परिभ्रमण निरीक्षकहरू—पुरुषहरूमध्ये वरदान
“उहाँ माथि उक्लेर जानुहुँदा, कैदलाई कैद गरेर लानुभयो, औ मानिसहरूलाई [“पुरुषहरूमध्ये,” NW] वरदान दिनुभयो।”—एफिसी ४:८.
१. सन् १८९४ मा यो पत्रिकाले कुन नयाँ कामबारे घोषणा गरेको थियो?
झन्डै एक शताब्दीअघि वाच टावर-ले नौलो कुरा घोषणा गऱ्यो। यसलाई “प्रचार कार्यको क्रियाकलापमा अर्को क्षेत्र” भनेर वर्णन गरियो। यो नयाँ क्रियाकलापले के आवश्यकता पूरा गऱ्यो? यो आधुनिक समयका परिभ्रमण निरीक्षकहरूले गर्ने कामको सुरुआत थियो। यस पत्रिकाको सेप्टेम्बर १, १८९४ को अंकले के व्याख्या गऱ्यो भने, उप्रान्त योग्य भाइहरूले बाइबल विद्यार्थीहरूको समूहसित ‘तिनीहरूलाई सत्यमा बलियो बनाउने उद्देश्य राखेर’ भेट्नेछन्।
२. क्षेत्रीय तथा जिल्ला निरीक्षकहरूको के दायित्वहरू छन्?
२ सा.यु. प्रथम शताब्दीमा पावल र बर्णाबासजस्ता निरीक्षकहरूले मसीही मण्डलीहरूको भ्रमण गर्थे। यी विश्वासी पुरुषहरूको प्रमुख उद्देश्य मण्डलीहरूलाई ‘बलियो बनाउनु’ थियो। (२ कोरिन्थी १०:८) यही कार्य व्यवस्थित ढंगमा गर्ने हजारौं पुरुषहरूले गर्दा आज हामी आशिषित् भएका छौं। यहोवाका साक्षीहरूको परिचालक निकायले यिनीहरूलाई क्षेत्रीय तथा जिल्ला निरीक्षकहरूको रूपमा नियुक्त गरेको छ। क्षेत्रीय निरीक्षकले वर्षको दुइ पटक लगभग प्रत्येक २० वटा मण्डलीहरूमा हप्तादिन जति सेवा गर्छन्। त्यहाँ तिनले मण्डलीका रेकर्डहरू हेर्छन्, भाषणहरू दिन्छन् र स्थानीय राज्य प्रकाशकहरूसित क्षेत्र सेवकाईमा भाग लिन्छन्। जिल्ला निरीक्षक क्षेत्रहरूमा वर्षेनी हुने हरेक क्षेत्रीय सम्मेलनहरूको सभापति हुन्छन्। अनि क्षेत्रीय सम्मेलनको दौडान तिनी भ्रमण गरिरहेका मण्डलीसित क्षेत्र सेवकाईमा व्यस्त हुन्छन् र तिनले बाइबलआधारित प्रोत्साहनदायी भाषणहरू दिन्छन्।
तिनीहरूको आत्मत्यागी भाव
३. परिभ्रमण निरीक्षकहरूसित आत्मत्यागी भाव हुनु किन आवश्यक छ?
३ परिभ्रमण निरीक्षकहरू लगातार भ्रमण गरिरहेका हुन्छन्। यसो गर्न मात्रै पनि आत्मत्यागी भाव चाहिन्छ। एउटा मण्डलीबाट अर्को मण्डलीमा यात्रा गर्नु सजिलो हुँदैन तैपनि यी पुरुषहरू र तिनका पत्नीहरूले आनन्दित मनोवृत्तिसहित त्यसो गर्छन्। एक क्षेत्रीय निरीक्षकले यसो भने: “मेरी पत्नी मलाई असाध्यै समर्थन गर्छिन् र कहिल्यै कचकच गर्दिनन् . . . तिनले प्रकट गरेकी आत्मत्यागी भावको लागि तिनी सराहना योग्य छिन्।” कुनै कुनै क्षेत्रीय निरीक्षकहरूलाई एक मण्डलीदेखि अर्को मण्डलीसम्म पुग्न १,००० किलोमिटरभन्दा लामो दूरी तय गर्नुपर्ने हुन्छ। धेरैले गाडी चलाउँछन् तर अरू भने एक ठाउँबाट अर्को ठाउँमा जान सार्वजनिक सवारीसाधन चढ्छन् त कोही साइकल, त कोही घोडामा अथवा पैदलै यात्रा गर्छन्। एउटा मण्डलीसम्म पुग्न एक अफ्रिकी क्षेत्रीय निरीक्षकले आफ्नी पत्नीलाई काँधमा बोकेर निकै गाह्रोसित नदी तर्नुपर्नेसमेत हुन्छ। मिसनरी यात्रामा जाँदा प्रेरित पावलले गर्मी र जाडो, भोक र तिर्खा सहनुपर्थ्यो, धेरै चोटि जाग्राम बस्नुपर्थ्यो, विभिन्न खतराहरू र भीषण सतावटको सामना गर्नुपर्थ्यो। यसबाहेक तिनलाई “मण्डलीहरूका निम्ति फिक्री” पनि थियो। आजका परिभ्रमण निरीक्षकहरू पनि त्यस्तै अनुभव गर्छन्।—२ कोरिन्थी ११:२३-२९.
४. परिभ्रमण निरीक्षकहरू र तिनीहरूका पत्नीहरूलाई शारीरिक समस्याहरूले कस्तो असर पार्नसक्छन्?
४ पावलको मित्र तिमोथीको जस्तै परिभ्रमण निरीक्षकहरू र तिनीहरूका पत्नीहरूका पनि कहिलेकाहीं शारीरिक समस्याहरू हुन्छन्। (१ तिमोथी ५:२३) यसले गर्दा तिनीहरूमाथि थप चिन्ता आइपर्छ। एक परिभ्रमण निरीक्षककी पत्नी यसो भन्छिन्: “बिसञ्चो हुँदा पनि सधैं भाइहरूबीच रहनु असाध्यै गाह्रो हुन्छ। रजोहीनता सुरु हुन लाग्दा त मलाई झन् गाह्रो भएको पाएँ। हरेक हप्ता आफ्नो सामान पोको पारेर अन्तै जानु साँच्चै चुनौती हो। यो सेवामा निरन्तर लागिरहने बल दिनुहोस् भन्दै म अक्सर यहोवालाई प्रार्थना गर्छु।”
५. विभिन्न परीक्षाहरूको बावजूद परिभ्रमण निरीक्षकहरू र तिनीहरूका पत्नीहरूले कस्तो भाव प्रकट गरिरहेका छन्?
५ शारीरिक समस्या तथा अन्य परीक्षाहरूको बावजूद परिभ्रमण निरीक्षकहरू तथा तिनीहरूका पत्नीहरूले आफ्नो सेवाबाट आनन्द प्राप्त गर्छन् र आत्मत्यागी प्रेम प्रकट गर्छन्। कसै कसैले त सतावट वा युद्धको समयमा आध्यात्मिक मदत दिन ज्यानसमेत खतरामा पारेका छन्। मण्डलीहरूमा भ्रमण गर्दा तिनीहरूले पनि पावलको जस्तै मनोभाव देखाएका छन्। तिनले थिस्सलोनिकीका मसीहीहरूलाई यसो भने: “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं। त्यसरीनै तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ़तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौं।”—१ थिस्सलोनिकी २:७, ८.
६, ७. अथक परिश्रम गर्ने परिभ्रमण निरीक्षकहरूले कस्तो सकारात्मक प्रभाव पार्नसक्छन्?
६ मसीही मण्डलीका अन्य प्राचीनहरूले जस्तै परिभ्रमण निरीक्षकहरूले पनि “वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्।” त्यस्ता सबै प्राचीनहरूलाई “दोहोरो आदरका योग्य मान्नुपर्छ।” (१ तिमोथी ५:१७) ‘तिनीहरूको जीवनको नतिजालाई विचार गरेर तिनीहरूको विश्वासको देखा-सिकी गऱ्यौं’ भने तिनीहरूको उदाहरण लाभकारी हुनसक्छ।—हिब्रू १३:७.
७ केही खास परिभ्रमण निरीक्षकहरूले अरूमाथि कस्तो प्रभाव पारेका छन्? “भाइ पी—ले मेरो जीवनमा अमेट छाप पार्नुभएको छ!” यहोवाका एक साक्षीले लेखे। “उहाँ मेक्सिकोमा सन् १९६० देखि परिभ्रमण निरीक्षक हुनुहुन्थ्यो। सानैदेखि म उहाँको भ्रमण बडो उत्सुकता अनि आनन्दपूर्वक पर्खन्थें। म दश वर्षको हुँदा उहाँले मलाई यसो भन्नुभयो, ‘तिमी पनि क्षेत्रीय निरीक्षक हुनेछौ।’ किशोरावस्थाका कठिन वर्षहरूमा म अक्सर उहाँलाई खोज्थें। किनकि उहाँ मलाई अर्तीबुद्धिका कुराहरू बताउनुहुन्थ्यो। उहाँको मुख्य चासो नै बगाल चराउनु थियो! अहिले म क्षेत्रीय निरीक्षक भएको छु। उहाँले मेरो निम्ति निकाल्नुभएझैं म पनि सधैं कलिला केटाकेटीहरूलाई मदत गर्ने समय निकाल्छु र तिनीहरूअघि ईश्वरतान्त्रिक लक्ष्यहरू राखिदिन्छु। हृदयघात भए तापनि जीवनको अन्तिम अवस्थामा समेत भाइ पी—सधैं प्रोत्साहनदायी कुराहरू गर्नुहुन्थ्यो। फेब्रुअरी १९९५ मा उहाँको मृत्यु हुनु एक दिनअघि मात्र मसित विशेष सम्मेलन दिनमा जानुभएको थियो र एक जना वास्तुकार भाइलाई सार्थक लक्ष्य देखाइ दिनुभयो। त्यस भाइले तत्कालै बेथेल सेवाको निम्ति निवेदन पेश गरिहाले।”
तिनीहरूको मूल्यांकन गरिन्छ
८. एफिसी अध्याय ४ मा वर्णन गरिएका “मानिसहरूलाई [“पुरुषहरूमध्ये,” NW] वरदान” को हुन् र तिनीहरूले मण्डलीहरूलाई कसरी लाभ पुऱ्याउँछन्?
८ परमेश्वरको अनुग्रहले गर्दा सेवाको काम पाउने परिभ्रमण निरीक्षक तथा अन्य प्राचीनहरूलाई “मानिसहरूलाई [“पुरुषहरूमध्ये,” NW] वरदान” भनिन्छ। यहोवाको प्रतिनिधि र मण्डलीको शिरको रूपमा येशूले हामी सबै व्यक्तिगत तवरमा बलियो र परिपक्व हुनसकोस् भनेर यी आध्यात्मिक पुरुषहरूको प्रबन्ध गर्नुभएको हो। (एफिसी ४:८-१५) कुनै पनि वरदान मूल्यांकनको अभिव्यक्ति हो। यहोवाको सेवा गरिरहनसक्न हामीलाई सुदृढ बनाउने वरदानबारे यो अझ विशेषगरि सही ठहर्छ। त्यसोभए परिभ्रमण निरीक्षकहरूको कार्यप्रति हामीले कसरी आफ्नो मूल्यांकन जाहेर गर्नसक्छौं? ‘यी पुरुषहरूलाई आनन्दसाथ ग्रहण गरेका छौं’ भनी हामी कुन कुन तरिकाबाट देखाउनसक्छौं?—फिलिप्पी २:२९.
९. परिभ्रमण निरीक्षकहरूलाई हामी कुन कुन तरिकाले मूल्यांकन जाहेर गर्नसक्छौं?
९ क्षेत्रीय निरीक्षकको भ्रमणबारे घोषणा हुँदा त्यो हप्ता मण्डलीको गतिविधिमा पूर्णतया भाग लिन हामी योजनाहरू बनाउन थाल्नसक्छौं। सम्भव छ भने, त्यस भ्रमणको दौडान हुने क्षेत्र सेवकाई गतिविधिमा भाग लिन केही समय छुट्याउनसक्छौं। त्यो महिना हामी सहायक अग्रगामीको हैसियतमा सेवा गर्नसक्छौं। निस्सन्देह, आफ्नो सेवकाईमा उन्नति गर्न क्षेत्रीय निरीक्षकले दिएका सल्लाहहरू हामी प्रयोगमा ल्याउन चाहनेछौं। यस्तो ग्रहणशील भावले हामीलाई फाइदा गर्नेछ र क्षेत्रीय निरीक्षकलाई उहाँको भ्रमण लाभदायी छ भन्ने आश्वासन दिनेछ। हो, परिभ्रमण निरीक्षकहरू हामीलाई बलियो बनाउन मण्डलीहरूको भ्रमण गर्छन् तर तिनीहरूलाई पनि आध्यात्मिक तवरमा बलियो बनाउनु आवश्यक छ। पावललाई पनि निकै पटक प्रोत्साहन चाहिएको थियो र तिनले सँगी मसीहीहरूलाई आफ्नो निम्ति प्रार्थना गरिदिनू भनेका थिए। (प्रेरित २८:१५; रोमी १५:३०-३२; २ कोरिन्थी १:११; कलस्सी ४:२, ३; १ थिस्सलोनिकी ५:२५) त्यसैगरि आधुनिक समयका परिभ्रमण निरीक्षकहरूलाई पनि हाम्रो प्रार्थना र प्रोत्साहन चाहिन्छ।
१०. परिभ्रमण निरीक्षकको कार्यलाई रमाइलो बनाउन हामी कसरी मदत गर्नसक्छौं?
१० क्षेत्रीय निरीक्षक र तिनकी पत्नीलाई के हामीले आफ्नो गहिरो मूल्यांकन व्यक्त गरेका छौं? के हामी तिनको लाभकारी सल्लाहको लागि धन्यवाद दिन्छौं? क्षेत्र सेवकाईबारे तिनले दिएका सल्लाहहरूले हाम्रो आनन्द बढाएको छ भनेर के हामी बताउँछौं? यी सबै गरिरहेका छौं भने, यसले तिनलाई आफ्नो काममा आनन्दित हुन मदत गर्नेछ। (हिब्रू १३:१७) स्पेनका एक क्षेत्रीय निरीक्षकले मण्डलीहरूको भ्रमणपछि धन्यवाद ज्ञापन गरिएका टिपोटहरू प्राप्त गरेको अनि आफू र आफ्नी पत्नीले त्यसलाई निकै संगालेर राखेको कुरा उल्लेख गरे। “हामी यी कार्डहरू राख्छौं र निरुत्साहित भएको बेला पढ्छौं,” तिनी भन्छन्। “यी साँचो प्रोत्साहनका स्रोत हुन्।”
११. क्षेत्रीय तथा जिल्ला निरीक्षकहरूका पत्नीहरूलाई तिनीहरू प्रिय छन् र तिनीहरूको मूल्यांकन गरिएको छ भनेर हामीले किन अवगत गराउनुपर्छ?
११ परिभ्रमण निरीक्षककी पत्नीले प्रशंसनीय शब्दहरूबाट पक्कै पनि लाभ उठाउँछिन्। सेवाको यस क्षेत्रमा आफ्नो पतिलाई सहयोग गर्न तिनले धेरै त्यागहरू गर्नुपरेको छ। यी विश्वासी बहिनीहरूले घरजम गर्ने र कहिलेकाहीं छोराछोरी जन्माउने स्वाभाविक इच्छासमेत परित्याग गर्छन्। बुबाको करार पूरा गर्न घरजम गर्ने अवसर स्वेच्छासाथ त्याग्ने यिप्तहकी छोरी यहोवाका यस्ता सेवकहरूमध्ये हुन्। (न्यायकर्त्ता ११:३०-३९) तिनको त्यागलाई कुन दृष्टिले हेरियो? न्यायकर्त्ता ११:४० यसो भन्छ: “इस्राएलका छोरीहरू प्रत्येक वर्ष चार दिनसम्म यिप्तहकी छोरीको स्मृतिमा जानपर्ने एउटा परम्परा भयो।” क्षेत्रीय तथा जिल्ला निरीक्षकहरूका पत्नीहरूलाई तिनीहरू हाम्रोनिम्ति प्रिय छन् र तिनीहरूको मूल्यांकन गर्छौं भनेर बताउन प्रयास गर्नु कत्ति असल हो!
“अतिथि-सत्कार गर्न नबिर्स”
१२, १३. (क) परिभ्रमण निरीक्षक र तिनीहरूका पत्नीहरूलाई अतिथि सत्कार देखाउने धर्मशास्त्रीय आधार के हो? (ख) यस्तो अतिथि सत्कार पारस्परिक रूपमा कसरी फाइदाजनक साबित हुनसक्छ, उदाहरण दिनुहोस्।
१२ मसीही भ्रमण कार्यमा लागेकाहरूप्रति प्रेम र मूल्यांकन प्रकट गर्ने अर्को तरिका अतिथि सत्कार देखा- उनु हो। (हिब्रू १३:२) परिभ्रमण निरीक्षकहरूको रूपमा मण्डलीहरूको भ्रमण गर्ने भाइहरूप्रति देखाएको अतिथि सत्कारको लागि प्रेरित यूहन्नाले गायसको प्रशंसा गरे। यूहन्नाले यसरी लेखे: “हे प्रिय, जे जे तिमीले भाइहरू र विदेशी भाइहरूतर्फ पनि गर्छौ, सो विश्वास योग्यकै काम गर्छौ। तिनीहरूले मण्डलीको सामने तिम्रो प्रेमको गवाही दिन्छन्। तिनीहरूलाई परमेश्वरको योग्य तुल्याईकन अलि अघिसम्मै पुऱ्याइदिएता असल हुनेथियो। किनभने अन्यजातिहरूबाट केही नलिएर तिनीहरू त्यही नाउँको खातिर निस्केका हुन्। यसकारण सत्यको सहकर्मी हुनालाई हामीले त्यस्तालाई स्वागत [“अतिथि सत्कार,” NW] गर्नैपर्छ।” (३ यूहन्ना ५-८) आज परिभ्रमण निरीक्षकहरू तथा तिनीहरूका पत्नीहरूको यस्तै अतिथि सत्कार गरेर हामी परमेश्वरको राज्य प्रचार क्रियाकलापलाई अघि बढाउनसक्छौं। निस्सन्देह, स्थानीय प्राचीनहरूले बासस्थानको राम्रो प्रबन्ध गर्नुपर्छ। एक जिल्ला निरीक्षक यसो भन्छन्: “हाम्रोनिम्ति केही गरिदिनसक्ने भाइहरूसित मात्र हामी हेलमेल गर्दैनौं। हामी कदापि यस्तो छाप पार्न चाहँदैनौं। धनी होऊन् वा गरिब, जुनसुकै भाइहरूको अतिथि सत्कार स्वीकार्न पनि हामी इच्छुक हुनैपर्छ।”
१३ अतिथि सत्कार पारस्परिक रूपमा फाइदाजनक साबित हुनसक्छ। “मेरो परिवारमा परिभ्रमण निरीक्षकहरूलाई निम्ताउने चलन थियो,” हाल बेथेलमा सेवारत भूतपूर्व क्षेत्रीय निरीक्षक भन्छन्। “यी भ्रमणहरूले मलाई मैले कल्पना गरेभन्दा धेरै मदत गऱ्यो। किशोरावस्थामा छँदा मेरा आध्यात्मिक समस्याहरू थिए। यसले गर्दा मेरी आमा निकै चिन्तित हुनुहुन्थ्यो तर कसरी मदत गर्ने उहाँलाई थाह थिएन। त्यसैकारण उहाँले क्षेत्रीय निरीक्षकलाई मसित कुरा गरिदिन आग्रह गर्नुभयो। आलोचना सुन्नु पर्ला भन्ने डरले सुरुमा त फुत्कन खोजें। तर उहाँको मित्रैलोपनले गर्दा उहाँसित कुरा गर्न सजिलो भयो। एक दिन सोमबार उहाँले मलाई खाना खान निम्त्याउनुभयो र उहाँले बुझ्नुहुन्छ भन्ने थाह पाएर मैले मनको बह पोखें। उहाँले ध्यानसित सुन्नुभयो। उहाँको व्यवहारिक सल्लाहहरूले साँच्चै काम गरे र मैले आध्यात्मिक तवरमा उन्नति गर्न थालें।”
१४. आलोचना गर्नुको साटो हामीले परिभ्रमण प्राचीनहरूको मूल्यांकन किन गर्नुपर्छ?
१४ परिभ्रमण निरीक्षक जवान तथा वृद्ध दुवैलाई आध्यात्मिक मदत दिने कोसिस गर्छन्। त्यसोभए, पक्कै पनि हामीले तिनका प्रयत्नहरूको मूल्यांकन गर्नुपर्छ। तथापि, तिनको कमजोरीको आलोचना गर्न थाल्यौं अथवा मण्डलीमा भ्रमण गर्ने अरूसित अनुचित ढंगमा तिनको तुलना गर्न थाल्यौं भने नि? शायद यसले असाध्यै निरुत्साहित पार्नसक्छ। आफ्नो कामको आलोचना सुन्नु पर्दा पावल प्रोत्साहित भएनन्। स्पष्ट छ, कोरिन्थका केही मसीहीहरूले तिनको रूपरंग र बोल्ने क्षमताको कटु आलोचना गरिरहेका थिए। तिनी स्वयंले यस्ता आलोचकहरूको कुरा यसरी उद्धृत गरे: “त्यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्छन्, तर सामनेमा शरीरको निर्धो र बोलीचाहिं केही कामको छैन।” (२ कोरिन्थी १०:१०) तथापि, खुशीको कुरा, परिभ्रमण निरीक्षकहरू अक्सर मायालु मूल्यांकनका शब्दहरू सुन्छन्।
१५, १६. सँगी विश्वासीहरूले देखाएको प्रेम र जोसले परिभ्रमण निरीक्षक र तिनीहरूका पत्नीहरू कसरी प्रभावित भएका छन्?
१५ गुरिल्ला नियन्त्रित क्षेत्रमा बसोबास गर्ने आध्यात्मिक भाइबहिनीहरूलाई भेट्न ल्याटिन अमेरिकाका एक क्षेत्रीय निरीक्षक दिनभरि हिलाम्मे बाटोमा लखतरान होउञ्जेल हिंड्छन्। “भाइहरूले क्षेत्रीय निरीक्षकको भ्रमणप्रति देखाएको मूल्यांकनले मनै छुन्छ,” तिनी लेख्छन्। “त्यहाँ पुग्न निकै संघर्ष गर्नु परे तापनि खतरा र कठिनाइ सामना गर्दा भाइहरूले देखाएको प्रेम र जोस मेरोलागि इनाम भएको छ।”
१६ अफ्रिकाका एक क्षेत्रीय निरीक्षक लेख्छन्: “भाइहरूले देखाएको प्रेमले गर्दा हामीलाई तान्जानिया असाध्यै मन पर्छ! भाइहरू सिक्न इच्छुक छन् र हाम्रो अतिथि सत्कार गर्न औधी रमाउँछन्।” प्रेरित पावल तथा प्रथम शताब्दीका विवाहित दम्पती अक्वीला र प्रिस्काबीच मायालु र सुमधुर सम्बन्ध थियो। वास्तवमा, पावलले तिनीहरूबारे यसो भने: “प्रिस्का र अक्वीला, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई सलाम भनिदेओ, जसले मेरो प्राणको निम्ति तिनीहरूका आफ्ना गर्दन दिए। तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिहरूका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्।” (रोमी १६:३, ४) अतिथि सत्कार देखाउन र संगति गर्न विशेष प्रयत्न गर्ने मित्रहरू अर्थात् आधुनिक समयका अक्वीला र प्रिस्काप्रति परिभ्रमण निरीक्षकहरू र तिनीहरूका पत्नीहरू धन्यवादी छन्।
मण्डलीहरूलाई दह्रो पार्ने
१७. परिभ्रमण निरीक्षकहरूको प्रबन्ध गर्नु बुद्धिको प्रमाण हो किन भन्न सकिन्छ र तिनीहरूले निर्देशनहरू कहाँबाट पाउँछन्?
१७ येशूले भन्नुभयो: “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ।” (मत्ती ११:१९) परिभ्रमण निरीक्षकहरूको प्रबन्ध गर्नु बुद्धिमानी कुरा हो। किनभने त्यस्तो प्रबन्धले परमेश्वरका जनहरूको मण्डलीलाई दह्रो बनाउन मदत गर्छ। पावलको दोस्रो मिसनरी यात्राको दौडान तिनी र सिलास सफलतापूर्वक “मण्डलीलाई स्थिर गराउँदै सिरिया र सिलिसियाभरि गए।” प्रेरितको पुस्तकले यसरी बताउँछ: “अब तिनीहरू शहर शहरका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र धर्म-गुरुहरूबाट तोकिएका विधिहरूको प्रतिपालन गर्नू भनी तिनीहरूलाई बताए। यसरी मण्डलीहरू विश्वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढ़दै गए।” (प्रेरित १५:४०, ४१; १६:४, ५) अरू मसीहीहरूले जस्तै वर्तमान समयका परिभ्रमण निरीक्षकहरूले पनि धर्मशास्त्र र “विश्वासी र बुद्धिमान दास[बाट]” प्राप्त प्रकाशनहरू मार्फत आध्यात्मिक निर्देशनहरू पाउँछन्।—मत्ती २४:४५.
१८. परिभ्रमण निरीक्षकहरूले मण्डलीहरूलाई कसरी दह्रो तुल्याउँछन्?
१८ हो, परिभ्रमण प्राचीनहरूले यहोवाको आध्यात्मिक टेबलबाट निरन्तर खाइरहनै पर्छ। तिनीहरू परमेश्वरको संगठनले पालन गर्ने विधि तथा मार्गनिर्देशनहरूसित राम्ररी परिचित हुनैपर्छ। तब मात्र यस्ता पुरुषहरू अरूको लागि साँचो आशिष् साबित हुनसक्छन्। क्षेत्र सेवकाईमा जोसिलो भई असल उदाहरण बसालेर तिनीहरूले सँगी विश्वासीहरूलाई मसीही सेवकाईमा उन्नति गर्न मदत गर्नसक्छन्। यी भ्रमणमा रहेका प्राचीनहरूले दिएका बाइबलआधारित भाषणहरूले श्रोताहरूलाई आध्यात्मिक कुराहरूमा बलियो तुल्याउँछ। अरूलाई परमेश्वरको वचनमा पाइने सल्लाह पालन गर्न, पृथ्वीभरिका यहोवाका जनहरूसित एकतामा सेवा गर्न तथा ‘विश्वासी दास’ मार्फत परमेश्वरले गर्नुभएको आध्यात्मिक प्रबन्धहरू प्रयोग गर्न मदत दिएर परिभ्रमण निरीक्षकहरूले भ्रमण गर्ने सुअवसर पाएको मण्डलीहरूलाई दह्रो बनाउँछन्।
१९. कुन प्रश्नहरू विचार गर्न बाँकी छन्?
१९ लगभग १०० वर्षअघि यहोवाको संगठनले बाइबल विद्यार्थीहरूमाझ परिभ्रमण प्राचीनहरूको कार्य थालनी गर्दा यो पत्रिकाले यसो भनेको थियो: “हामी नतिजा र प्रभुको थप डोऱ्याइ पर्खनेछौं।” यहोवाको डोऱ्याइ प्रष्टै प्रकट भएको छ। उहाँको आशिष् र परिचालक निकायको सुपरिवेक्षणले गर्दा यो कार्य विस्तार हुनुका साथै वर्षौंदेखि सुधारहरू पनि भएका छन्। परिणामस्वरूप पृथ्वीभरि यहोवाका साक्षीहरूको मण्डलीहरू विश्वासमा दह्रो गराइँदैछन् र गन्तीमा दिनहुँ धमाधम बढिरहेका छन्। प्रष्ट छ, यहोवाले पुरुषहरूमध्ये वरदान भएका यी पुरुषहरूको आत्मत्यागी भावलाई आशिष् दिइरहनुभएको छ। तर परिभ्रमण निरीक्षकहरूले आफ्नो कार्य कसरी सफलतापूर्वक सञ्चालन गर्नसक्छन्? तिनीहरूका उद्देश्य के के हुन्? तिनीहरूले मण्डलीहरूलाई धेरैभन्दा धेरै फाइदा कसरी पुऱ्याउनसक्छन्?
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ क्षेत्रीय तथा परिभ्रमण निरीक्षकहरूका केही दायित्वहरू के हुन्?
◻ परिभ्रमण निरीक्षकहरूलाई आत्मत्यागी भाव किन चाहिन्छ?
◻ परिभ्रमण प्राचीनहरू र तिनीहरूका पत्नीहरूप्रति कसरी मूल्यांकन देखाउन सकिन्छ?
◻ परिभ्रमण निरीक्षकहरूले मण्डलीलाई विश्वासमा दह्रो बनाउन के गर्नसक्छन्?
[पृष्ठ १०-मा भएको चित्र]
लगातार भ्रमण गरिरहन आत्मत्यागी भाव चाहिन्छ
[पृष्ठ १३-मा भएको चित्र]
के तपाईंले परिभ्रमण निरीक्षक र तिनीहरूका पत्नीहरूलाई अतिथि सत्कार देखाउनुभएको छ?