अध्ययन लेख ३८
गीत १२० ख्रिष्टको नम्रता अनुकरण गरौँ!
अरूलाई आदर देखाउनुहोस्
“सुनचाँदीभन्दा इज्जत कमाउनु उत्तम हो।”—हितो. २२:१.
सिक्न सकिने कुरा
हामीले किन अरूलाई आदर गर्नुपर्छ र आदर देखाउन गाह्रो हुँदा पनि हामीले किन त्यसो गर्नुपर्छ?
१. अरूले आदर गर्दा हामीलाई कस्तो लाग्छ? (हितोपदेश २२:१)
अरूले आदर गर्दा तपाईँलाई कस्तो लाग्छ? वास्तवमा हामी सबैलाई नै अरूले आदर गरेको मन पर्छ। त्यसरी आदर पाउँदा हामी खुसी हुन्छौँ। त्यसैले त बाइबल यसो भन्छ: “सुनचाँदीभन्दा इज्जत कमाउनु उत्तम हो।”—हितोपदेश २२:१ पढ्नुहोस्।
२-३. (क) अरूलाई आदर देखाउन किन सधैँ सजिलो हुँदैन? (ख) यस लेखमा हामी के छलफल गर्नेछौँ?
२ तर अरूलाई आदर देखाउन सधैँ सजिलो नहुन सक्छ। किनभने हाम्रो ध्यान अरूको राम्रो पक्षमा भन्दा कमीकमजोरीमा गइहाल्छ। साथै हामी वरपरका धेरैजसो मानिसहरू एकअर्कासित अनादरपूर्ण व्यवहार गर्छन्। तर हामीले भने त्यस्तो गर्नु हुँदैन। किन? किनभने यहोवा हामीले “हरप्रकारका मानिसहरूको आदर” गरेको चाहनुहुन्छ।—१ पत्रु. २:१७.
३ हामी यस लेखमा अरूलाई आदर गर्नु भनेको के हो भनेर सिक्नेछौँ। साथै (१) परिवारका सदस्यहरू, (२) मण्डलीका भाइबहिनीहरू र (३) अरू मानिसहरूलाई आदर गरेको हामी कसरी देखाउन सक्छौँ भनेर पनि सिक्नेछौँ। अनि आदर देखाउन गाह्रो भए पनि हामी कसरी त्यसो गर्न सक्छौँ भनेर विचार गर्नेछौँ।
अरूलाई आदर गर्नु भनेको के हो?
४. अरूलाई आदर गर्नुमा के समावेश छ?
४ अरूलाई आदर गर्नुमा हामी तिनीहरूबारे के सोच्छौँ र तिनीहरूसित कस्तो व्यवहार गर्छौँ भन्ने कुरा समावेश छ। हामी असल गुणहरू भएको, कुनै राम्रो काम गरेको वा अख्तियारमा भएको व्यक्तिलाई आदर गर्छौँ। तर महत्त्वपूर्ण कुरा भनेको यस्तो आदर देखावटी हुनु हुँदैन बरु मनैदेखि आएको हुनुपर्छ।—मत्ति १५:८.
५. हामी अरूलाई किन आदर गर्छौँ?
५ यहोवा हामीले अरूलाई आदर गरेको चाहनुहुन्छ। जस्तै, उहाँले हामीलाई “उच्च अख्तियारवालाहरू”-लाई आदर गर्न आज्ञा दिनुभएको छ। (रोमी १३:१, ७) तर कसै-कसैले भन्लान्: “म अरूलाई आदर गर्न तयार छु। तर तिनीहरू त्यसको लायक पनि हुनुपऱ्यो नि!” के यसो भन्नु ठीक हो? हामी अरूले गर्ने व्यवहारको आधारमा तिनीहरूलाई आदर देखाउने कि नदेखाउने भनेर छनौट गर्दैनौँ। हामी अरूलाई आदर गर्छौँ किनकि हामी यहोवालाई प्रेम गर्छौँ र उहाँलाई खुसी बनाउन चाहन्छौँ।—यहो. ४:१४; १ पत्रु. ३:१५.
