प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 १०/१ pp. २०-२४
  • के तपाईं आदर देखाउनमा अगुवाइ लिनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं आदर देखाउनमा अगुवाइ लिनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा र उहाँको नाउँलाई आदर गर्नुहोस्‌
  • अगुवाइ लिनेहरूले अरूलाई आदर देखाउँछन्‌
  • यहोवाको मण्डली र यसको निर्देशनलाई आदर गर्नुहोस्‌
  • परिभ्रमण निरीक्षकहरूप्रति आदर देखाउनुहोस्‌
  • “सबै मानिसहरूलाई आदर गर”
  • सँगी विश्‍वासीहरूलाई आदर गर्न तपाईंले अगुवाइ लिइरहनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • सबै प्रकारका मानिसहरूलाई आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • आदर गर्नुपर्नेलाई आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • अरूलाई आदर देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 १०/१ pp. २०-२४

के तपाईं आदर देखाउनमा अगुवाइ लिनुहुन्छ?

“एकअर्कालाई आदर देखाउनमा अगुवाइ लेओ।”—रोमी १२:१०, NW.

१. आज संसारको थुप्रै ठाउँमा के हराइसकेको छ?

संसारको कतिपय ठाउँमा सानाहरूले ठूलाहरूलाई घुँडा टेकेर आदर देखाउने चलन छ। यसो गर्दा, तिनीहरू ठूलाहरूभन्दा अग्लो देखिंदैनन्‌। साथै, यी समुदायमा सानाहरूले ठूलाहरूपट्टि पिठ्यूँ फर्काउनु अनादर ठानिन्छ। विभिन्‍न संस्कृतिमा बेग्लाबेग्लै तरिकाले आदर देखाइने भए पनि यसले हामीलाई मोशाको व्यवस्थाको सम्झना दिलाउँछ। त्यसमा यो आज्ञा समावेश छ: “बूढापाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर।” (लेवी १९:३२) दुःखको कुरा, आज थुप्रै ठाउँमा अरूलाई आदर देखाउने चलन हराइसकेको छ। हो, आजकल जताततै अनादरै-अनादर देखिन्छ।

२. परमेश्‍वरको वचनले हामीलाई कसको आदर गर्नू भन्छ?

२ आदर देखाउनुलाई परमेश्‍वरको वचनले एकदमै महत्त्व दिन्छ। यसले हामीलाई यहोवा र येशूको आदर गर्नू भन्छ। (यूह. ५:२३) साथै, परिवारका सदस्यहरू, सँगी विश्‍वासी र मण्डली बाहिरका कतिपयप्रति पनि आदर देखाउन हामीलाई आज्ञा दिएको छ। (रोमी १२:१०; एफि. ६:१, २; १ पत्रु. २:१७) यहोवाप्रति हामीले आदर देखाउने केही तरिका के-के हुन्‌? ख्रीष्टियान भाइबहिनीलाई हामी कसरी गहिरो आदर देखाउन सक्छौं? यी र यससित सम्बन्धित अन्य थप प्रश्‍न, आउनुहोस्‌ हामी विचार गरौं।

यहोवा र उहाँको नाउँलाई आदर गर्नुहोस्‌

३. यहोवालाई आदर देखाउने एउटा महत्त्वपूर्ण तरिका के हो?

३ यहोवालाई आदर देखाउने एउटा महत्त्वपूर्ण तरिका हो, उहाँको नाउँको कदर गरेर। आखिर, हामी “उहाँको नाउँको निम्ति” नै हौं। (प्रेरि. १५:१४) सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाको नाउँ बहन गर्नु साँच्चै सम्मानको कुरा हो। भविष्यवक्‍ता मीकाले भने: “सबै जातिका मानिसहरूचाहिं ता आफ्ना-आफ्नो देवताको नाउँमा हिंड्‌छन्‌, तर हामीचाहिं सदासर्वदै परमप्रभु आफ्ना परमेश्‍वरको नाउँमा हिंड्‌नेछौं।” (मीका ४:५) हामीले बहन गर्ने यहोवाको नाउँमा कलंक नलाग्नेगरि हरेक दिन जीवन बिताउने प्रयास गरेर हामी “परमेश्‍वरको नाउँमा हिंड्‌नेछौं।” पावलले रोमका ख्रीष्टियानहरूलाई सम्झाए जस्तै यदि सुसमाचार प्रचार गरेअनुरूप हामीले जीवन बिताएनौं भने परमेश्‍वरको नाउँ “निन्दित” अर्थात्‌ कलंकित हुनेछ।—रोमी २:२१-२४.

४. यहोवाबारे साक्षी दिने सुअवसरलाई हामी कसरी हेर्छौं?

४ साक्षीकार्यद्वारा पनि हामी यहोवालाई आदर देखाउछौं। विगतमा यहोवाले इस्राएल राष्ट्रलाई आफ्नो साक्षी बन्‍न निम्त्याउनुभयो तर तिनीहरू त्यो भूमिका निभाउनबाट चुके। (यशै. ४३:१-१२) अक्सर तिनीहरूले यहोवालाई पिठ्यूँ फर्काए र “उहाँलाई दुःखित तुल्याए।” (भज. ७८:४०) अन्ततः त्यस राष्ट्रले यहोवाको अनुग्रह पूर्णतया गुमायो। तर आज हामी यहोवाबारे साक्षी दिने र उहाँको नाउँ चिनाउने सुअवसर पाएकोमा कृतज्ञ छौं। हामी यो सुअवसर स्वीकार्छौं किनभने हामी उहाँलाई प्रेम गर्छौं र उहाँको नाउँ पवित्र पारिएको हेर्न चाहन्छौं। हाम्रा स्वर्गमा हुनुहुने पिता र उहाँको उद्देश्‍यबारे सत्य कुरा थाह पाउँदा-पाउँदै प्रचारकार्यदेखि हामी कसरी मुख मोर्न सक्छौं र? हामी पावलले जस्तै यस्तो महसुस गर्छौं: “मलाई करै लागेको छ, किनकि सुसमाचार सुनाइनँ भनेता मलाई धिक्कार छ।”—१ कोरि. ९:१६.

५. यहोवामा विश्‍वास गर्नु र उहाँलाई आदर गर्नु आपसमा कसरी सम्बन्धित छ?

५ भजनरचयिता दाऊदले यसो भने: “तपाईंको नाउँ जान्‍नेहरू जत्तिचाहिंले आफ्नो भरोसा तपाईंमा राख्छन्‌। किनभने हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन।” (भज. ९:१०) यदि हामी उहाँलाई साँच्चै चिन्छौं र उहाँको कदर गर्छौं भने विगतका विश्‍वासी सेवकहरूले जस्तै उहाँमा भरोसा गरिरहेका हुन्छौं। यसरी यहोवामा भरोसा र विश्‍वास गर्नु उहाँलाई आदर देखाउने एउटा अर्को तरिका हो। उहाँमा भरोसा गर्नु र उहाँलाई आदर गर्नुबीचको सम्बन्धलाई बाइबलले कसरी देखाउँछ, याद गर्नुहोस्‌। प्राचीन इस्राएलले उहाँमा भरोसा नराख्दा मोशालाई उहाँले यस्तो प्रश्‍न गर्नुभयो: “यी मानिसहरूले मलाई कतिसम्म तिरस्कार गरिरहन्छन्‌? यिनीहरूका बीचमा मैले गरेका चिन्हहरू देखेर पनि यिनीहरूले कतिसम्म ममाथि अविश्‍वास गर्छन्‌?” (गन्ती १४:११) यसको ठीक विपरीत, हामी भने परीक्षा आइपर्दा समेत सुरक्षा पाउन र सँभालिन यहोवामा भर परेर उहाँप्रति आदर देखाउँछौं।

६. यहोवाप्रति गहिरो आदर देखाउन हामीलाई केले उत्प्रेरित गर्छ?

६ यहोवालाई गरिने आदर हृदयबाटै आउनुपर्छ भनेर येशूले बताउनुभयो। निष्कपट भई उपासना नगर्नेहरूलाई यहोवाको भनाइ उद्धृत गर्दै येशूले भन्‍नुभयो: “यस जातिले आफ्ना ओठले मेरो आदर गर्दछ। तर तिनीहरूको हृदय मबाट टाढा छ।” (मत्ती १५:८) यहोवालाई हृदयबाटै प्रेम गर्दा उहाँप्रति निष्कपट आदर उब्जन्छ। (१ यूह. ५:३) साथै, हामी यहोवाको यो प्रतिज्ञा पनि मनमा राख्छौं: “मलाई आदर गर्नेलाई म आदर गर्नेछु।”—१ शमू. २:३०.

अगुवाइ लिनेहरूले अरूलाई आदर देखाउँछन्‌

७. (क) जिम्मेवार भाइहरूले किन आफ्नो अधीनमा भएकाहरूप्रति आदर देखाउनुपर्छ? (ख) पावलले सँगी विश्‍वासीहरूप्रति कसरी आदर देखाए?

७ प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई यस्तो सल्लाह दिए: “एकअर्कालाई आदर देखाउनमा अगुवाइ लेओ।” (रोमी १२:१०, NW ) मण्डलीमा जिम्मेवारी बहन गर्ने भाइहरूले आफ्नो अधीनमा भएकाहरूप्रति आदर देखाउन उदाहरण बसाल्नुपर्छ, मतलब “अगुवाइ” लिनुपर्छ। यस सन्दर्भमा, गहन जिम्मेवारी बहन गर्नेहरूले पावलको उदाहरण पछ्याउनुपर्छ। (१ थिस्सलोनिकी २:७, ८ पढ्‌नुहोस्‌) पावल आफूले गर्न नचाहेको कुरा अरूलाई कहिल्यै गर्न लगाउँदैनन्‌ भनी तिनले भ्रमण गरेका मण्डलीका भाइहरूलाई थाह थियो। पावलले सँगी विश्‍वासीहरूप्रति आदर देखाए र फलस्वरूप तिनीहरूबाट आदर कमाए। यसैकारण, पावलले “म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू मेरो देखासिकी गर्नेहरू होओ” भन्दा थुप्रैले राजीखुसीले तिनको अनुकरण गरेको हुनुपर्छ भनेर हामी निश्‍चित हुन सक्छौं किनभने तिनी आफै एक असल उदाहरण थिए।—१ कोरि. ४:१६.

८. (क) येशूले एउटा कुन महत्त्वपूर्ण तरिकामा चेलाहरूप्रति आदर देखाउनुभयो? (ख) आज निरीक्षकहरूले कसरी येशूको उदाहरण पछ्याउन सक्छन्‌?

८ जिम्मेवार भाइहरूले आफ्नो अधीनमा रहेकाहरूप्रति आदर देखाउने अर्को तरिका हो: कुनै अनुरोध गर्नु वा निर्देशन दिनुको कारण तिनीहरूलाई बताएर। यसो गर्दा तिनीहरूले येशूको अनुकरण गरिरहेका हुन्छन्‌। उदाहरणको लागि, कटनीको लागि थप खेताला पठाइदिऊन्‌ भनी प्रार्थना गर्न चेलाहरूलाई भन्दा येशूले त्यसको कारण बताउनुभयो। उहाँले भन्‍नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३७, ३८) त्यसैगरि, उहाँले चेलाहरूलाई “जागा रहो,” भन्दा पनि कारण बताउनुभयो। उहाँले भन्‍नुभयो: “किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ।” (मत्ती २४:४२) येशूले चेलाहरूलाई के गर्नुपर्छ मात्र होइन तर किन गर्नुपर्छ भनी धेरैपल्ट बताउनुभयो। यसप्रकार, उहाँले तिनीहरूप्रति आदर र मर्यादा देखाउनुभयो। ख्रीष्टियान निरीक्षकहरूले पछ्याउनुपर्ने कत्ति राम्रो उदाहरण!

यहोवाको मण्डली र यसको निर्देशनलाई आदर गर्नुहोस्‌

९. विश्‍वव्यापी ख्रीष्टियान मण्डली र यसका प्रतिनिधिहरूप्रति आदर देखाउँदा कसको पनि आदर हुन्छ? व्याख्या गर्नुहोस्‌।

९ यहोवाप्रति आदर देखाउने हो भने विश्‍वव्यापी ख्रीष्टियान मण्डली र यसका प्रतिनिधिहरूलाई पनि आदर गर्नुपर्छ। विश्‍वासी दास वर्गबाट आउने धर्मशास्त्रीय सल्लाहलाई राम्ररी ध्यान दिंदा यहोवाको प्रबन्धप्रति आदर देखाइरहेका हुन्छौं। प्रेरित पावलले, प्रथम शताब्दीको ख्रीष्टियान मण्डलीमा अभिषिक्‍त जनहरूप्रति अनादर देखाउनेहरूलाई हप्की दिनुपर्ने आवश्‍यकता देखे। (३ यूहन्‍ना ९-११ पढ्‌नुहोस्‌) यूहन्‍नाको भनाइबाट के देखिन्छ भने, त्यतिबेला निरीक्षकहरूलाई मात्र होइन तर तिनीहरूको शिक्षा र निर्देशनप्रति पनि अनादर देखाइएको थियो। खुसीको कुरा, प्रायजसो ख्रीष्टियानहरूले त्यसो गरेनन्‌। प्रेरितहरू जीवित छउञ्जेल सम्पूर्ण भाइहरूले अगुवाइ लिइरहेकाहरूप्रति गहिरो आदर देखाए।—फिलि. २:१२.

१०, ११. ख्रीष्टियान मण्डलीभित्र कतिपयलाई केही हदसम्म अख्तियार दिनु किन उचित हो, बाइबलबाट व्याख्या गर्नुहोस्‌।

१० कतिपयले तर्क गरेका छन्‌, येशूले चेलाहरूलाई “तिमीहरूचाहिं सबै दाज्यूभाइ हौ” भन्‍नुभएकोले ख्रीष्टियान मण्डलीमा अख्तियार पाएकाहरू हुनुहुँदैन। (मत्ती २३:८) तर बाइबलको हिब्रू र युनानी दुवै भागमा यस्ता थुप्रै पुरुषको उदाहरण दिइएको छ जसले परमेश्‍वरबाट अख्तियार पाएका थिए। कुलपिता, न्यायकर्ता र पुरातन हिब्रू राजाहरूको इतिहासले यहोवा मानव प्रतिनिधिहरू मार्फत निर्देशन दिनुहुन्छ भन्‍ने कुराको प्रशस्त प्रमाण पेस गर्छ। मानिसहरूले परमेश्‍वरबाट नियुक्‍त व्यक्‍तिहरूको उचित आदर नगर्दा उहाँले तिनीहरूलाई अनुशासन दिनुभयो।—२ राजा १:२-१७; २:१९, २३, २४.

११ त्यसैगरि, प्रथम शताब्दीका ख्रीष्टियानहरूले पनि प्रेरितहरूको अख्तियार स्वीकारे। (प्रेरि. २:४२) उदाहरणको लागि, पावलले आफ्ना भाइहरूलाई निर्देशन दिए। (१ कोरि. १६:१; १ थिस्स. ४:२) साथै, तिनी आफै पनि मण्डलीका अख्तियारवालाको अधीनमा राजीखुसीले बसे। (प्रेरि. १५:२२; गला. २:९, १०) हो, ख्रीष्टियान मण्डलीभित्रको अख्तियारप्रति पावलले उचित दृष्टिकोण राखे।

१२. अख्तियारबारे कुन दुइटा पक्ष हामी बाइबलबाट सिक्न सक्छौं?

१२ यसबाट हामीले सिक्न सक्ने पाठको दुइटा पक्ष छ। पहिलो: “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले परिचालक निकाय मार्फत पुरुषहरूलाई जिम्मेवार ओहदामा नियुक्‍त गर्नु धर्मशास्त्रीय हो। अनि कतिपय पुरुषहरूलाई चाहिं अरू नियुक्‍त पुरुषहरूमाथि अख्तियार चलाउन नियुक्‍त गरिन्छ। (मत्ती २४:४५-४७; १ पत्रु. ५:१-३) दोस्रो: नियुक्‍त पुरुषहरूलगायत हामी सबैले आफूमाथि अख्तियार चलाउनेहरूप्रति आदर देखाउनुपर्छ। त्यसोभए, विश्‍वव्यापी ख्रीष्टियान मण्डलीको निरीक्षण गर्नेहरूलाई हामीले आदर देखाउन सक्ने केही व्यावहारिक तरिका के-के हुन्‌?

परिभ्रमण निरीक्षकहरूप्रति आदर देखाउनुहोस्‌

१३. ख्रीष्टियान मण्डलीका वर्तमान प्रतिनिधिहरूप्रति हामी कसरी आदर देखाउन सक्छौं?

१३ पावलले बताए: “हे भाइ हो, हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछौं, कि तिमीहरूमा परिश्रम गर्नेहरू, प्रभुमा अगुवा हुनेहरू र तिमीहरूलाई चेतावनी दिनेहरूको आदर गर। औ तिनीहरूका कामको खातिर तिनीहरूलाई प्रेमसाथ अति उच्च आदर गर। तिमीहरू आपसमा मेल मिलापमा बस।” (१ थिस्स. ५:१२, १३) परिभ्रमण निरीक्षकहरू अवश्‍यै पनि “परिश्रम गर्नेहरू”-मध्ये पर्छन्‌। तसर्थ, तिनीहरूलाई “अतिउच्च आदर” गरौं। यसो गर्ने एउटा तरिका हो: तिनीहरूले दिने सल्लाह र प्रोत्साहनलाई हृदयबाटै ग्रहण गर्नु। यस्ता निरीक्षकहरूले विश्‍वासी दास वर्गबाट पाएको निर्देशन दिंदा ‘माथिबाटको बुद्धिले’ हामीलाई “आज्ञा मान्‍न तयार हुन” उत्प्रेरित गर्छ।—याकू. ३:१७, NW.

१४. मण्डलीले परिभ्रमण निरीक्षकलाई हृदयबाटै आदर गरेको कसरी देखाउँछन्‌ अनि यसको नतिजा कस्तो हुन्छ?

१४ तर हामीलाई बानी परिसकेको भन्दा बेग्लै तरिकामा काम गर्न निर्देशन दिइयो भने नि? आदर देखाउनुमा कहिलेकाहीं, “यहाँ यो काम यसरी गरिंदैन” वा “त्यो तरिका अरू ठाउँमा ठीक होला तर हाम्रो मण्डलीमा उचित हुँदैन” भन्‍ने जस्ता सोचाइ राख्दै प्राप्त निर्देशनप्रति आपत्ति नजनाउनु पनि समावेश हुन सक्छ। बरु, हामी निर्देशन पालन गर्ने प्रयास गर्छौं। मण्डली यहोवाको हो र यसका शिर येशू हुनुहुन्छ भन्‍ने कुरा मनमा ठप्प राख्दा निर्देशन पालन गर्न मदत पाउँछौं। परिभ्रमण निरीक्षकले दिएको निर्देशन मण्डलीले खुसीसाथ स्वीकारेर लागू गर्दा तिनीप्रति हृदयबाटै आदर देखाइरहेको हुन्छ। कोरिन्थ मण्डलीको भ्रमणमा आएका प्राचीन भाइ तीतसले दिएको निर्देशन आदरपूर्वक पालन गरेकोमा त्यहाँका भाइहरूको प्रेरित पावलले प्रशंसा गरे। (२ कोरि. ७:१३-१६) त्यस्तैगरि, आज हामी पनि निश्‍चित हुन सक्छौं कि परिभ्रमण निरीक्षकबाट प्राप्त निर्देशनलाई लागू गर्ने इच्छाले हामीलाई प्रचारकार्यमा आनन्दित हुन ठूलो योगदान पुऱ्‍याउँछ।—२ कोरिन्थी १३:११ पढ्‌नुहोस्‌।

“सबै मानिसहरूलाई आदर गर”

१५. सँगी विश्‍वासीहरूप्रति आदर देखाउने केही तरिका के-के हुन्‌?

१५ पावलले यस्तो लेखे: “बूढा मानिसलाई नहप्काऊ, तर तिनलाई बाबुलाई जस्तैगरी र आफूभन्दा कान्छाहरूलाई चाहिं भाइसमान गरी सम्झाऊ। आफूभन्दा ठूली स्त्रीहरूलाई आमाझैं, र कान्छीहरूलाई चाहिं सम्पूर्ण पवित्रतासाथ बहिनी सम्झेर सम्झाऊ। विधवाहरूलाई, जो साँच्चिनै विधवा छन्‌, आदर गर।” (१ तिमो. ५:१-३) हो, परमेश्‍वरको वचनले हामीलाई मण्डलीका सबैप्रति आदर देखाउन सल्लाह दिन्छ। तर कुनै भाइ वा बहिनीसित तपाईंको खटपट परेको छ भने नि? के यसले गर्दा तपाईंलाई उक्‍त ख्रीष्टियानप्रति आदर देखाउन गाह्रो लाग्छ? अथवा परमेश्‍वरका ती सेवकको आध्यात्मिक गुणहरूलाई ठम्याएर आफ्नो दृष्टिकोणमा काँटछाँट पो गर्न सक्नुहुन्छ कि? विशेषगरि, अख्तियार पाएकाहरूले आफ्ना भाइहरूप्रति आदरपूर्ण दृष्टिकोण राखिराख्नुपर्छ। मतलब, कहिल्यै ‘बगालमाथि अधिकार जमाउनु’ हुँदैन। (१ पत्रु. ५:३) खासगरि, यसका सदस्यहरूबीचको हार्दिक प्रेमले परिचित ख्रीष्टियान मण्डलीमा हामी आदर देखाउने प्रशस्त सुअवसर पाउँछौं।—यूहन्‍ना १३:३४, ३५ पढ्‌नुहोस्‌।

१६, १७. (क) प्रचारमा भेट्‌नेहरूलाई मात्र नभई विरोधीहरूलाई समेत आदर गर्नु किन महत्त्वपूर्ण छ? (ख) हामी कसरी “सबै मानिसहरूलाई आदर” देखाउँछौं?

१६ निश्‍चय नै हामी ख्रीष्टियान मण्डली भित्रकाहरूलाई मात्र आदर देखाउने गर्दैनौं। पावलले आफ्ना समयका ख्रीष्टियानहरूलाई यस्तो लेखे: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गला. ६:१०) हो, सहकर्मी वा सहपाठीले कठोर व्यवहार गर्दा बाइबलको यो सिद्धान्त लागू गर्न गाह्रो हुन्छ। यस्तो बेला “कुकर्मीहरूको कारण व्याकुल नहो” भन्‍ने बाइबलका शब्दहरू सम्झनु आवश्‍यक हुन्छ। (भज. ३७:१) यो सल्लाह पालन गर्दा विरोधीहरूलाई समेत आदरपूर्ण व्यवहार गर्न मदत पाउनेछौं। त्यसैगरि, आफूलाई श्रेष्ठ नठानी प्रचारकार्यमा भाग लिंदा “नम्रता र डरसँग [अर्थात्‌, “गहिरो आदरसहित,” NW ],” व्यवहार गर्न मदत दिन सक्छ। (१ पत्रु. ३:१५) हाम्रो पहिरन र कोरीबाटीले समेत प्रचारमा भेट्‌नेहरूलाई आदर गर्छौं भन्‍ने कुरा देखाउन सक्छ।

१७ हो, सँगी भाइबहिनीसित व्यवहार गर्दा होस्‌ या बाहिरकाहरूसित, हामी यो सल्लाह लागू गर्न चाहन्छौं: “सबै मानिसहरूलाई आदर गर। भाइ-बन्धुहरूलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।”—१ पत्रु. २:१७. (w 08 10/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

तपाईं यिनीहरूप्रति कसरी आदर देखाउन सक्नुहुन्छ:

• यहोवालाई?

• मण्डलीका प्राचीन र परिभ्रमण निरीक्षकलाई?

• मण्डलीका प्रत्येक सदस्यलाई?

• प्रचारमा भेट्‌नेहरूलाई?

[पृष्ठ २१-मा भएको चित्र]

प्रथम शताब्दीका ख्रीष्टियानहरूले परिचालक निकायको निरीक्षणप्रति आदर देखाए

[पृष्ठ २४-मा भएको चित्र]

परिचालक निकायद्वारा नियुक्‍त परिभ्रमण निरीक्षकहरूलाई हरेक ठाउँका प्राचीनहरू आदर गर्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने