प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ९/१५ pp. १६-२१
  • यहोवाले तपाईंको लेखालाई असल सम्झून्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले तपाईंको लेखालाई असल सम्झून्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ज्ञानले हामीलाई जवाफदेही बनाउँछ
  • हाम्रो सेवकाईको लागि जवाफदेही
  • परिवारहरूको हैसियतमा असल लेखा दिने
  • प्राचीनहरूले लेखा दिन्छन्‌—कसरी?
  • असल लेखा दिइरहनुहोस्‌
  • सबैले परमेश्‍वरलाई लेखा दिनैपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • नहेम्याहको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ‘खराबीलाई भलाइले जितिरहो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यरूशलेम—के त्यसलाई ‘आफ्नो सारा आनन्दभन्दा श्रेष्ठ मान्‍नुहुन्छ’?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ९/१५ pp. १६-२१

यहोवाले तपाईंको लेखालाई असल सम्झून्‌

“हे परमेश्‍वर, यो . . . मेरो निम्ति सम्झना रहोस्‌ . . . हे परमेश्‍वर मेरो हितको निम्ति यस कामको सम्झना रहोस्‌।”—नहेम्याह १३:२२, ३१.

१. यहोवालाई असल लेखा दिन परमेश्‍वरप्रति समर्पित व्यक्‍तिहरूलाई कुन कुराले मदत गर्छ?

यहोवाका सेवकहरूसित उहाँलाई असल लेखा दिन आवश्‍यक सबै मदत उपलब्ध छ। किन? किनभने उहाँको पार्थिव संगठनको भागीदार भएकाले परमेश्‍वरसित तिनीहरूको निकटतम सम्बन्ध छ। उहाँले तिनीहरूलाई आफ्ना उद्देश्‍यहरू प्रकट गर्नुका साथै आफ्नो पवित्र आत्माद्वारा मदत र आध्यात्मिक अन्तरदृष्टि दिनुभएको छ। (भजन ५१:११; ११९:१०५; १ कोरिन्थी २:१०-१३) यी विशेष परिस्थितिहरूलाई ध्यानमा राख्दै यहोवाले आफ्ना पार्थिव सेवकहरूसित तिनीहरू जे जस्ता छन्‌, त्यसको लागि र उहाँको बल तथा पवित्र आत्माको मदत पाएर तिनीहरूले जे जति सम्पन्‍न गर्छन्‌, त्यसको लेखा दिन मायालु ढंगमा आग्रह गर्नुहुन्छ।

२. (क) नहेम्याहले कुन कुन तरिकाद्वारा परमेश्‍वरलाई आफ्नो असल लेखा दिए? (ख) आफ्नै नाउँको पुस्तकको अन्तमा नहेम्याहले कस्तो आग्रह गरे?

२ परमेश्‍वरलाई आफ्नो असल लेखा दिने पुरुषहरूमध्ये नहेम्याह पनि थिए। तिनी पारसी राजा आर्ट-जारसेजलाई (लंगिमानस) मद्य टक्राउने काम गर्थे। (नहेम्याह २:१) नहेम्याह, यहूदीहरूका राज्यपाल भए र तिनले शत्रुहरू तथा खतराहरूसमक्ष यरूशलेमको पर्खाल पुनर्निर्माण गरे। साँचो उपासनाप्रति जोशले गर्दा तिनले परमेश्‍वरको व्यवस्था लागू गरे र शोषितहरूप्रति चिन्ता देखाए। (नहेम्याह ५:१४-१९) नहेम्याहले लेवीहरूलाई नियमित तवरमा शुद्ध हुन, ढोकाहरूमा पहरा दिन र विश्राम दिनलाई पवित्र मान्‍न आग्रह गरे। त्यसकारण तिनले यसरी प्रार्थना गर्न सके: “हे परमेश्‍वर, यो पनि मेरो निम्ति सम्झना रहोस्‌, र तपाईंको ठूलो कृपा ममाथि रहोस्‌।” साथै, नहेम्याहले आफ्नो ईश्‍वरप्रेरित पुस्तकलाई यस आग्रहका साथ अन्त गर्नु उपयुक्‍त थियो: “हे परमेश्‍वर मेरो हितको निम्ति यस कामको सम्झना रहोस्‌।”—नहेम्याह १३:२२, ३१.

३. (क) असल कार्य गर्ने व्यक्‍तिको तपाईं कसरी वर्णन गर्नुहुन्छ? (ख) नहेम्याहको मार्गलाई विचार गरेपछि हामी आफैलाई कस्ता प्रश्‍नहरू सोध्न जुर्मुरिन सक्छौं?

३ असल कार्य गर्ने व्यक्‍ति सद्‌गुणी हुन्छन्‌ र तिनले अरूको लाभ हुने नीतिसम्मत कार्यहरू गर्छन्‌। नहेम्याह त्यस्तै व्यक्‍ति थिए। तिनले परमेश्‍वरप्रति श्रद्धेय भय राख्थे र तिनी साँचो उपासनाको लागि असाध्यै जोशिला थिए। यसबाहेक, तिनी परमेश्‍वरको सेवामा आफूले पाएका सुअवसरहरूका लागि कृतज्ञ थिए र तिनले यहोवालाई आफ्नो असल लेखा दिए। तिनको मार्गलाई विचार गरेपछि हामी आफैलाई यी प्रश्‍नहरू सोध्न जुर्मुरिऔंला, ‘म आफ्ना ईश्‍वरप्रदत्त सुअवसर तथा जिम्मेवारीहरूलाई कस्तो दृष्टिकोणले हेर्छु? मैले यहोवा परमेश्‍वर र येशू ख्रीष्टलाई कस्तो लेखा दिंदैछु?’

ज्ञानले हामीलाई जवाफदेही बनाउँछ

४. येशूले आफ्ना अनुयायीहरूलाई कस्तो आज्ञा दिनुभयो र “अनन्त जीवनका लागि नियुक्‍त” भएकाहरूले के गरे?

४ येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . र बप्तिस्मा देओ, जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) मानिसहरूलाई सिकाएपछि चेला बनाउनु पर्नेथियो। यसप्रकार सिकाइएका र “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू” जत्तिले येशूले जस्तै बप्तिस्मा लिनेथिए। (प्रेरित १३:४८; मर्कूस १:९-११) आफूलाई अह्राइएका सबै कार्यहरू गर्ने इच्छा तिनीहरूको हृदयबाट निस्कने थियो। तिनीहरूले परमेश्‍वरको वचनबाट सही ज्ञान लिएर त्यसलाई व्यवहारमा उतारेपछि समर्पण गर्न सक्नेथिए।—यूहन्‍ना १७:३.

५, ६. हामीले याकूब ४:१७ लाई कुन अर्थमा बुझ्नुपर्छ? यसको उपयोगलाई उदाहरणसहित बताउनुहोस्‌।

५ धर्मशास्त्रीय ज्ञान जति गहिरो हुन्छ, हाम्रो विश्‍वासको जग पनि त्यति नै बलियो हुन्छ। यस सँगसँगै हामी परमेश्‍वरप्रति बढी जवाफदेही पनि हुन्छौं। याकूब ४:१७ यसो भन्छ: “जसले भलाई गर्न जानीकन पनि गर्दैन, त्यसलाई पाप लाग्छ।” स्पष्टतः, परमेश्‍वरमा पूर्ण भरोसा राख्नुको साटो अभिमान गर्ने व्यक्‍तिहरूको सन्दर्भमा चेला याकूबले भर्खरै बताएका कुराको निचोड उक्‍त वाक्यांश हो। एक व्यक्‍तिलाई यहोवाको मदतबिना कुनै चिरस्थायी कार्य हुनसक्दैन भनी थाह छ तर त्यसअनुरूप गर्दैनन्‌ भने त्यो पाप हो। तर याकूबका शब्दहरू लापरवाहीको कारण हुने पापहरूमा पनि लागू हुनसक्छ। उदाहरणका लागि, येशूले भन्‍नुभएको भेडा र बाख्राको उखानमा बाख्राहरूलाई खराब कार्यको लागि नभई येशूका भाइहरूलाई मदत गर्न वास्ता नगरेकोमा दोषी ठहराइएका छन्‌।—मत्ती २५:४१-४६.

६ यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरिरहेका एक व्यक्‍तिको कुनै खास आध्यात्मिक प्रगति भइरहेको थिएन। त्यसो हुनुको कारण धूम्रपानलाई छोड्‌न नसकेकोले हो भनेर स्पष्टै देखिन्थ्यो तर त्यो बानी छोड्‌नुपर्छ भनेर तिनलाई थाह थियो। एक प्राचीनले तिनलाई याकूब ४:१७ पढ्‌न लगाए। त्यस प्राचीनले यस शास्त्रपदको महत्त्वबारे टिप्पणी गरिसकेपछि यसो भने: “तपाईंले बप्तिस्मा त लिनुभएको छैन तैपनि तपाईं आफ्नो निर्णयको लागि जवाफदेही हुनुहुन्छ र तपाईंले त्यसको पूर्ण जिम्मेवारी वहन गर्नुपर्छ।” आनन्दको कुरा, त्यस मानिसले सकारात्मक प्रतिक्रिया देखाए, धूम्रपान गर्न छाडे र यहोवा परमेश्‍वरप्रति आफ्नो समर्पणलाई बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिन चाँडै योग्य भए।

हाम्रो सेवकाईको लागि जवाफदेही

७. “परमेश्‍वरको ज्ञान[प्रति]” हाम्रो कृतज्ञता देखाउने एउटा तरिका कुन हो?

७ सृष्टिकर्तालाई खुशी तुल्याउने हाम्रो गहिरो इच्छा हुनुपर्छ। “परमेश्‍वरको ज्ञान[प्रति]” हाम्रो कृतज्ञता प्रकट गर्ने एउटा तरिका, उहाँको पुत्र येशू ख्रीष्टका चेलाहरू बनाउने आज्ञा पालन गर्नु हो। यो परमेश्‍वर र आफ्ना छिमेकीहरूप्रति प्रेम देखाउने तरिका पनि हो। (हितोपदेश २:१-५; मत्ती २२:३५-४०) हो, परमेश्‍वरको ज्ञानले हामीलाई उहाँप्रति जवाफदेही बनाउँछ र हामीले आफ्ना सँगी मानवहरूलाई सम्भाव्य चेलाहरू ठान्‍नुपर्छ।

८. पावलले आफ्नो सेवकाईको लागि परमेश्‍वरप्रति जवाफदेही महसुस गरे भनी किन भन्‍नसक्छौं?

८ पूर्ण हृदयले सुसमाचारलाई स्वीकारेर त्यसअनुरूप गऱ्‍यौं भने मुक्‍ति पाइन्छ तर त्यसलाई इन्कार गऱ्‍यौं भने विनाश भोग्नुपर्छ भनेर प्रेरित पावललाई थाह थियो। (२ थिस्सलोनिकी १:६-८) त्यसकारण तिनले आफ्नो सेवकाईको लागि परमेश्‍वरप्रति जवाफदेही महसुस गरे। वास्तवमा, पावल तथा तिनका सँगीहरूले आफ्नो सेवकाईलाई असाध्यै मूल्यांकन गरेकाले त्यसबाट वित्तीय लाभ कमाइरहेको जस्तो भान नदिन समेत असाध्यै होशियार भए। यसबाहेक, पावलको हृदयले तिनलाई यसो भन्‍न बाध्य गऱ्‍यो: “यदि मैले सुसमाचार सुनाएँ भने मलाई घमण्ड गर्न पर्ने केही छैन, किनकि मलाई करै लागेको छ, किनकि सुसमाचार सुनाइनँ भनेता मलाई धिक्कार छ।”—१ कोरिन्थी ९:११-१६.

९. सबै मसीहीहरूले तिर्नुपर्ने खास ऋण कुन हो?

९ हामी यहोवाका समर्पित सेवकहरू भएकोले ‘सुसमाचार सुनाउन हामीलाई करै लागेको छ।’ हामीलाई परमेश्‍वरको राज्य सुसमाचार प्रचार गर्न अह्राइएको छ। हामीले आफूलाई परमेश्‍वरप्रति समर्पण गर्दा त्यो जिम्मेवारी स्वीकाऱ्‍यौं। (लूका ९:२३, २४ तुलना गर्नुहोस्‌।) यसबाहेक, हामीले एउटा ऋण तिर्नुछ। पावलले यसो भने: “ग्रीकहरू र अरू भाषा बोल्नेहरू दुवैको, औ बुद्धिमान र निर्बुद्धिहरूको पनि म ऋणी छु। यसैले सकेसम्म, तिमी रोममा हुनेहरूलाई पनि सुसमाचार प्रचार गर्न, म तयार छु।” (रोमी १:१४, १५) पावल ऋणी थिए किनभने मानिसहरूले सुसमाचार सुनेर बच्न सकून्‌ भन्‍ने हेतुले प्रचार गर्नुपर्ने आफ्नो कर्तव्य तिनलाई थाह थियो। (१ तिमोथी १:१२-१६; २:३, ४) त्यसकारण तिनले आफ्नो काम पूरा गरेर सँगी मानवहरूको ऋण तिर्न मेहनत गरे। मसीहीहरूको हैसियतमा हामीले पनि त्यस्तै ऋण तिर्नुछ। परमेश्‍वरको राज्यको प्रचार गर्नु पनि परमेश्‍वर, उहाँको पुत्र तथा आफ्ना छिमेकीहरूप्रति प्रेम प्रकट गर्ने प्रमुख तरिका हो।—लूका १०:२५-२८.

१०. केहीले कसरी आफ्नो सेवकाईलाई बढाएका छन्‌?

१० परमेश्‍वरलाई स्वीकार्य लेखा दिने एउटा तरिका, सेवकाईलाई बढाउन हाम्रा क्षमताहरू प्रयोग गर्नु हो। उदाहरणका लागि: हालैका वर्षहरूमा विभिन्‍न जातीय समूहका थुप्रै मानिसहरू बेलाइतमा ओइरिरहेका छन्‌। ती मानिसहरूलाई सुसमाचार सुनाउन ८०० भन्दा बढी अग्रगामीलगायत (परमेश्‍वरको राज्यका पूर्ण-समय प्रचारकहरू) अन्य सयौं साक्षीहरूले बेग्लाबेग्लै भाषाहरू सिकिरहेका छन्‌। यसले सेवकाईमा निकै राम्रो उत्प्रेरणा प्रदान गरेको छ। चिनियाँ भाषा सिकाउने एक अग्रगामीले यसो भनिन्‌: “अरू साक्षीहरूलाई मेरो मातृ भाषा सिकाउनेछु र त्यो पनि अरू व्यक्‍तिहरूलाई सत्य सिकाउने मदतको लागि यसो गरिरहेकी हुनेछु भनेर मैले जिन्दगीमा कहिल्यै सोचेकी पनि थिइनँ। तर यो साँच्चै सन्तोषजनक हुँदो रहेछ!” के तपाईं पनि त्यसरी नै आफ्नो सेवकाईलाई बढाउन सक्नुहुन्छ?

११. एक मसीहीले अनौपचारिक साक्षी दिंदा परिणाम कस्तो भयो?

११ सम्भवतः, डुब्नै लागेको मानिसलाई बचाउन हामी सबैले यथाशक्य गर्नेछौं। त्यसरी नै यहोवाका सेवकहरू हरेक अवसरमा साक्षी दिन आफ्ना क्षमताहरू प्रयोग गर्न उत्सुक छन्‌। हालै, बसमा यात्रा गरिरहेकी साक्षी एउटी स्त्रीको छेउमा बसिन्‌ र उनीसित धर्मशास्त्रबारे कुरा गर्न थालिन्‌। आफूले सुनेको कुराबारे रोमाञ्चित हुँदै त्यस स्त्रीले थुप्रै प्रश्‍नहरू सोधिन्‌। साक्षी बहिनी बसबाट ओर्लनै लाग्दा त्यस स्त्रीले तिनलाई आफ्नो घरमा आउन आग्रह गरिन्‌ किनभने तिनका अझ थुप्रै प्रश्‍नहरू सोध्नु बाँकी नै थिए। साक्षी बहिनी राजी भइन्‌। परिणाम के भयो? बाइबल अध्ययन सुरु भयो र त्यसको छ महिनापछि त्यस स्त्री परमेश्‍वरको राज्यको बप्तिस्मा अप्राप्त प्रकाशक भइन्‌। धेरै समय नबित्दै त्यस स्त्रीले छवटा गृह बाइबल अध्ययन सञ्चालन गर्न थालिन्‌। परमेश्‍वरको राज्य सेवकाईमा आफ्ना क्षमताहरू प्रयोग गरेबापत कस्तो रोमाञ्चकारी इनाम!

१२. प्रचारकहरूको हैसियतमा हाम्रा क्षमताहरूलाई क्षेत्र सेवकाईमा कसरी सदुपयोग गर्न सकिन्छ?

१२ ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ जस्ता १९२ पृष्ठ भएका प्रकाशनहरू चलाएर प्रचारकहरूको हैसियतमा हामी आफ्ना क्षमताहरूलाई सेवकाईमा प्रभावकारी ढंगमा प्रयोग गर्नसक्छौं। सन्‌ १९९६ अप्रिलसम्म यहोवाका साक्षीहरूको परिचालक निकायको लेखन समितिले १४० भन्दा बढी भाषाहरूमा ज्ञान पुस्तक छाप्न अनुमति दिइसकेको थियो र त्यो समयसम्म १११ भाषामा ३,०५,००,००० प्रतिहरू छापिसकेका थिए। यहोवाप्रति समर्पण गरेर बप्तिस्मा लिन परमेश्‍वरको वचन र उहाँका उद्देश्‍यहरूबारे यथेष्ट ज्ञान हासिल गर्न सकोस्‌ भन्‍ने उद्देश्‍यले उक्‍त पुस्तक लेखिएको थियो। परमेश्‍वरको राज्य प्रकाशकहरूले एउटै विद्यार्थीसित वर्षौंसम्म गृह बाइबल अध्ययन सञ्चालन नगर्ने भएकोले थुप्रै मानिसहरूसित अध्ययन गर्न वा घर-घरको कार्य र सेवकाईका अन्य क्रियाकलापहरूमा आफ्नो सहभागिता बढाउनसक्छन्‌। (प्रेरित ५:४२; २०:२०, २१) परमेश्‍वरप्रति आफू जवाफदेही छन्‌ भनी सजग भएको हुँदा तिनीहरूले ईश्‍वरीय चेताउनीहरूमा अरूको ध्यानाकर्षण गर्छन्‌। (इजकिएल ३३:७-९) तर तिनीहरूको मुख्य चासोको विषय, यहोवाको आदर गर्नु र यस दुष्ट रीतिरिवाजको थोरै समय रहुञ्जेल यथाशक्य बढी मानिसहरूलाई सुसमाचार सिक्न मदत दिनु हो।

परिवारहरूको हैसियतमा असल लेखा दिने

१३. ईश्‍वरभीरु परिवारहरूले किन नियमित तवरमा पारिवारिक बाइबल अध्ययन गर्नुपर्छ?

१३ साँचो मसीही धर्म अँगाल्ने हरेक व्यक्‍ति तथा परिवार परमेश्‍वरप्रति जवाफदेही भएकोले ‘परिपक्वतातर्फ अघि बढेर’ “विश्‍वासमा दह्रो” हुनुपर्छ। (हिब्रू ६:१-३; १ पत्रुस ५:८, ९) उदाहरणका लागि, ज्ञान पुस्तक अध्ययन गरेर बप्तिस्मा लिइसकेकाहरूले मसीही सभाहरूमा नियमित तवरले उपस्थित हुनुका साथै बाइबल र अन्य मसीही प्रकाशनहरू पढेर आफ्नो धर्मशास्त्रीय ज्ञानलाई पूरा गर्नुपर्छ। ईश्‍वरभीरु परिवारहरूले नियमित तवरमा पारिवारिक अध्ययन पनि गर्नुपर्छ किनभने ‘होशियार बस्ने, विश्‍वासमा दृढ भई पुरुषार्थ हुने, बलियो हुने’ यो एउटा महत्त्वपूर्ण तरिका हो। (१ कोरिन्थी १६:१३) तपाईं परिवारको शिर हुनुहुन्छ भने आफ्नो परिवारलाई आध्यात्मिक तवरमा पालनपोषण गर्न विशेषगरि परमेश्‍वरप्रति जवाफदेही हुनुहुन्छ। पोषिलो खानाले शरीरको स्वास्थ्यलाई तन्दुरुस्त राखेझैं तपाईं र तपाईंको परिवारलाई “विश्‍वासमा पक्का” राख्न नियमित तवरमा प्रशस्त आध्यात्मिक भोजन चाहिन्छ।—तितस १:१३.

१४. राम्रो शिक्षा पाएकी इस्राएली ठिटीले साक्षी दिंदा परिणाम कस्तो भयो?

१४ तपाईंको परिवारमा छोराछोरीहरू छन्‌ भने तिनीहरूलाई स्वास्थ्यकर आध्यात्मिक निर्देशन दिनुभएको लागि परमेश्‍वरले तपाईंको लेखालाई असल सम्झनुहुनेछ। त्यस्तो शिक्षाबाट परमेश्‍वरको अगमवक्‍ता एलीशाको समयमा अरामीहरूद्वारा बन्दी बनाइएकी इस्राएली ठिटीलाई लाभ भएझैं तिनीहरूको पनि लाभ हुन्छ। उनी कोरी अरामी सेनापति, नामानकी पत्नीको दासी भइन्‌। उनी सानै भए पनि आफ्नी मालिकनीलाई यसो भनिन्‌: “यदि मेरा मालिकले सामरियामा बस्नुहुने अगमवक्‍तालाई भेट गरे तिनको रोग उहाँले निको पारिदिनुहुने थियो।” उनले यसो भनेकीले नामान इस्राएल गए र एलीशाको निर्देशनअनुरूप अन्ततः यर्दन नदीमा सातपल्ट डुबुल्की मारेपछि तिनको कोर निको भयो। यसबाहेक, नामान यहोवाका उपासक भए। यसले गर्दा यो ठिटी कति रोमाञ्चित भइन्‌ होली!—२ राजा ५:१-३, १३-१९.

१५. आमाबाबुले आफ्ना छोराछोरीलाई राम्रो आध्यात्मिक प्रशिक्षण दिनु किन महत्त्वपूर्ण छ? उदाहरणसहित बताउनुहोस्‌।

१५ शैतान अधीनस्थ नैतिक मूल्यच्युत यस संसारमा ईश्‍वरभीरु छोराछोरीहरू हुर्काउनु सजिलो छैन। (१ यूहन्‍ना ५:१९) तथापि, तिमोथीकी बज्यै लोइस र आमा युनिस तिनलाई शैशवकालदेखि धर्मशास्त्र सिकाउन सफल भए। (२ तिमोथी १:५; ३:१४, १५) तपाईंका छोराछोरीहरूसित बाइबल अध्ययन गर्ने, तिनीहरूलाई नियमित तवरमा मसीही सभाहरूमा लैजाने र अन्ततः सेवकाईमा आफूसँगै लाने कार्यहरू सबै नै प्रशिक्षणका भाग हुन्‌ अनि यसको लागि तपाईंले परमेश्‍वरलाई लेखा दिनैपर्छ। वेल्स नगरकी बासिन्दा र अहिले ८० वर्ष नाघिसकेकी मसीही बहिनी सन्‌ १९२० दशकको सुरुतिर बुबाले पहाडपारि पल्लो गाउँका गाउँलेहरूलाई बाइबल आधारित पर्चाहरू वितरण गर्न तिनलाई आफूसितै १० किलोमिटर (वारपार गर्न २० किलोमिटर लाग्थ्यो) हिंडाएको घटनालाई सम्झिन्छिन्‌। तिनी कृतज्ञतासाथ यसो भन्छिन्‌, “ती पैदलयात्राहरूको दौडान बुबाले मेरो हृदयमा सत्यप्रति प्रेम जगाउनुभयो।”

प्राचीनहरूले लेखा दिन्छन्‌—कसरी?

१६, १७. (क) पुरातन इस्राएलका आध्यात्मिक तवरमा पाको वृद्धहरूले कस्ता सुअवसरहरूको आनन्द उठाए? (ख) पुरातन इस्राएलको तुलनामा आजका मसीही प्राचीनहरूबाट किन बढी माग गरिन्छ?

१६ बुद्धिमान मानिस सुलेमानले यसो भने, “फूलेको केश शोभाको मुकुट हो, धर्मी जीवनबाट त्यो प्राप्त हुन्छ।” (हितोपदेश १६:३१) तर उमेरले मात्र मानिसलाई परमेश्‍वरका जनहरूको मण्डलीको जिम्मेवारी वहन गर्न सुसज्जित बनाउने होइन। पुरातन इस्राएलका आध्यात्मिक तवरमा पाको वृद्ध पुरुषहरूले न्याय प्रशासनको लागि न्यायकर्ता र अधिकृतहरूको हैसियतमा सेवा गर्नुका साथै तिनीहरूले शान्ति, सुव्यवस्था तथा आध्यात्मिक स्वास्थ्य कायम गर्थे। (व्यवस्था १६:१८- २०) मसीही मण्डलीमा पनि यही कुरा लागू हुने भए तापनि यस रीतिरिवाजको अन्त झन्‌ झन्‌ नजीकिंदै जाँदा प्राचीनहरूबाट अझ बढी माग गरिन्छ। किन?

१७ इस्राएलीहरू परमेश्‍वरबाट ‘छानिएको जाति’ थिए र उहाँले तिनीहरूलाई पुरातन मिश्रबाट छुटकारा दिनुभयो। तिनीहरूको मध्यस्थकर्ता, मोशाबाट व्यवस्था पाएको हुँदा तिनीहरूका सन्ततिहरू समर्पित राष्ट्रमा जन्मे र तिनीहरूलाई यहोवाका आज्ञाहरू थाह थियो। (व्यवस्था ७:६, ११) तथापि, आज कोही पनि त्यस्तो समर्पित राष्ट्रमा जन्मेका छैनन्‌। ईश्‍वरभीरु परिवारमा जन्मनेहरू तुलनात्मक हिसाबमा थोरै मात्र छन्‌। त्यसैले तिनीहरू धर्मशास्त्रीय सत्यबारे त्यति राम्ररी परिचित भएका हुँदैनन्‌। भर्खरै मात्र “सत्यमा चलेका” व्यक्‍तिहरूलाई विशेषगरि धर्मशास्त्रीय सिद्धान्तहरूअनुरूप जीवन बिताउन निर्देशन चाहिनसक्छ। (३ यूहन्‍ना ४) त्यसकारण ‘पक्का कुराहरूको नमुना पक्रेर’ यहोवाका मानिसहरूलाई मदत गर्न विश्‍वासी प्राचीनको काँधमा कत्रो ठूलो जिम्मेवारी राखिएको छ!—२ तिमोथी १:१३, १४.

१८. मण्डलीका प्राचीनहरू कस्तो सहयोग दिन तयार हुनुपर्छ र किन?

१८ टुकुटुकु हिंड्‌न थालेको बच्चा धरमराएर लड्‌नसक्छ। उसले असुरक्षित महसुस गर्छ र उसलाई आमाबाबुको मदत तथा आश्‍वासन चाहिन्छ। यहोवाप्रति समर्पित व्यक्‍ति पनि त्यसरी नै ठोकर खान वा आध्यात्मिक तवरमा लड्‌नसक्छ। प्रेरित पावलले समेत परमेश्‍वरको दृष्टिमा सही तथा असल कार्य गर्न संघर्ष गर्नुपऱ्‍यो। (रोमी ७:२१-२५) गल्ती गरेपछि साँच्चै पश्‍चात्ताप गर्ने मसीहीहरूलाई परमेश्‍वरको बगालका गोठालाहरूले मायालु सहयोग दिनु खाँचो छ। गम्भीर गल्ती गर्ने एउटी समर्पित स्त्रीकहाँ प्राचीनहरू जाँदा तिनले आफ्नो समर्पित पतिको सामु यसो भनिन्‌: “मलाई थाह छ, तपाईंहरूले मलाई बहिष्कार गर्नुहुनेछ!” तर तिनीहरूको परिवारको आध्यात्मिकतालाई पुनर्स्थापित गर्न कस्तो मदत चाहिएको छ, त्यो थाह पाउन चाहन्छौं भनी प्राचीनहरूले बताउँदा तिनी धुरुधुरु रोइन्‌। लेखा दिनैपर्छ भनी सजग भएकाले यी प्राचीनहरू यस पश्‍चात्तापी सँगी विश्‍वासीलाई सहयोग गर्न पाउँदा खुशी भए।—हिब्रू १३:१७.

असल लेखा दिइरहनुहोस्‌

१९. हामीले कसरी परमेश्‍वरलाई आफ्नो असल लेखा दिइरहन सक्छौं?

१९ मण्डलीका प्राचीनहरूलगायत परमेश्‍वरका सबै सेवकहरूले यहोवालाई आफ्नो असल लेखा दिइरहनुपर्छ। हामीले परमेश्‍वरको वचन पालन गर्दै उहाँको इच्छा गऱ्‍यौं भने यो सम्भव हुन्छ। (हितोपदेश ३:५, ६; रोमी १२:१, २, ९) हामी विशेषगरि विश्‍वासमा भएकाहरूतर्फ भलाइ गर्न चाहन्छौं। (गलाती ६:१०) तथापि, कटनी गर्न अझ धेरै बाँकी छ तर खेतालाहरू थोरै छन्‌। (मत्ती ९:३७, ३८) अतः परमेश्‍वरको राज्य सन्देश उद्‌घोषणा गर्न लगनशील भएर अरूतर्फ भलाइ गरौं। हामीले आफ्नो समर्पणलाई पूरा गऱ्‍यौं, उहाँको इच्छा गऱ्‍यौं र विश्‍वासी भई सुसमाचार घोषणा गऱ्‍यौं भने यहोवाले हाम्रो लेखालाई असल सम्झनुहुनेछ।

२०. नहेम्याहको तौरतरिका विचार गरेर हामी के सिक्छौं?

२० त्यसकारण हामी प्रभुको काममा सधैं प्रशस्त भइरहौं। (१ कोरिन्थी १५:५८) साथै, यरूशलेमको पर्खाल पुनर्निर्माण गर्ने, परमेश्‍वरको व्यवस्था लागू गर्ने र जोशका साथ साँचो उपासनालाई बढाउने नहेम्याहलाई विचार गर्नु बेस हो। आफूले गरेका असल कार्यहरू यहोवा परमेश्‍वरले सम्झून्‌ भनी तिनले प्रार्थना गरे। तपाईं पनि परमेश्‍वरप्रति त्यसरी नै समर्पित हुन सकून्‌ र उहाँले तपाईंको लेखालाई असल सम्झून्‌।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

◻ नहेम्याहले कस्तो उदाहरण बसाले?

◻ ज्ञानले हामीलाई किन परमेश्‍वरप्रति जवाफदेही बनाउँछ?

◻ हामीले यहोवालाई आफ्नो सेवकाईको स्वीकार्य लेखा कसरी दिनसक्छौं?

◻ परिवारहरूले परमेश्‍वरलाई असल लेखा दिन के गर्नसक्छन्‌?

◻ मसीही प्राचीनहरूले कसरी लेखा दिन्छन्‌?

[पृष्ठ १८-मा भएको चित्र]

परमेश्‍वरको राज्य उद्‌घोषकहरूका हैसियतमा हामी पावलले जस्तै परमेश्‍वरलाई असल लेखा दिनसक्छौं

[पृष्ठ १९-मा भएको चित्र]

के तपाईंका छोराछोरीहरूसित नामानकी दासी, इस्राएली ठिटीसित जत्तिकै बलियो विश्‍वास छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने