बाइबलको दृष्टिकोण
तपाईंको पहिरन र कोरीबाटी—के परमेश्वरले ख्याल गर्नुहुन्छ?
“विषयसूचीले पुस्तकका विषयहरू बताएझैं . . . बाह्य रूप र पहिरनले पुरुष वा स्त्रीहरूको मनोभाव प्रकट गर्छ।”—अंग्रेज नाटककार फिलिप मेसिंगर।
चर्च लेखक टाइटस क्लेमन्सले सा.यु. तेस्रो शताब्दीमा पहिरन र कोरीबाटीसम्बन्धी नियमहरूको लामो सूची तयार पारे। गरगहना अनि सोखिन वा रंगीबिरंगी लुगा लगाउन निषेध गरियो। स्त्रीहरूले न त कपाल रंगाउन न “अनुहार आकर्षित पार्ने साधनहरू लगाउन” अर्थात् “अनुहार सिंगारपटार गर्न नै पाउने” भए। पुरुषहरूलाई कपाल काट्न लगाइयो किनकि “छोटो कपालले . . . पुरुष गम्भीर र रवाफिलो देखिन्थ्यो।” तर दाह्री चाहिं काट्नु हुँदैनथ्यो किनकि त्यसले “अनुहारको रौनक बढाउँथ्यो अनि बुबाको जस्तो सान दिन्थ्यो।”a
शताब्दीयौंपछि प्रोटेस्टेन्ट नेता जोन केल्भिनले आफ्ना चेलाहरूको पहिरन कुन रंगको अनि कस्तो किसिमको हुनुपर्छ भनेर नियम बनाए। गरगहना र बुट्टेदार लुगा अप्रिय ठानियो र स्त्रीहरूको कपाल “अभद्र” भएमा तिनीहरू झ्यालखानामा थुनिन सक्थे।
धार्मिक नेताहरूले वर्षौंसम्म अपनाएका यस्ता कट्टर विचारधाराहरूले गर्दा थुप्रै निष्कपट मानिसहरूले सोच्न थाले, के मेरो पहिरनले परमेश्वरलाई साँच्चै फरक पार्छ र? के उहाँ कुनै कुनै फेसन वा श्रृंगार साधनहरूको निन्दा गर्नुहुन्छ? यसबारे बाइबलले के सिकाउँछ?
व्यक्तिगत विषय
चाखलाग्दो कुरा, यूहन्ना ८:३१, ३२ मा लिपिबद्ध शब्दहरूमा येशूले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरू मेरो वचनमा रह्यौ भने . . . तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” हो, येशूले सिकाउनुभएको सत्यले मानिसहरूलाई परम्परा र झूटा शिक्षाहरूको कष्टदायी बोझहरूबाट स्वतन्त्र गराउने थियो। त्यसले “मेहनत गर्ने, र बोझले दबिएका[हरूलाई]” स्फूर्ति दिने थियो। (मत्ती ११:२८) मानिसहरूलाई व्यक्तिगत विषयहरूमा तिनीहरूको तर्कशक्ति प्रयोग गर्दै आफू अग्रसर भएर केही गर्नै नसक्नेगरि नियन्त्रणमा राख्न न येशू न त उहाँका पिता यहोवा परमेश्वर नै चाहनुहुन्छ। यहोवा त तिनीहरू “खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका” परिपक्व मानिस बनेको पो चाहनुहुन्छ।—हिब्रू ५:१४.
अतः बाइबलले पहिरन र कोरीबाटी वा श्रृंगार साधनहरूसम्बन्धी विस्तृत नियम प्रस्तुत गर्दैन। यति हो, मोशालाई दिइएको व्यवस्थाअनुसार यहूदीहरूले चाहिं तिनीहरूका वरिपरिका जातिहरू र उनीहरूका अनैतिक प्रभावबाट अलग्गै रहन केही बेग्लै प्रकारको पहिरन लगाउनुपर्थ्यो। (गन्ती १५:३८-४१; व्यवस्था २२:५) मसीहीहरूका लागि पहिरन र कोरीबाटी साधारणतया व्यक्तिगत रुचिको विषय हो।
तथापि, यसको अर्थ हामीले जस्तोसुकै पहिरन लगाए पनि परमेश्वरले वास्ता गर्नुहुन्न अथवा ‘जे पनि ग्रहणयोग्य छ’ भन्ने कदापि होइन। यसको विपरीत, बाइबलमा पहिरन र कोरीबाटीबारे परमेश्वरका दृष्टिकोण झल्काउने व्यवहारिक मार्गदर्शनहरू छन्।
“साधा पहिरनमा लज्जालु र सरल भई”
प्रेरित पावलले मसीही स्त्रीहरूलाई यसो लेखे: “साधा पहिरनमा लज्जालु र सरल भई सिंगारिऊन्। कपाल सिंगारेर बाटेको, सुन, मोती र बहुमूल्य लुगाहरूले ता होइन।” त्यसैगरि, पत्रुसले “कपाल बाट्ने, र सुनको गहना लाउने” हुनु हुँदैन भनेर सल्लाह दिए।—१ तिमोथी २:९; १ पत्रुस ३:३.
के पत्रुस र पावलले मसीही स्त्री र पुरुषहरूले सिंगारपटार गर्नै हुँदैन भनेर औंल्याइरहेका हुन्? अहँ, होइन! भनौं भने, बाइबलले गरगहना वा श्रृंगार तेल अनि अत्तर लगाउने विश्वासी पुरुष र स्त्रीहरूबारे बताउँछ। एस्तरले राजा अहासूरसकहाँ जानुअघि सुगन्धित तेल र श्रृंगारका साधनहरूलगायत अन्य सौन्दर्य साधनहरू लगाइन्। अनि यूसुफले चाहिं मलमलको लुगा र गलामा सुनको सिक्री लगाए।—उत्पत्ति ४१:४२; प्रस्थान ३२:२, ३; एस्तर २:७, १२, १५.
पावलले प्रयोग गरेका “सरल भई” भन्ने वाक्यांशले उक्त सल्लाहको मर्म बुझ्न मदत दिन्छ। मूल युनानी शब्दले संयमी हुनु र आत्मसंयम भन्ने अर्थ बुझाउँछ। यसले आफूप्रति नचाहिंदो ध्यान आकर्षित नगराइकन आफ्नो विषयमा गम्भीरतापूर्वक सोच्नु भन्ने बोध गराउँछ। अन्य बाइबल अनुवादहरूमा उक्त शब्द “बुद्धिमत्तापूर्वक,” “सुझबुझसहित,” “परिष्कृत” वा “आत्मसंयम” भनी अनुवाद गरिएको छ। यी गुनहरू मसीही प्राचीनहरूका लागि अत्यावश्यक छन्।—१ तिमोथी ३:२.
अतः धर्मशास्त्रले हाम्रो पहिरन लज्जालु र सरल हुनुपर्छ भन्दा अरूका लागि ठोकरको कारण नबन्न र हाम्रो तथा मण्डलीको प्रतिष्ठामा कलंक लगाउनसक्ने अचाक्ली फेसनदार पहिरन नलगाउन प्रोत्साहन दिन्छ। परमेश्वरलाई श्रद्धा गर्नेहरू शारीरिक सिंगारपटार गरेर आकर्षित बन्नुको साटो सरल हुनुपर्छ अनि “शान्त आत्माको अविनाशी पोशाक लाएको हृदयको . . . गुप्त मानिस” हुन ध्यान दिनुपर्छ। पत्रुस अन्तमा भन्छन्, त्यही नै “परमेश्वरको दृष्टिमा ठूलो मोलको हुन्छ।”—१ पत्रुस ३:४.
मसीहीहरू ‘संसारका निम्ति तमाशा भएका छन्।’ तिनीहरूले विशेषगरि सुसमाचार प्रचार गर्ने आज्ञा ध्यानमा राख्दै आफूले अरूमा कस्तो प्रभाव पारिरहेको छु भनी सचेत हुनुपर्छ। (१ कोरिन्थी ४:९; मत्ती २४:१४) त्यसैकारण, तिनीहरू आफ्ना बाह्य रूपलगायत अन्य कुनै कुराले पनि अरूलाई उक्त महत्त्वपूर्ण समाचार सुन्नबाट तर्काउन चाहँदैनन्।—२ कोरिन्थी ४:२.
विभिन्न ठाउँहरूमा विविध शैली भए पनि बाइबल हरेकलाई स्पष्ट, व्यवहारिक मार्गदर्शन दिन्छ। फलतः तिनीहरूले बुद्धिमानीपूर्वक सही छनौट गर्नसक्छन्। मानिसहरूले ती सिद्धान्तहरू पालन गरुञ्जेल परमेश्वर तिनीहरूलाई मायालु ढंगमा पहिरन र कोरीबाटीप्रति व्यक्तिगत रुचि राख्न दिनुहुन्छ।
[फुटनोट]
a धर्मशास्त्र बंग्याएर उक्त निषेधित आज्ञाहरूलाई बढावा दिने प्रयास गरियो। बाइबलले उक्त कुराहरू नबताए पनि मानिसहरूलाई प्रभावित तुल्याउने धर्मविद् टरटुलियनले स्त्री नै “पहिलो पाप र मानिसजातिको श्रापित अवस्थाको . . . निन्दित” कारक भएकाले स्त्रीहरू “हव्वाझैं शोक र पश्चात्ताप गर्दै हिंड्नुपर्छ” भनेर सिकाए। अझ भन्ने हो भने, स्वाभाविकतः सुन्दरी स्त्रीहरूले आफ्नो सुन्दरता लुकाउनुपर्छ भनेर तिनले जोड दिए।—रोमी ५:१२-१४; १ तिमोथी २:१३, १४ तुलना गर्नुहोस्।