आकर्षणशक्ति—मानिसको प्रशंसा वा परमेश्वरको महिमा?
“कुनै शासक आफ्नो प्रजाभन्दा उत्तम मात्र होइन तर तिनीहरूलाई मोह लगाउनसक्ने पनि हुनुपर्छ,” भनी प्रख्यात युनानी जर्नेल जेनोफोनले लेखे। आज थुप्रैले त्यस्तो “मोहलाई” आकर्षणशक्ति भन्ने गर्छन्।
निस्सन्देह, सबै मानव शासकहरूसित आफूप्रति मानिसहरूलाई आकर्षण गर्ने शक्ति हुँदैन। तर जोसँग यस्तो क्षमता छ तिनीहरूले मानिसहरूलाई आफूप्रति भक्तालु बनाउन प्रेरित गर्ने र आफ्नै फाइदाको लागि जनतालाई चलाउने गर्छन्। आधुनिक उदाहरणहरूमध्ये सबैभन्दा कुख्यात चाहिं सायद अडोल्फ हिटलरकै होला। “[सन् १९३३ मा] अधिकांश जर्मनहरूले हिटलर चाँडै साँच्चै चमत्कारी शक्ति भएको नेता हुनेछ भन्ठाने,” भनी लेखक विलियम एल. शिररले आफ्नो पुस्तक तेस्रो शासनको उत्थान र पतन-मा (अंग्रेजी) लेखे। “हिटलरसित मानौं ईश्वरीय न्याय गर्ने वरदान भएझैं तिनीहरू त्यसपछि कहालीलाग्दा बाह्र वर्षसम्म तिनलाई अन्धाधुन्द पछ्याए।”
धार्मिक इतिहास केलाएर हेर्ने हो भने पनि आकर्षणशक्ति भएका नेताहरू थुप्रै छन्। तिनीहरूले मानिसहरूलाई आफूप्रति भक्तालु हुन प्रेरित गरे तर तिनीहरूले मानिसहरूमाथि विपत्ति सिवाय अरू केही ल्याउन सकेनन्। येशूले यस्तो चेताउनी दिनुभयो: “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, धेरैलाई भ्रममा पार्नेछन्।” (मत्ती २४:४, ५) आकर्षणशक्ति भएका ख्रीष्ट भनौंदाहरू प्रथम शताब्दीमा मात्र देखा परेका होइनन्। सन् १९७० को दशकमा जिम जोन्सले आफू “मानिसहरूको मन्दिरको मसीह” भनी दाबी गरे। तिनलाई “मानिसहरूमाथि असामान्य शक्ति जमाउनसक्ने चर्चका प्रभावकारी सदस्य” भनिन्थ्यो र १९७८ मा तिनले इतिहासमा नै सबैभन्दा ठूलो समूहलाई आत्महत्या गर्न उक्साए।a
स्पष्टतः अरूलाई आकर्षण गर्नसक्ने वरदान खतरनाक पनि हुनसक्छ। तथापि, बाइबलले भिन्नै प्रकारको वरदान वा वरदानहरूबारे पनि कुरा गर्छ जुन परमेश्वरले सबै मानिसको लाभको निम्ति प्रबन्ध गरिदिनुभएको छ। यस्तो वरदानको अर्थ बुझाउने युनानी शब्द करिश्मा हो र बाइबलमा १७ चोटि उल्लेख भएको छ। एक युनानी भाषाविद्ले यसलाई यसरी वर्णन गर्छन्: ‘मानिसले यो नकमाइकन र योग्य नभए तापनि परमेश्वरको अनुग्रहको कारण उहाँबाट सित्तैमा पाइने वरदान हो र यो मानिसको आफ्नै प्रयासले कहिल्यै पाउन सकिंदैन।’
अतः धर्मशास्त्रीय दृष्टिकोणले हेर्दा करिश्मा परमेश्वरको अनुग्रहद्वारा पाइने वरदान हो। परमेश्वरले हामीलाई दयापूर्वक दिनुभएका केही वरदानहरू के हुन्? अनि हामीले ती वरदान उहाँको प्रशंसा गर्न कसरी चलाउनसक्छौं? आउनुहोस्, तीन दयालु वरदानहरू के के हुन् हामी हेरौं।
अनन्त जीवन
सबैभन्दा महान् वरदान निस्सन्देह अनन्त जीवन हो। पावलले रोमी मण्डलीलाई यसो लेखे: “पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान [ करिश्मा] हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३) यस कुराबारे सोच्नु उपयुक्त पनि छ किनकि हामीले कमाएको “ज्याला” (मृत्यु) हामीले स्वेच्छाले कमाएको होइन तर हाम्रो पापी स्वभावद्वारा पाएको हो। अर्कोतर्फ, परमेश्वरले हाम्रोनिम्ति प्रबन्ध गर्नुभएको अनन्त जीवन पाउन हामी लायकका छैनौं र हामी आफैले कहिल्यै कमाउनसक्ने कुरा पनि होइन।
अनन्त जीवनको वरदानलाई हामीले कदर गर्नुपर्छ र अरूसित बाँड्नुपर्छ। अनन्त जीवनको वरदानको निम्ति योग्य हुन हामीले मानिसहरूलाई यहोवालाई चिन्न, उहाँलाई सेवा गर्न मदत दिनसक्छौं। प्रकाश २२:१७ यसो भन्छ: “आत्मा र दुलही भन्नुहुन्छ, ‘आउनुहोस्।’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्’ भनोस्। जो तिर्खाउँछ, त्यो आओस्, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्।”
हामीले अरू मानिसहरूलाई जीवन दिने यो पानीतर्फ कसरी डोऱ्याउनसक्छौं? मुख्यतः बाइबललाई हाम्रो सेवकाईमा प्रभावकारी ढंगमा चलाएर। हो, संसारको कुनै कुनै भागका मानिसहरू आध्यात्मिक कुराहरूबारे विरलै पढ्ने वा विचार गर्ने गर्छन् तैपनि ‘सुन्ने कान खोलिदिने’ मौकाहरू हुनसक्छन्। (यशैया ५०:४) यस सन्दर्भमा हामी बाइबलको प्रेरणादायी शक्तिबारे विश्वस्त हुनसक्छौं “किनकि परमेश्वरको वचन जीवित र प्रबल” छ। (हिब्रू ४:१२) चाहे त्यो बाइबलले दिने व्यवहारिक बुद्धि होस् वा यसले प्रदान गर्ने सान्त्वना र आशा होस् अथवा जीवनको उद्देश्यबारे बताएको होस्, परमेश्वरको वचनले मानिसको हृदय छुनसक्छ अनि जीवनको मार्गतर्फ डोऱ्याउनसक्छ।—२ तिमोथी ३:१६, १७.
यसबाहेक, बाइबल आधारित साहित्यहरूले हामीलाई “आउनुहोस्” भन्न मदत दिनसक्छन्। यस आध्यात्मिक अन्धकारको समयमा भविष्यवक्ता यशैयाले “परमप्रभु” आफ्ना जनहरूमाथि प्रकाश हुनुहुनेछ” भनी भविष्यवाणी गरे। (यशैया ६०:२) वाच टावर सोसाइटीका प्रकाशनहरूले यहोवाबाट आउने यी आशिष्हरू झल्काउँछन् र हरेक वर्ष हजारौं मानिसहरूलाई आध्यात्मिक ज्योतिका स्रोत यहोवातर्फ डोऱ्याउँछन्। तिनीहरूका प्रकाशनहरूमा व्यक्तिविशेषलाई सर्वश्रेष्ठ तुल्याइँदैन। प्रहरीधरहरा-को परिचयमा यसो भनिएको छ: “प्रहरीधरहरा-को उद्देश्य यहोवा परमेश्वरलाई ब्रह्माण्डको सर्वसत्ताधारी प्रभु मानेर उहाँलाई महिमित पार्नु हो। . . . यसले परमेश्वरको शासनारूढ राजा येशू ख्रीष्टमाथि विश्वास राख्न प्रोत्साहित गर्छ, जसको बगेको रगतद्वारा समस्त मानवजातिको निम्ति अनन्त जीवन प्राप्त गर्ने बाटो खुलेको छ।”
लामो समयदेखि सेवकाईमा उल्लेखनीय सफलता हासिल गर्दै आएकी एक पूर्ण-समय मसीही सेवक मानिसहरूलाई परमेश्वरतर्फ नजिक खिच्न यी पत्रिकाहरूले खेल्ने भूमिकाबारे यस्तो टिप्पणी गर्छिन्: “मेरा बाइबल विद्यार्थीहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्! पढेर आनन्द उठाउन थालेपछि छिट्टै उन्नति गर्छन्। यहोवालाई चिन्न मानिसहरूलाई मदत दिने सन्दर्भमा यी पत्रिकाहरू अनमोल छन्।”
सेवाका सुअवसरहरू
तिमोथी एक मसीही चेला थिए र तिनलाई अर्को एउटा वरदान दिइएको थियो, जसलाई विशेष ध्यान दिनुपर्थ्यो। प्रेरित पावलले तिनलाई यसो भने: “धर्म-गुरुहरूले हात राखिदिएर तिमीलाई अगमवाणीद्वारा मिलेको तिमीमा भएको वरदानको [ करिश्मा] हेल-चेक्राइँ नगर।” (१ तिमोथी ४:१४) यो वरदान के थियो? यो थियो, परिभ्रमण निरीक्षकको रूपमा तिमोथीको नियुक्ति। सेवाको यो सुअवसर तिनले जिम्मेवारीपूर्वक पूरा गर्नुपर्ने थियो। सोही विवरणमा पावलले तिमोथीलाई यस्तो सल्लाह दिए: “म नआउञ्जेल धर्मशास्त्र पढ़ाइ, अर्ती र शिक्षामा ध्यान देऊ। आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्नेलाई समेत उद्धार गर्नेछौ।”—१ तिमोथी ४:१३, १६.
आजका प्राचीनहरूले पनि आफ्ना सेवाका सुअवसरहरूको कदर गर्नुपर्छ। पावलले औंल्याएझैं तिनीहरूले गर्नसक्ने एउटा तरिका “आफ्नो शिक्षाको विषयमा होशियार” रहनु हो। संसारका प्रभावकारी नेताहरूको नक्कल गर्नुको साटो बरु तिनीहरू आफूतर्फ नभई परमेश्वरतर्फ ध्यानाकर्षण गर्छन्। तिनीहरूका नमुना येशू निस्सन्देह उत्कृष्ट शिक्षक हुनुहुन्थ्यो। उहाँसित अरूलाई आफूतिर आकर्षण गर्ने असामान्य क्षमता थियो तर उहाँले नम्रतापूर्वक आफ्ना पितालाई महिमा दिनुभयो। उहाँले यस्तो घोषणा गर्नुभयो: “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो।”—यूहन्ना ५:४१; ७:१६.
येशूले शिक्षा दिनुहुँदा परमेश्वरको वचनलाई अख्तियारको रूपमा चलाउनुभएर स्वर्गमा हुनुहुने आफ्ना पिताको महिमा गर्नुभयो। (मत्ती १९:४-६; २२:३१, ३२, ३७-४०) त्यसरी नै पावलले पनि निरीक्षकहरूले ‘मिलेको शिक्षण कलालाई विश्वासयोग्य वचनमा दृढ़ रहनको’ निम्ति चलाउन जोड दिए। (तीतस १:९) धर्मशास्त्रमा आधारित भाषणहरू दिंदा प्राचीनहरूले वास्तवमा येशूले जस्तै भनिरहेका हुन्छन्: “जुन कुरा म तिमीहरूलाई भन्दछु, म आफ्नै तर्फबाट बोल्दिनँ।”—यूहन्ना १४:१०.
प्राचीनहरू ‘विश्वासयोग्य वचनमा’ कसरी ‘दृढ़ रहनसक्छन्?’ आफ्नो भाषण र सभाका कार्यभारहरू परमेश्वरको वचनमा केन्द्रित गरेर अनि आफूले चलाएको पदलाई बुझाउनुका साथै जोड दिएर। विशेषगरि नाटकीय उदाहरणहरू वा अचम्मलाग्दा कथाहरू जरुरतभन्दा बढी चलाउन थाल्यो भने श्रोतागणको ध्यान परमेश्वरको वचनमा नभई वक्ताको क्षमतातिर जानसक्छ। अर्कोतर्फ, श्रोतागणको हृदय छुने र तिनीहरूलाई उत्प्रेरित गर्ने तत्त्व बाइबलका पदहरू हुन्। (भजन १९:७-९; ११९:४०; तुलना गर्नुहोस् लूका २४:३२) शास्त्रपदहरू चलाएका त्यस्ता भाषणहरूले मानिसतर्फ त्यति ध्यान खिच्दैन र परमेश्वरको महिमा बढी गर्छ।
प्राचीनहरू प्रभावकारी शिक्षक हुने अर्को एउटा तरिका एक आपसबाट सिकेर हो। पावलले तिमोथीलाई मदत गरेझैं प्राचीनहरूले पनि एकअर्कोलाई मदत गर्नसक्छन्। “फलामले फलामलाई उध्याएजस्तै एउटा मानिसको बुद्धिले अर्को मानिसको बुद्धिलाई तिखार्छ।” (हितोपदेश २७:१७; फिलिप्पी २:३) प्राचीनहरूले एकअर्कासित विचार तथा सुझाउहरू आदानप्रदान गर्दा सबैलाई लाभ हुन्छ। हालै प्राचीन नियुक्त भएका एक भाइ यसो भन्छन्: “एक अनुभवी प्राचीनले मलाई जनभाषण तयारी गर्न सिकाउन समय निकाल्नुभयो। उहाँको तयारीमा, आलंकारिक प्रश्नहरू, दृष्टान्त, उदाहरण वा छोट-छोटा अनुभवहरूलगायत उहाँले होसियारीपूर्वक अनुसन्धान गर्नुभएका धर्मशास्त्रीय विवरणहरू थिए। अल्छी अनि झर्कोलाग्दो भाषणको सट्टा भाषणहरूमा विविधता ल्याउने तरिका उहाँबाट सिकें।”
हामी प्राचीन, सेवकाई सेवक वा अग्रगामी जे भए पनि सेवाका सुअवसरहरूबाट आनन्द उठाउने हामी सबैले यस वरदानको कदर गर्नुपर्छ। पावलले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि तिमोथीलाई ‘परमेश्वरको वरदानलाई [ करिश्मा] बल्दो पार्न’ सम्झाए र तिमोथीको सन्दर्भमा आत्माका केही विशेष वरदानहरू समावेश थिए। (२ तिमोथी १:६) इस्राएलीहरूको घरमा अक्सर बलिरहेको कोइला मात्र हुन्थ्यो। ज्वाला र अझ धेरै ताप निकालेर ‘बल्दो पार्न’ सम्भव थियो। अतः हाम्रो कार्यभारमा तनमन लाउन हामी प्रोत्साहित हुन्छौं। हामीलाई सुम्पिएको जस्तोसुकै आध्यात्मिक वरदानलाई बल्दो आगोजस्तै पार्न चलाउनसक्छौं।
अरूसित बाँड्नुपर्ने आध्यात्मिक वरदानहरू
प्रेमको कारण आफ्ना रोमी भाइहरूप्रति पावलले यसो लेखे: “तिमीहरूलाई स्थिर गराउनाको खातिर केही आत्मिक वरदान [ करिश्मा] तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्न अति इच्छा गर्दछु, अर्थात् तिमीहरू र मेरो, दुवैको विश्वासबाट हामी प्रत्येकले आपसमा, मैले तिमीहरूसित र तिमीहरूमानै, सान्त्वना पाऔं।” (रोमी १:११, १२) अरूसित कुरा गरेर विश्वास सुदृढ पार्ने हाम्रो क्षमतालाई पावलले आत्मिक वरदानको रूपमा लिए। त्यस्तो आध्यात्मिक वरदान एकअर्कोसित बाँड्दा विश्वास सुदृढ हुन्छ र दुवै पक्ष प्रोत्साहित हुन्छन्।
यो नितान्त आवश्यक छ। हामी बाँचिरहेको यस दुष्ट रीतिरिवाजमा हामी कुनै न कुनै समस्या सामना गरिरहेका हुन्छौं। तथापि, नियमित रूपमा एकअर्कालाई प्रोत्साहन दिने गरेर समस्याको बावजूद अघि बढिरहन सक्छौं। आध्यात्मिक बललाई कायम राख्न एकअर्कालाई प्रोत्साहान दिनु महत्त्वपूर्ण छ। हो, हामी सबैलाई समय समयमा प्रोत्साहन चाहिन्छ तर हामीले एकअर्कालाई सुदृढ पनि पार्नसक्छौं।
हरेस खाएका कोही सँगी विश्वासी देख्यौं भने “परमेश्वरबाट जुन सान्त्वना हामीले पाएका छौं, त्यही सान्त्वनाले कुनै पनि सङ्कष्टमा हुनेहरूलाई सान्त्वना” दिनसक्छौं। (२ कोरिन्थी १:३-५) सान्त्वना भन्ने अर्थ बुझाउने युनानी शब्दको (पार्केलेसिस) शाब्दिक अर्थ “कसैलाई आफ्नो पक्षमा बोलाउनु” हो। आवश्यक परेको बेला हाम्रो भाइ वा बहिनीलाई मदत गर्न हामी तयार भयौं भने निस्सन्देह आफूलाई मदत चाहिएको बेला त्यस्तै मायालु समर्थन पाउनसक्छौं।—उपदेशक ४:९, १०; तुलना गर्नुहोस् प्रेरित ९:३६-४१.
प्राचीनहरूको मायालु गोठालोरूपी भेटघाटबाट पनि धेरै लाभ उठाउनसक्छौं। कहिलेकाहीं कुनै खास विषयमा धर्मशास्त्रीय सल्लाहहरू दिन प्राचीनहरू भेट्न आउँछन् तर प्रायः गोठालोरूपी भेटहरू प्रोत्साहन दिने वा “हृदयलाई सान्त्वना” दिने समय हो। (कलस्सी २:२) निरीक्षकहरूले विश्वासलाई सुदृढ पार्ने त्यस्ता भेटहरू गर्दा वास्तवमा तिनीहरूले आफ्नो आध्यात्मिक वरदान अरूसित बाँडिरहेका हुन्छन्। पावलले जस्तै आजका प्राचीनहरूले पनि अरूलाई दिने यस अनुमप तरिका इनामदायी भएको पाउनेछन् र तिनीहरूले आफ्ना भाइहरूका निम्ति “इच्छा” विकास गर्नेछन्।—रोमी १:११.
यो कुरा स्पेनका एक प्राचीनको सन्दर्भमा सत्य साबित भयो। तिनी निम्न अनुभव बताउँछन्: “११ वर्षीय रिकार्डोले सभाहरू तथा मण्डलीप्रति केही चासो नै देखाउँदैनथे। त्यसैले मैले रिकार्डोको आमाबाबुसित तिनीसित भेट्ने अनुमति मागें र तिनीहरू पनि खुसीसाथ राजी भए। तिनीहरू म बसेको ठाउँबाट झन्डै एक घण्टा पर पहाडी इलाकामा बस्थे। मैले चासो देखाएकोमा रिकार्डो खुसी भए भन्ने कुरा स्पष्ट भयो र तुरुन्तै त्यसको असर देखिन थाल्यो। तिनी चाँडै बप्तिस्मा अप्राप्त प्रकाशक हुनुका साथै मण्डलीको एक जोसिलो सदस्य भए। चुपचाप लागेर बस्ने लजालु स्वभावको मान्छे त अरूसित घुलमिल हुने मानिस पो भए। मण्डलीमा कोही कोहीले यस्तो प्रश्न पनि गरे: ‘रिकार्डोमा किन यस्तो परिवर्तन?’ यसअघि मानिसहरूले तिनको वास्तै गर्दैनथे। त्यस निर्णायक भेटको सम्झना गर्दा रिकार्डोले भन्दा मैले पो फाइदा उठाएको जस्तो लाग्छ। राज्यभवनमा पस्दा तिनको अनुहार नै कस्तो उज्यालो हुन्छ र हतारहतार मलाई अभिवादन गर्न आउँछन्। तिनको आध्यात्मिक प्रगति हेर्न पाउनु एउटा आनन्दको कुरा भएको छ।”
निस्सन्देह, यस्ता गोठालोरूपी भेटहरूमा प्रचुर आशिष् पाइन्छ। यस्ता भेटहरू येशूको यो आग्रहसित मिल्दो छ: “मेरा भेड़ाहरूको हेरचाह गर।” (यूहन्ना २१:१६) यस्तो आध्यात्मिक वरदान प्राचीनहरूले मात्र बाँड्नुपर्छ भन्ने होइन। मण्डलीका सबैले एकअर्कालाई प्रेम र सुकर्ममा उत्तेजित गर्नसक्छन्। (हिब्रू १०:२३, २४) जसरी पर्वतारोहीहरू एउटै डोरीमा बाँधिएका हुन्छन् त्यस्तैगरि हामी पनि आध्यात्मिक बन्धनले बाँधिएका छौं। निस्सन्देह, हाम्रो कार्य र वचनले अरूलाई असर गर्छ भन्ने कुरामा दुई मत छैन। चस्स घोच्ने वचन वा छुच्चो आलोचनाले हाम्रो एकतालाई कमजोर तुल्याउनसक्छ। (एफिसी ४:२९; याकूब ३:८) अर्कोतर्फ, प्रोत्साहनका सही शब्दहरू र मायालु सहयोगले हाम्रा भाइहरूलाई समस्याहरू समाधान गर्न पनि मदत दिनसक्छ। यसो गर्दा हामी चिरस्थायी आध्यात्मिक वरदान बाँडिरहेका हुनेछौं।—हितोपदेश १२:२५.
अझ विस्तृत रूपमा परमेश्वरको महिमा झल्काउने
हरेक मसीहीसित अरूमाथि केही हदसम्म प्रभाव जमाउनसक्ने शक्ति हुन्छ भन्ने कुरा प्रष्ट छ। हामीलाई अनन्त जीवनको अनमोल आशा दिइएको छ। अरूसित बाँड्नसक्ने आध्यात्मिक वरदान पनि हामीसित छ। उचित लक्ष्यहरूतर्फ अघि बढ्न एकअर्कोलाई प्रेरणा दिने कोसिस गर्नसक्छौं। कसै कसैले सेवाका सुअवसरहरूको रूपमा थप वरदानहरू पाएका हुन्छन्। हामीसित जे जति वरदान छन्, ती सबै परमेश्वरले दिनुभएको हो। अनि सबै वरदान हामीले परमेश्वरबाट प्राप्त गरेको हुनाकारण हामीले घमण्ड गर्ने कुनै आधार छैन।—१ कोरिन्थी ४:७.
मसीहीहरूको हैसियतमा आफूलाई यी प्रश्नहरू सोध्नु बेस हुनेछ: ‘के मैले आफूसित भएको वरदान “हरेक असल दान र हरेक उत्तम वरदान[का]” दाता यहोवाको महिमा गर्न चलाउनेछु? (याकूब १:१७) के मैले येशूको अनुकरण गर्दै मेरो क्षमता र परिस्थितिले भ्याएसम्म अरूको सेवा गर्नेछु?’
यस जिम्मेवारीबारे प्रेरित पत्रुस संक्षेपमा यसो भन्छन्: “हरेकले वरदान [ करिश्मा] पाएअनुसार, परमेश्वरको नाना प्रकारको अनुग्रहको असल कारिन्दाहरूले जस्तैगरी एउटाले अर्कोको सेवा गर। यदि कोही बोल्छ भने परमेश्वरको वाणी जस्तैगरी, कसैले सेवा गर्छ भने परमेश्वरले दिनुभएको बलले, कि सबै कुरामा परमेश्वरको महिमा येशू ख्रीष्टद्वारा गरिओस्।”—१ पत्रुस ४:१०, ११.
[फुटनोट]
a जिम जोन्सलगायत जम्मा ९१३ जना मानिसहरू मरे।
[पृष्ठ २३-मा भएको चित्रको स्रोत]
Corbis-Bettmann
UPI/Corbis-Bettmann