प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ७/१ pp. ११-१५
  • यहोवाको दिनले के प्रकट गर्नेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको दिनले के प्रकट गर्नेछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बितिजाने आकाश र पृथ्वी
  • “तत्त्वहरू . . . पग्लिनेछन्‌”
  • “पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्‌”
  • “नयाँ स्वर्ग र नयाँ पृथ्वी”
  • यहोवाको महान्‌ दिनको लागि तयारी गर्नुहोस्‌
  • मुक्‍ति दिने परमेश्‍वरमा भरोसा राख्नुहोस्‌
  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ७/१ pp. ११-१५

यहोवाको दिनले के प्रकट गर्नेछ

“प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, . . . पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्‌।”—२ पत्रु. ३:१०, NRV.

१, २. (क) वर्तमान दुष्ट रीतिरिवाज कसरी अन्त हुनेछ? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

वर्तमान दुष्ट रीतिरिवाज प्रथम झूटमा अर्थात्‌ यहोवामा भर नपरी मानिस आफैले सफलतापूर्वक शासन गर्न सक्छ भन्‍ने कुरामा अडेको छ। (भज. २:२, ३) के झूटमा कुनै कुरा सधैंभरि टिकिरहन सक्छ? पक्कै सक्दैन। हामीले शैतानको संसार आफै अन्त हुने समयसम्म पर्खनुपर्दैन। बरु परमेश्‍वरले आफैले तोकेको समयमा र आफ्नै तरिकामा त्यसलाई नाश गर्नुहुनेछ। परमेश्‍वरले यस दुष्ट संसारविरुद्ध चाल्ने कदमले उहाँको न्याय र प्रेम पूर्णरूपमा प्रकट गर्नेछ।—भज. ९२:७; हितो. २:२१, २२.

२ प्रेरित पत्रुसले लेखे: “प्रभुको दिन त चोरजस्तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिं ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्लिनेछन्‌, र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्‌।” (२ पत्रु. ३:१०, NRV) यहाँ उल्लेख गरिएका “आकाश” र “पृथ्वी” के हुन्‌? पग्लिजाने “तत्त्वहरू” के हुन्‌? अनि पत्रुसले “पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्‌” भन्‍नुको अर्थ के हो? यी प्रश्‍नहरूका जवाफ थाह पाउँदा निकट भविष्यमा हुने भयानक घटनाहरूको लागि तयार हुन हामी मदत पाउनेछौं।

बितिजाने आकाश र पृथ्वी

३. दोस्रो पत्रुस ३:१० मा बताइएको “आकाश” के हो र यो कसरी बितिजानेछ?

३ बाइबलमा प्रतीकात्मक रूपमा “आकाश” वा “स्वर्ग” शब्द प्रयोग गरिंदा प्रायजसो यसले शासन गर्ने प्रणालीलाई बुझाउँछ जुन त्यसका प्रजाहरूभन्दा उच्च पारिएको हुन्छ। (यशै. १४:१३, १४; प्रका. २१:१, २) अभक्‍त समाजमाथि शासन गर्ने मानव सरकारलाई ‘बितिजाने आकाश’-ले सङ्‌केत गर्छ। “ठूलो आवाजसाथ” वा अर्को अनुवादअनुसार “ठूलो गर्जनसाथ” बितिजानेछ भन्‍नुको मतलब यसले यी आकाशको सर्वनाश द्रुत गतिमा हुनेछ भनी सङ्‌केत गर्न सक्छ।

४. “पृथ्वी” के हो अनि यो कसरी नाश हुनेछ?

४ “पृथ्वी”-ले परमेश्‍वरबाट तर्किएको मानिसजातिको संसारलाई बुझाउँछ। नूहको समयमा त्यस्तै संसार थियो तर परमेश्‍वरको आज्ञाअनुसार त्यतिबेलाको संसार जलप्रलयद्वारा विनाश भयो। “अहिलेको आकाशहरू र पृथ्वीचाहिं त्यही वचनले, भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्टयाई आगोको निम्ति साँचेर राखिएका छन्‌।” (२ पत्रु. ३:७) त्यतिबेलाको जलप्रलयले सबै अभक्‍त मानिसलाई एकैचोटि विनाश गऱ्‍यो तर आउँदै गरेको विनाश भने “महासङ्‌कष्ट”-का विभिन्‍न चरणमा हुनेछन्‌। (प्रका. ७:१४) त्यस महासङ्‌कष्टको पहिलो चरणमा परमेश्‍वरले यस संसारका राजनैतिक शासकहरूलाई “महान्‌ बेबिलोन”-को नाश गर्न उक्साउनुहुनेछ र यसबाट धर्महरूले चित्रण गर्ने त्यस वेश्‍यालाई उहाँले कत्तिको घृणा गर्नुहुँदो रहेछ भनेर देखिनेछ। (प्रका. १७:५, १६; १८:८) त्यसपछि आरमागेडोनको युद्ध अर्थात्‌ महासङ्‌कष्टको अन्तिम चरणमा यहोवा आफैले शैतानको संसारको बाँकी भागलाई नामेट पार्नुहुनेछ।—प्रका. १६:१४, १६; १९:१९-२१.

“तत्त्वहरू . . . पग्लिनेछन्‌”

५. प्रतीकात्मक तत्त्वहरूमा के-के समावेश छन्‌?

५ ‘पग्लिजाने तत्त्वहरू’ के हुन्‌? पत्रुसले बताएका “तत्त्वहरू”-ले यस संसारलाई चित्रण गर्ने अभक्‍त स्वभाव, मनोवृत्ति, तौरतरिका अनि लक्ष्यमा देखिने मूलभूत कुराहरूलाई सङ्‌केत गर्छ। “तत्वहरू”-मा ‘अनाज्ञाकारिताका सन्तानमा काम गर्ने’ “संसारको आत्मा” पनि समावेश छ। (१ कोरि. २:१२; एफिसी २:१-३ पढ्‌नुहोस्‌) यो आत्मा अर्थात्‌ मनोभाव शैतानको संसारमा व्याप्त छ। यसले मानिसहरूलाई “आकाशको शक्‍तिको मालिक” अर्थात्‌ त्यस घमन्डी शैतानको सोचाइ झल्किने किसिमले सोच्न, योजना बनाउन, बोल्न र कदम चाल्न उक्साउँछ।

६. संसारको आत्मा कसरी देखिन्छ?

६ त्यसैले जानाजानी होस्‌ या अनजानमा, संसारको आत्माको वशमा पर्नेहरूले आफ्नो मन-मस्तिष्कलाई शैतानको प्रभावमा पर्न दिन्छन्‌ जसले गर्दा तिनीहरूले त्यसकै सोचाइ र मनोवृत्ति देखाउँछन्‌। फलस्वरूप तिनीहरूले परमेश्‍वरको इच्छालाई बेवास्ता गर्दै आफूलाई जे मन लाग्यो त्यही गर्छन्‌। कुनै पनि परिस्थितिप्रति तिनीहरूले देखाउने प्रतिक्रियामा घमन्ड वा स्वार्थ देखिन्छ, तिनीहरूले अख्तियारवालाहरूप्रति विद्रोही मनोभाव देखाउँछन्‌ र विनारोकटोक “शरीरको अभिलाषा, आँखाको अभिलाषा” पूरा गर्छन्‌।—१ यूहन्‍ना २:१५-१७ पढ्‌नुहोस्‌।

७. हामीले किन आफ्नो ‘हृदयलाई सुरक्षित राख्नै पर्छ?’

७ त्यसोभए सरसंगत, पाठ्यपुस्तक र मनोरञ्जनको छनौट गर्दा अनि इन्टरनेटमा कुन वेबसाइट हेर्ने हो त्यसको निर्णय गर्दा ईश्‍वरीय बुद्धि झल्काएर हामीले आफ्नो ‘हृदयलाई सुरक्षित राख्नु’ एकदमै महत्त्वपूर्ण छ। (हितो. ४:२३) प्रेरित पावलले लेखे: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।” (कल. २:८) यहोवाको दिन नजिकिंदै जाँदा यो आज्ञाअनुसार गर्नु झनै महत्त्वपूर्ण भएको छ किनभने त्यस दिनको प्रचण्ड “ताप”-ले शैतानको प्रणालीका सबै “तत्त्वहरू” पगाल्नेछन्‌। साथै तिनीहरू परमेश्‍वरको क्रोधको तापसामु पटक्कै टिक्न सक्नेछैनन्‌ भनेर पनि प्रमाणित हुनेछ। यसले हामीलाई मलाकी ४:१ का यी शब्दहरूको याद दिलाउँछ: “भट्टीझैं दन्कँदै त्यो दिन आउँदैछ, जब सबै घमन्डी र दुष्ट काम गर्नेहरू ठूटाझैं हुनेछन्‌। त्यो आउने दिनले तिनीहरूलाई भस्म गर्नेछ।”

“पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्‌”

८. पृथ्वी र त्यसमा भएका सबै थोक कुन अर्थमा “भस्म हुनेछन्‌?”

८ पत्रुसले “पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्‌” भनेर लेख्नुको अर्थ के थियो? “भस्म हुनेछन्‌” भन्‍ने अभिव्यक्‍तिलाई आगोको दण्ड भोग्नको लागि “प्रकट गरिने” वा “पत्ता लगाइने” भनेर पनि अनुवाद गर्न सकिन्छ। पत्रुसले यसो भन्‍नुको अर्थ हो— महासङ्‌कष्टको दौडान यहोवाले शैतानको संसारलाई उदाङ्‌ग पार्नुहुनेछ, उहाँले आफू र आफ्नो राज्यविरुद्ध शैतानको संसार खडा भएको हुँदा त्यो विनाश भोग्न योग्यको छ भनेर पर्दाफास गर्नुहुनेछ। त्यस समयबारे यशैया २६:२१ मा भविष्यसूचक ढंगमा यसो भनिएको छ: “पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अधर्मका निम्ति सजाय दिन परमप्रभु आफ्नो ठाउँबाट निस्की आउनुहुन्छ। पृथ्वीले आफूमाथि पोखाइएको रगत प्रकट गर्नेछ, र मारिएकाहरूलाई अबउप्रान्त पृथ्वीले छिपाउनेछैन।”

९. (क) हामीले कस्ता कुराहरू तिरस्कार गर्नुपर्छ र किन? (ख) हामीले के खेती गर्नुपर्छ र किन?

९ यस संसारको चालढाल र यसको दुष्ट आत्माको प्रभावमा परेकाहरूले यहोवाको दिनको दौडान आफ्नो असली रूप देखाउनेछन्‌, यहाँसम्म कि एकअर्कालाई काटमारसमेत गर्नेछन्‌। वास्तवमा, आजकल चर्चित विभिन्‍न प्रकारका हिंसात्मक मनोरञ्जनहरूले थुप्रै मानिसको दिमागलाई त्यस समयको लागि तयार गर्दैछ जस्तो देखिन्छ जब “एउटाको हात अर्कोको विरुद्धमा खडा हुनेछ।” (जक. १४:१३) त्यसो भए हामीले घमन्ड र हिंसा रुचाउनेजस्ता बानीहरू विकास गर्न लगाउने चलचित्र, पुस्तक, भिडियो गेम आदि तिरस्कार गर्नु एकदमै महत्त्वपूर्ण छ किनभने यस्ता बानीहरू परमेश्‍वरको नजरमा घृणित कुराहरू हुन्‌। (२ शमू. २२:२८; भज. ११:५) बरु परमेश्‍वरको पवित्र आत्माको फलका विभिन्‍न पक्ष खेती गरौं किनभने यस्ता गुणहरू यहोवाको दिनको प्रतीकात्मक तापसामु पनि भस्म हुनेछैनन्‌।—गला. ५:२२, २३.

“नयाँ स्वर्ग र नयाँ पृथ्वी”

१०, ११. “नयाँ स्वर्ग” र “नयाँ पृथ्वी” के हुन्‌?

१० दोस्रो पत्रुस ३:१३ पढ्‌नुहोस्‌। “नयाँ स्वर्ग” परमेश्‍वरको स्वर्गीय राज्य हो जुन सन्‌ १९१४ मा “अन्यजातिहरूको समय” अन्त हुँदा स्थापित भयो। (लूका २१:२४) त्यो राजकीय सरकार ख्रीष्ट येशू र उहाँका १,४४,००० सहशासक मिलेर बनेको छ जसमध्ये थुप्रैले स्वर्गमा आफ्नो इनाम पाइसकेका छन्‌। प्रकाशको पुस्तकमा यी चुनिएका जनहरूलाई “परमेश्‍वरका तर्फबाट, पतिको निम्ति दुलही जस्तैगरी सिंगारिएर तयार पारिराखेकी, पवित्र शहर नयाँ यरूशलेम”-को रूपमा चित्रण गरिएको छ जुन “स्वर्गबाट तलतिर झरिरहेको” छ। (प्रका. २१:१, २, २२-२४) पुरातन इस्राएलमा सरकारको मुख्य केन्द्र यरूशलेम थियो। त्यसरी नै नयाँ रीतिरिवाजको सरकार नयाँ यरूशलेम र तिनकी दुलही मिलेर बनेको छ। यो स्वर्गीय सहर शाब्दिक रूपमै तलतिर झर्ने होइन तर यसले पृथ्वीका मामिलाहरू सँभाल्ने कुरालाई बुझाउँछ।

११ “नयाँ पृथ्वी”-ले परमेश्‍वरको राज्यप्रति राजीखुसीले अधीनता देखाउने मानिसजातिको नयाँ पार्थिव समाजलाई बुझाउँछ। परमेश्‍वरका जनहरूले अहिल्यै आनन्द उठाइरहेको आध्यात्मिक प्रमोदवनले “आउँदो” सुन्दर “संसार”-मा अन्ततः आफ्नो उचित स्थान पाउनेछ। (हिब्रू २:५) हामी कसरी उक्‍त नयाँ रीतिरिवाजको भाग हुन सक्छौं?

यहोवाको महान्‌ दिनको लागि तयारी गर्नुहोस्‌

१२. यहोवाको दिन आउँदा संसारका मानिसहरू किन अक्क न बक्क हुनेछन्‌?

१२ पावल र पत्रुस दुवैले यहोवाको दिन “चोर आएझैं” सुटुक्क र नचिताएको बेलामा आउनेछ भनेर भविष्यवाणी गरेका थिए। ( १ थिस्सलोनिकी ५:१, २ पढ्‌नुहोस्‌) त्यस दिनको प्रतीक्षा गरिरहेका साँचो ख्रीष्टियानहरूसमेत त्यो दिन अचानक आउँदा चकित हुनेछन्‌। (मत्ती २४:४४) तथापि संसारका मानिसहरू चकित हुने मात्र होइनन्‌ तर अक्क न बक्क हुनेछन्‌ किनभने पावलले लेखे: “जब [यहोवाबाट तर्किएका] मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्‌, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं, अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्‌।”—१ थिस्स. ५:३.

१३. ‘शान्ति र सुरक्षा!’-को आवाज सुनिंदा नबहकिन हामी के गर्न सक्छौं?

१३ मानिसहरू ‘शान्ति र सुरक्षा!’ भनेर कराउँदा त्यो शैतानतर्फबाट आएको अर्को झूट मात्र हुनेछ तर यसले यहोवाका जनहरूलाई बहकाउन सक्नेछैन। पावलले यस्तो लेखे: “त्यो दिन तिमीहरूमाथि चोरजस्तै गरी आइपर्ला भन्‍ने अन्धकारमा तिमीहरू छैनौ, किनकि तिमीहरू सबै ज्योतिका सन्तान, र दिनका सन्तान हौ।” (१ थिस्स. ५:४, ५) त्यसकारण हामी ज्योतिमा रहिरहौं, शैतानको संसारको अन्धकारबाट टाढै बसौं। पत्रुसले लेखे: “तिमीहरू, हे प्रिय हो, यी कुराहरू अघिबाटै थाह पाएका भएर होशियार रहो, नत्रता दुष्टहरूका [अर्थात्‌ ख्रीष्टियान मण्डलीभित्रका झूटा शिक्षकहरूका] भ्रमबाट एकातिर लागेर तिमीहरू आफ्ना दृढताबाट पतित हुनेछौ।”—२ पत्रु. ३:१७.

