तपाईंको बोली ‘हुन्छ’ भनेर पछि ‘हुँदैन’ भन्नुहुन्छ कि?
यो अवस्था विचार गर्नुहोस्: अस्पताल सम्पर्क समितिका सदस्यको रूपमा सेवा गरिरहेका एल्डरले शनिबार बिहान एक जवान भाइसँगै प्रचार जान मिलाएका छन्। एकाबिहानै अर्को भाइको फोन आउँछ। उक्त भाइकी श्रीमती गाडी दुर्घटनामा परिछिन् र तिनलाई अस्पताल लगिएको रहेछ। उक्त भाइ ती एल्डरलाई रगत नदिई उपचार गर्ने डाक्टर खोजिदिन आग्रह गर्छन्। आपत्मा परेको त्यस परिवारलाई मदत गर्नुपर्ने भएकोले ती एल्डर उक्त जवान भाइसित प्रचार जाँदैनन्।
अर्को अवस्था पनि विचार गर्नुहोस्: मण्डलीको एउटा दम्पतीले एक्ली आमा र तिनका दुई छोरीलाई एक साँझ आफ्नो घरमा निम्तो दिएका छन्। यो कुरा थाह पाउँदा छोरीहरू दङ्ग पर्छन्। उनीहरू त्यस दिनलाई पर्खन थाल्छन्। एक दिन मात्र बाँकी हुँदा उक्त दम्पतीले आसै नगरेको एउटा परिस्थितिको कारण उनीहरूलाई घरमा बोलाउन नसकिने जानकारी दिन्छन्। तिनीहरूले आफ्नो योजना किन बदलेका रहेछन् भनेर उक्त बहिनीले पछि मात्र थाह पाउँछिन्। उनीहरूलाई निम्तो दिएकै साँझ त्यस दम्पतीलाई केही साथीहरूले निम्तो दिएछन् र तिनीहरूले निम्तो स्वीकारेछन्।
ख्रीष्टियनहरूको नाताले हामीले आफ्नो वाचा पूरा गर्नुपर्छ। “सुरुमा ‘हुन्छ’ भनेको कुरा पछि गएर ‘हुँदैन’” भन्नु राम्रो होइन। (२ कोरि. १:१८) अघिको दुइटा उदाहरणले देखाएझैं टार्नै नसक्ने परिस्थितिको कारण कहिलेकाहीं वाचा पूरा गर्न गाह्रो हुन सक्छ; अर्कोतर्फ कसै-कसैले सानोतिनो कारणले पनि वाचा तोड्छन्। प्रेषित पावलले पनि एक पटक आफ्नो वाचा पूरा गर्न सकेनन्। आउनुहोस्, त्यसबारे विचार गरौं।
पावललाई भरोसायोग्य नभएको आरोप लगाइयो
इस्वी संवत् ५५ मा तेस्रो मिसनरी यात्राको दौडान पावल एफिसस पुगेका थिए। उनी एजियन समुद्र पार गरेर कोरिन्थ जाने अनि त्यहाँबाट म्यासिडोनिया जाने विचार गर्दै थिए। फर्कने बेला फेरि कोरिन्थ छिर्ने र त्यहाँको मण्डलीले यरूशलेमका भाइबहिनीलाई उदारतासाथ दिएको चन्दा पनि सँगै लैजाने विचार गरेका थिए। (१ कोरि. १६:३) यो कुरा दोस्रो कोरिन्थी १:१५, १६ बाट स्पष्ट हुन्छ: “यसै कुरामा ढुक्क भएर तिमीहरूकहाँ दोस्रो खेप आउने मैले पहिल्यै विचार गरेको थिएँ, ताकि तिमीहरूले रमाउने अर्को मौका पाउन सक, अनि यात्राको बीचमा तिमीहरूकहाँ केही समय बिताएर म्यासिडोनिया जान सकूँ र फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ नै फर्केर यहूदिया जाने बेला तिमीहरूले मलाई अलि परसम्म पुऱ्याइदिन सक।”
कोरिन्थीहरूलाई पहिला लेखेको पत्रमा पावलले आफ्नो योजनाबारे बताएका थिए जस्तो देखिन्छ। (१ कोरि. ५:९) पत्र पठाएको केही समयपछि कोरिन्थ मण्डलीमा फूट छ भन्ने कुरा उनले क्लोएको घरानाबाट थाह पाए। (१ कोरि. १:१०, ११) पावलले आफ्नो योजना परिवर्तन गरे र अहिले पहिलो कोरिन्थी भनेर चिनिने पत्र लेखे। पत्रमा पावलले कोरिन्थीहरूलाई मायालु सल्लाह दिए र तिनीहरूले सुधार्नुपर्ने कुराहरू बताए। पहिला म्यासिडोनिया गएर त्यसपछि मात्र कोरिन्थ आउने कुरा पनि उनले पत्रमा लेखे।—१ कोरि. १६:५, ६.a
पावलको पत्र पाएपछि कसै-कसैले उनलाई भरोसायोग्य नभएको आरोप लगाएको हुन सक्छ। पावलले तिनीहरूलाई “महाप्रेषितहरू” भने। आफ्नो गल्ती नभएको बताउँदै पावलले यसो भने: “जब मैले यस्तो विचार गरेको थिएँ, तब के मैले त्यसलाई हल्कासित लिएको थिएँ र? वा के मैले आफ्नो स्वार्थ पूरा गर्न सुरुमा ‘हुन्छ, भइहाल्छ’ भनौंला अनि पछिचाहिं ‘अहँ, हुँदैन’ भनुँला भनेर योजना बनाएको थिएँ र?”—२ कोरि. १:१७; ११:५.
हाम्रो मनमा यस्तो प्रश्न आउन सक्छ: त्यतिखेर पावलले आफ्नो वाचालाई ‘हल्कासित लिइरहेका’ पो थिए कि? त्यसो त पक्कै होइन! ‘हल्कासित लिनु’ भनी अनुवाद गरिएको अभिव्यक्तिले भरोसायोग्य नहुनु, वाचा पूरा नगर्नुलाई बुझाउँछ। ‘के मैले आफ्नो स्वार्थ पूरा गर्न योजना बनाएको थिएँ र’ भनी पावलले प्रश्न गरे। पावलको प्रश्नबाट कोरिन्थका भाइबहिनीले उनी भरोसायोग्य नभएकोले योजना परिवर्तन गरेका होइनन् भनेर बुझ्न सके।
आफूमाथि लगाइएको आरोपको जवाफ पावलले यसरी दिए: “जसरी परमेश्वरमाथि भरोसा गर्न सकिन्छ, त्यसरी नै यो कुरामा पनि भरोसा गर्न सकिन्छ, कि हामीले तिमीहरूलाई सुरुमा ‘हुन्छ’ भनेको कुरा पछि गएर ‘हुँदैन’ हुनेछैन।” (२ कोरि. १:१८) कोरिन्थका भाइबहिनीको हितको लागि नै उनले आफ्नो योजना परिवर्तन गरेका थिए। दोस्रो कोरिन्थी १:२३ मा पावलले यसो भने: “तिमीहरूलाई अझ दुःखी नबनाउनकै लागि म अहिलेसम्म कोरिन्थ नआएको हुँ।” तिनीहरूले सल्लाह लागू गर्ने समय पाऊन् भनेर पावलले आफ्नो योजना परिवर्तन गरे। तिनीहरूले सल्लाह साँच्चै लागू पनि गरे। कोरिन्थीहरूले आफ्नो गलत कामको लागि शोक र पश्चात्ताप गरे भनेर म्यासिडोनियामा छँदा पावलले तीतसबाट सुने। यो खबर सुन्दा पावल औधी रमाए।—२ कोरि. ६:११; ७:५-७.
येशूद्वारा यहोवाको प्रतिज्ञा पूरा हुन्छ
“महाप्रेषितहरू”-ले पावललाई भरोसायोग्य नभएको आरोप लगाउँदा उनको सन्देशमा पनि भरोसा गर्न सकिंदैन भनिरहेका थिए। तर आफूले येशूको विषयमा सन्देश सुनाएको कुरा पावलले कोरिन्थीहरूलाई सम्झाए। उनले यसो भने: “परमेश्वरका छोरा ख्रीष्ट येशू, जसको विषयमा तिमीहरूलाई हामीले प्रचार गऱ्यौं अर्थात् मैले, सिल्भानसले र तिमोथीले, उहाँ पनि ‘हुन्छ’ भनेर ‘हुँदैन’ हुनुभएको छैन तर ‘हुन्छ’ भनेपछि ‘हुन्छ’ नै हुनुभएको छ।” (२ कोरि. १:१९) येशू भरोसा गर्न नसकिने व्यक्ति हुनुहुन्थ्यो त? त्यस्तो हुनै सक्दैन। आफ्नो जीवनकालमा येशूले सधैं सत्य बोल्नुभयो। (यूह. १४:६; १८:३७) येशूले साँचो र भरोसा गर्न सकिने कुरा प्रचार गर्नुभयो र पावलले पनि त्यही सन्देश प्रचार गरे। त्यसैले पावलको सन्देश भरोसायोग्य थियो।
यहोवा “सत्यका परमेश्वर” हुनुहुन्छ। (भज. ३१:५, NRV) यो कुरा पावलको यस भनाइबाट स्पष्ट हुन्छ: “परमेश्वरका प्रतिज्ञाहरू जतिसुकै भए तापनि ती उहाँद्वारा ‘हुन्छ’ भएका छन्।” कोद्वारा? येशूद्वारा। पृथ्वीमा छँदा येशूले सधैं यहोवाको आज्ञा पालन गर्नुभयो। त्यसकारण यहोवाका प्रतिज्ञाहरू पूरा हुनेछन् भनेर हामी ढुक्क हुन सक्छौं। पावलले यसो पनि भने: “त्यसैले त परमेश्वरको गौरवको निम्ति हामी उहाँद्वारै [येशू ] ‘आमिन’ भन्छौं।” (२ कोरि. १:२०) येशूलाई किन “आमिन” भनिएको? यहोवाका सबै प्रतिज्ञा येशूद्वारै पूरा हुने भएकोले।
यहोवा र येशूजस्तै पावल पनि आफ्नो प्रतिज्ञा पूरा गर्ने मानिस थिए। (२ कोरि. १:१९) उनी आफ्नो प्रतिज्ञालाई “हल्कासित” लिने मानिस थिएनन्। (२ कोरि. १:१७) बरु “पवित्र शक्तिको भरमा” हिंड्ने मानिस थिए। (गला. ५:१६) उनले सधैं अरूको हित हुने काम गरे। उनको हुन्छ, हुन्छ नै भयो।
तपाईंको हुन्छ पनि हुन्छ नै रहन्छ?
बाइबल शिक्षाअनुसार नचल्ने मानिसहरू पहिला वाचा गर्छन्, पछि सानो समस्या आयो अथवा अझ राम्रो अवसर मिल्यो भने आफ्नो वाचा सजिलै तोड्छन्। व्यापारिक कारोबारमा लिखित सम्झौता गरिए तापनि मानिसहरू आफ्नो “हुन्छ”-लाई सधैं “हुन्छ” बनाउँदैनन्। थुप्रैले विवाह वाचालाई पनि जीवनभरको लागि गरिएको वाचा ठान्दैनन्। तिनीहरू यसलाई सजिलै तोड्न सकिने बन्धनको रूपमा हेर्छन्। सम्बन्धविच्छेद गर्नेहरूको डरलाग्दो सङ्ख्याले यो कुरा पुष्टि गर्छ।—२ तिमो. ३:१, २.
तपाईं नि? तपाईंको हुन्छ पनि हुन्छ नै रहन्छ? यस लेखको सुरुको उदाहरणमा बताइएजस्तै भरोसायोग्य नभएकोले होइन, आफ्नो नियन्त्रणमै नभएको परिस्थितिले गर्दा कहिलेकाहीं तपाईं आफ्नो वचन पूरा गर्न सक्नुहुन्न। तर ख्रीष्टियनको रूपमा तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्न सक्दो गर्नुपर्छ। (भज. १५:४; मत्ती ५:३७) यसो गर्दा अरूले तपाईंलाई सत्य बोल्ने र वचनको पक्का मानिस भनेर चिन्छन्। (एफि. ४:१५, २५; याकू. ५:१२) तपाईं भरोसायोग्य हुनुहुन्छ भने परमेश्वरको राज्यबारे बताउँदा मानिसहरू तपाईंको कुरा सुन्न इच्छुक हुन सक्छन्। त्यसैले हाम्रो हुन्छलाई हुन्छ नै बनाउन कोसिस गरौं।
a पहिलो कोरिन्थीको पत्र लेखेको केही समयपछि पावल त्रोआस हुँदै म्यासिडोनिया गए। त्यहीं उनले कोरिन्थीहरूलाई दोस्रो पत्र लेखे। (२ कोरि. २:१२; ७:५) त्यसपछि उनी कोरिन्थ गए।