के तपाईंले कर तिर्नुपर्छ?
“तिर्नु पर्ने कुरा सबैलाई तिर—कर तिर्नु पर्नेलाई कर, महसूल तिर्नु पर्नेलाई महसूल, डराउनु पर्नेसँग डराऊ, आदर गर्नु पर्नेलाई आदर गर।”—रोमी १३:७.
कर बढ्दै गएको अवस्थामा माथि दिइएको सल्लाह स्वीकार्न गाह्रो हुन सक्छ। तथापि, ती प्रेरित पावलका शब्दहरू हुन् र ती बाइबलमा लिपिबद्ध छन्। निस्सन्देह, तपाईं बाइबललाई आदर गर्नुहुन्छ। तर तपाईं सोच्नुहोला, ‘के मसीहीहरूले कसै-कसैले अव्यावहारिक वा अन्यायपूर्ण ठान्ने लगायत सबै कर तिर्नैपर्छ?’
येशूले आफ्ना चेलाहरूलाई दिनुभएको सल्लाह विचार गर्नुहोस्। आफ्ना यहूदी देशवासीहरूलाई रोमले लगाएको कर पटक्कै मन पर्दैन भनेर उहाँलाई थाह थियो। यसको बावजुद येशूले यस्तो आग्रह गर्नुभयो: “सिजरका चीजहरू सिजरलाई देओ, र परमेश्वरका चीजहरू परमेश्वरलाई।” (मर्कूस १२:१७) चाखलाग्दो कुरा, येशूले जुन सरकारले उहाँलाई चाँडै मार्न लागेको थियो त्यसैलाई कर तिर भन्नुभयो।
केही वर्षपछि पावलले माथि उद्धृत सल्लाह दिए। करको अधिकांश रकम रोमी सैनिक कोषमा जाने र रोमी सम्राट्हरूको अनैतिक तथा विलासी जीवन शैली कायम गर्न खर्च हुने भए तापनि तिनले कर तिर्न आग्रह गरे। पावलले किन यस्तो अलोकप्रिय अडान लिए?
उच्च अख्तियारवालाहरू
पावलका शब्दहरूको सन्दर्भ विचार गर्नुहोस्। रोमी १३:१ मा तिनले यसरी लेखे: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्, किनभने परमेश्वरका बाहेक अरूको अख्तियार हुँदैन, औ अख्तियारहरूचाहिं परमेश्वरबाट खटिएका हुन्छन्।” इस्राएल राष्ट्रमा ईश्वरभीरु शासकहरू हुँदा नागरिक तथा धार्मिक कर्तव्यको रूपमा त्यस राष्ट्रलाई समर्थन गर्नुपर्ने कुरा स्वीकार्नु सजिलो थियो। तर के परमेश्वरलाई विश्वास नगर्ने मूर्तिपूजक शासकहरूको सन्दर्भमा पनि मसीहीहरूको त्यस्तै जिम्मेवारी थियो र? हो, थियो! पावलका शब्दहरूले देखाएझैं परमेश्वरले शासकहरूलाई शासन गर्ने “अख्तियार” दिनुभएको थियो।
सरकारहरूले सुव्यवस्था कायम गर्न निकै कामकुरा गर्छन्। यसले गर्दा मसीहीहरूले विभिन्न आध्यात्मिक क्रियाकलापहरू गर्न सक्छन्। (मत्ती २४:१४; हिब्रू १०:२४, २५) यसकारण पावलले तत्कालीन सरकारी अख्तियारबारे यसो भने: “असलै कामको लागि तिनी तिम्रो निम्ति परमेश्वरका सेवक हुन्।” (रोमी १३:४) पावल स्वयम्ले पनि रोमी सरकारले प्रदान गर्ने सुरक्षाको उपयोग गरे। उदाहरणका लागि, तिनी हूलदङ्गाको सिकार हुँदा रोमी सिपाहीहरूले तिनलाई बचाए। पछि तिनले आफ्नो मिसनरी कार्य गरिरहनको लागि रोमी न्यायिक प्रणालीलाई अपिल गरे।—प्रेरित २२:२२-२९; २५:११, १२.
अतः पावलले कर तिर्नुपर्ने तीनवटा कारण दिए। पहिलो, तिनले कानुन तोड्नेहरूलाई सजाय दिने सरकारको “क्रोध[बारे]” बताए। दोस्रो, ईश्वरभीरु व्यक्तिले कर छल्न खोजेको खण्डमा तिनको अन्तस्करणमा अत्यन्तै प्रतिकूल असर पर्नेछ भनी तिनले बताए। अन्तमा, कर भनेको सरकारले जन “सेवक” भएर प्रदान गर्ने सेवाहरूको लागि क्षतिपूर्ति मात्र हो भनी तिनले सङ्केत गरे।—रोमी १३:१-६.
के पावलका सँगी मसीहीहरूले तिनका शब्दहरू हृदयङ्गम गरे? प्राप्त प्रमाणअनुसार गरे किनभने दोस्रो शताब्दीका कथित मसीही लेखक जस्टिन मार्टियरले (सा.यु. ११० देखि १६५ सम्म) मसीहीहरूले “अरू मानिसहरूभन्दा बढी तत्पर भएर” कर तिर्थे भनी बताए। आज, सरकारहरूले समय वा पैसाको रूपमा कुनै कुरा माग गर्दा मसीहीहरूले इच्छुक भई तिरिरहन्छन्।—मत्ती ५:४१.a
निस्सन्देह, मसीहीहरूलाई कुनै पनि कानुनी कर कटौतीको सदुपयोग गर्न अनुमति दिइएको छ। कुनै-कुनै अवस्थामा तिनीहरूले धार्मिक सङ्गठनहरूलाई अनुदान दिएको आधारमा पनि कर सुविधा उपभोग गर्न पाउँछन्। तैपनि, परमेश्वरको वचन पालन गर्दै साँचो मसीहीहरू कर छल्ने काममा सामेल हुँदैनन्। तिनीहरू कर तिर्छन् अनि त्यो पैसाको प्रयोगबारे अख्तियारवालाहरूलाई नै पूरा जिम्मेवारी दिन्छन्।
चर्को कर लगाउनु, “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने” एउटा तरिका मात्रै हो। (उपदेशक ८:९) अन्यायपूर्ण कर लगाएर मानिसहरूमाथि कहिल्यै बोझ नथोपर्ने परमेश्वरको सरकार अन्तर्गत सबैले चाँडै न्याय पाउनेछन् भन्ने बाइबलको प्रतिज्ञामा यहोवाका साक्षीहरूले सान्त्वना लिन्छन्।—भजन ७२:१२, १३; यशैया ९:७. (g03 12/08)
[फुटनोट]
a “जे जे सिजरका हुन् सिजरलाई” तिर भन्ने येशूको सल्लाह कर तिर्ने कुरामा मात्र लागू हुँदैनथ्यो। (मत्ती २२:२१) हेन्रिक मायरद्वारा लिखित क्रिटिकल एण्ड एक्सेजेटिकल ह्याण्ड-बूक टु द गस्पेल अफ म्याथ्यु (अंग्रेजी) यसो भन्छ: “[सिजरका कुरा] भन्नाले . . . हामी नागरिक-कर मात्र बुझ्दैनौं तर सिजरको शासनको वैधानिकता अन्तर्गत तिनले पाउनुपर्ने सबै कुरा हुन्।”
[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]
मसीहीहरूले “अरू मानिसहरूभन्दा बढी तत्पर भएर” कर तिर्थे।—जस्टिन मार्टियर
[पृष्ठ १०-मा भएको चित्र]
साँचो मसीहीहरूले कर नियमहरू पालन गर्छन्
[पृष्ठ ११-मा भएको चित्र]
येशूले भन्नुभयो: “जे जे सिजरका हुन् सिजरलाई . . . देओ”
[पृष्ठ १०-मा भएको चित्रको स्रोत]
© European Monetary Institute