१४, १५. (क) यहोवाले कसरी हाम्रो कदर गर्नुभएको छ? (ख) हामीले कुन प्रेरित शब्दहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ?

१४ याद गर्नुहोस्‌, यहोवाले हामीलाई केवल ‘होशियार रहनू’ अनि अरू केही गर्नुपर्दैन भन्‍नुभएको छैन। बरु भविष्यमा के हुनेछ भन्‍ने कुरा उहाँले हामीलाई दयालुपूर्वक ‘अघिबाटै थाह दिएर’ हाम्रो कदर गर्नुभएको छ।

१५ तर दुःखको कुरा, कसै-कसैले जागा रहनुपर्ने आवश्‍यकताबारे दिइएका सम्झौटालाई मतलबै नराख्ने वा शङ्‌कासमेत गर्ने गर्छन्‌। तिनीहरूले यसो भन्लान्‌: ‘हामीले यस्ता सम्झौटाहरू सुनेको वर्षौं भइसक्यो।’ तथापि त्यस्तो टिप्पणी गर्दा तिनीहरूले विश्‍वासी दासवर्गमाथि मात्रै होइन तर वास्तवमा यहोवा र उहाँको पुत्रमाथि नै प्रश्‍न खडा गरिरहेका हुन्छन्‌ भन्‍ने कुरा तिनीहरूले बिर्सनुहुँदैन। यहोवाले “बाटो हेर्दै बस्‌” भन्‍नुभएको छ। (हब. २:३) त्यस्तैगरि येशूले पनि भन्‍नुभयो: “जागा रहो, किनकि कुन दिन तिमीहरूका प्रभु आउँछन्‌, सो तिमीहरूले जान्दैनौ।” (मत्ती २४:४२) अनि पत्रुसले पनि यस्तो लेखे: “सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकतासाथ इच्छा गरेर” बस। (२ पत्रु. ३:११, १२) विश्‍वासी दासवर्ग अनि यसको परिचालक निकायले यी गम्भीर शब्दहरूलाई कहिल्यै हल्कासित लिनेछैन।

१६. हामीले कस्तो मनोवृत्ति राख्नुहुँदैन र किन?

१६ मालिकले बियाँलो गर्दैछन्‌ भन्‍ने निष्कर्षमा पुग्ने वास्तवमा “दुष्ट नोकर” हो। (मत्ती २४:४८) त्यो दुष्ट नोकर दोस्रो पत्रुस ३:३, ४ मा उल्लेख गरिएको समूहको भाग हो। पत्रुसले लेखे कि ‘पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरूले आफ्नै अभिलाषाअनुसार’ ती मानिसहरूको खिसी गर्नेछन्‌ जसले आज्ञाकारी भएर यहोवाको दिनलाई आफ्नो मनमा राखिराख्छन्‌। हो, त्यस्ता गिल्ला गर्नेहरूले राज्य गतिविधिमा ध्यान केन्द्रित गर्नुको सट्टा आफूमै अनि आफ्नै स्वार्थी इच्छाहरूमा ध्यान केन्द्रित गर्छन्‌। त्यस्तो अनाज्ञाकारी र खतरनाक मनोवृत्ति हामी कहिल्यै विकास नगरौं! बरु राज्य प्रचारकार्य र चेला बनाउने काममा व्यस्त रहेर अनि यहोवाको अधिकार क्षेत्रभित्र पर्ने कुरा अर्थात्‌ विभिन्‍न घटना हुने समय कहिले हो, त्यसबारे अचाक्ली चिन्ता नगरेर हामी ‘प्रभुको धीरजनै मुक्‍ति हो भनी सम्झिरहौं।’—२ पत्रु. ३:१५; प्रेरित १:६, ७ पढ्‌नुहोस्‌।

मुक्‍ति दिने परमेश्‍वरमा भरोसा राख्नुहोस्‌

१७. यरूशलेम छोडेर भाग्नू भन्‍ने येशूको निर्देशनप्रति विश्‍वासी ख्रीष्टियानहरूले कस्तो प्रतिक्रिया देखाए र किन?

१७ इस्वी संवत्‌ ६६ मा रोमी सेनाले यहूदियामा आक्रमण गरेपछि पहिलो मौका पाउनेबित्तिकै यरूशलेम सहर छोडेर भाग्नू भन्‍ने येशूको निर्देशन विश्‍वासी ख्रीष्टियानहरूले पालन गरे। (लूका २१:२०-२३) तिनीहरूले किन तुरुन्तै अनि दृढतापूर्वक कदम चाले? तिनीहरूले येशूको चेतावनी गम्भीरतापूर्वक लिएका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। ख्रीष्टले पूर्वचेतावनी दिएझैं यस्तो निर्णय गर्दा कठिनाइ आइपर्नेछ भनी तिनीहरूले पक्कै आशा गरेका थिए। तर तिनीहरूलाई यो कुरा पनि थाह थियो, यहोवाले आफ्ना वफादार जनहरूलाई कहिल्यै त्याग्नुहुनेछैन।—भज. ५५:२२.

१८. लूका २१:२५-२८ मा भएका येशूका शब्दहरूले आउँदै गरेको महासङ्‌कष्टप्रति तपाईंको दृष्टिकोणलाई कसरी असर गर्छ?

१८ हामीले पनि यहोवामा पूरा भरोसा राख्नै पर्छ किनभने मानव इतिहासले अहिलेसम्म कहिल्यै अनुभव नगरेको महासङ्‌कष्ट यस वर्तमान रीतिरिवाजले भोग्नेछ र त्यतिबेला हामीलाई मुक्‍ति दिने उहाँ मात्रै हुनुहुनेछ। महासङ्‌कष्ट सुरु भएको केही समयपछि तर यहोवाले बाँकी संसारमाथि आफ्नो न्याय कार्यान्वयन गर्नुअघि “संसारमा हुन आउने घटनाहरूको आशङ्‌काले मानिसहरू मूर्च्छा पर्नेछन्‌।” तथापि परमेश्‍वरका शत्रुहरू डरले थरथर काँप्दा यहोवाका वफादार सेवकहरू भने डराउनेछैनन्‌। बरु तिनीहरू रमाउनेछन्‌ किनभने आफ्नो उद्धार नजिकै छ भनी तिनीहरूलाई थाह छ।—लूका २१:२५-२८ पढ्‌नुहोस्‌।

१९. यसपछिको लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

१९ हो, यस संसार र यसका “तत्त्वहरू”-देखि अलग रहनेहरूसामु कस्तो रोमाञ्चकारी भविष्य! तर जीवन पाउन चाहन्छौं भने हामी खराब कुराबाट अलग बस्नु मात्र पर्याप्त छैन भनी यसपछिको लेखले बताउनेछ। यहोवालाई प्रसन्‍न पार्ने गुणहरू हामीले विकास गर्नुपर्छ अनि उहाँलाई स्वीकारयोग्य कामहरू गर्नुपर्छ।—२ पत्रु. ३:११. ( w10 -E 07/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• निम्न कुराहरूले केलाई बुझाउँछ?

वर्तमान ‘आकाश र पृथ्वी’

“तत्त्वहरू”

“नयाँ स्वर्ग र नयाँ पृथ्वी”

• हामी किन परमेश्‍वरमा पूरा भरोसा राख्छौं?

[पृष्ठ १३-मा भएको चित्र]

तपाईं कसरी आफ्नो ‘हृदय सुरक्षित राख्न’ र यस संसारबाट अलग रहन सक्नुहुन्छ?

[पृष्ठ १४-मा भएको चित्र]

‘प्रभुको धीरजनै मुक्‍ति हो भनी सम्झेका’ छौं भनी हामी कसरी देखाउँछौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने