तपाईंको भला चाल-चलनलाई कसैले बिगार्न नपाओस्
“नठगियौ, खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।” —१ कोरिन्थी १५:३३.
१, २. (क) कोरिन्थका मसीहीहरूप्रति प्रेरित पावलको भावना कस्तो थियो र किन? (ख) हामीले विशेषगरि कुन सल्लाहलाई ध्यान दिनेछौं?
आमा-बाबुले आफ्नो छोरा-छोरीप्रति देखाउने प्रेम एउटा कस्तो शक्तिशाली अनुभूति हो! यसले गर्दा आमाबाबुहरू आफ्ना छोराछोरीको निम्ति त्यागहरू गर्दछन्, तिनीहरूलाई सिकाउँछन् र सल्लाहहरू दिन्छन्। प्रेरित पावल कोरिन्थका मसीहीहरूको वास्तविक पिता नहोलान् तापनि उनले तिनीहरूलाई यसप्रकार लेखे: “किनकि ख्रीष्टमा तिमीहरूका दश हजार शिक्षकहरू भए तापनि तिमीहरूका धेरै बाबुहरू ता छैनन्, किनभने सुसमाचारद्वारा मैले तिमीहरूलाई ख्रीष्ट येशूमा जन्माएँ।”—१ कोरिन्थी ४:१५.
२ यस अघि, पावल कोरिन्थमा गइसकेका थिए र त्यहाँ भएका यहूदीहरू र युनानीहरूलाई प्रचार गरिसकेका थिए। उनले कोरिन्थमा मण्डली स्थापना गर्न मदत गरे। आफ्नो अर्को पत्रमा पावलले आफूले गरेको हेरचाहलाई धाई आमासङ्ग तुलना गरे। यद्यपि कोरिन्थीहरूको लागि उनी पिता सरह थिए। (१ थिस्सलोनिकी २:७) एक जना मायालु पिताले झैं पावलले आफ्ना आत्मिक बच्चाहरूलाई नसिहत दिए। कोरिन्थका मसीहीहरूलाई एक जना पिताले झैं दिएको सल्लाहबाट तपाईं पनि लाभ उठाउन सक्नुहुन्छ: “नठगियौ, खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) पावलले कोरिन्थीहरूलाई त्यस्तो सल्लाह किन लेखे? हामीले त्यस सल्लाहलाई कसरी प्रयोगमा ल्याउन सक्छौं?
तिनीहरू र हामीहरूका लागि सल्लाह
३, ४. प्रथम शताब्दीको कोरिन्थ र त्यसको जनसङ्ख्याबारे हामीलाई के थाहा छ?
३ प्रथम शताब्दीको युनानी भूगोलविद् स्ट्राबोले लेखे: “व्यापारिक दृष्टिकोणमा कोरिन्थलाई ‘धनी’ मानिन्छ। किनभने यो एउटा घाटीमा अवस्थित हुनाको साथै यहाँ दुई वटा बन्दरगाहहरू पनि छन्। एउटा बन्दरगाहबाट सीधै एशियातर्फ र अर्कोबाट इटाली तर्फ जान सकिन्छ; यसले गर्दा दुवै देशहरूमा भएको मालसामानहरूको आदानप्रदान गर्न सजिलो हुन्छ।” यसबाहेक प्रत्येक दुई वर्षमा हुने प्रख्यात इस्मीयन खेलले गर्दा कोरिन्थमा थुप्रै मानिसहरू आउँथे।
४ सरकारी अधिकारीहरू र अफ्रोडाइट देवीको लैङ्गिक उपासनाको केन्द्र रहेको त्यस शहरमा जीवन बिताइरहेका मानिसहरूबारे के भन्न सकिन्छ? प्रोफेसर टि० एस० इभान्स्ले यस्तो बयान दिए: “त्यहाँको जनसङ्ख्या लगभग ४,००,००० जति थियो। संस्कार उच्च तर नैतिकता पतित र अति नै गिरेको थियो। . . . अकैयाका युनानी बासिन्दाहरू बौद्धिक अस्थिरता र अतृप्तिको कारण सधैं नयाँ कुराहरू पछि दौडिरहन्थे। गुटबन्दीको आगो सल्काउन तिनीहरूको अहम घीऊ सरह थियो।”
५. कोरिन्थका भाइहरूले कस्तो खतरा सामना गरे?
५ समय बित्दै जाँदा घमण्डी विचारधारा भएका मानिसहरूको कारण मण्डलीमा पनि विभाजन आउन थाल्यो। (१ कोरिन्थी १:१०-३१; ३:२-९) कोही कोहीले “मरेकाहरूको पुनरूत्थान हुँदैन” भनिरहनु नै विभाजनको मुख्य कारण थियो। (१ कोरिन्थी १५:१२; २ तिमोथी २:१६-१८) तिनीहरूको विश्वास (अथवा गलत विश्वास) जेसुकै भए तापनि ख्रीष्ट “मरेकाहरूबाट बिउँतनुभएको छ” भनेर स्पष्ट प्रमाण दिएर पावलले तिनीहरूलाई सच्याउनु परेको थियो। यसप्रकार परमेश्वरले “प्रभु येशू ख्रीष्टद्वारा तिनीहरूलाई विजय दिनुहुन्छ” भनी मसीहीहरू विश्वस्त हुन सक्थे। (१ कोरिन्थी १५:२०, ५१-५७) तपाईं त्यहाँ हुनु भएको भए के यस प्रकारका विचारहरूले तपाईंलाई असर गर्ने थियो?
६. पावलले १ कोरिन्थी १५:३३-मा दिएको सल्लाह खासगरि कसलाई लागु हुन्छ?
६ मरेकाहरूको पुनरुत्थान हुनेछ भनेर ठोस प्रमाण दिंदा पावलले तिनीहरूलाई यसो भने: “नठगियौ, खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।” यो सल्लाह मुख्यतया मण्डलीमा भएका तर पुनरुत्थानको सिद्धान्तलाई इन्कार गर्नेहरूको निम्ति थियो। के तिनीहरू आफूले नबुझेको बुँदाबारे मात्र दोधारमा परेका थिए? (लुका २४:३८ तुलना गर्नुहोस्) थिएनन्। “तिमीहरूमध्ये कसै कसैले मरेकाहरूको पुनरुत्थान हुँदैन . . . भन्छौ” भनेर पावलले लेखे। यसो भन्नेहरूले असहमति प्रकट गर्दै धर्मत्यागी हुने प्रवृत्ति देखाइरहेका थिए। तिनीहरूले अरूहरूको असल चालचलन र सोचाइलाई बिगार्न सक्छन् भन्ने कुरा पावललाई राम्रोसङ्ग थाहा थियो।—प्रेरित २०:३०; २ पत्रुस २:१.
७. पहिलो कोरिन्थी १५:३३ प्रयोगमा ल्याउन सक्ने एउटा क्षेत्र कुन हो?
७ सङ्गतिको विषयमा पावलले दिएको चेतावनीलाई हामी कसरी लागु गर्न सक्छौं? यसको मतलव मण्डलीमा कुनै व्यक्तिलाई बाइबलको पद अथवा शिक्षा बुझ्न गाह्रो परिरहेको छ भने तिनीहरूलाई मदत दिन इन्कार गर्नु भनेको होइन। निश्चय नै, मनमा शङ्का भएका निष्कपट व्यक्तिहरूलाई दयालु ढङ्गमा मदत दिनु भनेर यहूदा २२, २३-ले सल्लाह दिंदछ। (याकूब ५:१९, २०) तथापि, बाइबलको सत्य भनी हामीले बुझेका कुराहरूमाथि कसैले निहुँ खोज्छ अथवा आलोचनात्मक या नकारात्मक टिका-टिप्पणीहरू गर्छन् भने पावलले पिता सरह दिएको सल्लाहलाई पक्कै पनि लागु गर्नुपर्छ। त्यस्तो प्रकारको सङ्गतिदेखि हामी होशियार हुनुपर्छ। निस्सन्देह एक जना व्यक्ति साँच्चै नै धर्मत्यागी भएमा आत्मिक गोठालाहरूले बगालको सुरक्षा गर्ने कदमहरू चाल्नु पर्छ।—२ तिमोथी २:१६-१८; तितस ३:१०, ११.
८. बाइबलको शिक्षामा कोही असहमत हुँदा हामीले कसरी बुद्धिमानीपूर्वक व्यवहार गर्न सक्छौं?
८ झूटा शिक्षाहरू प्रतिपादन गर्ने मण्डली बाहिरकाहरूको सन्दर्भमा पनि १ कोरिन्थी १५:३३-मा पावलले पिताले झैं भनेका शब्दहरूलाई हामी लागु गर्न सक्छौं। हामी तिनीहरूसित सङ्गति गर्न कसरी आकर्षित हुन सक्छौं? सच्चाइ सिक्न मदत चाहनेहरू र बिनाकारण विवाद खडा गरेर झूटा शिक्षा प्रतिपादन गर्न चाहने व्यक्तिहरू बीच भिन्नता छुट्ट्याउन सकेनौं भने हामी तिनीहरूको सङ्गतिमा फस्न सक्छौं। उदाहरणको लागि, प्रचार कार्यमा त्यस्ता व्यक्तिहरूलाई पनि भेट्न सक्छौं जो कुनै एउटा बुँदामा असहमत भए पनि अझ बढी छलफल गर्न इच्छुक हुन्छन्। (प्रेरित १७:३२-३४) यसमा गाह्रो मान्नु पर्ने कुनै खाँचो छैन किनभने साँच्चै नै सच्चाइ सिक्न चाहने व्यक्तिलाई हामी खुशीसाथ बुझाइदिन्छौं र त्यतिमात्र नभएर पत्यारिलो प्रमाणहरू पेश गर्न पुनः फर्केर पनि जान्छौं। (१ पत्रुस ३:१५) तर केही व्यक्तिहरू चाहिं बाइबलका सच्चाइहरू थाहा पाउन वास्तवमा इच्छुक हुँदैनन्।
९. हामीले विश्वास गरेका कुराहरूमा कसैले चुनौती दिंदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?
९ धेरै मानिसहरू हप्तै पिच्छे, घण्टौंसम्म तर्क-वितर्क गरिरहन्छन् तर वास्तवमा तिनीहरूले सत्य खोजिरहेका हुँदैनन्। तिनीहरू हिब्रू, युनानी अथवा विकासवादको विज्ञान सम्बन्धी आफ्नो तथाकथित ज्ञान प्रदर्शन गरेर अरूहरूको विश्वासलाई कमजोर तुल्याउन चाहन्छन्। केही साक्षीहरूले त्यस्ता व्यक्तिहरूलाई भेट्न आफ्नो चुनौती ठानेका छन् र परिणामस्वरूप झूटा धर्मको विश्वास, दर्शनशास्त्र अथवा त्रुटिपूर्ण विज्ञानसित बढ्तै नै सम्पर्क राखेका छन्। यहाँ एउटा उल्लेखनीय कुरा के हो भने हिब्रू अथवा युनानी ज्ञान प्राप्त निपुण धार्मिक नेताहरूसित येशूले पनि वादविवाद गरेर जित्न सक्नुहुन्थ्यो तर उहाँले त्यसो गर्नु भएन। त्यस्तो चुनौतीको सामना गर्नुहुँदा येशूले छोटकरीमा जवाफ दिनुभयो र आफ्नो ध्यान साँच्चै नै भेडाखालका, नम्र व्यक्तिहरूतर्फ केन्द्रित गर्नुभयो।—मत्ती २२:४१-४६; १ कोरिन्थी १:२३–२:२.
१०. कम्प्युटरहरू र इलेक्ट्रोनिक सूचना पेटीहरू हुने मसीहीहरू होशियार हुनु किन उपयुक्त छ?
१० आधुनिक कम्प्युटरहरूले खराब सङ्गतिमा फस्न सक्ने अरू बाटोहरू खोलिदिएका छन्। कुनै कुनै व्यापारिक सङ्गठनहरूले ग्राहकहरूलाई कम्प्युटर र टेलिफोनद्वारा इलेक्ट्रोनिक सूचना पेटीमा खबरहरू पठाउन सक्ने सुविधा दिएको छ; यसप्रकार एक जना व्यक्तिले सबै ग्राहकहरूले पढ्न सक्ने गरी त्यस सूचना पेटीमा खबर पठाइदिन सक्छ। यसले गर्दा धार्मिक विषयहरूमा तथाकथित इलेक्ट्रोनिक विवादहरु हुन गएको छ। यस प्रकारका वादविवादहरूद्वारा एकजना मसीही मण्डलीबाट बहिष्कृत धर्मत्यागी व्यक्तिसित घण्टौं बिताउन सक्छ। खराब सङ्गतिबाट अलग्गै बस भनेर पावलले पिता झैं दिएको सल्लाहलाई २ यूहन्ना ९-११ मा दिइएको निर्देशनले अझ जोड दिन्छ।a
नठगिनुहोस्
११. कोरिन्थको व्यापारिक परिस्थितिले कस्तो मौका प्रदान गऱ्यो?
११ अगाडि छलफल गरिएजस्तै, कोरिन्थ अनगिन्ती पसलहरू र व्यापारहरू भएको व्यापारिक केन्द्र थियो। (१ कोरिन्थी १०:२५) इस्मीयन खेलकूदहरूमा भाग लिन आउने धेरै व्यक्तिहरू पालहरूमा बस्थे र ती खेलहरू चलुन्जेल व्यापारीहरूले ठेला गाडी अथवा छाताहरू भएको स्टलहरूमा मालसामानहरू बेच्थे। (प्रेरित १८:१-३ तुलना गर्नुहोस्) यसले गर्दा पावलले पनि पाल बनाउने काम पाउँथे। र काम गर्ने ठाउँमा बसेर नै उनले सुसमाचारलाई फैलाउन सक्थे। प्रोफेसर जे० मर्फी ओ कनर यसरी लेख्छन्: “व्यस्त बजारको एउटा पसलमा बसेर पावलले सह-कर्मीहरू र ग्राहकहरूसित मात्र हैन तर त्यहाँ भएका मानिसहरूको हुलसित पनि कुरा गर्न सक्थे। उस्तो व्यापार नहुने समयहरूमा पनि वचन सुन्ला जस्तो देखिने मानिसहरूसित पावलले कुराकानी सुरु गर्थे . . . निस्सन्देह आफ्नो प्रभावशाली व्यक्तित्व र दृढ विश्वासको कारण उनी चाँडै नै आसपासका मानिसहरूको नजरमा एक जना असाधारण व्यक्ति भएको हुनु पर्छ। उनीप्रति साधारण टहलुवाहरू मात्र होइन तर जिज्ञासु व्यक्तिहरू समेत आकर्षित भए होलान्। . . . उनीबारे सुनेका विवाहित स्त्रीहरू पनि आफ्ना नोकरहरूकासाथ किनमेल गर्ने निहुँले उनलाई भेट्न आउन सक्थे। विश्वास गर्ने व्यक्तिहरू पनि तनाव, सतावट अथवा मानसिक पीडाको सामना गर्न पर्दा ग्राहकहरूको रूपमा उनीसित भेट गर्न आउन सक्थे। आफ्नो काम गर्ने ठाउँमा उनले नगरपालिकाका अधिकारीहरूसङ्ग पनि सम्पर्क स्थापित गर्न सक्थे।”
१२, १३. काम गर्ने ठाउँमा १ कोरिन्थी १५:३३ औचित्यकासाथ कसरी लागु हुन्छ?
१२ यद्यपि पावल आफ्नो काम गर्ने ठाउँमा “खराब सङ्गति”-को सम्भावनाबारे सचेत थिए। हामी पनि सचेत हुनुपर्छ। यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने, पावलले त्यतिबेला केही व्यक्तिहरू बीच व्याप्त मनोवृत्तिलाई यसरी उद्धरण गरेका थिए: “हामी खाऔं र पिऔं, किनभने भोलि ता हामी मरिहाल्छौं पो।” (१ कोरिन्थी १५:३२) त्यसपश्चात् तुरुन्तै तिनले एक जना पिताले झैं सल्लाह दिए: “नठगियौ, खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।” काम गर्ने ठाउँमा र रमाइलो गर्न खोज्दा सम्भाव्य खतराहरूको सृजना कसरी हुन सक्छन्?
१३ मसीहीहरू आफ्ना सहकर्मीहरूसित मित्रैलो हुन चाहन्छन् र साक्षी दिन यो एउटा प्रभावकारी माध्यम हुनसक्छ भनेर धेरै अनुभवहरूले देखाउँछ। तर एकजना सहकर्मीले हाम्रो मित्रताको गलत अर्थ लगाएर हामी रमाइलो गर्ने साथी खोजिरहेका छौं भन्ने अनुमान लगाउन सक्छन्। तिनले कुरै कुरामा खाना खान, काम सकिएपछि अलिकता मद्यपान गर्न अथवा सप्ताहन्तमा मनोरञ्जन गर्न निम्तो दिन सक्छन्। त्यो मानिस हेर्नमा दयालु, भद्र हुन सक्छ र तिनको निम्तो पछाडि नियत पनि राम्रै देखिएला। तथापि “नठगियौ” भनी पावल हामीलाई सल्लाह दिन्छन्।
१४. सङ्गतिद्वारा कोही कोही मसीहीहरू कसरी भ्रममा परेका छन्?
१४ तर केही मसीहीहरू चाहिं ठगिएका छन्। तिनीहरूले बिस्तारै आफ्ना सहकर्मीहरूसित आत्मीयता बढाउँदै गए। यसको एउटा कारण एउटै प्रकारको खेल अथवा सोखमा अभिरुचि हुनसक्छ। अथवा आफू काम गर्ने ठाउँमा कुनै गैर-मसीही अति नै दयालु र विवेकशील हुनाकारण त्यो व्यक्तिसित बढी समय बिताउन सकिन्छ र मण्डलीका कुनै भाइ-बहिनीको भन्दा ती व्यक्तिहरूकै सङ्गति राम्रो लाग्नु सक्छ। अनि यो मित्रताको कारण सुरुमा त एउटा मसीही सभा मात्र छुट्ला। एकरात बाहिर ढिला समयसम्म बस्दा भोलिपल्ट बिहान क्षेत्र सेवकाईमा जाने बानी छुट्न सक्छ। एक जना मसीहीले साधारणतया हेर्न नमिल्ने प्रकारको सिनेमा अथवा भिडियो हेर्न सकिन्छ। ‘मलाई त्यस्तो कहिल्यै हुने छैन’ भनी हामी सोचौंला तर धोखामा परेका धेरैले सुरुमा त्यस्तै प्रतिक्रिया व्यक्त गरे होलान्। यसकारण ‘पावलको सल्लाह प्रयोगमा ल्याउन म कत्तिको कटिबद्ध छु?’ हामीले आफैलाई यो प्रश्न सोध्नु आवश्यक छ।
१५. हामीहरूले छिमेकीहरूप्रति कस्तो सन्तुलित मनोवृत्ति राख्नुपर्छ?
१५ हामीले सहकर्मीहरूबारे भर्खरै विचार गरेका कुराहरू हाम्रो छिमेकीहरूसितको सङ्गतमा पनि लागु हुन्छ। निश्चय नै प्राचीन कोरिन्थमा बस्ने मसीहीहरूका पनि छिमेकीहरू थिए। कुनै कुनै समाजमा छिमेकीहरूप्रति मिलनसार र सहयोगी हुनु साधारण कुरा हो। अनकन्टार ठाउँहरूका ग्रामीण क्षेत्रहरूमा छिमेकीहरू एक अर्कामा भर पर्न सक्छन्। कुनै कुनै समाजहरूमा नातेदारहरू बीच निकै नै उठबस हुन्छ जसले गर्दा भोजहरूका निम्ति थुप्रै निमन्त्रणाहरू आउन सक्छन्। यस्तोमा, येशूले प्रदर्शन गर्नुभएको जस्तै सन्तुलित दृष्टिकोण राख्नु महत्त्वपूर्ण छ। (लूका ८:२०, २१; यूहन्ना २:१२) छिमेकीहरू र नातेदारहरूसित व्यवहार गर्दा के हामी आफू मसीही हुनु भन्दा पहिले गरे जस्तै व्यवहार गर्न प्रवृत हुन्छौं? त्यसो हुनु भन्दा बरु के हामीले यस्ता व्यवहारहरूलाई जाँच गर्नु र त्यसलाई सजगतापूर्वक सीमित राख्नु पर्दैन र?
१६. येशूले मत्ती १३:३, ४-मा भन्नुभएका शब्दहरूको अर्थ के हो?
१६ येशूले एकपटक राज्यको समाचारलाई ‘बाटोतिर परेका बीउहरू’ सित तुलना गर्नुभयो जसलाई “चराचुरुङ्गीले आएर . . . खाइदिए।” (मत्ती १३:३, ४, १९) त्यतिबेला धेरै मानिसहरू ओहोरदोहर गर्ने हुँदा बाटो छेउको माटो कडा हुन्थ्यो। धेरै मानिसहरू पनि यस्तै भएका छन्। तिनीहरू आफ्ना छिमेकीहरू, नातेदारहरू र अरूहरूको आवत-जावतले गर्दा जीवनमा व्यस्त रहन्छन्। यसले तिनीहरूको हृदयको माटोलाई कुल्चीमिल्ची गरेर कडा बनाइदिन्छ अनि सच्चाइको बीउहरूलाई जरा गाड्न मुश्किल हुन्छ। यस्तो कुरा मसीही भइसकेको व्यक्तिलाई पनि हुन सक्छ।
१७. छिमेकीहरू र अरूहरूसितको सङ्गतिले हामीलाई कसरी असर पार्न सक्छ?
१७ केही सांसारिक छिमेकीहरू र नातेदारहरूले आध्यात्मिक कुराहरूप्रति चासो नदेखाए पनि अथवा धार्मिकतालाई प्रेम नगरे तापनि तिनीहरू मित्रैलो र मदतकारी हुन सक्छन्। (मर्कूस १०:२१, २२; २ कोरिन्थी ६:१४) र हामीहरू पनि मसीही हुँदैमा तिनीहरूप्रति अमित्रैलो, असहयोगी हुनु पर्दैन। अरूहरूप्रति साँचो चासो देखाउन येशूले हामीलाई सल्लाह दिनु भएको छ। (लूका १०:२९-३७) तर हाम्रो सङ्गतिबारे होशियार रहनु भन्ने पावलको सल्लाह पनि उत्तिकै ईश्वरप्रेरित र महत्त्वपूर्ण छ। हामीले माथि उल्लेखित पहिलो सल्लाहलाई पालन गर्दा त्यसपछि दिइएको सल्लाह बिर्सनु हुँदैन। हामीले यी दुवै सिद्धान्तहरूलाई मनमा नराख्दा हाम्रो बानीहरूमा असर पर्न सक्छ। इमान्दारी अथवा सिजरको नियमहरूप्रति आज्ञाकारी हुने सम्बन्धमा तपाईंका बानीहरू छिमेकीहरू अथवा नातेदारहरूको दाँजोमा कस्तो छ? उदाहरणको लागि, तिनीहरूले करहरू तिर्ने बखतमा आफ्नो आयस्रोत अथवा व्यापारिक मुनाफाको कम अंश मात्र रिपोर्ट गर्नु उचित छ भनेर सोच्न सक्छन् र जीविका चलाउन यसो नगरि हुँदैन भनी तर्क पनि गर्न सक्लान्। तिनीहरूले यस्ता प्रकारका दृष्टिकोणहरूबारे अनौपचारिक अथवा साधारण भेटघाटहरूमा प्रभावकारी ढङ्गमा कुरा गर्न सक्छन्। के त्यस्तो विचारधाराले तपाईंको सोचाइ र राम्रा बानीहरूलाई असर गर्न सक्छ? (मर्कूस १२:१७; रोमी १२:२) “नठगियौ, खराब सङ्गतले भला चाल-चलनलाई बिगार्दछ।”
जवानहरूको बानीहरूलाई पनि बिगार्दछ
१८. पहिलो कोरिन्थी १५:३३-मा दिइएको सल्लाह जवानहरूलाई पनि किन लागु हुन्छ?
१८ जवान व्यक्तिहरूलाई विशेषगरि आफूले देख्ने र सुन्ने कुराहरूले निकै नै असर गर्दछ। आफ्ना आमा-बाबुहरू अथवा दाइदिदीहरूले जस्तै गरी हातखुट्टा चलाउने अर्थात् व्यवहार गर्ने केटा-केटीहरू तपाईंले पक्कै पनि देख्नु भएको होला। यसकारण केटा-केटीहरू तिनीहरूसित खेल्ने वा स्कूलमा पढ्ने साथीहरूबाट पनि अति नै प्रभावित हुन सक्छन्। (मत्ती ११:१६, १७ तुलना गर्नुहोस्) अतः आफ्ना आमाबाबुबारे अनादरपूर्ण कुरा गर्ने जवानहरूको बीचमा तपाईंको छोरा या छोरी बस्ने गरे तापनि तिनीहरूमाथि केही असर पर्ने छैन भन्नु मिल्छ र? अरू जवानहरूले प्रायजसो फोहोर बोली मात्र बोलेको तिनीहरूले सुन्छन् भने नि? स्कूल अथवा छरछिमेकमा तिनीहरूका साथीहरू नयाँ प्रकारको जुत्ता अथवा गहनाको नयाँ फेसनप्रति एकदमै आकर्षित भएका छन् भने नि? जवान मसीहीहरूलाई यसको कुनै असर हुनेछैन भनेर सोच्नु के उचित हुनेछ र? के पावलले १ कोरिन्थी १५:३३-मा खास उमेर पुगेका केटाकेटीहरूलाई मात्र भनिरहेका हुन् र?
१९. आमाबाबुहरूले आफ्ना बच्चाहरूमा कस्तो दृष्टिकोण विकास गर्ने प्रयास गर्नुपर्छ?
१९ तपाईं एकजना बाबु या आमा हुनुहुन्छ भने, तपाईंका केटाकेटीहरूसित कुराकानी गर्दा अथवा तिनीहरूको विषयमा निर्णयहरू गर्दा के तपाईं उपरोक्त सल्लाहलाई ध्यानमा राख्नु हुन्छ? तर यस सल्लाहको अर्थ तपाईंको छरछिमेक अथवा स्कूलको सबै नै केटा-केटीहरू खराब होइनन् भनेर मानिलिनु सम्भवतः मदतकारी हुनेछ। ती मध्येका केही केटा-केटीहरू तपाईंका कुनै कुनै छिमेकीहरू, नातेदारहरू अथवा सहकर्मीहरू जस्तै मिलनसार र भद्र हुन सक्छन्। यो कुरा तपाईंको छोरा-छोरीले देख्न र पावलले कोरिन्थीहरूलाई पिताले झैं दिएको बुद्धिमान सल्लाह प्रयोग गर्न तपाईं सन्तुलित दृष्टिकोण राख्नुहुन्छ भनेर बुझ्न तिनीहरूलाई मदत दिनुहोस्। तिनीहरूले तपाईंको कामकुराहरूमा सन्तुलन देखेपछि तपाईंको अनुकरण गर्न तिनीहरूलाई मदत मिल्नेछ।—लूका ६:४०; २ तिमोथी २:२२.
२०. जवानहरू, तपाईंले कस्तो चुनौती सामना गर्नुहुन्छ?
२० जवानहरू हो, पावलले दिएको सल्लाहलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ सो बुझ्ने प्रयास गर्नुहोस्। नबिर्सनुहोस्, पावलको सल्लाह जवान र वृद्ध सबै मसीहीहरूका लागि महत्त्वपूर्ण छ। यसो गर्नु एकदमै चुनौतीपूर्ण हुनेछ तर चुनौतीको सामना गर्न किन इच्छुक नहुने? तपाईंले केही जवानहरूलाई सानैदेखि चिन्नुभएको छ भन्दैमा तिनीहरुले तपाईंको बानीहरूलाई असर गर्न सक्दैनन् वा तपाईं एकजना मसीही जवानले विकास गरिरहनुभएको बानीहरूलाई बिगार्न सक्दैनन् भनी नठान्नु होस्।—हितोपदेश २:१, १०-१५.
हाम्रा बानीहरूलाई सुरक्षित राख्ने सकारात्मक कदमहरू
२१. (क) सङ्गतिको विषयमा हामीलाई के आवश्यक छ? (ख) कुनै कुनै सङ्गतिहरू हाम्रो लागि खतरनाक हुन् भनेर हामी किन किटेर भन्न सक्छौं?
२१ हामी सबैलाई सङ्गति चाहिन्छ। तथापि हाम्रो सङ्गतिले हाम्रो भलाइ अथवा बिगार गर्न सक्ने तथ्यप्रति हामी सतर्क हुनुपर्छ। त्यो कुरा आदम र बितेका शताब्दीहरूमा धेरैजनाको निम्ति सत्य साबित भएको छ। उदाहरणका लागि, यहूदाको असल राजा अर्थात् यहोशापातले यहोवाको अनुग्रह र आशिषको आनन्द उठाए। तर इस्राएलको राजा, आहाबकी छोरीसित आफ्नो छोराको विवाह गर्ने अनुमति दिएपछि यहोशापातले आहाबसित सङ्गत गर्न थाले। त्यो खराब सङ्गतिको कारण यहोशापातले झन्डै आफ्नो ज्यान गुमाउनु पऱ्यो। (२ राजा ८:१६-१८; २ इतिहास १८:१-३, २९-३१) हामीले पनि गलत साथीहरू छान्यौं भने त्यत्तिकै खतरनाक हुन सक्छ।
२२. हामीले कुन कुरालाई हृदयङ्गम गर्नुपर्छ र किन?
२२ तसर्थ, १ कोरिन्थी १५:३३-मा पावलले दिएको मायालु सल्लाहलाई हृदयङ्गम गरौं। हामीले बारम्बार सुनेको हुनाले ती कण्ठस्थ भन्न सक्ने शब्दहरू मात्र होइनन्। त्यस सल्लाहले कोरिन्थमा भएका भाइ बहिनीहरू र अहिले हामीहरूप्रति पावलले पिता सरह देखाएको स्नेहलाई प्रदर्शित गर्दछ। र निस्सन्देह त्यसमा हाम्रो स्वर्गमा हुनुहुने पिताको सल्लाह समावेश छ किनभने हाम्रा प्रयासहरू सफल भएको उहाँ चाहनुहुन्छ।—१ कोरिन्थी १५:५८. (w93 8/1)
[फुटनोट]
a त्यस प्रकारका सूचना पेटीहरूले गर्दा हुने अर्को खतरा मालिकहरू अथवा लेखकहरूको स्वीकृति विना नै सर्वाधिकार सुरक्षित प्रोग्रामहरू अथवा प्रकाशनहरू आफ्नो कम्प्युटरमा सार्ने लोभ हो। र यसो गर्नु सर्वाधिकार सुरक्षित गर्ने अन्तर्रराष्ट्रिय नियम विरुद्ध हुन सक्छ।—रोमी १३:१.
के तपाईंलाई याद छ?
▫ कुन खास कारणले गर्दा पावलले १ कोरिन्थी १५:३३ लेखे?
▫ काम गर्ने ठाउँमा हामीले पावलको सल्लाहलाई कसरी प्रयोगमा ल्याउन सक्छौं?
▫ छिमेकीहरूप्रति हाम्रो कस्तो सन्तुलित दृष्टिकोण हुनुपर्छ?
▫ जवानहरूका लागि १ कोरिन्थी १५:३३-मा दिइएको सल्लाह किन विशेषगरि उपयुक्त छ?
[पृष्ठ १६-मा भएको चित्र]
पावलले आफू काम गर्ने ठाउँमा बसेर सुसमाचार फैलाए
[पृष्ठ १७-मा भएको चित्र]
अरू जवानहरूले तपाईंको मसीही चाल-चलनलाई बिगार्न सक्छन्