६. आफूलाई आदर नगर्ने व्यक्तिलाई पनि आदर गर्न सम्भव छ? व्याख्या गर्नुहोस्। (चित्र पनि हेर्नुहोस्।)
६ कसै-कसैलाई यस्तो लाग्ला: ‘आफूलाई आदर नगर्ने व्यक्तिलाई पनि आदर गर्न सकिन्छ र?’ पक्कै सकिन्छ। केही उदाहरण विचार गरौँ। राजा साउलले अरूको अगाडि आफ्नो छोरा जोनाथनको अपमान गरे। (१ समु. २०:३०-३४) तैपनि जोनाथनले आफ्नो बुबालाई आदर गर्न छोडेनन् र तिनलाई अन्तसम्मै युद्धमा साथ दिए। (प्रस्थ. २०:१२; २ समु. १:२३) प्रधानपुजारी एलिले हन्नालाई रक्सीले मात्तिएको आरोप लगाए। (१ समु. १:१२-१४) हुनत एलिले इस्राएलमा असल बुबा र असल प्रधानपुजारी भन्ने नाम कमाएका थिएनन्। तैपनि हन्नाले तिनीसित आदरपूर्वक बोलिन्। (१ समु. १:१५-१८; २:२२-२४) एथेन्सवासीहरूले प्रेषित पावललाई “बकबके” भनेर तिनको बेइज्जत गरे। (प्रेषि. १७:१८) तैपनि पावलले तिनीहरूसित आदरपूर्वक कुरा गरे। (प्रेषि. १७:२२) हो, सजिलो हुँदा मात्र होइन, गाह्रो हुँदा पनि हामी अरूलाई आदर देखाउन सक्छौँ। यसो गर्न हामीलाई यहोवाप्रतिको प्रेम र उहाँलाई खुसी बनाउने चाहनाले उत्प्रेरित गर्छ। हामीले क-कसलाई आदर गर्नुपर्छ र किन, अब छलफल गरौँ।
हुनत जोनाथनलाई तिनको बुबा राजा साउलले अपमान गरेका थिए। तर तिनले आफ्नो बुबालाई अन्तसम्मै साथ दिए (अनुच्छेद ६ हेर्नुहोस्)
परिवारका सदस्यहरूलाई आदर देखाउनुहोस्
७. परिवारका सदस्यहरूलाई आदर गर्न हामीलाई किन गाह्रो हुन सक्छ?
७ चुनौती। हामी आफ्नो धेरैजसो समय परिवारसितै बिताउँछौँ। त्यसैले हामीलाई परिवारका सदस्यहरूको राम्रो पक्ष मात्र होइन, कमीकमजोरी पनि थाह हुन्छ। परिवारमा कोही बिरामी छन् भने तिनको हेरविचार गर्न हामीलाई गाह्रो भइरहेको हुन सक्छ। कसै-कसैको भने स-सानो कुरामा पनि अचाक्ली चिन्ता लिने बानी हुन सक्छ। कसै-कसैले चाहिँ हामीसित रुखो बोली बोल्न सक्छन् वा नराम्रो व्यवहार गर्न सक्छन्। घर भनेको परिवारका सबैको लागि चैनको सास लिने ठाउँ हुनुपर्छ। तर दुःखको कुरा, परिवारमा एकअर्कालाई आदर नदेखाएकोले थुप्रैको घरमा कलह मच्चिएको छ। परिवारलाई मानव शरीरसित तुलना गर्न सकिन्छ। बाथ रोग लाग्दा शरीरका अङ्गहरूबीचको तालमेल बिग्रन्छ। त्यसैगरि परिवारका सदस्यहरूले एकअर्कालाई आदर नदेखाउँदा तिनीहरूले मिलेर काम गर्न सक्दैनन् र परिवारमा शान्ति हुँदैन। बाथ रोगले हाम्रो शरीरमा पार्ने असरलाई हामी पूरै रोक्न सक्दैनौँ। तर परिवारमा एकअर्कालाई आदर गर्न सिकेर पारिवारिक सम्बन्ध बिग्रनदेखि भने जोगाउन सक्छौँ।
८. हामीले किन परिवारका सदस्यहरूलाई आदर देखाउनुपर्छ? (१ तिमोथि ५:४, ८)
८ आदर किन देखाउनुपर्छ? (१ तिमोथि ५:४, ८ पढ्नुहोस्।) पावलले तिमोथिलाई लेखेको पहिलो पत्रमा परिवारका सदस्यहरूले एकअर्काको ख्याल राख्नुपर्छ भनेर बताए। यसो गर्दा तिनीहरूले एकअर्कालाई आदर गरिरहेका हुन्छन्। तर हामी कर्तव्यबोधले मात्र त्यसो गर्दैनौँ। परिवारमा आदर देखाउँदा हामीले “परमेश्वरको भक्ति” गरिरहेका हुन्छौँ। कसरी? परमेश्वरको भक्ति गर्नु भनेको वफादार भई उहाँको सेवा गर्नु हो। यहोवाले नै परिवारको सुरुवात गर्नुभयो। (एफि. ३:१४, १५) त्यसैले हामीले परिवारको सदस्यलाई आदर देखाउँदा वास्तवमा परिवारको सुरुवातकर्ता यहोवालाई नै आदर देखाइरहेका हुन्छौँ। (१ तिमो. ५:४) हामीले परिवारमा आदर देखाउनुपर्ने कत्ति सशक्त कारण!
९. पतिपत्नीले एकअर्कालाई कसरी आदर देखाउन सक्छन्? (चित्रहरू पनि हेर्नुहोस्।)
९ आदर कसरी देखाउन सक्छौँ? आफ्नी पत्नीलाई आदर गर्ने पतिले आफ्नो बोली र व्यवहारद्वारा उनलाई अनमोल ठानेको देखाउँछन्, चाहे तिनीहरू दुई जना मात्र हुँदा होस् वा अरूको अगाडि। (हितो. ३१:२८; १ पत्रु. ३:७) तिनी उनलाई कुटपिट गर्दैनन्, उनको बेइज्जत गर्दैनन् वा उनलाई बेकामको महसुस गराउँदैनन्। अर्जेन्टिनामा बस्ने आरिएलa यसो भन्छन्: “मेरी श्रीमती बिरामी भएकीले कहिलेकाहीँ मेरो निकै चित्त दुख्ने कुरा भन्छिन्। त्यस्तो बेला उनले मुखले जे भने पनि उनको मनमा त्यस्तो केही छैन भन्ने कुरा आफैलाई सम्झाउँछु। अनि म पहिलो कोरिन्थी १३:५ सम्झने गर्छु र त्यो पदले मलाई आफ्नो रिस काबूमा राख्न र श्रीमतीसित आदरपूर्वक बोल्न मदत गर्छ।” (हितो. १९:११) पत्नीले पनि आफ्नो पतिबारे अरूसित कुरा गर्दा राम्रो कुरा बताएर तिनको आदर गरेको देखाउँछिन्। (एफि. ५:३३) उनी आफ्नो पतिको अपमान वा आलोचना गर्दिनन् र उनलाई जथाभाबी नामले बोलाउँदिनन्। किनकि यस्तो बोली र व्यवहारले वैवाहिक सम्बन्धलाई कमजोर बनाउँछ। (हितो. १४:१) इटालीमा बस्ने एक बहिनीको पति जे कुराको पनि अचाक्ली चिन्ता-फिक्री गर्छन्। उनी भन्छिन्: “कहिलेकाहीँ मेरो श्रीमान्ले स-सानो कुरामा पनि एकदमै चिन्ता लिनुहुन्छ। पहिला-पहिला मेरो बोली र हाउभाउमा उहाँलाई फिटिक्कै आदर नगरेको देखिन्थ्यो। तर मैले अरूलाई आदर गर्ने व्यक्तिहरूसित जति धेरै सङ्गत गरेँ, श्रीमान्लाई आदर देखाउन मलाई त्यति नै सजिलो लाग्न थाल्यो।”
हामीले परिवारमा एकअर्कालाई आदर देखाउँदा वास्तवमा हाम्रो परिवारको शिर यहोवालाई आदर देखाइरहेका हुन्छौँ (अनुच्छेद ९ हेर्नुहोस्)
१०. युवाहरूले आमाबुबालाई आदर गरेको कसरी देखाउन सक्छन्?
१० युवाहरू हो, आमाबुबाले परिवारको लागि तोकेका नियमहरू पालन गर्नुहोस्। (एफि. ६:१-३) उहाँहरूसित आदरपूर्वक बोल्नुहोस्। (प्रस्थ. २१:१७) उमेर ढल्कँदै जाँदा आमाबुबालाई तपाईँको अझ धेरै मदत चाहिन सक्छ। त्यसैले उहाँहरूको हेरविचार गर्न सक्दो गर्नुहोस्। मारियाको अनुभव विचार गरौँ। उनको बुबा यहोवाको साक्षी होइनन्। बुबा बिरामी पर्दा मारियालाई तिनको हेरविचार गर्न निकै गाह्रो भयो। किनभने तिनले मारियाको निकै चित्त दुख्ने कुराहरू भन्ने गर्थे। उनी भन्छिन्: “म बुबालाई साँच्चै आदर गर्थेँ। तर त्यो कुरा काममा पनि देखाउन सकूँ भनेर यहोवालाई प्रार्थना गरेँ। आमाबुबालाई आदर गर्नू भन्ने आज्ञा यहोवाले नै दिनुभएकोले त्यसो गर्ने बल पनि उहाँले नै दिनुहुनेछ भन्ने कुरा मैले आफैलाई सम्झाएँ। समयको अन्तरालमा मैले के सिकेँ भने बुबाले मसित जस्तो व्यवहार गर्नुभए पनि मैले उहाँलाई आदर गर्नुपर्छ।” गाह्रो हुँदा पनि परिवारका सदस्यहरूलाई आदर गरिरह्यौँ भने हामीले परिवारको सुरुवातकर्ता यहोवालाई नै आदर गरिरहेका हुन्छौँ।
मण्डलीका भाइबहिनीहरूलाई आदर देखाउनुहोस्
११. भाइबहिनीलाई आदर देखाइरहन कहिलेकाहीँ किन गाह्रो हुन सक्छ?
११ चुनौती। हाम्रा भाइबहिनीहरू बाइबलको स्तरअनुसार जीवन बिताउँछन्। तर कहिलेकाहीँ कसै-कसैले हामीसित नराम्रो व्यवहार गर्न सक्छन्, हामीबारे गलत सोचाइ राख्न सक्छन् वा हामीलाई रिस उठाउन सक्छन्। यदि कुनै भाइबहिनीविरुद्ध हाम्रो मनमा “केही गुनासो छ भने” तिनलाई आदर देखाइरहन हामीलाई गाह्रो हुन सक्छ। (कल. ३:१३) तैपनि तिनलाई आदर देखाइरहन हामीलाई केले मदत गर्छ?
१२. हामीले भाइबहिनीहरूलाई किन आदर देखाउनुपर्छ? (२ पत्रुस २:९-१२)
१२ आदर किन देखाउनुपर्छ? (२ पत्रुस २:९-१२ पढ्नुहोस्।) पत्रुसले आफ्नो दोस्रो पत्रमा प्रथम शताब्दीको मण्डलीका केही ख्रिष्टियनहरूबारे उल्लेख गरे। तिनीहरूले “महिमा पाएका जनहरू” अर्थात् एल्डरहरूको निन्दा गरिरहेका थिए। तिनीहरूले एल्डरहरूबारे त्यसरी अनादरपूर्ण तरिकामा बोलिरहेको देख्दा वफादार स्वर्गदूतहरूले कस्तो प्रतिक्रिया देखाए? “यहोवा परमेश्वरको आदर” गर्ने भएकोले तिनीहरूले ती ख्रिष्टियनहरूविरुद्ध एउटै अपशब्द बोलेनन्। स्वर्गदूतहरू त्रुटिरहित भए पनि ती अहङ्कारी मानिसहरूविरुद्ध तिनीहरूले केही पनि नराम्रो कुरा बोलेनन्। बरु तिनीहरूले न्याय गर्ने र हप्काउने काम यहोवाकै हातमा छोडिदिए। (रोमी १४:१०-१२; तुलना गर्नुहोस्: यहुदा ९) स्वर्गदूतहरूबाट हामी राम्रो पाठ सिक्न सक्छौँ। हामीले विरोधीहरूलाई त आदर देखाउनुपर्छ भने भाइबहिनीहरूलाई आदर नदेखाउने त कुरै आउँदैन। हो, हामीले एकअर्कालाई आदर गर्नमा “अगुवाइ” लिनुपर्छ। (रोमी १२:१०) यसो गर्दा हामीले यहोवालाई नै आदर गरिरहेका हुन्छौँ।
१३-१४. हामी मण्डलीका भाइबहिनीहरूलाई कसरी आदर देखाउन सक्छौँ? (चित्रहरू पनि हेर्नुहोस्।)
१३ आदर कसरी देखाउन सक्छौँ? एल्डरहरू हो, भाइबहिनीलाई मायालुपूर्वक सिकाउनुहोस्। (फिले. ८, ९) कसैलाई सल्लाह दिनुपर्दा सधैँ दयालु हुनुहोस्। रिसको झोकमा कहिल्यै सल्लाह नदिनुहोस्। बहिनीहरू हो, कुरा नकाटेर वा निन्दा नगरेर अरूलाई आदर गरेको देखाउनुहोस्। यसो गर्नुभयो भने मण्डलीका अरूले पनि एकअर्कालाई आदर गर्न सिक्नेछन् र मण्डलीको न्यानो वातावरण कायम रहनेछ। (ति. २:३-५) साथै हामी सबैले एल्डरहरूलाई आदर गरेको देखाउन सक्छौँ। कसरी? तिनीहरूलाई साथ दिएर अनि कृतज्ञता व्यक्त गरेर। किनभने तिनीहरूले सभाहरू सञ्चालन गर्न, प्रचारकार्यलाई डोऱ्याउन अनि “गलत कदम” चालेकाहरूलाई मदत गर्न कडा मेहनत गर्छन्।—गला. ६:१; १ तिमो. ५:१७.
१४ रोसियो बहिनीको अनुभव विचार गरौँ। आफूलाई सल्लाह दिएको एल्डरलाई आदर देखाउन तिनलाई गाह्रो लागेको थियो। तिनी भन्छिन्: “उहाँले मलाई एकदमै कडा तरिकामा सल्लाह दिनुभएको जस्तो लाग्यो। मैले घरमा अरूसित उहाँबारे नकारात्मक तरिकामा कुरा गरेँ। हुनत मैले आफूलाई कस्तो लागिरहेको छ भनेर लुकाउन खोजेँ। तर भित्रभित्रै भने मैले उहाँको मनसायमा नै शङ्का गर्न थालेँ र उहाँको सल्लाहलाई बेवास्ता गरेँ।” तिनलाई केले मदत गऱ्यो? तिनी भन्छिन्: “बाइबल पढ्दै जाँदा पहिलो थिस्सलोनिकी ५:१२, १३ ले मेरो ध्यान खिच्यो। मैले ती भाइलाई आदर देखाइरहेको छैनँ भनेर महसुस गरेँ र मेरो अन्तस्करणले मलाई निकै घोच्न थाल्यो। मैले यहोवालाई प्रार्थना गरेँ अनि हाम्रा प्रकाशनहरूमा अनुसन्धान पनि गरेँ। त्यसले मलाई आफ्नो मनोवृत्ति सच्याउन मदत गऱ्यो। समस्या वास्तवमा ती भाइमा होइन, ममा पो रहेछ। म घमन्डी भइरहेकी थिएँ। म नम्र छु भने मात्र अरूलाई आदर देखाउन सक्छु भनेर अहिले मैले बुझेकी छु। हुनत म अहिले पनि कहिलेकाहीँ चुक्छु तर अरूलाई आदर देखाउन म निरन्तर प्रयास गर्दै छु। यो देख्दा यहोवा खुसी हुनुहुन्छ भन्ने कुरामा म ढुक्क छु।”
एल्डरहरूले गर्ने मेहनतको लागि कृतज्ञता व्यक्त गरेर अनि तिनीहरूलाई साथ दिएर हामी तिनीहरूलाई आदर देखाउन सक्छौँ (अनुच्छेद १३-१४ हेर्नुहोस्)
अरू मानिसहरूलाई आदर देखाउनुहोस्
१५. अरू मानिसहरूलाई आदर देखाइरहन हामीलाई किन गाह्रो हुन सक्छ?
१५ चुनौती। हामी प्रचारकार्यमा बाइबल सत्यप्रति खासै चासो नदेखाउने व्यक्तिहरू पनि भेट्छौँ। (एफि. ४:१८) कोही-कोही भने आफू हुर्केको पृष्ठभूमिले गर्दा हाम्रो सन्देश सुन्नै चाहँदैनन्। अर्कोतर्फ हामीले जति नै प्रयास गरे पनि हाकिम वा स्कुलका शिक्षकहरूले हाम्रो मेहनतको कदरै गर्दैनन् होला। अथवा हाम्रा सहकर्मीहरू वा स्कुलका साथीहरूले हामीसित रुखो व्यवहार गर्छन् होला। त्यसैले समय बित्दै जाँदा तिनीहरूलाई आदर देखाइरहन हामीलाई गाह्रो हुन सक्छ अनि ‘जस्तालाई त्यस्तै’ गर्न थाल्न सक्छौँ।
१६. यहोवाको सेवा नगर्नेहरूलाई हामीले किन आदर देखाउनुपर्छ? (१ पत्रुस २:१२; ३:१५)
१६ आदर किन देखाउनुपर्छ? हामी यहोवाको सेवा नगर्ने व्यक्तिहरूसित कस्तो व्यवहार गर्छौँ, त्यो उहाँ याद गर्नुहुन्छ। ख्रिष्टियनहरूको असल आचरण देखेर कसै-कसैले ‘परमेश्वरको महिमा गर्न’ थाल्न सक्छन् भनेर प्रेषित पत्रुसले बताए। त्यसैले आफ्नो विश्वासको पक्षमा बोल्नुपर्दा “कोमल भाव र गहिरो आदर” देखाउन तिनले सल्लाह दिए। (१ पत्रुस २:१२; ३:१५ पढ्नुहोस्।) अदालतमा न्यायाधीशसामु उभ्याइँदा होस् वा छिमेकीलाई आफ्नो विश्वासबारे बताउँदा, हामीले तिनीहरूसित सधैँ आदर भावसहित बोल्नुपर्छ। किनभने हामी के भन्छौँ र कसरी भन्छौँ, त्यो यहोवा देख्नुहुन्छ र सुन्नुहुन्छ। अरू मानिसहरूलाई आदर देखाउनुपर्ने कत्ति सशक्त कारण!
१७. हामी अरू मानिसलाई कसरी आदर देखाउन सक्छौँ?
१७ आदर कसरी देखाउन सक्छौँ? प्रचारमा जाँदा हामी बाइबलबारे अलि-अलि मात्र थाह भएको वा केही पनि थाह नभएको मानिसहरू पनि भेट्छौँ। तिनीहरूसित कुरा गर्दा हामी आफूलाई नै सबै कुरा थाह छ जस्तो देखाउन चाहँदैनौँ। बरु तिनीहरू परमेश्वरको नजरमा अनमोल छन् भन्ने कुरा मनमा राख्नुपर्छ र तिनीहरूलाई आफूभन्दा श्रेष्ठ ठान्नुपर्छ। (हाग्गै २:७; फिलि. २:३) कसैले हाम्रो विश्वासको खिल्ली उडाउँदा तिनीहरूलाई पनि व्यङ्ग्य हान्दै जवाफ फर्काइहालूँ जस्तो लाग्न सक्छ। (१ पत्रु. २:२३) तर रिसको झोकमा प्याच्च केही भनिहाल्नुभयो भने पनि तुरुन्तै क्षमा माग्नुहोस्। तपाईँ काम गर्ने ठाउँमा चाहिँ अरूलाई कसरी आदर देखाउन सक्नुहुन्छ? काममा मेहनती हुनुहोस् अनि सहकर्मीहरू र हाकिममा भएका राम्रा गुणहरूमा ध्यान दिन प्रयास गर्नुहोस्। (ति. २:९, १०) तपाईँ इमानदार हुनुहुन्छ र तनमनले काम गर्नुहुन्छ भने मानिसलाई खुसी पार्न सकिएला वा नसकिएला, त्यो त आफ्नै ठाउँमा छ। तर परमेश्वरलाई भने पक्कै खुसी पार्न सक्नुहुनेछ।—कल. ३:२२, २३.
१८. अरूप्रतिको आदर विकास गर्न र त्यो काममा पनि देखाउन हामीले गर्ने प्रयास किन खेर जानेछैन?
१८ हामीले यस लेखमा अरूप्रतिको आदर विकास गर्नुपर्ने र त्यो काममा पनि देखाउनुपर्ने थुप्रै कारणहरू छलफल गऱ्यौँ। हामीले परिवारमा एकअर्कालाई आदर देखाउँदा वास्तवमा हाम्रो परिवारको शिर यहोवालाई आदर देखाइरहेका हुन्छौँ। त्यसैगरि हामीले मण्डलीका भाइबहिनीलाई आदर देखाउँदा वास्तवमा स्वर्गमा हुनुहुने हाम्रो बुबालाई नै आदर देखाइरहेका हुन्छौँ। अनि अरू मानिसहरूलाई आदर देखाउँदा तिनीहरू पनि हाम्रा महान् परमेश्वर यहोवाको महिमा र आदर गर्न उत्प्रेरित हुन सक्छन्। अरूलाई आदर देखाउँदा तिनीहरूले पनि हामीलाई आदर गर्छन् नै भन्ने छैन। तैपनि हामीले तिनीहरूप्रतिको आदर विकास गऱ्यौँ र त्यो काममा पनि देखायौँ भने हाम्रो प्रयास खेर जानेछैन। किन? किनभने यहोवाले हामीलाई आशिष् दिनुहुनेछ। उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “ज-जसले मलाई आदर गर्छन्, म तिनीहरूलाई आदर गर्नेछु।”—१ समु. २:३०.
गीत १२९ हामी सहिरहन्छौँ!
a केही नाम परिवर्तन गरिएका छन्।