसको मन्दिर थियो। एथेना देवी हिफेस्टोससित सम्बन्धित थिइन्। यी दुई देवदेवीलाई कला र सीपका संरक्षकको रूपमा पूजा गरिन्थ्यो। उत्खनन गर्दा यस मन्दिर वरपर धातु तथा माटोबाट बनेका कलात्मक वस्तुहरू फेला परेको हुँदा यो मन्दिर, आगोको आवश्यकता बोध गराउने कलाका युनानी देव हिफेस्टोसको नै हो भन्ने स्पष्ट हुन्छ। सायद सा.यु. सातौं शताब्दीतिर यही सुसंरक्षित मन्दिर ग्रीक अर्थोडक्स चर्च अफ सेन्ट जर्जमा परिणत भयो। तर हाल यसको कुनै प्रयोग छैन।
हो, अगोराको पनि आफ्नै संरक्षक देव थियो। तिनी वक्तृत्वकलाका उत्प्रेरक मानिने जूपिटर आगोराओस थिए। तिनको नाउँमा बहुमूल्य पेन्टेलिक मार्बलबाट बनेको बुट्टेदार बेदी समर्पित गरिएको थियो। (प्रेरित १४:११, १२ तुलना गर्नुहोस्।) नजिकै देवहरूकी माताको बेदी थियो र यसका दुवै किनारमा शूरवीरहरूका भव्य स्मारकहरू क्रमैसित राखिएका थिए।
सँगै तर अलि पर हामी सानो आयोनिक मन्दिर भेट्टाउँछौं। भूगोलवेत्ता पाउसानियासअनुसार यो मन्दिर बाबा, अपोलोको थियो। किन? किनकि पुरातन युनानी दन्त्यकथाअनुसार तिनी आयोनियन जातिहरूका संस्थापक आयनका बुबा थिए र एथेन्सवासीहरू पनि आयोनियन जातिबाटै पैदा भएका थिए।a यस कारणले पनि अपोलो राष्ट्रिय प्रशासन र त्यसमा पनि विशेषगरि शहरमा विद्यमान विभिन्न भ्रातृत्वसित सम्बन्धित प्रशासनका संरक्षक थिए।
यसको ठीक उत्तरतिर हामी सा.यु.पू. चौथौं शताब्दीको मध्यताक चून ढुंगाले बनेको एउटा सानो मन्दिरको भग्नावशेष देख्छौं। यहाँ पुर्ख्यौली धार्मिक भ्रातृत्वको प्रमुख देवहरू जूपिटर र एथेना फात्रीओसको उपासना गरिन्थ्यो। त्यसताक एथेन्सको नागरिक हुनुअघि फात्रीसको सदस्य हुनु नितान्त आवश्यक थियो। बाटोपारि बाह्र देवहरूका लागि बनाइएका बेदीहरूको भग्नावशेष हामी देख्छौं।
जूपिटर एलिउथेरियोसको स्टोअ नजिकै युनानीहरूको प्रमुख देवलाई स्वतन्त्रता र छुटकाराका देवको रूपमा फेरि सम्मान दिइएको थियो। यी पंक्तिबद्ध स्तम्भहरू अथवा स्टोअ टहल्नको लागि लोकप्रिय स्थल हुनुका साथै भेटघाट गर्ने अखडा थियो। भनिन्छ, प्रसिद्ध दार्शनिक सुकरात आफ्ना साथीहरूलाई यही स्टोअहरूमा भेट्थे, गफ गर्थे र टहल्थे। यस स्टोअलाई सजाउन यहाँ थुप्रै चिजबिजहरू चढाइए, जस्तै एथेन्सलाई जोगाउँदा वीरगति प्राप्त गरेका लडाकूहरूको ढाल; जुन उक्त शहरलाई त्यसका शत्रुहरूबाट जोगाउनु वा त्यसको स्वतन्त्रतालाई कायमै राख्नुसित प्रत्यक्षतः सम्बन्धित थियो।
पानाथियन मार्ग
अगोरा हुँदै जाने रोडा बिछ्याएको बाटोलाई पानाथियन मार्ग भनिन्छ। यस मार्गको नाउँ तथा विशेषता एथेन्समा मनाइने राष्ट्रिय पर्व पानाथिन्याबाट लिइएको थियो। यस पर्वमा (शहरको पल्लो द्वारमा रहेको) शोभायात्रा गृहबाट एथेना देवीको घुम्टो यही बाटो भएर आक्रोपोलिससम्म लगिन्थ्यो। पार्थेनोन मन्दिरको छतमुनि भित्तामा सिंगारिएका चित्रहरू हेर्दै हामी घोडसवारहरू, दौडिरहेका रथहरू, भेट चढाउन लगिएका गाई र भेडाहरू अनि बलि चढाउँदा चाहिने सरसामान बोकेका ठिटाठिटीहरूको रवाफिलो र भव्य जात्राको कल्पना गर्नसक्छौं। एथेन्सवासीहरू र अतिथिहरू यो जात्रा हेर्थे र तिनीहरूकै सुविधाको लागि अगोरा निर्माण गर्दा वास्तुविद्हरूले थुप्रै प्रबन्धहरू मिलाएका थिए। उदाहरणका लागि, पंक्तिबद्ध स्तम्भहरूमाथि बनाइएका छतको बान्की तथा खुड्किलाहरू उक्त जात्रा राम्ररी हेर्न मिल्नेगरि कुशलतासाथ तयार पारिएका थिए। स्तम्भहरूअगाडि निर्माण गरिएका थुप्रै खुड्किलाहरूमा धेरैभन्दा धेरै दर्शकहरू अटाउनसक्थे।
“मूर्तिहरूले भरिएको”
पाइलैपिच्छे मन्दिर, प्रतिमा तथा स्मारकहरू भएको हुँदा प्रेरित पावल “जम्मै शहर मूर्तिहरूले भरिएको देखेर . . . आत्मामा बेचैनी” हुनु स्वाभाविकै हो। (प्रेरित १७:१६) अगोरामा पस्दा आफूले देखेका कुराहरूले गर्दा पावल पक्कै पनि स्तब्ध भएका हुनुपर्छ। हर्मेस देवका लिंगहरू यत्ति थुप्रै थिए कि ती सबलाई एकै ठाउँमा राख्न हर्मेसको स्टोअ भनेर चिनिने सत्तल नै बनाइयो। हर्मेसको मूर्तिमा भएका वस्त्रहरूमा स्वस्तिक चिह्नहरू अर्थात् प्रजनन शक्ति तथा जीवनका संकेतहरू थिए। लैंगिक प्रेमकी देवी भीनस जेनेट्रिक्सका साथै लिंगहरूको थुप्रै क्रस चिह्न धारण गरेको डायोनिससको एक थरी मूर्ति पनि थियो। अगोरालाई “पवित्रस्थलको” रूपमा मानिन्थ्यो। त्यसैकारण, त्यहाँ प्रवेश गर्नुअघि सबै औपचारिक तवरमा सफा होऊन् भन्नका लागि “पवित्र” पानीले भरिएको कुण्डसहितको ढुंगाको बार लगाइएको थियो।
यस्तो धार्मिक वातावरण भएकोले त्यहाँ पावललाई असाध्यै खतरा भएको कारण सजिलै बुझ्नसक्छौं। “अनौठा देवहरूको विषयमा सिकाउने” व्यक्ति भन्ने आरोप तिनीमाथि लागेको थियो र त्यतिखेर “कुनै पनि व्यक्तिले भिन्नै देवहरू वा नयाँ देवहरू मान्नै नहुने र साथै अनौठा देव सार्वजनिक नगरिएसम्म पुज्नु नहुने” व्यवस्था तोकिएको थियो। त्यसैकारण, प्रेरित पावललाई केरकारका लागि अरैयापागस लगिएको थियो।—प्रेरित १७:१८, १९.
प्रशासनको केन्द्रबिन्दु
थोलोस भनिने गोलघर एथेन सरकारको मुख्यालय थियो। जिम्मेवार कर्मचारीहरूलाई सजिलै भेट्न सकियोस् भन्नाका लागि थुप्रै नगर प्रमुखहरू यही भवनमै सुत्थे। प्रामाणिक नाप तौल पनि थोलोसमा राखिन्थ्यो। विभिन्न प्रशासकीय विभागहरू पनि नजिकै थिए। थोलोसको उत्तरपश्चिमतिर डाँडालाई ताछेर संसद भवन बनाइएको थियो। त्यहाँ ५०० सांसदहरू भेला भएर समितिको काम र समुदायको निम्ति विधान तयार पार्थे।
अर्को महत्त्वपूर्ण प्रशासकीय भवन रोयल स्टोअ थियो। त्यहाँ एथेन्सको रोयल आर्चोन अर्थात् शहरका तीन प्रमुख न्यायाधीशमध्ये एकको आसन थियो। त्यहींबाट तिनले धार्मिक तथा कानुनी दुवै पक्षसित सम्बन्धित विभिन्न जिम्मेवारीहरू वहन गर्थे। सुकरातलाई धर्मविरोधीको आरोप लाग्दा सम्भवतः त्यहीं उपस्थित हुन लगाइएको हुनसक्छ। यस भवनतिर फर्किएको भवनका भित्ताहरूमा एथेन्सको पैतृक व्यवस्थाहरू कुँदिएका थिए। त्यहीं राखिएको एउटा ढुंगामा आर्चोनहरू वा नगरका प्रमुख न्यायाधीशहरू वर्षेनी आफ्नो पदको शपथ ग्रहण गर्न खडा हुन्थे।
अट्लसको स्टोअ
अगोराभरि सबैभन्दा राम्रो संरक्षण पाएको भवन अट्लसको स्टोअ हो। भूमध्य सागरका विभिन्न राष्ट्रका राजघरानाका सदस्यहरूले जस्तै पर्गाममका राजा अट्लसले पनि (सा.यु.पू. दोस्रो शताब्दी) जवान छँदा एथेन्सको विद्यालयमा पढेका थिए। राज्यको बागडोर सँभालेपछि तिनले यो वैभवशाली अट्लसको स्टोअ आफ्नो पाठशाला भएको शहरलाई उपहारस्वरूप दिए।
अट्लस मुख्यतः अनौपचारिक भेटघाट तथा अन्तरक्रिया गर्ने आश्रयस्थल तथा टहल्ने मनोहर ठाउँ थियो। यसका भुइँ तथा छत जात्रा हेर्नको लागि एकदम उपयुक्त ठाउँ थियो। त्यति मात्र होइन, टहल्ने ठाउँको रूपमा प्रसिद्ध भएकोले यो एउटा सफल व्यापारिक केन्द्र पनि भएको हुनुपर्छ। यो भवन राजस्वको स्रोत होस् भनेर यहाँको सरकारले त्यहाँ व्यापारीहरूलाई भाडा तिरेर पसल राख्न दिएको हुनसक्छ।
जीर्णोद्धार गरेर पहिलेकै जस्तो बनाइएको हुँदा अट्लसको स्टोअमा थुप्रै अत्युत्तम ज्यामितीय रचनाहरू देख्न पाइन्छ। यसलाई माथिल्लो र तल्लो स्तम्भहरूबीचको आनुपातिक भिन्नता, प्रकाश र छायाँको रोचक लुकामारी र त्यस भवनका निर्माण सामग्रीहरूको चकाचक र सुन्दरता सबैले विशिष्ट तुल्याएको छ। मुख्यतः प्रत्येक खम्बाका टुप्पाहरू तीन भिन्नाभिन्नै आकार—डोरिक, आयोनियन र मिश्री छाँटको बनाएर एकरूपता नल्याउने कोसिस विभिन्न तरिकाहरूमा गरिएको छ।
सांस्कृतिक क्रियाकलापको ठाउँ
एथेन्सका अधिकांश सांस्कृतिक कार्यक्रमहरू मञ्चन हुने भवन नाचघर थियो। यो रोमी सम्राट अगस्तसका ज्वाइँ भीपसान्यस अग्रीपाको उपहार थियो। यसको बाहिरी खण्डमा रंगीचंगी मार्बल बिछ्याइएको थियो। करिब २५ मिटर गोलाइ भएको उक्त प्रेक्षालयमा लगभग १,००० जना मजाले अटाउँथे र सुरुमा यो प्रेक्षालय बनाइँदा छानालाई भित्रबाट कुनै आड दिइएको थिएन। उहिलेको जमानामा यस्तो छाना राख्नु साहसी निर्माण कार्यहरूमध्ये एक थियो! तथापि, साँचो मसीहीहरूको नैतिकस्तर निकै उच्च भएकोले त्यहाँ प्रस्तुत गरिएका अधिकांश मनोरञ्जन तिनीहरूका लागि पक्कै पनि शंकास्पद खालका थिए।—एफिसी ५:३-५.
पुरातन समयमा जिज्ञासुहरू सम्भवतः पान्तेनोसको पुस्तकालयमा गए होलान्। यसका भित्ताभरि दराजहरू थिए र तिनमा हस्तलिखित पपाइरस तथा चर्मपत्रहरू थन्काइएका थिए। पुस्तकालयको मुख्य कोठा पश्चिमतिर फर्किएको थियो र त्यहाँका लहरै खम्बाहरूबाट पंक्तिबद्ध स्तम्भहरू भएको आँगन देख्न सकिन्थ्यो जहाँ टहल्न, पढ्न र मनन गर्न निकै रमाइलो हुन्थ्यो। पुस्तकालयमा पुस्तकालयका दुई नियमहरू कुँदिएका भेट्टाइएका छन्। तिनमा यस्तो लेखिएका थिए: “कुनै पनि किताब लान पाइनेछैन,” र [यो पुस्तकालय] “पहिलो प्रहरदेखि छैटौं प्रहरसम्म खुल्ला रहनेछ।”
आज अगोरा
हालसालै अमेरिकन स्कूल अफ क्लासिकल स्टडिजले अगोराको पूरै अनुसन्धान गरेका छन्। आक्रोपोलिसको काखमा मजाले निदाइरहेकी अगोरा पुरातन एथेन्सको इतिहास सरसरती हेर्न चाहने पर्यटकहरूको प्रिय स्थल भएको छ।
अगोरा र आक्रोपोलिसबाट केही कदम पर पर्ने नजिकैको मोनास्टीराकीको सस्तो बजार अर्को मनमोहक संसार हो। यहाँ आगन्तुकहरूले अनौठो तर युनानी लोककथामा वर्णन गरिएझैं अनि मध्यपूर्वीय बजारको जस्तो आभास र रमझम पाउनसक्छन्, मोलतोल गर्नसक्छन्। अनि त्यति मात्र होइन, यहाँ आगन्तुकहरूले यहोवाका साक्षीहरू रमाई रमाई प्रेरित पावलले १,९०० वर्षभन्दाअघि जे गरेका थिए, त्यही गरिरहेका भेट्टाउनेछन् अर्थात् परमेश्वरको राज्यको सुसमाचार ‘भेटिनेजति सबैलाई’ खुलेआम प्रचार गरिरहेका।
[फुटनोट]
a आयोनियन नाउँ येपेतका छोरा र नूहका नाति याबानबाट लिइएको हो।—उत्पत्ति १०:१, २, ४, ५.
[पृष्ठ २८-मा भएको पेटी]
एथेन्समा व्यापार
अगोरा एथेन्सका बुद्धिजीवीहरू भेला हुने र प्रशासकीय ठाउँ मात्र नभई शहरको प्रमुख बजार पनि थियो। स्थिर मुद्रा र सम्पूर्ण व्यापार तथा विनिमय इमानदारीसाथ र राम्ररी भएको छ कि छैन भनेर जाँच्ने अधिकार भएका कचकचे आर्चोनहरूका कारण व्यापारिक केन्द्रको रूपमा एथेन्स प्रसिद्ध थियो।
एथेन्सबाट रक्सी, जैतूनको तेल, मह, मार्बल अनि सेरामिक र प्रसोधित धातुजस्ता कलकारखानाको निम्ति चाहिने साधनहरू निर्यात गरिन्थ्यो भने विशेषगरि गहुँ आयात गरिन्थ्यो। अट्टिकाको (एथेन्स वरपरको भूभाग) उत्पादन त्यहाँका बासिन्दाहरूकै लागि पर्याप्त नभएकोले त्यहाँ कारोबार गर्न अलि गाह्रो थियो। पिरायुसको (एथेन्सको बन्दरगाह) बजारमा शहरवासी तथा सैनिक सबैलाई पुग्ने ताजा खानेकुरा प्रशस्त मात्रामा पुऱ्याएकै हुनुपर्थ्यो। अनि यसबाहेक आवश्यक परेको बेला महँगो गरी बेच्न व्यापारीहरूलाई खाद्यान्न सञ्चय गरेर राख्ने अनुमति थिएन।