बाइबलको दृष्टिकोण
बहिष्कार गर्नु किन मायालु प्रबन्ध हो
बहिष्कार—यसै धारणाले थुप्रै धार्मिक मानिसहरूमाझ मिश्रित भावनाहरू जगाउँछ।a धर्महरूमा खास प्रकारको अनुशासन चाहिन्छ भन्ने कुरामा अधिकांश मानिसहरू सहमत छन्। तर थुप्रै मानिसले बहिष्कारलाई विगत अर्थात् विरोधी उत्पीडन र इन्क्विजिशनहरू स्मरण गराउने कठोर किसिमको अनुशासनसित सम्बन्धित भएको ठान्छन्।
संसारको व्यापक प्रभाव थप समस्या हो। तसर्थ, मसीहीजगत्का अधिकांश धर्महरू पापप्रति अधिक स्वीकार्य दृष्टिकोण राख्छन्। त्यसैले एपिस्कोपालियन सेवकले यसो भनेकोमा अचम्म मान्नुपर्ने कारण छैन: “बहिष्कार हाम्रो परम्पराको भाग हो तर यस शताब्दीमा लागू भएको जस्तो मलाई लाग्दैन।”
तथापि, यहोवाका साक्षीहरूमाझ बहिष्कारलाई (समुदायबाट हटाउनुको पर्याय) गम्भीरतापूर्वक लिइन्छ भनी थाह पाउँदा थुप्रै मानिसहरू छक्क पर्लान्। हो, यसो गर्नु सजिलो नभए तापनि यो मायालु प्रबन्ध हो। कसरी?
यसले परमेश्वरको नाउँको समर्थन गर्छ
यहोवा पवित्र परमेश्वर हुनुहुन्छ। उहाँको उपासक भनी दाबी गर्नेहरूले जानाजानी गरेको पापलाई उहाँ सहनुहुन्न। प्रेरित पत्रुसले मसीहीहरूलाई यसप्रकार लेखे: “तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, ‘तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।’” (१ पत्रुस १:१५, १६) तसर्थ, अपश्चात्तापी पापीहरूलाई बहिष्कार गर्दा परमेश्वरको पवित्र नाउँको समर्थन गरेको हुन्छ र त्यस नाउँप्रति प्रेम झल्किन्छ।—हिब्रू ६:१० तुलना गर्नुहोस्।
त्यसको अर्थ, के कुनै मसीही कमजोरीको वशमा पर्दा वा गम्भीर पापमा फस्दा सोचविचार नगरी तिनलाई मण्डलीबाट निकालिन्छ? पटक्कै होइन! यहोवा निठुर र तानाशाह हुनुहुन्न। उहाँ कृपालु र समझदार हुनुहुन्छ। हामी असिद्ध छौं भनी उहाँले बिर्सनुहुन्न। (भजन १०३:१४) “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्” भनेर यहोवा स्वीकार्नुहुन्छ। (रोमी ३:२३) परमेश्वरले मण्डलीभित्र आध्यात्मिक मदतको प्रबन्ध गर्नुभएको छ। त्यसर्थ, कुनै मसीहीले “अपराध” गर्दा वा गम्भीर पापमा फस्दासमेत तिनलाई नम्रताको आत्माले ‘सुधार’ गरिन्छ। (गलाती ६:१) परमेश्वरको वचनअनुरूप सल्लाह स्वीकारेर भित्री हृदयदेखि अफशोच तथा साँचो पश्चात्ताप देखाएर धार्मिकताको मार्गबाट तर्केको व्यक्ति आध्यात्मिक तवरमा “निको” हुनसक्छन्।—याकूब ५:१३-१६.
यद्यपि, कुनै बप्तिस्माप्राप्त मसीहीले गम्भीर भूल गर्छन् र तिनलाई सुधार्न गरिएका सबै प्रयासहरू निष्फल भएमा नि? अर्को शब्दमा भन्ने हो भने, तिनले हठी हुँदै आफ्नो पापी जीवनपद्धतिलाई सुधार्न अस्वीकार गरेमा के गर्ने?
यसले मण्डलीलाई सुरक्षित राख्छ
बाइबलले मसीहीहरूलाई यस्तो आज्ञा दिन्छ: “त्यसको सङ्गत नगर्नू, . . . जो भाइ कहलिएर व्यभिचारी, अथवा लोभी, वा मूर्तिपूजक, वा गाली गर्ने, कि मतवाला, अथवा लुटाहा हुन्छ, त्यस्तो मानिससित ता खाँदै पनि नखाओ।”—१ कोरिन्थी ५:११.
के बाइबलको यो नियम कठोर र अपमानजनक छ? विचार गर्नुहोस् त: नियम उल्लंघन गर्ने निष्ठुर अपराधीलाई जेलमा हाल्नु के त्यो कठोर वा निठुरीपन हो? होइन। किनकि समुदायमा शान्ति र सुरक्षा कायम राख्ने अधिकार जनसाधारणसित छ। परिणामस्वरूप, अपराधीलाई तिनको जेलसजायभरि नियमपालक समाजबाट बहिष्कार गरिन्छ।
त्यस्तैप्रकार, मसीही मण्डलीले गलत काम गर्ने अपश्चात्तापीहरूलाई आफ्नो माझबाट हटाउनु युक्तिसंगत छ। किन? किनभने मण्डली स्वेच्छापूर्वक पापहरू गरिरहने अनैतिक व्यक्तिहरूदेखि सुरक्षित स्थान हुनैपर्छ।
‘एउटा पापीले धेरै असल कामलाई सर्वनाश गर्नसक्छ’ भन्ने बुझेर प्रेरित पावलले सँगी विश्वासीहरूलाई यस्तो आज्ञा दिए: “तिमीहरूले तिमीहरूको बीचबाट दुष्ट मानिसलाई हटाओ।” (उपदेशक ९:१८; १ कोरिन्थी ५:१३) यस कार्यले पापी व्यक्तिलाई मण्डलीमा भ्रष्टाचार फैलाउनदेखि रोक्छ र मण्डलीको सुनामको रक्षा गर्छ।—१ तिमोथी ३:१५ तुलना गर्नुहोस्।
व्यक्तिविशेषको लागि सुरक्षा
बहिष्कार गर्नाले मण्डलीका सदस्यहरू जोगिन्छन्। आउनुहोस्, दृष्टान्त लेऔं: गाडीको हर्न वा खतरा संकेतको चर्को आवाजले निद्रा भंग भएको कल्पना गर्नुहोस्। चर्को आवाजलाई टाल्न सकिंदैन, निस्सन्देह यसले तपाईंलाई झसंग पार्छ! त्यसरी नै, मण्डलीबाट कसैलाई हटाएको कार्यले फलतः बगालको प्रत्येक सदस्यको ध्यान खिच्छ। यसले तिनीहरूको होसहवास उडाइदिन्छ। यसलाई नकार्न सकिन्न। यो कसरी सुरक्षा हुनसक्छ होला र?
एक साक्षी बताउँछिन्, “कसैलाई बहिष्कार गरिएको कुरा पहिलो चोटि राज्यभवनमा सुन्दा प्रथमतः म झस्किएँ। त्यसपछि यसले मलाई विनम्र तुल्यायो। बुझ्न सकें, म पनि पतन हुनसक्ने रहेछु।” बहिष्कारले व्यक्तिलाई आफ्नो आचरण जाँच्न उत्प्रेरित गराउँछ भनेर तिनका शब्दहरूले देखाउँछन्।—१ कोरिन्थी १०:१२.
‘आध्यात्मिक तवरले कुनै कमजोर क्षेत्र मेरो जीवनमा छ?’ भनेर आफूलाई सोध्दै परमेश्वरसितको आफ्नो सम्बन्धलाई जाँच्न हामी मदत पाउनसक्छौं। यसरी हामी ‘डर र कम्पसाथ आफ्नो मुक्तिको काम पूरा’ गरिरहनसक्छौं।—फिलिप्पी २:१२.
परमेश्वरतर्फ फर्कनुहोस्
केही समयको लागि बहिष्कृत भएकी एक मसीहीले यसो भनिन्, “यो असाध्यै कठिन थियो। तैपनि, मलाई अनुशासन चाहिएकै थियो र यो जीवनरक्षक साबित भयो।” यसले बहिष्कार गर्नुको अर्को महत्त्वपूर्ण पक्षलाई प्रकाश पार्छ। अपश्चात्तापी पापीहरूलाई यसले परमेश्वरतर्फ फर्कने प्रथम खुड्किलो चढ्न उत्प्रेरित गर्नसक्छ।
प्रेरित पावलले भने: “जसलाई परमेश्वर प्रेम गर्नुहुन्छ, त्यसैलाई अनुशासन गर्नुहुन्छ।” (हिब्रू १२:६) र यो साँचो हो, “सबै अनुशासन हालको निम्ति मजाको हुँदैन तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल, अर्थात् धार्मिकताको फल दिइन्छ।”—हिब्रू १२:११.
रिचर्डलाई त्यस्तै भयो। लगभग दुइ वर्षसम्म बहिष्कृत भएपछि तिनले पश्चात्ताप गरे, परमेश्वरको अनादर हुने आफ्नो आचरणलाई सुधारे र मसीही मण्डलीमा पुनः फर्कन तिनी राजी भए। तिनी विगतलाई सम्झंदै अनुभव बताउँछन्: “म बहिष्कृत हुनैपर्थ्यो भनेर बुझें र भएँ पनि। यसको मलाई साँच्चै खाँचो थियो र यसले मलाई मेरो जीवनपद्धति कत्तिको गम्भीर थियो तथा यहोवाबाट क्षमाको आवश्यकतालाई जाँच्न मदत दियो।”
अनुशासन सहन सजिलो नहोला। यसलाई स्वीकार्न विनम्रता चाहिन्छ तर यसबाट सिक्नेले प्रशस्त फल फलाउँछ।
तसर्थ, बहिष्कार गर्नु मायालु प्रबन्ध हो किनभने यसले परमेश्वरको पवित्र नाउँको समर्थन गर्छ र पापको भ्रष्ट प्रभावबाट मण्डलीलाई जोगाउँछ। त्यसबाहेक, यसले गलत काम गर्नेलाई पश्चात्ताप गर्न अनि ‘[तिनको] पाप मेटाउन र प्रभुका उपस्थितिबाट आरामको समय पाउनको लागि फर्कन’ प्रोत्साहन दिएर तिनीहरूप्रति प्रेम प्रदर्शित गर्छ।—प्रेरित ३:१९.
[फुटनोट]
a बहिष्कार भनेको अनुशासन दिने कार्य हो र त्यसको परिणामस्वरूप धार्मिक सदस्यताबाट हटाइन्छ।
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
The New Testament: A Pictorial Archive from Nineteenth-Century Sources, by Don Rice/Dover Publications, Inc.