प्राचीनहरू, धार्मिकताका साथ न्याय गर्नुहोस्
“तिमीहरूका आफ्ना जात-भाइ [बीच] ठीक, ठीक न्याय गर।”—व्यवस्था १:१६.
१. न्याय गर्ने सम्बन्धमा अख्तियार कसरी बाँडिएको छ र मानवीय न्यायकर्ताहरूका लागि यसले के अर्थ राख्तछ?
सर्वोच्च न्यायकर्त्ताको हैसियतमा यहोवाले आफ्नो पुत्रलाई न्यायगर्ने अख्तियार दिनु भएको छ। (यूहन्ना ५:२७) ख्रीष्टले चाहिं, मसीही मण्डलीको शिरको हैसियतमा विश्वासी र बुद्धिमान दास वर्ग र परिचालक निकायद्वारा प्राचीनहरू नियुक्त गर्नुहुन्छ। यी प्राचीनहरूलाई कहिलेकाहीं न्यायकर्ताको काम गर्न आवश्यक पर्दछ। (मत्ती २४:४५-४७; १ कोरिन्थी ५:१२, १३; तितस १:५, ९) यिनीहरू उप-न्यायकर्ताहरू हुन्। अतः यिनीहरू स्वर्गमा हुनु हुने न्यायकर्ता यहोवा र ख्रीष्ट येशूका उदाहरण राम्रोसँग अनुकरण गर्न बाध्य छन्।
ख्रीष्ट—अनुकरणीय न्यायकर्त्ता
२, ३. (क) न्यायकर्त्ताको हैसियतमा ख्रीष्टका गुणहरूको चर्चा कुन मसीही अग्रिमवाणीले गर्दछ? (ख) कुन बुँदाहरू विशेष चासोका योग्य छन्?
२ ख्रीष्टले न्यायकर्त्ताको भूमिका निभाउने विषयमा यो अग्रिमवाणी गरिएको थियो: “परमप्रभुको आत्मा उहाँमा रहनुहुनेछ—बुद्धि र समझको आत्मा, सल्लाह र शक्तिको आत्मा, ज्ञान र परमप्रभुप्रतिको श्रद्धाको आत्मा। औ परमप्रभुको भयमानै उहाँको आनन्द हुनेछ। उहाँले मुख हेरेर इन्साफ गर्नु हुनेछैन, औ कानले सुनेर मात्र विचार गर्नुहुनेछैन।। तर गरीबहरूको न्याय उहाँले ठीकसित गर्नुहुनेछ, र पृथ्वीलाई लौरोले झैं आफ्नो वचनले हिर्काउनुहुनेछ।”—यशैया ११:२-४.
३ “धर्मपूर्वक संसारको इन्साफ” गर्नका लागि ख्रीष्टमा भएका गुणहरूलाई विशेष ध्यान दिनुहोस्। यी गुणहरूको चर्चा माथि उल्लेखित् अग्रिमवाणीले गर्दछ। (प्रेरित १७:३१) उहाँले यहोवाको आत्मा, ईश्वरीय बुद्धि, समझ, उपदेश र ज्ञानअनुसार न्याय गर्नुहुन्छ। साथै, उहाँले यहोवाको भय मान्दै इन्साफ गर्नुहुन्छ। यसैकारण त, “खीष्टको न्याय-आसन” लाक्षणिक रूपमा “परमेश्वरको न्याय-आसन” हो। (२ कोरिन्थी ५:१०; रोमी १४:१०) परमेश्वरले जसरी न्याय गर्नुहुन्छ, ख्रीष्टले पनि त्यसरी नै न्याय गर्नु हुन्छ। (यूहन्ना ८:१६) उहाँले बाहिरी रूप अथवा सुनेको कुराको आधारमा मात्र न्याय गर्नु हुन्न। उहाँले नम्र र दरिद्र जनहरूका लागि धार्मिकताका साथ न्याय गर्नु हुन्छ। कस्तो अद्भुत न्यायकर्ता! र न्यायकर्ता नियुक्त भएका असिद्ध मानवहरूका लागि पनि यो उत्तिकै अद्भुत उदाहरण हो!
पार्थिव न्यायकर्ताहरू
४. (क) ख्रीष्टको हजार वर्षीय राज्यमा, १,४४,००० जनहरूले गर्नु पर्ने एउटा काम के हुनेछ? (ख) कुनै कुनै अभिषिक्त न्यायकर्त्ताहरू पृथ्वीमै छँदा पनि तिनीहरूलाई न्यायकर्त्ता नियुक्त गरिने छ भनेर कुन भविष्यवाणीले इङ्गित गर्दछ?
४ येशूका १२ जना प्रेरितहरू लगायत अभिषिक्त मसीहीहरूको सङ्खया तुलनात्मक दृष्टिमा सानो छ। तर यिनीहरूले नै, शास्त्रमा उल्लेख गरिएअनुसार, हजार वर्षीय राज्यमा ख्रीष्ट येशूसित सह-न्यायकर्ताहरूको हैसियतमा काम गर्ने छन्। (लूका २२:२८-३०; १ कोरिन्थी ६:२; प्रकाश २०:४) १९१८-१९१९ मा, पृथ्वीमा रहेका आत्मिक इस्राएलका शेष अभिषिक्त जनहरूको पनि न्याय गरियो र तिनीहरू पुनःस्थापित भए। (मलाकी ३:२-४) आत्मिक इस्राएलको यो पुनःस्थापनाबारे यस प्रकार भविष्यवाणी गरिएको थियो: “म तेरा न्याकर्त्ताहरूलाई पहिले जस्तै र तेरा सल्लाहकारहरूलाई शुरुजस्तै फेरि नियुक्त गर्नेछु।” (यशैया १:२६) अतः, शारीरिक इस्राएललाई “शुरुमा जस्तै” गरी, यहोवाले पुनःस्थापित शेष जनहरूलाई पनि धार्मिक न्यायकर्त्ताहरू र सल्लाहकारहरू दिनु भएका छन्।
५. (क) आत्मिक इस्राएलको पुनर्स्थापन पश्चात् कस-कसलाई “न्यायकर्त्ताहरू” नियुक्त गरियो र प्रकाशको पुस्तकमा तिनीहरूको वर्णन कसरी गरिएको छ? (ख) अभिषिक्त अध्यक्षहरूलाई न्याय गर्ने काममा कसले मद्दत दिइरहेको छ र यिनीहरूलाई अझ असल न्यायकर्त्ताहरू हुने प्रशिक्षण कसरी दिइँदैछ?
५ “इन्साफ गर्न नियुक्त” भएका “बुद्धिमान मानिसहरू” सर्वप्रथम सबै नै अभिषिक्त बूढापाकाहरू अथवा प्राचीनहरू थिए। (१ कोरिन्थी ६:४, ५) प्रकाशको पुस्तकको चित्रमय वर्णनअनुसार विश्वासी, सम्मानित र अभिषिक्त अध्यक्षहरू येशूका दाहिने हातमा छन्। अर्थात् तिनीहरू उहाँको नियन्त्रण र निर्देशनको अधीनमा छन्। (प्रकाश १:१६, २०; २:१) अभिषिक्त जनहरूले १९३५ देखिन् एउटा बढदो “ठूलो भीड” बाट वफादारीपूर्ण समर्थन पाएका छन्। यो “ठूलो भीड” ले महासङ्कष्ट पार गरेर एउटा पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा राख्तछन्। (प्रकाश ७:९, १०, १४-१७) थुमाको विवाह हुने समय जसै नजिक नजिक आउँछ, अभिषिक्त परिचालक निकायले ती ठूलो भीडबाट अझ धेरै व्यक्तिहरूलाई यहोवाका साक्षीहरूका ६६,००० भन्दा बढी मण्डलीहरूमा प्राचीनहरू र न्यायकर्ताहरू नियुक्त गरिरहेका छन्।a (प्रकाश १९:७-९) विशेष पाठशालाहरू द्वारा यिनीहरूलाई “नयाँ पृथ्वीको” समाजमा जिम्मेवारी उठाउने प्रशिक्षण दिइरहेका छन्। (२ पत्रुस ३:१३) १९९१ को अन्ततिर धेरै देशहरूमा सञ्चालित किंगडम मिनिस्ट्री स्कूलमा न्यायिक मामिलाहरूको राम्रोसँग फैसला गर्ने कामलाई जोड दिइयो। न्यायकर्त्ताको हैसियतमा काम गर्ने प्राचीनहरूले यहोवा र ख्रीष्ट येशूको अनुकरण गर्नै पर्छ किनकि उहाँहरूका न्याय फैसलाहरू सत्य र धार्मिक हुन्छन्।—यूहन्ना ५:३०; ८:१६; प्रकाश १९:१, २.
‘डर मानेर काम गर्ने’ न्यायकर्ताहरू
६. न्यायिक-समितिहरूमा बस्ने प्राचीनहरूले मनमा ‘डर मान्दै’ काम किन गर्नुपर्दछ?
६ ख्रीष्टले त यहोवाको डर मान्नु हुँदै र उहाँका आत्माबाट मद्दत लिनु हुँदै न्याय गर्नुहुन्छ। अतः, असिद्ध प्राचीनहरूले त यो अझ कति बढी मात्रामा गर्नु पर्ने हो! न्यायप्रशासन समितिका सदस्यहरू भएर काम गर्नु परेको बेलामा तिनीहरूले ‘डर मानेर काम गर्नु पर्छ’। तिनीहरूले धार्मिकताका साथ न्याय गर्न सक्ने मद्दत पाउनका लागि “पनपेक्ष नगरी मानिसको कामअनुसार इन्साफ गर्ने पितालाई” पुकार्नु पर्छ। (१ पत्रुस १:१७) मानिसहरूको जीवन तिनीहरूको हातमा छ भनेर तिनीहरूले याद राख्नु पर्दछ। (हिब्रू १३:१७) तिनीहरूले न्याय गर्दा, कुनै गलत फैसला गरेमा, तिनीहरू यहोवाको सामुन्ने दोषी हुनेछन्। हिब्रू १३:१७ बारे, जे० एच० ए० एब्रार्डले आफ्नो टिप्पणी मा लेखे: “आफ्नो जिम्मामा सुम्पिएका प्राणीहरूको रेखदेख गर्न गोठालोको जिम्मावारी हो . . . आफ्नो गल्तीले गर्दा हराएकाहरू लगायत तिनले सबैको लेखा दिनु पर्नेछ। यो एउटा गम्भीर आदेश हो। यो अति नै भारी जिम्मावारी तिनले स्वेच्छाले स्वीकारेका हुन् भन्ने कुरालाई परमेश्वरको वचनका प्रत्येक सेवकले विचार गरून्।”—यूहन्ना १७:१२ सँग तुलना गर्नुहोस्; याकूब ३:१.
७. (क) आधुनिक न्यायकर्त्ताहरूले कुन कुरा याद राख्नु पर्दछ र तिनीहरूको लक्ष्य के हुनु पर्ने हो? (ख) मत्ती १८:१८-२० बाट प्राचीनहरूले के शिक्षा लिनुपर्छ?
७ न्यायिक मामिलामा फैसला गर्ने प्राचीनहरूले सधैं याद राख्नु पर्दछ कि प्रत्येक मामिलाका खास न्यायकर्त्ताहरू तः यहोवा र ख्रीष्ट येशू हुन्। इस्राएलका न्यायकर्त्ताहरूलाई भनिएको कुरा सम्झनु होस्: “तिमीहरूले न्यायको फैसला सुनाउँदा मानिसहरूलाई होइन तर तिमीहरूसित हुनुहुने परमप्रभुलाई खुशी तुल्याउन तिमीहरू त्यहाँ न्यायकर्त्ता नियुक्त भएका छौ। यसकारण परमप्रभुको भय तिमीहरूमा रहोस्। . . . परमप्रभुको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू।” (२ इतिहास १९:६-१०) कुनै पनि मामिलाको न्याय गर्ने प्राचीनहरूमा परमेश्वरको भय हुनुपर्दछ। तिनीहरूले गरेका ‘न्याय-फैसलामा’ यहोवाको पनि स्वीकृति छ भनेर निश्चित हुने हर प्रयास तिनीहरूले गर्नुपर्दछ। यहोवा र ख्रीष्टको दृष्टिकोण तिनीहरूको फैसलामा स्पष्टगरी प्रतिबिम्बित हुनु पर्दछ। तिनीहरूले पृथ्वीमा जुन कुरा लाक्षणिक रूपमा ‘बाँध्छन्’ (दोषी साबित गर्छन्) वा ‘फुकाउँछन्’ (निर्दोष साबित गर्छन्), त्यो स्वर्गमा पहिले नै बाँधी सकेको वा फुकाइ सकेको हुनु पर्दछ। यो कुरा परमेश्वरको प्रेरित वचनमा प्रकाशित भएको कुराबाट थाह लगाउन सकिन्छ। तिनीहरूले यहोवालाई येशूको नाउँमा प्रार्थना गरे भने, तिनीहरूलाई मद्दत दिन, येशू तिनीहरूको “माझमा” हुनु हुनेछ। (मत्ती १८:१८-२०, पादटिप्पणी ; द वचटावर, फेब्रुअरी १५, १९८८, पाना ९) ख्रीष्ट वास्तवमा त्यहाँ उपस्थित् हुनुहुन्छ भन्ने कुरा एउटा न्यायिक सुनवाइको वातावरणबाट बोध हुनुपर्दछ।
पूर्णसमय गोठालाहरू
८. यहोवा र येशू ख्रीष्टले कायम गर्नु भएको उदाहरणअनुसार, बगालप्रति प्राचीनहरूको मुख्य जिम्मेवारी के हो? (यशैया ४०:१०, ११; यूहन्ना १०:११, २७-२९)
८ प्राचीनहरू चौबिसै घण्टा न्याय गर्दैनन्। तर तिनीहरू चौबिसै घण्टाका लागि गोठालाहरू हुन्। (याकूब ५:१३-१६) अध्यक्ष भनेर अनुवाद गरिने युनानी शब्द (एपी’स्को-पोस्) को खास अर्थ सुरक्षात्मक हेरचाह हो। नया नियमको धार्मिक शब्दकोश (Theological Dictionary of the New Testament) भन्छ: “[१ पत्रुस २:२५ मा] गोठालो शब्दबाट [एपी’स्को-पोस्] हेरचाह गर्ने वा सुरक्षित राख्ने काम बोध हुन्छ। यो काम अक्सर गाँवहरूमा गरिन्छ।” हो, भेडाहरूको हेरचाह गर्नु अथवा तिनीहरूलाई सुरक्षित, बगाल भित्र राख्नु नै तिनीहरूको मूख्य जिम्मावारी हो।
९, १०. (क) प्राचीनहरूको प्रथम कर्त्तव्यमाथि पावलले कसरी जोड दिए, जसले गर्दा के प्रश्न सोधिन सकिन्छ? (ख) प्रेरित २०:२९ मा उल्लेखित पावलका शब्दहरूबाट के बुझ्न सकिन्छ र प्राचीनहरूले न्यायिक उल्झनहरूको सङ्ख्या कम गर्ने कोशिश कसरी गर्न सक्नेछन्?
९ एफिसी मण्डलीका प्राचीनहरूसित कुरा गर्दा, प्रेरित पावलले ठीक ठाउँमा जोड दिंदै भने: “यसकारण तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको र बगालसमेत, उहाँले आफ्नै रगतले किन्नुभएकोले होशियारी हुनुहोस्।” (प्रेरित २०:२८) पावलले यहाँ दण्ड दिने कामलाई होइन, चराउने कामलाई महत्त्व दिएका छन्। कुनै कुनै प्राचीनहरूले शायद निम्नलिखित प्रश्नमाथि गौर गरेमा बेसै होला: ‘चराउने र हेरचाह गर्ने काममा अझ बढी समय बिताउने गर्यौं भने न्यायिक मामिलाहरूको जाँचबुझ र समाधान गर्न हामीले त्यतिका समय बिताउन नपर्ला कि?’
१० हुनः त, पावलले “डरलाग्दा ब्वाँसाहरू” बारे चेताउनी दिएका थिए। र ‘बगाललाइ स्वाहा’ पार्ने त्यस्ता मान्छेहरूको तिनले भर्त्सना पनि गरे। (प्रेरित २०:२९) तिनको भनाइको तात्पर्य विश्वासी अध्यक्षहरूले यी “ब्वाँसाहरूलाई” बहिष्कृत गर्नु हो। तर यसको अर्थ बगालका अरू सदस्यहरू प्रति पनि अध्यक्षहरूले “कोमलता [न्यु०व०]” न देखाउनु भनेको हो र? एउटा भेडा आध्यात्मिक तवरमा बिरामी भएर बाटोमै लोट्दा, तिनलाई के चाहिन्छ? कुटाइ कि ओखती? दण्ड कि हेरचाह? (याकूब ५:१४, १५) अतः, प्राचीनहरूले गोठालाको हैसियतमा हेरचाह गर्ने कामका लागि नियमित रूपमा समय निकाल्नु पर्दछ। यसो गर्नाले, पापमा फँसेका मसीहीहरू सम्बन्धी न्यायिक मामिलाहरू सुल्झाउनमा धेरै नै कम समय बिताउन आवश्यक हुन्छ। निश्चय नै, प्राचीनहरूमा सर्वप्रथम अरूहरूका लागि आराम र स्फूर्तिदायक हुने इच्छा हुनु पर्छ। यस प्रकार, तिनीहरूले यहोवाका जनहरूको माझमा शान्ति, स्थिरता र सुरक्षाको भाव बढाउन सक्नेछन्।—यशैया ३२:१, २.
अरूहरूको हितगर्ने गोठालाहरू र न्यायकर्ताहरू झैं सेवा गर्नु
११. न्यायिक समितिहरूमा बस्ने प्राचीनहरूलाई किन निष्पक्षता र ‘माथिबाट आउने ज्ञानको’ खाँचो छ?
११ एक जना मसीहीले गलत कदम चाल्नअघि नै गोठालाहरूले हेरचाह गर्ने काममा अझ बढी समय लगाउने गरे भने, यहोवाका जनहरू बीच न्यायिक मामिलाहरूको सङ्खया धेरै नै कम हुन सक्तछ। (गलाती ६:१ सित तुलना गर्नुहोस्।) तथापि, मानवीय पाप र असिद्धताको कारण गलत कामहरू गरिन्छ र तिनीहरूको समाधान मसीही अध्यक्षहरूले समय समयमा गर्नुपर्छ। यस्तो बेलामा, तिनीहरू के कस्ता सिद्धान्तहरू द्वारा निर्देशित हुनुपर्दछ? ती सिद्धान्तहरूमा मोशाको अथवा प्राचीन मसीहीहरूको पालोदेखिन् आजसम्म केही अदलबदल भएको छैन। मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भनेका यी शब्दहरू आज पनि लागू हुन्छन्: “तिमीहरूका जात-भाइ होस् वा विदेशी होस्, जुनसुकै मानिसको पनि ठीक, ठीक न्याय गर। . . . न्याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष न लेऊ।” (व्यवस्था १:१६, १७) ‘माथिबाट आउने ज्ञान’ को एउटा विशेषता निष्पक्षता हो। न्यायिक मामिलाहरूको फैसला गर्ने प्राचीनहरूमा हुनु पर्ने यो एउटा अति नै महत्त्वपूर्ण गुण हो। (याकूब ३:१७; हितोपदेश २४:२३) यस प्रकारको ज्ञान छ भने तिनीहरूले कमजोरी र दुष्टताबीचको भिन्नता छुट्ट्याउने मद्दत पाउने छन्।
१२. न्यायकर्त्ताहरू धार्मिक मात्र होइन तर असल मानिसहरू पनि किन हुनुपर्दछ?
१२ यहोवाले तोक्नु भएको असल र खराबको स्तर बमोजिम प्राचीनहरूले “धार्मिकताका साथ न्याय,” गर्नुपर्छ। (भजनसंग्रह १९:९, न्यु०व०) तापनि, तिनीहरू धार्मिक मानिस हुने कोशिश गरेर मात्र पुग्दैन। तिनीहरू असल हुने प्रयास पनि गर्नुपर्दछ। यी दुई कुराको भिन्नतालाई पावलले रोमी ५:७, ८ मा इङ्गित गरेका छन्। यी पद्यहरूबारे टिप्पणी गर्दै शास्त्रहरूमाथि अन्तरदृष्ट (Insight on the Scriptures, नेपालीमा उपलव्ध छैन) यसो भन्छ: “यहाँ प्रयोग गरिएको युनानी शब्दानुसार असल मानिस उही हुन् जसमा अरूहरूका लागि असल कार्यहरू गर्ने प्रवृत्ति हुन्छ (अरूहरूका लागि असल गर्ने अथवा अरूहरूलाई लाभ हुने प्रकारको काम गर्ने) र तिनी हितकारी (असल गर्नमा सक्रियता साथ लागेका) हुन्छन्। तिनले न्यायको माँग पूरा गर्नमा मात्र चासो लिंदैनन्। तिनी यो भन्दा धेरै नै अघि सर्छन्। अरूहरूप्रतिको स्वस्थकर चासो र तिनीहरूलाई लाभ गराउने र मद्दत दिने इच्छाले तिनी प्रेरित हुन्छन्।” (खण्ड २, पाना ८०९) जुन प्राचीनहरू धर्मी हुनाका साथसाथै असल पनि छन्, तिनीहरूले गलत कार्य गर्ने व्यक्तिहरूसित दयापूर्ण व्यवहार गर्नेछन्। (रोमी २:४) तिनीहरू दया र अनुकम्पा देखाउन इच्छुक हुनुपर्दछ। सुरु-सुरुमा गलत काम गर्ने व्यक्तिले अटेर गरेको जस्तो देखिए तापनि तिनमा पश्चातापको भावना जगाउने यथासम्भव प्रयास प्राचीनहरूले गर्नुपर्दछ।
सुनवाइको बेलामा सही मनोवृत्ति
१३. (क) कुनै एउटा प्राचीनले न्यायकर्त्ताको हैसितयतमा काम गर्नु परे तापनि तिनी के पनि हुन्? (ख) पावलले दिएका कुन सल्लाह न्यायिक सुनवाइहरूमा पनि लागू हुन्छ?
१३ न्यायिक सुनवाइ बस्न आवश्यक पर्दा पनि अध्यक्षहरूले बिर्सनु भएन कि तिनीहरू यस्ता अवसरहरूमा पनि गोठालाहरू नै हुन्। तिनीहरू “असल गोठालाका” अधीनमा छन् र यहोवाका भेडाहरू सित व्यवहार गरिरहेका छन्। (यूहन्ना १०:११) कुनै अप्ठ्यारोमा फँसेको भेडालाई नियमित रूपले मद्दत दिने सम्बन्धमा पावलले दिएका सल्लाह, न्यायिक सुनवाइहरू हुँदा पनि लागू हुन्छ। तिनले यस प्रकार लेखे: “हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर। तिमीहरू एउटाले अर्कोको भार उठाऊ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।”—गलाती ६:१, २.b
१४. अध्यक्षहरूले न्यायिक सुनवाइहरूलाई कुन दृष्टिकोणले हेर्नु पर्दछ र गल्ती गर्ने व्यक्तिप्रति तिनीहरूले कस्तो मनोवृत्ति राख्नु पर्दछ?
१४ सुनवाइ समितिका प्राचीनहरूले आफूलाई ठूलाबडा न्यायकर्ताहरू ठान्नु हुँदैनन्। यो कुनै दण्ड सुनाउने बैठक होइन तर आफ्नो गोठाला कामको एउटा अर्को क्षेत्र मात्र हो भनेर तिनीहरूले सोच्नु पर्दछ। यहोवाको एक जना भेडा आपत्मा फँसेको छ। तिनीहरूले त्यसलाई मद्दत कसरी दिने हो? गोठबाट बरालिएको यो भेडालाई मद्दत दिन धेरै नै अबेर भइ सकेको छ कि? त्यति अबेर त कदापि पनि भएको छैन होला। जहाँ दया देखाउन सकिन्छ, त्यहाँ दया देखाउन प्राचीनहरूले एउटा सकारात्मक दृष्टिकोण राख्नु पर्दछ। यसको अर्थ, कुनै गम्भीर प्रकारको पाप गरिएको खण्डमा पनि यहोवाको स्तर तल झार्न खोज्नु होइन। बरु, कडाकडी गर्नु पर्ने त्यस्तो कुनै परिस्थिति छैन भने, प्राचीनहरूले दया देखाउने ठाउँमा दया देखाउन सक्तछन्। (भजनसंग्रह १०३:८-१०; १३०:३) दुःखको कुरा के हो भने, गल्ती गर्ने कुनै कुनै व्यक्तिहरू अति नै अटेरी हुन्छन्। यसले गर्दा प्राचीनहरूलाई आफ्नो अडानमा दृढ हुन बाध्य पर्छ। तथापि, प्राचीनहरू कठोर चाहिं कहिले पनि हुनु हुँदैन।—१ कोरिन्थी ५:१३.
न्यायिक सुनवाइहरूको उद्देश्य
१५. कुनै दुई व्यक्तिहरू बीच गम्भीर किसिमको समस्या उठ्दा, सबै भन्दा पहिला के निश्चित गर्नुपर्दछ?
१५ व्यक्ति-व्यक्तिहरू बीच कहिलेकाहीं गम्भीर समस्याहरू उठ्न सक्छन्। यस्तो हुँदा तिनीहरूले मत्ती ५:२३, २४ अथवा मत्ती १८:१५ मा उल्लेखित भावनाअनुसार मामिला आपसमा नै सुल्झाउने कोशिश गरेका छन कि छैनन् भनेर बुद्धिमान प्राचीनहरूले पता लाउने सर्वप्रथम कोशिश गर्नेछन्। यो प्रथम कदम असफल भएको खण्डमा एक वा दुई जना प्राचीनहरूले दिएको सल्लाह यथेष्ट हुनु पर्ने हो। बहिष्कार हुन सक्नेसम्मको कुनै गम्भीर पाप गरिएको छ भने मात्र न्यायिक सुनवाइ आवश्यक हुनेछ। (मत्ती १८:१७; १ कोरिन्थी ५:११) कुनै पनि न्यायिक सुनवाइ समिति गठन गर्नका लागि एउटा ठोस शास्त्रीय आधार हुनु पर्दछ। (द वाचटावर, सेप्टेम्बर १५, १९८९, पाना १८ हेर्नुहोस्।) सुनवाइ समिति गठन भइ सकेपछि, यसका लागि सबैभन्दा सुयोग्य प्राचीनहरू छान्नु आवश्यक छ।
१६. न्यायिक सुनवाइहरू द्वारा प्राचीनहरूले के उद्देश्य पूरा गर्न खोज्छन्?
१६ न्यायिक सुनवाइहरू द्वारा प्राचीनहरूले के उद्देश्य पूरा गर्न चाहन्छन्? प्रथमतः, सच्चाइ थाह नभइकन धार्मिकताका साथ न्याय गर्न असम्भव छ। इस्राएलमाझैं गम्भीर समस्याहरूलाई ‘सोध-खोज गरेर राम्ररी केरकार’ गर्नु आवश्यक छ। (व्यवस्था १३:१४; १७:४; १ कोरिन्थी १३:४, ६, ७) सुनवाइ समितिको एउटा उद्देश्य यो मामिलासित सम्बन्धित तथ्य कुरा थाह लाउनु हो। तर यो काम प्रेमसित गर्नु पर्दछ। तथ्य कुरा थाह भइ सकेपछि प्राचीनहरूले मण्डलीलाई बचाउनका लागि, त्यहाँ यहोवाका उच्च स्तरहरू कायम राख्ने र उहाँका आत्मा खुला रूपमा बग्न दिने हर प्रयास गर्ने छन्। (१ कोरिन्थी ५:७, ८) तथापि, सुनवाइको एउटा मुख्य उद्देश्य खतरामा परेका एक जना पापी मानिसलाई सम्भवतः बचाउनु हो।—लूका १५:८-१० सित तुलना गर्नुहोस्.
१७. (क) सुनवाइ भइ रहेको बेलामा आरोप लगाइएको व्यक्तिसित कुन प्रकारको व्यवहार गर्नु पर्दछ र यसको उद्देश्य के हो? (ख) यसो गर्दा न्यायिक समितिका सदस्यहरूले के गर्न आवश्यक पर्ने छ?
१७ दोष लागेको व्यक्तिसित सधैं नै परमेश्वरको एक जना भेडा ठानेर व्यवहार गर्नु पर्दछ। ऊ सित कोमलताका साथ व्यवहार गर्नु आवश्यक छ। पाप वा पापहरू गरिएकै भए तापनि धार्मिक न्यायकर्त्ताहरूको उद्देश्य त्यो पापीलाई पुनर्स्थापन गराउनु, तिनलाई आफ्नो गल्ती स्वीकार गर्न लाउनु, पश्चाताप गराउनु र “शैतानको पासोबाट” बचाउनु हो। यसो गर्न, निपुणताका साथ “शिक्षा” दिनु र “नम्रसँग सच्याउनु” आवश्यक पर्दछ। (२ तिमोथी २:२४-२६; ४:२) तर पापीले आफ्नो पाप स्वीकार गर्दै हार्दिक दुःख प्रकट गर्छ र यहोवालाई क्षमा माँगछ भने, के गर्ने? (प्रेरित २:३७ सित तुलना गर्नुहोस्) ऊ साँच्चै नै मद्दत चाहन्छ भनेर समिति निश्चित छ भने, उसलाई बहिष्कार गर्नु पर्ने कुनै खाँचो छैन।—द वचटावर, जनवरी १, १९८३, पाना ३१, अनुच्छेद १ हेर्नुहोस्.
१८. (क) न्यायिक समितीले गलत काम गर्ने व्यक्तिलाई बहिष्कार गर्नमा कति बेला दृढता दखाउनु पर्छ? (ख) कुन दुःखदायी परिस्थितिको कारण प्राचीनहरूले बरालिएर गएका भेडाहरूलाई सम्हाल्न उत्कट प्रयास गर्नुपर्दछ?
१८ तर पश्चातापको भावनारहितको धर्मत्याग, यहोवाका नियमहरूको जानाजानी विरोध अथवा घोर दुष्टता जस्तो कुरा न्याय-समितिको सामुन्ने आई परेको खण्डमा चाहिं प्राचीनहरूले मण्डलीका अरू सदस्यहरूलाई बचाउनका लागि दोषीलाई बहिष्कार गर्ने छन्। दोषीमा ईश्वरीय पश्चातापको अभाव स्पष्टसित देखिन्छ भने न्यायिक समितिले ऊ सित बारम्बार भेट गरिरहनु पर्दैन अथवा उसलाई पश्चातापका भाव प्रकट गर्ने शब्दहरू बोल्न लाउन बाध्यता पर्दैन।c हालसालैमा, जम्मा प्रकाशकहरूको एक प्रतिशत जति व्यक्तिहरू विश्वभरि बहिष्कार भएका छन्। यसको अर्थ, बगालमा रहने सयवटा भेडाहरूबाट एउटा चाहिं हराउँदछ—केही समयका लागि मात्र भए पनि। सम्झनु होस्, एक जना व्यक्तिलाई बगालभित्र ल्याउन त्यतिका समय जान्छ र कति परिश्रम गर्नुपर्छ। अतः प्रत्येक साल फेरि हजारौंलाई ‘शैतानकहाँ सुम्पनु’ के एउटा अति नै दुःखदायी कुरा होइन र?—१ कोरिन्थी ५:५.
१९. न्यायिक समितीहरूमा बस्ने प्राचीनहरूले कहिले पनि के बिर्सनु हुँदैन र तिनीहरूको लक्ष्य के हुनुपर्दछ?
१९ कुनै न्यायिक मामिला सुल्झाउन लागेका प्राचीनहरूले सधैं याद राख्नु पर्दछ कि मण्डलीमा गरिएका धेरै जसो पापहरूको कारण कमजोरी हो, दुष्टता होइन। हराएको भेडाबारे येशूले दिनु भएको उखान तिनीहरूले कहिले बिर्सनु भएन। त्यो उखानलाई येशूले यसरी टुङ्ग्याउनु भएको थियो: “म तिमीहरूलाई भन्दछु, ‘यसरी पश्चाताप गर्न नपर्ने उनान्सय धार्मिक जनहरूप्रतिभन्दा पश्चाताप गर्ने एक जना पापीप्रति स्वर्गमा आनन्द हुनेछ।’” (लूका १५:७) साँच्चै नै, यहोवा “कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा” गर्नु हुन्छ। (२ पत्रुस ३:९) यहोवाको मद्दतद्वारा संसारभरिका न्यायिक समितिहरूले गलत काम गर्नेहरूलाई पश्चाताप गराएर अनन्त जीवनतर्फ लैजाने साँघुरो बाटोमा आफ्नो पाइला फेरि राख्ने आवश्यकता महसुस गर्न लगाऊन्।—मत्ती ७:१३, १४. (w92 7/1)
[फुटनोटहरू]
a अरू भेडाबाट लिएका प्राचीनहरू ख्रीष्टका दाहिने हातमा हुने विषयका लागि वाचटावर बाइबल एन्ड ट्र्याक्ट सोसाइटी अफ न्यु यर्क, इन्करपरेटेड द्वारा प्रकाशित, प्रकाशितवाक्य—त्यस्को चरम पूर्ति नजिकै छ! (Revelation—Its Grand Climax At Hand! नेपालीमा उपलव्ध छैन) पाना १३६ को पादटिप्पणी हेर्नुहोस्।
b द वचटावर, सेप्टेम्बर १५, १९८९, पाना १९ हेर्नुहोस्।
c दी वचटावर, सेप्टेम्बर १, १९८१, पाना २६, अनुच्छेद २४ हेर्नुहोस्.
पुनःरावलोकनका प्रश्नहरू
◻ महान गोठाला र असल गोठालाको उदाहरण अनुकरण गर्दा, प्राचीनहरूको मुख्य उद्देश्य के हुनु पर्दछ?
◻ न्यायिक मामिलाहरूको सङ्खयालाई प्राचीनहरूले कसरी कम पार्ने कोशिश गर्न सक्छन्?
◻ न्यायकर्त्ताहरू धार्मिक मात्र होइन तर असल पनि हुनुपर्दछ भनेको अर्थ के हो?
◻ सुनवाइ हुँदा, गलत काम गर्ने व्यक्तिसित कस्तो व्यवहार गर्नुपर्दछ र मनमा के उद्देश्य राखेर?
◻ किन अरू सबै उपाय काम न लागेपछि मात्र बहिष्कार गर्ने कदम चाल्नु पर्दछ?
[पृष्ठ १६-मा भएको चित्र]
हेरचाह गर्ने काम राम्रोसित गरियो भने न्यायिक मामिलाहरू धेरै नै कम हुन्छ
[पृष्ठ १८-मा भएको चित्र]
न्यायिक सुनवाइ हुँदा पनि, प्राचीनहरूले गलत काम गर्ने व्यक्तिलाई धैर्यका साथ सम्झाउने कोशिश गर्नुपर्दछ