प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ११/१५ pp. २६-३०
  • एक-अर्कालाई खुला मनले क्षमा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक-अर्कालाई खुला मनले क्षमा गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीले किन क्षमा दिनुपर्छ?
  • आफ्ना भावना केलाउनुहोस्‌
  • के झडङ्‌ग रिसाइहाल्नुपर्छ?
  • ‘तिमीहरूको शान्ति तिमीहरूकहाँ नै फर्कोस्‌’
  • यहोवालाई मन पर्ने किसिमको व्यवहार गर्नुहोस्‌
  • “एउटाले अर्कोलाई क्षमा गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • हृदयदेखि क्षमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के तपाईं यहोवाले जस्तै क्षमा गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • यहोवा क्षमा दिनेहरूलाई आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ११/१५ pp. २६-३०

एक-अर्कालाई खुला मनले क्षमा गर्नुहोस्‌

“एक-अर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।”—कल. ३:१३.

तपाईं के भन्‍नुहुन्छ?

  • क्षमा दिन हामी किन इच्छुक हुनुपर्छ?

  • क्षमा दिनुपर्ने आवश्‍यकतालाई येशूले दृष्टान्तद्वारा कसरी प्रस्ट पार्नुभयो?

  • एक-अर्कालाई क्षमा दिन इच्छुक हुँदा हामीलाई कस्तो फाइदा हुन्छ?

१, २. क्षमा दिन तयार छु कि छैन भनेर विचार गर्नु किन उपयुक्‍त छ?

पापप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ र हामीले पाप गर्दा उहाँ कस्तो प्रतिक्रिया देखाउनुहुन्छ भनेर बुझ्न बाइबलले मदत गर्छ। बाइबलले क्षमाबारे पनि धेरै कुरा बताउँछ। दाऊद र मनश्‍शेले देखाएको मनोवृत्तिले गर्दा यहोवा क्षमा दिन इच्छुक हुनुभएको विषयमा हामीले अघिल्लो लेखबाट बुझिसक्यौं। आफ्नो गल्तीको लागि तिनीहरू पछुताए, यहोवासामु आफ्नो पाप स्वीकारे अनि त्यो गल्ती फेरि नदोहोऱ्‍याउने दृढ सङ्‌कल्प गरे। साँचो पश्‍चात्ताप गरेको हुँदा तिनीहरूले फेरि यहोवाको अनुमोदन पाए।

२ अरूलाई क्षमा गर्ने सन्दर्भमा हामी कस्तो मनोवृत्ति देखाउँछौं, अब त्यो विचार गरौं। मानौं, मनश्‍शेले हत्या गरेका निर्दोष व्यक्‍तिहरूमध्ये तपाईंको नातेदार पनि थिए। त्यस्तो अवस्थामा तपाईं के गर्नुहुनेथियो? के तपाईं मनश्‍शेलाई क्षमा गर्न सक्नुहुनेथियो? यो एकदमै सान्दर्भिक प्रश्‍न हो किनभने हामी बाँचिरहेको संसार दुष्ट, हिंस्रक र स्वार्थी छ। ख्रीष्टियनहरूले किन क्षमा दिन सिक्नुपर्छ? तपाईंले दुर्व्यवहार वा कुनै अन्याय सहनुपऱ्‍यो भने आफ्ना भावनालाई कसरी काबुमा राख्न सक्नुहुन्छ? तपाईं कसरी यहोवाको जस्तै प्रतिक्रिया देखाउन सक्नुहुन्छ? अनि क्षमा दिन कसरी इच्छुक हुन सक्नुहुन्छ?

हामीले किन क्षमा दिनुपर्छ?

३-५. (क) क्षमा दिनुपर्ने आवश्‍यकताबारे बुझाउन येशूले आफ्ना श्रोताहरूलाई कुन दृष्टान्त सुनाउनुभयो? (ख) मत्ती १८:२१-३५ मा येशूले बताउनुभएको दृष्टान्तबाट हामीले कस्तो पाठ सिक्नुपर्छ?

३ हाम्रो चित्त दुखाउने व्यक्‍ति ख्रीष्टियन मण्डलीको सदस्य होस्‌ या नहोस्‌, हामी क्षमा दिन इच्छुक हुनुपर्छ। यसो गरेको खण्डमा मात्र परिवारको सदस्य, साथीभाइ, अरू मानिस अनि यहोवासित शान्ति कायम गर्न सक्छौं। अरूले हामीलाई जति चोटि चित्त दुखाए पनि हामी क्षमा दिन इच्छुक हुनुपर्छ भनी बाइबल बताउँछ। यो कुरा बुझाउन येशूले एक जना दासको कथा सुनाउनुभयो जसले राजालाई धेरै ऋण तिर्नुपर्नेथियो। आउनुहोस्‌, त्यो दृष्टान्त विचार गरौं।

४ दासले राजालाई एकदमै ठूलो रकम तिर्नुपर्नेथियो। त्यो ऋण चुक्‍ता गर्न दासले छ करोड दिन बराबरको ज्याला जम्मा गर्नुपर्नेथियो। तर राजाले यत्रो ऋण चुक्‍ता गरिदिए। त्यस दासले भने आफूलाई जम्मा १०० दिन बराबरको ज्याला तिर्नुपर्ने सङ्‌गी दासको ऋण चुक्‍ता गर्न मानेन। आफ्नो सङ्‌गी दासले निकै बिन्ती गरे तापनि उसले त्यसलाई समातेर झ्यालखानामा हाल्न लगायो। यस्तो व्यवहार गर्ने त्यस दाससित राजा असाध्यै रिसाए। राजाले भने: “मैले तँमाथि कृपा गरेजस्तै के तैंले पनि आफ्नो सँगी दासमाथि कृपा गर्नु पर्दैनथ्यो?” अनि “राजा क्रुद्ध भए र आफ्नो सबै ऋण नतिरेसम्म [क्षमा नदिने] त्यस दासलाई थुनिराख्न जेलरहरूको हातमा सुम्पिदिए।”—मत्ती १८:२१-३४.

५ यो दृष्टान्त बताएर येशूले कुन कुरा बुझाउन खोज्दै हुनुहुन्थ्यो? उहाँले निष्कर्षमा यसो भन्‍नुभयो: “त्यसैगरि तिमीहरू हरेकले आफ्नो भाइलाई मनैदेखि क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने मेरो बुबाले पनि तिमीहरूलाई त्यसै गर्नुहुनेछ।” (मत्ती १८:३५) येशूको कुरा स्पष्ट छ: हामी त्रुटिपूर्ण छौं र जिन्दगीभरि थुप्रै गल्ती गर्छौं। तर यहोवा परमेश्‍वर हामीलाई क्षमा दिन इच्छुक हुनुहुन्छ। भनौं भने, हामीले कुनै पाप नगरेजस्तो व्यवहार गर्न उहाँ तयार हुनुहुन्छ। त्यसैले यहोवाको मित्र बन्‍न चाहन्छौं भने अरूले गल्ती गर्दा हामीले क्षमा दिनै पर्छ। येशूले डाँडाको उपदेशमा पनि त्यही कुरा भन्‍नुभयो: “यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गऱ्‍यौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”—मत्ती ६:१४, १५.

६. क्षमा दिन किन सधैं सजिलो हुँदैन?

६ तपाईं भन्‍नुहोला, ‘कुरा त ठीकै हो तर भनेजस्तो सजिलो कहाँ हुन्छ र!’ अरूले हामीविरुद्ध गल्ती गर्दा हामीमा विभिन्‍न किसिमको भावना आउन सक्छ। जस्तै: रिसले चूर हुनु, धोका पाएको महसुस गर्नु, उसलाई सजाय दिन चाहनु वा बदलासमेत लिन खोज्नु। आफूविरुद्ध गल्ती गर्ने व्यक्‍तिलाई कहिल्यै क्षमा दिन सक्दिनँ जस्तो कसै-कसैलाई लाग्न सक्छ। तपाईंलाई पनि यस्तै लाग्छ भने यहोवाले चाहनुभएअनुसारै कसरी अरूलाई क्षमा दिन सक्नुहुन्छ?

आफ्ना भावना केलाउनुहोस्‌

७, ८. अरूको कठोर व्यवहारले गर्दा चित्त दुखेको छ भने क्षमा दिन तपाईंलाई केले मदत गर्न सक्छ?

७ अरूले नराम्रो व्यवहार गर्दा वा नराम्रो व्यवहार गरेजस्तो लाग्दा हामीलाई असाध्यै नमजा लाग्न सक्छ। यस्तै महसुस गरेका एक जना जवान पुरुषले यसो भने: “एक चोटि रिसले चूर भएको बेला कहिल्यै घर नफर्कने कसम खाएर घरबाट निस्कें। त्यो दिन बाहिर साह्रै घमाइलो थियो र यताउता टहल्न थालें। यसपछि त मनै हलुका भयो। यो रमाइलो बाटोमा हिंड्‌दै जाँदा वरपरको सौन्दर्यले मेरो रिस कम भयो र मन शान्त भयो। अनि पछुतो मान्दै केही घन्टापछि घर फर्कें।” यस अनुभवले देखाएझैं दिमाग ठन्डा हुन दियौं भने ठीकसित सोच्न सक्नेछौं र पछुताउनुपर्ने काम गर्नेछैनौं।—भज. ४:४; हितो. १४:२९; याकू. १:१९, २०.

८ तर अझै पनि नमीठो लागिरहेको छ भने नि? आफू खिन्‍न हुनुको कारण के हो, त्यो पत्ता लगाउनुहोस्‌। अरूले अन्यायपूर्ण व्यवहार गरेकोले वा तपाईंसित अशिष्ट व्यवहार गरेकोले हो कि? अरूले जानाजानी चित्त दुखाउन खोजेको जस्तो लागेकोले हो कि? के उसले गरेको काम साँच्चै खराब थियो? आफू खिन्‍न हुनुको कारण पत्ता लगाउन सकियो भने त्यस्ता भावना मनबाट हटाउन मदत गर्ने बाइबल सिद्धान्तहरूबारे विचार गर्न र यहोवाले चाहनुहुने किसिमको व्यवहार गर्न सक्नुहुनेछ। (हितोपदेश १५:२८; १७:२७ पढ्‌नुहोस्‌) यसरी विचार गर्दा परिस्थितिलाई ठीकसित हेर्न अनि क्षमा गर्न इच्छुक हुन सक्नुहुनेछ। हुन त यस्तो तरिका अपनाउनु गाह्रो होला तर यसो गर्नु भनेको परमेश्‍वरको वचनलाई आफ्नो “मनको विचार र आशय” जाँच्न दिनु अनि क्षमा दिने सन्दर्भमा यहोवाको अनुकरण गर्नु हो।—हिब्रू ४:१२.

के झडङ्‌ग रिसाइहाल्नुपर्छ?

९, १०. (क) अरूले गल्ती गरेजस्तो लाग्दा तपाईंको प्रतिक्रिया कस्तो हुन सक्छ? (ख) झडङ्‌ग रिसाउनुको साटो क्षमा दिन सिक्यौं भने कस्तो महसुस गर्नेछौं?

९ रिस उठ्‌न सक्ने परिस्थितिहरू थुप्रै हुन्छन्‌। उदाहरणको लागि, गाडी चलाइरहेको बेला अर्को गाडी तपाईंतिर बत्तिएर आयो। तपाईं के गर्नुहुन्छ? कोही-कोही रिसले चूर भएर अर्को गाडीको ड्राइभरलाई हात हाल्छन्‌। तर ख्रीष्टियनको नाताले तपाईं पक्कै त्यस्तो गर्नुहुनेछैन।

१० झडङ्‌ग रिसाएर केही गरिहाल्नुभन्दा एक छिन ठन्डा दिमागले सोच्नु बेस हो। सायद तपाईंको पनि दोष थियो कि? तपाईंको ध्यान खलबलिएको हुन सक्छ। अथवा अर्को गाडीमा कुनै गडबडी भएको हुन सक्छ। कारण राम्ररी बुझ्यौं, आफूलाई थाह नभएको कुनै कुरा हुन सक्छ भनेर मानिलियौं अनि क्षमा गर्न इच्छुक भयौं भने रिस, निराशा अनि अन्य नकारात्मक भावनालाई कम गर्न सक्नेछौं। उपदेशक ७:९ यसो भन्छ: “रीस देखाउन छिटो नगर्‌, किनभने रीस मूर्खको मनमा हुन्छ।” अरूले जानाजानी रिस उठाएको हो जस्तो हामीलाई अक्सर लाग्न सक्छ। तर धेरैजसो अवस्थामा भने मानिसको त्रुटिपूर्ण अवस्थाले गर्दा गल्ती भएको हुन्छ। अथवा अरूले कुनै कुरा भन्‍नु वा गर्नुपछाडिको सबै कारण हामीले राम्ररी नबुझेका हुन सक्छौं। त्यसैले अरूलाई माया गर्न र क्षमा दिन तयार हुनुहोस्‌। यसो गर्नुभयो भने तपाईं आनन्दित हुन सक्नुहुनेछ।—१ पत्रुस ४:८ पढ्‌नुहोस्‌।

‘तिमीहरूको शान्ति तिमीहरूकहाँ नै फर्कोस्‌’

११. सुसमाचारप्रति मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि हामीले के गुमाउनु हुँदैन?

११ प्रचारकार्यमा भाग लिइरहेको बेला कसैले तपाईंसित रूखो व्यवहार गऱ्‍यो भने कसरी आत्मसंयम देखाउन सक्नुहुन्छ? येशूले ७० जना चेलालाई प्रचार गर्न पठाउँदा प्रत्येक घरमा शान्तिको कामना गर्न सिकाउनुभयो। उहाँले भन्‍नुभयो: “यदि शान्ति चाहने व्यक्‍ति त्यहाँ रहेछ भने तिमीहरूले कामना गरेको शान्ति ऊमाथि रहनेछ। यदि रहेनछ भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।” (लूका १०:१, ५, ६) हाम्रो कुरा ध्यान दिएर सुन्‍ने मान्छे भेट्‌दा हामीलाई खुसी लाग्छ किनभने सुसमाचार सुन्दा तिनीहरूकै हित हुन्छ। तर कहिलेकाहीं मानिसहरूले निहुँ खोज्छन्‌। त्यतिबेला के गर्ने? यस्तो अवस्थामा पनि हामीले आफ्नो शान्ति गुमाउनु हुँदैन भनेर येशूले भन्‍नुभयो। मानिसहरूले जस्तोसुकै व्यवहार गरे तापनि एउटा घर छोडेर अर्को घर जाँदा हाम्रो मन शान्त भएको हुनुपर्छ। कसैले रूखो व्यवहार गर्दा खिन्‍न भयौं भने कसरी शान्ति कायम गर्न सक्छौं र?

१२. एफिसी ४:३१, ३२ मा उल्लिखित पावलका शब्दहरूअनुसार हामीले कस्तो व्यवहार गर्नुपर्छ?

१२ प्रचारकार्यमा मात्र होइन सबै परिस्थितिमा शान्ति कायम गर्ने प्रयास गर्नुहोस्‌। अरूलाई क्षमा गर्न इच्छुक हुनु भनेको उनीहरूको गलत आचरणलाई समर्थन गर्नु वा त्यसले पुऱ्‍याएको क्षतिलाई हल्कासित लिनु होइन। क्षमा गर्नु भनेको त्यस्ता गल्तीहरूको कारण मनमा द्वेष नराख्नु अनि आफ्नो शान्ति खलबलिन नदिनु हो। नकारात्मक कुरा मनमा खेलाइरहेकोले अनि आफूले भोग्नु परेको नराम्रो व्यवहारबारे मात्र सोचिरहेकोले कसै-कसैले आफ्नो शान्ति गुमाएका छन्‌। त्यस्तो सोचाइको वशमा नपर्नुहोस्‌। नबिर्सनुहोस्‌, मनमा द्वेष पालिरहेमा खुसी हुन सकिंदैन। त्यसैले क्षमा दिन इच्छुक हुनुहोस्‌।—एफिसी ४:३१, ३२ पढ्‌नुहोस्‌।

यहोवालाई मन पर्ने किसिमको व्यवहार गर्नुहोस्‌

१३. (क) ख्रीष्टियनहरूले “बलिरहेको कोइला” कसरी शत्रुको ‘टाउकोमा थुपार्छन्‌?’ (ख) अरू रिसाउँदासमेत नम्र हुनुभयो भने परिणाम के हुन सक्छ?

१३ कहिलेकाहीं गैर-साक्षीले तपाईंलाई नराम्रो व्यवहार गर्लान्‌। यस्तो अवस्थामा पनि तपाईं उक्‍त व्यक्‍तिलाई बाइबलको कुरा बुझ्न मदत दिन सक्नुहुन्छ। प्रेषित पावलले लेखे: “‘तिम्रो शत्रु भोकाएको छ भने उसलाई खुवाऊ; ऊ तिर्खाएको छ भने उसलाई केही पिउन देऊ; किनकि यसो गरेर तिमीले बलिरहेको कोइला उसको टाउकोमा थुपार्नेछौ।’ आफूलाई खराबीसित पराजित हुन नदेऊ, बरु खराबीलाई भलाइले जितिरह।” (रोमी १२:२०, २१) अरू रिसाउँदासमेत नम्र हुनुभयो भने उनीहरूले आफ्नो मनोवृत्ति बदल्न सक्छन्‌ र दयालु व्यवहार गर्न सक्छन्‌। खराबी गर्ने व्यक्‍तिको अवस्था बुझेर अनि दयालु भएर तपाईंले उनीहरूलाई बाइबलबारे सिक्न मदत गर्न सक्नुहुन्छ। अरूले जस्तोसुकै प्रतिक्रिया देखाए पनि नम्र भएर जवाफ दिंदा उनीहरूले तपाईंको असल आचरण देख्छन्‌। यसरी उनीहरूले तपाईं र अरूबीचको भिन्‍नता बुझ्नेछन्‌।—१ पत्रु. २:१२; ३:१६.

१४. अरूले जस्तोसुकै व्यवहार गरे तापनि तपाईंले किन खराबीको बदला खराबी गर्नु हुँदैन?

१४ कुनै-कुनै अवस्थामा केही मानिससित सरसङ्‌गत नगर्नु नै उचित हुन्छ। जस्तै: जो पहिले मण्डलीकै सदस्य थिए तर पाप गरेर पश्‍चात्ताप नगरेकोले बहिष्कार भए। यस्तो व्यक्‍तिको पापले तपाईंको चित्त दुखेको छ भने तिनले पश्‍चात्ताप गरे तापनि क्षमा दिन असाध्यै गाह्रो हुन सक्छ। यस्तो अवस्थामा, गल्ती गरेर पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई क्षमा दिन सकूँ भनेर तपाईं यहोवालाई प्रार्थना गरिरहन सक्नुहुन्छ। अरूको मनको कुरा तपाईंलाई के थाह! तर यहोवालाई थाह छ। उहाँ मानिसहरूको भित्री झुकाव थाह पाउन सक्नुहुन्छ र गल्ती गर्ने व्यक्‍तिप्रति धीरजी हुनुहुन्छ। (भज. ७:९; हितो. १७:३) त्यसकारण त बाइबल यसो भन्छ: “कसैलाई खराबीको बदला खराबी नगर। जुन काम सबै मानिसले असल ठान्छन्‌, त्यही गर। सबै मानिससित शान्तिसित बस्न तिमीहरू सक्दो कोसिस गर। प्रियहरू हो, साटो नफेर, बरु परमेश्‍वरको क्रोधलाई ठाउँ देओ; किनकि यस्तो लेखिएको छ: ‘बदला लिने काम मेरो हो; म प्रतिशोध लिनेछु, यहोवा भन्‍नुहुन्छ।’” (रोमी १२:१७-१९) यहोवाले सबै कुरा थाह पाउन सक्नुहुन्छ तर हामी सक्दैनौं। अनि बाइबलले अरूको न्याय नगर्नू भनेर सल्लाह दिन्छ। (मत्ती ७:१, २) त्यसैले यहोवाले ठीक तरिकामा न्याय गर्नुहुनेछ भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ।

१५. आफूसित दुर्व्यवहार गर्ने व्यक्‍तिप्रतिको रिस कम गर्न हामीलाई कुन कुराले मदत गर्नेछ?

१५ आफू अन्यायको सिकार भएजस्तो लाग्दा र पश्‍चात्ताप गर्ने उक्‍त व्यक्‍तिलाई क्षमा दिन गाह्रो हुँदा, तपाईंमाथि अन्याय गर्ने व्यक्‍तिले पनि वास्तवमा एउटा ठूलो सङ्‌घर्ष गर्दै छन्‌ भनेर याद गर्नु राम्रो हो। हामीजस्तै तिनी पनि त्रुटिपूर्ण छन्‌ र तिनले जन्मजात कमीकमजोरीविरुद्ध निकै सङ्‌घर्ष गर्नुपर्छ। (रोमी ३:२३) सबै त्रुटिपूर्ण मानिसप्रति यहोवा दया देखाउनुहुन्छ। त्यसैले हामीविरुद्ध गल्ती गर्ने व्यक्‍तिको लागि प्रार्थना गर्नु उचित हो। त्यसो गऱ्‍यौं भने ऊप्रतिको रिस पनि कम हुँदै जान्छ। अनि आफूसित दुर्व्यवहार गर्ने व्यक्‍तिप्रति मनमा द्वेष पालिरहनु हुँदैन भनेर येशूका यी शब्दहरूले स्पष्ट पार्छ: “आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो र तिमीहरूको खेदो गर्नेहरूका लागि प्रार्थना गरिरहो।”—मत्ती ५:४४.

१६, १७. गल्ती गर्ने व्यक्‍तिलाई एल्डरहरूले पश्‍चात्तापी ठहराएमा तपाईंले कस्तो प्रतिक्रिया देखाउनुपर्छ र किन?

१६ गम्भीर पाप गर्ने व्यक्‍ति पश्‍चात्तापी छ कि छैन भनेर निर्णय गर्ने जिम्मा यहोवाले एल्डरहरूलाई सुम्पनुभएको छ। यी भाइहरूलाई प्रत्येक अवस्थाबारे यहोवालाई जत्तिको थाह छैन। तर तिनीहरू बाइबलमा दिइएको सल्लाह र पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार निर्णय गर्ने प्रयास गर्छन्‌। त्यसैले प्रार्थनामार्फत यहोवाको मदत मागेर गरेको निर्णयमा उहाँको सोचाइ झल्किन्छ भनेर ढुक्क हुन सक्छौं।—मत्ती १८:१८.

१७ यस्तो अवस्थामा हामी वफादार हुनुपर्छ। समस्या सँभाल्ने यहोवाको तरिकामा भरोसा गर्नुपर्छ र एल्डरहरूले गरेको निर्णयलाई स्वीकार्नुपर्छ। एल्डरहरूले पश्‍चात्तापी ठहराएका व्यक्‍तिलाई क्षमा दिएर के तपाईं तिनलाई अझै प्रेम गरेको देखाउनुहुन्छ? (२ कोरि. २:५-८) तिनको पापले गर्दा तपाईं वा तपाईंको परिवारको सदस्यलाई चोट पुगेको छ भने यसो गर्नु सजिलो नहुन सक्छ। तर यहोवामा र उहाँले मण्डलीमार्फत मामिला सँभाल्ने तरिकामा भरोसा राख्दा तपाईंले बुद्धिमानी कदम चालिरहनुभएको हुनेछ। अरूलाई क्षमा दिन साँच्चै इच्छुक भएको कुरा देखाइरहनुभएको हुनेछ।—हितो. ३:५, ६.

१८. अरूलाई क्षमा दिन इच्छुक हुँदा कस्तो फाइदा हुन्छ?

१८ क्षमा दिन इच्छुक हुनुका फाइदाबारे मानसिक स्वास्थ्य विशेषज्ञहरूले थुप्रै टिप्पणी गरेका छन्‌। रिस र दुःखी भावनालाई काबुमा राख्दा हामी आनन्दित महसुस गर्न सक्छौं। अरू मानिसहरूसितको सम्बन्ध अझ राम्रो हुन्छ। अर्कोतर्फ, अरूलाई क्षमा दिन इच्छुक नहुँदा हाम्रो स्वास्थ्य बिग्रन्छ, अरूसित राम्रो सम्बन्ध हुँदैन, तनाव महसुस गर्छौं। अरूलाई क्षमा दिन इच्छुक हुँदा पाइने सबैभन्दा महत्त्वपूर्ण फाइदा भनेको स्वर्गमा बस्नुहुने बुबा यहोवासित राम्रो सम्बन्ध राख्न सक्नेछौं।—कलस्सी ३:१२-१४ पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने