अधर्मको धनले मित्रहरू बनाओ
“आफ्नो निम्ति अधर्मको धनले मित्रहरू बनाओ, . . . जो थोरै कुरामा विश्वासी हुन्छ, त्यो धेरैमा पनि विश्वासी हुन्छ।”—लूका १६:९, १०.
चमत्कारद्वारा छुटकारा—विश्वास बलियो बनाउने कति राम्रो अनुभव! मिस्र देशबाट इस्राएलको प्रस्थानको श्रेय सर्वशक्तिमान यहोवा बाहेक अरू कसैलाई दिन सकिन्न थियो। त्यसैकारण मोशा र ती इस्राएलीहरूले यसो भनेर गाउनु कुनै अनौठो कुरा होइन: “परमप्रभुनै मेरो शक्ति र स्तुतिगान हुनुहुन्छ, र उहाँ मेरो परमेश्वर हुनुहुन्छ, म उहाँको स्तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्वर, म उहाँको प्रशंसा गर्नेछु।”—प्रस्थान १५:१, २; व्यवस्था २९:२.
२ इस्राएलले भर्खरै पाएको स्वतन्त्रता मिस्र देशमा तिनीहरूले भोगेको परिस्थितिभन्दा कति भिन्न छ! अब भने तिनीहरूले कुनै बाधाबिघ्नबिना यहोवाको उपासना गर्नसक्थे। अनि मिस्र देशबाट तिनीहरू खाली हात फर्केका थिएनन्। मोशा यस्तो विवरण दिन्छन्: “तिनीहरूले मिस्रीहरूलाई सुनका गहना, चाँदीका गहना र लुगा-फाटा मागे। अनि परमप्रभुले इस्राएलीहरूलाई मिस्रीहरूको निगाहमा राखिदिनुभयो, र तिनीहरूले उनीहरूलाई ती सब दिए। यसरी तिनीहरूले मिस्रीहरूलाई लूटे।” (प्रस्थान १२:३५, ३६) तर मिस्रबाट ल्याएका यी धनहरूलाई तिनीहरूले कसरी चलाए? के तिनीहरूले ‘यहोवाको प्रशंसा गर्न’ त्यस धनको प्रयोग गरे? तिनीहरूको उदाहरणबाट हामी के सिक्न सक्छौं?—१ कोरिन्थी १०:११ तुलना गर्नुहोस्।
‘यहोवाको भेटी’
३ इस्राएलका लागि परमेश्वरको निर्देशन लिन मोशा सीनै पर्वतको चालीस दिन लामो यात्रामा जाँदा तल पर्खिरहेका मानिसहरूलाई छटपटी हुनथाल्यो। आ-आफ्ना कानमा भएका सुनका कुण्डलहरू फुकालेर तिनीहरूले उपासनाको लागि मूर्ति बनाउन हारूनलाई निर्देशित गरे। हारूनले मूर्तिका साथै वेदी पनि बनाए र भोलिपल्ट बिहानै तिनीहरूले बलिहरू चढाए। तिनीहरूले यसरी गरेको धन सम्पत्तिको प्रयोगले के तिनीहरूलाई आफ्नो उद्धारक सामू झन् प्रिय बनायो? अहँ, कदापि बनाएन! यहोवाले मोशालाई यसो भन्नुभयो, “अब मलाई नरोक् र मेरो क्रोध यिनीहरूमाथि दन्किओस्। म यिनीहरूलाई भस्म पार्नेछु।” मोशाले बिन्तीभाउ नगरेको भए यहोवाले त्यस राष्ट्रलाई छोड्नुहुने थिएन। यद्यपि, विद्रोही अगुवाहरू भने परमेश्वरको विपत्तिबाट उम्कन सकेनन्।—प्रस्थान ३२:१-६, १०-१४, ३०-३५.
४ इस्राएलले पछि फेरि आफ्नो धन परिचालन गर्ने मौका पाए जसले साँच्चै नै यहोवालाई प्रसन्न पारेको थियो। तिनीहरूले ‘यहोवालाई भेटी’ चढाए।a पवित्रस्थानको निर्माण अनि सजावटका लागि तिनीहरूले दिएका भेटीहरूमा सुन, चाँदी, तामा, नीलो धागो, रङ्ग रङ्गाइएका विभिन्न थरिका कपडाहरू, भेडाको छाला, सीलको छाला, बबुल काठ आदि थिए। यसपछिको विवरणले दाताहरूको मनोवृत्तिमाथि हाम्रो ध्यान खिंच्दछ। “राजी-खुशीसँग दिन चाहनेले परमप्रभुको भेटीको रूपमा त्यो ल्याओस्।” (प्रस्थान ३५:५-९) इस्राएलीहरूले अति उत्साही भएर यसको प्रत्युत्तर दिए। फलस्वरूप, एक जना विद्वानको शब्द उद्धृत गर्ने हो भने, पवित्रस्थान “सौन्दर्य तथा भव्यता” को नमूना बन्न पुग्यो।
मन्दिरका लागि भेटीहरू
५ इस्राएलका राजा सुलेमानले यहोवाको उपासनाका लागि स्थायी भवन बनाउने नेतृत्व लिए तापनि तिनको पिता दाऊदले त्यसका लागि विस्तृत पूर्वतयारी गरेका थिए। दाऊदले प्रशस्त सुन, चाँदी, तामा, फलाम, काठ र बहुमूल्य पत्थरहरू सङ्कलन गरेका थिए। दाऊदले आफ्ना प्रजाहरूलाई यसो भने, “मेरा परमेश्वरको भवनप्रति मलाई ज्यादै प्रेम भएको हुनाले मेरा परमेश्वरको भवनको निम्ति म मेरो आफ्नो निजी भण्डारबाट सुन र चाँदी दिंदैछु—अर्थात् तीन हजार तोड़ा सुन, ओपीरको सुन, भवनका भित्ताहरू मोहोर्नलाई सात हजार तोड़ा निखुर चाँदी।” दाऊदले अरूलाई पनि उदारचित्तको हुन प्रोत्साहित गरे। यसको निकै ठूलो प्रत्युत्तर प्राप्त भयो। फलतः अझ धेरै सुन, चाँदी, फलाम अनि बहूमूल्य पत्थरहरू जम्मा भए। मानिसहरूले “आफ्ना हृदयको भक्तिसाथ . . . परमप्रभुको निम्ति . . . राजी-खुशीसित” दिए।—१ इतिहास २२:५; २९:१-९.
६ यसरी राजीखुशी भेटी दिएर इस्राएलीहरूले यहोवाको उपासनाप्रति गहिरो मूल्याङ्कन व्यक्त गरे। दाऊदले विनम्रतापूर्वक यसो भने: “म को हुँ, औ मेरो प्रजा को हो र? कि हामी राजी-खुशीसित यसरी दिनसक्तछौं?” किन? “किनभने सबै कुरा तपाईंबाटै आउँछन्, औ तपाईंकै दानबाट हामी तपाईंलाई दिंदैछौं। . . . साँचो हृदयले मैले राजी-खुशीसित यी सबै दान तपाईंमा टक्राएको हुँ।”—१ इतिहास २९:१४, १७.
७ यद्यपि, इस्राएलका कुलहरूले आफ्नो मन अनि हृदयमा यहोवाको उपासनालाई प्राथमिकता दिन सकेनन्। सा.यु.पू. नवौं शताब्दीसम्ममा विभक्त इस्राएल आध्यात्मिक अवहेलनाको दोषी भइसकेको थियो। इस्राएलका उत्तरी दश राज्यहरूको सम्बन्धमा यहोवाले आमोसद्वारा यस्तो घोषणा गर्नुभयो: “धिक्कार तिनीहरूलाई, जो सियोनमा सुखसित रहन्छन्, औ तिनीहरूलाई, जो सामरियाका पर्वतमा निश्चिन्त बस्छन्।” उहाँले तिनीहरूलाई त्यस्ता व्यक्तिहरू हुन् भनी वर्णन गर्नुभयो जो “हात्तीदाँतका पलङ्गमा सुत्दछन्, र आफ्ना गद्दीमा लम्पसार पर्दछन्, र भेड़ा-बाख्राको बगालबाट पाठाहरू र गाई-गोरुको गोठबाट बाछा खान्छन्, [र] . . . ठूला ठूला कचौरामा दाखमद्य पिउँदछन्।” तर तिनीहरूको धन-सम्पत्ति कुनै सुरक्षा थिएन। परमेश्वरले यस्तो चेतावनी दिनुभयो: “कैदमा जानेहरूमध्ये तिनीहरू पहिले हुनेछन्, र लम्पसार पर्नेहरूको मजा शेष हुनेछ।” सा.यु.पू. ७४० मा अश्शूरीहरूको हातबाट इस्राएलले दुःख भोग्नुपऱ्यो। (आमोस ६:१, ४, ६, ७) र समयको दौडान दक्षिणी यहूदा राज्य भौतिकताको शिकार भयो।—यर्मिया ५:२६-२९.
मसीही समयमा स्रोतको सही परिचालन
८ यसको विपरीत पछि-पछिका परमेश्वरका सेवकहरूको अवस्था तुलनात्मक रूपमा दरिद्र भए तापनि साँचो उपासनाप्रति जोश देखाउन त्यसले तिनीहरूलाई रोकेन। उदाहरणका लागि मरियम र यूसुफलाई लिनुहोस्। सिजर अगस्टसको आदेश पालन गर्दै तिनीहरू आफ्नो परिवारको जन्मथलो बेतलेहेममा गए। (लूका २:४, ५) त्यहीं येशूको जन्म भयो। चालीस दिनपश्चात् व्यवस्थाअनुसार चोख्याउने काम सम्पन्न गर्न यूसुफ र मरियम नजिकै यरूशलेमको मन्दिरमा गए। मरियमले चढाएकी दुई वटा साना चराहरूले तिनीहरूको दरिद्र आर्थिक अवस्थालाई देखाउँछ। यहोवालाई भेटी नचढाउनुको कारण आफ्नो दरिद्र अवस्था हो भनेर मरियम र यूसुफ दुवैले दावा गरेनन्। बरु तिनीहरूले आज्ञाकारी भएर आफूसित भएको सीमित स्रोतको प्रयोग गरे।—लेवी १२:८; लूका २:२२-२४.
९ पछि फरिसीहरू अनि हेरोदका दलले येशूलाई यसो भनेर छल गर्न खोजे: “यसकारण हामीलाई भन्नुहोस्, ‘सिजरलाई कर तिर्नु मनासिब हो कि होइन?’” जवाफमा येशूले भन्नुभएको कुराले उहाँको समझशक्तिलाई झल्कायो। तिनीहरूले दिएको सिक्कालाई औंल्याउँदै, येशूले यस्तो प्रश्न गर्नुभयो: “यो मूर्ति र छाप कसको हो?” तिनीहरूले जवाफ दिए: “सिजरको।” त्यसपछि बुद्धिमानीपूर्वक उहाँले यसरी टुङ्ग्याउनुभयो: “यसकारण जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।” (मत्ती २२:१७-२१) सिक्का निष्कासन गर्ने अख्तियारवालाहरू अरूले कर तिरोस् भन्ने आशा गर्छन् भनी येशूलाई थाहा थियो। तर साँचो मसीहीहरूले “जे जे परमेश्वरका हुन् परमेश्वरलाई” दिने प्रयत्न गर्नुपर्छ भनेर पनि उहाँले आफ्ना अनुयायीहरू र शत्रु समान मानिसहरूलाई बुझाउनुभयो। त्यसमा हाम्रो भौतिक सम्पत्तिहरूको सही परिचालन पनि समावेश छ।
१० प्रत्यक्षदर्शीको रूपमा येशूले मन्दिरमा देख्नुभएको घटनाले उपरोक्त कुरालाई चित्रण गर्छ। ‘विधवाहरूको घर स्वाहा पार्ने’ लोभी शास्त्रीहरूको उहाँले भर्खरै मात्र निन्दा गर्नुभएको थियो। त्यसपछि लूका यस्तो रिपोर्ट दिन्छन्: “उहाँले नजर उठाएर हेर्दा धनीहरूलाई आफ्ना आफ्ना भेटी ढुकुटीमा चढ़ाएको देख्नुभयो। औ उहाँले [येशूले] एउटी गरीब विधवालाई त्यहाँ दुइ पैसा चढ़ाएकी देख्नुभयो। तब उहाँले भन्नुभयो, ‘म तिमीहरूलाई साँचो भन्दछु, यस गरीब विधवाले अरू सबैले भन्दा बढ़ता चढ़ाएकी छ। किनकि यी सबैले तिनका प्रशस्तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिं आफ्नो अपुगबाट आफ्ना सारा जीविकानै चढ़ाएकी छ।’” (लूका २०:४६, ४७; २१:१-४) त्यतिकैमा केही व्यक्तिहरूले बहुमूल्य पत्थरहरूले मन्दिर सजिएको छ भनेर उल्लेख गरे। यो सुनेर येशूले यसरी जवाफ दिनुभयो: “तिमीहरूले देखेका यी कुराहरूका विषयमा ती दिन आउने[छ] जब ढुङ्गामाथि ढुङ्गा पनि छोड़िनेछैन सब भताभुङ्ग हुनेछ।” (लूका २१:५, ६) त्यसोभए के त्यो विधवाले चढाएको सानो भेटी बेकार थियो त? अवश्य थिएन। यहोवाले त्यतिबेला स्थापित गर्नुभएको प्रबन्धलाई तिनले सहयोग गरिन्।
११ येशूले आफ्ना साँचो अनुयायीहरूलाई यसो भन्नुभयो: “कोही नोकरले दुइ मालिकको सेवा गर्नसक्तैन, किनकि किता त्यसले एउटालाई तुच्छ ठानेर अर्कोलाई मान गर्छ, अथवा त्यो एउटासँग लागेर अर्कोलाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्नसक्तैनौं।” (लूका १६:१३) त्यसोभए, हाम्रो वित्तीय स्रोतहरू परिचालन गर्ने सम्बन्धमा हामी कसरी सही सन्तुलन देखाउनसक्छौं?
विश्वासी कारिन्दाहरू
१२ यहोवालाई हाम्रो जीवन समर्पण गर्दा वास्तवमा हामीसँग भएको सबै कुरा, हाम्रा सबै स्रोतहरू उहाँकै हुन् भनी मानि लिइरहेका हुन्छौं। त्यसोभए हामीले आफूसँग भएका कुराहरूको प्रयोग कसरी गर्नु पर्ने हो त? मण्डलीमा मसीही सेवाबारे छलफल गर्दा वाच टावर सोसाइटीका पहिलो अध्यक्ष भाइ सी. टी. रसलले यो लेखे: “प्रत्येकले आफूलाई आफ्नो समय, शक्ति, पैसा आदिमाथि ख्रीष्टद्वारा नियुक्त कारिन्दा सम्झिनुपर्छ, र आफ्नो क्षमताले भ्याएसम्म आफ्नो मालिकको महिमाका लागि त्यस्ता खुबीहरूको प्रयोग गर्ने कोशिश गर्नुपर्छ।”—द न्यु क्रिएसन, पृष्ठ ३४५.
१३ पहिलो कोरिन्थी ४:२ ले यसो भन्छ: “अरू कुराबाहेक, कारिन्दाहरूमानै मानिस विश्वासी पाइओस् भन्ने चाहिएको छ।” अन्तर्राष्ट्रिय सङ्गठनको रूपमा यहोवाका साक्षीहरू आफ्नो शिक्षण क्षमतालाई होशियारीपूर्वक खार्दै मसीही सेवकाईमा यथाशक्य धेरै समय बिताएर उक्त विवरणअनुरूप चल्ने प्रयत्न गर्छन्। यसबाहेक क्षेत्रीय निर्माण समितिको निर्देशनमा उपासनाका लागि सभा भवनहरू निर्माण गर्न स्वयंसेवकहरूको टोलीले स्वेच्छापूर्वक आफ्नो समय, बल र बुद्धि लगाउँछन्। यी सबै कुराहरूमा यहोवा अति प्रसन्न हुनुहुन्छ।
१४ यति विशाल शैक्षिक अभियान तथा निर्माण कार्य सम्पन्न गर्न पैसा कहाँबाट आउँछ? पवित्रस्थानको निर्माणका लागि स्वेच्छापूर्वक दिने व्यक्तिहरू जस्तै मानिसहरूबाट। के हामीले व्यक्तिगत रूपमा केही योगदान दिइरहेका छौं? यहोवाको सेवा सर्वमहत्त्वपूर्ण छ भनेर के हामीले आफ्नो वित्तीय स्रोतहरूको प्रयोगद्वारा देखाइरहेका छौं? आउनुहोस्, पैसाको सम्बन्धमा हामी विश्वासी कारिन्दा बनौं।
उदारचित्तको नमूना
१५ प्रेरित पावलले म्यासिडोनिया र अखैयाका मसीहीहरूको उदारचित्त आत्माबारे लेखे। (रोमी १५:२६) कष्टमा हुँदाहुँदै पनि आफ्ना भाइहरूलाई मदत गर्न तिनीहरूले राजीखुशी आफूसँग भएका कुराहरू दिए। त्यस्तै उदारचित्तका साथ अरूको कमी पूरा गर्न आफ्नो प्रशस्तताबाट केही दिन पावलले कोरिन्थीका मसीहीहरूलाई प्रोत्साहित गरे। यस सम्बन्धमा कसैले पनि पावललाई औचित्यसाथ दोष लगाउन सक्ने थिएनन्। तिनले लेखे: “किफायतीसँग छर्नेले किफायतीसँगै काट्छ, र प्रशस्ततासँग छर्नेले प्रशस्तसँगै काट्छ। हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ८:१-३, १४; ९:५-७, १३.
१६ आज हाम्रा भाइहरू तथा जिज्ञासुहरूले विश्वव्यापी राज्यसम्बन्धी कार्यलाई उदारतासाथ दिएको भेटीले यस सुअवसरलाई तिनीहरू कति मूल्यवान ठान्दा रहेछन् भन्ने कुराको प्रमाण दिन्छ। तर पावलले कोरिन्थीलाई पुनःस्मरण गराएझैं हामीले यस छलफललाई सम्झौटोको रूपमा लिनु हाम्रो निम्ति बेस हुनेछ।
१७ भेटी चढाउने सम्बन्धमा पावलले भाइहरूलाई व्यवस्थित प्रबन्धअनुसार चल्न आग्रह गरे। तिनले भने, “प्रत्येक हप्ताको पहिलो दिन तिमीहरू हरेकले आफ्नो आफ्नो उन्नतिअनुसार जोगाएर साँचिराखोस्।” (१ कोरिन्थी १६:१, २) मण्डली मार्फत पठाऔं वा सोझै नजिकको वाच टावर सोसाइटीको शाखा कार्यालयमा पठाऔं, भेटी दिने सम्बन्धमा हामी अनि हाम्रा छोराछोरीका निम्ति यो उदाहरण हुनुपर्छ। पूर्वीय अफ्रिकी शहरमा प्रचार गर्न खटाइएका मिसनरी दम्पतीले जिज्ञासुहरूलाई बाइबल अध्ययनमा सामेल हुन बोलाएछन्। पहिलो सभाको समापनपश्चात् ती मिसनरीहरूले बुद्धिमानीपूर्वक “राज्य सम्बन्धी कार्यका लागि चन्दा” भनी लेखिएको बाकसमा केही पैसा खसाले। यो देखेर उपस्थित अरूले पनि त्यस्तै गरे। पछि यी नयाँ व्यक्तिहरू मसीही मण्डलीको रूपमा सङ्गठित भइसकेपछि परिभ्रमण निरीक्षकले त्यहाँ भ्रमण गरे र तिनीहरूले नियमित तवरमा चन्दा दिएको देखेर प्रशंसा गरे।—भजनसंग्रह ५०:१०, १४, २३.
१८ प्राकृतिक प्रकोपका शिकार हुनेहरू अनि युद्ध ग्रसित क्षेत्रमा बस्नेहरूलाई मदत गर्न आफ्ना स्रोतहरू परिचालन गर्ने मौका पनि हामीसित छ। आर्थिक अनि राजनैतिक उथलपुथलले पूर्वीय युरोप ग्रस्त हुँदा त्यस क्षेत्रमा राहत सामग्रीहरू पठाइयो भनी पढ्न पाउँदा हामी कति रोमाञ्चित भएका थियौं! त्यसरी सर-सामग्री तथा पैसा दुवैद्वारा दिइएको भेटीले आपद्मा परेका मसीहीहरूप्रति हाम्रा भाइहरूको उदारता अनि भाइचारा प्रदर्शित गऱ्यो।b—२ कोरिन्थी ८:१३, १४.
१९ अग्रगामी, परिभ्रमण निरीक्षक, मिसनरी र बेथेल स्वयंसेवकको रूपमा पूर्ण-समय सेवामा लाग्ने हाम्रा भाइ- हरूले गर्ने कामको के हामी ठूलो मूल्याङ्कन गर्दैनौं र? शायद परिस्थितिले भ्याएसम्म सिधै तिनीहरूलाई केही भौतिक मदत दिन सक्ने अवस्थामा हामी होऔंला। उदाहरणको लागि, तपाईंको मण्डलीमा परिभ्रमण निरीक्षकले भ्रमण गर्दा शायद तिनलाई आवास, खाना वा यात्रा खर्च टार्ने मदत दिन सक्ने अवस्थामा तपाईं हुनुहुन्छ होला। आफ्ना सेवकहरूको रेखदेख भएको देख्न चाहनुहुने हाम्रो स्वर्गीय पिताले त्यस्तो उदारचित्त कार्यलाई भुल्नुहुन्न। (भजनसंग्रह ३७:२५) हलका नास्ता मात्र टक्य्राउन सक्ने अवस्था भएका भाइले केही वर्षअघि परिभ्रमण निरीक्षक र तिनकी पत्नीलाई घरमा निमन्त्रित गरेछन्। पछि साँझको क्षेत्र सेवाका लागि यो दम्पती निस्कँदा सो भाइले आफ्ना ती पाहुनाहरूलाई एउटा खाम दिएछन्। सो खामभित्र एक अमेरिकी डलर बराबरको पैसा र हस्तलिखित यो पर्ची थियो: “एक कप चिया वा एक ग्यालेन पेट्रोलका लागि।” विनम्र ढङ्गमा व्यक्त गरिएको कति राम्रो मूल्याङ्कन!
२० यहोवाका जनहरू आध्यात्मिक रूपमा आशिषित् छन्! हाम्रा साना तथा ठूला सम्मेलनहरूमा हामी नयाँ प्रकाशनहरू, राम्रा शिक्षा र व्यवहारिक सल्लाहले भरिएको आध्यात्मिक भोजको आनन्द उठाउँछौं। हाम्रा आध्यात्मिक आशिष्हरूका लागि हामी मूल्याङ्कनले विभोर हुन्छौं। तर सँगसँगै परमेश्वरको राज्यसम्बन्धी क्रियाकलापलाई विश्वव्यापी विस्तार गर्न चन्दा दिने हाम्रो सुअवसर अनि जिम्मेवारीलाई पनि हामी भुल्दैनौं।
“अधर्मको धनले मित्रहरू बनाओ”
२१ हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा यहोवाको उपासना हो भनी देखाउने साँच्चै प्रशस्त तरिकाहरू छन्। त्यस्ता तरिकाहरूमा येशूको यस सुझाव पालन गर्नु विशेषगरि महत्त्वपूर्ण छ: “आफ्नो निम्ति अधर्मको धनले मित्रहरू बनाओ, र जब त्यो समाप्त हुन्छ, तब तिमीहरूलाई तिनीहरूले अनन्त बासस्थानहरूमा स्वागत गरून्।”—लूका १६:९.
२२ स्मरण रहोस्, येशूले अधर्मको धन मूल्यहीन हुने कुरा भनी उल्लेख गर्नुभएको थियो। हो, यस रीतिरिवाजका पैसा मूल्यहीन हुने दिन आउनेछ। इजकिएलले यसो भनेर भविष्यवाणी गरे: “तिनीहरूले आफ्ना चाँदी सड़कहरू हुँदो फालिदिनेछन्, र तिनीहरूका सुन अशुद्ध थोकजस्तो हुनेछ। परमप्रभुको क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउनसक्नेछैनन्।” (इजकिएल ७:१९) तर त्यस्तो परिस्थिति नआउञ्जेल हामीले आफ्नो भौतिक सम्पत्तिहरूको प्रयोग कसरी गर्छौं, त्यसका लागि आफ्नो बुद्धि अनि समझदारी चलाउनै पर्छ। त्यसो गऱ्यौं भने पछुताउँदै येशूको यस चेतावनीलाई सम्झनु पर्नेछैन: “तिमीहरू अधर्मको धनमा विश्वासी भएको हुँदैनौ भनेता तिमीहरूलाई सत्को धन कसले विश्वास गरी सुम्पन्छ र? . . . तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्नसक्तैनौ।”—लूका १६:११-१३.
२३ तसर्थ, आ-आफ्ना जीवनमा यहोवाको उपासनालाई प्रथम स्थानमा राख्न अनि आफ्नो सम्पत्ति बुद्धिमानीपूर्वक प्रयोग गर्न हामी सबैले यस सम्झौटोलाई इमान्दारीपूर्वक पालन गरौं। त्यसो गऱ्यौं भने, रुपैया पैसा काम नलाग्ने हुँदा हामीलाई स्वर्गीय राज्य वा पार्थिव प्रमोदवनमा अनन्त जीवनको प्रत्याशासाथ “अनन्त बासस्थानहरूमा” स्वागत गर्छु भनी प्रतिज्ञा गर्नुहुने यहोवा अनि येशूसँग मित्रता कायम राख्न सक्नेछौं।—लूका १६:९. (w94 12/01)
[फुटनोटहरू]
a “भेटी” भनी अनुवाद गरिएको हिब्रू शब्द, “महान हुनु; उच्च पारिनु; माथि उठाउनु” जस्ता शाब्दिक अर्थ लाग्ने क्रियाबाट लिइएको हो।
b वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यु योर्क इन्क. द्वारा १९९३ मा प्रकाशित पुस्तक, जेहोभा विट्नेसे—प्रोक्लेमर्स अफ गड्स किङ्गडम को पृष्ठ ३०७-१५ हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
◻ पवित्रस्थान निर्माणका लागि भेटी चढाउन यहोवाको निमन्त्रणाको प्रत्युत्तर इस्राएलले कसरी दिए?
◻ विधवाको भेटी किन व्यर्थै थिएन?
◻ आफ्ना स्रोतहरू परिचालन गर्ने सम्बन्धमा मसीहीहरूले कस्तो जिम्मेवारी बहन गर्छन्?
◻ पैसाको प्रयोग गर्ने सम्बन्धमा पछुताउ गर्नदेखि हामी कसरी बच्न सक्छौं?
[अध्ययनका लागि प्रश्नहरू]
१. मिस्रबाट छुटकारा पाउँदा मोशा र इस्राएलका सन्तानहरूले कसरी यहोवाको प्रशंसा गरे?
२. मिस्र देश छोड्दा यहोवाका जनहरूले आफूसँगै के लिएर आए?
३. इस्राएलले झूटा उपासनाका लागि सुन प्रयोग गर्दा यहोवाले कस्तो प्रतिक्रिया जाहेर गर्नुभयो?
४. ‘यहोवाको भेटी’ के थियो र त्यो कसले चढायो?
५, ६. मन्दिरको सम्बन्धमा दाऊदले आफ्नो धनको प्रयोग कसरी गरे र अरूले यसको प्रत्युत्तर कसरी दिए?
७. आमोसको दिनबाट हामी कस्तो चेतावनीमूलक शिक्षा सिक्छौं?
८. आफ्ना स्रोतहरू परिचालन गर्ने सम्बन्धमा यूसुफ र मरियमले कस्तो असल उदाहरण बसाले?
९-११. (क) पैसाको प्रयोग गर्ने सम्बन्धमा मत्ती २२:२१ मा दिइएका येशूका शब्दहरूले हामीलाई कस्तो निर्देशन प्रदान गर्छ? (ख) विधवाको सानो भेटी किन व्यर्थ थिएन?
१२-१४. (क) मसीहीहरू कुन स्रोतहरूका कारिन्दाहरू हुन्? (ख) आज यहोवाका जनहरूले आफ्नो कारिन्दाको सेवालाई कुन उल्लेखनीय तरिकाहरूमा विश्वासीपूर्वक पूरा गर्छन्? (ग) आज परमेश्वरको काम सम्पन्न गर्न पैसा कहाँबाट आउँछ?
१५, १६. (क) पावलको समयका मसीहीहरूले कसरी उदारता देखाए? (ख) हाम्रो यस छलफललाई हामीले कुन दृष्टिले हेर्नुपर्छ?
१७. पावलले कस्तो व्यवस्थित प्रबन्धअनुसार भेटी दिन प्रोत्साहित गरे र के त्यो आज पनि लागू हुन्छ?
१८. सङ्कष्टमा परेका हाम्रा भाइहरूलाई हामी कसरी मदत गर्नसक्छौं?
१९. पूर्ण-समय सेवामा लाग्नेहरूलाई मदत दिन हामी कस्ता व्यवहारिक कुराहरू गर्नसक्छौं?
२०. कुन सुअवसर अनि जिम्मेवारीलाई हामी बेवास्ता गर्न चाहँदैनौं?
२१, २२. “अधर्मको धन” चाँडै के हुनेछ र त्यसले गर्दा हामीले अहिले नै के गर्नुपरेको छ?
२३. कुन कुरा बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्छ र त्यसो गरेमा हाम्रो इनाम के हुनेछ?
[पृष्ठ १५-मा भएको चित्र]
विधवाको भेटी सानो थियो तर व्यर्थ थिएन
[पृष्ठ १६-मा भएको चित्र]
हाम्रो भेटीले विश्वव्यापी राज्यसम्बन्धी कामलाई सहयोग पुऱ्याउँछ