“पुरुषहरूमध्ये वरदान[को]” मूल्यांकन गर्ने
“तिमीहरूमा परिश्रम गर्नेहरू[का] . . . कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर।”—१ थिस्सलोनिकी ५:१२, १३.
१. प्रेरित २०:३५ अनुसार दिनुमा कस्तो शक्ति छ? उदाहरणसहित बताउनुहोस्।
“लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) माथि उल्लिखित येशूका शब्दहरू सत्य रहेछन् भनी अन्तिम चोटि कहिले अनुभव गर्नुभएको थियो के तपाईंलाई याद छ? सायद तपाईं आफ्नो अति प्रियजनलाई केही उपहार दिनुहुँदा त्यस्तो अनुभव गर्नुभएको होला। आफ्नो प्रियजनले लामो समयसम्म सम्झिराखोस् भनेर अत्यन्तै होस पुऱ्याएर तपाईंले त्यो उपहार छान्नुभएको थियो होला। तपाईंको प्रियजन दंग परेको देख्दा तपाईं कत्ति मख्ख हुनुभएको थियो! असल मनोभावबाट उत्प्रेरित भएर दिनु प्रेमको अभिव्यक्ति हो र प्रेम अभिव्यक्त गर्दा हामी खुसी हुनसक्छौं।
२, ३. (क) यहोवाभन्दा अरू कोही आनन्दित छैन भनी किन भन्नसक्छौं र “पुरुषहरूमध्ये वरदान[को]” प्रबन्ध गर्दा किन उहाँ हृदयदेखि नै खुसी हुनुहुन्छ? (ख) परमेश्वरबाट पाएको वरदानसित हामी के गर्न चाहन्नौं?
२ त्यसोभए “हरेक असल दान[को]” दाता यहोवाभन्दा अरू को आनन्दित हुनसक्छ होला र? (याकूब १:१७; १ तिमोथी १:११) उहाँ हरेक वरदान प्रेमद्वारा उत्प्रेरित भएर दिनुहुन्छ। (१ यूहन्ना ४:८) परमेश्वरले ख्रीष्ट मार्फत मण्डलीलाई दिनुभएको “पुरुषहरूमध्ये वरदान” पनि त्यस्तै एउटा वरदान हो। (एफिसी ४:८) बगालको हेरचाह गर्न प्राचीनहरूको प्रबन्ध गर्नु पनि मानिसहरूप्रतिको परमेश्वरको गहिरो प्रेमको अभिव्यक्ति हो। यी मानिसहरूको नियुक्ति होसियारीसाथ गरिन्छ। तिनीहरूले प्राचीन हुन आध्यात्मिक आवश्यकताहरू पूरा गरेकै हुनुपर्छ। (१ तिमोथी ३:१-७; तीतस १:५-९) “बगाललाई कोमल व्यवहार” गर्नुपर्छ भनेर तिनीहरूलाई थाह छ किनभने त्यस्तो व्यवहार गरेपछि मात्र भेडाहरूले मायालु गोठालोप्रति कृतज्ञ हुने कारण पाउँछन्। (प्रेरित २०:२९; भजन १००:३) आफ्ना भेडाको हृदय त्यस्तो कृतज्ञताले भरिएको देखेपछि निश्चय नै यहोवा पनि आनन्दित हुनुहुनेछ!—हितोपदेश २७:११.
३ हामी अवश्य पनि परमेश्वरबाट पाएको यस्तो वरदानलाई हल्कासित लिन चाहँदैनौं नता कृतघ्न नै हुन चाहन्छौं। अतः दुइटा प्रश्न उठ्छ: प्राचीनहरूले मण्डलीमा पूरा गर्नुपर्ने भूमिकाप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? अनि बगालले “पुरुषहरूमध्ये वरदान[को]” कसरी मूल्यांकन गर्नसक्छन्?—हितोपदेश २७:११.
‘हामी तपाईंहरूका सँगी सहयोगी हौं’
४, ५. (क) पावलले मण्डलीलाई केसित तुलना गरेका छन् र यो किन सुहाउँदो उदाहरण हो? (ख) एकअर्काप्रति राख्नुपर्ने विचारधारा तथा गर्नुपर्ने व्यवहारबारे पावलको दृष्टान्तले के बताउँछ?
४ मण्डलीका “पुरुषहरूमध्ये वरदान[लाई]” यहोवाले केही हदसम्म अख्तियार दिनुभएको छ। निस्सन्देह, प्राचीनहरू आफ्नो अख्तियारको दुरुपयोग गर्न चाहँदैनन् तर असिद्ध भएको कारण त्यसो गर्नु सजिलो छ भनी तिनीहरूलाई थाह छ। त्यसोभए, तिनीहरूले बाँकी बगाललाई कस्तो दृष्टिकोणले हेर्नुपर्छ? प्रेरित पावलले चलाएको उदाहरणलाई विचार गर्नुहोस्। “पुरुषहरूमध्ये वरदान” दिनुको कारण छलफल गरेपछि पावलले यसो लेखे: “प्रेममा सत्य बोलेर हामी सबै कुरामा उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ़दै जाऔं, जो शिर हुनुहुन्छ, जसबाट प्रत्येक भागलाई ठीक नापको कामबमोजिम प्रत्येक जोर्नीले खँदिलो पारिदिएकोले सारा शरीर ठीक ठीक एकसाथ गाँसिएर एक भई प्रेममा आफ्नै निर्माणको निम्ति शरीरको वृद्धि गराउँछ।” (एफिसी ४:१५, १६) त्यसैले पावल प्राचीनलगायत मण्डलीका सबैलाई मानव शरीरसित तुलना गर्छन्। यो किन सुहाउँदो उदाहरण हो?
५ मानव शरीरमा विभिन्न भागहरू हुन्छन् तर शिर एउटै हुन्छ। तथापि शरीरको कुनै पनि भाग जस्तै मांसपेशी, नशा तथा स्नायु अनावश्यक छैनन्। प्रत्येक भाग अनमोल छ र सम्पूर्ण शरीरको स्वास्थ्य तथा सुन्दरताको निम्ति महत्त्वपूर्ण छन्। त्यस्तै गरी मण्डली पनि विभिन्न सदस्यहरूद्वारा बनिएको हुन्छ तर चाहे जवान होस् या वृद्ध, बलियो होस् वा कमजोर, सम्पूर्ण मण्डलीको आध्यात्मिक स्वास्थ्य तथा सुन्दरताको निम्ति सबैले योगदान पुऱ्याउनसक्छन्। (१ कोरिन्थी १२:१४-२६) कसैले पनि आफूलाई महत्त्वहीन ठान्नु हुँदैन। फेरि अर्कोतर्फ कसैले पनि आफूलाई श्रेष्ठ ठान्नु हुँदैन किनभने गोठालो तथा भेडा सबै शरीरको भाग हुन् अनि शिर एउटै मात्र हुनुहुन्छ अर्थात् ख्रीष्ट। पावलले हामीबीच हुनुपर्ने प्रेम, हेरचाह र आदरबारे राम्रो नक्सा कोर्छन्। यो कुरा स्वीकार्दा प्राचीनहरूले मण्डलीमा आफ्नो भूमिकाबारे नम्र तथा सन्तुलित विचारधारा राख्न मदत पाउँछन्।
६. एक अख्तियारप्राप्त प्रेरित भए तापनि पावलले कसरी नम्र मनोभाव देखाए?
६ यी “पुरुषहरूमध्ये वरदान” आफ्ना सँगी उपासकहरूको जीवन वा विश्वास नियन्त्रणमा राख्ने कोसिस गर्दैनन्। प्रेरित भएको कारण आफूसित अख्तियार भए तापनि पावलले नम्रतापूर्वक कोरिन्थकाहरूलाई यसो भने: “तिमीहरूका विश्वासमा हाम्रो प्रभुत्व भएको होइन, तर तिमीहरूका आनन्दका सहयोगी हौं, किनकि विश्वासबाटनै तिमीहरू स्थिर छौ।” (२ कोरिन्थी १:२४) पावलले आफ्ना भाइहरूको विश्वास र जीवनशैली नियन्त्रणमा राख्न चाहेनन्। साँच्चै तिनले त्यसो गर्ने खाँचो नै देखेनन् किनभने तिनीहरू यहोवाको संगठनका विश्वासी पुरुष तथा स्त्रीहरू हुन् भनी विश्वस्त भएको तिनले देखाए र तिनीहरू जे सही छ त्यही गर्न चाहन्थे। यसकारण पावलले यसो भनिरहेका थिए: “आनन्दसाथ तपाईंहरूसित परमेश्वरको सेवा गर्ने काम हाम्रो हो।” (२ कोरिन्थी १:१) कस्तो नम्र मनोभाव!
७. नम्र प्राचीनहरूले मण्डलीमा आफूले पूरा गर्नुपर्ने भूमिकाबारे के बुझेका छन् र आफ्ना सँगी सहयोगीहरूमाथि कस्तो भरोसा राख्छन्?
७ “पुरुषहरूमध्ये वरदान[को]” आज पनि त्यस्तै काम छ। तिनीहरू ‘हाम्रो आनन्दका लागि सँगी सहयोगीहरू हुन्।’ कसले परमेश्वरको सेवा कति गर्नुपर्छ भनी निर्णय गर्ने काम तिनीहरूको होइन भन्ने कुरा नम्र प्राचीनहरूले बुझेका हुन्छन्। अरूलाई सेवकाईमा वृद्धि वा उन्नति गर्न प्रोत्साहित गरे तापनि परमेश्वरको सेवा गर्न भित्री हृदयदेखि उत्प्रेरित हुनुपर्छ भनी तिनीहरूले बुझेका हुन्छन्। (२ कोरिन्थी ९:७ तुलना गर्नुहोस्।) सँगी विश्वासीहरू आनन्दित छन् भने तिनीहरूले सक्दो गर्नेछन् भनी तिनीहरू विश्वस्त हुन्छन्। अतः आफ्ना भाइहरूलाई “आनन्दसाथ परमप्रभुको सेवा” गर्न मदत गर्ने तिनीहरूको हार्दिक इच्छा हुन्छ।—भजन १००:२.
आनन्दसाथ सेवा गर्न सबैलाई मदत गर्ने
८. भाइहरूलाई आनन्दसाथ यहोवाको सेवा गर्न मदत दिन प्राचीनहरूले अपनाउनसक्ने केही तरिकाहरू के हुन्?
८ प्राचीनहरू हो, तपाईं कसरी भाइहरूलाई आनन्दसाथ सेवा गर्ने मदत दिन सक्नुहुन्छ? आफ्नो उदाहरणद्वारा प्रोत्साहित गरेर। (१ पत्रुस ५:३) सेवकाईको निम्ति तपाईंको जोस र तपाईंले उठाउनुहुने आनन्द देखेर अरू पनि तपाईंको उदाहरण अनुकरण गर्न प्रेरित होस्। अरूले तनमनले प्रयास गर्दा प्रशंसा गर्नुहोस्। (एफिसी ४:२९) हार्दिक प्रशंसा गर्दा भाइहरूले आफू योग्य र आवश्यक भएको महसुस गर्नेछन्। यसो गर्दा भेडा यहोवाको सेवामा यथासम्भव गर्न प्रोत्साहित हुनेछ। अरूसित अमिल्दो तुलना नगर्नुहोस्। (गलाती ६:४) अरूसित तुलना गर्दा अक्सर उन्नति गर्न प्रोत्साहित गर्नुको साटो निरुत्साहित पार्छ। यसबाहेक यहोवाका भेडाहरू विभिन्न परिस्थिति तथा योग्यता भएका व्यक्तिविशेषहरू हुन्। पावलले जस्तै आफ्ना भाइहरूमाथिको भरोसा व्यक्त गर्नुहोस्। प्रेमले “सबै कुरा सहन्छ” त्यसैले हाम्रा भाइहरूले परमेश्वरलाई प्रेम गर्नुका साथै उहाँलाई खुसी तुल्याउन चाहन्छन् भनी विश्वास गर्नु नै बेस हुन्छ। (१ कोरिन्थी १३:७) ‘अरूको कदर गर्दा’ तपाईंले तिनीहरूको असल गुण खिच्न मदत गरिरहनुभएको हुनेछ। (रोमी १२:१०) भेडाहरूले प्रोत्साहन र स्फूर्ति प्राप्त गर्दा तिनीहरूले परमेश्वरको सेवामा सक्दो गर्नुका साथै आनन्दित हुनेछन् भनी विश्वस्त हुनुहोस्।—मत्ती ११:२८-३०.
९. सँगी प्राचीनहरूप्रति कस्तो विचारधाराले प्रत्येक प्राचीनलाई आनन्दसाथ सेवा गर्न मदत गर्छ?
९ आफूलाई नम्रतापूर्वक ‘सँगी सहयोगीको’ रूपमा लिंदा आनन्दसाथ सेवा गर्न तथा सँगी प्राचीनहरूको अनुपम गुणको मूल्यांकन गर्न तपाईंले मदत पाउनुहुनेछ। प्रत्येक प्राचीनको आ-आफ्नै योग्यता तथा सीपहरू हुन्छन् र त्यो तिनले मण्डलीको हितको निम्ति प्रयोग गर्नसक्छन्। (१ पत्रुस ४:१०) कोही सिकाउने कार्यमा सिपालु हुन्छन् भने कोही कुशल व्यवस्थापक हुनसक्छन्। अरू कोहीचाहिं मृदुल स्वभाव तथा अनुकम्पाको कारण कुरा गर्न अत्यन्तै सजिलो खालको हुनसक्छ। तर कुरा के हो भने, सबै प्राचीनहरूसित सबै वरदान उत्तिकै मात्रामा हुँदैन। तथापि, एक जना प्राचीन सिकाउन सिपालु छन् भन्दैमा के तिनी अर्को प्राचीनभन्दा श्रेष्ठ हुन्छन् र? पटक्कै हुँदैनन्! (१ कोरिन्थी ४:७) अर्कोतर्फ कुनै प्राचीनसित भएको गुणको ईर्ष्या गर्नु वा त्यस गुणको अरूले सराहना गर्दा अयोग्य महसुस गर्नु आवश्यक छैन। नबिर्सनुहोस्, तपाईंसित केही गुण भएकोले नै यहोवाले छान्नुभएको हो। अनि ती गुणहरू विकास गर्न र अरू भाइहरूको फाइदाको निम्ति प्रयोग गर्न उहाँले तपाईंलाई मदत गर्न सक्नुहुन्छ।—फिलिप्पी ४:१३.
‘आज्ञाकारी हुनुहोस् र अधीनमा बस्नुहोस्’
१०. “पुरुषहरूमध्ये वरदान[प्रति]” मूल्यांकन जाहेर गर्नु किन अत्यन्तै उपयुक्त छ?
१० उपहार पाउँदा त्यसको मूल्यांकन गर्नुभन्दा उत्तम कुरा अरू हुँदैन। कलस्सी ३:१५ भन्छ, “तिमीहरू धन्यवादी होओ।” त्यसोभए, यहोवाले हामीलाई दिनुभएको अनमोल वरदान अर्थात् “पुरुषहरूमध्ये वरदान[को]” सन्दर्भमा नि? निस्सन्देह, प्रथमतः हामी उदार उपहार दाता यहोवाप्रति कृतज्ञ हुन चाहन्छौं। तर “पुरुषहरूमध्ये वरदान[लाई]” नि? अनि हामीले कसरी तिनीहरूको मूल्यांकन गरेको देखाउनसक्छौं?
११. (क) “पुरुषहरूमध्ये वरदान[प्रति]” कसरी मूल्यांकन व्यक्त गर्नसक्छौं? (ख) “आज्ञाकारी होओ” र “अधीनमा बस” भन्ने पदावलीहरूको विशेषता के छ?
११ हामी बाइबल आधारित तिनीहरूको सल्लाह तथा निर्णयहरू पालन गरेर “पुरुषहरूमध्ये वरदान[प्रति]” मूल्याकंन दर्शाउनसक्छौं। बाइबलले हामीलाई यस्तो सल्लाह दिन्छ: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्ने जस्तैगरी, तिमीहरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्, यो तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, किनकि त्यसबाट तिमीहरूलाई लाभदायक हुँदैन।” (हिब्रू १३:१७) याद गर्नुहोस्, हामी अगुवाइ लिनेहरूको “आज्ञाकारी” मात्र होइन तर “अधीनमा” पनि बस्नुपर्छ। “अधीनता[को]” निम्ति चलाइने युनानी शब्दको शाब्दिक अर्थ “राजी हुनु” हो। “आज्ञाकारी होओ” र “अधीनमा बस” पदावलीहरूबारे बाइबलविद् आर. सि. एच. लेन्स्कि टिप्पणी गर्छन्: “व्यक्तिविशेषले तब मात्र आज्ञा पालन गर्छ, जब उसलाई अह्राइएको काम ठीक छ र उसकै फाइदाको निम्ति हो भनेर सहमत हुन्छ; भिन्न विचारधारा हुँदा चाहिं . . . ऊ राजी हुन्छ।” हामीले अगुवाइ लिनेहरूको निर्देशन बुझ्नुका साथै सहमत हुँदा आज्ञा पालन गर्न सजिलो हुन्छ। तर हामीले कुनै खास निर्णय गर्नुको पछाडिको कारण नबुझ्दा नि?
१२. केही खास निर्णय गर्नुपछाडिको कारण नबुझे तापनि हामी किन अधीनमा बस्ने वा राजी हुने हुनुपर्छ?
१२ यस्तो बेला हामी अधीनमा बस्नु वा राजी हुनु आवश्यक पर्नसक्छ। किन? एउटा कारण त यी आध्यात्मिक तवरमा योग्य पुरुषहरू हाम्रो हित नै चाहन्छन् भनी हामीले भरोसा गरेकोले हो। आखिरमा आफ्नो हेरचाहमा सुम्पिएको भेडाको निम्ति परमेश्वरप्रति जवाफदेही छु भनी तिनीहरूलाई थाह छ। (याकूब ३:१) यसबाहेक तिनीहरूले के कस्ता कुराको कारण खास निर्णय गरे हामीलाई सबै थाह नहुन पनि सक्छ।—हितोपदेश १८:१३.
१३. प्राचीनहरूको न्यायिक निर्णयको अधीनमा बस्न कुन कुराले मदत गर्नसक्छ?
१३ न्यायिक निर्णयहरूको अधीनमा बस्नेबारे के भन्न सकिन्छ नि? हो, विशेष गरी हाम्रो नातेदार वा प्रिय मित्रलाई बहिष्कार गर्ने निर्णय गरिंदा अधीनमा बस्न सजिलो नहोला। यहाँ पनि “पुरुषहरूमध्ये वरदान[को]” निर्णयसित राजी हुनु बेस हुनेछ। तिनीहरूले हामीले भन्दा निष्पक्ष ढंगमा निर्णय गर्नसक्छन् र तिनीहरूलाई धेरै तथ्य पनि थाह हुन्छ। यी भाइहरूले यस्तो निर्णय गर्नुपर्दा प्रायः कहिल्यै सजिलो हुँदैन किनभने ‘परमप्रभुको न्याय फैसला’ सुनाउनु भनेको गहन जिम्मेवारी हो। (२ इतिहास १९:६) तिनीहरू कृपालु हुन हर प्रयास गर्छन् किनभने परमेश्वर “क्षमा” गर्न तयार हुनुहुन्छ भनेर तिनीहरूलाई थाह छ। (भजन ८६:५) तर मण्डलीलाई स्वच्छ राख्नुपर्ने भएकोले गल्ती गर्ने अपश्चात्तापीहरूलाई बाइबलको निर्देशनअनुरूप बहिष्कार गर्नुपर्ने हुन्छ। (१ कोरिन्थी ५:११-१३) थुप्रै अवसरहरूमा गल्ती गर्ने व्यक्तिले प्राचीनहरूको निर्णय स्वीकार्छ। तिनको होस फर्काउन अनुशासन दिनुबाहेक अरू उपाय कल्याणकारी नहुनसक्छ। हामी, तिनका प्रियजनहरू निर्णयको अधीनमा बस्दा हामीले अनुशासनबाट लाभ उठाउन तिनलाई मदत गरिरहेका हुनेछौं।—हिब्रू १२:११.
“तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर”
१४, १५. (क) पहिलो थिस्सलोनिकी ५:१२, १३ अनुसार हामीले प्राचीनहरूको किन ख्याल राख्नुपर्छ? (ख) प्राचीनहरूले ‘हामीमाझ परिश्रम’ गरिरहेका छन् भनी किन भन्नसक्छौं?
१४ “पुरुषहरूमध्ये वरदान[को]” ख्याल राखेर पनि हामी आफ्नो मूल्यांकन देखाउनसक्छौं। थिस्सलोनिकाका मण्डलीहरूलाई पत्र लेख्दा पावलले यस्तो सल्लाह दिए: “तिमीहरूमा परिश्रम गर्नेहरू, प्रभुमा अगुवा हुनेहरू र तिमीहरूलाई चेताउनी दिनेहरूको आदर गर। औ तिमीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर।” (१ थिस्सलोनिकी ५:१२, १३) “परिश्रम गर्नेहरू”—के यस पदावलीले प्राचीनहरू हाम्रोलागि कति निस्वार्थसाथ जुट्दो रहेछन् भनेर बुझाउँदैन र? एकछिन यी प्रिय भाइहरूले बोक्ने गह्रौ भारलाई विचार गर्नुहोस्।
१५ यी थुप्रै भाइहरू परिवार भएका व्यक्तिहरू हुन् र तिनीहरूले परिवारको पालनपोषणको निम्ति जागिर खानुपर्छ। (१ तिमोथी ५:८) प्राचीनको बच्चाहरू पनि छन् भने तिनीहरूलाई आफ्नो बुबाको समय र ध्यान चाहिन्छ। तिनले तिनीहरूको स्कूलको कार्यमा मदत गर्नु पर्नसक्छ। अनि तिनीहरूको नव स्फूर्ति स्वास्थ्यबर्धक मनोरञ्जनमा खर्च गर्न पनि तालिका बनाउनुपर्छ। (उपदेशक ३:१, ४) सबैभन्दा महत्त्वपूर्ण त नियमित पारिवारिक बाइबल अध्ययन गरेर, क्षेत्र सेवकाईमा तिनीहरूसँग गएर र मसीही सभाहरूमा लगेर परिवारको तिनले आध्यात्मिक आवश्यकता पूरा गर्नुपर्छ। (व्यवस्था ६:४-७; एफिसी ६:४) यी जिम्मेवारीहरूको अलावा प्राचीनहरूको अन्य थप जिम्मेवारीहरू पनि छन् भनी नबिर्सौं: सभाहरूको निम्ति तयार पार्ने, गोठालोरूपी भेटहरू गर्ने, मण्डलीको आध्यात्मिक हितको हेरचाह गर्ने अनि आवश्यक परेको बेला न्यायिक मामिलाहरू हेर्ने। अझ अरू कतिले क्षेत्रीय सम्मेलन, जिल्ला अधिवेशन, राज्यभवन निर्माण तथा अस्पताल सम्पर्क समितिसित सम्बन्धित थप जिम्मेवारीहरू वहन गर्छन्। साँच्चै यी भाइहरूले साह्रै “परिश्रम” गर्छन्!
१६. हामीले प्राचीनहरूको ख्याल राख्छौं भनेर देखाउनसक्ने विभिन्न तरिकाहरू व्याख्या गर्नुहोस्।
१६ हामी कसरी तिनीहरूको ख्याल राख्छौं भनेर देखाउनसक्छौं? बाइबल हितोपदेश भन्छ: “ठीक बेलामा भनिएको कुरा झन् कति असल हुन्छ।” (हितोपदेश १५:२३; २५:११) तिनीहरूको अथक परिश्रमलाई हल्कासित लिइरहेका छैनौं भनेर देखाउन हामी तिनीहरूको कामको हृदयदेखि मूल्यांकन गर्नसक्छौं, तिनीहरूलाई प्रोत्साहन दिनसक्छौं। साथै, तिनीहरूबाट हामीले आशा गर्ने कुरामा व्यवहारिक हुनसक्छौं। अर्कोतर्फ हामी धक नमानी तिनीहरूकहाँ मदतको निम्ति जानुपर्छ। कहिलेकाहीं हाम्रो ‘मन ज्यादै कष्टमा’ परेको हुँदा परमेश्वरको वचनबाट “सिकाउन सिपालु[हरूबाट]” धर्मशास्त्रीय प्रोत्साहन, डोऱ्याइ वा सल्लाह आवश्यक परिरहेको हुनसक्छ। (भजन ५५:४; १ तिमोथी ३:२) तथापि प्राचीनले हामीलाई सीमित समय मात्र दिनसक्छन् भनेर पनि हामीले बुझ्नुपर्छ किनभने तिनले आफ्नो परिवार वा मण्डलीका अरू भाइबहिनीहरूको ख्याल गर्नुपर्छ। यी परिश्रमी भाइहरूप्रति “भातृ-प्रेम” देखाउँदै हामी तिनीहरूबाट अव्यवहारिक मागहरू नगरौं। (१ पत्रुस ३:८) बरु, तिनीहरूले जे जति समय र ध्यान दिएका छन्, त्यसैमा खुसी होऔं।—फिलिप्पी ४:५.
१७, १८. थुप्रै प्राचीनहरूका पत्नीले के कस्ता त्यागहरू गर्छन् र हामी यी विश्वासी बहिनीहरूलाई हल्कासित लिदैंनौं भनी कसरी देखाउनसक्छौं?
१७ प्राचीनहरूका पत्नी नि? के हामीले तिनीहरूको ख्याल राख्नु पर्दैन र? आखिरमा तिनीहरूले आफ्नो पति मण्डलीसित बाँडिरहेका छन्। यसको लागि अक्सर तिनीहरूले त्याग गर्नुपर्छ। कहिलेकाहीं आफ्नो परिवारसित बिताउनुपर्ने साँझको समय प्राचीनहरू मण्डलीका कामकुराहरूमा बिताउन बाध्य भइरहेका हुन्छन्। थुप्रै मण्डलीहरूमा विश्वासी मसीही स्त्रीहरू आफ्नो पतिले यहोवाको भेडाको हेरचाहमा समय बिताउन सकून् भनेर स्वेच्छापूर्वक त्यस्ता त्यागहरू गर्छन्।—२ कोरिन्थी १२:१५ तुलना गर्नुहोस्।
१८ यी विश्वासी मसीही स्त्रीहरूलाई हल्कारूपमा लिएका छैनौं भनेर हामी कसरी देखाउनसक्छौं? तिनीहरूको पतिबाट अव्यवहारिक मागहरू नगरेर। तर मूल्यांकनका दुई चार शब्दहरूले गर्नसक्ने कामलाई नबिर्सौं। हितोपदेश १६:२४ भन्छ: “दयालु वचन तपतप चुहुने महजस्तै हो, जिब्रोलाई मीठो बनाउने र शरीरलाई स्वास्थ्यकर बनाउने त्यो हुन्छ।” एउटा अनुभवलाई विचार गर्नुहोस्। एक विवाहित दम्पती मसीही सभापछि प्राचीनकहाँ आए र आफ्नो किशोर छोराबारे कुरा गर्न चाहे। त्यस प्राचीन ती दम्पतीसित कुरा गरुञ्जेल तिनको पत्नी धैर्यतापूर्वक पर्खिरहिन्। पछि आमाचाहिंले प्राचीनकी पत्नीकहाँ गएर यसो भनिन्: “तपाईंको पतिले हाम्रो परिवारलाई मदत गर्न समय दिनुभएकोमा धन्यवाद।” ती सरल मीठा शब्दहरूले साँच्चै प्राचीनकी पत्नीको हृदय छोयो।
१९. (क) प्राचीनहरू समूहगत तवरमा कुन काम गर्दैछन्? (ख) हामी सबै के गर्न कटिबद्ध हुनुपर्छ?
१९ भेडाहरूको हेरचाह गर्न प्राचीनहरूको प्रबन्ध गर्नु यहोवाको ‘उत्तम वरदानमध्ये’ एक हो। (याकूब १:१७) हो, यी पुरुषहरू हामीजस्तै असिद्ध छन् र तिनीहरूले गल्तीहरू गर्छन्। (१ राजा ८:४६) तैपनि, समूहगत रूपमा संसारभरिका प्राचीनहरूले यहोवाको उद्देश्य मनमा राख्दै छाँटकाँट गर्न, प्रोत्साहित गर्न, एकता कायम राख्न र बगालको सुरक्षा गर्न एकचित्त भई जुटिरहेका छन्। प्रत्येक प्राचीन अनुकम्पापूर्ण ढंगमा यहोवाको भेडाको हेरचाह गर्न कटिबद्ध होऊन् र आफ्ना भाइहरूका निम्ति वरदान वा आशिष् साबित होऊन्। अनि हामी सबै “पुरुषहरूमध्ये वरदान[को]” मूल्यांकन गर्दै तिनीहरूप्रति आज्ञाकारी होऔं र अधीनमा बसौं। यहोवाले मायालु ढंगमा यी पुरुषहरूको प्रबन्ध गरिदिनुभएकोमा हामी कत्ति कृतज्ञ हुनसक्छौं! किनभने तिनीहरू उहाँका भेडालाई यसो भन्छन्: ‘आनन्दसाथ परमेश्वरको सेवा गर्न तपाईंलाई मदत गर्ने काम हाम्रो हो’!
तपाईं के भन्नुहुन्छ?
◻ मण्डलीलाई शरीरसित तुलना गर्नु किन सुहाउँदो छ?
◻ प्राचीनहरू आफ्ना भाइहरूलाई कसरी आनन्दसाथ सेवा गर्न मदत गर्नसक्छन्?
◻ हामी अगुवाइ लिनेहरूप्रति आज्ञाकारी मात्र नभई किन अधीनमा पनि बस्नुपर्छ?
◻ हामी प्राचीनहरूको ख्याल गर्छौं भनेर कसरी देखाउनसक्छौं?
[पृष्ठ १६-मा भएको चित्र]
प्राचीनहरू अरूले तनमनले गरेको प्रयासको सराहना गर्छन्
[पृष्ठ १७-मा भएको चित्र]
सेवकाईमा जोसिलो नमुना बसालेर प्राचीनहरू परिवारका सदस्य तथा अरूलाई आनन्दसाथ सेवा गर्न मदत गर्नसक्छन्
[पृष्ठ १८-मा भएका चित्रहरू]
हामी हाम्रा परिश्रमी प्राचीनहरूको कडा परिश्रमको मूल्यांकन गर्छौं!